५० टार्ससको सावल
तिनले आफ्नो सोचाइ नयाँ बनाए
टार्ससको सावल त्यही जवान व्यक्ति थिए जसले स्तिफनसलाई ढुङ्गाले हानेर मारिँदा हेरिरहेका थिए।a स्तिफनसको हत्या गर्नु सही हो जस्तो तिनलाई लागेको थियो। तिनी यहुदी धर्मका एक कट्टर सदस्य थिए। तिनी येसुका चेलाहरूलाई ‘धम्काउने र मार्ने धुनमा थिए।’ त्यसैले तिनले यरुसलेममा चेलाहरूको खेदो गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि झ्यालखानामा हालिदिन्थे। ख्रिष्टियनहरूलाई मृत्युदण्ड दिने कुरा उठ्दा सावल त्यसको पक्षमा मत खसाल्थे। खेदो धेरै बढेकोले चेलाहरू यरुसलेम छोडेर भाग्न बाध्य भए। तर सावललाई अझै चित्त बुझेको थिएन। तिनी प्रधानपुजारीकहाँ गए र दमिसकमा भएका चेलाहरूलाई पक्रेर ल्याउन पुर्जी मागे।
पुर्जी पाएपछि सावल केही साथीहरूसँगै उत्तरतिर हुँदै दमिसक गए। सावललाई येसु फेरि जीवित भइसक्नुभयो र उहाँ स्वर्गमा बुबासँगै हुनुहुन्छ भन्ने कुरा थाहै थिएन। रोचक कुरा यहोवा र येसुले तिनमा भएका असल गुणहरू देख्नुभयो र सावल परिवर्तन भएमा तिनलाई प्रयोग गर्न सकिन्छ भनेर याद गर्नुभयो। दमिसक पुग्नै लाग्दा अकस्मात् तिनीहरूको चारैतिर “घामको उज्यालोभन्दा पनि चहकिलो” ज्योति चम्कियो। त्यसपछि सावल भुइँमा पछारिए र केही देख्न सकेनन्।
तिनले यस्तो आवाज सुने: “सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।” त्यतिबेला जनावरहरूलाई डोऱ्याउन सुइरो अर्थात् टुप्पामा तिखो धातु भएको छडी प्रयोग गरिन्थ्यो। सुइरोले घोच्दा जनावरले सुइरोलाई नै लात हान्थ्यो र आफैलाई चोट पुऱ्याउँथ्यो। सावलले आफूले पनि त्यस अटेरी जनावरले जस्तै व्यवहार गरिरहेको छु भनेर बुझिहाले। तब सावलले सोधे: “प्रभु, तपाईँ को हुनुहुन्छ?” स्वर्गबाट यस्तो जवाफ आयो: “म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ।” यो सुनेर सावल स्तब्ध भए होलान्! येसुले तिनलाई उठ भन्नुभयो र तिनले गर्नुपर्ने कामहरूबारे बताउनुभयो। तिनले येसुले सिकाउनुभएको सत्यको साक्षी दिएको उहाँ चाहनुहुन्थ्यो। तर सावल अझै दृष्टिविहीन नै थिए। तैपनि येसुले भन्नुभयो: ‘मानिसहरूलाई अन्धकारबाट ज्योतितिर फर्काउन र सैतानको अख्तियारबाट मुक्त गरेर परमेश्वरको अख्तियारमुनि ल्याउन म तिमीलाई पठाउँदै छु।’
येसु र उहाँका चेलाहरूको कट्टर विरोधी पछि कसरी एक जोसिलो प्रचारक बने?
ती निर्दयी व्यक्ति स्वर्गीय दर्शन पाएपछि नम्र भए। तिनका साथीहरूले तिनलाई डोऱ्याउँदै दमिसकसम्म लगे। त्यहाँ तिनले एक ख्रिष्टियन नआउन्जेल पर्खिरहे। सावल तीन दिन उपवास बसे। यसरी तिनले आफू दुःखी भएको र मनैदेखि पश्चात्ताप गरेको देखाए। तिनले यहोवालाई व्यग्र प्रार्थना गरेको हुनुपर्छ। आफूले परमेश्वरको प्यारो छोराको खेदो गरेको रहेछु भनेर सावलले बुझे। येसुले हननिया नाम गरेका ख्रिष्टियनलाई सावलकहाँ पठाउनुभयो। सुरुमा हननिया डराए तर पछि उनी गए। उनले सावलमाथि हात राखे “अनि उत्तिखेरै तिनको आँखाबाट पाप्राजस्तो केही चिज झऱ्यो र तिनले फेरि दृष्टि पाए।” अब सावल पहिलाजस्तो घमण्डी र कठोर थिएनन्। “त्यसपछि तिनी उठे अनि बप्तिस्मा गरे।”
ख्रिष्टियन बनेलगत्तै सावलले प्रचार गर्न थाले। तिनी यरुसलेम फर्कनुको सट्टा दमिसकको सभाघरमा गए। त्यो तिनको लागि सजिलो थिएन किनभने त्यहाँ तिनलाई सबैले चिन्थे। तिनले साहसको लागि प्रार्थना गरे होलान्। त्यहाँ भेला भएका मानिसहरूलाई पहिला आफूले गरेको काम गलत थियो र अहिले आफू ख्रिष्टियन बनेको कुरा बताउँदा तिनीहरू छक्क परे होलान्। त्यसपछि तिनी “झन्झन् प्रभावशाली बन्दै गए अनि तिनले येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर तर्कसङ्गत ढङ्गमा प्रमाणित गर्दै दमिसकमा बस्ने यहुदीहरूको मुख टालिदिए।”
दमिसकमै हुँदा सावल अरबी भूमितिर गए। सायद त्यो सिरियाली मरुभूमि थियो। बाइबलमा तिनी त्यहाँ किन गए भनेर बताइएको छैन। तर प्रार्थना गर्न, येसुले भन्नुभएको कुरामा मनन गर्न अनि आफूलाई सुम्पिइएको महत्त्वपूर्ण कामबारे सोच्न तिनी त्यहाँ गएका हुन सक्छन्। सावलले जीवनभर बाइबल अध्ययन गर्ने र मनन गर्ने बानी छोडेनन्। तिनले आफ्नो सोचाइ पूरै परिवर्तन गरे र पछि रोमका भाइबहिनीलाई पनि त्यसै गर्न प्रोत्साहन दिए।—रोमी १२:२.
सावलले आफूले गरेका दुष्ट कामहरू कहिल्यै बिर्सेनन्। वर्षौँपछि पनि तिनले यसो भने: “पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ।” (१ तिमो. १:१३) स्तिफनसको हत्यामा आफ्नो पनि समर्थन भएकोले तिनलाई धेरै पछुतो लागेको थियो। (प्रेषि. २२:१९-२१) तर तिनलाई यो कुरा पनि थाह थियो: यहोवा र येसुले तिनलाई क्षमा दिइसक्नुभयो र उहाँहरू तिनलाई मदत गर्दै हुनुहुन्छ।
दमिसकमा लगभग तीन वर्ष बसेपछि तिनी विरोधको कारण त्यहाँबाट भाग्न बाध्य भए। यहुदीहरूले तिनलाई मार्न खोजेकोले चेलाहरूले तिनलाई टोकरीमा राखेर राती सहरको पर्खालबाट तल ओरालिदिए र तिनी यरुसलेमतिर लागे। तर ख्रिष्टियनको रूपमा यो त तिनको यात्राको सुरुवात मात्र थियो।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
जीवनको यस घडीमा टार्ससको सावलले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. सावलले किन आफ्नो गृहनगर टार्सस “कुनै चानचुने सहर होइन” भने? (प्रेषि. २१:३९; w९९ ५/१५ पृ. ३० अनु. १) क
Todd Bolen/BiblePlaces.com
चित्र क: पुरातन सहर टार्ससको केही भग्नावशेष, जस्तै: ढुङ्गा बिछाइएको बाटो
२. सावललाई यहुदी, ग्रीक तथा रोमी संस्कृति र रहनसहनबारे राम्रो ज्ञान थियो भनेर हामी किन भन्न सक्छौँ? (bt पृ. ६२, पेटी अनु. १-३)
३. सावलले “म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ” भने। तिनले के भन्न खोज्दै थिए? (१ कोरि. १५:८; w२२.०९ पृ. २७)
४. लुकाले प्रेषित ९:११, २४, २५ मा लेखेको कुरा सही थियो भनेर हामी किन भन्न सक्छौँ? (g०३ ३/८ पृ. २४-२६) ख
Photo by ROLOC Color Slides
चित्र ख: दमिसकमा बाबशार्की प्रवेशद्वार, जहाँ सीधा भन्ने मार्ग अन्त हुन्छ
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
सावलले नम्र भई हननिया र अरू ख्रिष्टियनहरूको मदत स्विकारे। (प्रेषि. ९:१७, १८; कल. ४:१०, ११) हामीले कस्ता अवस्थाहरूमा अरूको मदत स्विकार्नुपर्छ?
सावल आफ्नो विगतका उपलब्धिहरू वा गल्तीहरूको कारण तनमनले यहोवाको सेवा गर्नदेखि पछि हटेनन्। (फिलि. ३:४-८; १ तिमो. १:१२-१६) हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ? ग
चित्र ग
यस विवरणमा टार्ससको सावलले देखाएको साहसको तपाईँ अन्य के-कस्ता तरिकामा अनुकरण गर्न सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये टार्ससको सावल पनि एक हुन्। यो अध्याय पढ्नुभएपछि यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?
अझ धेरै जान्नुहोस्
सावलले जस्तै साक्षीहरूलाई खेदो गरेका एक व्यक्तिले कसरी आफ्नो सोचाइ नयाँ बनाए, हेर्नुहोस्।
सावलको उदाहरणले हामीलाई बाइबल अध्ययन गर्ने राम्रो बानी बसाल्न, अरूलाई प्रेम देखाउन र आफूप्रति सही दृष्टिकोण राख्न कसरी मदत गर्छ?
“पावलको उदाहरण पछ्याउँदै आध्यात्मिक उन्नति गर्नुहोस्” (w०८ ५/१ पृ. २५-२९)
a सावल पछि पावल भनेर चिनिए। तर यस अध्यायमा हामी तिनलाई “सावल” नै भन्नेछौँ।