मे ४-१०, २०२६
गीत ५३ प्रचारको तयारी
प्रचारकार्यमा आफ्नो “शिक्षणकला” तिखार्नुहोस्
‘असाध्यै धीरजी भएर अनि शिक्षणकलाको पूर्ण सदुपयोग गरेर वचन प्रचार गर।’—२ तिमो. ४:२.
सिक्न सकिने कुरा
प्रचारकार्यमा आफ्नो शिक्षणकला तिखार्ने तीन वटा तरिका।
१. हामीले कुन सीप विकास गर्नुपर्छ र किन? (२ तिमोथि ४:२) (चित्र पनि हेर्नुहोस्।)
येसुले यसो भन्नुभयो: “चेला बनाओ . . . अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ति २८:१९, २०) यस निर्देशनबाट सबै ख्रिष्टियनहरूले अरूलाई सिकाउने काममा भाग लिनुपर्छ भनेर बुझ्न सक्छौँ। हुनत यहोवा “उचित मनसाय भएका” मानिसहरूलाई आफूतर्फ खिच्नुहुन्छ। अनि स्वर्गदूतहरूले हामीलाई त्यस्ता मानिसहरूसम्म डोऱ्याउँछन्। (प्रेषि. १३:४८; युह. ६:४४; प्रका. १४:६) तर हामीले पनि आफ्नो भूमिका पूरा गर्नुपर्छ। प्रेषित पावल र बर्णाबासको उदाहरण विचार गरौँ। बाइबल भन्छ: “आइकोनियममा यहुदीहरूको सभाघरभित्र पसेर पावल र बर्णाबासले यत्ति राम्ररी बोले कि यहुदी र ग्रीकहरूको ठूलो जमातले प्रभुमा विश्वास गर्न थाल्यो।” (प्रेषि. १४:१) हो, पावल र बर्णाबासले आफ्नो “शिक्षणकला” तिखारेका थिए। (२ तिमोथि ४:२ पढ्नुहोस्।) हामीले पनि आफ्नो शिक्षणकला तिखार्न प्रयास गर्नुपर्छ।
येसुको अनि उहाँका चेलाहरू पावल र बर्णाबासको उदाहरणबाट “शिक्षणकला” तिखार्नेबारे थुप्रै कुरा सिक्न सक्छौँ (अनुच्छेद १ हेर्नुहोस्)
२. कसै-कसैलाई किन आफ्नो शिक्षणकला तिखार्न सक्दिनँ जस्तो लाग्छ?
२ कसै-कसैलाई आफ्नो शिक्षणकला तिखार्न सक्दिनँ जस्तो लाग्छ। किन? धेरै लेखपढ नगरेकोले वा बोल्न सिपालु नभएकोले तिनीहरूलाई त्यस्तो लागेको हुन सक्छ। बाइबलमा उल्लेख गरिएका केही पुरुषहरूलाई पनि त्यस्तै लागेको थियो। (प्रस्थ. ४:१०; यर्मि. १:६) अरू कतिपय भने प्रचारकार्यमा राम्रो नतिजा हासिल गर्न नसकेकोले निराश हुन्छन्। सुसमाचार सुन्ने सबैले नै राम्रो प्रतिक्रिया देखाउँछन् भन्ने छैन। अनि हाम्रो प्रचारकार्यको नतिजा कस्तो हुन्छ, त्यो हाम्रो प्रयासमा मात्र निर्भर हुँदैन। अघिल्लो अनुच्छेदमा बताइएझैँ यहोवा र स्वर्गदूतहरूले हामीलाई असल हृदय भएका मानिसहरूसम्म पुग्न मदत गर्नुहुन्छ। तर हामीले पनि मानिसहरूलाई चासो लाग्ने तरिकामा सुसमाचार सुनाउन सक्दो प्रयास गर्नुपर्छ। त्यसैले प्रचारकार्यमा आफ्नो शिक्षणकला तिखार्ने तीन वटा तरिका हामी यस लेखमा छलफल गर्नेछौँ।
मानिसहरूमा चासो राख्नुहोस्
३. येसुले किन मानिसहरूको मन छुने तरिकामा सिकाउन सक्नुभयो?
३ बाइबल भन्छ: “मानिसको हृदयमा के छ, [येसु] जान्नुहुन्थ्यो।” (युह. २:२५) यसबाट उहाँ मानिसहरूको सोचाइ र मनसाय बुझ्नुहुन्थ्यो भनेर थाह पाउन सक्छौँ। उहाँले मानिसहरूको मन छुने तरिकामा सिकाउन सक्नुभयो। किनभने तिनीहरूलाई कुन कुराको आवश्यकता छ भनेर उहाँलाई थाह थियो। तिनीहरूको आध्यात्मिक आवश्यकता पूरा भएको थिएन अनि धर्मगुरुहरूले तिनीहरूलाई तीनथुप्रो नियम र रीतिथितिको भारी बोकाएका थिए। (मत्ति ९:३६; २३:४) त्यसैले येसुले डाँडाको उपदेशमा ती मानिसहरूको अवस्थालाई ध्यानमा राखेर सिकाउनुभयो। थुप्रै मानिसहरू येसुको कुरा सुन्न आउँथे किनकि उहाँ तिनीहरूलाई चाहिएकै कुराहरू सिकाउनुहुन्थ्यो।
४. मानिसहरूमा चासो राखेको हामी कसरी देखाउन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
४ मानिसहरूमा चासो राखेको हामी कसरी देखाउन सक्छौँ? तिनीहरूलाई चिन्ता लागिरहेको कुराहरूबारे बुझ्न प्रयास गरेर। सैतानको यस संसारमा थुप्रै नराम्रा कुराहरू भइरहेका छन्। हामीले प्रचारमा भेट्ने मानिसहरूलाई त्यस्ता कुराहरूले कुनै न कुनै तरिकामा असर गरिरहेको छ। यो कुरा मनमा राख्यौँ भने हामीले तिनीहरूप्रति समानुभूति देखाउन सक्नेछौँ। जस्तै, हालै भएको कुनै घटनाले गर्दा मानिसहरू चिन्तित छन् कि? के आमाबुबालाई आफ्ना छोराछोरीको भविष्यको चिन्ता लागिरहेको छ? के मानिसहरूलाई जागिर पाउन गाह्रो भइरहेको छ? बाइबलको आशा नपाएका मानिसहरूलाई अहिलेको “कठिन” अवस्था सहन कत्ति गाह्रो भइरहेको छ होला, सोच्नुहोस् त!—२ तिमो. ३:१; यसै. ६५:१३, १४.
मानिसहरूको अवस्था बुझ्ने प्रयास गर्नुहोस् र तिनीहरूमा चासो राख्नुहोस् (अनुच्छेद ४ हेर्नुहोस्)
५. येसु फरिसीहरूभन्दा कसरी फरक हुनुहुन्थ्यो? (मत्ति ११:२८-३०)
५ येसु मानिसहरूमा चासो राख्नुहुन्थ्यो र यो कुरा उहाँले तिनीहरूसित गर्नुभएको व्यवहारमा प्रस्टै देखिन्थ्यो। उहाँ फरिसीहरूभन्दा एकदमै फरक हुनुहुन्थ्यो किनकि तिनीहरू आम मानिसहरूलाई तुच्छ ठान्थे र घृणा गर्थे। (मत्ति २३:१३; युह. ७:४९) तर येसु भने मानिसहरूलाई दयालु व्यवहार र आदर गर्नुहुन्थ्यो। उहाँ “कोमल स्वभावको र नम्र हृदयको” हुनुहुन्थ्यो। (मत्ति ११:२८-३० पढ्नुहोस्।) त्यसैले उहाँ राम्रो शिक्षक बन्न सक्नुभयो। हामीले पनि मानिसहरूलाई दयालु व्यवहार र आदर गर्नुपर्छ।
६. कसैले हाम्रो सन्देश सुन्न नचाहँदा वा विरोध गर्दा हामीले के गर्नुपर्छ?
६ कसै-कसैले हाम्रो सन्देश सुन्न चाहँदैनन् वा हाम्रो विरोधसमेत गर्छन्। त्यतिबेला हामीले के गर्नुपर्छ? येसुले हामीलाई विरोध सहिरहो मात्र भन्नुभएन। बरु “तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो” र “तिमीहरूलाई सराप्नेहरूलाई आशिष् दिइरहो” भन्नुभयो। उहाँले “तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो” समेत भन्नुभयो। (लुका ६:२७, २८) मानिसहरूले हाम्रो सन्देश नसुन्नुको पछाडि अरू नै केही कारण हुन सक्छ भन्ने कुरा मनमा राख्यौँ भने हामीलाई विरोध सहन सजिलो हुन्छ। हुनत कसै-कसैले साँच्चै नै हाम्रो विरोध गर्छन्। तर कसै-कसैले भने आफ्नै समस्याले गर्दा हाम्रो कुरा सुन्न नचाहेका हुन सक्छन्। जस्तै, तिनीहरूलाई पारिवारिक समस्याले पिरोलिरहेको वा कुनै कुराको चिन्ता लागिरहेको हुन सक्छ। अथवा हामी नै गलत समयमा पुगेका हुन सक्छौँ। मानिसहरूले हाम्रो कुरा नसुन्नुको कारण जेसुकै होस्, हामीले बाइबलको यो सल्लाह पालन गर्नुपर्छ: “तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्। यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।” (कल. ४:६) हामीले मानिसहरूप्रति समानुभूति देखायौँ अनि तिनीहरूको परिस्थिति बुझ्ने प्रयास गऱ्यौँ भने तिनीहरूले हामीसित नराम्रो व्यवहार गर्दा पनि रिसाउनेछैनौँ। बरु बाइबलबाट कस्तो कुरा बतायौँ भने तिनीहरूको मन छुन सक्छ भन्ने कुरा सोच्नेछौँ।
परमेश्वरको वचनमा भर पर्नुहोस्
७. येसुले परमेश्वरको वचनमा भर परेको कसरी देखाउनुभयो? (युहन्ना ७:१४-१६)
७ मानिसहरूलाई सिकाउँदा येसु आफूसित भएको ज्ञानमा नभई परमेश्वरको वचनमा भर पर्नुभयो। उहाँले तिनीहरूलाई परमेश्वरको वचनमा के लेखिएको छ र ती लागू गर्दा तिनीहरूको जीवन कस्तो हुन्छ भनेर बुझ्न मदत दिनुभयो। साथै उहाँले तिनीहरूलाई सरल तरिकामा सिकाउनुभयो। त्यसैले तिनीहरूले उहाँले सिकाउनुभएका कुराहरू सजिलै बुझ्न र सम्झन सके। बाइबल यसो भन्छ: “उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्तिले जस्तो गरी सिकाइरहनुभएको थियो।” (मर्कु. १:२२) ती शास्त्रीहरूले नाम चलेका धर्मगुरुहरूले भनेका कुराहरू उद्धरण गर्थे तर येसुले भने धर्मशास्त्रमा लेखिएका कुराहरू नै उद्धरण गर्नुहुन्थ्यो। उहाँ परमेश्वरको छोरा हुनुहुन्थ्यो र स्वर्गमा युगौँयुग बिताउनुभएको थियो। त्यसैले उहाँसित अथाह ज्ञान र बुद्धि थियो। तर उहाँले त्यो ज्ञान र बुद्धि मानिसहरूको वाहवाही पाउन वा तिनीहरूलाई केही पनि थाह छैन जस्तो महसुस गराउन कहिल्यै प्रयोग गर्नुभएन। बरु उहाँले मानिसहरूलाई परमेश्वरको इच्छा के हो भनेर सिकाउन परमेश्वरकै वचन प्रयोग गर्नुभयो। (युहन्ना ७:१४-१६ पढ्नुहोस्।) यसरी मानिसहरूलाई सिकाउने सन्दर्भमा उहाँले उत्कृष्ट उदाहरण बसाल्नुभयो।
८. प्रेषित पत्रुसले कसरी येसुको अनुकरण गरे?
८ येसुका चेलाहरू पनि अरूलाई सिकाउँदा परमेश्वरको वचनमा भर पर्थे। उदाहरणको लागि, प्रेषित पत्रुसले इस्वी संवत् ३३ पेन्तिकोसको दिनमा दिएको भाषण विचार गरौँ। पत्रुसले धेरै शिक्षादीक्षा हासिल गरेका थिएनन् तर तिनले येसुबारे गरिएका भविष्यवाणीहरू कसरी पूरा भए भनेर धर्मशास्त्रबाट स्पष्टसित बुझाइदिए। यसले मानिसहरूको मन छोयो र तिनीहरू कदम चाल्न उत्प्रेरित भए। (प्रेषि. २:१४-३७) बाइबल भन्छ: “ज-जसले तिनको वचन खुसीसाथ स्विकारे, तिनीहरूले बप्तिस्मा गरे अनि त्यस दिन लगभग ३ हजार जना थपिए।”—प्रेषि. २:४१.
९. अरूलाई सिकाउँदा हामी किन परमेश्वरको वचनमा भर पर्नुपर्छ?
९ मानिसहरूको मन छुन परमेश्वरको वचनजत्तिको प्रभावकारी कुरा अरू केही पनि छैन। (हिब्रू ४:१२) त्यसैले हामीले मानिसहरूलाई बाइबलबाटै सिकाउनुपर्छ। हामीले आफ्नै विचारधारा होइन, ‘वचन प्रचार गर्नुपर्छ।’ (२ तिमो. ४:२) हितोपदेश २:६ यसो भन्छ: “बुद्धि दिने यहोवा नै हुनुहुन्छ; उहाँकै मुखबाट ज्ञान र समझशक्तिको कुरा निस्कन्छ।” त्यसैले हामीले अरूलाई बाइबलबाटै सिकाउँदा एक अर्थमा यहोवालाई नै बोल्न दिइरहेका हुन्छौँ। (मला. २:७) मानिसले दिने सल्लाह भन्दा बाइबलले दिने सल्लाह कता हो कता उत्कृष्ट छ भन्ने कुरा मानिसहरूले बुझेको हामी चाहन्छौँ। बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो अनि यसमा पाइने शिक्षाहरूअनुसार चल्दा हामीले परमेश्वरलाई खुसी बनाउन सक्नेछौँ अनि हामी आफै पनि आनन्दित हुन सक्नेछौँ।—२ तिमो. ३:१६, १७.
१०. हामी विद्यार्थीको ध्यान कसरी परमेश्वरको वचनतर्फ खिच्न सक्छौँ?
१० बाइबल अध्ययनको तयारी गर्दा विद्यार्थीको ध्यान बाइबलतर्फ कसरी खिच्न सकिन्छ भनेर विचार गर्नुहोस्। अध्ययन सामग्रीमा भएका चित्रहरू र भिडियोहरूले बाइबलको कुरा राम्रोसँग बुझ्न मदत दिने भए पनि हाम्रो मुख्य पाठ्यपुस्तक बाइबल नै हो भन्ने कुरा विद्यार्थीले बुझ्नुपर्छ। त्यसैले अध्ययन गर्दा मुख्य शास्त्रपदहरू पढ्नुहोस्। अनि ती पदहरूबाट के सिक्न सकिन्छ भनेर विद्यार्थीसँग छलफल गर्नुहोस्। चित्रहरू र भिडियोहरू देखाउँदा त्यसले बाइबलको कुन कुरा सिकाउन खोजेको हो भन्ने कुरा बुझ्न विद्यार्थीलाई मदत दिनुहोस्। तर तपाईँले नै सबै कुरा बताउनुपर्छ वा पाठमा भएको प्रत्येक बाइबल पद पढ्नुपर्छ भन्ने होइन। कुनै बाइबल पद पढेपछि त्यसबारे राम्रोसँग सोच्न र त्यसको अर्थ बुझ्न विद्यार्थीलाई पर्याप्त समय दिनुहोस्। कहिलेकाहीँ त बाइबल पद दोहोऱ्याएर पढ्नुपर्ने हुन सक्छ। यसो गर्दा हामीले विद्यार्थीलाई कुनै किताब, चित्र वा भिडियोबाट नभई बाइबलबाटै सिकाइरहेका हुन्छौँ।—१ कोरि. २:१३.
११-१२. (क) हामी बाइबल विद्यार्थीप्रति कसरी धीरजी हुन सक्छौँ? (प्रेषित १७:१-४) (चित्र पनि हेर्नुहोस्।) (ख) कसै-कसैलाई बाइबलबारे कस्तो कुरा बुझाउनुपर्ने हुन सक्छ र हामी कसरी तिनीहरूलाई मदत गर्न सक्छौँ?
११ कहिलेकाहीँ विद्यार्थीलाई बाइबलको कुनै कुरा बुझ्न वा स्विकार्न गाह्रो हुन सक्छ। त्यस्तो बेला पनि हामीले “असाध्यै धीरजी भएर” सिकाइरहनुपर्छ। सबै विद्यार्थीले एउटै रफ्तारमा प्रगति गर्दैनन्। हामीलाई त्यत्ति गाह्रो नलाग्ने कुनै-कुनै शिक्षा बुझ्न केही विद्यार्थीलाई समय लाग्न सक्छ। थिस्सलोनिकाका यहुदीहरूले पनि पावलले सिकाएका कुराहरू एकै चोटिमा बुझेनन्। त्यसैले पावल बारम्बार सभाघरमा गएर तिनीहरूसित धर्मशास्त्रबाट तर्क गरे। त्यसपछि भने केही मानिसहरूले पावलले सिकाएका कुराहरू बुझे।—प्रेषित १७:१-४ पढ्नुहोस्।
१२ विद्यार्थीप्रति धीरजी हुने अर्को तरिका प्रश्नहरू सोध्नु अनि आफैले केही भनिहाल्नुको साटो विद्यार्थीलाई बोल्न दिनु हो। तिनको कुरा ध्यान दिएर सुन्नुहोस् अनि तिनको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्। त्यसपछि उक्त विषयमा परमेश्वरको सोचाइ कस्तो छ भनेर बुझ्न मदत दिने बाइबल पदहरू पढ्नुहोस् र छलफल गर्नुहोस्। यो कुरा पनि मनमा राख्नुहोस्: कसै-कसैले बाइबलको नामै सुनेका हुँदैनन् वा बाइबल देखेका समेत हुँदैनन्। त्यसैले बाइबलभित्र के छ भनेर थाह पाउने त कुरै भएन! त्यस्ता मानिसहरूलाई बाइबलमा के-कस्ता कुराहरू छन् भनेर बुझाउन नयाँ संसार अनुवाद-को सुरुतिर भएको “परमेश्वरको वचनको परिचय” भन्ने भाग देखाउन सक्नुहुन्छ। त्यसपछि प्रश्न १५ अन्तर्गत भएको एउटा वा दुइटा शास्त्रपद देखाएर बाइबलले तिनीहरूलाई आनन्दित हुन कसरी मदत गर्छ भनेर बताउन सक्नुहुन्छ। निष्कर्षमा भन्नुपर्दा, तपाईँले विद्यार्थीलाई बाइबलका कुराहरू कत्ति उपयोगी छन् भनेर बुझ्न मदत गर्नुभयो भने तिनीहरूले सिकेको कुरा लागू गर्नेछन् र अझ धेरै सिक्न इच्छुक हुनेछन्।
निपुण शिक्षकले आफू मात्र बोलेको बोल्यै गर्दैनन् बरु ध्यान दिएर सुन्छन् (अनुच्छेद ११-१२ हेर्नुहोस्)
यहोवातर्फ ध्यान खिच्नुहोस्
१३. अरूलाई सिकाउँदा हामीले कोतर्फ ध्यान खिच्नुपर्छ? उदाहरण दिनुहोस्।
१३ हाम्रो लक्ष्य भनेको मानिसहरूलाई यहोवालाई चिन्न र उहाँसित नजिक हुन मदत दिनु हो। (याकु. ४:८) हाम्रो यस कामलाई नाटकघरमा स्पटलाइट देखाउने व्यक्तिले गर्ने कामसित तुलना गर्न सकिन्छ। नाटक मञ्चन भइरहेको बेला उसले स्पटलाइट आफूतर्फ नभई मुख्य पात्रहरूतर्फ फर्काउँछ। त्यसैगरि अरूलाई सिकाउँदा हामीले पनि आफूतर्फ नभई यहोवातर्फ ध्यान खिच्नुपर्छ।
१४. तपाईँ कसरी विद्यार्थीको ध्यान यहोवातर्फ खिच्न सक्नुहुन्छ?
१४ क्लबको सदस्य बन्न त्यहाँको नियमहरू पालन गरे मात्र पुग्छ। तर यहोवाको साक्षी बन्नु भनेको क्लबको सदस्य बन्नुजस्तो होइन। त्यसैले बाइबल अध्ययन गराउँदा हाम्रो उद्देश्य भनेको विद्यार्थीलाई के सही र के गलत भनेर सिकाउनु मात्र होइन बरु तिनलाई यहोवाप्रतिको प्रेम विकास गर्न सिकाउनु हो। यस्तो प्रेम विकास गरे भने तिनले यहोवालाई खुसी बनाउन चाहनेछन्। (हितो. २७:११) तिनले आफ्नो जीवनमा छाँटकाँटहरू गर्न चाहनुको कारण पनि यहोवाप्रतिको प्रेम नै हुनुपर्छ। मानौँ तपाईँको विद्यार्थीले कुनै नराम्रो बानी त्याग्न सङ्घर्ष गरिरहेको छ। तपाईँ तिनलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: “तपाईँको यो बानीलाई यहोवा किन घृणा गर्नुहुन्छ? तपाईँलाई मन पर्ने र रमाइलो लाग्ने यो कुरा यहोवाले किन त्याग भन्नुभएको होला? यसबाट यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा कसरी देखिन्छ?” विद्यार्थीलाई यहोवा र उहाँका गुणहरूबारे सोच्न तपाईँ जति धेरै मदत गर्नुहुन्छ, उहाँ मायालु बुबा हुनुहुन्छ भन्ने कुरा तिनले त्यति नै राम्रोसँग बुझ्नेछन्। त्यसपछि तिनले यहोवालाई प्रेम गर्न र उहाँलाई खुसी बनाउन चाहनेछन्।
आफ्नो शिक्षणकला तिखारिरहनुहोस्
१५. तपाईँ आफ्नो शिक्षणकला तिखारिरहन के गर्न सक्नुहुन्छ?
१५ आफ्नो शिक्षणकलाको कुन पक्षमा उन्नति गर्नुपर्छ भनेर थाह पाउन प्रार्थनामा यहोवासित मदत माग्नुहोस्। (१ युह. ५:१४) हामीले प्रार्थनाअनुरूप कदम पनि चाल्नुपर्छ। जस्तै: यहोवाले मण्डलीका सभाहरूमार्फत दिनुहुने तालिमको पूरापूर सदुपयोग गर्नुहोस्। बाइबलको कुरा सिकाउन सिपालु भाइबहिनीलाई अध्ययनमा सँगै लैजानुहोस्। तपाईँले उन्नति गर्नुपर्ने क्षेत्र चिन्न तिनीहरूसित सुझाव माग्नुहोस्। यो कुरा पनि नबिर्सनुहोस्: छलफल गरिने विषयवस्तुबारे तपाईँलाई राम्ररी थाह छ होला तर तपाईँको विद्यार्थीको लागि भने त्यो बिलकुलै नयाँ कुरा हुन सक्छ। त्यसैले आफूलाई तिनको ठाउँमा राखेर हेर्ने प्रयास गर्नुहोस्। अनि आफूले सिकिरहेको कुरा तिनलाई चाहिएकै कुरा हो भनेर बुझ्न मदत गर्नुहोस्। यसो गर्नुभयो भने तिनी यहोवासित घनिष्ठ मित्रता गाँस्न उत्प्रेरित हुनेछन् र तिनले साँचो आनन्द पाउनेछन्।—भज. १:१-३.
१६. हामीले किन आफ्नो शिक्षणकला तिखारिरहनुपर्छ?
१६ हामीलाई एकदमै आनन्दित बनाउने एउटा कुरा भनेको यहोवाबारे अरूलाई सिकाउनु हो। यो काम हामीले नयाँ संसारमा अझ धेरै गर्नुपर्नेछ। त्यसैले सुसमाचार प्रचार गर्दा मानिसहरूमा चासो राखिरहौँ, परमेश्वरको वचनमा भर परिरहौँ अनि यहोवातर्फ ध्यान खिचिरहौँ। यसो गऱ्यौँ भने प्रचारकार्यमा आफ्नो शिक्षणकला तिखार्न सक्नेछौँ।
गीत ६५ बढ्दै जाऊ!