४६ मरियम मग्दलिनी
“मैले प्रभुलाई देखेँ!”
मरियम मग्दलिनीको जीवन निकै कष्टकर थियो। उनी दुष्ट प्रेतहरूको वशमा परेकी थिइन्। तर येसुलाई भेटेपछि भने उनको जीवनमा ठूलो परिवर्तन आयो। बाइबलमा बताइएअनुसार येसुले मरियम मग्दलिनीबाट ‘सात वटा प्रेत निकालिदिनुभयो।’ यसरी दुष्ट प्रेतहरूको वशबाट स्वतन्त्र भएपछि उनी साहसी भई उहाँको चेला बनिन्। अनि आफ्नो तर्फबाट उहाँलाई सक्दो मदत गर्न तयार भइन्।
उनी येसुलाई एकदमै माया गर्थिन् र रब्बोनी भनेर उहाँलाई बोलाउँथिन्, जसको अर्थ हो, “गुरुज्यू!” यो शब्द गहिरो आदर देखाउन प्रयोग गरिन्थ्यो। मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउन येसु आफ्ना १२ जना प्रेषितहरूसँगै टाढा-टाढासम्म जानुहुन्थ्यो। उहाँहरूले आफ्नो काम छोडेर पूरै समय र शक्ति यस महत्त्वपूर्ण काममा लगाउनुभएको थियो। त्यो कुरा मरियमले देखेकी थिइन्। उहाँहरूलाई मदत गर्न उनले के गरिन्?
उनको जीवन कष्टकर थियो। तर येसुलाई भेटेपछि उनको जीवनमा ठूलो परिवर्तन आयो अनि उनले येसु र उहाँका चेलाहरूलाई मदत गर्न सक्दो गरिन्
“आफ्नो सम्पत्ति खर्चेर येसु अनि उहाँका चेलाहरूको सेवा गरिरहेका” स्त्रीहरूमध्ये मरियम पनि थिइन्। उनी येसु र उहाँका चेलाहरूसँगै “सहर-सहर अनि गाउँ-गाउँ” जान्थिन्। यसरी उहाँ सँगसँगै यात्रा गर्नेहरू करिब २० जना पुरुष तथा स्त्रीहरू थिए। त्यतिबेलाको समाजमा स्त्रीहरू धर्मगुरुहरू सँगसँगै हिँड्नु राम्रो मानिँदैनथ्यो। त्यसैले मानिसहरूले मरियम र अन्य स्त्रीहरूको आलोचना गरेका थिए होलान्। तर मरियम र उनका साथीहरूलाई येसु र उहाँका प्रेषितहरूको सेवा गर्न पाउनु जस्तो ठूलो सुअवसर अरू केही छैन भनेर थाह थियो। त्यसैले मानिसहरूले जति नै आलोचना गरे पनि उनीहरूले साहसी भई येसुलाई साथ दिइरहे।
निस्तार चाडको रात यरुसलेममा येसु पक्राउ पर्नुहुँदा, उहाँलाई ईश्वर निन्दाको आरोप लगाइँदा र यातनाको खम्बामा मृत्युदण्ड दिँइदा मरियमको मन असाध्यै दुखेको हुनुपर्छ। तैपनि उनी साहसी भइरहिन्। उनी येसुकी आमा र अन्य स्त्रीहरूसँगै येसुलाई मृत्युदण्ड दिने ठाउँमा गइन्। आफूले यातनाको खम्बामा असह्य पीडा भोगिरहेको बेला समेत ती वफादार स्त्रीहरूले आफ्नो साथ नछोडेको कुरा येसुले देख्नुभयो। ती स्त्रीहरू येसुलाई धेरै प्रेम गर्थे। येसुले मृत्युसम्मै वफादार रहेर बुबाले सुम्पनुभएको सबै काम पूरा गर्नुभएको उनीहरूले आफ्नै आँखाले देखे। उहाँले अन्तिम सास फेर्नुहुँदा समेत मरियम त्यहीँ थिइन्।
येसुको मृत्यु भएपछि मरियम र अन्य स्त्रीहरू दुःखित हुँदै धेरै रोए। येसुलाई मृत्युदण्ड दिने रोमी सिपाहीहरू र यहुदी धर्मगुरुहरू त्यहीँ भए पनि उनीहरू डराएनन्। मरियम आफ्नो प्यारो गुरुज्यूको लागि अझै एउटा कुरा गर्न चाहन्थिन्। यहुदियामा धेरै गर्मी हुने भएकोले लासहरू छिट्टै कुहिन्थे। त्यसैले सान्त्वना दिन आउनेहरूलाई लासको गन्ध नआओस् भनेर लास गाड्नुअघि त्यसमा सुगन्धित तेल र मसलाहरू दल्ने चलन थियो। तर मरियम भने अझ थप गर्न चाहन्थिन्। येसुको शवलाई चिहानमा राखिसकेपछि पनि उनी उहाँको शवमा सुगन्धित तेल र मसलाहरू दल्न चाहन्थिन्। त्यसैले विश्रामदिन सिद्धिएपछि मरियम र अन्य स्त्रीहरू आवश्यक सामानहरू किन्न गए अनि बिहान सबेरै येसुको चिहानमा पुगे।
सम्भवतः ती स्त्रीहरूमध्ये मरियम सबैभन्दा पहिला येसुको चिहानमा पुगेकी थिइन्। त्यहाँ पुग्दा मरियम तीनछक परिन् किनकि चिहानको ढुङ्गा गुडाइसकेको थियो र भित्र येसुको शव पनि थिएन। यो कुरा बताउन उनी दौडेर पत्रुस र युहन्नाकहाँ गइन्। पछि फर्केर चिहानमा आउँदा अरू स्त्रीहरू गइसकेका थिए। उनले चिहानभित्र निहुरिएर हेर्दा “सेतो लुगा लगाएका दुई जना स्वर्गदूतलाई” देखिन्। उनीहरूसँग केही कुराकानी गरिसकेपछि मरियमले पछाडि फर्केर हेरिन् र एक जना मानिसलाई उभिरहेको देखिन्। उनले तिनलाई बगैँचे भन्ठानिन्। उहाँले मरियमलाई “ए नारी, तिमी किन रुँदै छ्यौ?” भनेर सोध्नुभयो। त्यसपछि उनले यसो भनिन्: “हजुर, यदि तपाईँले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ, मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु।” हट्टाकट्टा येसुको शवलाई एक्लै बोकेर लैजान सक्छु कि सक्दिनँ भनेर उनले एकछिन पनि सोचिनन्। उनी केवल येसुको लागि आफ्नो तर्फबाट सक्दो गर्न चाहन्थिन्।
एकदमै दुःखी हुँदै त्यहाँबाट फर्कन लाग्दा येसुले उनलाई “मरियम!” भनेर बोलाउनुभयो। उनले येसुको आवाज चिनिहालिन् र “रब्बोनी!” भन्दै उहाँलाई अङ्गालो हालेर रोइन्। तर येसुले उनलाई “मसित टाँसिन छोड” बरु “मेरा भाइहरूकहाँ जाऊ” भन्नुभयो। येसुले मरियमलाई आफू फेरि जीवित भएको महत्त्वपूर्ण समाचार प्रेषितहरूलाई सुनाउन भन्नुभयो। उनी तुरुन्तै त्यहाँबाट गइन्। सुरुमा त तिनीहरूले मरियमको कुरा पत्याएनन्। त्यो कुरा तिनीहरूलाई “वाहियात लाग्यो।” चेलाहरूको त्यस्तो प्रतिक्रिया सुनेर मरियम पछि हटिनन्। उनले अरू थुप्रैलाई पनि येसु पुनर्जीवित हुनुभएको सुसमाचार सुनाइन्। मरियम साँच्चै साहसी थिइन्।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
मरियम मग्दलिनीले के-कस्ता तरिकामा साहस देखाइन्?
अनुसन्धान गर्नुहोस्
१. मरियम मग्दलिनी र अरू स्त्रीहरूले येसु र उहाँका प्रेषितहरूलाई कसरी मदत गरेका हुन सक्छन्? (ijwia लेख ६ अनु. ५-६) क
चित्र क
२. मरियमले सुरुमा फेरि जीवित हुनुभएको येसुलाई किन चिन्न सकिनन्? (ijwia लेख ६ अनु. १६)
३. येसुले मरियम मग्दलिनीलाई किन “मसित टाँसिन छोड” भन्नुभयो? (w०८ ४/१ पृ. ३२ अनु. ५)
४. मरियम मग्दलिनीले येसु फेरि जीवित हुनुभएको कुरा सुनाउँदा प्रेषितहरूलाई त्यो कुरा “वाहियात” लाग्यो। तिनीहरूले किन त्यस्तो प्रतिक्रिया देखाएका हुन सक्छन्? (लुका २४:११; brwp१२०९०१ अनु. १२-१३)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
मरियम मग्दलिनी अरूको लागि सानोतिनो कुरा गर्न पनि राजी भइन्। हामी कसरी उनको अनुकरण गर्न सक्छौँ? ख
चित्र ख
बाइबलको सन्देश मानिसहरूलाई सुनाउँदा तिनीहरूले विश्वास नगरे पनि वा त्यसको मोल नगरे पनि हामी कसरी मरियम मग्दलिनीको अनुकरण गर्न सक्छौँ? (लुका २४:१०, ११)
तपाईँ कसरी मरियम मग्दलिनीजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये सम्भवतः मरियम मग्दलिनी पनि एक हुन्। यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?
अझ धेरै जान्नुहोस्
मरियम मग्दलिनीबारे केही मिथ्याहरूलाई बाइबलमा उनीबारे बताइएका तथ्यहरूसित तुलना गरेर हेर्नुहोस्।
स्त्रीहरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्ने सन्दर्भमा येसुले मरियम मग्दलिनी र अरूसित गर्नुभएको व्यवहारबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
“मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्” (w९५ ७/१५ पृ. १६-१८ अनु. ३-८)