४५ पत्रुस
“म पापी मानिस हुँ”
पत्रुस एक मेहनती जलारी थिए। तिनले आफन्तहरूसित मिलेर यो व्यवसाय सम्हालिरहेका थिए। तिनी साहसी र जोसिला थिए। तिनी आफ्नो विचार बताउन हिचकिचाउँदैनथे र आवश्यक पर्दा कदम चाल्न पनि पछि हट्दैनथे। एकदिन तिनका भाइ अन्द्रियास उत्साहित हुँदै तिनीकहाँ आए र यसो भने: “हामीले मसीहलाई भेट्टाएका छौँ।” त्यसपछि पत्रुस तुरुन्तै येसुलाई भेट्न गए र उहाँको चेला बने।
केही महिनापछि येसु कफर्नहुम आउनुभयो जहाँ पत्रुस बस्थे। येसुले पत्रुसलाई देख्नुहुँदा तिनी थाकेर लखतरान भएको अवस्थामा थिए। रातभरि मेहनत गर्दा पनि तिनले एउटै माछा समात्न सकेका थिएनन्। येसु पत्रुसको डुङ्गामा चढ्नुभयो र डुङ्गालाई गहिरो ठाउँतिर लगेर जाल हान्न भन्नुभयो। तर पत्रुसलाई जालमा माछा पर्नेछ जस्तो लागेन किनकि दिनको उज्यालोमा माछा समात्न सकिँदैनथ्यो। त्यसैले तिनले भने: “हामीले रातभरि मेहनत गऱ्यौँ तर केही भेट्टाएनौँ।” तैपनि तिनले येसुले भन्नुभएअनुसारै गरे। जाल हानेको केही समयमै दुई वटा डुङ्गा माछाले भरियो र डुङ्गा नै डुब्लाजस्तो भयो। यो देखेर पत्रुस डराए र येसुसामु घोप्टो पर्दै यसो भने: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्।” पत्रुसलाई यस्तो आश्चर्यजनक काम गर्न सक्ने परमेश्वरको छोरासँगै हिँड्न आफू लायकको छैन जस्तो लाग्यो। तर येसुले तिनलाई यस्तो आश्वासन दिनुभयो: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”
येसुले पत्रुसमा भएका असल गुणहरू देख्नुभयो र केही समयपछि तिनलाई प्रेषितको रूपमा रोज्नुभयो। पत्रुसले विभिन्न तरिकामा साहस देखाए। जस्तै, येसुले भन्नुभएको कुनै कुरा नबुझ्दा अरू चेलाहरू प्रश्न सोध्न हिचकिचाउँथे तर पत्रुसले भने त्यसको अर्थ खुलाइदिनुहोस् भनेर आग्रह गर्थे। एकपटक येसु पानीमाथि हिँड्नुहुँदा चेलाहरूमध्ये पत्रुसले मात्र साहस जुटाए र ‘मलाई पनि पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्’ भनी बिन्ती गरे।
पत्रुस प्रायजसो विचारै नगरी बोल्थे; त्यसैले आफूलाई सच्याइँदा त्यो स्विकारेर छाँटकाँट गर्न तिनलाई साहस चाहिन्थ्यो
पत्रुसले अर्को तरिकामा पनि साहस देखाए। साधारणतया मानिसहरूले गल्ती गर्दा सजिलै आफ्नो गल्ती स्विकार्दैनन्। तर येसुले पत्रुसलाई सच्याउनुहुँदा तिनले आफ्नो गल्ती स्विकारे र नम्र भई छाँटकाँट गरे। एकचोटि येसुले आफूले पीडादायी मृत्यु भोग्नुपर्नेछ भनेर बताउनुहुँदा पत्रुसलाई त्यो कुरा चित्त बुझेन। तिनले यसो भने: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्।” पत्रुसले परमेश्वरको जस्तो होइन तर सैतानको जस्तो सोचाइ राखेकोले उहाँले तिनलाई हप्काउनुभयो। पत्रुसले नम्र भई आफ्नो गल्ती स्विकारेर साहस देखाए।
आफ्नो मृत्युको अघिल्लो रात येसु प्रेषितहरूलाई नम्रताको पाठ सिकाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले एक दासले झैँ तिनीहरूको खुट्टा धुन थाल्नुभयो। पत्रुसले उहाँलाई रोक्न खोज्दै यसो भने: “तपाईँले कुनै हालतमा मेरो खुट्टा धुन मिल्दैन।” येसुले फेरि तिनलाई सच्याउँदै यसो भन्नुभयो: “मैले धोइनँ भने तिम्रो मसित केही भाग हुनेछैन।” त्यसपछि चाहिँ पत्रुसले बिलकुलै फरक कुरा बताए। तिनले यसो भने: “प्रभु, मेरो खुट्टा मात्र होइन तर मेरो हात र टाउको पनि धोइदिनुहोस्।” यो सुनेर येसुले फेरि तिनलाई सच्याउनुभयो। पछि येसुले सबै प्रेषितले उहाँलाई त्याग्नेछन् भनेर भविष्यवाणी गर्नुभयो। त्यतिबेला पत्रुसले अरूले त्यागे पनि आफूले भने उहाँलाई कहिल्यै त्याग्नेछैन भनेर बताए। जवाफमा येसुले तिनलाई ‘आज राती तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ’ भन्नुभयो।
त्यसको केही घण्टा नबित्दै सैनिकहरूले येसुलाई गिरफ्तार गरेर लगे। पत्रुस साहसी भई टाढैबाट येसुको पछिपछि लागे। उहाँलाई प्रधानपुजारीको घरभित्र लगियो। त्यहाँ उहाँलाई दुर्व्यवहार गरियो र गलत आरोप लगाएर मुद्दा चलाइयो। पत्रुस बाहिर चोकमा थिए र त्यहाँ आउजाउ गर्ने केही मानिसले तिनी येसुका चेला हुन् भनेर चिने। त्यतिबेला येसुले भन्नुभएझैँ तिनले तीन पटक उहाँलाई चिन्न समेत इन्कार गरे।
ठ्याक्कै त्यही बेला येसुलाई बार्दलीमा ल्याइयो र उहाँले पत्रुसलाई हेर्नुभयो। पत्रुसको मन कत्ति छियाछिया भयो होला! “तिनी बाहिर निस्केर धुरुधुरु रोए।” केही घण्टापछि तिनका घनिष्ठ मित्र येसुलाई पीडादायी मृत्युदण्ड दिइयो। त्यो पत्रुसको जीवनको सबैभन्दा दुःखद क्षण थियो। तैपनि दोषी भावनाले गर्दा तिनी निराशामा डुबिरहेनन्। तिनले साहसी भई यहोवाको सेवा गर्न र प्रेषितहरूसित सङ्गत गर्न छोडेनन्। येसु फेरि जीवित हुनुभएपछि पत्रुस एक्लै भएको बेला उहाँ तिनीकहाँ देखा पर्नुभयो। येसुले तिनलाई के भन्नुभयो भनेर त बाइबलमा बताइएको छैन। तर त्यस भेटपछि पत्रुसले निकै सान्त्वना र बल पाए। हो, येसुले तिनलाई क्षमा दिइसक्नुभएको थियो।
केही हप्तापछिको कुरा हो, येसु चेलाहरूसामु गालिल समुद्रमा देखा पर्नुभयो र पत्रुसलाई एउटा मायालु उपहार दिनुभयो। पत्रुसले येसुलाई चिन्न तीन पटक इन्कार गरेका थिए। तर तिनै पत्रुसलाई उहाँले तीन पटक उहाँप्रतिको प्रेम व्यक्त गर्ने मौका दिनुभयो। त्यसपछि येसुले पत्रुसलाई एउटा गहन जिम्मेवारी दिनुभयो। उहाँले भन्नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।” पत्रुसले कसरी येसुको त्यो आज्ञा पालन गरे र अझै साहसी भए, हामी अध्याय ४९ मा थाह पाउनेछौँ।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
जीवनको यस घडीमा पत्रुसले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. बाइबलकालीन समयमा जलारीहरूले के-के काम गर्नुपर्थ्यो? (it “सिकार गर्ने र माछा मार्ने” अनु. ६-७-wcgr) क
चित्र क
२. येसुले सिमोनलाई किन केफास (पत्रुस) भन्ने नाम दिनुभयो? (w२४.०६ पृ. २८ अनु. ११)
३. येसुले पत्रुस र अन्द्रियासलाई “म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु” भन्नुको अर्थ के थियो? (मत्ति ४:१८-२०; w१६.०५ पृ. ९ अनु. ३-४) ख
चित्र ख
४. स्वर्ग फर्कनुभन्दा केही समयअघि येसुले किन पत्रुसलाई “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ” भनेर सोध्नुभयो? (w१७.०५ पृ. २२ अनु. २)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
हामीबाट गल्तीहरू हुन्छन् तर त्यसको बाबजुद यहोवाको सेवामा लागिरहने सन्दर्भमा हामी पत्रुसबाट के सिक्न सक्छौँ? ग
चित्र ग
यहोवा र येसुले पत्रुसलाई खुला मनले क्षमा दिनुभएको थियो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
यस विवरणमा पत्रुसले देखाएको साहसको तपाईँ अन्य के-कस्ता तरिकामा अनुकरण गर्न सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये पत्रुस पनि एक हुन्। यो अध्याय पढ्नुभएपछि यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?
अझ धेरै जान्नुहोस्
आमाबुबाले कसरी पत्रुसको उदाहरण चलाएर छोराछोरीलाई यहोवाको कृपाबारे सिकाउन सक्छन्?
थुप्रैले येसुलाई त्यागे तापनि पत्रुस भने कसरी उहाँप्रति वफादार भइरहे, थाह पाउनुहोस्।