प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 फेब्रुअरी पृ. ३०-पृ. ३१ अनु. ७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • धर्मलाई के हुनेछ?—बाइबलले यसबारे के बताउँछ?
    थप लेखहरू
  • ‘अन्तको दिनको’ पनि अन्तिम समयमा व्यस्त भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यस संसारको अन्त कसरी हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 फेब्रुअरी पृ. ३०-पृ. ३१ अनु. ७
संसारका नेताहरू संयुक्‍त राष्ट्र सङ्‌घको प्रधान कार्यालयनजिकै उभिएर मानिसहरूको भीडसामु “शान्ति र सुरक्षा”-को घोषणा गर्दै छन्‌।

पाठकहरूको प्रश्‍न

राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को घोषणा कहिले गर्नेछन्‌?

प्रहरीधरहरा-को हालैको अङ्‌कमा प्रकाशित “पाठकहरूको प्रश्‍न”-माa यहोवाले अब चाँडै “दस वटा सिङ”-को (सबै राजनैतिक शक्‍तिहरू) हृदयमा हालिदिनुहुने “सोच” के हो भनेर छलफल गरेका थियौँ। त्यो सोच भनेको “दस वटा सिङ”-ले “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर” अर्थात्‌ संयुक्‍त राष्ट्र सङ्‌घलाई आफ्नो शक्‍ति र अख्तियार दिने सोच हो भनेर हामीले बुझेका थियौँ। त्यस जनावरलाई “जङ्‌गली जनावरको मूर्ति” पनि भनिएको छ। (प्रका. १३:१४, १५; १७:३, १६, १७) त्यसपछि “दस वटा सिङ” र त्यसबाट अख्तियार पाएको जङ्‌गली जनावरले संसारभरका झूटो धर्महरूलाई विनाश गर्नेछ। त्यसोभए राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को घोषणाb कहिले गर्नेछन्‌? झूटो धर्मको विनाश हुनुभन्दा अघि वा पछि? —१ थिस्स. ५:३.

सीधै भन्‍नुपर्दा, “शान्ति र सुरक्षा”-को घोषणा ठ्याक्कै कहिले गरिनेछ भनेर हामीलाई थाह छैन। येसुले आफ्ना चेलाहरूलाई बारम्बार ‘जागा रहन’ सल्लाह दिनुभएको थियो। (मत्ति २४:४२; २५:१३; २६:४१) तर यदि हामीलाई भविष्यमा हुने त्यस घटनाबारे एक-एक कुरा थाह भएको भए जागा र सचेत बस्नु आवश्‍यक नै पर्ने थिएन। त्यसोभए आउनुहोस्‌, पावलले थिस्सलोनिकीहरूलाई लेखेको पत्रमा यहोवाले गर्नुभएको भविष्यवाणी अझ गहिरिएर केलाऔँ।

पावलले यस्तो लेखे: “जब तिनीहरूले ‘शान्ति र सुरक्षा!’ भनिरहेका हुन्छन्‌, तब . . . तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ।” (१ थिस्स. ५:२, ३) हाम्रा प्रकाशनहरूमा पावलका यी शब्दहरूलाई अक्सर यसरी व्याख्या गरिएको छ: “शान्ति र सुरक्षा”-को घोषणा महासङ्‌कष्ट सुरु हुनुभन्दा ठ्याक्कै अगाडि गरिनेछ। महान्‌ बेबिलोन अर्थात्‌ झूटो धर्मको विनाश नै महासङ्‌कष्टको सुरुवात हो। “शान्ति र सुरक्षा”-को घोषणा महासङ्‌कष्ट सुरु हुनै लागेको सङ्‌केत हुनेछ भनेर पनि हामीले बुझेका थियौँ।

तर पावलका यी शब्दहरूबारे थप अध्ययन गरेपछि यसलाई अर्को तरिकामा पनि बुझ्न सकिन्छ जस्तो देखिन्छ। सम्भवतः “शान्ति र सुरक्षा”-को घोषणा झूटो धर्मको विनाशपछि गरिनेछ। हामी किन त्यसो भन्‍न सक्छौँ? यो कुरा बुझ्न निम्न प्रश्‍नहरूबारे छलफल गरौँ।

संसारमा भइरहेका युद्धहरूमा झूटो धर्मले कस्तो भूमिका खेलेको छ? बाइबल यसो भन्छ: “यही सहरमा [अर्थात्‌ “महावेश्‍या,” महान्‌ बेबिलोनमा] . . . पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइयो।” (प्रका. १७:१, ५; १८:२४) इतिहासभरि नै झूटो धर्मले युद्धहरूलाई समर्थन गर्दै आएको छ अनि त्यो हिंसा र हत्याको कारण बनेको छ। यसरी झूटो धर्मले शान्ति र सुरक्षालाई होइन, युद्ध र हिंसालाई बढावा दिएको छ। त्यसैले यस्तो प्रश्‍न खडा हुन्छ: के राष्ट्रहरूले महान्‌ बेबिलोनलाई विनाश गरेपछि मात्र “शान्ति र सुरक्षा”-को घोषणा गर्नेछन्‌? त्यस्तो सम्भावना पनि छ। तर हामी यकिनका साथ भन्‍न सक्दैनौँ।

“शान्ति र सुरक्षा”-को घोषणापछि के हुनेछ? पावल यसो भन्छन्‌: “तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ।” (१ थिस्स. ५:३) यदि राष्ट्रहरूले झूटो धर्मको विनाश हुनुअघि “शान्ति र सुरक्षा”-को घोषणा गर्ने हो भने ती राष्ट्रहरूको विनाश हुन केही समय लाग्नेछ। तर पावलले ती राष्ट्रहरूमाथि अचानक र एक्कासि विनाश आइपर्नेछ भनेर बताएका छन्‌। त्यसैले राष्ट्रहरूले झूटो धर्मको विनाश गरेपछि “शान्ति र सुरक्षा”-को घोषणा गर्नेछन्‌ जस्तो देखिन्छ।

भविष्यमा यी घटनाहरू हुँदा परमेश्‍वरका जनहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌? पावल यसो भन्छन्‌: “हे भाइहरू हो, तिमीहरू अन्धकारमा छैनौ, त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्‌।” (१ थिस्स. ५:४) यो कुरा विचार गरौँ: यदि राष्ट्रहरूले झूटो धर्मको विनाशपछि “शान्ति र सुरक्षा”-को घोषणा गरे भने परमेश्‍वरका जनहरूले राष्ट्रहरूमाथि अब तुरुन्तै विनाश आइपर्नेछ भनेर बुझ्नेछन्‌। अर्कोतर्फ “शान्ति र सुरक्षा”-को घोषणा गरेका राष्ट्रहरूले ‘हामी शान्ति स्थापना गर्न सफल भयौँ’ भनेर सोचिरहेका हुनेछन्‌। तर ती राष्ट्रहरूमाथि चोर आएझैँ अचानक विनाश आइपर्नेछ।

त्यसोभए हामी कुन कुरामा चाहिँ पक्का छौँ? अब चाँडै “दस वटा सिङ” र त्यसबाट अख्तियार पाएको जङ्‌गली जनावरले झूटो धर्मलाई विनाश गर्नेछ। यो नै महासङ्‌कष्टको सुरुवात हुनेछ। राष्ट्रहरूले त्यही समयतिर “शान्ति र सुरक्षा”-को घोषणा गर्नेछन्‌ भनेर पनि हामीले बुझेका छौँ। तर राष्ट्रहरूले त्यो घोषणा कहिले गर्नेछन्‌? हामीले दुई वटा सम्भावनाबारे छलफल गऱ्‍यौँ। पहिलो सम्भावना: यो घोषणा झूटो धर्मको विनाश हुनुभन्दा अघि गरिनेछ। दोस्रो सम्भावना: यो घोषणा राजनैतिक शक्‍तिहरूले झूटो धर्मलाई पूर्ण रूपमा विनाश गरेपछि हुनेछ। यी घटनाहरू कुन क्रममा हुनेछन्‌ भनेर थाह पाउन हामीले पर्खनै पर्छ। अक्सर बाइबल भविष्यवाणीहरू पूरा हुँदै गर्दा वा पूरा भइसकेपछि मात्र पूर्ण रूपमा बुझ्न सकिन्छ।—युहन्‍ना १२:१६ तुलना गर्नुहोस्‌।

तर हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को घोषणा कहिले गर्नेछन्‌ भन्‍ने होइन, बरु यहोवाप्रति वफादार रहनु हो। त्यसैले घटनाक्रमले जस्तो मोड लिए पनि हामी “जागा बसौँ अनि सचेत रहौँ।”—१ थिस्स. ५:६.

a नोभेम्बर २०२५ को प्रहरीधरहरा-मा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

b प्रेषित पावलले यस पदमा चलाएका शब्दहरूबाट यो घोषणा एक चोटि मात्र नभई एकपछि अर्को गर्दै गरिने घोषणाहरू हुन सक्छ भन्‍ने सङ्‌केत पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने