प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ५१ पृ. २२८-२३१
  • “सान्त्वनाको छोरा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सान्त्वनाको छोरा”
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • बर्णाबास—“सान्त्वनाको छोरो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • मसीही मिसनरी कार्यको एउटा प्रेरित नमुना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ५१ पृ. २२८-२३१

५१ बर्णाबास

“सान्त्वनाको छोरा”

छापिएको संस्करण
छापिएको संस्करण

टार्ससको सावल चेला बनेको करिब तीन वर्षपछि यरुसलेम फर्किए र त्यहाँ तिनले भाइबहिनीहरूलाई भेट्‌ने कोसिस गरे। (गला. १:१५-१९) तर उनीहरू सावलसित डराए किनकि उनीहरूलाई सावलले कुन हदसम्म ख्रिष्टियनहरूको खेदो गरेका थिए भनेर थाह थियो। अनि थुप्रैलाई तिनी परिवर्तन भइसके भनेर थाह थिएन जस्तो देखिन्छ। तर एक जना मानिस साहसी र दयालु हुँदै सावललाई मदत गर्न अघि सरे। ती मानिस बर्णाबास थिए।

यरुसलेमका ख्रिष्टियनहरू टार्ससको सावललाई मदत गर्न डराए तर बर्णाबास भने साहसी हुँदै तिनलाई मदत गर्न अघि सरे

बर्णाबासको अर्को नाम पनि थियो। बाइबलमा बताइएअनुसार तिनी युसुफ भनेर पनि चिनिन्थे। तर भाइबहिनीहरूले तिनलाई बर्णाबास भन्‍ने नाम दिएका थिए जसको अर्थ हो “सान्त्वनाको छोरा।” तिनी एकदमै दयालु थिए र अरूलाई सान्त्वना र मदत दिन अघि सर्थे। जस्तै, इस्वी संवत्‌ ३३ पेन्तिकोसतिर बर्णाबासले आफ्नो एक टुक्रा जमिन बेचे र त्यसबाट आएको पैसा खाँचोमा परेका भाइबहिनीहरूको मदतको लागि दिए। पछि इस्वी संवत्‌ ३६ तिर सावल यरुसलेम आउँदा बर्णाबासले साहसी भई तिनको स्वागत गरे। यसबारे बाइबल यसो भन्छ: “बर्णाबास तिनलाई मदत गर्न अघि सरे; उनले तिनलाई प्रेषितहरूकहाँ लगे।”

एउटा घरमा बर्णाबासले खुसी हुँदै दुई प्रेषितहरूसित सावलको परिचय गराउँदै छन्‌। ती प्रेषितहरू धर्मशास्त्रको मुठा हेर्दै छन्‌।

त्यस समयदेखि यता सावल र बर्णाबास घनिष्ठ मित्र बने। यरुसलेममा हुँदा सावलले येसुबारे जोडतोडले प्रचार गरेकोले केही कट्टर विरोधीहरूले तिनलाई मार्न खोजे। त्यसैले यरुसलेमका भाइहरूले सावललाई टार्सस पठाए, जुन तिनको जन्मथलो थियो। करिब नौ वर्षपछि बर्णाबास र सावलको फेरि भेट भयो। भाइहरूले बर्णाबासलाई सिरियाको एन्टिओकमा भर्खरै ख्रिष्टियन भएकाहरूलाई प्रोत्साहन दिन पठाएका थिए। बाइबलमा बताइएअनुसार “तिनी असल मानिस थिए अनि पवित्र शक्‍ति र विश्‍वासले भरिपूर्ण थिए।” एन्टिओकमा थुप्रै मानिसहरूले सुसमाचार सुन्‍न चाहेकोले बर्णाबासलाई थप मदत चाहियो। त्यसैले तिनी आफ्नो साथी सावललाई खोज्न टार्सस गए। अनि सावल बर्णाबाससँगै एन्टिओक गए र तिनीहरू प्रचारकार्यमा जोडतोडले लागे। साथै तिनीहरूले खाँचोमा परेका भाइबहिनीहरूको लागि राहत सामग्रीको प्रबन्ध पनि गरे।

सावल पछि पावल भनेर चिनिए। पावल र बर्णाबास एन्टिओक फर्केपछि भाइहरूले तिनीहरूलाई मिसनरी यात्राको लागि पठाए। यस यात्राको दौडान तिनीहरूले थुप्रै चोटि साहस देखाउनुपऱ्‍यो। आइकोनियममा केही यहुदीहरूले तिनीहरूलाई ढुङ्‌गाले हानेर मार्न खोजे। त्यसैले तिनीहरू लिस्त्रा गए। सुरुमा त त्यहाँका मानिसहरूले तिनीहरूलाई आफ्नो देवता सम्झेर उपासना गर्न खोजे। तर एन्टिओक र आइकोनियमबाट आएका यहुदीहरूले त्यहाँका मानिसहरूलाई उक्साएपछि तिनीहरूले पावललाई ढुङ्‌गाले हान्‍न थाले। अनि तिनी मरे होलान्‌ भन्ठानेर सहरबाहिर घिसार्दै लगे। लिस्त्राका भाइबहिनीहरू पावल भएको ठाउँमा आए र तिनी जीवितै रहेछन्‌ भनेर थाह पाए। अनि पावल उठे र फेरि सहरभित्र पसे। पावल जीवित भएको कुरा थाह पाउँदा बर्णाबासलाई कत्ति ढुक्क महसुस भयो होला! त्यसपछि भोलिपल्ट तिनीहरू लिस्त्राबाट हिँडे। त्यसको केही समयपछि तिनीहरू भाइबहिनीहरूलाई ढाडस दिन फेरि लिस्त्रा फर्किए। कत्ति साहसी!

बर्णाबास र पावलले थुप्रै जोखिमपूर्ण अवस्थाहरूको सामना गरे। तिनीहरूले सँगै मिलेर यहोवाको सेवामा रोमाञ्चकारी अनुभवहरू पनि बटुले। तर एकचोटि तिनीहरूबीच मतभिन्‍नता भयो जसले गर्दा तिनीहरूको मित्रता खतरामा पऱ्‍यो। बर्णाबास अर्को यात्रामा आफ्नो नातेदार मर्कुसलाई सँगै लैजान चाहन्थे। तर पावल सहमत भएनन्‌ किनकि यसअघि मर्कुसले तिनीहरूलाई यात्राको बीचबाटै छोडेर गएका थिए। दुवै जनाले आफ्नै कुरामा जिद्दी गरिरहे। “यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए।”

अब बर्णाबासले के गर्ने थिए? भाइबहिनीहरूबीच मतभिन्‍नता हुँदा शान्ति कायम राख्न गाह्रो हुन सक्छ। बरु रिस पालेर राख्न वा भाइबहिनीको कुरा काट्‌न सजिलो लाग्न सक्छ। यहाँसम्म कि हामी सभाहरू जानै छोड्‌ने हदसम्म पुग्न सक्छौँ। परमेश्‍वरको नजरमा जे सही छ, त्यही गर्न धेरै साहस चाहिन्छ।

हुनत यी दुई पुरुषबीच मतभिन्‍नता भएको थियो तैपनि तिनीहरू यहोवाको सेवा गर्नदेखि पछि हटेनन्‌। बर्णाबास मर्कुसलाई लिएर साइप्रस गए र तिनीहरू प्रचारकार्यमा लागिरहे। पावलले भने सिलासलाई रोजे र आफ्नो यात्रा जारी राखे।

के पावल र बर्णाबासले एकअर्काप्रति रिस पालेर राखे? अहँ, राखेनन्‌! जस्तै, पावलले आफ्ना पत्रहरूमा बर्णाबासको प्रशंसा गरे। एउटा पत्रमा तिनले बर्णाबासले पनि सेवाको काममा लागिरहन पेटपालाको काम गरिरहेका छन्‌ भनेर बताए। (१ कोरि. ९:६) अर्को पत्रमा तिनले “बर्णाबासका नातेदार” मर्कुसको प्रशंसा गरे। (कल. ४:१०, ११) बाइबलमा तिनीहरूले फेरि सँगै प्रचार गरे कि गरेनन्‌ भनेर बताइएको छैन। तर तिनीहरूको मित्रता टुटेन भन्‍ने कुरामा हामी पक्का छौँ। बर्णाबासले आफ्नो नामअनुसारै काम गरिरहे। तिनले मानिसहरूलाई सुसमाचार सुनाइरहे र सान्त्वना दिइरहे। मर्कुससँगै काम गर्दा तिनले ती जवान मानिसलाई पक्कै थप तालिम दिएको हुनुपर्छ। मर्कुसको साहसबारे हामी अर्को अध्यायमा छलफल गर्नेछौँ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • प्रेषित ४:३४-३७; ९:२३-३१; ११:१९-३०; १२:२५–१३:५, ४२-५२; १४:१-२६; १५:३५-४१

छलफल गर्नुहोस्‌:

बर्णाबासले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. लेवीहरूले कुनै पैतृक सम्पत्ति पाउँदैनथे तर बर्णाबास जो एक लेवी थिए, तिनले कसरी जमिनको हिस्सा पाए? (गन्ती १८:२०; प्रेषि. ४:३६, ३७; w९८ ४/१५ पृ. २० अनु. ४, फुटनोट)

  2. २. बर्णाबासलाई किन प्रेषित भनियो? (प्रेषि. १४:१४; w९८ ४/१५ पृ. २१ अनु. ६)

  3. ३. साइप्रसमा छँदा बर्णाबास र पावलले सर्गियस पौलस भनिने व्यक्‍तिलाई प्रचार गरेका थिए। तर प्रेषितको किताबका लेखक लुकाले सर्गियस पौलसलाई “प्रान्तीय राज्यपाल” भनेका छन्‌, के यो सही हो? (प्रेषि. १३:७, १२; w१४ १/१ पृ. ११ अनु. ४-५) क

    Bank of Cyprus Cultural Foundation Collection

    चित्र क: साइप्रसमा भेटिएको सिक्का जसमा क्लौडियसको चित्र कुँदिएको छ। बर्णाबास र पावल साइप्रस गएको बेला तिनी रोमको सम्राट्‌ थिए। सिक्कामा “प्रान्तीय राज्यपाल” भनेर पनि उल्लेख गरिएको छ, जो त्यस टापुका शासक थिए।

  4. ४. लिस्त्राका मानिसहरूले बलि चढाएर बर्णाबास र पावललाई स्वागत गर्न खोज्नु किन छक्कलाग्दो कुरा होइन? (bt पृ. ९७, पेटी)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • बर्णाबासले देखाएको उदारताको हामी कसरी अनुकरण गर्न सक्छौँ?

  • मिसनरी यात्राको सुरुसुरुतिर बर्णाबासले अगुवाइ लिइरहेका थिए। तर पछि बर्णाबासले भन्दा पावलले धेरै जिम्मेवारीहरू पाए। तैपनि बर्णाबासले कहिल्यै तिनको ईर्ष्या गरेको सङ्‌केत पाइँदैन। हामीले कस्ता अवस्थाहरूमा तिनको अनुकरण गर्न सक्छौँ? ख

    चित्रहरूको सँगालो: १. सभाभवनमा ५० वर्ष काटिसकेका एक एल्डर “प्रहरीधरहरा” अध्ययन सञ्चालन गर्दै छन्‌ र एक जवान भाइ “प्रहरीधरहरा” पढ्‌दै छन्‌। २. वर्षौँपछि सोही एल्डर स्रोताहरूमाझ बसेर “प्रहरीधरहरा” अध्ययनको आनन्द उठाउँदै छन्‌ भने ती जवान भाइले चाहिँ सञ्चालन गर्दै छन्‌।

    चित्र ख

  • तपाईँ के-कस्ता तरिकामा बर्णाबासजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये बर्णाबास पनि एक हुन्‌। यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?

अझ धेरै जान्‍नुहोस्‌

फरक-फरक व्यक्‍तित्व भएका ख्रिष्टियनहरू पनि सँगै मिलेर काम गर्न सक्छन्‌ भन्‍ने कुरा बर्णाबास र पावलको सम्बन्धबाट हामी कसरी थाह पाउन सक्छौँ?

“के तपाईं मतभेद सुल्झाएर शान्ति कायम गर्नुहुन्छ?” (w१७.०६ पृ. १६-२०)

भाइहरूबीच मतभिन्‍नता भएमा तिनीहरूले कसरी बर्णाबास र पावलको अनुकरण गर्न सक्छन्‌, हेर्नुहोस्‌।

“हामीले शान्ति कायम गर्नु आवश्‍यक थियो” (३:२३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने