४३ युसुफ
तिनी एक साहसी बुबा थिए
एक असल बुबा बन्न निकै साहस चाहिन्छ। नासरतमा सिकर्मीको काम गर्ने युसुफ पनि एक असल पति र बुबा बन्न चाहन्थे। तर विवाह हुनुअघि नै तिनले एउटा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपऱ्यो, जसको लागि तिनलाई साहस चाहिने थियो। तिनले विवाह गर्न लागेकी स्त्री मरियम गर्भवती भइन् तर उनको कोखमा भएको बच्चा युसुफको थिएन। हुनत मरियमले त्यो कसरी भयो भनेर तिनलाई बताइसकेकी थिइन्। तैपनि युसुफलाई त्यो कुरा बुझ्न र विश्वास गर्न धेरै गाह्रो भयो। अब तिनले कस्तो कदम चाल्ने थिए?
बाइबलमा युसुफलाई “धर्मी मानिस” भनिएको छ। तिनी यहोवाको व्यवस्था पालन गर्थे। साथै तिनी दयालु र कृपालु पनि थिए। मरियम गर्भवती भएको कुरा थाह पाएपछि युसुफले त्यस विषयमा ‘गहिरिएर विचार गरे।’ मरियमको बेइज्जत हुन नदिन तिनले गुप्तमै उनीसित सम्बन्धविच्छेद गर्ने निर्णय गरे। त्यतिबेला मगनीलाई पनि विवाह गरेसरह ठानिन्थ्यो। त्यसैले यदि विवाह नगर्ने निर्णय गरेमा तिनीहरूले सम्बन्धविच्छेद गर्नुपर्थ्यो। तर यहोवाले युसुफलाई त्यस्तो कदम चाल्नदेखि रोक्नुभयो। उहाँले एउटा स्वर्गदूत पठाउनुभयो र ती स्वर्गदूतले युसुफलाई सपनामा यसो भने: “मरियमसित विवाह गर्न नडराऊ!” ती स्वर्गदूतले तिनलाई मरियमले भनेको कुरा सत्य हो भनी विश्वस्त बनाए। मरियमको कोखमा भएको बालक परमेश्वरको छोरा हुनुहुन्थ्यो र पछि उहाँ मसीह हुनुहुने थियो।
युसुफले परमेश्वरको छोरालाई हुर्काउने गहन जिम्मेवारी स्विकारे
युसुफले “यहोवा परमेश्वरको स्वर्गदूतले भनेझैँ” गरे। तिनले साहसी भई यहोवाले सुम्पिनुभएको जिम्मेवारी स्विकारे। त्यो थियो: आफ्नी प्यारी पत्नी र उनले जन्मदिन लागेको परमेश्वरको छोराको राम्रोसित हेरचाह गर्नु। त्यो जिम्मेवारी पूरा गर्न युसुफलाई निकै साहस चाहिन्थ्यो।
त्यसको केही महिनापछि सिजर अगस्तसले सबैलाई आ-आफ्नो जन्मथलोमा गएर नाम दर्ता गर्नू भनी उर्दी जारी गरे। त्यसैले युसुफ पनि नाम दर्ता गर्न बेतलेहेम जानुपऱ्यो। त्यतिबेलाको नियमअनुसार सम्भवतः मरियम तिनीसँगै जानु पर्दैनथ्यो। तर युसुफले मरियमलाई आफूसँगै लैजानु सुरक्षित हुन्छ भनी सोचेका हुन सक्छन्। त्यसैले मरियम “सुत्केरी हुने बेला नजिकै” आए तापनि तिनीहरू लामो यात्रामा निस्किए। बेतलेहेम पुगेपछि मरियमलाई बेथा लाग्यो र उनले येसुलाई गोठमा जन्म दिइन्।
युसुफ आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्न कडा मेहनत गर्थे तर तिनी आर्थिक रूपमा सम्पन्न थिएनन्। त्यसैले व्यवस्थाअनुसारै युसुफ र मरियम बालक येसुलाई लिएर मन्दिरमा भेटी चढाउन जाँदा तिनीहरूले गरिबहरूले चढाउने परेवाका दुई वटा बचेरा चढाए। केही समयपछि ज्योतिषीहरू ‘एउटा तारालाई’ पछ्याउँदै बेतलेहेममा युसुफको घरमा आइपुगे। उनीहरू सम्भवतः बेबिलोनबाट आएका थिए। उनीहरूले बालक येसुलाई देखेपछि महङ्गा-महङ्गा उपहारहरू दिए। त्यसको केही समयपछि यहोवाको स्वर्गदूतले युसुफलाई दुष्ट राजा हेरोदले बालक येसुलाई मार्न चाहेको कुरा बताए। त्यसैले ती स्वर्गदूतले युसुफलाई आफ्नो परिवार लिएर मिश्रमा भाग्न भने।
युसुफ साहस जुटाउँदै स्वर्गदूतले भनेझैँ आफ्नी पत्नी र बालक येसुलाई लिएर राती नै मिश्र भागे। त्यस अन्जान ठाउँमा तिनले कसरी आफ्नो परिवारको हेरचाह गर्ने थिए? ज्योतिषीहरूले दिएको उपहार मिश्रमा खर्च टार्न पक्कै काम लाग्यो होला। पछि यहोवाले युसुफलाई पूरै परिवार लिएर आफ्नो ठाउँ इस्राएल फर्कन भन्नुभयो। तर बेतलेहेममा एक क्रूर शासकले शासन गरिरहेका थिए। त्यसैले तिनी यहोवाले भन्नुभएअनुसारै आफ्नो परिवार लिएर नासरत गए।
नासरतमा पनि युसुफले आफ्नो परिवार पाल्न धेरै मेहनत गरे। युसुफ र मरियमका येसुलगायत अरू छ जना छोराछोरी भइसकेका थिए। तर त्योभन्दा पनि महत्त्वपूर्ण, युसुफले आफ्नो परिवारको आध्यात्मिक आवश्यकताको ख्याल राखे। तिनीहरू यहोवाबारे सिक्न नियमित रूपमा सभाघर जान्थे अनि पवित्र चाडहरू मनाउन यरुसलेम जान्थे। एकपटक येसु १२ वर्षको हुनुहुँदा युसुफ परिवारलाई लिएर चाड मनाउन यरुसलेम गएका थिए। त्यतिबेला येसु हराउनुभयो भन्ठानेर युसुफ र मरियमले उहाँलाई धुइँधुइँती खोजे। बाइबलमा युसुफबारे उल्लेख गरिएको अन्तिम विवरण यही नै हो। ती असल बुबा कत्ति चिन्तित भए होलान्! येसुलाई भेट्टाएपछि भने तिनीहरूले ढुक्क महसुस गरे। पछि तिनीहरू येसुलाई लिएर घर फर्किए र त्यसपछि पनि येसु आफ्नो ‘आमाबुबाप्रति आज्ञाकारी’ भइरहनुभयो।
बाइबलमा युसुफको मृत्यु कहिले भयो भनेर बताइएको छैन। तर तिनले आफ्नो मृत्युअघि येसुलाई सिकर्मीको काम राम्ररी सिकाइसकेको हुनुपर्छ। किनकि येसु “सिकर्मीको छोरा” भनेर मात्र होइन “सिकर्मी” भनेर पनि चिनिनुभयो। बुबाहरूबाट यहोवा के चाहनुहुन्छ भन्ने सन्दर्भमा युसुफले राम्रो उदाहरण बसाले। तिनी साहसी, वफादार र दयालु थिए। तिनले आफ्नो परिवारको रक्षा गरे, तिनीहरूको सबै आवश्यकता पूरा गरे र तिनीहरूलाई यहोवाबारे सिकाए।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
युसुफले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. हुनत मरियम हेलिकी छोरी थिइन् तर लुका ३:२३ मा युसुफलाई किन “हेलिका छोरा” भनिएको छ? (w१७.०८ पृ. ३२ अनु. ४)
२. येसुको जन्म नभएसम्म युसुफले मरियमसित यौनसम्बन्ध नराख्नुको कारण के हुन सक्छ? (w०३ १२/१५ पृ. ५ अनु. ५)
३. युसुफ मेहनती थिए भनेर हामी किन भन्न सक्छौँ? (ia पृ. १६६-१६७ अनु. १५-१८) क
चित्र क
४. युसुफको मृत्यु हुँदा येसु किशोरावस्थामा वा भर्खरै २०/२२ वर्षको हुनुहुन्थ्यो भनेर हामी किन भन्न सक्छौँ? (w१७.०७ पृ. १३ अनु. ८, फुटनोट)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
गाह्रो हुँदा पनि युसुफले यहोवाको आज्ञा पालन गरे। परिवारका शिरहरूले युसुफको उदाहरणबाट के सिक्न सक्छन्? (मत्ति १:२०, २४; २:१३-१५, १९-२१)
परिवारमा यहोवालाई प्रथम स्थान दिने सन्दर्भमा हामी युसुफबाट के सिक्न सक्छौँ? (लुका २:४१) ख
चित्र ख
तपाईँ अन्य के-कस्ता तरिकामा युसुफजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा युसुफलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
युसुफले कसरी आज्ञाकारी भई यहोवाले भन्नुभएअनुसारै गरे, हेर्नुहोस्।
कहिलेकाहीँ हामीलाई सरकारले लागू गरेको नियम अव्यावहारिक वा अन्यायपूर्ण जस्तो लाग्न सक्छ। त्यस्तो बेला हामी कसरी युसुफ र मरियमको अनुकरण गर्न सक्छौँ?
“के तपाईँ ‘आज्ञाकारी’ हुनुहुन्छ?” (w२३.१० पृ. ८-१० अनु. ९-१४)