९ सिफ्राह, पुआ, अम्राम, योकेबेद र मरियम
विश्वासैले गर्दा तिनीहरूले मोसालाई लुकाए
युसुफको मृत्यु भएको ६० वर्षभन्दा धेरै भइसकेको थियो। यहोवाले मिश्रीहरूलाई अनिकालबाट जोगाउन युसुफलाई चलाउनुभएको थियो। तर तिनीहरूले युसुफलाई बिर्सिसकेका थिए। अहिले मिश्रमा नयाँ फारोले शासन गरिरहेका थिए। तिनी इस्राएलीहरूलाई (तिनीहरूलाई हिब्रूहरू पनि भनिन्थ्यो) घृणा गर्थे र तिनीहरूदेखि डराउँथे। यहोवाको आशिष्ले गर्दा तिनीहरूको सङ्ख्या बढ्दै थियो। त्यसैले मिश्रीहरूले हिब्रूहरूलाई आफ्नो दास बनाए र तिनीहरूसित कठोर व्यवहार गरे। तैपनि ती दासहरूको सङ्ख्या बढ्दै गयो।
त्यसपछि फारोले एउटा धूर्त चाल चले। तिनले दुई हिब्रू सुँडेनी (सुत्केरी हुन लागेकी नारीको सुसार गर्ने स्त्री) सिफ्राह र पुआलाई आफूकहाँ बोलाए र हिब्रू स्त्रीहरूले छोरा जन्माएमा ती बालकहरूलाई मारिदिनू भन्ने आदेश दिए। ती शक्तिशाली शासकबाट यस्तो आदेश पाउँदा तिनीहरूलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस् त! तर ती दुईसाहसी सुँडेनीहरू “साँचो परमेश्वरको डर” राख्थे। कुनै मानिस जतिसुकै शक्तिशाली भए तापनि तिनीसित ब्रह्माण्डका शासक यहोवाको आज्ञा तोड्न लगाउने अधिकार छैन भनेर तिनीहरूले बुझेका थिए। “त्यसैले तिनीहरूले मिश्रका राजाको आज्ञा मानेनन्।” परमेश्वरको डर राख्ने भएकोले ती स्त्रीहरूले एउटा आँटिलो काम गरे। तिनीहरूले सकेसम्म धेरै बालकहरूलाई बचाए। हिब्रू स्त्रीहरूबाट अझै बालकहरू जन्मिरहेको कुरा थाह पाउँदा फारो धेरै रिसाए र ती सुँडेनीहरूलाई बोलाए। तर तिनीहरूले चलाखीपूर्ण तरिकामा जवाफ दिए। यहोवाले तिनीहरूको काम देखिरहनुभएको थियो। “त्यसैले परमेश्वरले ती सुँडेनीहरूलाई आशिष् दिनुभयो” र तिनीहरूले पनि सन्तान जन्माए।
बालक मोसालाई बचाउन हिब्रू सुँडेनीहरू अनि तिनका आमाबुबा र दिदीले साहस नदेखाएको भए तिनलाई के हुन सक्थ्यो?
फारोले आफ्नो षड्यन्त्र विफल भएको थाह पाएपछि फेरि अर्को क्रूर आदेश जारी गरे: “हिब्रूहरूबाट जन्मेका छोराजति सबैलाई नाइल नदीमा फालिदिनू।” यतिबेला एक हिब्रू दम्पती अम्राम र योकेबेदले असाध्यै गाह्रो निर्णय गर्नुपरेको थियो। तिनीहरूको मरियम र हारुन नाम गरेका दुई छोराछोरी भइसकेका थिए। तर यस कठिन समयमा योकेबेद फेरि गर्भवती भइन्। छोरा जन्मिएमा उसको ज्यान खतरामा पर्नेछ भनेर तिनीहरूलाई थाह थियो। नभन्दै तिनीहरूको छोरा जन्मियो। तिनीहरूले छोरालाई लुकाएर राखे तर सधैँभरि त्यसो गर्न सम्भव थिएन। त्यसैले ऊ तीन महिनाको भएपछि योकेबेदले एउटा टोकरी लिइन्, त्यसलाई बिटुमिन र अलकत्राले लिपिन् अनि आफ्नो छोरालाई त्यसमा सुताइन्। त्यसपछि उनले त्यो टोकरी नाइल नदीको किनारमा लगेर नर्कटको झाडीमा छोडिदिइन्। उनको सानी छोरी मरियमचाहिँ टाढैबाट आफ्नो भाइलाई के होला भनेर हेरिरहिन्।
त्यसको केही समयपछि फारोकी छोरी नाइल नदीमा नुहाउन आइन्। उनले झाडीहरूको बीचमा एउटा टोकरी देखिन् र आफ्नी दासीलाई त्यो लिन पठाइन्। उनले टोकरी खोलेर हेर्दा त्यसमा एउटा हिसी परेको बच्चा देखिन्। ऊ रोइरहेको थियो। त्यो बच्चालाई देखेर उनको मन पग्लियो। उनले त्यो बच्चालाई आफ्नै छोरा बनाएर पाल्ने निर्णय गरिन्। तर बच्चा एकदमै सानो भएकोले आमाको दूध खुवाउनुपर्थ्यो। सानी मरियमले एउटा जुक्ति निकालिहालिन्। उनी साहसी भई फारोको छोरीकहाँ गइन् र त्यो बालकलाई दूध खुवाउन कोही खोजेर ल्याऊँ कि भनेर सोधिन्। फारोकी छोरीले पनि अनुमति दिइन्। त्यसपछि मरियम तुरुन्तै गइन् र आफ्नै आमालाई लिएर आइन्। अब योकेबेदले आफ्नो प्यारो छोरालाई कुनै खतराविना आफैले दूध खुवाउन र स्याहारसुसार गर्न पाउने भइन्। उनी कत्ति खुसी भइन् होला! त्यसमाथि उनले त्यस कामको लागि ज्याला पनि पाउने भइन्। योकेबेद र अम्रामले आफ्नो सानो छोरालाई यहोवाबारे सिकाउन धेरै मेहनत गरे। तर एक न एक दिन तिनीहरूले आफ्नो छोरालाई फारोकी छोरीको हातमा सुम्पनुपर्ने थियो। त्यो समय आयो पनि। बालकलाई राजमहलमा लगियो अनि राजकुमारीले उसको नाम मोसा राखिन्।
के यहोवाले अम्राम, योकेबेद र मरियमलाई तिनीहरूले देखाएको विश्वास र साहसको लागि इनाम दिनुभयो? पक्कै दिनुभयो! अम्राम र योकेबेदले मरियम र हारुनलाई यहोवालाई प्रेम गर्न र उहाँको आज्ञा पालन गर्न सिकाएका थिए। तिनीहरूले उनीहरू दुवै जना यहोवाको वफादार सेवक भएको देखे। अनि मोसालाई यहोवाले कसरी सुरक्षा दिइरहनुभएको छ भनेर पनि देखे। तर के तिनीहरूले मोसा ठूलो भएपछि कस्तो मानिस बने र यहोवाले तिनलाई कसरी प्रयोग गर्नुभयो भनेर देख्न पाए? त्यसबारे त बाइबलमा केही बताइएको छैन। (प्रस्थ. ६:२०) तर मरियम र हारुनले भने यहोवाले मोसामार्फत थुप्रै चमत्कारहरू गर्नुभएको देखे। अनि तिनीहरू तीनै जनाले उल्लेखनीय विश्वास र साहस देखाए। अर्को अध्यायमा मोसा कस्तो वातावरणमा हुर्के र तिनले किन यहोवाको सेवा गर्ने छनौट गरे भनेर बुझ्नेछौँ।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
हिब्रू सुँडेनीहरू र मोसाको परिवारले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. इस्राएलीहरू कुनै समय मिश्रमा बसोबास गर्थे भन्ने कुराको कस्तो प्रमाण छ? (g०४ ४/८ पृ. ४ अनु. ४–पृ. ५ अनु. १-wcgr)
२. बाइबलमा मालिङ्गोको टोकरीबारे र फारोले हिब्रू बालकहरूलाई मार्न दिएको आदेशबारे बताइएको छ। यी कुरा सही हुन् भन्न सक्ने कस्ता आधारहरू छन्? (g०४ ४/८ पृ. ६ अनु. १-२-wcgr) क
Christine Osborne Pictures/Alamy Stock Photo
चित्र क: अहिले पनि डुङ्गा बनाउन मालिङ्गो प्रयोग गरिन्छ
३. हिब्रू सुँडेनीहरूबारे हामीलाई के थाह छ? तिनीहरूले कस्ता आशिष्हरू पाए? (w०३ ११/१ पृ. ८ अनु. ३-४; it “सुँडेनी”-wcgr) ख
चित्र ख
४. वृद्ध भइसकेपछि पनि मरियमले कसरी उल्लेखनीय विश्वास देखाइन्? (ijwia लेख ७ अनु. १४-१८)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
अम्राम र योकेबेदबाट आमाबुबाहरूले के सिक्न सक्छन्?
दाजुभाइ दिदीबहिनी भएका केटाकेटीहरूले सानी मरियमबाट के सिक्न सक्छन्? ग
चित्र ग
तपाईँ कसरी सिफ्राह र पुआजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा सिफ्राह, पुआ, अम्राम, योकेबेद र मरियमलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
फारोको आज्ञा पालन गर्न इन्कार गरेका स्त्रीहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ, पढ्नुहोस्।
“यहोवाको हृदयलाई आनन्दित तुल्याएका स्त्रीहरू” (w०३ ११/१ पृ. ८-९ अनु. ३-५)
साहसी भई मानिसको भन्दा परमेश्वरको आज्ञा मान्नेहरूको यहोवा सधैँ ख्याल राख्नुहुन्छ भनेर हामी किन भन्न सक्छौँ?