४७ लाजरसकी दिदी मरियम
‘उसले जे गर्न सक्थी, त्यही गरी’
मरियम येसुप्रति एकदमै कृतज्ञ थिइन्। किन? किनभने येसुले उनी, उनकी दिदी मार्था र उनीहरूका प्यारो भाइ लाजरसको लागि थुप्रै कुरा गर्नुभएको थियो। मरियम, मार्था र लाजरस येसुको असल मित्र थिए र उहाँ तिनीहरूलाई धेरै माया गर्नुहुन्थ्यो। उहाँ तिनीहरूको घर बेथानीमा थुप्रै चोटि आउनुभएको थियो। तिनीहरूलाई यहोवा र आफूबारे धेरै कुरा सिकाउनु पनि भएको थियो। अनि लाजरसको मृत्यु हुँदा उहाँले तिनलाई फेरि जीवित पार्नुभएको थियो।
मरियम येसुको लागि केही विशेष कुरा गर्न चाहन्थिन्। उनले येसुलाई एकदमै बहुमूल्य उपहार दिने निर्णय गरिन्। त्यो “आधा लिटरजति असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल” थियो र त्यो तेल अलाबास्टरको भाँडोमा राखिएको थियो। त्यतिबेला आधा लिटर सुगन्धित तेल पनि धेरै महँगो हुन्थ्यो। त्यसको मूल्य एक वर्षको ज्यालाबराबर हुन्थ्यो। त्यो बहुमूल्य तेल मरियमले कहिले र कहाँबाट पाइन् भनेर त बाइबलमा बताइएको छैन। तर त्यो मरियमसँग भएको सबैभन्दा महँगो कुरा हुन सक्छ।
उनी येसुलाई आफूसँग भएको सबैभन्दा बहुमूल्य कुरा दिन चाहन्थिन्। तर त्यसो गर्दा अरू मानिसहरूले आपत्ति जनाउने छन् भनेर उनलाई थाह थियो
येसु बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बस्नुहुँदा मरियमले उहाँलाई उपहार दिने यही नै उपयुक्त समय हो भनेर सोचिन्। त्यसपछि उनी येसु भएको ठाउँमा गइन् र अलाबास्टरको भाँडा खोलेर उहाँको शिर र पाउमा तेल खन्याउन थालिन्। तेल चुहिन थालेपछि उनले आफ्नो केश खोलिन् र येसुको पाउ पुछ्न थालिन्। त्यतिबेला केही यहुदीहरूलाई उनले त्यसरी घुम्टो हटाएर आफ्नो केशले येसुको पाउ पुछ्नु अनुचित लागेको हुन सक्छ। तर मरियमले अरूले के भन्लान् भनेर वास्ता गरिनन्। उनी केवल येसुको सम्मान गर्न चाहन्थिन्।
पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो। तर मरियमको यस्तो कामबाट सबै जना खुसी थिएनन्। यहुदा इस्करियोत असाध्यै रिसाए र अरू केही प्रेषितहरूले पनि तिनीसँगै मरियमले गरेको काम गलत हो भन्न थाले। यहुदाले यसो भने: “यो सुगन्धित तेल ३०० दिनारमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई किन दिइएन?” त्यस्तो कुरा सुनेपछि मरियमको कत्ति चित्त दुख्यो होला! उनी येसुलाई एउटा विशेष उपहार दिएर उहाँको सम्मान गर्न चाहन्थिन्। तर उल्टै येसुका प्रेषितहरूले उनको प्रशंसा गर्नुको सट्टा उनलाई हप्काए। उनले आफू अपमानित भएको महसुस गरिन् होला! तर येसु उनको पक्षमा खडा हुनुभयो र उनको प्रशंसा गर्नुभयो।
येसुले भन्नुभयो: “भैगो, छोडिदेओ।” त्यसपछि प्रेषितहरू शान्त भए। उहाँले यसो पनि भन्नुभयो: “उसले मेरो लागि असलै काम गरेकी छे।” मरियमले त्यसो गर्नु प्रेमको अभिव्यक्ति थियो भनेर उहाँले बताउनुभयो। त्यतिबेला मरियमलाई येसुको मृत्यु एकदमै नजिकै छ भनेर थाह थिएन। तर येसुले त्यो सुगन्धित तेल उहाँको मृत्युपछि उहाँलाई गाड्नको लागि तयारी हुनेछ भनेर बताउनुभयो। येसुले उनको कामबारे सरल तर सशक्त तरिकामा यसो भन्नुभयो: “उसले जे गर्न सक्थी, त्यही गरेकी छे।” त्यसपछि उहाँले यसो पनि भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।” मरियम उहाँलाई प्रेम गर्थिन् र उनले जे गरिन्, त्यसको लागि साहस चाहिन्थ्यो भनेर येसुलाई थाह थियो। उनको त्यस्तो उदारताको लागि उनी आलोचना होइन प्रशंसाको योग्य थिइन्।
त्यसपछि कसैले पनि कुनै आपत्ति जनाउने आँट गरेनन्। अनि यहुदा त्यहाँबाट निस्किए र येसुलाई धोका दिने योजना बनाउन थाले। तर मरियमबारे येसुले भन्नुभएको कुराले उनको मन छोएको हुनुपर्छ। केही दिनपछि येसुले आफ्नो मृत्युसम्बन्धी भन्नुभएका कुराहरू मरियमले अझ राम्ररी बुझिन्। येसुले भन्नुभएझैँ उहाँमाथि गैरकानुनी रूपमा मुद्दा चलाइयो, उहाँलाई मृत्युदण्ड दिइयो र गाडियो। येसु त्यस्तो असह्य पीडामा हुनुभएको देख्दा दयालु मरियमको मन कत्ति दुख्यो होला! त्यस्तो दुःखद घडीमा येसुले उनलाई भन्नुभएका शब्दहरूबाट उनले पक्कै पनि सान्त्वना पाएकी हुनुपर्छ।
येसुको मृत्यु भएको तेस्रो दिनमा एउटा एकदमै आश्चर्यलाग्दो कुरा भयो। उहाँ फेरि जीवित हुनुभयो। त्यसपछि उहाँ ५०० भन्दा धेरै चेलाहरूसामु देखा पर्नुभयो। सायद यतिबेला नै उहाँले तिनीहरूलाई “सबै जातिका मानिसहरूलाई” सुसमाचार सुनाउनू भन्ने आज्ञा दिनुभयो। (मत्ति २८:१९, २०) येसुले जहाँ-जहाँ “सुसमाचार” प्रचार गरिनेछ, त्यहाँ-त्यहाँ मरियमको नम्रता र उहाँप्रतिको उनको प्रेमबारे पनि बताइनेछ भनेर भन्नुभयो। मरियमले आफूसँग भएको सबैभन्दा बहुमूल्य कुरा येसुलाई उपहारस्वरूप दिन साहस जुटाइन्। यसो गरेकोमा उनी कहिल्यै पछुताइनन्। येसुले उनको विश्वास र साहसको प्रशंसा गर्नुभयो। उनले आफ्नो जीवनको अन्तसम्मै येसुले भन्नुभएका यी शब्दहरू कहिल्यै बिर्सिनन् होला: “उसले जे गर्न सक्थी, त्यही गरेकी छे।”
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
लाजरसकी दिदी मरियमले के-कस्ता तरिकामा साहस देखाइन्?
अनुसन्धान गर्नुहोस्
१. मरियम र मार्थाको व्यक्तित्वबारे हामी बाइबलबाट के थाह पाउन सक्छौँ? (लुका १०:३९, ४०; युह. ११:२०; ia पृ. १७३ अनु. ५-६; पृ. १७६ अनु. १७) क
चित्र क
२. येसु मरियम र अरू स्त्रीहरूलाई सिकाउन इच्छुक हुनुभयो। यो कुरा किन उल्लेखनीय थियो? (w९९ ९/१ पृ. ३० अनु. १-४)
३. मरियमले येसुको शिरमा खनाएको तेल किन असाध्यै महँगो थियो? (“महँगो सुगन्धित तेल” मत्ति २६:७ को अध्ययन नोट, nwtsty-wcgr) ख
Indian nard: © Haijie Lu, licensed under CC BY-NC 4.0. Source; dried jatamansi: wasanajai/stock.adobe.com; alabaster jar: © The Trustees of the British Museum. Licensed under CC BY-NC-SA 4.0. Source
चित्र ख: जटामसीको (नार्डोस्टेकिस जटामसी) फूल र जरा, मरियमले येसुको शिरमा खन्याएको तेल सायद यसैबाट बनाइएको थियो; अलाबास्टरको भाँडो
४. मरियमले येसुको शिर अनि पाउमा पनि तेल खन्याइन्। बाइबलकालीन समयमा यसले कस्तो अर्थ राख्थ्यो? (w१० १२/१ पृ. ६ अनु. ४, फुटनोट)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
मरियमले आध्यात्मिक कुराहरूलाई प्रथम स्थानमा राखेकीले येसुले उनले “आफ्नो निम्ति असल भाग रोजेकी छे” भन्नुभयो। (लुका १०:४२) आज हामी कसरी उनको अनुकरण गर्न सक्छौँ? ग
चित्र ग
मरियमले ‘आफूले जे गर्न सक्थी, त्यही गरेकीले’ येसुले उनको प्रशंसा गर्नुभयो। यस विवरणबाट यहोवा हाम्रो मोल गर्नुहुन्छ भन्ने सन्दर्भमा हामी के सिक्न सक्छौँ? (मर्कु. १२:२९, ३०; १४:८)
तपाईँ के-कस्ता तरिकामा मरियमजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये सम्भवतः लाजरसकी दिदी मरियम पनि एक हुन्। यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?
अझ धेरै जान्नुहोस्
केटाकेटीहरूले साथी छान्ने सन्दर्भमा मरियम, मार्था र लाजरसबाट के सिक्न सक्छन्?
येसुले मरियमको महँगो उपहारको मोल गर्नुभयो र गरिब विधवाको दुई सिक्काको पनि उत्तिकै मोल गर्नुभयो। यसबाट हामी येसुबारे के थाह पाउन सक्छौँ?