प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जून पृ. २६-३०
  • यहोवाको सेवा गर्दै क्युबामा बिताएको ७० वर्ष

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सेवा गर्दै क्युबामा बिताएको ७० वर्ष
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रतिकूल अवस्थाको सामना गर्दै
  • अग्रगामी गर्दै र छोराछोरी हुर्काउँदै
  • प्रतिबन्धको समयमा परिभ्रमण कार्य गर्दै
  • असाइनमेन्ट परिवर्तन हुँदा पनि आनन्द कायम राख्दै
  • “मेरो सपना साकार भएको छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • “तपाईंको करुणा जीवनभन्दा उत्तम छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • क्युबामा ‘क्रियाकलापको एउटा ठूलो ढोका खुलेको छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जून पृ. २६-३०
गुस्ताभो र एमिलिया जोसेफ।

जीवनी

यहोवाको सेवा गर्दै क्युबामा बिताएको ७० वर्ष

गुस्ताभो जोसेफको वृत्तान्तमा आधारित

मेरो जन्म १९४७ मा क्युबामा भएको थियो। यो टापु क्यारेबियन समुद्रको उत्तरी भाग र एट्‌लान्टिक महासागर मिसिने ठाउँमा पर्छ। यो टापु निकै सुन्दर छ। मेरो बुबा, आमा, म र मेरा दुई जना बहिनीहरू गरेर हामी परिवारमा पाँच जना थियौँ। हामी स्मराल्डा भनिने एउटा गाउँमा बस्थ्यौँ।

गाउँमा मेरो बाल्यकाल रमाइलोसँग बित्यो। मेरो हजुरबुबा, हजुरआमा अनि अरू थुप्रै नातेदारहरू पनि नजिकै बस्नुहुन्थ्यो। हाम्रो परिवार सुखी थियो। हामीले कहिल्यै खान-लाउनको चिन्ता गर्नुपरेन।

म पाँच वर्षजतिको छँदा मेरो आमाबुबाले वाल्टन जोन्ससित बाइबल अध्ययन गर्न थाल्नुभयो। उहाँ जोसिलो प्रचारक हुनुहुन्थ्यो। हाम्रो गाउँसम्म आइपुग्न उहाँ झन्डै १० घण्टा हिँड्‌नुहुन्थ्यो। उहाँ आउनुहुँदा हाम्रो परिवार र अरू नातेदारहरू हजुरबुबाको घरमा भेला हुन्थ्यौँ र घण्टौँसम्म बाइबलबाट छलफल गर्थ्यौँ। मेरो आमाबुबा, पेड्रो काका अनि इला फुपूलाई आफूले सिकिरहेको कुरा एकदमै मन पऱ्‍यो र उहाँहरूले चाँडै बप्तिस्मा गरेर यहोवाको साक्षी बन्‍नुभयो। अहिले इला फुपू झन्डै १०० वर्ष पुग्न लाग्नुभयो र अझै पनि क्युबामा अग्रगामी सेवा गर्दै हुनुहुन्छ।

त्यतिबेला क्युबामा यहोवाका साक्षीहरूको गतिविधिमा प्रतिबन्ध लगाइएको थिएन। मानिसहरू हामीलाई चिनिहाल्थे किनभने हामी घरघरमै गएर प्रचार गर्थ्यौँ। हामी ब्रिफकेस अनि ह्‍याण्ड-ब्यागमा टनाटन बाइबल साहित्यहरू बोकेर जान्थ्यौँ। अनि हिँडेरै ठाउँ-ठाउँमा पुग्थ्यौँ। त्यो “अनुकूल” समयमा यहोवाको सेवामा बिताएका रमाइला पलहरू म अझै पनि सम्झन्छु। तर सधैँ सजिलो त भएन। हामीले “प्रतिकूल” अवस्थाको पनि सामना गर्नुपऱ्‍यो।—२ तिमो. ४:२.

प्रतिकूल अवस्थाको सामना गर्दै

म पाँच वर्षजतिकै छँदा मेरो बुबा र काका क्युबा टापुकै अर्को ठाउँमा सम्मेलनको लागि जानुभएको थियो। त्यस यात्राको दौडान दूषित पानीको कारण उहाँहरू दुवै जनालाई टाइफाइड भयो। उहाँहरू घर फर्कनुभएपछि काकाको पूरै कपाल झऱ्‍यो तर उहाँको ज्यान भने जोगियो। दुःखको कुरा, मेरो बुबाचाहिँ बित्नुभयो। त्यतिखेर उहाँ ३२ वर्षको मात्र हुनुहुन्थ्यो।

बुबाको मृत्युपछि आमाले हामीलाई उहाँको दाइ हुनुभएको गाउँमा लानुभयो र हामी त्यहीँ बस्न थाल्यौँ। त्यो गाउँको नाम लोम्बिलो थियो। हामी नातेदार अनि हजुरबुबा-हजुरआमादेखि छुट्टिनुपऱ्‍यो। हामी उहाँहरूलाई धेरै माया गर्थ्यौँ। नयाँ ठाउँमा सरेपछि पनि हामीले परिवारकै रूपमा यहोवाको सेवा गरिरह्‍यौँ।

अगस्त २६, १९५७ मा मैले लोम्बिलोनजिकैको एउटा पोखरीमा बप्तिस्मा गरेँ। त्यतिखेर म १० वर्षको थिएँ। त्यसको दुई वर्ष पनि नबित्दै क्युबामा यहोवाका साक्षीहरूमाथि ठूलो परीक्षा आइपऱ्‍यो। सन्‌ १९५९ मा त्यहाँको सरकार परिवर्तन भयो अनि कम्युनिस्ट शासन सुरु भयो।

नयाँ सरकारले सैन्य सेवालाई जोड दिन थाल्यो। यसले गर्दा यहोवाका साक्षीहरूलाई निकै गाह्रो भयो। किनकि हामी सेनामा भर्ती हुँदैनौँ अनि देशको राजनैतिक मामिलामा तटस्थ रहन्छौँ। नयाँ सरकार आएपछि प्रचार अनि सभाजस्ता गतिविधिमा खुल्लमखुल्ला भाग लिन गाह्रो हुँदै गयो। पछि त सरकारले हाम्रो काममाथि प्रतिबन्ध नै लगाइदियो। हाम्रा सयौँ भाइबहिनीहरूलाई झ्यालखानामा हालियो। उहाँहरूमध्ये कतिपयलाई त निर्ममतापूर्वक कुटियो अनि भोकभोकै राखियो। उहाँहरूलाई झ्यालखानामा दिइने कतिपय खानेकुरामा रगत मिसाइएको हुन्थ्यो। तर बाइबलले रगत खान निषेध गरेकोले उहाँहरूले त्यस्ता खानेकुराहरू खानुभएन।

प्रतिबन्धको बाबजुद हामी उपासनाको लागि एक ठाउँमा भेला हुन छोडेनौँ। (हिब्रू १०:२५) देशभरि सम्मेलनहरूसमेत आयोजना गरियो। हामी सम्मेलनको लागि फार्ममा वा त्यस्तै अरू ठाउँमा भेला हुन्थ्यौँ। मलाई अझै याद छ, एक जना भाइले सम्मेलनको लागि आफ्नो भेडाफार्म प्रयोग गर्न दिनुभएको थियो। तर हामीले अगाडि नै गएर फार्म सफा गर्न वा भेडाहरूलाई बाहिर निकाल्न पाएका थिएनौँ। ती भेडाहरू पनि हामी परमेश्‍वरका भेडाहरूसँगै सम्मेलनमा उपस्थित भए!—मिका २:१२.

त्यस्तो गाह्रो समयमा पनि हाम्रो लागि आध्यात्मिक भोजन उपलब्ध गराउन भाइहरूले गर्नुभएको कडा मेहनतको लागि हामी आभारी छौँ। त्यतिबेला सम्मेलनका कार्यक्रमहरू क्यासेट-टेपमा रेकर्ड गरिन्थ्यो अनि देशभरि विभिन्‍न ठाउँहरूमा पठाइन्थ्यो। कहिलेकाहीँ त जम्मा दुई जना भाइहरूले सम्मेलनका सबै भाषणहरू तयारी गर्ने अनि रेकर्ड गर्ने गर्नुहुन्थ्यो। उहाँहरूले भाषणको रेकर्डिङ अरूले शङ्‌का नगर्ने ठाउँमा गएर गर्नुहुन्थ्यो। त्यसैले कहिलेकाहीँ रेकर्डिङमा भाले बासेको र त्यस्तै अरू अनौठो आवाजहरू सुनिन्थे। सम्मेलन गर्ने कुनै-कुनै ठाउँमा बिजुली हुँदैनथ्यो। त्यसैले एक जना भाइले डाइनामो जडान गरिएको साइकलको पेडल चलाएर बिजुली निकाल्नुपर्थ्यो। यसरी हामी क्यासेट-प्लेयर बजाएर सम्मेलनका भाषणहरू सुन्थ्यौँ। हुनत हाम्रो अवस्था अरू देशका भाइबहिनीहरूको जस्तो सहज थिएन अनि उहाँहरूसित जस्तो प्रशस्त प्रकाशनहरू पनि थिएन। तैपनि हामीलाई कहिल्यै आध्यात्मिक भोजनको कमी भएन। भाइबहिनीसँगै मिलेर यहोवाको सेवा गर्न पाउँदा हामी निकै खुसी थियौँ।—नहे. ८:१०.

अग्रगामी गर्दै र छोराछोरी हुर्काउँदै

अठार वर्ष पुगेपछि मैले फ्लोरिडामा नियमित अग्रगामीको रूपमा सेवा गर्न थालेँ। त्यसको एक वर्षपछि मलाई विशेष अग्रगामीको रूपमा कामागे सहरमा खटाइयो। एमिलियालाई मैले त्यहीँ भेटेको थिएँ। तिनी सान्तियागो दे क्युबाकी थिइन्‌। हामीले डेटिङ गर्न थाल्यौँ र एक वर्षभित्रै विवाह गऱ्‍यौँ।

चित्रहरूको सँगालो: १. भाइ गुस्ताभो एल्डरहरूको लागि राज्य सेवा स्कुलमा सामूहिक फोटो खिचाउँदै। २. गुस्ताभो र एमिलिया विवाहको दिनमा फोटो खिचाउँदै।

(बायाँ) एल्डरहरूको लागि राज्य सेवा स्कुल—कामागे, क्युबा, १९६६

(दायाँ) विवाहको दिन, १९६७

मैले सरकारी चिनी कारखानामा पूर्ण-समय काम गर्न थालेँ। हामीले अग्रगामी सेवा गरिरहन सकेनौँ। तैपनि हामी आध्यात्मिक गतिविधिमा सक्दो भाग लिन चाहन्थ्यौँ। त्यसैले मैले काममा बिहान ३ बजेदेखि ११ बजेसम्मको सिफ्ट मिलाएँ। हुनत मलाई बिहान छिटो उठ्‌न गाह्रो लाग्छ। तैपनि कामको तालिका यसरी मिलाएकोले म एमिलियासँगै नियमित रूपमा प्रचारमा जान सकेँ अनि सभाहरू पनि छुटेन।

सन्‌ १९६९ मा हाम्रो जेठो छोरा गुस्ताभो जन्मियो। त्यही समयतिर भाइहरूले मलाई ‘क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न सक्नुहुन्छ कि’ भनेर सोध्नुभयो। त्यतिबेला क्युबामा छोराछोरी हुर्काउँदै क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्नु सामान्य थियो। यो जिम्मेवारी स्विकारेपछि हाम्रो जीवनको नयाँ पाटो सुरु भयो। हामी निकै व्यस्त भयौँ तर खुसी पनि थियौँ। यसरी भाइबहिनीहरूको सेवा गर्न पाउनु एमिलिया र मेरो लागि ठूलो सुअवसर थियो। क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरिरहेकै समयमा हाम्रो माइलो छोरा ओबेद र कान्छो छोरा अब्नेर पनि जन्मियो। त्यसको केही वर्षपछि हाम्री छोरी माहेली जन्मिई।

परिभ्रमण कार्यमा बिताएका वर्षहरूलाई फर्केर हेर्दा हामीलाई अहिले निकै खुसी लाग्छ। यहोवाले क्युबाका आफ्ना जनहरूलाई आशिष्‌ दिनुभएको कुरा हामी आफैले देख्न सक्यौँ। छोराछोरीलाई यहोवाप्रतिको प्रेम विकास गर्न मदत दिन हामीले गरेको प्रयासमा पनि उहाँले आशिष्‌ दिनुभयो। क्युबामा प्रतिबन्ध लागेको त्यो समयमा हामीले कसरी परिभ्रमण कार्य गऱ्‍यौँ, अब म तपाईँहरूलाई बताउँछु।

प्रतिबन्धको समयमा परिभ्रमण कार्य गर्दै

सन्‌ १९६० र १९७० को दशकमा प्रतिबन्धका असरहरू देखिन थाले। सभाभवनहरू बन्द भए। मिसनरीहरूलाई देशनिकाला गरियो। थुप्रै जवान भाइहरूलाई पक्राउ गरेर झ्यालखानामा हालियो। अनि हाभानामा भएको हाम्रो शाखा कार्यालय पनि बन्द गरियो।

गुस्ताभो र एमिलियाले स्पेनिश भाषाको “ब्यूँझनुहोस्‌!” पत्रिका समाइरहेका छन्‌।

परिभ्रमण कार्यमा, १९९० को दशक

प्रतिबन्धको कारण हामी सप्ताहन्तमा मात्र मण्डलीको भ्रमण गर्थ्यौँ। त्यसैले प्रत्येक मण्डलीको भ्रमणको लागि दुइटा सप्ताहन्त छुट्टइन्थ्यो। भ्रमणमा जाँदा हामी थोरै मात्र सामान बोक्थ्यौँ र प्रायजसो साइकलमै यात्रा गर्थ्यौँ। पुलिस वा अरूको ध्यान नखिच्न हामी त्यसो गर्ने गर्थ्यौँ। भ्रमणबारे घोषणा गरिँदैनथ्यो। हामी भ्रमणमा जाँदा नातेदारलाई भेट्‌न गएको जस्तो देखिनेगरि जानुपर्थ्यो अनि त्यसो गर्न त्यति गाह्रो पनि थिएन। वास्तवमा भन्‍ने हो भने भाइबहिनीलाई भेट्‌दा आफ्नै परिवारलाई भेटेजस्तै महसुस हुन्थ्यो। त्यसैले कहिलेकाहीँ त आफू मण्डलीको भ्रमण गर्दै छु भनेर आफैलाई सम्झाउनुपर्थ्यो। (मर्कु. १०:२९, ३०) हामी चनाखो पनि हुनुपर्थ्यो किनभने पुलिसहरूले अक्सर हाम्रो पिछा गर्थे र हामीलाई केरकार गर्थे। पुलिसहरूले हाम्रो बारेमा थाह पाए भने हामीलाई बास दिने भाइबहिनीहरू नै पक्राउ पर्ने खतरा हुन्थ्यो।—रोमी १६:४.

परिभ्रमण कार्यको दौडान हामीले भेटेका थुप्रै भाइबहिनीहरूलाई आर्थिक रूपमा सजिलो थिएन। तैपनि उहाँहरूले उदारता देखाउनुभयो। कुनै-कुनै ठाउँमा त लामखुट्टे यति धेरै हुन्थ्यो कि मान्छेभन्दा लामखुट्टे नै धेरै छ जस्तो लाग्थ्यो। हामी राती राम्रोसँग सुत्न सकोस्‌ भनेर भाइबहिनीहरूले आफूसित भएको एउटा मात्र झुल पनि हामीलाई दिनुहुन्थ्यो। कतिपय भाइबहिनीहरूले हामीलाई बास दिनुभयो र आफूसित भएको थोरै खानेकुरा पनि हामीसँग बाँडचुँड गर्नुभयो। कहिलेकाहीँ त हामी आफै खानेकुरा बोकेर जान्थ्यौँ र बास दिने भाइबहिनीहरूसित बाँडेर खान्थ्यौँ।

भ्रमणमा जाँदा हामी सबै छोराछोरीलाई सँगै लैजादैँनथ्यौँ। एक जनालाई मात्र लैजान्थ्यौँ। अनि अरूलाई चाहिँ मेरो आमा र बहिनीले हेरिदिनुहुन्थ्यो। खासमा भन्‍ने हो भने बच्चालाई सँगै लैजाँदा हाम्रै सुरक्षा हुन्थ्यो। कहिलेकाहीँ पुलिसहरूले हाम्रो खानतलासी गर्थे। तर हामी साहित्यहरू फोहोर डाइपरसँगै लुकाउँथ्यौँ, जहाँ पुलिसले खानतलासी गर्दैनथे।

एमिलियाले मलाई पूर्ण-समय सेवामा साथ दिँदै छोराछोरीको पनि राम्रोसित हेरविचार गरिन्‌। त्यसको लागि म तिनीप्रति सधैँ कृतज्ञ छु। मैले पनि आफ्नो काम गर्दै क्षेत्रीय निरीक्षकको जिम्मेवारी पूरा गर्न सकेँ। सप्ताहन्तमा छुट्टी लिन सकियोस्‌ भनेर म हप्ताको एक वा दुई दिन डबल-सिफ्ट काम गर्थेँ। पछि मेरो कामको तालिका परिवर्तन भयो। म टिम लिडर भएँ र मैले सातै दिन काम गर्नुपर्ने भयो। हुनत कामको तालिका मेरो हातमा थिएन। तर मैले एउटा जुक्‍ति निकालेँ। म आफ्नो टिमलाई सप्ताहन्तसम्मै पुग्नेगरि काम दिन्थेँ र मचाहिँ मण्डलीको भ्रमणमा जान्थेँ। म काममा नआएको कुरा तिनीहरूले कसैलाई बताउँदैनथे। मलाई याद भएअनुसार मेरा हाकिमहरूले पनि म सप्ताहन्तमा काममा नआएको कुरा चालै पाएनन्‌।

असाइनमेन्ट परिवर्तन हुँदा पनि आनन्द कायम राख्दै

भाइ गुस्ताभो १९९४ को जिल्ला अधिवेशनमा भाषण दिँदै।

प्रतिबन्ध हटाइएपछि आयोजना गरिएको पहिलो अधिवेशन, १९९४

सन्‌ १९९४ को कुरा हो, सङ्‌गठनमा नेतृत्व लिइरहेका भाइहरूले सबै परिभ्रमण निरीक्षकहरूलाई एउटा विशेष सभाको लागि हाभानामा बोलाए। त्यतिबेला क्युबामा ८० जना परिभ्रमण निरीक्षकहरू थिए। यसरी वर्षौँपछि एक ठाउँमा भेला हुन पाउँदा हामी सबै जना धेरै खुसी थियौँ। त्यस सभाको सुरुमा सङ्‌गठनमा भएका केही छाँटकाँटहरूबारे बताइयो। त्यसपछि हामीले आशै नगरेको एउटा घोषणा भयो। त्यो घोषणा हामी सबै परिभ्रमण निरीक्षकहरूको नाम अख्तियारवालाहरूलाई दिइनेबारे थियो। तर किन?

नेतृत्व लिइरहेका भाइहरूले सरकारसित राम्रो सम्बन्ध बनाउने उद्देश्‍यले सरकारी अख्तियारवालाहरूसित कुराकानी हुँदै छ भनेर बताउनुभयो। अख्तियारवालाहरूले सबै क्षेत्रीय निरीक्षकहरूको नामको सूची मागेका रहेछन्‌। त्यसैले हामी आफ्नो नाम दिन राजी भयौँ। त्यस समयदेखि सरकारी अख्तियारवालाहरूसितको हाम्रो सम्बन्ध राम्रो हुँदै गयो।

वास्तवमा ती अख्तियारवालाहरूले केही परिभ्रमण निरीक्षकहरूको नाम पहिल्यै थाह पाइसकेका रहेछन्‌। तिनीहरूले पक्का गर्नको लागि मात्र नामको सूची मागेका रहेछन्‌। त्यो कुरा हामीलाई पछि मात्र थाह भयो। हुनत क्युबामा त्यतिबेला पनि यहोवाका साक्षीहरूले कानुनी मान्यता पाइसकेका थिएनन्‌। तैपनि उपासनाको लागि एक ठाउँमा भेला हुन र प्रचार गर्न बिस्तारै सहज हुँदै गयो।

सेप्टेम्बर १९९४ मा हामीले शाखा कार्यालय फेरि स्थापना गर्ने अनुमति पायौँ। हामीले २० वर्षअघि प्रयोग गरेको भवन नै फेरि शाखा कार्यालयको रूपमा प्रयोग गर्न सक्यौँ।

त्यसपछि १९९६ मा हामीलाई बेथेलबाट फोन आयो र त्यहाँ सेवा गर्ने निम्तो दिइयो। सुरुमा त म अक्क न बक्क भएँ! त्यसपछि भाइहरूलाई मेरा दुई जना छोराछोरी सानै छन्‌ र अहिलेलाई मैले तिनीहरूलाई नै प्राथमिकता दिनुपर्छ भनेर बताएँ। उहाँहरूले हाम्रो अवस्थाबारे फेरि विचार गर्नुभयो र ‘हामी तपाईँहरू बेथेलमै आएको चाहन्छौँ’ भनेर बताउनुभयो। हामीले बेथेलको निम्तो स्विकाऱ्‍यौँ र पूरै परिवार हाभानामा सऱ्‍यौँ।

चित्रहरूको सँगालो: १. एमिलिया र अरू बहिनीहरू बेथेलको सिलाइ विभागमा काम गर्दै। २. भाइ गुस्ताभो सम्मेलन भवनमा भाषण दिँदै।

(बायाँ) एमिलिया क्युबा शाखाको सिलाइ विभागमा काम गर्दै, २००० को दशक

(दायाँ) सम्मेलन भवनको समर्पण कार्यक्रम, २०१२

कुरा नलुकाई भन्‍नुपर्दा सुरु-सुरुमा त म बेथेल सेवामा रमाउनै सकिनँ। परिभ्रमण कार्यमा मैले वर्षौँ बिताएको थिएँ। त्यसैले मलाई क्षेत्रको धेरै याद आउँथ्यो। भाइबहिनीहरूले भोगिरहेका चुनौतीहरूबारे सोच्दा मलाई उहाँहरूको धेरै चिन्ता लाग्थ्यो। आफूले उहाँहरूको लागि केही पनि गर्न सकिरहेको छैनँ जस्तो महसुस हुन्थ्यो। तर बेथेलका भाइबहिनीहरू र खासगरि मेरी पत्नीले मलाई आफ्नो सोचाइ सच्याउन धेरै मदत गरिन्‌। म बिस्तारै बेथेल सेवामा रमाउन थालेँ। अहिले मलाई बेथेल सेवा एकदमै रमाइलो लाग्छ।

चित्रहरूको सँगालो: १. भाइ गुस्ताभो ख्रिष्टियन दम्पतीहरूका लागि बाइबल स्कुलका स्नातकहरूलाई सम्बोधन गर्दै छन्‌। स्नातकहरू तिनको पछाडि उभिएका छन्‌। २. भाइ गुस्ताभो अरू चार जना शाखा समिति सदस्यहरूसित उभिरहेका छन्‌।

(बायाँ) ख्रिष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल, २०१३

(दायाँ) क्युबा शाखा समिति, २०१३

गुस्ताभो र एमिलिया छोरी-ज्वाइँसित बसिरहेका छन्‌।

छोरी-ज्वाइँसित सम्मेलनमा

एमिलिया र मेरो उमेर निकै ढल्किसक्यो। वर्षौँको दौडान हामीले थुप्रै भाइबहिनीहरूलाई चिन्‍ने र उहाँहरूसित सेवा गर्ने मौका पायौँ। उहाँहरूबारे सोच्दा हामीलाई निकै खुसी लाग्छ। अझ खासगरि हाम्रा छोराछोरी र नातिनातिनाले यहोवाको सेवा गरेको देख्दा हामी वृद्ध युहन्‍नाले जस्तै महसुस गर्छौँ। तिनले यसो भने: “मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्‌ भनेर सुन्‍न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।”—३ युह. ४.

एमिलिया र मैले बेथेल सेवा गरेको झन्डै ३० वर्ष भइसक्यो। बुढ्यौली र स्वास्थ्य समस्याले गर्दा हामीलाई सजिलो त छैन। तैपनि बेथेलको असाइनमेन्ट पूरा गर्न हामी सक्दो प्रयास गर्दै छौँ। हामीले यहोवाको सेवामा झन्डै ७० वर्ष बिताइसक्यौँ। ती वर्षहरूलाई फर्केर हेर्दा चुनौतीहरू त थिए। तैपनि हामीले “आनन्दित परमेश्‍वरको” सेवा गर्ने मौका पाएकोमा खुसी र सन्तुष्ट छौँ!—१ तिमो. १:११; भज. ९७:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने