प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जून पृ. १४-१९
  • क्षेत्र सेवा समूहको प्रबन्धबाट लाभ उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवा समूहको प्रबन्धबाट लाभ उठाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समूह निरीक्षक र तिनको सहायक
  • आफ्नो क्षेत्र सेवा समूहलाई पूरापूर साथ दिनुहोस्‌
  • क्षेत्र सेवा समूहबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?
  • क्षेत्र सेवा समूहबाट कसरी लाभ उठाउन सकिन्छ?
    हाम्रो राज्य सेवा—२०१२
  • क्षेत्र सेवाको सभा
    हाम्रो राज्य सेवकाई—२००९
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • सामूहिक साक्षीकार्यले आनन्द ल्याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जून पृ. १४-१९

अगस्त २४-३०, २०२६

गीत ६५ बढ्‌दै जाऊ!

क्षेत्र सेवा समूहको प्रबन्धबाट लाभ उठाउनुहोस्‌

“समुदायमा र सोझा मानिसहरूको समूहमा म सारा हृदयले यहोवाको प्रशंसा गर्नेछु।”—भज. १११:१.

सिक्न सकिने कुरा

क्षेत्र सेवा समूहको प्रबन्धबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

१-२. क्षेत्र सेवा समूहको प्रबन्ध थुप्रैलाई कस्तो लाग्छ?

अब तपाईँ मण्डलीसितै मिलेर प्रचारमा भाग लिन सक्नुहुन्छ भनेर थाह पाउँदा तपाईँलाई कस्तो महसुस भएको थियो? तपाईँलाई पक्कै खुसी लाग्यो होला! किनकि त्यस दिन तपाईँ यहोवाका उपासकहरूको ठूलो समुदायको भाग बन्‍नुभयो। (भज. १४८:१, २, १२, १३) त्यही दिन सायद तपाईँ अर्को एउटा सानो समूहको भाग पनि बन्‍नुभयो। त्यो हो, क्षेत्र सेवा समूह। हामीले “सारा पृथ्वीभरि” राज्यको सुसमाचार सुनाउने महत्त्वपूर्ण जिम्मेवारी पाएका छौँ अनि क्षेत्र सेवा समूहको भाग बन्दा हामी त्यो जिम्मेवारी राम्रोसित पूरा गर्न सक्छौँ।—मत्ति २४:१४.

२ क्षेत्र सेवा समूहको प्रबन्ध तपाईँलाई कस्तो लाग्छ? वेन्डीa बहिनी यसो भन्छिन्‌: “यो मायालु प्रबन्धबाट मैले थुप्रै लाभ उठाएकी छु। प्रचार गर्ने र सिकाउने नयाँ-नयाँ तरिकाहरू सिकेकी छु। त्यति मात्र होइन, आध्यात्मिक लक्ष्यहरू राख्न र त्यो हासिल गर्न मदत पाएकी छु अनि सुख-दुःखमा साथ दिने थुप्रै साथीहरू पनि पाएकी छु।” रिच भाइ यसो भन्छन्‌: “भाइबहिनीहरूले कुनै व्यक्‍तिलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गर्छन्‌। तर समूह निरीक्षकले भने बप्तिस्मापछि पनि त्यो व्यक्‍तिलाई आध्यात्मिक प्रगति गरिरहन मदत दिने मौका पाउँछन्‌। त्यसैले समूह निरीक्षकको रूपमा सेवा गर्न पाउनुलाई म ठूलो सुअवसर ठान्छु।” डायना बहिनी यसो भन्छिन्‌: “क्षेत्र सेवा समूहको प्रबन्ध मलाई एकदमै मन पर्छ। समूहका भाइबहिनीहरू मलाई आफ्नै परिवारजस्तो लाग्छ।”

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ यस लेखमा हामी निम्न कुराहरू छलफल गर्नेछौँ: समूह निरीक्षक र तिनका सहायकको भूमिका के हो? तिनीहरू आफ्नो समूहका भाइबहिनीहरूको कसरी हेरचाह गर्छन्‌? हामी आफ्नो क्षेत्र सेवा समूहलाई कसरी पूरापूर साथ दिन सक्छौँ? अनि यो मायालु प्रबन्धबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

समूह निरीक्षक र तिनको सहायक

४. (क) क्षेत्र सेवा समूहको निरीक्षकको मुख्य जिम्मेवारी के हो? (ख) समूह निरीक्षकले आफ्नो समूहमा भएकाहरूको कसरी हेरचाह गर्छन्‌? (“समूह निरीक्षकको लागि केही सुझाव” भन्‍ने पेटी हेर्नुहोस्‌।)

४ एल्डरहरूको निकायले एक जना एल्डरलाई क्षेत्र सेवा समूहको निरीक्षककोb रूपमा खटाउँछ। तिनको जिम्मेवारी भनेको आफ्नो समूहका प्रकाशकहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनु हो। तिनले कसरी त्यसो गर्छन्‌? पहिलो, तिनी आफ्नो समूहमा भएका प्रत्येक भाइबहिनीमा गहिरो चासो लिन्छन्‌। (हितो. २७:२३) तिनी एक जना मायालु गोठालोको रूपमा नियमित तवरमा समूहका भाइबहिनीहरूको हालखबर बुझ्न प्रयास गर्छन्‌। यसो गर्दा तिनले उनीहरूलाई आध्यात्मिक प्रोत्साहन दिन सक्छन्‌, निराश हुँदा हौसला दिन सक्छन्‌ अनि अन्य व्यावहारिक मदत पनि दिन सक्छन्‌। (हितो. १२:२५; यसै. ३२:२; याकु. २:१५-१७) दोस्रो, तिनी प्रत्येक प्रकाशकलाई नियमित रूपमा प्रचारकार्यमा भाग लिन मदत गर्छन्‌। तिनी प्रचारकार्यमा जोसिलो भई नेतृत्व लिन्छन्‌, विशेषगरि सप्ताहन्तमा। साथै तिनी समूहका भाइबहिनीहरूलाई आवश्‍यक प्रोत्साहन र तालिम दिन प्रत्येक प्रकाशकसित नियमित रूपमा प्रचारमा जान्छन्‌। कारणवश आफू भेलामा जान नसक्दा तिनी आफ्नो सहायक वा अर्को कुनै योग्य प्रकाशकको मदत माग्छन्‌। तेस्रो, तिनी बप्तिस्मा गरेका भाइहरूलाई थप जिम्मेवारीको लागि योग्य हुन मदत गर्छन्‌। (१ तिमो. ३:१) तिनी भाइहरूको मनैदेखि प्रशंसा गर्छन्‌। आवश्‍यक पर्दा बाइबलबाट सल्लाह दिन्छन्‌। अनि सहायक सेवक र एल्डर बन्‍न चाहिने योग्यता हासिल गर्न नियमित रूपमा तालिम पनि दिन्छन्‌। समूह निरीक्षकको भूमिका साँच्चै गहन छ! त्यसैले एल्डरहरूको निकायले यो जिम्मेवारी सबैभन्दा राम्रोसँग पूरा गर्न सक्ने एल्डरलाई छान्छ।

समूह निरीक्षकको लागि केही सुझाव

  • क्षेत्र सेवाको सभा छोटो हुनुपर्छ, सात मिनेटभन्दा लामो हुनु हुँदैन। यसो गर्दा भाइबहिनीहरू तुरुन्तै इलाकामा जान सक्नेछन्‌।

  • सकेसम्म समूहका सबै भाइबहिनीहरूसित प्रचारमा जानुहोस्‌। आफ्नो अवस्थाले गर्दा क्षेत्र सेवाको सभामा नियमित रूपमा आउन नसक्ने भाइबहिनीहरूसित पनि प्रचारमा जान मिलाउनुहोस्‌। तिनीहरूसित अरू कुनै दिन वा साँझको समयमा जान सक्नुहुन्छ।

  • समूहका सबैलाई नियमित रूपमा गोठालो भेट गर्नुहोस्‌। गोठालो भेटको लागि भाइबहिनीकै घरमा, सभाभवनमा वा अरू कुनै उपयुक्‍त स्थानमा मिलाउन सक्नुहुन्छ। कुनै-कुनै अवस्थामा फोन गरेर वा चिठी लेखेर पनि गोठालो भेट गर्न सकिन्छ।

  • भाइहरूलाई तालिम दिनुहोस्‌। यसो गर्दा तिनीहरूले यहोवाको सेवामा अझ धेरै गर्न सक्नेछन्‌ र थप जिम्मेवारीहरू बहन गर्न योग्य हुनेछन्‌।

  • तपाईँको समूहको भेला अरू समूहहरूसित मिलेर गर्नुपर्ने अवस्था छ भने पनि आफ्नो समूहका भाइबहिनीहरूलाई तपाईँ आफैले डोऱ्‍याउनुहोस्‌।

५. समूह निरीक्षकहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ?

५ समूह निरीक्षकले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ? जर्मनीका एक एल्डर योर्कबारे विचार गरौँ। तिनी मण्डलीमा समूह निरीक्षकको रूपमा सेवा गर्दै छन्‌। तर थुप्रै एल्डरहरूले जस्तै तिनले मण्डलीमा अरू जिम्मेवारीहरू पनि सम्हालिरहेका छन्‌। तिनी भन्छन्‌: “म आफ्नो समूहका सबै भाइबहिनीलाई भेटेर उहाँहरूको हालखबर बुझ्न चाहन्छु। तर मेरो अरू पनि जिम्मेवारीहरू भएकोले त्यसो गर्न कहिलेकाहीँ गाह्रो हुन्छ।” युगाण्डाका ७० वर्षीय एल्डर आबेल यसो भन्छन्‌: “हाम्रो मण्डलीमा एल्डरहरू र सहायक सेवकहरू थोरै भएकोले क्षेत्र सेवा समूह पनि थोरै छ। तर प्रत्येक क्षेत्र सेवा समूहमा भाइबहिनीहरू भने धेरै छन्‌। त्यसैले मैले समूहका प्रत्येक प्रकाशकलाई आफूले चाहेजति समय दिन सकिरहेको छैनँ।” सुरिनामका अर्का एल्डर ओबेद यसो भन्छन्‌: “मलाई अरूलाई तालिम दिन मन पर्छ। तर तालिम दिन समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ। अनि त्यसको नतिजा पनि तुरुन्तै देखिँदैन। त्यसैले तालिम दिने कुरालाई अक्सर पछि सारिन्छ।” एल्डरहरूलाई यी तथा अन्य चुनौतीहरूको सामना गर्न केले मदत गर्छ?

६. क्षेत्र सेवा समूह सानो बनाउनुको फाइदा के हो?

६ सम्भव छ भने क्षेत्र सेवा समूहहरू सानो बनाउनु राम्रो हो। यसो गर्दा समूह निरीक्षकहरूले समूहका सबै भाइबहिनीहरूलाई राम्रोसँग चिन्‍न र तिनीहरूलाई आध्यात्मिक रूपमा बलियो भइरहन मदत गर्न सक्नेछन्‌। तर मण्डलीमा एल्डरहरू थोरै छन्‌ भने नि? त्यसो हो भने पनि ठूलठूलो समूहहरू बनाउनुको साटो स-सानो समूहहरू बनाउनु बेस हो। अनि एल्डर नभएको समूहमा एल्डरहरूको निकायले कुनै सहायक सेवकलाई केही समयको लागि खटाउन सक्छ। समूह निरीक्षकको जिम्मेवारीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको भाइबहिनीको हेरचाह गर्नु हो। क्षेत्र सेवा समूह सानो छ भने तिनले त्यो जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्नेछन्‌।

७. तपाईँ थोरै एल्डर भएको मण्डलीमा समूह निरीक्षकको रूपमा सेवा गर्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? (१ पत्रुस ५:२) (चित्र पनि हेर्नुहोस्‌।)

७ तपाईँ थोरै एल्डर भएको मण्डलीमा समूह निरीक्षकको रूपमा सेवा गर्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? आफ्नो सहायकलाई परमेश्‍वरको बगालको हेरचाह गर्न तालिम दिनुहोस्‌। (१ पत्रुस ५:२ पढ्‌नुहोस्‌।) तपाईँ तिनलाई केही जिम्मेवारीहरू सुम्पन सक्नुहुन्छ। जस्तै, बेलाबेलामा क्षेत्र सेवाको सभा सञ्चालन गर्ने र समूहलाई प्रचारमा डोऱ्‍याउने। समूहका प्रत्येक भाइबहिनीलाई प्रचारमा अझ सिपालु हुन र यहोवासित नजिक भइरहन कसरी मदत दिन सकिन्छ, त्यसबारे पनि आफ्नो सहायकसित कुरा गर्नुहोस्‌। समूहका भाइबहिनीहरूको गोठालो भेटमा तिनलाई पनि सँगै लैजानुहोस्‌। गोठालो भेटमा जानुअघि भेट्‌न जान लागेको भाइ वा बहिनीलाई कसरी प्रोत्साहन दिन सकिन्छ भनेर तिनीसित कुराकानी गर्नुहोस्‌। गोठालो भेट सकिएपछि तिनको प्रशंसा गर्नुहोस्‌ र आवश्‍यक छ भने केही सल्लाह दिनुहोस्‌। यसरी तालिम दिँदा तपाईँको सहायक पछि गएर समूह निरीक्षकको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌। (२ तिमो. २:२) अरूलाई तालिम दिन तपाईँ समूहका परिपक्व भाइबहिनीहरूसित पनि मदत माग्न सक्नुहुन्छ। जस्तै, अग्रगामीहरू र अरू अनुभवी प्रकाशकहरूले नयाँ र कम अनुभवी भाइबहिनीहरूसित प्रचारमा भाग लिन सक्छन्‌। अनि तिनीहरूलाई कुराकानी थाल्न, पुनःभेट गर्न वा बाइबल अध्ययन सञ्चालन गर्न मदत दिन सक्छन्‌। अब आउनुहोस्‌, हामी प्रत्येकले आफ्नो क्षेत्र सेवा समूहलाई कसरी पूरापूर साथ दिन सक्छौँ, तीन वटा तरिका विचार गरौँ।

समूह निरीक्षक एक भाइलाई तालिम दिन “मानिसलाई प्रेम गर्नुहोस्‌​—⁠चेला बनाउनुहोस्‌” पुस्तिका प्रयोग गर्दै छन्‌।

एल्डरले आफ्नो क्षेत्र सेवा समूहको सहायक सेवकलाई तालिम दिन सक्छन्‌, जस्तै: क्षेत्र सेवाको सभा सञ्चालन गर्न लगाएर (अनुच्छेद ७ हेर्नुहोस्‌)


आफ्नो क्षेत्र सेवा समूहलाई पूरापूर साथ दिनुहोस्‌

८. हामी आफ्नो समूहलाई कसरी पूरापूर साथ दिन सक्छौँ? (रोमी १:१२)

८ समूहसँगै प्रचारमा भाग लिनुहोस्‌। समूहका भाइबहिनीहरूसँगै प्रचारमा जाँदा “एकअर्कालाई प्रोत्साहन दिन” सकिन्छ। (रोमी १:१२ पढ्‌नुहोस्‌।) साथै घरधनीसित ढुक्क भएर कुराकानी गर्न सकिन्छ र सुरक्षित महसुस पनि हुन्छ। आफ्नो कामले गर्दा तपाईँ समूहको भेलामा नियमित रूपमा जान सक्नुभएको छैन भने हाकिमसित कुरा गर्नुभए कसो होला? के थाह, तिनले तपाईँको कामको तालिका मिलाइदिन पनि सक्छन्‌! (नहे. २:४-६) स्वास्थ्य अवस्था वा ढल्कँदो उमेरले गर्दा तपाईँ समूहको भेलामा जान सक्नुहुन्‍न भने त्यसबारे समूह निरीक्षकसित कुरा गर्नुभए कसो होला? तिनले तपाईँको लागि जुमबाटै भेलामा बस्ने अनि चिठी वा टेलिफोन साक्षीमा भाग लिने प्रबन्ध मिलाइदिन सक्छन्‌। तपाईँ जवान र स्वस्थ हुनुहुन्छ तर नियमित रूपमा प्रचारमा भाग लिन सक्नुभएको छैन भने नि? त्यसो हो भने हरेक हप्ता आफ्नो समूहको कसैसित प्रचारमा जाने योजना बनाउनुभए कसो होला? साथै तपाईँले कुन कुरालाई पहिलो स्थानमा राख्दै हुनुहुन्छ वा आफ्नो समय कसरी प्रयोग गर्दै हुनुहुन्छ, त्यो केलाउनुपर्ने हुन सक्छ। (रोमी १२:११; कल. ४:५) समूहसँगै नियमित रूपमा प्रचारमा भाग लिन तपाईँले गर्नुहुने प्रयास खेर जानेछैन। प्रार्थनामा यहोवासित मदत माग्नुहोस्‌। उहाँले तपाईँमा “इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ।”—फिलि. २:१३.

९. क्षेत्र सेवा समूहको वातावरण न्यानो र मित्रैलो बनाउन हामी के गर्न सक्छौँ? (रोमी १२:१३)

९ अतिथि-सत्कार गर्नुहोस्‌। “अतिथि-सत्कार गर्ने बानी” बसाल्दा क्षेत्र सेवा समूहको वातावरण न्यानो र मित्रैलो बनाउन मदत पुऱ्‍याइरहनुभएको हुन्छ। (रोमी १२:१३ पढ्‌नुहोस्‌।) जस्तै, तपाईँ आफ्नो घरमा क्षेत्र सेवा समूह भेला हुनको लागि ठाउँ दिन सक्नुहुन्छ। कुनै-कुनै मण्डलीमा समूहहरूले अतिथि वक्‍तालाई पालैपालो खाना खुवाउँछन्‌। आफ्नो समूहको पालो परेको हप्तामा अतिथि वक्‍ताले निम्तो स्विकार्न सक्दैनन्‌ भने पनि समूहका भाइबहिनीहरूले सँगै खाना खान र सरसङ्‌गति गर्न सक्छन्‌। विशेष अग्रगामी बहिनी सारा यसो भन्छिन्‌: “घरमा कसैलाई खाना खान बोलाउँदा के बनाउने होला, खाना कस्तो होला भन्‍ने कुरा सोचेर नै एकदमै आत्तिन्छु। त्यसैले थरीथरीको परिकार बनाउनुको साटो साधारण खानेकुरा बनाउँछु। यसो गर्दा मैले भाइबहिनीहरूसित सरसङ्‌गत गर्न र उहाँहरूलाई अझ राम्रोसँग चिन्‍न सकेकी छु।” यसरी अतिथि-सत्कार देखाउँदा क्षेत्र सेवा समूहमा परिवारको जस्तै न्यानो वातावरण हुन्छ अनि हामी यहोवा र एकअर्कासित अझ नजिक हुन सक्छौँ।—नहे. ८:१०; प्रेषि. २०:३५.

१०. तपाईँ प्रचारकार्यको कुनै पक्षमा सिपालु हुन चाहनुहुन्छ भने के गर्न सक्नुहुन्छ? (हितोपदेश १:५; २७:१७) (चित्र पनि हेर्नुहोस्‌।)

१० अग्रसर हुनुहोस्‌। हामी प्रचार गर्ने र सिकाउने काममा जति सिपालु हुँदै जान्छौँ, समूहसँगै प्रचारमा भाग लिन हामीलाई त्यति नै रमाइलो लाग्नेछ। तपाईँ प्रचारकार्यको कुन पक्षमा अझ सिपालु हुन चाहनुहुन्छ? तपाईँ आफै अग्रसर भएर आफ्नो समूहको कुनै अग्रगामी वा अनुभवी प्रकाशकसित मदत माग्नुभए कसो होला? (हितोपदेश १:५; २७:१७ पढ्‌नुहोस्‌।) तपाईँ आफूले उन्‍नति गर्न चाहेको पक्षबारे आफ्नो समूह निरीक्षकलाई पनि बताउन सक्नुहुन्छ। तिनले तपाईँलाई मदत गर्न सक्छन्‌। तपाईँ अरूसित पनि मदत माग्न सक्नुहुन्छ। हेदर बहिनीले पनि त्यसै गरिन्‌। लजालु स्वभावकी भए पनि तिनले अरूसित मदत मागिन्‌। तिनी भन्छिन्‌: “पुनःभेटहरू गर्न मैले एक जना अग्रगामीसित मदत मागेँ। उहाँ दयालु र मायालु हुनुहुन्थ्यो। उहाँले मसँग नियमित रूपमा प्रचारमा जाने योजना बनाउनुभयो। उहाँको मदत पाएर मैले एक जना पुनःभेटसित बाइबल अध्ययन सुरु गर्न पनि सकेँ। मलाई अहिले प्रचार जान रमाइलो लाग्छ। मैले उहाँसित मदत मागेर एकदमै राम्रो गरेँ।” हो, हामी प्रत्येकले आफ्नो क्षेत्र सेवा समूहलाई विभिन्‍न तरिकामा साथ दिन सक्छौँ।

एउटी जवान बहिनी आफूभन्दा पाको र अनुभवी दिदीलाई सँगै प्रचारमा जान चाहेको कुरा बताउँदै छिन्‌।

क्षेत्र सेवा समूह सानो छ भने एकअर्कालाई राम्ररी चिन्‍न र सँगै प्रचारमा भाग लिन सजिलो हुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)


क्षेत्र सेवा समूहबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?

११-१२. क्षेत्र सेवा समूहको प्रबन्धबाट हामी कस्तो आध्यात्मिक लाभ उठाउन सक्छौँ? एउटा अनुभव बताउनुहोस्‌।

११ आध्यात्मिक लाभ। क्षेत्र सेवा समूहको प्रबन्धबाट हामी प्रत्येकले आध्यात्मिक रूपमा लाभ उठाउन सक्छौँ। जस्तै, यहोवाले असाध्यै माया गर्नुहुने विधवा, अनाथ र वृद्धहरूले चाहिएकै समयमा प्रोत्साहन पाउन सक्छन्‌। (१ थिस्स. २:८; याकु. १:२७) साथै समूहका भाइबहिनीहरूसँगै प्रचारकार्यको विभिन्‍न पक्षमा भाग लिँदा हामी अझ राम्रो प्रचारक र शिक्षक बन्‍न सक्छौँ। बप्तिस्मा गरेका उदाहरणीय भाइहरूले मण्डलीमा थप जिम्मेवारीहरूको लागि तालिम पाउन सक्छन्‌।—१ तिमो. ३:१०.

१२ सुरुमा उल्लेख गरिएकी वेन्डीले क्षेत्र सेवा समूहको प्रबन्धबाट कस्तो लाभ उठाइन्‌, विचार गरौँ। तिनी भन्छिन्‌: “हामीले सत्य सिकेकोले बुबाले हाम्रो विरोध गर्नुहुन्थ्यो। मेरो आमा सप्ताहन्तमा हुने समूहको बेलामा प्रायजसो जान सक्नुहुन्‍नथ्यो। तर मचाहिँ जान पाउँथेँ। त्यसैले म एक्लै भए पनि भेलामा जान्थेँ। एक जना पाको अग्रगामी दिदी मेरो साथी बनिदिनुभयो। म उहाँसँग धेरै प्रचार जान्थेँ। उहाँले मलाई अझ राम्रो प्रचारक बन्‍न अनि मण्डलीमा अझ प्रगति गर्दै जान मदत दिनुभयो। मलाई अझै याद छ, मेरो समूह निरीक्षकले मलाई थुप्रै चोटि बाइबलबाट मायालु सल्लाह दिनुभएको थियो र ती सल्लाहहरूबाट मैले आजसम्मै लाभ उठाइरहेकी छु।”

१३. क्षेत्र सेवा समूहको प्रबन्धबाट हामी कस्तो भावनात्मक लाभ उठाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१३ भावनात्मक लाभ। समूहका भाइबहिनीहरूसँग “एकजुट भई” प्रचारमा भाग लिँदा तिनीहरूसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ। (फिलि. १:२७) कोही-कोही लजालु स्वभावका हुन सक्छन्‌ अथवा तिनीहरूलाई ठूलो समूहमा घुलमिल हुन गाह्रो लाग्न सक्छ। तर क्षेत्र सेवा समूह सानो छ भने त्यस्ता भाइबहिनीहरूले पनि सजिलो महसुस गर्न सक्छन्‌। (२ कोरि. ६:१३) गाह्रो-साह्रो पर्दा समूहका भाइबहिनीहरूले हामीलाई साथ दिन्छन्‌। जस्तै: बिरामी पर्दा, निराश हुँदा वा प्रियजन गुमाउँदा। (१ थिस्स. ५:१४) महासङ्‌कष्ट नजिकिँदै जाँदा हामीलाई असल साथीहरूको अझ धेरै साथ चाहिन्छ। (मत्ति २४:२१) हुनत अहिले हामीले भोगिरहेका कतिपय समस्याहरू तुरुन्तै नहट्‌ला तर हाम्रा मायालु भाइबहिनीहरू हामीलाई मदत गर्न सधैँ तयार छन्‌ भन्‍ने कुरा थाह पाउँदा हामी ती समस्याहरू सहन बल पाउँछौँ।—हितो. १७:१७.

अघिल्लो चित्रमा देखाइएका बहिनीहरू क्षेत्र सेवाको सभापछि प्रचारको लागि इलाकामा जाँदै छन्‌। तिनीहरूकै समूहका अरू भाइबहिनी पनि इलाकामा जाँदै छन्‌।

एउटै क्षेत्र सेवा समूहका दुई जना बहिनी प्रचारमा सँगै जाँदै छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)


१४. प्रकोप वा आकस्मिक अवस्थामा क्षेत्र सेवा समूहबाट कस्तो मदत पाउन सक्छौँ?

१४ व्यावहारिक लाभ। क्षेत्र सेवा समूहबाट विभिन्‍न आपत्‌कालीन अवस्थाहरूमा चाहिएकै मदत पाउन सक्छौँ। जस्तै: रोगबिमार फैलिँदा, प्राकृतिक प्रकोपको सामना गर्नुपर्दा, स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था आइपर्दा, खेदो भोग्नुपर्दा र आर्थिक सङ्‌कट आइपर्दा। त्यस्ता अवस्थाहरूमा विशेष आवश्‍यकता भएकाहरू, जस्तै वृद्धहरूलाई मदत गर्न समूह निरीक्षकले मण्डलीको सेवा समितिसँगै मिलेर योजना बनाउँछ। समूह निरीक्षकहरूले आफ्नो समूहका प्रत्येक परिवारलाई सम्पर्क गर्छन्‌। अनि उनीहरूलाई औषधी-उपचार, खाना, पानी, बास, लुगाफाटा र अन्य कुराहरूको आवश्‍यकता छ कि भनेर बुझ्छन्‌। हो, हामी क्षेत्र सेवा समूहबाट व्यावहारिक मदत र मायालु हेरचाह पाउन सक्छौँ!

१५. यहोवाका उपासकहरू एकताबद्ध हुन सक्नुको कारण के हो?

१५ यहोवाको सङ्‌गठन साँच्चै विशाल छ! यो सङ्‌गठनको स्वर्गमा रहेको भाग लाखौँलाख, करोडौँकरोड वफादार स्वर्गदूतहरू मिलेर बनेको छ। यस सङ्‌गठनको पृथ्वीमा रहेको भागमा ९० लाखभन्दा धेरै उपासकहरू छन्‌ र यो सङ्‌ख्या दिनप्रतिदिन बढ्‌दै छ। (जक. ८:२३; प्रका. ५:११) चाहे स्वर्गको होस्‌ वा पृथ्वीको, यहोवाका सबै उपासकहरू राज्यको सुसमाचार सुनाउने काममा एकताबद्ध भएर लागिरहेका छन्‌। (प्रका. १४:६, ७) क्षेत्र सेवा समूहको प्रबन्धले हामीलाई तनमनले यहोवाको प्रशंसा गर्न मदत गर्छ। त्यसैले यो प्रबन्धबाट लाभ उठाउन हामी सक्दो कोसिस गरिरहौँ!—भज. १११:१.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • समूह निरीक्षक र तिनको सहायकले आफ्नो समूहमा भएका भाइबहिनीहरूको कसरी हेरचाह गर्छन्‌?

  • हामी आफ्नो क्षेत्र सेवा समूहलाई कसरी पूरापूर साथ दिन सक्छौँ?

  • क्षेत्र सेवा समूहको प्रबन्धबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

गीत ६१ अघि बढ, साक्षी हो!

a केही नाम परिवर्तन गरिएका छन्‌।

b यो जिम्मेवारी पूरा गर्न सक्ने एल्डर छैनन्‌ भने योग्य सहायक सेवकलाई खटाउन सकिन्छ। तिनलाई समूह सेवक भनिन्छ। किनभने तिनी मण्डलीमा निरीक्षकको रूपमा नियुक्‍त भइसकेका छैनन्‌। तिनी एल्डरहरूले दिएको निर्देशनअनुसार यो जिम्मेवारी पूरा गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने