३४ हिजकियाह
“तिनले यहोवा परमेश्वरलाई कहिल्यै त्यागेनन्”
हिजकियाह यहुदाका थोरै असल राजाहरूमध्ये एक थिए। तर तिनको बुबा आहाज एक दुष्ट राजा थिए। उनी झूटो उपासनामा चुर्लुम्मै डुबेका थिए र परमेश्वरका जनहरूलाई पनि त्यसै गर्न उक्साउँथे। आहाज यतिसम्म दुष्ट थिए कि उनले आफ्ना छोराहरूलाई समेत बलि चढाए। (२ राजा १६:२-४; २ इति. २८:१, ३) हिजकियाहले आफ्नो बाल्यकालमा यस्ता भयावह कुराहरू देखेको हुनुपर्छ। तर ठूलो भएपछि तिनी आफ्नो बुबाजस्तै खराब भएनन्। हिजकियाह २५ वर्षको हुँदा तिनको बुबाको मृत्यु भयो र तिनी राजा भए। त्यसपछि तिनले झूटो उपासनालाई हटाउन थुप्रै साहसी कदम चाले।
हिजकियाहले यरुसलेमको मन्दिरका ढोकाहरू फेरि खोले, मन्दिर मर्मत गरे, त्यहाँ भएका सबै मूर्तिहरू हटाए अनि पुजारी र लेवीहरूलाई मन्दिरमा फेरि सेवा गर्न भने। त्यसपछि तिनले एउटा ठूलो चाड मनाउने घोषणा गरे। त्यसको लागि तिनले राजदूतहरूमार्फत उत्तरी दस गोत्रे राज्यलाई समेत निम्तो पठाए, जो परमेश्वरबाट तर्किएका थिए। तर त्यहाँका मानिसहरूले राजदूतहरूको खिल्ली उडाए। तर केही मानिसहरू भने चाड मनाउन यरुसलेम आए। दुवै राज्यका मानिसहरू हिजकियाहको उदाहरणले गर्दा आ-आफ्ना सहरबाट झूटा उपासनाका लागि प्रयोग हुने अग्ला थानहरू र मूर्तिहरू हटाउन उत्प्रेरित भए। तिनीहरूले ७०० वर्षअघि यहोवाले मोसालाई बनाउन भन्नुभएको तामाको सर्पसमेत नाश गरे किनभने मानिसहरूले त्यसलाई पुज्न थालेका थिए।
हिजकियाहले वर्षौँदेखि इस्राएलमाथि विपत्तिको कालो बादल मडारिरहेको याद गरेका थिए। यहोवाले धेरैअघि नै उत्तरी राज्यमाथि शत्रुहरूले आक्रमण गर्नेछन् र नाश गर्नेछन् भनेर चेतावनी दिनुभएको थियो। हुन पनि त्यस्तै भयो। हिजकियाहको शासनकालको सुरुतिरै अस्सेरियालीहरूले उत्तरी राज्यमाथि आक्रमण गरे र धेरै जनालाई बन्दी बनाएर लगे। हिजकियाहलाई अब तिनीहरूले यहुदामाथि पनि आक्रमण गर्ने हुन् कि भनेर चिन्ता लाग्यो। यहुदाका मानिसहरू पनि यहोवाप्रति अवफादार भएका थिए। भन्ने हो भने तिनीहरूले उत्तरी राज्यका मानिसहरूले भन्दा पनि धेरै दुष्ट कामहरू गरेका थिए। त्यसैले यहोवाले यहुदाका मानिसहरूलाई पनि सजाय दिनेछु भनेर आफ्ना भविष्यवक्ताहरूमार्फत चेतावनी दिनुभएको थियो। अनि उहाँको हरेक कुरा पूरा भएरै छोड्छ। त्यसैले अस्सेरियाली सेना यहुदामाथि आक्रमण गर्न झन्झनै नजिक आइपुग्दा हिजकियाह डराउनु जायजै थियो।
अस्सेरियाका राजा सनहेरिब र तिनको सेनाले एकएक गर्दै यहुदाका सहरहरूलाई कब्जा गर्न थाले। सम्भवतः यही कठिन समयतिर हिजकियाहले अर्को एउटा समस्याको पनि सामना गर्नुपऱ्यो। तिनलाई प्राणघातक रोग लाग्यो अनि त्यतिबेलासम्म तिनको कुनै छोरा जन्मिसकेको थिएन। त्यसैले तिनको मृत्यु भएमा दाउदको वंश धान्ने कोही हुने थिएन। त्यसैले तिनले यहोवालाई व्यग्र बिन्ती गरे। यहोवाले तिनको पुकारा सुन्नुभयो अनि तिनको आयु अझै १५ वर्ष लम्ब्याइदिनुभयो। तर यरुसलेममाथि अस्सेरियालीहरूको खतरा अझै पनि टरेको थिएन।
यहोवाको पवित्र सहर यरुसलेमलाई जोगाउन हिजकियाहले सनहेरिबले माग गरेअनुसारै तिनलाई सुन र चाँदी पठाइदिए। तर सनहेरिब अझै पनि यरुसलेमलाई कब्जा गर्न चाहन्थे। त्यसबीच हिजकियाहले यरुसलेम सहरलाई बलियो बनाउन थुप्रै कामहरू गरे। जस्तै, तिनले एउटा नयाँ पर्खाल निर्माण गर्न र सहरबाहिरबाट पानी ल्याउन सुरुङ पनि बनाउन लगाए। यसले गर्दा शत्रुहरूले सहरलाई घेरा हाले भने पनि मानिसहरू सुरक्षित हुने थिए र पानीको अभाव पनि हुने थिएन। साथै तिनले यहोवा कुनै मानव सेनाभन्दा कता हो कता शक्तिशाली हुनुहुन्छ भनेर पनि आफ्ना मानिसहरूलाई ढाडस दिए।
शक्तिशाली शत्रुहरूले यरुसलेममाथि आक्रमण गर्ने धम्की दिँदा हिजकियाहले आफ्ना मानिसहरूलाई ढाडस दिइरहे
तर सनहेरिब झनै आक्रामक भए। तिनले यरुसलेमका मानिसहरूलाई तर्साउन र कमजोर बनाउन आफ्ना मुख्य अफिसर रबसाकेलाई पठाए। तिनले यहोवा र राजा हिजकियाहबारे भए-नभएको कुरा भनेर उहाँहरूको खिल्ली उडाए। तैपनि हिजकियाह दृढ रहे र आफ्ना मानिसहरूलाई पनि साहसी हुन प्रोत्साहन दिए। सनहेरिबले हिजकियाहको साहस तोड्न फेरि अर्को प्रयास गरे। तिनले हिजकियाहलाई धम्कीले भरिएका पत्रहरू पठाए। त्यसपछि हिजकियाह ती पत्रहरू लिएर यहोवाको मन्दिरमा गए अनि उहाँसामु ती फिँजाएर प्रार्थना गरे। यसरी हिजकियाहले आफ्नो सारा भारी यहोवामाथि बिसाए र उहाँमै भर परेको कुरा देखाए। तिनको प्रार्थनाको जवाफस्वरूप यहोवाले भविष्यवक्ता यसैयामार्फत यस्तो सान्त्वनादायी सन्देश पठाउनुभयो: सनहेरिब यरुसलेममा कहिल्यै छिर्नेछैनन् र तिनका मानिसहरूले त्यहाँ कहिल्यै काँड हान्नेछैनन्।
त्यही रात यहोवाले अस्सेरियालीहरूको छाउनीमा एक स्वर्गदूत पठाउनुभयो। तिनले एकै झट्कामा १ लाख ८५ हजार सिपाहीलाई मारे। कल्पना गर्नुहोस् त, भोलिपल्ट बिहान जताततै आफ्ना सिपाहीहरूको लास देख्दा सनहेरिबलाई कस्तो भयो होला! यस्तो लज्जास्पद हार भोगेपछि तिनी आफ्नै देश फर्किए। केही समयपछि तिनी आफ्नो देवता निस्रोकको मन्दिरभित्र गएको बेला तिनकै छोराहरूले तिनको हत्या गरे।
यहोवाले हिजकियाहलाई विजयी तुल्याउनुभयो। अब यरुसलेममाथि कुनै खतरा थिएन र तिनको रोग पनि निको भइसकेको थियो। चाँडै तिनको एउटा छोरा पनि जन्मियो। दुःखको कुरा, एकचोटि तिनी घमण्डी भए। तर यहोवाले सच्याउनुहुँदा तिनले नम्र भई स्विकारे। हिजकियाह परमेश्वरका जनहरूमाथि शासन गर्ने असल राजाहरूमध्ये एक थिए। तिनले असाध्यै चुनौतीपूर्ण अवस्थाहरूमा समेत साहस देखाए र मृत्युसम्मै यहोवाप्रति वफादार रहे।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
हिजकियाहले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. हिजकियाहबारे बाइबलमा बताइएको कुरा सही हो भनेर पुरातत्त्वविद्हरूले पत्ता लगाएका के-कस्ता कुराहरूले देखाउँछ? (w११ ५/१ पृ. १५ अनु. १-३-wcgr) क
Zev Radovan/Alamy Stock Photo
चित्र क: माटोबाट बनाइएको छाप, जुन ईसापूर्व आठौँ शताब्दीको हो; त्यसमा यस्तो कुँदिएको छ: “यो छाप आहाजका छोरा यहुदाका राजा हिजकियाहको हो।”
२. यसैयाले “उड्ने विषालु साँप”-बारे गरेको भविष्यवाणी हिजकियाहमार्फत कसरी पूरा भयो? (यसै. १४:२८, २९; ip-1 पृ. १९०-१९१ अनु. ४-६-wcgr)
३. पुरातत्त्वविद्हरूले निनवेमा फेला पारेको लेखोटमा सनहेरिबले आफ्ना जितहरूबारे उल्लेख गरेका छन् तर तिनले आफ्नो हारहरूबारे भने उल्लेख गरेका छैनन्। यो कुरा किन रोचक छ? (g १२/१० पृ. २७ अनु. ३-५-wcgr) ख
© The Trustees of the British Museum. Licensed under CC BY-NC-SA 4.0. Source
चित्र ख: सनहेरिबले हासिल गरेका जीतहरूबारे लेखिएको एउटा माटोको ढुङ्गा
४. सन् २००३ मा विज्ञहरूको एक समूहले हिजकियाहको सुरुङ तिनकै शासनकालमा बनाइएको हो कि होइन भनेर अनुसन्धान गरेका थिए। तिनीहरू कस्तो निष्कर्षमा पुगे? (w०९ ५/१ पृ. २७ अनु. ३-५-wcgr)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
यहोवाको उपासना नगर्ने आमा वा बुबा भएका ख्रिष्टियनहरूले हिजकियाहको उदाहरणबाट कस्तो प्रोत्साहन पाउन सक्छन्? ग
चित्र ग
यरुसलेममाथि आक्रमण गर्ने धम्की आउँदा हिजकियाहको लागि मुख्य चिन्ताको विषय के थियो? (२ राजा १९:१५-१९) आज हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ?
तपाईँ अन्य के-कस्ता तरिकामा हिजकियाहजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा हिजकियाहलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
यस भिडियोमा २ राजा १९:१४-३६ को रोमाञ्चक विवरण हेर्नुहोस्।
मिका ५:५ मा गरिएको भविष्यवाणी हिजकियाहको समयमा कसरी पूरा भयो र आज हाम्रो समयमा पनि कसरी पूरा हुँदै छ?
“सात गोठाला र आठ मुखिया को हुन्?” (w१३ ११/१५ पृ. १८-२० अनु. ९-१८)