अगस्त ३१–सेप्टेम्बर ६, २०२६
गीत ८९ सुनौँ, मानौँ र आशिष् पाऔँ!
सभामा ध्यान दिएर सुन्नुहोस्
“तिमीहरू कसरी सुन्छौ, ध्यान देओ।”—लुका ८:१८.
सिक्न सकिने कुरा
हामीले सभामा र अन्य आध्यात्मिक कार्यक्रमहरूमा किन ध्यान दिएर सुन्नुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौँ?
१-२. (क) यहोवाले हामीलाई आध्यात्मिक भोजन दिनुहुने एउटा तरिका के हो? (भजन २३:१, २, ५) (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
अहिले यहोवाले हाम्रो लागि प्रचुर मात्रामा आध्यात्मिक भोजनको प्रबन्ध गरिदिनुभएको छ। हामी पनि दाउदले जस्तै महसुस गर्छौँ। तिनले यस्तो भजन गाए: “यहोवा मेरो गोठालो हुनुहुन्छ। मलाई कुनै कुराको कमी हुनेछैन।”—भजन २३:१, २, ५ पढ्नुहोस्।
२ यहोवाले हामीलाई आध्यात्मिक भोजन दिनुहुने एउटा तरिका सभाहरूमार्फत हो। सभाहरूमा हामी अक्सर आफूलाई थाह भएकै कुराहरू सुन्छौँ। हामी ‘आफूले सिकेको सत्यमा अडिग छौँ।’ (२ पत्रु. १:१२) तैपनि हामीलाई यस्ता सम्झौटाहरू चाहिन्छ। तर आफूले धेरै चोटि सुनिसकेको कुरा सभामा फेरि सुन्दा ध्यान दिन गाह्रो लाग्न सक्छ। के तपाईँलाई पनि त्यस्तै लाग्छ? त्यसो हो भने यस लेखले तपाईँलाई मदत गर्नेछ। यस लेखमा हामी यी कुराहरू छलफल गर्नेछौँ: सभामा हामीले किन ध्यान दिएर सुन्नुपर्छ? सभामा भाषण दिने जिम्मेवारी पाएकाहरूले कसरी सुनूँ-सुनूँ लाग्नेगरि सिकाउन सक्छन्? सभामा ध्यान दिएर सुन्न हामी के गर्न सक्छौँ? तर सुरुमा सभामा हामी कसको कुरा सुनिरहेका हुन्छौँ, त्यो बुझौँ।
सभामा हामी यहोवाको कुरा सुनिरहेका हुन्छौँ
३. यहोवा हामीसित कसरी बोल्नुहुन्छ? परमेश्वरका सेवकहरूले उहाँको वचन कसरी प्रयोग गर्छन्?
३ यहोवा हामीसित आफ्नो वचन बाइबलमार्फत बोल्नुहुन्छ। (२ तिमो. ३:१६, १७) येसुले यो कुरा बुझ्नुभएको थियो। त्यसैले अरूलाई सिकाउन उहाँ धर्मशास्त्र नै प्रयोग गर्नुहुन्थ्यो। उहाँको कुरा सुनेर मानिसहरू छक्क पर्दै यसो भन्थे: “यो मानिसले पाठशाला गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?” (युह. ७:१५) उहाँले धर्मशास्त्रमा लेखिएको कुरा राम्ररी बुझाइदिनुहुँदा नम्र हृदय भएका मानिसहरू दङ्ग परेर सुन्थे। प्रेषित पावल र अपोल्लसजस्ता प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि धर्मशास्त्रबाटै तर्क गर्थे। (प्रेषि. १७:२, ३; १८:२४, २८) आज यहोवाका साक्षीहरूले विभिन्न लेख, JW ब्रोडकास्टिङ, भाषण र भिडियोमार्फत सिकाउने कुराहरू पनि बाइबलमै आधारित छ। हाम्रो सभामा आउने कतिपय व्यक्तिहरू हामीले बाइबल प्रयोग गरेको देखेर छक्क पर्छन्। सभामा भाग पाएकाहरूले बाइबलमै आधारित भएर सिकाउँछन्। तिनीहरूले बाइबलको पद पढ्ने मात्र होइन, त्यो कसरी लागू गर्ने भनेर पनि बुझाइदिन्छन्।—लुका २४:३२.
४. “सुन्नु” शब्दले कस्तो अर्थ दिन्छ?
४ बाइबलमा प्रयोग गरिएको “सुन्नु” शब्दले अक्सर कसैको आज्ञा पालन गर्नु भन्ने अर्थ दिन्छ। त्यसैले सभामा यहोवाले आफ्नो वचनमार्फत हामीसित बोल्नुहुँदा उहाँको इच्छा के हो भनेर बुझ्न सक्छौँ। त्यसपछि हामीलाई उहाँको आज्ञा पालन गर्न सजिलो हुन्छ। हामीले यहोवाको कुरा सुन्यौँ र त्यसैअनुसार कदम चाल्यौँ भने उहाँ हामीसित खुसी हुनुहुनेछ भन्ने कुरामा ढुक्क हुन सक्छौँ।—हितो. २७:११.
हामीले सभामा किन ध्यान दिएर सुन्नुपर्छ?
५. यहोवाप्रतिको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ? (युहन्ना ४:२३, २४; १ युहन्ना ५:३)
५ हामी सभामा ध्यान दिएर सुन्छौँ किनभने हामी यहोवालाई प्रेम गर्छौँ। (मत्ति २२:३७) यहोवाबारे हामी जति सिक्दै जान्छौँ, उहाँप्रतिको प्रेम पनि त्यति नै बढ्दै जान्छ। त्यस्तो प्रेमले हामीलाई उहाँको कुरा सुन्न, उहाँको आज्ञा पालन गर्न र उहाँले चाहनुभएको तरिकामा उपासना गर्न उत्प्रेरित गर्छ।—युहन्ना ४:२३, २४; १ युहन्ना ५:३ पढ्नुहोस्।
६. यहोवा हामीलाई सभामा के सिकाउनुहुन्छ?
६ हामी सभामा ध्यान दिएर सुन्छौँ किनभने हामी मानिसहरूलाई प्रेम गर्छौँ। (मत्ति २२:३९) भाइबहिनीहरू र उहाँलाई नचिनेका मानिसहरूलाई कसरी मदत गर्ने भनेर यहोवा हामीलाई सभामा सिकाउनुहुन्छ। जस्तै, मानिसलाई प्रेम गर्नुहोस्—चेला बनाउनुहोस् पुस्तिकाले हामीलाई प्रचारकार्यमा चाहिने विभिन्न गुणहरू विकास गर्न मदत गर्छ। त्यो पुस्तिकामा दिइएका सुझावहरू कसरी लागू गर्ने भनेर हामी मध्यहप्ताको सभामा सिक्छौँ। के तपाईँलाई मानिसहरूसित कुराकानी थाल्न गाह्रो लाग्छ? त्यसो हो भने मध्यहप्ताको सभामा विद्यार्थीको असाइनमेन्ट पाएका भाइबहिनीहरूले कसरी कुराकानी थाल्छन्, त्यो ध्यान दिएर हेर्नुहोस्।
७. यहोवाको कुरा सुन्नु किन महत्त्वपूर्ण छ?
७ हामी सभामा ध्यान दिएर सुन्छौँ किनभने हामी आफ्नो जीवनलाई प्रेम गर्छौँ। बाइबलकालीन समयका यहोवाका उपासकहरूको जीवन उहाँको आज्ञा पालन गर्नुमा निर्भर थियो। (व्यव. ३२:४४-४७) आज पनि कुरा त्यही हो। सभामा ध्यान दिएर सुन्यौँ भने हामीलाई चाहिने प्रोत्साहन पाउनेछौँ र सहनशील भएर नयाँ संसारको प्रतीक्षा गर्न सक्नेछौँ। (रोमी ८:२५) हामी अन्तको दिनमा बाँचिरहेकोले आध्यात्मिक तवरमा जागा रहनुपर्छ। त्यसैले अहिले यहोवाको कुरा सुन्नु झनै महत्त्वपूर्ण छ।—मत्ति २४:४२-४४; प्रका. १:३.
सुनूँ-सुनूँ लाग्नेगरि सिकाउनुहोस्
८. भाषण दिने जिम्मा पाएका भाइहरूले आफ्नो बोल्ने क्षमतालाई किन तिखार्दै लैजानुपर्छ?
८ भाषण दिने जिम्मा पाएका भाइहरू, अझ विशेषगरि जनभाषण दिने भाइहरूले आफ्नो बोल्ने क्षमतालाई तिखार्दै लैजानुपर्छ। राम्ररी तयार पारिएका भाषणहरू निकै प्रभावकारी हुन्छन्। यसले मानिसहरूलाई सत्यतर्फ खिच्न सक्छ र भाइबहिनीलाई सत्यमा रहिरहन मदत गर्न सक्छ। सभामा प्रस्तुत गरिने अरू भागहरूले पनि त्यस्तै प्रभाव पार्न सक्छ। त्यसैले यसपछिका अनुच्छेदहरूमा दिइएका सुझावहरू हामी सबैको लागि उपयोगी छ। हुनत ती सुझावहरू खासगरि जनभाषण दिने भाइहरूको लागि हो तर सभामा भाग पाउने सबैले नै ती लागू गर्न सक्छन्।—२ तिमो. ४:२; ति. १:९.
९. श्रोताले बुझ्न सक्ने किसिमको भाषण दिन तपाईँ के गर्न सक्नुहुन्छ?
९ मुख्य बुँदाहरू सिलसिलेवार ढङ्गमा प्रस्तुत गर्नुहोस्। तपाईँको भाषण श्रोताले बुझ्न सक्ने किसिमको हुनुपर्छ। तपाईँले भाषणमा तीनथुप्रो कुराहरू राख्नुभयो भने श्रोतालाई भाषणमा ध्यान दिइरहन गाह्रो हुन्छ। त्यसोभए सिलसिलेवार ढङ्गमा भाषण दिन तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ निम्न कदमहरू चाल्न सक्नुहुन्छ: (१) भाषणको सुरुमै मुख्य बुँदाहरू प्रस्ट पार्नुहोस्। (२) ती बुँदाहरू एक-एक गरेर छलफल गर्नुहोस्। एउटा मुख्य बुँदाबाट अर्को मुख्य बुँदामा जाँदा एकछिन रोकिनुहोस्। त्यसो गर्दा श्रोताले अब तपाईँ नयाँ बुँदामा जाँदै हुनुहुन्छ भनेर बुझ्न सक्नेछन्। (३) भाषणको अन्तमा मुख्य बुँदाहरू सरसरती दोहोऱ्याउनुहोस्।
१०. भाषणको विषयवस्तुमा डुब्नु किन महत्त्वपूर्ण छ?
१० विषयवस्तुमा डुब्नुहोस्। तपाईँ आफैलाई कुनै कुरा एकदमै मन परेको छ भने त्यो कुरा अरूलाई बताउन उत्साहित हुनुहुनेछ र तपाईँको उत्साह अरूले पनि महसुस गर्न सक्नेछन्। भाषणको सन्दर्भमा पनि कुरा त्यही हो। (हितो. २:४, ५; प्रेषि. ४:२०) त्यसैले भाषणको तयारी गर्दा विषयवस्तुमा र दिइएका बाइबल पदहरूमा मनन गर्नुहोस्। अमेरिकाका एक जना भाइले बताएको कुरा विचार गरौँ। तिनी अहिले ७० वर्ष नाघिसकेका छन् तर किशोरावस्थामा सुनेको एउटा भाषण तिनले अझै बिर्सेका छैनन्। तिनी भन्छन्: “हामीले बाइबल पढ्दा त्यसमा गहिरो मनन गर्नुपर्छ भनेर वक्ताले प्रोत्साहन दिनुभएको थियो। अनि कसरी त्यसो गर्न सकिन्छ भनेर उहाँले प्रस्टसित बताइदिनुभयो। उहाँको भाषण सुन्दा उहाँ आफैले पनि त्यसो गर्दै हुनुहुन्थ्यो भनेर मैले महसुस गरेँ। त्यो भाषणले मेरो जीवनमा ठूलो प्रभाव पाऱ्यो। मैले आफ्नो बाइबल पढाइलाई अर्थपूर्ण बनाउन सकेँ र यहोवासित अझ घनिष्ठ हुन सकेँ।”
११. भाषणमा तोकेरै व्यावहारिक सुझावहरू दिनु किन राम्रो हो? (१ तिमोथि ४:१३-१६)
११ श्रोतालाई कस्तो मदत चाहिएको छ, त्यसबारे सोच्नुहोस् र व्यावहारिक सुझावहरू दिनुहोस्। भाषण दिँदा सामान्य जानकारी मात्र नदिनुहोस् बरु बाइबल प्रयोग गरेर श्रोतालाई चाहिएको प्रोत्साहन दिनुहोस् र तिनीहरूले लागू गर्न सक्ने कुराहरू बताउनुहोस्। जस्तै, प्रेषित पावलले तिमोथिलाई तोकेरै केही सुझावहरू दिए। ती सुझावहरू लागू गर्दा तिमोथिले एफिससमा आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न सक्ने थिए र तिनी आध्यात्मिक तवरमा बलियो भइरहन सक्ने थिए। (१ तिमोथि ४:१३-१६ पढ्नुहोस्।) त्यसैले तपाईँको श्रोतालाई कस्तो मदत चाहिएको छ, त्यसबारे सोच्नुहोस्। अनि भाषणमा बताइएका कुराहरू तिनीहरूले आफ्नो जीवनमा कसरी लागू गर्न सक्छन् भनेर बुझ्न मदत दिनुहोस्।
१२. कुराकानीको शैलीमा भाषण प्रस्तुत गर्नु किन राम्रो हो?
१२ कुराकानीको शैलीमा भाषण प्रस्तुत गर्न आवाज निकालेर अभ्यास गर्नुहोस्। भाषणको एक-एक शब्द लेखेर हुबहु पढ्नुको साटो स्वाभाविक तरिकामा बोल्नुहोस्। यसो गर्दा श्रोताले तपाईँको भाषणमा ध्यान दिन सक्नेछन् र सुनेको कुरा राम्ररी बुझ्नेछन्। पढ्ने र सिकाउने काममा लागिरहनुहोस् पुस्तिकामा यस्तो सुझाव दिइएको छ: “स्वाभाविक तरिकामा अनि मनैदेखि कुरा गर्नुहोस्।” यो सुझाव लागू गर्नुभयो भने तपाईँको भाषण जीवन्त, रोचक र श्रोतालाई कदम चाल्न उत्प्रेरित गर्ने किसिमको हुनेछ।
१३. अनुभवी वक्तासित सल्लाह माग्नु किन राम्रो हो? (चित्र पनि हेर्नुहोस्।)
१३ अनुभवी वक्तासित सल्लाह माग्नुहोस्। तपाईँ तिनलाई आफूले तयार पारेको भाषण देखाउन सक्नुहुन्छ र तिनले दिएको सुझावअनुसार छाँटकाँट गर्न सक्नुहुन्छ। साथै तपाईँले आवाज निकालेर भाषणको अभ्यास गर्दा त्यो सुनिदिन आग्रह गर्न सक्नुहुन्छ। यसो गर्दा तिनले तपाईँलाई अझ राम्रो शिक्षक बन्न चाहिने सुझावहरू दिन सक्नेछन्। (हितो. १:५) हामी सबैमा सुधार गर्नुपर्ने कुनै न कुनै कुरा हुन्छ तर त्यो हामीलाई याद नहुन सक्छ। त्यसैले हामीलाई अरूको मदत चाहिन्छ। हामी श्रोताहरूलाई परमेश्वरको वचनमा पाइने कुराहरू बुझ्न र त्यो आफ्नो जीवनमा लागू गर्न मदत दिन चाहन्छौँ। त्यसैले अझ राम्रो वक्ता र शिक्षक बन्न हामीले प्रयास गरिरहनुपर्छ।a
आफ्नो सिकाउने कला अझ तिखार्न अनुभवी वक्तासित सल्लाह माग्नुहोस् (अनुच्छेद १३ हेर्नुहोस्)
ध्यान दिएर सुन्न हामी के गर्न सक्छौँ?
१४. हामीले किन भजन ११९ का लेखकको जस्तै मनोवृत्ति विकास गर्नुपर्छ? (भजन ११९:२४, १११, १६७)
१४ हामीलाई यहोवाका सम्झौटाहरू चाहिन्छ भन्ने कुरा मनमा राख्यौँ भने ध्यान दिएर सुन्न सक्नेछौँ। हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ (२ तिमो. ३:१) त्यसैले हामीले भोग्ने समस्याहरूसित जुझ्न परमेश्वरका सम्झौटाहरू झनै आवश्यक छ। कहिलेकाहीँ हामीलाई सभामा आफूलाई थाह भएकै कुराहरू सुनिरहेको जस्तो लाग्न सक्छ। त्यस्तो बेला भजन ११९ का लेखकले परमेश्वरका सम्झौटाहरूप्रति कस्तो मनोवृत्ति राखे, त्यसमा मनन गर्नु राम्रो हो।—भजन ११९:२४, १११, १६७ पढ्नुहोस्।
१५. सभामा सिक्ने कुराहरूप्रति हामी कसरी कृतज्ञ भइरहन सक्छौँ?
१५ हामीले आध्यात्मिक भोजनप्रति सकारात्मक मनोवृत्ति राख्न प्रयास गरिरहनुपर्छ। यो कुरा बुझ्न इस्राएलीहरूबारे विचार गरौँ। निर्जनभूमिमा छँदा यहोवाले तिनीहरूको लागि मन्नको प्रबन्ध गरिदिनुभएको थियो। (प्रस्थ. १६:१५, ३१) त्यो मीठो थियो र जीवन धान्न अत्यावश्यक थियो। त्यसैले सुरु-सुरुमा तिनीहरू त्यस प्रबन्धप्रति कृतज्ञ थिए। तर कसै-कसैलाई मन्न खाँदा-खाँदा वाक्कै लाग्न थाल्यो। (गन्ती २१:५) यो विवरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। हामीलाई सभामा एउटै कुरा सुनिरहेको जस्तो लागे तापनि त्यसलाई हल्कासित लिनु हुँदैन। हामी आध्यात्मिक भोजनप्रति सधैँ कृतज्ञ भइरहनुपर्छ किनभने त्यसको स्रोत यहोवा हुनुहुन्छ। आध्यात्मिक भोजन तयार पार्न यहोवाको सङ्गठनले कत्ति धेरै मेहनत गर्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। साथै सभामा सिक्ने कुराहरूले हामीलाई बुद्धिमानी निर्णयहरू गर्न मदत गर्छ र त्यसले हाम्रो जीवन जोगाउँछ भन्ने कुरा पनि हामीले सधैँ मनमा राख्नुपर्छ।—हितो. ३:१३, १६-१८; युह. १७:३.
१६. लामो समयदेखि यहोवाको सेवा गरिरहेका केही भाइबहिनीलाई ध्यान दिएर सुन्न केले मदत गरेको छ? (“ध्यान दिएर सुन्न मदत गर्ने केही सुझाव” भन्ने पेटी पनि हेर्नुहोस्।)
१६ निम्न सुझावहरू लागू गऱ्यौँ भने ध्यान दिएर सुन्न सक्नेछौँ। लामो समयदेखि यहोवाको सेवा गरिरहेका केही भाइबहिनीलाई ध्यान दिएर सुन्न केले मदत गरेको छ? एस्लीले यहोवाको सेवा गर्न थालेको ३० वर्षभन्दा धेरै भइसक्यो। तिनी यसो भन्छिन्: “राम्ररी तयारी गरेर जाँदा सभामा ध्यान दिन सजिलो लाग्छ। तयारी नगरी गएँ भने म टिप्पणी दिन सक्दिनँ र मेरो ध्यान यताउता डुल्छ।” योसेफले यहोवाको सेवा गरेको ५२ वर्ष भइसक्यो। तिनी भन्छन्: “आफूलाई थाह भएकै विषय पनि सभामा फरक-फरक दृष्टिकोणबाट प्रस्तुत गरिन्छ। साँच्चै भन्नुपर्दा, मैले केही न केही नयाँ कुरा सिकिरहेको हुन्छु। कुनै भाइ भाषण दिन सिपालु छैनन् भने पनि म तिनको बोल्ने शैलीमा होइन बरु तिनले बाइबलबाट सिकाइरहेको कुरामा ध्यान दिन्छु।”
१७. ध्यान दिएर सुन्न तपाईँ के गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
१७ ध्यान दिएर सुन्न मदत गर्ने थप सुझावहरू विचार गरौँ। ती हुन्: (१) सभामा जानुअघि टन्न नखानुहोस्; नत्र त तपाईँलाई निद्रा लाग्न सक्छ। (२) कार्यक्रम सुरु हुनुअघि नै पुग्नुहोस् र आफ्नो लागि सिट लिनुहोस्। (३) इलेक्ट्रोनिक डिभाइसलाई सभामा ध्यान दिएर सुन्नदेखि बाधा पुऱ्याउन नदिनुहोस्। त्यसलाई साइलेन्ट मोडमा राख्नुहोस्। (४) वक्ताले कस्ता कुराहरू बताउनेछन् होला भनेर पहिल्यै सोच्नुहोस्। (५) वक्तालाई ध्यान दिनुहोस्। (६) भाषणमा भनिएको एक-एक कुरा लेख्नुको साटो छोटो नोट लिनुहोस् वा मुख्य कुरा सम्झन चित्र कोर्नुहोस्। (७) मुख्य पदहरूमा ध्यान दिनुहोस् अनि ती पदहरू कसरी एकअर्कासित सम्बन्धित छन्, बुझ्ने प्रयास गर्नुहोस्। (८) आफैलाई सोध्नुहोस्, ‘म यो कुरा कुनै भाइबहिनीलाई वा प्रचारमा भेट्ने मानिसलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छु?’ (९) सम्मेलन वा अधिवेशनअगाडि नै कार्यक्रम पर्ची हेर्नुहोस्। हरेक दिनको मूल विषय, प्रस्तुत गरिने भाषणहरू र ती भाषणहरूमा प्रयोग हुने मुख्य बाइबल पदहरू पनि हेर्नुहोस्। (१०) कार्यक्रम सुरु हुनुअघि नै आफ्नो सिटमा बस्नुहोस् अनि कार्यक्रमको लागि मन तयार पार्न सुरुमा बजाइने धुन वा म्युजिक भिडियोमा ध्यान दिनुहोस्।
आफ्नो इलेक्ट्रोनिक डिभाइसलाई सभामा ध्यान दिएर सुन्नदेखि बाधा पुऱ्याउन नदिनुहोस् (अनुच्छेद १७ हेर्नुहोस्)
यहोवाको कुरा ध्यान दिएर सुनिरहनुहोस्
१८. हामीले किन सभामा ध्यान दिएर सुन्नुपर्छ?
१८ यहोवाले हामीलाई सभामा सिकाइने कुराहरूमार्फत “असल मार्गमा” डोऱ्याउँदै हुनुहुन्छ। (भज. २३:३; ३१:३) त्यसैले सभामा ध्यान दिएर सुन्नुपर्छ। सभाहरूमा हामी आफूले सुधार्नुपर्ने कुराहरूबारे पनि थाह पाउँछौँ। ती सल्लाहहरू लागू गऱ्यौँ भने हामी हावाले यताउता हुर्ऱ्याउने जहाजजस्तो हुनेछैनौँ। त्यसैले हामी ‘कसरी सुन्छौँ, त्यसमा ध्यान दिनुपर्छ’ र सुनेको कुरा आफ्नो जीवनमा लागू गर्नुपर्छ। (लुका ८:१८) यहोवाको कुरा सुन्नेहरू अहिले पनि आनन्दित हुनेछन् र भविष्यमा अनन्त जीवन पाउनेछन्।—भज. ११९:२, १४.
गीत ८७ आऊ, स्फूर्ति पाऔँ!
a हामी कसरी अझ राम्रो वक्ता र शिक्षक बन्न सिक्छौँ भन्नेबारे थप जानकारीको लागि पढ्ने र सिकाउने काममा लागिरहनुहोस् पुस्तिका र ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् किताब हेर्नुहोस्।