प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ७ पृ. ४०-४३
  • परिवारको सुरक्षा गर्न तिनले खतरा मोले

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारको सुरक्षा गर्न तिनले खतरा मोले
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • याकूबले आध्यात्मिक मूल्यमान्यताहरूको कदर गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • बेग्लै किसिमका जम्ल्याहा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • याकुबले ज्येष्ठ अधिकार पाए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ७ पृ. ४०-४३

७ याकुब

परिवारको सुरक्षा गर्न तिनले खतरा मोले

छापिएको संस्करण
छापिएको संस्करण

आफू वृद्ध भइसकेपछि याकुबले आफ्नो जीवन “छोटो र दुःखैदुःखले भरिएको” छ भनी बताए। (उत्प. ४७:९) तिनले जीवनमा थुप्रै कठिनाइहरूको सामना गर्नुपऱ्‍यो। तिनको जुम्ल्याहा दाइ एसावले तिनलाई मार्न खोजेकोले तिनी धेरै टाढाको ठाउँ हारानमा भागेर जानुपऱ्‍यो। हारानमा तिनको राहेलसित माया बस्यो तर उनको बुबा लाबानले झुक्क्याएर राहेलकी दिदीसित याकुबको बिहे गराइदिए। त्यसैले याकुबको दुई जना श्रीमती थिए र तिनीहरू सधैँ झगडा गरिरहन्थे। दशकौँसम्म याकुबले लाबानकोमा काम गरे। तर लाबानले पटक-पटक तिनलाई ठग्न खोजे। त्यत्ति धेरै कठिनाइ भोग्नुपरे पनि याकुबले साहस, विश्‍वास अनि सहनशीलता देखाइरहे।

एकदिनको कुरा हो, यहोवाले याकुबलाई हारान छोडेर आफ्नो घर कनान फर्किन भन्‍नुभयो। तर त्यसो गर्न सजिलो भने पटक्कै थिएन किनभने लाबान एकदमै लोभी थिए र याकुबको सबै सम्पत्ति आफ्नै हो भन्‍ने सोच्थे। त्यसैले याकुबलाई लाबानदेखि खतरा थियो। त्यसपछि याकुबले आफ्नी दुइटी पत्नीलाई बोलाए अनि उनीहरूको बुबाले गरेको व्यवहार र यहोवाले भन्‍नुभएको सबै कुरा बताए। पछि तिनी लाबानलाई नभनी आफ्ना पत्नीहरू अनि बालबच्चा लिएर त्यहाँबाट सुटुक्क भागे। जब लाबानले त्यो कुरा थाह पाए तब तिनी याकुबलाई भेट्टाउन पछिपछि गए। याकुब अनि तिनको परिवारलाई भेट्टाएपछि लाबानले आफूलाई नभनी गएकोमा तिनीहरूलाई रिस पोखे र यस्तो धम्की समेत दिए: “मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु।” तर याकुबले साहसी भई लाबानले आफूलाई वर्षौँसम्म अन्याय गरेको र छल गरेको कुरा बताए। तैपनि याकुब लाबानसँग शान्ति कायम गर्न चाहन्थे। त्यसैले पछि उनीहरूले शान्ति सम्झौता गरे र आ-आफ्नो बाटो लागे।

साहसी भएकोले याकुबले आफूसित रिसाएका परिवारका सदस्यहरूसित शान्ति कायम गर्न सके र स्वर्गदूतसित समेत कुस्ती खेल्न सके

तर खतरा भने अझै टरिसकेको थिएन। याकुबले आफ्नो दाइ एसावको सामना गर्न बाँकी नै थियो। धेरै वर्षअघि एसावले याकुबलाई मार्न खोजेका थिए किनभने याकुबले छल गरेर एसावले बुबाबाट पाउनुपर्ने आशिष्‌ खोसेका थिए। अब भने याकुब दाइसित मिलाप गर्न चाहन्थे। तिनले एसाव ४०० जना मानिसको दलबल लिएर आफू र आफ्नो परिवार भएतिर आउँदै छन्‌ भनेर थाह पाए। यो सुनेर याकुब “असाध्यै डराए र चिन्तित भए।” त्यसपछि तिनले आफ्ना दासहरूको हातमा एसावलाई बहुमूल्य उपहारहरू पठाए। के ती उपहारहरू एसावको रिस शान्त पार्न काफी हुने थियो?

पछि त्यसै रात एउटा अचम्मको घटना घट्यो। याकुबले नचिनेको एक जना मानिस आइरहेको देखे। तिनी यहोवाको स्वर्गदूत थिए। तिनले याकुबसित कुस्ती खेल्न थाले। ती स्वर्गदूतबाट आशिष्‌ पाउन सकिन्छ भन्‍ने लागेकोले याकुबले साहसी भई घण्टौँसम्म तिनीसित कुस्ती खेलिरहे। याकुबले हार मानेनन्‌। हुनत तिनी ९७ वर्ष पुगिसकेका थिए अनि ती स्वर्गदूत याकुबभन्दा कता हो कता बलिया थिए। तैपनि तिनी आफ्नो भएभरको बल लगाएर लडिरहे। साथै याकुबले आशिष्‌ पाउन “रोइकराइ” पनि गरे। (होसे १२:४) किनभने याकुबलाई आफूले गर्नुपर्ने सङ्‌घर्षको तुलनामा यहोवाबाट पाइने आशिष्‌ धेरै बहुमूल्य छ भनेर थाह थियो। बिहान झिसमिसे उज्यालो हुँदा स्वर्गदूतले याकुबको कम्मरको जोर्नी छोएका मात्र के थिए, तिनको जोर्नी नै फुस्कियो। तर त्यतिबेला याकुबले आशिष्‌ पनि पाए। ती स्वर्गदूतले तिनको नाम अबदेखि इस्राएल हुनेछ भनेर बताए। त्यस नामको अर्थ हो, परमेश्‍वरसँग लड्‌ने। त्यो नाम याकुबको लागि सुहाउँदो थियो किनभने तिनले हार मानेनन्‌ बरु यहोवाको आशिष्‌ पाउन आफ्नो भएभरको बल लगाएर कुस्ती खेलिरहे।

याकुब खोच्याउँदै आफ्नो परिवार भएतिर गए। टाढातिर एसाव ४०० जना मानिस लिएर आइरहेका थिए। याकुब एक्लै सबैभन्दा अगाडि गए। एसावको नजिकै पुग्न लाग्दा तिनले सात चोटि दण्डवत्‌ गरे। त्यसपछि एसाव दौडेर याकुब भएतिर आए। तर एसावले हतियार झिकेनन्‌। बरु आफ्नो हात फैलाएर याकुबलाई अँगालोमा बाँधे अनि दुवै दाजुभाइ धुरुधुरु रोए। याकुब नम्र भएकोले अनि उदार भई थुप्रै उपहार दिएकोले एसावको रिस शान्त भयो। यसरी याकुबले आफ्नो दाइसित मिलाप गरे।

एसाव र तिनका मानिसहरूलाई भेट्‌न याकुब खोच्याउँदै अघि बढिरहेका छन्‌।

याकुबको कम्मरनेरको जोर्नी फुस्किएकोले तिनी जीवनभर खोच्याउँदै हिँड्‌नुपऱ्‍यो। पछि पनि तिनले थुप्रै कठिनाइहरू भोग्नुपऱ्‍यो। तर यहोवाप्रति आज्ञाकारी भएकोमा अनि ती स्वर्गदूतसित कुस्ती खेलेकोमा तिनी कहिल्यै पछुताएनन्‌। धेरै वर्षपछि यहोवाले याकुबसित गर्नुभएको प्रतिज्ञा पूरा भयो। तिनको सन्तान एउटा ठूलो जाति बन्यो। (उत्प. २८:१४) साथै बाइबलमा अक्सर यहोवालाई “याकुबका परमेश्‍वर” भनेर चिनाइएको छ। (प्रस्थ. ३:६) येसुले पनि त्यो अभिव्यक्‍ति प्रयोग गर्नुभयो। उहाँले अझै यसो भन्‍नुभयो: “[यहोवा] मरेकाहरूका होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ किनकि उहाँको लागि तिनीहरू सबै जीवित छन्‌।” (लुका २०:३७, ३८) हो, याकुबको भविष्य सुनिश्‍चित छ। नयाँ संसारमा तिनको जीवन छोटो अनि दुःखैदुःखले भरिएको हुनेछैन बरु तिनको जीवन कहिल्यै अन्त हुनेछैन र सुखैसुखले भरिएको हुनेछ।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • उत्पत्ति २७:४१-४५; ३१:१-२९, ३६-५५; ३२:१–३३:१६

छलफल गर्नुहोस्‌:

याकुबले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. यहोवाले एसावको सट्टा याकुबलाई किन ज्येष्ठ अधिकार दिनुभयो? (w०३ १०/१५ पृ. २९ अनु. २)

  2. २. यहोवाले याकुबलाई कस्तो सपना देखाउनुभयो अनि त्यसबाट याकुबले कस्तो आश्‍वासन पाए? (w०३ १०/१५ पृ. २८ अनु. ३-पृ. २९ अनु. १) क

    स्वर्ग र पृथ्वीबीचको भऱ्‍याङमा केही स्वर्गदूतहरू चढ्‌दै छन्‌ भने केही झर्दै छन्‌।

    चित्र क

  3. ३. स्वर्गदूतबाट आशिष्‌ पाउने कुरामा याकुब किन ढुक्क थिए? (w०३ १०/१५ पृ. ३१ अनु. १) ख

    मानिसको रूप धारण गरेका स्वर्गदूतसँग कुस्ती खेल्न याकुब तयार देखिन्छन्‌।

    चित्र ख

  4. ४. याकुबले आफ्नो परिवारलाई कनानीहरूको नराम्रो प्रभावबाट जोगाउन कस्तो कदम चाले? (w९५ ९/१५ पृ. २१ अनु. ४, फुटनोट)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • याकुबले लाबानको प्रत्येक भेडाको ख्याल राख्ने जिम्मेवारी आफ्नो हो भनेर बुझेका थिए। (उत्प. ३१:३८-४०) आज एल्डरहरूले यहोवाको बगालको प्रत्येक भेडाको कसरी ख्याल राख्न सक्छन्‌? ग

    चित्रहरूको सँगालो:  एक जवान एल्डर मण्डलीका एक वृद्ध दाइप्रति चासो देखाउँदै छन्‌। यस अध्यायमा यी चित्रहरू छुट्टाछुट्टै पनि राखिएका छन्‌। एक जवान एल्डर वृद्ध दाइलाई घरमा भेट्‌न जान्छन्‌। तिनी ध्यान दिएर ती वृद्ध दाइको कुरा सुन्दै छन्‌। पछि ती एल्डरले वृद्ध दाइलाई यस्तो मेसेज पठाउँछन्‌: “मेरो अहिले लन्च ब्रेक चलिरहेको छ। अनि तपाईँबारे नै सोच्दै थिएँ। अहिले तपाईँलाई कस्तो छ?” वृद्ध दाइले यस्तो जवाफ पठाउँछन्‌: “आज अलि कम भा’को छ। सम्झनुभएकोमा धन्यवाद!” ती जवान एल्डर र वृद्ध दाइ साक्षीकार्यमा सँगै भाग लिँदै छन्‌। वृद्ध दाइ निर्धक्क भई घरधनीलाई सुसमाचार सुनाउँदै छन्‌।

    चित्र ग

  • असाध्यै डराएको बेला याकुबले यहोवालाई प्रार्थना गरे। (उत्प. ३२:६-१२) प्रार्थनामा कस्ता कुराहरू समावेश गर्ने भन्‍ने सन्दर्भमा तपाईँ याकुबबाट के सिक्न सक्नुहुन्छ?

  • तपाईँ कसरी याकुबजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा याकुबलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

हामीले कुनै भाइ वा बहिनीको चित्त दुखाएको महसुस गऱ्‍यौँ भने कसरी याकुबको अनुकरण गर्न सक्छौँ?

“येसुको कुरा सुनिरहनुहोस्‌” (w२१.१२ पृ. २५-२७ अनु. १०-१८)

आफ्ना छोराछोरीलाई याकुबबारे सिकाउन यो बाइबल चित्रकथा प्रयोग गर्नुहोस्‌।

“याकुब र एसाव” (ijwis-E लेख ३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने