प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ४९ पृ. २२०-२२३
  • तिनी चट्टान बने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनी चट्टान बने
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • “म पापी मानिस हुँ”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • यहोवा र येसुको जस्तै सोचाइ राख्न सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ४९ पृ. २२०-२२३

४९ पत्रुस

तिनी चट्टान बने

छापिएको संस्करण
छापिएको संस्करण

येसुले सिमोनलाई भेटेको केही समयपछि नै तिनलाई नयाँ नाम दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमी युहन्‍नाको छोरा सिमोन हौ; तिमी केफास भनिनेछौ।” “केफास” वा ग्रीकमा “पत्रुस” नामको अर्थ “चट्टानको टुक्रा” हो। येसुले पत्रुसलाई किन त्यो नाम दिनुभयो? चट्टान बलियो अनि स्थिर हुन्छ। यो निर्माण सामग्रीको रूपमा प्रयोग गरिन्छ। त्यसैले येसुले आफ्नो मित्र पत्रुस पनि चट्टानजस्तै बलियो हुनेछन्‌ भन्‍न खोज्दै हुनुहुन्थ्यो।

के पत्रुसले आफ्नो नामअनुसारकै काम गरे? पत्रुस सधैँ चट्टानजस्तो बलियो र स्थिर थिएनन्‌ भन्‍ने कुरा हामीले अध्याय ४५ मा थाह पायौँ। मनमा शङ्‌का उब्जिएकोले तिनको विश्‍वास ढलपल भयो र डरको कारण तिनले गलत निर्णयहरू गरे। तैपनि येसुले आफ्नो मित्रमाथि भरोसा गर्नुभयो। समयको दौडान पत्रुसले अझै साहसी हुन सिक्नेछन्‌ भन्‍ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो। येसुले पत्रुसमाथि जुन भरोसा देखाउनुभएको थियो, के त्यो सही साबित भयो?

येसु फेरि जीवित हुनुभएपछि उहाँले प्रेषितहरूलाई एउटा महत्त्वपूर्ण काम सुम्पनुभयो। पत्रुस तनमनले त्यो काममा लागे। तिनी झन्‌झनै साहसी भए। एकचोटि यरुसलेममा हजारौँ यहुदीहरू एउटा ठूलो चाडको लागि भेला भएका थिए। पत्रुसले त्यो भीडसामु साहसी भई येसुको मृत्युको दोषी तिनीहरू नै हुन्‌ भनेर बताए। पत्रुसको यो कुरा सुनेर धेरैको “हृदय व्याकुल भयो” र तिनीहरू पश्‍चात्ताप गर्न उत्प्रेरित भए। परिणामस्वरूप लगभग ३ हजार जनाले बप्तिस्मा गरे र येसुको चेला बने।

येसुले भविष्यवाणी गर्नुभएझैँ पत्रुसले बलियो विश्‍वास र साहस देखाए। तिनलाई कुन कुराले मदत गऱ्‍यो?

पत्रुसले प्रचारकार्यलाई नै आफ्नो जीवनको मुख्य काम बनाए। येसुले पत्रुसलाई “स्वर्गको राज्यका साँचाहरू” दिनुभएको थियो। त्यसको मतलब पत्रुसमार्फत तीन समूहका मानिसहरूले स्वर्गको राज्यमा प्रवेश गर्ने मौका पाउने थिए। त्यसैले पत्रुसले साहसी र निष्पक्ष भई पहिला यहुदीहरूलाई, त्यसपछि सामरियालीहरूलाई र अन्तमा अन्यजातिका मानिसहरूलाई सुसमाचार सुनाए। पत्रुस सुसमाचार सुनाउन र भाइबहिनीहरूलाई प्रोत्साहन दिन टाढा-टाढाका इलाकाहरूमा गए। कहिलेकाहीँ तिनकी पत्नी पनि तिनीसितै जाने गर्थिन्‌। पत्रुस मानिसहरूलाई सुसमाचार सुनाउन टाढा पर्ने बेबिलोन सहरमा समेत बसाइँ सरे।

येसुले सुम्पनुभएको काममा भाग लिँदा पत्रुसले निडर भई थुप्रै चुनौती र विरोधको सामना गरे। पत्रुस र अरू प्रेषितहरू थुप्रै चोटि पक्राउमा परे। यहुदी धर्मगुरुहरूले तिनीहरूलाई प्रचार गर्न बन्द गर्नू भन्‍ने आज्ञा दिए। तर पत्रुसले यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।” पत्रुसको यस्तो कुरा सुनेर ती यहुदीहरू रिसाए र तिनीहरूलाई कुटपिट गर्न थाले। तर पत्रुस र अरू प्रेषितहरूले परमेश्‍वरको राज्य र त्यस राज्यको राजा येसुबारे बताउन बन्द गरेनन्‌।

एकछिन अघि मात्र कोर्रा खाएका पत्रुस र अरू केही प्रेषितहरू हाँस्दै र कुरा गर्दै हिँडिरहेका छन्‌। ती पुरुषहरूको लुगामा रगत लागेको देखेर केही यहुदीहरू छक्क परेर हेर्दै छन्‌।

विरोध झन्‌झनै चर्किँदै गयो। यस्तै विरोधको कारण स्तिफनस सहिद भएका थिए, जसबारे हामीले अघिल्लो अध्यायमा पढेका थियौँ। लगभग १० वर्षपछि दुष्ट शासक हेरोदले पत्रुसका साथी र सङ्‌गी प्रेषित याकुबको हत्या गर्न लगाएका थिए। आफ्नो यस दुष्ट चालबाट यहुदीहरू खुसी भएको देखेर तिनले पत्रुसलाई पनि पक्रने आदेश दिए। सिपाहीहरूले पत्रुसलाई साङ्‌लाले बाँधेर झ्यालखानामा राखे र पत्रुस नभागोस्‌ भनेर तिनलाई पहरा दिए। पत्रुसलाई गिरफ्तार गरिनेछ र मारिनेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। सायद त्यो समय अहिले नै हो जस्तो पत्रुसलाई लागेको हुन सक्छ।

पत्रुसलाई मृत्युदण्ड दिइने अघिल्लो रात एक स्वर्गदूत अचानक तिनीकहाँ देखा परे। ती स्वर्गदूतले सुतिरहेका पत्रुसलाई उठाएर तिनको साङ्‌ला खोलिदिए र झ्यालखानाको कोठाबाट बाहिर निस्कन मदत गरे। त्यसपछि तिनीहरू सिपाहीहरू भएको ठाउँ पार गरेर सहरतिर जाने बडेमाको फलामे ढोकाबाट बाहिर निस्किए। बाहिर निस्किएपछि पत्रुसले के गरे? तिनले आफ्नो सुरक्षाबारे सोचेनन्‌। बरु तिनी सीधै भाइबहिनीहरू भेला हुने ठाउँमा गए। त्यहाँ तिनीहरू यहोवाको उपासना गर्न र प्रार्थना गर्न भेला हुन्छन्‌ भनेर तिनलाई थाह थियो। पत्रुसलाई त्यहाँ देख्दा भाइबहिनीहरूले पक्कै प्रोत्साहन पाए होलान्‌!

“आफ्ना भाइहरूलाई बलियो बनाऊ” र “मेरा साना भेडाहरूलाई खुवाऊ” भन्‍ने येसुको आज्ञा पत्रुसले कहिल्यै बिर्सेनन्‌। (लुका २२:३२; युह. २१:१७) पत्रुसले जहाँसुकै गए पनि निडर भई प्रचार गरे र भाइबहिनीहरूलाई बलियो बनाए। तर तिनी त्रुटिपूर्ण थिए र तिनले गल्तीहरू गरे। एकचोटिको कुरा हो, मानिसहरूले के भन्लान्‌ भन्‍ने डरले गर्दा तिनी चुके। त्यतिबेला एक जना प्रेषितले तिनलाई सच्याए। पत्रुसले आफ्नो गल्ती नम्र भई स्विकारे र त्यो गल्ती फेरि कहिल्यै दोहोऱ्‍याएनन्‌। तिनले भाइबहिनीहरूको हौसला बढाइरहे। तिनले परमेश्‍वरको प्रेरणा पाएर दुई वटा पत्र लेखे र ती पत्रहरू बाइबलको भाग बने। थुप्रै वर्ष वफादार भई यहोवाको सेवा गरेपछि पत्रुस अन्तिम पटक पक्राउमा परे र तिनलाई मृत्युदण्ड दिइयो। पत्रुसले जीवनभर भरोसा र साहस देखाइरहे। तिनले साँच्चै आफूलाई “चट्टान” साबित गरे!

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • मत्ति १६:१८, १९

  • युहन्‍ना १:४०-४२; २१:१४-१९

  • प्रेषित २:१४-४३; ५:१७-४२; ८:१४-१७, २५; १०:४४-४८; १२:१-१७

  • गलाती २:११-१४

  • १ पत्रुस ५:१३

  • २ पत्रुस १:१२-१५

छलफल गर्नुहोस्‌:

जीवनको यस घडीमा पत्रुसले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. येसुले पत्रुसलाई “स्वर्गको राज्यका साँचाहरू” दिनुभयो। पत्रुसले ती साँचाहरू कसरी चलाए? (मत्ति १६:१८, १९; ijwbq लेख १२४ अनु. १-५) क

    पत्रुसले “स्वर्गको राज्यका साँचाहरू” प्रयोग गरेका ठाउँहरूको नक्सा।

    चित्र क: पत्रुसले राज्यको सन्देश यरुसलेममा यहुदीहरूलाई, त्यसपछि सामरियामा सामरियालीहरूलाई अनि सिजरियामा अन्यजातिका मानिसहरूलाई सुनाए

  2. २. अन्यजातिका कर्निलियसलाई भेट्‌नुअघि पनि पत्रुस पक्षपाती थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (प्रेषि. १०:५-७, २३; bt पृ. ६९ अनु. १, फुटनोट) ख

    चित्र ख: पुरातन जोप्पा अवस्थित ठाउँ

  3. ३. पावलले दिएको सल्लाह पत्रुसले स्विकारे भनेर हामी किन भन्‍न सक्छौँ? (w१७.०४ पृ. २६-२७ अनु. १५-१७)

  4. ४. पत्रुस किन बेबिलोनमा बसाइँ सरे? (w१४ १/१५ पृ. २४ अनु. ९)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • पत्रुसले यरुसलेममा ठूलो भीडसामु कुरा गर्दा साहसका साथै आदर पनि देखाए। हामीले पनि कस्ता अवस्थाहरूमा साहस र आदर दुवै देखाउनुपर्ने हुन सक्छ?

  • पत्रुस एक प्रेषित थिए तैपनि तिनले पावलको सल्लाह स्विकारे। हामी कसरी पत्रुसको अनुकरण गर्न सक्छौँ? ग

    चित्रहरूको सँगालो: निर्माण परियोजनामा अगुवाइ लिइरहेका भाइलाई सल्लाह दिँइदै छ। चित्रहरू यसप्रकार छन्‌। निर्माणकार्यमा अगुवाइ लिइरहेका भाइले दुई जना भाइहरूसित रुखो बोली गर्दै छन्‌। छेउमै काम गरिरहेका अर्को दुई जना भाइले यो कुरा याद गर्दै छन्‌। पछि, ती भाइको रुखो बोली सुनेका अर्का दुई जना भाइले तिनलाई बाइबलबाट सल्लाह दिँदा तिनले त्यो स्विकार्छन्‌।

    चित्र ग

  • यस विवरणमा पत्रुसले देखाएको साहसको तपाईँ अन्य के-कस्ता तरिकामा अनुकरण गर्न सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये पत्रुस पनि एक हुन्‌। यो अध्याय पढ्‌नुभएपछि यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?

अझ धेरै जान्‍नुहोस्‌

यहोवामाथि भर पर्न र डरलाई जित्न पत्रुसको उदाहरणले हामीलाई कसरी मदत गर्न सक्छ?

तिनीहरूबाट सिक्नुहोस्‌—पत्रुस (६:४८)

यो सामग्री प्रयोग गरेर प्रेषित अध्याय १० को विवरणबाट अझ धेरै कुरा सिक्नुहोस्‌।

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” [शृङ्‌खलाबद्ध अनलाइन लेखहरू “बाइबल अध्ययन सामग्री” (अङ्‌ग्रेजी)]

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने