प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 फेब्रुअरी पृ. १४-१९
  • बप्तिस्मा गर्ने लक्ष्य राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्मा गर्ने लक्ष्य राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कोही-कोही किन पछि हट्‌छन्‌?
  • अन्त नजिकै छ भन्‍ने कुरा किन मनमा राख्नुपर्छ?
  • कदम चाल्ने समय अहिल्यै हो!
  • बप्तिस्माको अर्थ र यसको महत्त्व
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • के तपाईँ यहोवालाई जीवन समर्पण गर्न तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • बप्तिस्मा गर्न ढिलासुस्ती नगर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 फेब्रुअरी पृ. १४-१९

अप्रिल २०-२६, २०२६

गीत ४९ यहोवाको मन खुसी राखौँ!

बप्तिस्मा गर्ने लक्ष्य राख्नुहोस्‌

“निगाह पाउने खास समय अहिल्यै हो।”—२ कोरि. ६:२.

सिक्न सकिने कुरा

यहोवासित घनिष्ठ सम्बन्ध गाँस्ने र बप्तिस्मा गर्ने समय अहिल्यै हो।

१. (क) बप्तिस्मा गर्दा हामीलाई कस्ता लाभहरू हुन्छन्‌? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

के तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गरेर बप्तिस्मा गरिसक्नुभयो? त्यसो हो भने तपाईँले सफा अन्तस्करणको निम्ति परमेश्‍वरसित बिन्ती गरिसक्नुभयो। (१ पत्रु. ३:२१) बप्तिस्मा गरेर तपाईँले मण्डलीका साना केटाकेटी र नयाँ व्यक्‍तिहरूको लागि राम्रो उदाहरण बसाल्नुभएको छ। हो, तपाईँले राम्रो निर्णय गर्नुभयो! तर बप्तिस्मा गरिसक्नुभएको छैन भने नि? तपाईँ पक्कै यहोवालाई प्रेम गर्नुहुन्छ र उहाँको इच्छाअनुसार गर्न चाहनुहुन्छ। पापहरूको क्षमा पाउन अनि यहोवाको अनुमोदन पाउन बप्तिस्मा गर्नु जरुरी छ भनेर पनि तपाईँलाई थाह छ। (प्रेषि. २:३८-४०) तैपनि तपाईँ बप्तिस्मा गर्नदेखि पछि हटिरहनुभएको हुन सक्छ। तपाईँलाई बप्तिस्माको लक्ष्यसम्म पुग्न मदत गर्ने यी तीन वटा कुरा यस लेखमा छलफल गर्नेछौँ: (१) कोही-कोही किन बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌? (२) अन्त नजिकै छ भन्‍ने कुरा मनमा राख्नु किन महत्त्वपूर्ण छ? (३) बप्तिस्माको लागि कदम चाल्ने समय किन अहिल्यै हो?

कोही-कोही किन पछि हट्‌छन्‌?

२. कोही-कोही किन बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌?

२ कोही-कोही डरले गर्दा बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌। हुनत तिनीहरू यहोवाको सेवा गर्न चाहन्छन्‌ तर उहाँलाई खुसी बनाउन सक्दिनँ होला भनेर डराउँछन्‌। तपाईँलाई पनि त्यस्तै डर लाग्छ भने यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्न मदत गर्ने पदहरू पढ्‌नुहोस्‌। उहाँ हामीले गल्ती नै नगरेको आशा गर्नुहुन्‍न अनि उहाँको उपासना गर्न सक्दो प्रयास गर्दा उहाँ खुसी हुनुहुन्छ। (भज. १०३:१३, १४; कल. ३:२३) बप्तिस्मा गऱ्‍यो भने अरूले नराम्रो व्यवहार गर्लान्‌ भन्‍ने डर लाग्छ भने नि? भजनरचयिताले भनेको यो कुरा सम्झनुहोस्‌: “यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?” (भज. ११८:६) तिनीजस्तै विश्‍वस्त हुन यहोवासित मदत माग्नुहोस्‌।

३. कस्तो सोचाइ राखेकोले कोही-कोही बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

३ कसै-कसैलाई भने आफूले बाइबलको सबै कुरा बुझेको छैनँ जस्तो लाग्छ। त्यसैले यहोवालाई प्रेम गर्ने भए तापनि बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌। तर के बप्तिस्मा गर्न बाइबलको सबै कुरा बुझ्नुपर्छ? बाइबलको एउटा उदाहरण विचार गरौँ। प्रेषित पावल र सिलास झ्यालखानामा परेका थिए। एक रात अचानक ठूलो भूकम्प गयो, एकाएक सबै ढोका खुले अनि सबै कैदीका बन्धन फुस्किए। त्यसपछि पावल र सिलासले जेलर र उनको घरमा हुनेहरू सबैलाई यहोवाको वचन सुनाए। सायद उनीहरूले परमेश्‍वरले नै आफ्ना जनहरूलाई छुटाउन यो चमत्कार गर्नुभएको हो भनेर बुझे। साथै त्यस रात उनीहरूले यहोवा र येसुबारे अरू कुराहरू पनि सिके। त्यसपछि उनीहरू “सबैले तुरुन्तै बप्तिस्मा गरे।” (प्रेषि. १६:२५-३३) यदि तपाईँले यहोवालाई चिनिसक्नुभएको छ, उहाँलाई सारा हृदयले प्रेम गर्नुहुन्छ, बाइबलको आधारभूत शिक्षा लिइसक्नुभएको छ, आफ्ना पापहरूको पश्‍चात्ताप गरिसक्नुभएको छ र उहाँको स्तरअनुसार जीवन बिताउने अठोट गरिसक्नुभएको छ भने तपाईँ पनि बप्तिस्माको लागि तयार हुनुहुन्छ।—मर्कु. १२:३०.

पावल र सिलासले जेलर र उनको परिवारलाई राती यहोवाको वचन सुनाउँदै छन्‌। उनीहरूले ध्यान दिएर सुनिरहेका छन्‌।

पावल र सिलासले जेलर र उनको परिवारलाई यहोवाको वचन सुनाए; त्यसपछि उनीहरू “सबैले तुरुन्तै बप्तिस्मा गरे” (अनुच्छेद ३ हेर्नुहोस्‌)


४. कोही-कोही कस्ता कुराहरूबारे बढ्‌तै चिन्ता गरेर बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

४ कुनै निर्णय गर्नुअघि त्यसको फाइदा-बेफाइदाबारे राम्ररी सोच्नु बुद्धिमानी हो। (लुका १४:२७-३०) बप्तिस्माको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। तर कसै-कसैले भने आफूले गुमाउनुपर्ने कुराहरूबारे मात्र सोच्छन्‌। क्यान्डिस बहिनीले पनि त्यस्तै महसुस गरेकी थिइन्‌। तिनी सानी छँदा यहोवालाई खुसी बनाउन के गर्नुपर्छ भनेर थाह पाएकी थिइन्‌। तर तिनले त्यसैअनुसार जीवन भने बिताइनन्‌। ठूलो भएपछि तिनले फेरि बाइबल अध्ययन गर्न थालिन्‌। तिनी भन्छिन्‌: “यहोवालाई खुसी बनाउन के गर्नुपर्छ भनेर मलाई थाह थियो। तैपनि म त्यसो गर्न पछि हटिरहेकी थिएँ। किनभने मलाई संसारकै कुराहरू रमाइलो लागिरहेको थियो। मलाई ती कुराहरू त्याग्न सक्दिनँ होला जस्तो लाग्थ्यो।” अरू कोही-कोही भने बप्तिस्मा गरेपछि यहोवाका उच्च नैतिक स्तरअनुसार चल्न सक्दिनँ होला भनेर पनि पछि हट्‌ने गर्छन्‌। तिनीहरूलाई बप्तिस्मापछि आफूबाट कुनै गम्भीर गल्ती होला अनि मण्डलीबाट हटाइएला भनेर चिन्ता लाग्छ। त्यसरी हटाइनुभन्दा त बरु बप्तिस्मा नगर्नु नै ठीक जस्तो तिनीहरूलाई लाग्न सक्छ। तपाईँ पनि यस्ता कारणहरूले गर्दा बप्तिस्मा गर्नदेखि पछि हटिरहनुभएको छ भने के गर्न सक्नुहुन्छ?

एउटी बहिनी एक युवतीलाई बाइबल अध्ययन गराउँदै छिन्‌। ती बहिनी केही भन्दै छिन्‌ तर ती युवती भने नाइट क्लबमा साथीहरूसित रक्सी पिउँदै नाचिरहेको कल्पना गर्दै छिन्‌।

कोही-कोही परमेश्‍वरलाई खुसी बनाउन चाहे तापनि आफूले गुमाउनुपर्ने कुराहरूबारे सोचेर पछि हट्‌छन्‌ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. बप्तिस्माबारे सोच्दै हुनुहुन्छ भने तपाईँले कुन कुरामा ध्यान दिनुपर्छ? (मत्ति १३:४४-४६)

५ कुनै सामान किन्दा त्यसलाई कति पर्छ भन्‍ने कुरा मात्र नभई, त्यो कत्तिको बहुमूल्य छ भनेर पनि हेर्छौँ। यदि त्यो सामान साँच्चै बहुमूल्य छ भने त्यसको लागि जति पैसा हाल्न पनि तयार हुन्छौँ। त्यसैगरि तपाईँ बप्तिस्माबारे सोच्दै हुनुहुन्छ भने आफूले गुमाउनुपर्ने कुराहरूबारे मात्र नसोच्नुहोस्‌। बरु बप्तिस्मा गरेर यहोवासित सम्बन्ध गाँसेपछि तपाईँको जीवन कत्ति राम्रो हुनेछ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। यो कुरा बुझाउन येसुले दुइटा उदाहरण चलाउनुभयो। (मत्ति १३:४४-४६ पढ्‌नुहोस्‌।) दुवै उदाहरणका मानिसले बहुमूल्य कुरा भेट्टाएपछि आफूसित भएको सबै कुरा खुसीसाथ बेचे र त्यो किने। तपाईँले पनि एउटा बहुमूल्य कुरा भेट्टाउनुभएको छ। त्यो हो, परमेश्‍वरको राज्यबारे सत्य कुरा। यदि तपाईँलाई त्यो सत्यअनुसार जीवन बिताउन आफूले गरेको प्रयास खेर जाने हो कि जस्तो लाग्छ भने येसुले बताउनुभएका उदाहरणहरूमा मनन गर्नुहोस्‌। तपाईँ आफूलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के म आफूले भेट्टाएको कुरा साँच्चै बहुमूल्य छ भन्‍ने कुरामा विश्‍वस्त छु? के म यहोवाको मित्र बन्‍न पाएकोमा, भविष्यको आशा पाएकोमा र मायालु भाइबहिनी पाएकोमा त्यसको मोल गर्छु?’ तपाईँ यी प्रश्‍नहरूको कस्तो जवाफ दिनुहुन्छ, त्यसबाट बप्तिस्मासम्म पुग्न तपाईँले अझ के गर्नुपर्ने रहेछ भनेर बुझ्न सक्नुहुनेछ।

६. हामी आफ्नो हृदयलाई कसरी मलिलो माटोजस्तै बनाउन सक्छौँ?

६ येसुले बिउ छर्ने मानिसको उदाहरणमा मानिसको हृदयको अवस्था फरक-फरक हुन्छ भनेर बताउनुभयो। कसै-कसैले आफ्नो हृदयको अवस्थाले गर्दा आध्यात्मिक प्रगति गर्न सक्दैनन्‌। तर “असल हृदय भएका”-हरूले भने सुसमाचार सुन्छन्‌ र सुनेको कुरा लागू गर्छन्‌। (लुका ८:५-१५) यदि तपाईँलाई बप्तिस्मा गर्ने कि नगर्ने भनेर दोमन भइरहेको छ भने चिन्ता नगर्नुहोस्‌। परमेश्‍वरले तपाईँलाई “नयाँ मन” पाउन मदत गर्नुहुनेछ र उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुनुहुनेछ। त्यसैले आफ्नो हृदयलाई मलिलो माटोजस्तै बनाउन यहोवासित मदत माग्नुहोस्‌। त्यस्तो हृदयमा राज्यको सन्देश फस्टाउँछ र फल फलाउँछ।—इज. १८:३१; ३६:२६.

७-८. केही जवानहरू आवश्‍यक छाँटकाँट गर्नदेखि किन पछि हट्‌छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

७ केही जवानहरू यहोवालाई प्रेम गर्ने भए तापनि अरूको प्रभावले गर्दा आवश्‍यक छाँटकाँट गर्नदेखि पछि हट्‌छन्‌। जस्तै, केही शिक्षकहरूले विद्यार्थीहरूलाई नैतिकताको सन्दर्भमा “खुला विचारधारा” राख्नुपर्छ भनेर सिकाउँछन्‌। तर संसारले स्वीकार्य ठानेका कतिपय स्तरहरू परमेश्‍वरका स्तरहरूसित मेल खाँदैनन्‌ र त्यसअनुसार जीवन बिताउँदा नतिजा नराम्रो हुन्छ। (भज. १:१, २; हितो. ७:१-५) तपाईँले पनि भजनरचयिताको उदाहरण पछ्याउनुभयो भने यस्तो खतरादेखि जोगिन सक्नुहुन्छ। तिनले यहोवालाई यसो भने: “मेरा सबै शिक्षकमा भन्दा ममा ज्यादा अन्तर्दृष्टि छ किनकि म तपाईँका सम्झौटाहरूमा मग्न हुन्छु।”—भज. ११९:९९.

८ केही साक्षी आमाबुबाले आफ्ना छोराछोरीलाई बप्तिस्मा गर्नदेखि रोकिरहेका छन्‌ जस्तो देखिन्छ। तिनीहरू छोराछोरीको पढाइ र करिअरमै बढी जोड दिन्छन्‌। आध्यात्मिक लक्ष्यहरू राख्न प्रोत्साहन नदिएकोले पनि छोराछोरीहरू पछि हटिरहेका हुन सक्छन्‌। के तपाईँलाई आध्यात्मिक प्रगति गर्न आमाबुबाले अझै साथ दिनुभए हुन्थ्यो जस्तो लागिरहेको छ? त्यसो हो भने उहाँहरूसित कुरा गर्नुभए कसो होला? यो कुरामा ढुक्क हुनुहोस्‌, तपाईँ उमेरमा सानै हुनुहुन्छ भने पनि यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्नुहुन्छ।—हितो. २०:११.

एक किशोर “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताबको पाठ २३ देखाउँदै आमाबुबासित कुरा गरिरहेका छन्‌।

बप्तिस्माबारे आमाबुबासित कुरा गर्नुभए कसो होला? (अनुच्छेद ८ हेर्नुहोस्‌)


९. कोही-कोही बप्तिस्मा गर्न किन ढिलासुस्ती गर्छन्‌?

९ कोही-कोही बप्तिस्मा गर्न योग्य भए पनि साथीहरूको दबाबले गर्दा पछि हट्‌छन्‌। कोही भने मिल्ने साथी वा परिवारको कोही सदस्यसँगै बप्तिस्मा गर्न पर्खेर बस्छन्‌। हुनत आफूले माया गरेको व्यक्‍तिसँगै बप्तिस्मा गर्न चाहनु गलत होइन। तर सोच्नुहोस्‌ त, के त्यही कारणले मात्रै बप्तिस्मा गर्न ढिलासुस्ती गर्नु ठीक हो? नबिर्सनुहोस्‌, यहोवालाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नु तपाईँको व्यक्‍तिगत निर्णय हो। यसको लागि अरूमा भर नपर्नुहोस्‌।—रोमी १४:१२.

अन्त नजिकै छ भन्‍ने कुरा किन मनमा राख्नुपर्छ?

१०. कोही-कोही आध्यात्मिक उन्‍नति गर्न किन ढिलासुस्ती गर्छन्‌?

१० कोही-कोही भने अन्त आउन धेरै समय बाँकी छ भन्‍ने सोचेर आध्यात्मिक उन्‍नति गर्न ढिलासुस्ती गर्छन्‌। तर के त्यस्तो सोचाइ राख्नु बुद्धिमानी हो? यस विषयमा येसुले चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: ‘तिमीहरू तयार रहो किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउनेछ।’—लुका १२:४०.

११. यहोवालाई अझ राम्ररी चिन्दै जाँदा हामी के गर्न उत्प्रेरित हुन्छौँ र किन? (भजन ११९:६०)

११ हामीले यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर उहाँलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ। हामी यहोवालाई जत्ति राम्ररी चिन्दै जान्छौँ, उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा त्यत्ति नै विश्‍वस्त हुनेछौँ। साथै उहाँका आज्ञाहरू पालन गर्दा हाम्रै हित हुन्छ भन्‍ने कुरा अझ राम्ररी बुझ्छौँ र आलेटाले नगरी ती आज्ञाहरू पालन गर्छौँ। (भजन ११९:६० पढ्‌नुहोस्‌।) आलेटाले गर्न नहुने अर्को कारणबारे चेला याकुबले बताएका छन्‌। हामीमध्ये कसैलाई पनि भोलि के हुन्छ भनेर थाह छैन। त्यसैले “सही काम गर्न जानेर पनि” भोलि गर्छु भनेर बस्नु हुँदैन; बरु अहिल्यै कदम चाल्नुपर्छ।—याकु. ४:१३-१७.

१२. अङ्‌गुर बगानको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१२ येसुले बताउनुभएको अङ्‌गुर बगानको उदाहरणबारे विचार गरौँ। येसुले एक घण्टा काम गर्ने खेतालाले पनि दिनभरि काम गर्ने खेतालाले जत्ति नै ज्याला पाउनेछ भनेर बताउनुभयो। एक घण्टा मात्रै काम गर्ने खेतालाहरूले छिट्टै काम सुरु नगर्नुको कारण के थियो? तिनीहरूले भने: “किनभने कसैले पनि हामीलाई काममा लगाएन।” ती खेतालाहरू काम नगरी बस्नुको कारण अल्छी भएकोले त होइन तर तिनीहरूलाई कसैले पनि काम नदिएकोले हो। त्यसैले तिनीहरूलाई बोलाइनेबित्तिकै तिनीहरू काममा गइहाले। (मत्ति २०:१-१६) आज पनि येसुले हामीलाई उहाँको चेला बन्‍न र राज्यसम्बन्धी काममा भाग लिन बोलाउनुभएको छ। त्यसैले ढिलासुस्ती नगरी उहाँको निम्तो स्विकारिहाल्नुपर्छ।

१३. लुतकी पत्नीबाट हामी के सिक्न सक्छौँ?

१३ बप्तिस्माको लागि आवश्‍यक छाँटकाँट गर्न ढिलासुस्ती गर्नेहरूले अन्त आउनुभन्दा ठ्याक्कै अघि छाँटकाँट गरौँला भनेर सोचिरहेका हुन सक्छन्‌। तर जति ढिलासुस्ती गऱ्‍यो, छाँटकाँट गर्न त्यति नै गाह्रो हुन्छ। येसुलाई यो कुरा थाह थियो। त्यसैले उहाँले चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “लुतकी पत्नीलाई सम्झ!” (लुका १७:३१-३५) तिनलाई यहोवाले सदोम र गमोरामाथि विनाश ल्याउनै लाग्नुभएको छ भनेर थाह थियो। तर सबै कुरा छोडेर आइसकेपछि पनि तिनलाई ती कुराहरूको माया लागिरहेको थियो जस्तो देखिन्छ। त्यसैले तिनले पछाडि फर्केर हेरिन्‌। (उत्प. १९:२३-२६) यस विवरणले आवश्‍यक छाँटकाँट गर्ने मौकाको ढोका सधैँभरि खुला रहनेछैन भनेर पनि देखाउँछ। आफूले तोकेको समयमा यहोवाले त्यो ढोका सधैँको लागि बन्द गर्नुहुनेछ।—लुका १३:२४, २५.

१४. बाइबल भविष्यवाणी पूरा भइरहेको कुरामा हामी किन सजग हुनुपर्छ?

१४ अहिले दिनदिनै भइरहेका घटनाहरूले बाइबलमा अन्तको दिनबारे गरिएका भविष्यवाणीहरू पूरा हुँदै छ भनेर देखाउँछ। हुनत तीमध्ये कुनै-कुनै घटनाहरू हामी बसिरहेको ठाउँमा भइरहेको छैन होला तर अरू थुप्रै ठाउँमा भने ती घटनाहरू भइरहेका छन्‌। त्यसैले यी बाइबल भविष्यवाणीहरू पूरा भइरहेको देख्दा बप्तिस्मा गर्न ढिलासुस्ती गर्नु हुँदैन भनेर बुझ्न सक्छौँ। प्रथम शताब्दीको एउटा उदाहरण विचार गरौँ। प्रेषित पत्रुसले ‘सबै कुराको अन्त नजिक आइपुगेकोले’ ख्रिष्टियनहरूलाई “सजग” अर्थात्‌ “जागा” रहन प्रोत्साहन दिए। (१ पत्रु. ४:७; फुटनोट) यस पदमा बताइएको “अन्त”-ले यरुसलेम र त्यसको मन्दिरको विनाशलाई बुझाउँथ्यो। पत्रुसले जसलाई यो पत्र लेखेका थिए, तिनीहरू यरुसलेम सहरबाट टाढा बस्थे। त्यसैले तिनीहरूलाई यरुसलेमको विनाशले प्रत्यक्ष असर गर्ने थिएन। (१ पत्रु. १:१) तर यरुसलेमबारे गरिएको भविष्यवाणी पूरा भएको देखेपछि यहोवाका अरू प्रतिज्ञाहरू पनि पूरा हुनेछन्‌ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुन सक्ने थिए। त्यसरी नै यस युगको अन्तबारे गरिएका भविष्यवाणीहरू अहिले पूरा भइरहेको छ भन्‍ने कुरामा हामी सजग हुनुपर्छ। यसरी सजग भयौँ भने बप्तिस्माको लागि कदम चाल्न उत्प्रेरित हुनेछौँ।

१५. यहोवाको दिनको लागि हामी कसरी तयार रहन सक्छौँ? (२ पत्रुस ३:१०-१३)

१५ प्रेषित पत्रुसले आफ्नो दोस्रो पत्रमा यहोवा परमेश्‍वरको दिन अर्थात्‌ यस युगको अन्त हुने समयको लागि हामी कसरी तयार रहन सक्छौँ भनेर बताए। पत्रुसले यो पत्र लेख्दा यहोवाको दिन आउन अझ धेरै समय बाँकी थियो। तैपनि तिनले ख्रिष्टियनहरूलाई त्यस दिनलाई ‘मनमा राख्न’ अर्थात्‌ ‘उत्सुकतासाथ इच्छा गर्न’ प्रोत्साहन दिए। (२ पत्रुस ३:१०-१३ पढ्‌नुहोस्‌; फुटनोट) हामी त्यस दिनलाई मनमा राखेको कुरा कसरी देखाउन सक्छौँ? त्यस दिनको लागि तयार रहेर र त्यसलाई उत्सुकतासाथ पर्खेर। हामी ‘पवित्र आचरण देखाएर र परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू गरेर’ त्यस दिनलाई उत्सुकतासाथ पर्खेको देखाउन सक्छौँ। तपाईँले “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू” गरेको देख्दा यहोवा कत्ति खुसी हुनुहुन्छ होला, सोच्नुहोस्‌ त! तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गरेर बप्तिस्मा गरेको देख्दा उहाँ झनै खुसी हुनुहुनेछ।

कदम चाल्ने समय अहिल्यै हो!

१६. बप्तिस्माको लागि कदम चाल्ने सबैभन्दा राम्रो समय कहिले हो? (२ कोरिन्थी ६:१, २) (चित्रहरू पनि हेर्नुहोस्‌।)

१६ बप्तिस्माको लागि कदम चाल्ने सबैभन्दा राम्रो समय अहिल्यै हो। (२ कोरिन्थी ६:१, २ पढ्‌नुहोस्‌।) फिलिपले भेटेका इथियोपियाली नपुंसकबारे विचार गरौँ। येसुबारे सुसमाचार सुनेपछि तिनले तुरुन्तै कदम चाल्नुपर्छ भनेर बुझे। त्यसैले उपयुक्‍त ठाउँ देख्नेबित्तिकै बप्तिस्मा गर्न तयार भइहाले। तिनले यस्तो सोचेनन्‌: “म यो सुसमाचारबारे अझ धेरै सिक्न चाहन्छु। यात्रा गर्दै जाँदा यस्तो पानी भएको ठाउँ त अरू पनि आइहाल्छ नि!” बरु तिनले फिलिपलाई यसो भने: “हेर्नुहोस्‌, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?” (प्रेषि. ८:२६, २७, ३५-३९) हाम्रो लागि कत्ति राम्रो उदाहरण! बप्तिस्मा गरेपछि तिनी “रमाउँदै आफ्नो बाटो लागे।”

चित्रहरूको सँगालो: १. फिलिपले इथियोपियाली नपुंसकलाई बप्तिस्मा गर्न पानी भएको ठाउँतर्फ बोलाउँदै छन्‌। २. अघिल्लो चित्रमा देखाइएकी युवती र तिनको अध्ययन सञ्चालक सभाभवनमा दुई जना एल्डरसित खुसी हुँदै कुरा गरिरहेका छन्‌।

इथियोपियाली नपुंसकबाट यो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ: बप्तिस्माको लागि कदम चाल्ने सबैभन्दा राम्रो समय अहिल्यै हो! (अनुच्छेद १६ हेर्नुहोस्‌)a


१७. तपाईँ कुन कुरामा ढुक्क हुन सक्नुहुन्छ?

१७ तपाईँ बप्तिस्मा गर्नदेखि पछि हटिरहनुभएको छ भने यहोवा तपाईँलाई मित्र बनाउन चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (रोमी २:४) कुनै डर, चिन्ता वा अरूको प्रभावले बप्तिस्मा गर्नदेखि रोकिरहेको छ भने ती अवरोधहरू हटाउन यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। बप्तिस्मा गरेपछि तपाईँले सफा अन्तस्करण पाउनुहुनेछ र “पछाडिका कुराहरू” तपाईँको लागि कुनै मोलको हुनेछैन। (फिलि. ३:८, १३) त्यसपछि तपाईँले “अगाडिका कुराहरूतिर” ध्यान दिन सक्नुहुनेछ। तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्नुभयो भने अहिले मात्र होइन, भविष्यमा पनि थुप्रै आशिष्‌ पाउनुहुनेछ।—प्रेषि. ३:१९.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • कोही-कोही किन बप्तिस्मा गर्नदेखि पछि हट्‌छन्‌?

  • बप्तिस्मा गर्न ढिलासुस्ती गर्नु किन बुद्धिमानी होइन?

  • बप्तिस्माको लागि कदम चाल्ने सबैभन्दा राम्रो समय कहिले हो?

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a चित्रको व्याख्या: इथियोपियाली नपुंसकले फिलिपलाई बप्तिस्मा गर्न चाहेको कुरा बताएझैँ एक बाइबल विद्यार्थी एल्डरहरूलाई बप्तिस्मा गर्न चाहेको कुरा बताउँदै छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने