प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 फेब्रुअरी पृ. ८-१३
  • बप्तिस्माको अर्थ र यसको महत्त्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बप्तिस्माको अर्थ र यसको महत्त्व
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बप्तिस्माको अर्थ के हो?
  • बप्तिस्मा गर्नुमा के-कस्ता कुराहरू मुछिएका छन्‌?
  • “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा”
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • बप्तिस्मा के हो?
    बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 फेब्रुअरी पृ. ८-१३

अप्रिल १३-१९, २०२६

गीत ५२ ख्रिष्टियन समर्पण

बप्तिस्माको अर्थ र यसको महत्त्व

‘चेला बनाओ र बप्तिस्मा गराओ।’—मत्ति २८:१९.

सिक्न सकिने कुरा

बप्तिस्माको अर्थ के हो, यो किन महत्त्वपूर्ण छ र यसमा के-कस्ता कुराहरू मुछिएका छन्‌?

१. बप्तिस्मालाई किन बाइबलको प्राथमिक शिक्षा भन्‍न सकिन्छ?

नयाँ व्यक्‍तिहरूले बप्तिस्मा गरेको देख्दा हामीलाई असाध्यै खुसी लाग्छ। यस्तै खुसी इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पहिलो ख्रिष्टियन मण्डली स्थापना हुँदा चेलाहरूले अनुभव गरेका थिए। किनभने त्यो दिन थुप्रैले बप्तिस्मा गरे। त्यस सभामा प्रेषित पत्रुसले बप्तिस्मा गर्नु किन महत्त्वपूर्ण छ भन्‍नेबारे भाषण पनि दिएका थिए। (प्रेषि. २:३८, ४०, ४१) पछि प्रेषित पावलले “ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षा”-मा “बप्तिस्माहरूसम्बन्धी शिक्षा” पनि पर्छ भनेर लेखे। (हिब्रू ६:१, २) हुनत बप्तिस्मा भनेको बाइबलको एउटा आधारभूत शिक्षा हो तर यसबारे राम्ररी बुझ्नु महत्त्वपूर्ण छ। किन?

२. बप्तिस्माबारे राम्ररी बुझ्नु किन महत्त्वपूर्ण छ?

२ जग बलियो छ भने घर बलियो हुन्छ। त्यसरी नै बप्तिस्माबारे राम्ररी बुझ्यौँ भने हाम्रो विश्‍वास पनि बलियो हुन्छ। बप्तिस्मा गर्न अघि बढिरहेकाहरू र बप्तिस्मा गरेको धेरै वर्ष भइसकेकाहरूले पनि बप्तिस्माबारे राम्ररी बुझ्नु महत्त्वपूर्ण छ। त्यसैले यस लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: बप्तिस्माको अर्थ के हो? बप्तिस्मा गर्नुमा के-कस्ता कुराहरू मुछिएका छन्‌? हामी किन बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गर्छौँ?

बप्तिस्माको अर्थ के हो?

३. बप्तिस्मा गर्दा तपाईँले सबैसामु कस्ता कुराहरू देखाइरहनुभएको हुन्छ?

३ बप्तिस्मा गर्दा तपाईँले सबैसामु यी कुराहरू देखाइरहनुभएको हुन्छ: (१) तपाईँले यहोवा परमेश्‍वर र येसु ख्रिष्टबारे सत्य कुरा स्विकार्नुभएको छ। (२) आफ्ना पापहरूको पश्‍चात्ताप गर्नुभएको छ। (३) यहोवाको सेवा गर्न जीवनमा छाँटकाँट गर्नुभएको छ। (४) परमेश्‍वरले हाम्रो उद्धार गर्नुहुने माध्यम येसु हुनुहुन्छ भनेर मानिलिनुभएको छ। (५) परमेश्‍वरको सङ्‌गठनसँगै मिलेर उहाँको इच्छा पूरा गर्ने अठोट प्रार्थनामा व्यक्‍त गरिसक्नुभएको छ। तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गरेपछि अनन्त जीवनतर्फ लैजाने बाटोमा तपाईँको यात्रा सुरु हुन्छ।

४. बप्तिस्मा गर्दा पानीमा डुब्नु र पानीबाट बाहिर निस्कनुले कुन कुरालाई सङ्‌केत गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

४ बप्तिस्मा गर्दा तपाईँलाई पानीमा पूरै डुबाइन्छ र बाहिर निकालिन्छ।a यो प्रक्रियालाई मरेपछि गाडिनु र फेरि जीवित पारिनुसित तुलना गर्न सकिन्छ। (कलस्सी २:१२ तुलना गर्नुहोस्‌।) यो तुलना किन सुहाउँदो छ? बप्तिस्मा गर्दा पानीमा डुब्नुले पुरानो जीवनशैली अन्त भएको कुरालाई सङ्‌केत गर्छ। अनि पानीबाट बाहिर निस्कनुले परमेश्‍वरको इच्छाअनुसार गर्नुमा केन्द्रित नयाँ जीवन सुरु भएको कुरालाई सङ्‌केत गर्छ।

चित्रहरूको सँगालो: एक पुरुष विभिन्‍न बाधाअवरोध पन्छ्याएर बप्तिस्मा गर्दै छन्‌। १. तिनी जोस्सिँदै टिभीमा बक्सिङ हेर्छन्‌। २. तिनी चुरोट पिउँछन्‌। ३. तिनी बेस्सरी रक्सी पिउँछन्‌। ४. पछि तिनी बप्तिस्मा गर्छन्‌।

बप्तिस्मा गर्दा तपाईँको पुरानो जीवनशैली अन्त हुन्छ अनि परमेश्‍वरको इच्छाअनुसार गर्नुमा केन्द्रित नयाँ जीवन सुरु हुन्छ (अनुच्छेद ४ हेर्नुहोस्‌)


५. बप्तिस्माको लागि तयारी गर्नुलाई नुहले जहाज बनाएको कुरासित किन तुलना गर्न सकिन्छ? (१ पत्रुस ३:१८-२१)

५ पहिलो पत्रुस ३:१८-२१ पढ्‌नुहोस्‌। बप्तिस्माको लागि तयारी गर्नुलाई नुहले जहाज बनाएको कुरासित तुलना गर्न सकिन्छ। के तपाईँले भर्खर मात्र यहोवाबारे सिक्न थाल्नुभएको हो? त्यसो हो भने बप्तिस्मासम्म पुग्न त धेरै कुरा गर्नुपर्ने रहेछ भन्‍ने सोचेर तपाईँ आत्तिनुहोला। तपाईँलाई त्यो काम नुहको जहाज बनाउनुजत्तिकै गाह्रो लाग्ला। तर के तपाईँले ती सबै कुराहरू गर्नु साँच्चै जरुरी छ? हो, जरुरी छ। नुह परमेश्‍वरप्रति आज्ञाकारी भए र उहाँले भन्‍नुभएबमोजिम सबै गरे। उहाँले नुहलाई जहाज कसरी बनाउनुपर्छ भनेर एक-एक निर्देशन दिनुभयो। जलप्रलयबाट बच्न तिनले उहाँले भन्‍नुभएअनुसारै जहाज बनाउनुपर्थ्यो। परमेश्‍वरमाथिको विश्‍वास र उहाँको मदतले गर्दा नै नुहले विशाल जहाज बनाउन सके। तपाईँले पनि नुहले जस्तै ‘परमेश्‍वरको आज्ञाबमोजिम सबै गर्न’ सक्नुहुन्छ।—उत्प. ६:२२.

६. बप्तिस्माले हामीलाई कुन अर्थमा “बचाउँदै छ”?

६ पहिलो पत्रुस ३:२१ मा प्रेषित पत्रुसले बप्तिस्माले तिमीहरूलाई “बचाउँदै छ” भनेर लेखे। तर बप्तिस्मा गर्दैमा उद्धार पाइन्छ भन्‍ने होइन, न त यसले हाम्रो पाप नै पखाल्छ। येसुको रगतले मात्र हाम्रो पाप पखाल्न सक्छ। (१ युह. १:७) तर परमेश्‍वरको आज्ञाबमोजिम सबै गर्नुमा बप्तिस्मा गर्नु पनि समावेश छ। अनि बप्तिस्मा गर्दा हामीले “सफा अन्तस्करणको निम्ति परमेश्‍वरसित बिन्ती” गरिरहेका हुन्छौँ। यहोवा हाम्रो बिन्ती सुन्‍नुहुन्छ र खुसीसाथ त्यो पूरा गरिदिनुहुन्छ। यस अर्थमा बप्तिस्माले हामीलाई “बचाउँदै छ” अर्थात्‌ उद्धारतर्फ डोऱ्‍याउँदै छ।

बप्तिस्मा गर्नुमा के-कस्ता कुराहरू मुछिएका छन्‌?

७. बप्तिस्माको सन्दर्भमा हामीले कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ?

७ बप्तिस्मा गर्दा पानीमा पूरै डुब्नुपर्छ भनेर बाइबलमा बताइएको छ। तर बप्तिस्माबारे एक-एक कुरा भने बताइएको छैन। तैपनि बाइबलमा बप्तिस्माको बेला लागू हुने सिद्धान्तहरू भने पाइन्छ। जस्तै, बप्तिस्मा गर्न लागेकाहरूले भद्र पहिरन लगाउनुपर्छ अनि बप्तिस्मा हेर्न आएकाहरूले शिष्ट व्यवहार गर्नुपर्छ भनेर बाइबल सिद्धान्तहरूबाट बुझ्न सक्छौँ। (१ कोरि. १४:४०; १ तिमो. २:९) अहिले बप्तिस्मा गराउने काम प्रायः एल्डरले गर्छन्‌। तर त्यस्तो जिम्मेवारी पाएको एल्डरलाई बढ्‌तै महत्त्व दिनदेखि हामी होसियार हुनुपर्छ। (१ कोरि. १:१४, १५) बप्तिस्मा गरेको हेर्न आउने मानिसहरू धेरै होस्‌ या थोरै, यहोवाको लागि त्यो बप्तिस्मा स्वीकार्य हुन्छ।—प्रेषि. ८:३६.

८. बप्तिस्मा गर्न लागेकाहरूलाई कुन दुई वटा प्रश्‍न सोधिन्छ? ती प्रश्‍नहरूको जवाफ दिँदा तिनीहरूले के गर्ने मौका पाउँछन्‌? (प्रेषित २:३८-४२) (चित्र पनि हेर्नुहोस्‌।)

८ हामीले उद्धार पाउन आफ्नो ‘विश्‍वास जनसमक्ष घोषणा गर्नुपर्छ’ भनेर बाइबल बताउँछ। (रोमी १०:९, १०) प्रचार गर्दा मात्र होइन तर बप्तिस्मा गर्ने दिनमा पनि हामीले आफ्नो विश्‍वासबारे जनसमक्ष घोषणा गर्ने मौका पाउँछौँ। त्यसैले बप्तिस्मा गर्न लागेकाहरूलाई दुई वटा प्रश्‍न सोधिन्छ। पहिलो, “के तपाईँले पापको पश्‍चात्ताप गरेर आफ्नो जीवन यहोवालाई समर्पण गरिसक्नुभएको छ र उहाँले येसु ख्रिष्टमार्फत उद्धार गर्नुहुन्छ भनेर स्विकारिसक्नुभएको छ?” यो प्रश्‍नले बप्तिस्मा गर्न लागेको व्यक्‍तिले के-के गरिसकेका छन्‌ भन्‍ने कुरामा जोड दिन्छ। पत्रुसले पनि पेन्तिकोसको दिनमा भाषण दिँदा यसैसित मिल्दोजुल्दो कुराहरू भनेका थिए। बप्तिस्मा गर्न लागेकाहरूलाई सोधिने दोस्रो प्रश्‍न हो, “बप्तिस्मा गरिसकेपछि तपाईँ यहोवाको साक्षी भनेर चिनिनुहुनेछ र उहाँको सङ्‌गठनको भाग बन्‍नुहुनेछ भन्‍ने कुरा के तपाईँले बुझ्नुभएको छ?” यस प्रश्‍नले बप्तिस्मा गरेपछि तिनले के गर्नेछन्‌ भन्‍ने कुरामा जोड दिन्छ। यस प्रश्‍नको जवाफ दिँदा तिनले यहोवाको सङ्‌गठनको निर्देशन पालन गर्ने र भाइबहिनीसित मिलेर यहोवाको सेवा गर्ने वाचा गरिरहेका हुन्छन्‌। पेन्तिकोसको दिनमा बप्तिस्मा गरेका ख्रिष्टियनहरूले पनि यस्तै गरेका थिए। (प्रेषित २:३८-४२ पढ्‌नुहोस्‌।) यी दुवै प्रश्‍नको मनैदेखि “छ” भनेर जवाफ दिनेहरू बप्तिस्माको लागि योग्य हुन्छन्‌।

सम्मेलनमा बप्तिस्मा गर्न लागेकाहरू सबैभन्दा अगाडि उभिएर आफ्नो विश्‍वास जनसमक्ष घोषणा गर्दै छन्‌। तिनीहरू विभिन्‍न उमेरका छन्‌।

बप्तिस्माको बेला तपाईँले आफ्नो ‘विश्‍वास जनसमक्ष घोषणा’ गर्नुहुन्छ (अनुच्छेद ८ हेर्नुहोस्‌)d


९. यहोवाको अनुमोदन पाउन हामी सबैले के गर्नुपर्छ?

९ हुनत सत्य सिक्नुअघि पनि तपाईँ असल यक्‍ति हुनुहुन्थ्यो होला अनि कहिल्यै गम्भीर पाप गर्नुभएन होला। अथवा तपाईँको आमाबुबा साक्षी हुनुभएकोले सानैदेखि यहोवालाई प्रेम गर्न सिक्नुभयो होला। त्यसो हो भने पनि यहोवाको अनुमोदन पाउन के तपाईँले पश्‍चात्ताप गरेर बप्तिस्मा गर्नुपर्छ? पर्छ। हामी जन्मजातै पापी भएकोले यहोवाबाट टाढिएका छौँ। (भज. ५१:५) हामीले यहोवाबारे सिक्दै गएपछि आफ्नो होइन, उहाँको इच्छालाई पहिलो स्थानमा राख्ने निर्णय गर्छौँ। त्यसपछि आफ्ना पापहरूको पश्‍चात्ताप गर्छौँ र यहोवालाई मन नपर्ने कामहरू गर्न छोडेर उहाँलाई खुसी तुल्याउने तरिकामा जीवन बिताउन थाल्छौँ। त्यसपछि हामी बप्तिस्मा गर्न तयार हुन्छौँ।—प्रेषि. ३:१९.

१०. तपाईँले अर्को धर्म मान्दा बप्तिस्मा गरिसक्नुभएको थियो भने पनि किन फेरि बप्तिस्मा गर्नुपर्छ?

१० तपाईँले अर्को धर्म मान्दा बप्तिस्मा गरिसक्नुभएको थियो भने नि? त्यसो हो भने पनि यहोवाको साक्षी बन्‍न तपाईँले फेरि बप्तिस्मा गर्नुपर्छ। किन? किनभने त्यतिबेला तपाईँले यहोवा परमेश्‍वर र येसुबारे राम्ररी बुझिसक्नुभएको थिएन। अनि तपाईँले प्रार्थना गरेर परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरिसक्नुभएको थियो भने पनि त्यतिबेला तपाईँले परमेश्‍वरको इच्छा वास्तवमा के हो भनेर बुझ्नुभएको थिएन। प्रेषित पावलले एफिससमा भेटेका केही चेलाहरूले येसुबारे सत्य कुरा नबुझिकनै बप्तिस्मा गरिसकेका थिए। त्यसैले पावलले उनीहरूले फेरि बप्तिस्मा गर्नु आवश्‍यक छ भनेर बताए।b (प्रेषि. १९:१-५) अहिले पनि यहोवाको इच्छा के हो भन्‍नेबारे सही ज्ञान लिइसकेपछि गरेको बप्तिस्मा मात्र उहाँको लागि स्वीकार्य हुन्छ।

“बुबा, छोरा र पवित्र शक्‍तिको नाममा”

११. “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा” बप्तिस्मा गर्नु भनेको के हो? (मत्ति २८:१८-२०)

११ नयाँ चेलाहरूले “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा” बप्तिस्मा गर्नुपर्छ भनेर येसुले भन्‍नुभयो। (मत्ति २८:१८-२० पढ्‌नुहोस्‌।) उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? बाइबलमा “नाम” शब्दले अक्सर कसैको प्रतिष्ठा, ओहदा, अख्तियार र भूमिकालाई बुझाउँछ। त्यसैले हामीले कसैको वा कुनै कुराको नाममा केही गर्छौँ भने त्यो नामसँगै जोडिएको अख्तियारलाई पनि स्विकारिरहेका हुन्छौँ। त्यसरी नै बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गर्दा यहोवा र येसुको अख्तियार अनि पवित्र शक्‍तिको भूमिका स्विकारिरहेका हुन्छौँ। कसरी?

१२. बुबाको नाममा बप्तिस्मा गर्नु भनेको के हो? (प्रकाश ४:११) (चित्र पनि हेर्नुहोस्‌।)

१२ बुबाको नाममा। हामी यहोवालाई स्वर्गमा हुनुहुने बुबाको रूपमा स्विकार्छौँ, जसले हामीलाई जीवन दिनुभयो। उहाँ सर्वशक्‍तिमान्‌ हुनुहुन्छ र उहाँले नै सबै थोक सृष्टि गर्नुभयो। (प्रकाश ४:११ पढ्‌नुहोस्‌।) साथै उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर मानिलिन्छौँ। उहाँलाई प्रार्थना गर्दा र उहाँबारे अरूलाई बताउँदा आदरपूर्वक अनि नहिचकिचाई उहाँको नाम प्रयोग गर्छौँ। (भज. ६५:२) बुबाको नाममा बप्तिस्मा गर्नुमा अर्को कुरा पनि मुछिएको छ। पेन्तिकोसको दिनमा पत्रुसको भाषण सुनिरहेकाहरूलाई यहोवाबारे थाह थियो। तर तिनीहरूले मानिसहरूको उद्धार गर्न यहोवाले नै येसुको बलिदानको प्रबन्ध गर्नुभयो भनेर पनि स्विकार्नुपर्थ्यो।—रोमी ५:८.

अघिल्लो चित्रमा देखाइएको भर्खरै बप्तिस्मा गरेकी एक बहिनी घरमा प्रार्थना गर्दै छिन्‌।

बप्तिस्मापछि पनि बुबा र छोराको ओहदा र अख्तियार अनि पवित्र शक्‍तिको भूमिका स्विकारिरहनुहोस्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)


१३. छोराको नाममा बप्तिस्मा गर्नु भनेको के हो? (चित्र पनि हेर्नुहोस्‌।)

१३ छोराको नाममा। हामी येसुलाई परमेश्‍वरको एक मात्र छोराको रूपमा स्विकार्छौँ। येसु “बाटो” हुनुहुन्छ। त्यसैले उहाँद्वारा मात्रै हामी यहोवासित राम्रो सम्बन्ध गाँस्न सक्छौँ। (युह. १४:६) येसु हाम्रो उद्धारक पनि हुनुहुन्छ। हामीले जीवन पाओस्‌ भनेर उहाँ हाम्रो लागि मर्नुभयो। त्यसैले बप्तिस्मा गरेको दिन मात्र होइन, जिन्दगीभर उहाँको अनुकरण गर्न चाहन्छौँ। (१ युह. २:६) त्यसैले हामी जस्तोसुकै बाधाविघ्न आए तापनि उहाँले जस्तै जोसका साथ प्रचार गर्छौँ। (लुका ४:४३) उहाँको चेला भएको नाताले हामीमाथि आइपर्ने खेदो सहन समेत हामी तयार छौँ। (२ तिमो. ३:१२) हामी येसुलाई “मण्डलीको शिर”-को रूपमा स्विकार्छौँ र उहाँको आदर गर्छौँ। त्यसैले उहाँले हामीलाई डोऱ्‍याउन र हेरचाह गर्न नियुक्‍त गर्नुभएका पुरुषहरूको राजीखुसीले अधीनमा बस्छौँ।—एफि. ४:८, ११, १२; ५:२३.

अघिल्लो चित्रमा देखाइएको भर्खरै बप्तिस्मा गरेका एक भाइ घरघरको प्रचारमा एक पुरुषलाई बाइबल पद देखाउँदै छन्‌।

बप्तिस्मापछि पनि छोराको ओहदा र अख्तियार स्विकारिरहनुहोस्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)


१४. (क) पवित्र शक्‍तिको नाममा बप्तिस्मा गर्नु भनेको के हो? (चित्र पनि हेर्नुहोस्‌।) (ख) अभिषिक्‍त जनहरूले अरू कस्ता बप्तिस्माहरू पनि गर्छन्‌? (“अभिषिक्‍त जनहरूले गर्ने अरू बप्तिस्माहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१४ पवित्र शक्‍तिको नाममा। हामी पवित्र शक्‍तिबारे सत्य कुरा स्विकार्छौँ। यो कुनै व्यक्‍ति वा त्रिएकको भाग होइन बरु परमेश्‍वरको सक्रिय शक्‍ति हो। पवित्र शक्‍तिले भविष्यवक्‍ताहरू र बाइबल लेखकहरूलाई डोऱ्‍याएको थियो भनेर हामी मानिलिन्छौँ। त्यसैले हरेक दिन बाइबल पढ्‌छौँ र बाइबलका शिक्षाहरूअनुसार जीवन बिताउँछौँ। (२ पत्रु. १:२०, २१) हामी गम्भीर पाप गर्नदेखि पनि होसियार हुन्छौँ किनकि गम्भीर पाप गऱ्‍यौँ भने पवित्र शक्‍तिलाई बाधा पुऱ्‍याइरहेका हुन्छौँ। यसले गर्दा पवित्र शक्‍तिले हामीमाथि र पूरै मण्डलीमाथि काम गर्न सक्दैन।—एफि. ४:३०.

अघिल्लो चित्रमा देखाइएको भर्खरै बप्तिस्मा गरेकी एक बहिनी घरमा बाइबल पढ्‌दै छिन्‌।

बप्तिस्मापछि पनि पवित्र शक्‍तिको भूमिका स्विकारिरहनुहोस्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)


अभिषिक्‍त जनहरूले गर्ने अरू बप्तिस्माहरू

अभिषिक्‍त जनहरूले पानीमा बप्तिस्मा गर्नुका साथै यी बप्तिस्माहरू पनि गर्छन्‌:

  • येसु ख्रिष्टसँगै स्वर्गमा शासन गर्न छानिँदा तिनीहरूले पवित्र शक्‍तिद्वारा बप्तिस्मा गर्छन्‌। (मत्ति ३:११)

  • तिनीहरूले “ख्रिष्टमा बप्तिस्मा” गर्छन्‌; यसको मतलब तिनीहरू ख्रिष्टमा एक हुन्छन्‌ र तिनीहरूलाई ख्रिष्टको शरीर भन्‍न सकिन्छ। (गला. ३:२७, २८; १ कोरि. १२:२७)

  • तिनीहरू येसु ख्रिष्टको मृत्युमा बप्तिस्मा गर्छन्‌। यसको मतलब तिनीहरू पृथ्वीमा बाँचुन्जेल वफादार भई येसुको उदाहरण पछ्याउँछन्‌ र तिनीहरूलाई मृत्युबाट ब्युँताएर स्वर्ग लगिन्छ। (रोमी ६:३-५)

१५. तपाईँले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१५ यदि तपाईँ बप्तिस्मा गरिसकेको ख्रिष्टियन हुनुहुन्छ भने “बप्तिस्माहरूसम्बन्धी शिक्षा”-बारे राम्ररी बुझ्ने सङ्‌कल्प गर्नुहोस्‌।c साथै समर्पण र बप्तिस्मा गर्दा आफूले गरेको वाचाअनुसार नै जीवन बिताउने सङ्‌कल्प पनि गर्नुहोस्‌। तर तपाईँले बप्तिस्मा गरिसक्नुभएको छैन भने नि? तपाईँलाई कुनै कुराले बाधा पुऱ्‍याइरहेको छ कि? यसपछिको लेखमा हामी कसरी बप्तिस्माको लक्ष्यसम्म पुग्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • बप्तिस्मा गर्दा पानीमा डुब्नु र पानीबाट बाहिर निस्कनुले कुन कुरालाई सङ्‌केत गर्छ?

  • बप्तिस्मा गर्न लागेकाहरूलाई कुन दुई वटा प्रश्‍न सोधिन्छ र किन?

  • “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा” बप्तिस्मा गर्नु भनेको के हो?

गीत १६१ गर्छु इच्छा तिम्रो

a “बप्तिस्मा” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “पूरै डुबाउनु” भन्‍ने अर्थ दिन्छ। त्यसैले कुनै-कुनै धर्मले सिकाएजस्तो बप्तिस्मा गर्दा पानी छर्कनु मात्र पर्याप्त छैन। बरु बप्तिस्मा गर्ने व्यक्‍तिलाई पानीमा पूरै डुबाइनुपर्छ।

b एफिससका यी चेलाहरूले “युहन्‍नाले सिकाउने गरेको” बप्तिस्मा गरेका थिए। (प्रेषि. १९:३) बप्तिस्मा गराउने युहन्‍नाले यहुदीहरूलाई मोसाको व्यवस्थाविरुद्ध गरेका पापहरूको लागि पश्‍चात्ताप गर्न आग्रह गरे। अनि पाप स्विकारेर पश्‍चात्ताप गर्नेहरूलाई तिनले बप्तिस्मा गराए। (मर्कु. १:४, ५) तर व्यवस्था खारेज भएपछि युहन्‍नाले गराएको बप्तिस्मालाई यहोवाले स्वीकार्य ठान्‍नुभएन। त्यस उप्रान्त उहाँ “एउटै बप्तिस्मा” मात्र स्वीकार्य ठान्‍नुहुन्छ, जसले उद्धारतर्फ डोऱ्‍याउँछ।—एफि. ४:५.

c jw.org र JW लाइब्रेरी-मा “बाइबल प्रश्‍नहरूको जवाफ”-अन्तर्गत भएको “बप्तिस्मा के हो?” लेख हेर्नुहोस्‌।

d चित्रको व्याख्या: सम्मेलनमा बप्तिस्मा गर्न लागेकाहरू उभिएर आफ्नो विश्‍वास जनसमक्ष घोषणा गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने