प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ८ पृ. ४४-४७
  • तिनले प्रलोभनलाई तिरस्कार गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले प्रलोभनलाई तिरस्कार गरे
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनी एक साहसी बुबा थिए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ८ पृ. ४४-४७

८ युसुफ

तिनले प्रलोभनलाई तिरस्कार गरे

छापिएको संस्करण
छापिएको संस्करण

जवान युसुफ आफ्ना बुबा याकुब र आफ्ना परमेश्‍वर यहोवाको असाध्यै प्यारो थिए। तर यसको मतलब तिनको जीवन सुखैसुखमा बित्यो भन्‍ने त होइन। बरु तिनलाई आफ्नै परिवारले शत्रुलाई जस्तो व्यवहार गरे। बुबाले आफूहरूलाई भन्दा युसुफलाई धेरै माया गरेको देखेर तिनका दाइहरू डाही भए र तिनलाई एक्लो पारिदिए। युसुफ १७ वर्षजतिको हुँदा यहोवाले सपनाहरूमार्फत तिनको परिवारले तिनलाई ढोग्नेछन्‌ भनेर देखाउनुभयो। यो कुरा थाह पाएपछि युसुफका दाइहरूले तिनलाई झन्‌ धेरै घृणा गर्न थाले।

एकदिन याकुबले युसुफलाई आफ्ना दाइहरूको हालखबर बुझ्न पठाए। तिनलाई आफ्ना दाइहरू भएको ठाउँसम्म पुग्न केही दिन लाग्यो। त्यहाँ पुग्नेबित्तिकै दाइहरूले तिनलाई समाते र एउटा खाडलमा खसालिदिए। तिनले आफूलाई खाडलबाट निकाल्न रोइकराइ गरे। तर तिनका दाइहरूले वास्तै गरेनन्‌। सुरुमा त तिनीहरूले तिनलाई मार्ने योजना बनाएका थिए तर पछि इस्माएली व्यापारीहरूको हातमा बेचिदिए। तिनीहरूले याकुबलाई झुक्क्याउन रगतमा लतपतिएको युसुफको लुगा ल्याएर देखाए। अनि याकुबले पनि आफ्नो प्यारो छोरालाई जङ्‌गली जनावरले मारेछ भन्ठाने। तर वास्तवमा युसुफलाई धेरै टाढा दक्षिणतिर पर्ने मिश्रमा लगिएको थियो। त्यहाँ तिनलाई फारोको दरबारका अफिसर पोतिफरकहाँ बेचियो।

यस्तो दुःख भोग्नुपर्दा युसुफले हार मान्‍न सक्थे। तर तिनले साहस देखाए अनि यस्तो गाह्रो अवस्थामा आफूले जे गर्न सक्थे, त्यो गरिरहे। बाइबलमा यस्तो लेखिएको छ: “यहोवा परमेश्‍वर युसुफसित हुनुहुन्थ्यो।” उहाँले युसुफको हरेक काम सफल तुल्याइदिनुभयो र यो कुरा पोतिफरले पनि याद गरे। त्यसैले तिनले युसुफलाई आफ्नो घर र सम्पूर्ण कुराको रेखदेख गर्ने जिम्मा दिए।

तर युसुफको जीवनमा अर्को एउटा समस्या पनि खडा भयो। युसुफ “हट्टाकट्टा र सुन्दर” थिए। तिनको रूपरङ्‌ग देखेर पोतिफरकी पत्नी मोहित भइन्‌ र तिनीमाथि आँखा गाड्‌न थालिन्‌। उनले यस्तो समेत भनिन्‌: “आऊ, मसित सुत।” त्यतिबेला युसुफले के गर्ने थिए? तिनी आफ्नो परिवारदेखि धेरै टाढा थिए। साथै तिनी केवल एक दास थिए र एक जना दाससित आफ्नो मालिकले जे भन्यो, त्यो गर्नुबाहेक अर्को कुनै विकल्प हुँदैनथ्यो। युसुफले आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गरेको खण्डमा उनले तिनको जीवन झनै कष्टकर बनाइदिन सक्थिन्‌। तर के युसुफ उनको जालमा फसे? वा तिनले साहसी भएर त्यो प्रस्ताव अस्वीकार गरे?

युसुफ पोतिफरको घरभित्र माटोको भाँडो बोकेर यताउता नहेरी हिँडिरहेका छन्‌। पोतिफरकी पत्नी आफ्नो कोठाबाहिर उभिएर युसुफमाथि आँखा गाडिरहेकी छिन्‌।

मालिक्नीले आफ्नो जीवन कष्टकर बनाइदिन सक्छिन्‌ भन्‍ने कुरा थाह भए तापनि युसुफले किन उनको प्रस्ताव अस्वीकार गर्न सके?

बाइबल भन्छ: “युसुफ आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गर्थे।” युसुफले आफूलाई निकै भरोसा गर्ने मालिकलाई विश्‍वासघात गर्न नसक्ने कुरा बताए। तर तिनको लागि अर्को एउटा कुरा अझ महत्त्वपूर्ण थियो। तिनले यसो भने: “यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?” युसुफ आफ्ना बुबा यहोवालाई धेरै प्रेम गर्थे। त्यसैले तिनले त्यो प्रस्ताव ठाडै इन्कार गरे। तर पोतिफरकी पत्नीले भने तिनलाई हरेक दिन फकाउन खोज्थिन्‌। एकदिन घरमा अरू कोही नोकरचाकर नभएको बेला पोतिफरकी पत्नीले युसुफको लुगा तान्दै यसो भनिन्‌: “मसित सुत!” तर युसुफ जसोतसो उनको हातबाट फुत्किए र त्यहाँबाट भागे। उनले युसुफको लुगा आफूसितै राखिन्‌। अनि पोतिफर घर फर्केपछि त्यो लुगा देखाउँदै युसुफले आफ्नो इज्जत लुट्‌न खोजेको कुरा बताइन्‌। यो सुनेर पोतिफर रिसले आगो भए र युसुफलाई झ्यालखानामा जाकिदिए।

तिनलाई राखिएको झ्यालखाना गहिरो खाडलजस्तो अँध्यारो थियो। तिनको खुट्टा नेलले बाँधिएको थियो र तिनको घाँटीमा फलामको साङ्‌ला लगाइएको थियो। (भज. १०५:१७, १८) त्यतिबेला युसुफले अब आफ्नो जीवन यसरी नै बित्ने भयो भनेर हरेस खान सक्थे। तर के यहोवाले तिनलाई त्याग्नुभएको थियो? अहँ थिएन! अनि युसुफले पनि परमेश्‍वरमाथि भरोसा राख्न कहिल्यै छोडेनन्‌। तिनले झ्यालखानामा आफूलाई सुम्पिइएको काम राम्ररी पूरा गरे र यहोवाले पनि तिनलाई आशिष्‌ दिनुभयो। केही समय नबित्दै तिनले झ्यालखानामा एउटा महत्त्वपूर्ण जिम्मेवारी पनि पाए। वर्षहरू बित्दै गए तर तिनी कहिल्यै डगमगाएनन्‌।

युसुफले विश्‍वास र साहस देखाएकोले यहोवाले तिनलाई प्रयोग गरिरहनुभयो। पछि परमेश्‍वरले फारोलाई दुई वटा भविष्यसूचक सपना देखाउनुभयो र युसुफलाई तिनका सपनाहरूको अर्थ खुलाउन मदत गर्नुभयो। तिनले देखेका सपनाहरूले मिश्रभरि सात वर्ष प्रशस्त उब्जनी हुने र त्यसपछिको सात वर्ष भयङ्‌कर अनिकाल पर्ने कुरालाई सङ्‌केत गर्थ्यो। यसरी युसुफले सपनाको अर्थ खुलाएको देखेर फारो असाध्यै प्रभावित भए अनि आउँदै गरेको विपत्तिको लागि सबै कुराको चाँजोपाँजो मिलाउने जिम्मा तिनलाई नै दिए। तिनले युसुफलाई मिश्रमा आफूपछिको दोस्रो शक्‍तिशाली व्यक्‍ति समेत बनाए। सारा संसारमा अनिकाल पर्दा युसुफले मिश्रीहरूलाई मात्र नभई आफ्नै परिवारलाई पनि बचाउन सके। तिनका दाइहरू मिश्रमा अन्‍न किन्‍न आउँदा तिनीहरूले अनजानमै आफ्नो भाइलाई ढोगे। यसरी युसुफ जवान छँदा यहोवाले उनलाई देखाउनुभएको सपना पूरा भयो। साथै तिनले आफ्ना दाइहरू सुध्रिसकेका रहेछन्‌ भन्‍ने कुरा पनि देखे। तिनीहरूले कुनै समय जुन भाइलाई घृणा गरेका थिए, त्यही भाइले नै तिनीहरूलाई, बुबालाई र भावी इस्राएल राष्ट्रलाई जोगाए। युसुफले साहस देखाएकोले र यहोवामाथि विश्‍वास गर्न नछोडेकोले नै यी सब सम्भव भएको थियो।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • उत्पत्ति ३७:१-३६; ३९:१-२३; ४१:१–४५:२८

छलफल गर्नुहोस्‌:

युसुफले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. मिश्रमा युसुफको जीवनबारे बाइबलमा पाइने विवरण सही हो भनेर हामी किन भन्‍न सक्छौँ? (g ११/१० पृ. १५ अनु. २-wcgr)

  2. २. यहोवा व्यभिचारलाई “घोर दुष्ट काम” ठान्‍नुहुन्छ भनेर युसुफले कसरी थाह पाए? (उत्प. ३९:९; w२२.०८ पृ. २६ अनु. २)

  3. ३. यहोवाले युसुफलाई किन मिश्रको प्रधानमन्त्री बन्‍न दिनुभयो? (w९६ ५/१ पृ. ११ अनु. ४) क

    मिश्रका प्रधानमन्त्री बनिसकेका युसुफ दुई मिश्री दासहरूलाई निर्देशन दिँदै छन्‌।

    चित्र क

  4. ४. युसुफ ११० वर्ष पुगिसक्दा पनि तिनको विश्‍वास धरमराएको थिएन भनेर केले सङ्‌केत गर्छ? (उत्प. ५०:२५, २६; w०७ ६/१ पृ. २८ अनु. १०-११) ख

    इस्राएली पुरुषहरू मुर्दा बाकसमा युसुफका हड्डीहरू बोकेर प्रतिज्ञा गरिएको देशमा गाड्‌न लैजाँदै छन्‌।

    चित्र ख

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • कुनै भाइ वा बहिनीले नराम्रो व्यवहार गर्दा तपाईँ कसरी युसुफको अनुकरण गर्न सक्नुहुन्छ? (उत्प. ४५:४, ५; ५०:१९-२१)

  • युसुफ आफ्नो परिवारबाट टाढा भए पनि यहोवाप्रति वफादार रहे। तिनको उदाहरणले हामीलाई निम्न अवस्थामा कसरी मदत गर्छ?

    • स्कुलमा छँदा ग

      एक जवान बहिनी भेपिङ गरिरहेका आफ्ना साथीहरू भएतिरबाट घर फर्कँदै छिन्‌। उनी निर्धक्क भई जाँदै छिन्‌ र तिनीहरू उनलाई हेरिरहेका छन्‌।

      चित्र ग

    • यात्रा गर्दा घ

      व्यापारको सिलसिलामा यात्रा गरिरहेका एक जवान विवाहित भाइ होटेलमा चेक-इन गर्दै छन्‌। त्यही समयमा एउटी राम्री केटी पनि चेक-इन गर्दै छिन्‌ र ती केटी ती जवान भाइमाथि नजर लगाउँदै छिन्‌।

      चित्र घ

    • स्मार्टफोन वा अन्य डिभाइस चलाउँदा ङ

      एक जवान भाइ खाटमा पल्टिएर फोन हेर्दै छन्‌।

      चित्र ङ

  • तपाईँ कसरी युसुफजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा युसुफलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

हुनत यहोवाले युसुफको जीवनमा परीक्षाहरू आइपर्नदेखि रोक्नुभएन तर उहाँले तिनलाई ती सहन भने मदत गर्नुभयो। यहोवाले तपाईँलाई पनि कसरी मदत गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“यहोवा तपाईँलाई सफल तुल्याउनुहुन्छ” (w२३.०१ पृ. १४-१९)

साथीहरूले नराम्रो व्यवहार गर्दा केटाकेटीले कसरी युसुफको अनुकरण गर्न सक्छन्‌?

कसैले नराम्रो व्यवहार गर्दा सहने (१:३१)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने