प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 फेब्रुअरी पृ. २६-२९
  • छोराछोरी​—यहोवाले दिनुभएको बहुमूल्य उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरी​—यहोवाले दिनुभएको बहुमूल्य उपहार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौतीहरू
  • यहोवा आमाबुबाले के गरेको चाहनुहुन्छ?
  • यहोवा तपाईँ सफल भएको चाहनुहुन्छ
  • तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 फेब्रुअरी पृ. २६-२९
बुबा र आमाले सानी छोरीलाई खुसी हुँदै अङ्‌गालो हालिरहेका छन्‌।

छोराछोरी —यहोवाले दिनुभएको बहुमूल्य उपहार

के तपाईँलाई कसैले उपहार दिएको थियो? सायद तपाईँलाई माया गर्ने कसैबाट तपाईँले उपहार पाउनुभएको थियो होला। तपाईँले त्यो उपहारलाई के गर्नुभयो? तपाईँले त्यो उपहारलाई जतन गरेर चलाउनुभयो होला किनभने त्यसलाई तपाईँ एकदमै बहुमूल्य ठान्‍नुहुन्छ।

बाइबलमा छोराछोरी यहोवाले दिनुभएको “इनाम” हुन्‌ भनिएको छ। (भज. १२७:३) ख्रिष्टियन आमाबुबाहरू छोराछोरीलाई यहोवाले दिनुभएको इनाम अर्थात्‌ बहुमूल्य उपहार ठान्छन्‌। तिनीहरू छोराछोरीलाई शारीरिक, भावनात्मक र आध्यात्मिक रूपमा राम्रो हेरविचार गर्छन्‌। अनि उनीहरूलाई सुरक्षित राख्न सक्दो गर्छन्‌।

तर दुःखको कुरा, आज केही आमाबुबाले छोराछोरीलाई परमेश्‍वरले दिनुभएको उपहारको रूपमा हेर्दैनन्‌। (यसै. ४९:१५; २ तिमो. ३:१-३) अरू केही आमाबुबाले भने छोराछोरीको राम्रो हेरविचार गर्न चाहन्छन्‌। तर त्यसो गर्न सधैँ सजिलो हुँदैन। छोराछोरी हुर्काउने क्रममा तिनीहरूले केही चुनौतीहरूको पनि सामना गर्नुपर्छ। तीमध्ये केही चुनौतीहरू के-के हुन्‌? यहोवा आमाबुबाले के गरेको चाहनुहुन्छ? अनि ख्रिष्टियन आमाबुबाले छोराछोरीलाई राम्ररी हुर्काउन के गर्न सक्छन्‌?

चुनौतीहरू

  • समाज र परिवारको दबाब। संसारको कुनै-कुनै ठाउँमा दम्पतीहरूले जति धेरै छोराछोरी जन्माए, समाजबाट त्यति नै आदर पाउँछन्‌। परिवारका सदस्यहरू वा छिमेकीहरूले तिनीहरूलाई थुप्रै छोराछोरी जन्माउन दबाब दिन्छन्‌। त्यस्तो दबाबले गर्दा तिनीहरू आफूले हेरचाह गर्न सक्ने भन्दा धेरै सन्तान जन्माउन बाध्य हुन्छन्‌।

  • भविष्यको चिन्ता। कुनै-कुनै देशमा कुपोषण, रोगबिमार अनि स्वास्थ्य सुविधाहरूको कमीले गर्दा शिशु मृत्युदर एकदमै उच्च छ। त्यसैले दम्पतीहरू आफ्ना सबै छोराछोरी नबाँचे पनि कोही-कोही त बाँच्लान्‌ भन्‍ने आसमा धेरै छोराछोरी जन्माउने गर्छन्‌। अरू केही दम्पतीहरूले भने छोराछोरी “बुढेसकालको सहारा” हुन्छन्‌ भनेर धेरै छोराछोरी जन्माउँछन्‌। अझ खासगरि सरकारले वृद्धहरूलाई राम्रो सेवासुविधा नदिएको देशहरूमा त्यस्तो देखिन्छ।

  • परिवार नियोजन। कुनै-कुनै देशमा गर्भनिरोधक सामग्रीहरू पाउन गाह्रो छ। अनि त्यस्ता सामग्रीहरू उपलब्ध भए पनि गुणस्तर राम्रो नहुने भएकोले त्यसले उल्टो असर गर्ला भन्‍ने डरले गर्दा दम्पतीहरू त्यस्ता सामग्रीहरू प्रयोग गर्न खोज्दैनन्‌। कसै-कसैले चाहिँ ती एकदमै महँगो हुने भएकोले किन्‍न सक्दैनन्‌।a

यहोवा आमाबुबाले के गरेको चाहनुहुन्छ?

एउटा परिवार पार्कमा रमाइरहेका छन्‌। बुबा किशोरावस्थाकी छोरीको कुरा ध्यान दिएर सुन्दै छन्‌। आमा भने छोरासित बल खेल्दै छिन्‌।

प्रत्येक छोराछोरीसित समय बिताउनुहोस्‌

छोराछोरीको आवश्‍यकता पूरा गर्नुहोस्‌। यहोवाले आमाबुबालाई नाबालिग छोराछोरीको भौतिक आवश्‍यकता पूरा गर्ने जिम्मेवारी दिनुभएको छ। उहाँ तिनीहरूले प्रत्येक छोराछोरीको लागि गाँस, बास र कपास जुटाउन कडा मेहनत गरेको चाहनुहुन्छ। तिनीहरूले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएर हुर्काएको पनि चाहनुहुन्छ। त्यसैले ख्रिष्टियन आमाबुबाले छोराछोरीलाई होस्टेलमा पठाउनु हुँदैन। बरु छोराछोरी आफ्नो खुट्टामा उभिन सक्ने नभएसम्म आफूसँगै राख्नुपर्छ अनि तिनीहरूलाई जीवनमा काम लाग्ने सीपहरू सिक्न मदत गर्नुपर्छ। साथै तिनीहरूले प्रत्येक छोराछोरीसित समय बिताउनुपर्छ। यसो गर्दा छोराछोरीले आमाबुबाको माया पाएको अनि सुरक्षित महसुस गर्न सक्छन्‌। तर अर्कोतर्फ यहोवा व्यावहारिक पनि हुनुहुन्छ। आमाबुबाहरू छोराछोरीको लागि भनेर पैसा कमाउनमै घोटिएको उहाँ चाहनुहुन्‍न। यस सन्दर्भमा उहाँ आफैले राम्रो उदाहरण बसाल्नुभयो। उहाँले आफ्नो प्यारो छोरालाई हुर्काउन एउटा यस्तो दम्पती रोज्नुभयो, जो आर्थिक रूपमा कमजोर तर मेहनती थिए।—मत्ति १३:५५, ५६; लुका २:२४.

बाइबल सिद्धान्त: “हुन पनि यदि कसैले आफन्तको र अझ विशेषगरि आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्‍वासलाई त्यागेको हुन्छ र विश्‍वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।”—१ तिमो. ५:८.

आमाबुबा वृद्ध हुँदै जाँदा छोराछोरीको मदत चाहिन्छ भन्‍ने कुरा यहोवाले बुझ्नुभएको छ। त्यसैले छोराछोरीले आमाबुबाको हेरविचार गरेर आदर गरेको देखाउन सक्छन्‌। (प्रस्थ. २०:१२; १ तिमो. ५:४) तर आमाबुबाले आफू बूढाबूढी भएपछि छोराछोरीले हेरविचार गर्लान्‌ भन्‍ने कुरामा बढ्‌तै ध्यान दिएको यहोवा चाहनुहुन्‍न। बरु तिनीहरूको मुख्य ध्यान छोराछोरीलाई कसरी हुर्काउने भन्‍नेतर्फ हुनुपर्छ।—२ कोरि. १२:१४.

छोराछोरीको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहोस्‌। ख्रिष्टियन आमाबुबाले छोराछोरीलाई यहोवालाई प्रेम गर्न र उहाँको उपासना गर्न सिकाउने जिम्मेवारी पनि पाएका छन्‌। आमाबुबाले छोराछोरीलाई आध्यात्मिक रूपमा राम्रो डोऱ्‍याइ दिनुपर्ने कुरालाई यहोवा एकदमै महत्त्वपूर्ण ठान्‍नुहुन्छ।—व्यव. ६:६, ७.

बाइबल सिद्धान्त: ‘आफ्ना छोराछोरीलाई यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर हुर्काओ।’—एफि. ६:४.

यहोवा तपाईँ सफल भएको चाहनुहुन्छ

एक दम्पती घरमा कुराकानी गर्दै छन्‌। टेबुलमा बाइबल खुला छ।

कति जना छोराछोरी जन्माउने भनेर पहिल्यै कुरा गर्नुहोस्‌

योजना बनाउनुहोस्‌। छोराछोरी जन्माउनेबारे विचार गर्दै हुनुहुन्छ भने आफ्नो अवस्था राम्ररी केलाउनुहोस्‌। जस्तै: तपाईँ कति जना छोराछोरी जन्माउन चाहनुहुन्छ? धेरै छोराछोरी जन्माउने निर्णय गर्नुभयो भने के तिनीहरू सबैको लागि गाँस, बास र कपासको राम्रो प्रबन्ध मिलाउन सक्नुहुन्छ? अनि तिनीहरूलाई राम्रो शिक्षादीक्षा दिन सक्नुहुन्छ? सक्नुहुन्‍न भने कति जना छोराछोरी जन्माउने भनेर आफ्नो जोडीसित कुरा गर्नुहोस्‌। तर यो कुरा नबिर्सनुहोस्‌: तपाईँहरूले जति जना छोराछोरी जन्माउने निर्णय गरे पनि तिनीहरू प्रत्येकलाई यहोवाले चाहनुभएको तरिकामा हुर्काउनुपर्छ। जीवनमा सबै कुरा हामीले योजना गरेजस्तो हुँदैन भनेर यहोवाले बुझ्नुभएको छ। (उप. ९:११) तर यो कुरामा ढुक्क हुनुहोस्‌: छोराछोरीलाई राम्रोसँग हुर्काउन तपाईँहरूले गर्नुहुने प्रयासमा यहोवाले आशिष्‌ दिनुहुनेछ।

बाइबल सिद्धान्तहरू: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।”—हितो. २१:५.

“तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?”—लुका १४:२८.

यहोवालाई पहिलो स्थानमा राख्नुहोस्‌। तपाईँको परिवारको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको उपासना नै हुनुपर्छ। तपाईँका छोराछोरी छन्‌ भने तिनीहरू प्रत्येकलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌। तिनीहरूलाई सभामा ध्यान दिएर सुन्‍न र सभाबाट लाभ उठाउन मदत गर्नुहोस्‌। हरेक हप्ता पारिवारिक उपासना गर्नुहोस्‌। छोराछोरीसँगै प्रचारकार्यमा भाग लिएर तिनीहरूलाई तालिम दिनुहोस्‌। छोराछोरी हुर्काउने जिम्मेवारी तपाईँकै हो। त्यसैले त्यो जिम्मेवारी हुर्किसकेका छोराछोरी वा अरू आफन्तहरूले पूरा गरिदिएको आशा नगर्नुहोस्‌। छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउन निकै समय र प्रयास चाहिन्छ। तर तपाईँको त्यो प्रयास खेर जानेछैन।

बाइबल सिद्धान्त: “मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्‌ भनेर सुन्‍न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।”—३ युह. ४.b

यहोवामा भरोसा राख्नुहोस्‌। तपाईँ छोराछोरी जन्माउनेबारे विचार गर्दै हुनुहुन्छ होला वा तपाईँका छोराछोरी भइसकेका छन्‌ होला। जेहोस्‌ तपाईँको समाजले तपाईँबाट के आशा गर्छ, त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यहोवा तपाईँबाट के आशा गर्नुहुन्छ भन्‍ने हो।

चित्रहरूको सँगालो: १. आमाबुबा आफ्नो छोरासित सभामा सँगै बसेका छन्‌। छोराले टिप्पणी दिनको लागि हात उठाएका छन्‌। २. एक परिवार सँगै प्रचारमा भाग लिँदै छन्‌। बुबा किशोरावस्थाकी छोरीसित अनि आमा भने दुई जना साना छोराछोरीसित प्रचारमा भाग लिँदै छन्‌।

छोराछोरीको आध्यात्मिक आवश्‍यकता पूरा गर्न समय र प्रयास चाहिन्छ

तपाईँले धेरै छोराछोरी नजन्माउने निर्णय गर्नुभएको छ भने पनि बुढेसकालमा आफूलाई हेर्ने कोही नहोला भनेर चिन्ता नगर्नुहोस्‌। बरु यहोवाले कुनै न कुनै तरिकामा तपाईँको ख्याल राख्नुहुनेछ भन्‍ने कुरामा भरोसा राख्नुहोस्‌। अरूले जस्तो छोराछोरीलाई “भविष्यको लगानी” नठान्‍नुहोस्‌। यहोवाले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। उहाँले तपाईँको ख्याल राख्ने प्रतिज्ञा गर्नुभएको छ र उहाँ आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ।—यहो. २३:१४.

बाइबल सिद्धान्तहरू: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।”—हितो. ३:५, ६.

“म जवान थिएँ, अहिले बूढो भएको छु तर धर्मी मानिसको बिचल्ली भएको र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको मैले कहिल्यै देखेको छैनँ।”—भज. ३७:२५.

“यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ति ६:३३.

छोराछोरी भनेको यहोवाले आमाबुबालाई सुम्पनुभएको बहुमूल्य उपहार हुन्‌। ख्रिष्टियन आमाबुबाहरूले आफ्नो जिम्मेवारी राम्ररी पूरा गरेको देख्दा यहोवा पक्कै खुसी हुनुहुन्छ। तिनीहरू छोराछोरीको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्‍यकता राम्ररी पूरा गर्छन्‌। तिनीहरू कति जना छोराछोरी जन्माउने भनेर राम्रो योजना बनाउँछन्‌। समाज वा परिवारले आशा गर्ने कुरालाई भन्दा परमेश्‍वरले आशा गर्नुभएको कुरालाई पहिलो स्थानमा राख्छन्‌। यसरी ख्रिष्टियन आमाबुबाले छोराछोरीलाई यहोवाले दिनुभएको बहुमूल्य उपहार ठानेको देखाउँछन्‌।

तिनीहरूलाई कुनै पछुतो छैन

एक बुबा आफ्नी पत्नी र दुई साना छोराछोरीसित पारिवारिक उपासना गर्दै छन्‌।

आर्थिक अवस्था कमजोर भएको देशमा बस्ने थुप्रै आमाबुबालाई थोरै छोराछोरी जन्मायो भने गाह्रो हुने हो कि भनेर चिन्ता लाग्न सक्छ। त्यस्ता देशहरूमा बस्ने केही ख्रिष्टियन परिवारका शिरहरू यसबारे के भन्छन्‌, अब सुनौँ।

के तपाईँलाई धेरै छोराछोरी जन्माउने दबाब आएको थियो?

“आएको थियो। कहिलेकाहीँ त मण्डलीकै भाइबहिनीहरूले समेत यस्तो दबाब दिनुभएको थियो। एउटा दम्पतीले हामीलाई यसो भन्‍नुभएको थियो, ‘एउटा छोराले मात्र त पुग्दैन नि! अर्को पनि जन्माउनुपऱ्‍यो। यहाँ अफ्रिकामा एउटा मात्र छोरा हुनु भनेको सन्तान नै नहुनुबराबर हो। अनि दुइटा छोरा हुनु भनेको एउटा मात्र छोरा भएजस्तै हो।’ पछि हाम्रो छोरी जन्मिई तर अझै पनि दबाब त आइ नै रह्‍यो।”—जेरेमियास

धेरै छोराछोरी नजन्माउने निर्णय गरेकोले के तपाईँहरूलाई केही गाह्रो भएको छ?

“छैन। बरु उल्टै सजिलो भएको छ। यस्तो निर्णय गरेकोले म र मेरो श्रीमतीले परिवारको भौतिक आवश्‍यकता अनि त्योभन्दा पनि ठूलो कुरा त, आध्यात्मिक आवश्‍यकता राम्ररी पूरा गर्न सकेका छौँ। मेरो आफ्नै कुरा गर्ने हो भने म ठूलो परिवारमा हुर्किएँ। मेरो आमा र बुबालाई हामी छोराछोरीहरूको सबै आवश्‍यकता पूरा गर्न अनि हाम्रो पढाइ खर्च धान्‍न एकदमै गाह्रो भएको थियो।”—जेरेमियास

तपाईँले गर्नुभएको निर्णय छोराछोरीलाई कस्तो लागेको छ?

“हाम्रो छोरा र छोरीले हामीले गरेको निर्णयको एकदमै कदर गर्छन्‌। तिनीहरूले धेरै छोराछोरी भएको परिवारमा आमाबुबालाई सबै छोराछोरीको आवश्‍यकता पूरा गर्न गाह्रो भएको देखेका छन्‌। तर तिनीहरूले भने त्यस्तो कुरा भोग्नुपरेको छैन। त्यसैले खुसी छन्‌।”—फिलिपे

“छोराछोरीहरू हुर्कँदै जाँदा तिनीहरूले हाम्रो माया पाएको अनि सुरक्षित भएको महसुस गरे। त्यसैले तिनीहरू खुसी हुन सके। हामी आध्यात्मिक रूपमा परिपक्व भाइबहिनीहरूसित सङ्‌गत गरिरहन्थ्यौँ। हाम्रा छोराछोरीहरूले उहाँहरूबाट आध्यात्मिक लक्ष्यहरू राख्न प्रोत्साहन पाए। अहिले तिनीहरूले पनि उहाँहरूको राम्रो उदाहरण पछ्याइरहेका छन्‌।”—कार्लोस

थोरै छोराछोरी जन्माउने निर्णय गरेकोले तपाईँहरूलाई कस्तो फाइदा भएको छ?

“हामीले परिवारको भौतिक आवश्‍यकता राम्ररी पूरा गर्न सकेका छौँ। लगभग तीन वर्षअघि मैले राम्रो तलब आउने जागिर गुमाउनुपऱ्‍यो। तर हाम्रो परिवार सानो भएकोले खर्च पनि कमै हुन्थ्यो। त्यसैले जागिर गुमाउनुपरे पनि धेरै गाह्रो त भएन।”—जेरेमियास

“हाम्रो निर्णयले गर्दा छोराछोरीहरूको भौतिक र आध्यात्मिक आवश्‍यकता पूरा गर्न सकेका छौँ। आवश्‍यकता धेरै भएको ठाउँहरूमा सेवा गर्न सकेका छौँ। साथै हामीले प्रत्येक छोराछोरीसित समय बिताउन अनि तिनीहरूको आवश्‍यकता बुझेर त्यसैअनुसार मदत दिन पनि सकेका छौँ। हाम्रा सबै छोराछोरीले यहोवाको सेवा गर्दै छन्‌ अनि आध्यात्मिक लक्ष्यहरू राखेर अघि बढ्‌दै छन्‌।”—लेनाडि

तपाईँ अरू आमाबुबालाई के भन्‍न चाहनुहुन्छ?

“मैले भजन ३४:१० को दोस्रो भागमा लेखिएको यो कुरा कत्ति सत्य रहेछ भनेर आफैले अनुभव गरेको छु: ‘यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।’ यहोवाले म र मेरो परिवारको सबै आवश्‍यकता पूरा गरिदिनुभएको छ।”—रफाएल

a कति जना छोराछोरी जन्माउने, कहिले जन्माउने अनि गर्भनिरोधक साधन वा औषधीहरू प्रयोग गर्ने कि नगर्ने भनेर दम्पती आफैले निर्णय गर्नुपर्छ। यो नितान्त व्यक्‍तिगत निर्णय भएकाले अरूले त्यसमा हात हाल्नु हुँदैन। तर दम्पतीहरूले गर्भपतन हुन सक्ने खालको साधन वा औषधीहरू भने प्रयोग गर्नु हुँदैन। (रोमी १४:४, १०-१३) विवाहित ख्रिष्टियनहरूले पहिलो कोरिन्थी ७:३-५ मा पाइने सल्लाह पनि मनमा राख्नुपर्छ।

b हुनत यस पदमा “छोराछोरी” शब्दले युहन्‍नाले सत्य सिक्न मदत गरेका चेलाहरूलाई बुझाउँछ। तर छोराछोरीले यहोवाको सेवा गरेको देख्दा आमाबुबाले पनि युहन्‍नाले जस्तै महसुस गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने