प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 फेब्रुअरी पृ. २०-२५
  • के तपाईँ बप्तिस्मापछि आउन सक्ने चुनौतीहरूको लागि तयार हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ बप्तिस्मापछि आउन सक्ने चुनौतीहरूको लागि तयार हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखाउँदा
  • आफूले त्यागेका कुराहरू फेरि पाउने चाहना आउँदा
  • कसैले यहोवालाई त्याग्दा
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • एकअर्कासित नजिक हुनु असल कुरा हो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 फेब्रुअरी पृ. २०-२५

अप्रिल २७-मे ३, २०२६

गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी

के तपाईँ बप्तिस्मापछि आउन सक्ने चुनौतीहरूको लागि तयार हुनुहुन्छ?

“म तपाईँकै मार्गमा हिँड्‌न सकूँ।”—भज. १७:५.

सिक्न सकिने कुरा

भर्खरै बप्तिस्मा गरेका ख्रिष्टियनहरू पछि आउन सक्ने चुनौतीहरूको लागि कसरी तयार हुन सक्छन्‌?

१-२. पछि आउन सक्ने चुनौतीहरूको लागि तयार रहन हामी के गर्न सक्छौँ? उदाहरण दिनुहोस्‌।

सैतानको संसारमा बाँचेकोले हामीमाथि समस्याहरू आइपर्नेछन्‌ भनेर हामीलाई थाह छ। येसुले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “ठेस पुऱ्‍याउने कुराहरू त अवश्‍य देखा पर्ने नै छन्‌।” (मत्ति १८:७) यो कुरा मनमा राख्दै हामी पछि आउन सक्ने चुनौतीहरूको लागि तयार रहनुपर्छ। जस्तै, एउटा चुनौती भनेको भाइबहिनीहरूको कारण हामीले ठेस खान सक्छौँ।

२ पछि आउन सक्ने चुनौतीहरूको लागि तयार रहने सन्दर्भमा एउटा उदाहरण विचार गरौँ। हामीलाई बेलाबेलामा प्राकृतिक प्रकोपको लागि पहिल्यै तयारी गर्न प्रोत्साहन दिइन्छ। हामी कसरी त्यसो गर्छौँ? सुरुमा, हाम्रो इलाकामा कस्ता प्रकोपहरू आउन सक्छन्‌ भनेर पत्ता लगाउँछौँ। यदि हामी त्यो इलाकामा भर्खरै सरेका हौँ भने त्यसो गर्नु झनै महत्त्वपूर्ण छ। त्यसपछि हामी त्यस्ता प्रकोपहरूबाट जोगिन राम्रो योजना बनाउँछौँ। (हितो. २१:५) त्यसैगरि, हामीले बप्तिस्मापछि के-कस्ता चुनौती आइपर्न सक्छन्‌ भनेर विचार गर्नुपर्छ। अनि ती चुनौतीहरूको सामना गर्न अहिल्यैदेखि तयार रहनुपर्छ। यसो गऱ्‍यौँ भने पछि ती चुनौतीहरू आइपर्दा त्यसले हामीलाई त्यति ठूलो असर गर्नेछैन। अनि यहोवासितको हाम्रो सम्बन्ध पनि बिग्रनेछैन। (भज. १७:५) त्यसोभए आउनुहोस्‌, पछि आउन सक्ने तीन वटा चुनौतीहरू के-के हुन्‌ र ती प्रत्येक चुनौतीको लागि हामी कसरी तयार रहन सक्छौँ, छलफल गरौँ।a

कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखाउँदा

३. हामीमाथि आइपर्न सक्ने एउटा चुनौती के हो?

३ पहिलो पटक सभामा उपस्थित हुँदा तपाईँले कस्तो महसुस गर्नुभएको थियो? यहोवाका जनहरूमाझ भएको प्रेम देखेर तपाईँको मन छोएको थियो होला। सायद यसले गर्दा सत्य यहीँ नै छ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुभयो। (युह. १३:३५; कल. ३:१२) ब्लाङ्‌काb बहिनीले पनि यस्तै महसुस गरेकी थिइन्‌। तर बप्तिस्मापछि तिनले आसै नगरेको एउटा कुरा भयो। तिनी भन्छिन्‌: “एक जना बहिनीले मसित रुखो व्यवहार गर्नुभयो। उहाँ अरू भाइबहिनीको विषयमा पनि चाहिँदो-नचाहिँदो कुरा गर्दै हुनुहुन्थ्यो। मलाई त कस्तो अचम्म लाग्यो! किनभने मैले यहोवाका साक्षीहरू अरूलाई माया गर्छन्‌ अनि शान्तिमा रहन सक्दो प्रयास गर्छन्‌ भनेर सिक्दै आएकी थिएँ।” हुनत हाम्रा भाइबहिनीहरू आफूमा राम्रा गुणहरू विकास गर्न निकै प्रयास गर्छन्‌ तर तिनीहरू पनि त्रुटिपूर्ण नै छन्‌। (एफि. ४:२३, २४; १ युह. १:८) त्यसैले तिनीहरूले भनेको वा गरेको कुनै कुराले गर्दा हाम्रो चित्त दुख्न सक्छ। (याकु. ३:८) दुःखको कुरा, यसले गर्दा नै कसै-कसैले यहोवाको सेवा गर्न छोडेका छन्‌।

४. कसैले तपाईँको चित्त दुखाउँदा ठेस नखान तपाईँ अहिल्यैदेखि के गर्न सक्नुहुन्छ? (एफिसी ४:३२)

४ कसैले तपाईँको चित्त दुखाउँदा ठेस नखान अहिल्यैदेखि के गर्न सक्नुहुन्छ? एफिसी ४:३२ मा दिइएको सल्लाह लागू गर्न अहिल्यैदेखि प्रयास गर्नुहोस्‌। (पढ्‌नुहोस्‌।) भाइबहिनीलाई दया र करुणा देखाउन सक्दो गर्नुभयो भने सानोतिनो कुराले भाइबहिनीसितको सम्बन्ध बिग्रनेछैन। कसैले तपाईँको चित्त दुखायो भने पनि तिनलाई खुला मनले क्षमा दिन अहिल्यैदेखि तयार रहनुहोस्‌। त्यसो गर्न तपाईँलाई कुन कुराले मदत गर्छ? तपाईँले अहिलेसम्म आफूले गरेका गल्तीहरूको लागि यहोवासित कति चोटि क्षमा मागिसक्नुभयो, त्यसबारे सोच्नुहोस्‌। (मत्ति ६:१२) यहोवाले तपाईँलाई खुला मनले क्षमा दिनुभएकोमा तपाईँ पक्कै उहाँप्रति कृतज्ञ हुनुहुन्छ। यो कुरामा मनन गर्नुभयो भने अरूलाई क्षमा दिन तपाईँलाई सजिलो हुनेछ।

५. कसैले हाम्रो चित्त दुखाउँदा कुन बाइबल सिद्धान्तले मदत गर्छ? (हितोपदेश १९:११) (चित्रहरू पनि हेर्नुहोस्‌।)

५ हितोपदेश १९:११ पढ्‌नुहोस्‌। कसैले हाम्रो चित्त दुखाउँदा अन्तर्दृष्टिलेc हामीलाई रिस काबूमा राख्न मदत गर्छ। केही वर्षअघि बप्तिस्मा गरेकी रिमा बहिनीलाई पनि यस पदले मदत गरेको छ। तिनी भन्छिन्‌: “कुनै भाइ वा बहिनीले मेरो चित्त दुखाउँदा म सुरुमा हितोपदेश १९:११ सम्झन्छु। म उहाँको परिस्थिति र हुर्कनुभएको वातावरण कस्तो थियो भनेर बुझ्न प्रयास गर्छु। अनि उहाँले मसित त्यस्तो व्यवहार गर्नुको कारण के हुन सक्छ भनेर विचार गर्छु। साथै उहाँसितै प्रचारमा जान पनि मिलाउँछु। यसरी सँगै प्रचारमा जाँदा उहाँलाई अझ राम्ररी चिन्‍न सक्छु।” यो साँच्चै राम्रो सल्लाह हो। तपाईँ अहिलेदेखि नै भाइबहिनीलाई अझ राम्ररी चिन्‍न प्रयास गर्न सक्नुहुन्छ। यसो गर्नुभयो भने पछि तिनीहरूले तपाईँको चित्त दुखाए भने पनि क्षमा दिन सजिलो हुनेछ।

चित्रहरूको सँगालो: १. सभाभवनबाहिर स्याहारसम्भारको काम गरिरहेका एक जना भाइलाई अर्को भाइको बोलीले गर्दा चित्त दुखेको छ। २. पछि ती भाइहरू घरघरको प्रचारकार्यमा सँगै भाग लिइरहेका छन्‌।

कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखाएका छन्‌ भने तिनीसँगै प्रचारमा जान मिलाउन सक्नुहुन्छ (अनुच्छेद ५ हेर्नुहोस्‌)


६. भाइबहिनीहरूसित नजिक भइरहन हामीले के गर्नुपर्छ?

६ भाइबहिनीहरूसित नजिक भइरहन हामीले के गर्नुपर्छ? भाइबहिनीहरूसित चिनजान बढाउँदै जाँदा तिनीहरूका राम्रा गुणहरूमा ध्यान दिने प्रयास गर्नुहोस्‌। (हितोपदेश १०:१२ तुलना गर्नुहोस्‌; रोमी १२:१०; फिलि. २:२, ३) भर्खरै बप्तिस्मा गरेका मार्क भाइलाई विचार गरौँ। मण्डलीका भाइबहिनीहरूसित समय बिताउँदै जाँदा तिनले उनीहरूका कमीकमजोरी पनि देख्न थाले। तिनलाई केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “संसारका मानिसहरूले गरिरहेका खराब कामहरूको तुलनामा भाइबहिनीहरूको गल्ती त केही पनि होइन भनेर मैले महसुस गरेँ। त्यसैले उहाँहरूको सानोतिनो गल्तीमा घोरिएर बस्नुको साटो उहाँहरूका राम्रा गुणहरूमा ध्यान दिन थालेँ।” तपाईँले पनि त्यसै गर्नुभयो भने भाइबहिनीहरूसित नजिक भइरहन सक्नुहुनेछ।

आफूले त्यागेका कुराहरू फेरि पाउने चाहना आउँदा

७. कसैले किन आफूले त्यागेर आएका कुराहरूको फेरि चाहना गर्न सक्छन्‌?

७ सैतानको संसारलाई त्यागेर यहोवाको परिवारको भाग बन्‍न पाउँदा तपाईँ कत्ति खुसी हुनुहुन्थ्यो, सम्झनुहोस्‌ त! आफूले त्यागेर आएका कुराहरूलाई अब म कहिल्यै सम्झिन्‍नँ जस्तो तपाईँलाई लागेको थियो होला। तर जीवनमा गाह्रो अवस्थाको सामना गर्नुपर्दा आफूले त्यागेका कुराहरूको याद आउन सक्छ। अनि ती कुराहरू फेरि पाए हुन्थ्यो जस्तो समेत लाग्न सक्छ। (गन्ती ११:४-६ तुलना गर्नुहोस्‌।) जस्तै: कसै-कसैले समय धेरै दिनुपर्ने भएकोले राम्रो करिअर त्यागेका हुन सक्छन्‌। अरू कतिपयको भने बाइबल अध्ययन गर्न थालेपछि मिल्ने साथीहरू टाढिएका हुन सक्छन्‌। कसै-कसैले चाहिँ आफूलाई रमाइलो लाग्ने तर यहोवाले घृणा गर्नुहुने कुनै कुलत त्यागेका हुन सक्छन्‌। आफूले त्यागिसकेका कुराहरूमा फेरि फर्क्यौँ र यहोवासितको मित्रतालाई कमजोर हुन दियौँ भने उहाँलाई कत्ति दुःख लाग्छ होला, सोच्नुहोस्‌ त! जीवनमा जस्तोसुकै गाह्रोसाह्रो अवस्था आइपरे तापनि आफूले त्यागेका कुराहरूमा फर्केर नजान तपाईँ अहिले के गर्न सक्नुहुन्छ?

८. अब्राहाम र साराबाट हामी के सिक्न सक्छौँ?

८ बाइबलमा थुप्रै वफादार उपासकहरूबारे बताइएको छ, जसले यहोवाको लागि आफूसँग भएका कुराहरू त्यागेका थिए। जस्तै: अब्राहाम र सारा। तिनीहरू यहोवाप्रति आज्ञाकारी हुँदै आफ्नो सुविधासम्पन्‍न जीवन त्यागेर पालमा जीवन बिताउन तयार भए। (हिब्रू ११:८, ९) हुनत तिनीहरूलाई कहिलेकाहीँ आफ्नो आरामदायी जीवन याद आएको हुन सक्छ। तर “तिनीहरूले आफूले छोडेर आएको ठाउँलाई सम्झिरहेका भए” अथवा त्यसैको चाह गरिरहेको भए तिनीहरूलाई त्यहीँ फर्कौँ-फर्कौँ जस्तो लाग्न सक्थ्यो। तर तिनीहरूले त्यसो गरेनन्‌। बरु भविष्यको लागि परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा ध्यान केन्द्रित गरे।—हिब्रू ११:१५, १६.

९. पावलले आफूले त्यागेका कुराहरूलाई कस्तो ठाने? (फिलिप्पी ३:७, ८, १३)

९ पावलले यहोवाको सेवाको लागि ठूलो त्याग गरे। तिनले मोसाको व्यवस्थाका प्रतिष्ठित शिक्षक गमलिएलबाट शिक्षा लिइरहेका थिए। (प्रेषि. २२:३) तिनी पछि गएर नाम कहलिएका यहुदी धर्मगुरु बन्‍न सक्थे। (गला. १:१३, १४) तर तिनले यी सबै कुरा त्यागेर ख्रिष्टका सेवक बने। के ख्रिष्टियन बनेपछि तिनको जीवनमा कहिल्यै गाह्रो अवस्था आएन? त्यसो त होइन। तिनले कुटाइ खाए, झ्यालखानामा थुनिए अनि आफ्नै मानिसहरूबाट समेत घृणा भोगे। (२ कोरि. ११:२३-२६) तिनले आफूले भोगिरहेका परीक्षाहरूमा मात्र ध्यान दिएका भए अनि पहिलेको जीवन अहिलेको भन्दा कत्ति राम्रो थियो भनेर सोचिरहेका भए तिनलाई बेकारमा ख्रिष्टियन बनेछु जस्तो लाग्न सक्थ्यो। तर तिनले त्यसो गरेनन्‌। बरु येसु ख्रिष्टको सेवा गर्न पाउनुलाई सम्मानको कुरा ठाने अनि आफूले भविष्यमा पाउने इनाममा ध्यान केन्द्रित गरिरहे। यस्ता आशिष्‌हरूको तुलनामा आफूले गरेको त्याग केही पनि होइन भन्‍ने कुरामा पावल ढुक्क थिए।—फिलिप्पी ३:७, ८, १३, १४ पढ्‌नुहोस्‌।

१०. हामीले बेलाबेलामा कुन कुराबारे मनन गर्नुपर्छ? (मर्कुस १०:२९, ३०) (चित्रहरू पनि हेर्नुहोस्‌।)

१० हाम्रो लागि पाठ? यदि तपाईँलाई आफूले त्यागेका कुराहरूको याद आउन थाल्यो भने ती कुराहरू किन त्याग्नुभएको थियो भनेर सम्झनुहोस्‌। (उप. ७:१०) आफूले त्यागेर आएका कुराहरूको तुलनामा अहिले पाएका आशिष्‌हरू कत्ति बहुमूल्य छन्‌ भनेर पनि सोच्नुहोस्‌। तपाईँले ब्रह्‍माण्डकै सर्वशक्‍तिमान्‌ परमेश्‍वरसित घनिष्ठ मित्रता गाँस्न सक्नुभएको छ। (हितो. ३:३२) साथै तपाईँले मायालु आध्यात्मिक परिवार पाउनुभएको छ। (मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌।) अनि भविष्यको उज्ज्वल आशा पनि पाउनुभएको छ। (यसै. ६५:२१-२३) तपाईँले यहोवाको सेवा गर्दा पाएका आशिष्‌हरूबारे बेलाबेलामा मनन गर्नुभयो भने आफूले त्यागेर आएका कुराहरूको यादले सताउनेछैन।

आफूले त्यागेर आएका कुराहरूमा घोरिएर नबस्नुहोस्‌। बरु प्रचार गर्ने सुअवसर पाएकोमा रमाउनुहोस्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)e


११. रोजमेरीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

११ रोजमेरी बहिनीले बप्तिस्मा गर्दा ५० वर्ष पुगिसकेकी थिइन्‌। आफूले त्यागेर आएका कुराहरूको न्यास्रो लाग्दा तिनले के गरिन्‌, विचार गरौँ। तिनी भन्छिन्‌: “क्रिसमसमा हामी पूरै परिवार एक ठाउँमा भेला भएर रमाइलो गर्थ्यौँ। म छोराछोरी अनि नातिनातिनालाई उपहारहरू दिन्थेँ। उनीहरू ‘क्रिसमस ट्री’ वरिपरि बसेर खुसी हुँदै आ-आफ्नो उपहार खोल्थे। त्यो देख्दा मलाई पनि एकदमै खुसी लाग्थ्यो। त्यसैले क्रिसमस मनाउन छोड्‌दा सुरुसुरुमा त एकदमै खल्लो लाग्यो।” त्यसोभए तिनले के गरिन्‌? तिनी भन्छिन्‌: “क्रिसमस नमनाए पनि म अरू कुनै दिन पूरै परिवारलाई घरमा बोलाउँछु। हामी सँगै बसेर रमाइलो गर्छौँ। म उनीहरूलाई उपहार दिन्छु अनि उनीहरूलाई कत्ति धेरै माया गर्छु भनेर पनि बताउँछु।” रोजमेरीलाई न्यास्रो लागेको अर्को कुरा पनि थियो। तिनी भन्छिन्‌: “मैले सत्य सिकेपछि मेरा पुराना साथीहरू मबाट टाढिए। कहिलेकाहीँ मलाई उनीहरूको धेरै याद आउँथ्यो अनि एक्लो महसुस हुन्थ्यो।”d यस्तो महसुस हुँदा तिनले के गरिन्‌? तिनले विभिन्‍न बहिनीहरूसित प्रचारमा जान मिलाइन्‌। तिनी भन्छिन्‌, “यसो गर्दा मैले नयाँ साथीहरू बनाउन सकेँ र उनीहरूलाई अझ राम्रोसँग चिन्‍न सकेँ। म उनीहरूलाई असाध्यै माया गर्छु। अनि यस्ता साथीहरू पाएकोमा निकै खुसी छु।” रोजमेरीको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ? तपाईँले पनि आफूलाई एकदमै मनपर्ने कुरा त्याग्नुभएको हुन सक्छ र कहिलेकाहीँ ती कुराहरूको यादले सताउँछ होला। तर निराश नहुनुहोस्‌। तपाईँ आफूलाई साँचो आनन्द दिने अरू नै केही कुरा गर्न सक्नुहुन्छ। (फिलि. ४:८, ९) यो कुरा पनि नबिर्सनुहोस्‌, यहोवाको लागि त्यागहरू गर्दा उहाँले त्योभन्दा कता हो कता धेरै आशिष्‌ दिनुहुन्छ!

कसैले यहोवालाई त्याग्दा

१२. मण्डलीमा कस्तो कुरा देख्दा हामीलाई गाह्रो हुन सक्छ?

१२ सैतानको भ्रष्ट संसारबाट मुक्‍त भएर आध्यात्मिक र नैतिक रूपमा स्वच्छ परिवारको भाग बन्‍न पाउँदा तपाईँ धेरै खुसी हुनुहुन्थ्यो होला। (यसै. ६५:१४) तर कहिलेकाहीँ मण्डलीमा कसैले गम्भीर गल्ती गर्न सक्छन्‌। अनि कसैलाई त मण्डलीबाट हटाइन पनि सक्छ। (१ कोरि. ५:१३) मण्डलीमा यस्ता कुराहरू देख्दा समर बहिनीले कस्तो महसुस गरिन्‌, विचार गरौँ। तिनी भन्छिन्‌: “मैले बप्तिस्मा गरेको केही समय मात्र भएको थियो। एक जना एल्डरले गम्भीर पाप गर्नुभयो र उहाँलाई मण्डलीबाट हटाइयो। मलाई त विश्‍वासै लागेन! ‘एल्डरजस्तो व्यक्‍तिले पनि यहोवा र मण्डलीविरुद्ध पाप गर्न सक्छ र!’ जस्तो लाग्यो। मैले झन्डै ठेस खाएकी थिएँ।” हुनत हाम्रा भाइबहिनीहरू यहोवालाई प्रेम गर्छन्‌ र उहाँलाई खुसी बनाउन चाहन्छन्‌ भन्‍ने कुरामा हामी शङ्‌का गर्दैनौँ। (१ कोरि. १३:४, ७) तर दुःखको कुरा, हरेक वर्ष केहीलाई मण्डलीबाट हटाइन्छ। आफ्नो नजिकको व्यक्‍ति वा आफूले एकदमै आदर गर्ने कसैले यहोवालाई त्याग्दा हामीलाई झनै गाह्रो हुन सक्छ।

१३. आफ्नो नजिकको व्यक्‍तिले यहोवालाई त्यागे भने पनि ठेस नखान हामी अहिल्यै कस्तो तयारी गर्न सक्छौँ?

१३ आफ्नो नजिकको व्यक्‍तिले यहोवालाई त्यागे भने पनि ठेस नखान तपाईँ अहिल्यै कस्तो तयारी गर्न सक्नुहुन्छ? यहोवासितको तपाईँको सम्बन्ध अरूमा निर्भर हुनु हुँदैन। बरु यो सम्बन्धलाई बलियो बनाउन तपाईँ आफैले प्रयास गर्नुपर्छ। (याकु. ४:८) जस्तै, हामी परिवार अनि मण्डलीसित मिलेर यहोवाको उपासना गर्छौँ। तर हामीले व्यक्‍तिगत रूपमा पनि यहोवालाई प्रार्थना गर्ने र बाइबल पढ्‌ने बानी बसाल्नुपर्छ।—भज. १:२; ६२:८.

१४. हामी पत्रुसको उदाहरणबाट के सिक्न सक्छौँ? (युहन्‍ना ६:६६-६८)

१४ एकचोटि येसुका थुप्रै चेलाहरूले उहाँलाई छोडेर गए। तर त्यतिबेला पत्रुसले भने फरक प्रतिक्रिया देखाए। हुनत तिनी पनि अलमलमा परेका थिए होलान्‌ तर तिनी येसुको पछि लाग्न छोडेनन्‌। (युहन्‍ना ६:६६-६८ पढ्‌नुहोस्‌।) अरूको लहलहैमा लाग्नुको साटो पत्रुस येसुबाट सिकेका सत्य कुराहरूमा ध्यान दिए। त्यसैले तिनले ठेस खाएनन्‌। त्यसोभए तपाईँ कसरी पत्रुसको अनुकरण गर्न सक्नुहुन्छ? अरूले यहोवाको सेवा गर्न छोडे पनि तपाईँले यही सङ्‌गठनबाट सत्य सिक्नुभएको थियो भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। आफूले सिकेका कुराहरूको मोल गरिरहनुहोस्‌ र यहोवाप्रति वफादार भइरहनुहोस्‌। अगाडि उल्लेख गरिएकी समर बहिनी यसो भन्छिन्‌: “म यो कुरा सधैँ मनमा राख्छु, कुनै भाइ वा बहिनीले गलत काम गरे भन्दैमा पूरै मण्डली वा सङ्‌गठन नै गलत हो भन्‍न मिल्दैन। अनि यहोवा गलत आचरणलाई कुनै हालतमा सहनुहुन्‍न।”

१५. एमिलीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ एमिली बहिनीको अनुभव विचार गरौँ। तिनले बप्तिस्मा गरेको एक हप्तापछि नै तिनकी आमाले परिवारलाई छोडेर गइन्‌ र उनलाई मण्डलीबाट हटाइयो। एमिली भन्छिन्‌: “यस्तो होला भनेर त मैले कहिल्यै सोचेकी थिइनँ। मलाई ममीको धेरै याद आउँछ। योजस्तो गाह्रो अवस्था मैले कहिल्यै भोग्नुपरेको थिएन।” तिनलाई केले मदत गऱ्‍यो? तिनी भन्छिन्‌: “म एक्लो छैनँ। मैले ड्याडी अनि मण्डलीका भाइबहिनीहरूको साथ पाएकी छु। उहाँहरू मेरो परिवारजस्तै हुनुभएको छ। समस्या नै नहुने त कोही पनि छैन। हामी सबैलाई एकअर्काको साथ अनि प्रोत्साहन चाहिन्छ।” (१ पत्रु. ५:९) अहिलेदेखि नै भाइबहिनीहरूलाई राम्रोसित चिन्‍न र तिनीहरूसित घनिष्ठ हुन प्रयास गर्नुहोस्‌। यसो गर्नुभयो भने पछि जीवनमा गाह्रोसाह्रो अवस्था आउँदा तपाईँ एक्लो हुनुहुनेछैन। बरु भाइबहिनीहरूको साथ पाउनुहुनेछ।

१६. हामीले कुन कुरा बिर्सनु हुँदैन? (चित्र पनि हेर्नुहोस्‌।)

१६ यो कुरा पनि नबिर्सनुहोस्‌: यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ। (हिब्रू १२:६) मण्डलीबाट हटाइएका सबै जना फर्केर आएको उहाँ चाहनुहुन्छ। (२ पत्रु. ३:९) त्यसैले तपाईँको नजिकको व्यक्‍तिलाई मण्डलीबाट हटाइएको छ भने एल्डरहरूले तिनलाई यहोवाकहाँ फर्कन सक्दो मदत गर्नेछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—२ तिमो. २:२४, २५.

दुई एल्डर मण्डलीबाट हटाइएका पुरुषलाई भेट्‌दै छन्‌। एक एल्डरले बाइबल खोलेका छन्‌ र अर्को एल्डरले ती पुरुषलाई “यहोवाकहाँ फर्कनुहोस्‌” पुस्तिकाको एउटा पाठ देखाउँदै छन्‌।

यदि तपाईँको नजिकको व्यक्‍तिलाई मण्डलीबाट हटाइएको छ भने एल्डरहरूले तिनलाई यहोवाकहाँ फर्कन सक्दो मदत गर्नेछन्‌ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)f


१७. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

१७ यस लेखमा हामीले बप्तिस्मापछि आउन सक्ने केही चुनौतीहरूबारे छलफल गऱ्‍यौँ। तर त्यस्ता चुनौतीहरूबारे सोचेर बढ्‌तै चिन्ता नगर्नुहोस्‌। बरु अहिल्यैदेखि कस्तो तयारी गर्न सक्नुहुन्छ, त्यसमा ध्यान दिनुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा तपाईँको साथमा हुनुहुन्छ! उहाँले तपाईँलाई मदत गर्दै आउनुभएको छ र भविष्यमा पनि मदत गरिरहनुहुनेछ। (१ पत्रु. ५:१०) उहाँले तपाईँलाई बलियो पार्नुहुनेछ र जस्तोसुकै परीक्षा आए पनि सहन मदत दिनुहुनेछ। जबसम्म तपाईँ यहोवाको मदत स्विकार्नुहुन्छ, कुनै पनि चुनौतीले तपाईँलाई उहाँबाट अलग पार्न सक्नेछैन।—भज. ११९:१६५; रोमी ८:३८, ३९.

भविष्यमा आउन सक्ने निम्न चुनौतीहरूको लागि तपाईँ कसरी तयार रहन सक्नुहुन्छ?

  • कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखाउँदा

  • आफूले त्यागेका कुराहरू फेरि पाउने चाहना आउँदा

  • कसैलाई मण्डलीबाट हटाइँदा

गीत १५४ अटल प्रेम

a हुनत यो लेख भर्खरै बप्तिस्मा गरेकाहरूको लागि तयार पारिएको हो तर यसबाट हामी सबैले लाभ उठाउन सक्छौँ।

b नामहरू परिवर्तन गरिएका छन्‌।

c अन्तर्दृष्टिले कुनै कुरालाई सतही रूपमा मात्र होइन तर त्यसको चुरोसम्म पुग्न मदत दिन्छ। यदि हामीसित यो गुण छ भने कसैले रुखो बोली बोल्दा वा नराम्रो व्यवहार गर्दा त्यसको कारण के हुन सक्छ भनेर बुझ्न सक्छौँ।

d बाइबल अध्ययन सञ्चालकले मात्र होइन, हामी सबैले नै बाइबल विद्यार्थीहरू र भर्खरै बप्तिस्मा गरेकाहरूलाई गहिरो चासो र माया देखाउनुपर्छ। मार्च २०२१ अङ्‌कको प्रहरीधरहरा-मा “मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ!” लेखको अनुच्छेद १५ र १६ हेर्नुहोस्‌।

e चित्रको व्याख्या: प्रचारकार्यमा भाग लिँदै गर्दा एक बहिनीले खेलाडीहरू फुटबल खेलिरहेको देख्छिन्‌ र आफू पनि खेलाडी हुँदाका दिनहरू सम्झिन्छिन्‌। पछि तिनले एक महिला खेलाडीलाई साक्षी दिन्छिन्‌ र सायद तिनीहरू पहिला एउटै टिमबाट खेल्थे।

f चित्रको व्याख्या: दुई जना एल्डर मण्डलीबाट हटाइएका एक पुरुषलाई भेट्‌न जान्छन्‌ र तिनलाई यहोवाकहाँ फर्कन प्रोत्साहन दिन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने