अप्रिल ६-१२, २०२६
गीत ८२ “तिमीहरूको ज्योति चम्कोस्”
बेग्लै धर्म मान्ने परिवारका सदस्य र नातेदारलाई हामी कसरी मदत गर्न सक्छौँ?
“हामी असल काम गर्नमा हरेस नखाऔँ।”—गला. ६:९.
सिक्न सकिने कुरा
बेग्लै धर्म मान्ने परिवारका सदस्य र नातेदारसित हामी कसरी राम्रो सम्बन्ध कायम राख्न सक्छौँ र तिनीहरू यहोवाबारे बुझ्न चाहन्छन् भने कसरी मदत दिन सक्छौँ?
१-२. परिवारका सदस्य र नातेदारसितको तपाईँको सम्बन्ध किन चिसिएको हुन सक्छ?
येसुले उहाँको चेला बन्न चाहेका एक जना मानिसलाई यसो भन्नुभयो: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवा परमेश्वरले तिम्रो लागि गर्नुभएका सबै कुरा . . . तिनीहरूलाई बताइदेऊ।” (मर्कु. ५:१९) येसुले किन त्यसो भन्नुभयो? किनभने धेरैजसो मानिस आफूले राम्रो कुरा सुन्दा त्यो परिवारका सदस्य र नातेदारलाई बताउन चाहन्छन् भनेर येसुलाई थाह थियो।
२ पहिलो चोटि यहोवाबारे थाह पाउँदा तपाईँलाई कस्तो लागेको थियो, सम्झनुहोस् त! सायद तपाईँलाई आफूले सिकेका राम्रा कुराहरू परिवारका सदस्य र नातेदारलाई कतिखेर बताऊँ जस्तो भएको थियो होला। तर तिनीहरूले तपाईँले सोचेको जस्तो राम्रो प्रतिक्रिया देखाएनन् होला। अथवा तपाईँले कौशलता नअपनाएकोले तपाईँहरूबीच वादविवाद भएको हुन सक्छ। त्यसो हो भने बाइबलको स्तरमा सम्झौता नगरी तपाईँ तिनीहरूसित कसरी राम्रो सम्बन्ध कायम राख्न सक्नुहुन्छ? अथवा सम्बन्ध चिसिएको थियो भने त्यसलाई कसरी फेरि राम्रो बनाउन सक्नुहुन्छ?
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ यस लेखमा हामी यी प्रश्नहरूबारे छलफल गर्नेछौँ: (१) परिवारका सदस्य र नातेदारले राम्रो प्रतिक्रिया देखाएनन् भने पनि हामी तिनीहरूप्रति कसरी समानुभूति देखाउन सक्छौँ? (२) तिनीहरूले हाम्रो चित्त दुख्ने बोली बोल्दा र व्यवहार गर्दा हामी के गर्न सक्छौँ? (३) हामी धीरजी भयौँ र आशा मारेनौँ भने तिनीहरूले कस्तो मदत पाउन सक्छन्? (४) तिनीहरूलाई माया गरेको हामी कसरी देखाउन सक्छौँ?
समानुभूति देखाउनुहोस्
४. मानिसहरूले उहाँको सन्देशमा चासो नदेखाए पनि येसुले के गर्नुभयो?
४ येसुले उहाँको सन्देशमा चासो नदेखाएका मानिसहरूलाई मदत गर्न छोड्नुभएन। उहाँले आफूलाई अङ्गुर बगानको मालीसित तुलना गर्नुभयो। तिनले फल नफलाएको अन्जिरको रूखलाई तुरुन्तै काटेर फालेनन्। बरु त्यसमा फल लाग्ला कि भनेर आशा गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास गरे। (लुका १३:६-९) येसुले यो उदाहरण बताउनुहुँदा उहाँले सङ्गी यहुदीहरूलाई सुसमाचार सुनाउँदै आउनुभएको तीन वर्षभन्दा धेरै भइसकेको थियो। तैपनि तिनीहरूले उहाँमा विश्वास गरेनन्। तर उहाँले हार मान्नुभएन किनभने उहाँ तिनीहरूलाई देखेर टिठाउनुहुन्थ्यो र मदत गर्न चाहनुहुन्थ्यो।
५. येसु किन सङ्गी यहुदीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो?
५ येसु सङ्गी यहुदीहरूलाई देखेर टिठाउनुभयो किनभने धर्मगुरुहरूले तिनीहरूलाई परमेश्वरबारे सत्य कुरा सिक्न मदत गरिरहेका थिएनन्। येसुलाई “तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता” लाग्यो। (मर्कु. ६:३४) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येसुलाई यरुसलेम सहर देखेर असाध्यै दया लाग्यो र उहाँ रुनुभयो। किनभने त्यस सहरका धेरैजसो बासिन्दाले यहोवा र येसुमा विश्वास नगरेकोले ज्यान गुमाउनेछन् भनेर उहाँलाई थाह थियो। (लुका १९:४१-४४) त्यसरी नै हाम्रो परिवारका सदस्य र नातेदारको लागि सुसमाचार कत्ति महत्त्वपूर्ण छ भन्ने कुरा विचार गऱ्यौँ भने तिनीहरूलाई मदत गर्न उत्प्रेरित हुनेछौँ।
६. हामी किन धीरजी हुनुपर्छ? (गलाती ६:९)
६ गलाती ६:९ पढ्नुहोस्। हाम्रो परिवारका सदस्य र नातेदारले अहिले चासो देखाएका छैनन् भने पनि हामी धीरजी हुनुपर्छ अनि “असल काम गर्नमा” हरेस खानु हुँदैन। गहिरो जरा गाडेर बसेका कुराहरू त्याग्न अनि यहोवामाथिको विश्वास विकास गर्न समय लाग्छ। आफैबारे सोच्नुहोस् न! पहिला तपाईँसित “कुनै आशा थिएन” र यहोवालाई चिन्नुभएको पनि थिएन। (एफि. २:१२) तर कसैले धीरजी हुँदै तपाईँलाई यहोवाबारे सिक्न र छाँटकाँट गर्न मदत गऱ्यो। त्यसरी नै परिवारका सदस्य र नातेदारप्रति धीरजी हुनुभयो भने तिनीहरूले पनि यहोवाबारे सिक्ने मौका पाउँछन्।
तिनीहरूले रुखो बोली र व्यवहार गर्नुपछाडिको कारण बुझ्नुहोस्
७. येसुका भाइहरू उहाँको चेला बन्नदेखि पछि हट्नुको कारण के हुन सक्छ?
७ येसुका भाइहरूले उहाँले गालिलको इलाकामा गर्नुभएका चमत्कारहरूबारे सुनेको हुनुपर्छ। (लुका ४:१४, २२-२४) तर सुरुमा त तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। (युह. ७:५) किन? हुनत येसुका भाइहरूले उहाँमाथि किन विश्वास गरेनन् भनेर बाइबलमा तोकेरै बताइएको छैन। तर केही यहुदीहरू येसुको चेला बन्नदेखि पछि हट्नुको कम्तीमा दुई वटा कारण हामी बाइबलबाट बुझ्न सक्छौँ। कसै-कसैलाई समाजले बहिष्कार गर्ला कि भन्ने डर थियो। (युह. ९:१८-२२) कसै-कसैले भने येसुलाई सानैदेखि चिनेका थिए। त्यसैले उहाँजस्तो साधारण मान्छे पनि कसरी मसीह हुन सक्छ जस्तो लागेको हुन सक्छ। (मर्कु. ६:१-४) यस्तै कारणहरूले गर्दा येसुका भाइहरू पछि हटेका हुन सक्छन्। तपाईँको परिवारका सदस्य र नातेदारलाई पनि यस्तै कुराहरूले असर गरेको हुन सक्छ।
८. हाम्रो परिवारका सदस्य र नातेदारले रुखो बोली वा व्यवहार गर्नुको कारण के हुन सक्छ?
८ तिनीहरूले रुखो बोली र व्यवहार गर्नुपछाडि कस्ता कारणहरू हुन सक्छन्, त्यो बुझ्ने प्रयास गर्नुहोस्। एकचोटि येसुका केही नातेदारले “उसको दिमाग खुस्केको छ” भने। (मर्कु. ३:२१) त्यसो भन्नेहरूमध्ये येसुका भाइहरू पनि हुन सक्छन्। तिनीहरूले किन येसुलाई त्यस्तोसम्म भनेका हुन सक्छन्? प्रसङ्ग हेर्ने हो भने येसु प्रचारकार्यमा यत्ति व्यस्त हुनुहुन्थ्यो कि उहाँले खाना खाने फुर्सद समेत पाउनुभएको थिएन। (मर्कु. ३:२०) येसुका नातेदारहरूलाई उहाँले अति नै गर्नुभयो जस्तो लागेको हुन सक्छ। हाम्रो परिवारका सदस्य र नातेदारलाई पनि हामी धर्ममा एकदमै कट्टर भएको जस्तो लाग्न सक्छ। त्यसो हो भने हामीले आफ्नो बोली र कामबाट आफू व्यावहारिक भएको कुरा देखाउनुपर्छ।
९. हामीले के गऱ्यौँ भने परिवारका सदस्य र नातेदारको सोचाइ परिवर्तन हुन सक्छ? (१ पत्रुस ३:१, २) (चित्रहरू पनि हेर्नुहोस्।)
९ दयालु र व्यावहारिक हुनुहोस्। हामीले परिवारका सदस्य र नातेदारसित दयालु भई बोल्यौँ र राम्रो व्यवहार गऱ्यौँ भने हामीबारे तिनीहरूको सोचाइ परिवर्तन हुन सक्छ। (१ पत्रुस ३:१, २ पढ्नुहोस्।) जस्तै, कुनै बहिनीको श्रीमान् यहोवाको साक्षी नहुन सक्छन्। त्यसैले तिनी सभा वा प्रचारमा गएको तिनको श्रीमान्लाई मन नपर्न सक्छ र त्यतिखेर श्रीमान्ले एक्लो महसुस गर्न सक्छन्। तर श्रीमान्ले त्यस्तो महसुस गरेको तिनी चाहँदिनन्। त्यसैले श्रीमान्सित अझ धेरै समय बिताउन तिनले आफ्नो आध्यात्मिक तालिकामा केही छाँटकाँट गर्नुपर्ने हुन्छ। जस्तै, तिनले श्रीमान् काममा व्यस्त भएको बेला वा घरमा नभएको बेला प्रचारको लागि मिलाउन सक्छिन्। ख्रिष्टियन पत्नीले यसरी छाँटकाँट गर्न तयार भएर व्यावहारिकता देखाउँदा यहोवाका साक्षीहरूबारे तिनको श्रीमान्को सोचाइ परिवर्तन हुन सक्छ।
बेग्लै धर्म मान्ने जोडीसित दयालु बोली र व्यवहार गऱ्यौँ भने साक्षीहरूबारे तिनको सोचाइ परिवर्तन हुन सक्छ (अनुच्छेद ९ हेर्नुहोस्)f
१०. हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?
१० कसैले तपाईँको आलोचना गर्दा खण्डन गरिहाल्नुपर्छ भन्ने नसोच्नुहोस्। येसुलाई घिचुवा वा पियक्कड भन्ने गलत आरोप लगाइँदा उहाँ रिसाउनुभएन र त्यसको खण्डन गर्न खोज्नुभएन। बरु साँचो कुरा बुझ्न मानिसहरूलाई प्रोत्साहन दिनुभयो। (मत्ति ११:१९) उहाँले आफ्नो जीवनशैलीबाट व्यावहारिक र सन्तुलित भएको पनि देखाउनुभयो। (युहन्ना २:२, ६-१० तुलना गर्नुहोस्।) त्यसरी नै तपाईँको परिवारका सदस्य र नातेदारले तपाईँको आलोचना गर्दा खण्डन गरिहाल्नुपर्छ भन्ने नसोच्नुहोस्। बरु तपाईँ सन्तुलित र खुसी हुनुहुन्छ भन्ने कुरा आफ्नो व्यवहारबाट देखाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने परिवारका सदस्य र नातेदारले साक्षीहरूबारे सुनेको कुरा गलत रहेछ भनेर आफैले बुझ्न सक्नेछन्।
धीरजी हुनुहोस् र आशा नमार्नुहोस्
११. येसुले आफ्ना भाइहरूसित कस्तो व्यवहार गर्नुभयो?
११ सुसमाचारका विवरणहरू पढ्दा येसु आफ्ना भाइहरूप्रति धीरजी भइरहनुभयो भनेर थाह पाउन सक्छौँ। उदाहरणको लागि, येसुले कानामा पहिलो चमत्कार गर्नुहुँदा उहाँका भाइहरू पनि त्यहीँ थिए। (युह. २:११, १२) तर यो देखेर पनि तिनीहरूले येसुमाथि विश्वास गरेनन्। यसो भन्दैमा येसुले तिनीहरूसित बोलचालै बन्द गर्नुभएन। हामी किन त्यसो भन्न सक्छौँ? येसुले कानामा पहिलो चमत्कार गर्नुभएको लगभग तीन वर्षपछिको विवरणमा पनि उहाँ आफ्ना भाइहरूसित दयालु ढङ्गमा बोल्नुभएको पाउँछौँ।—युह. ७:५-८.
१२. आशा नमार्न हामीलाई कुन कुराले मदत गर्छ?
१२ यहोवा कृपालु हुनुहुन्छ भन्ने कुरा राम्ररी बुझ्यौँ भने हामीले आशा मार्नेछैनौँ। भविष्यमा झूटो धर्मको विनाश हुँदा हाम्रो परिवारका सदस्य र नातेदारले हामीले यसबारे पहिल्यै बताएका थियौँ भन्ने कुरा सम्झन सक्छन्।a (प्रका. १७:१६) भविष्यमा महासङ्कष्ट सुरु भइसकेपछि मात्र तिनीहरूले यहोवाको सेवा गर्ने निर्णय गर्न सक्छन्। तर अहिले पनि तिनीहरूले गाह्रो अवस्था भोगिरहेका छन् भने तिनीहरूलाई मदत गर्न सक्दो गर्नुपर्छ। हामी तिनीहरूलाई माया गर्छौँ भन्ने कुरा तिनीहरूले महसुस गर्नेछन् र तिनीहरू पछि बाइबलको कुरा सिक्न इच्छुक हुन सक्छन्।
तिनीहरूलाई माया गरेको देखाउनुहोस्
१३. हामी कुन कुरामा होसियार हुनुपर्छ?
१३ हुनत हामी यहोवाको सेवामा व्यस्त छौँ। तर हामीले परिवारका सदस्य र नातेदारलाई हामीसित तिनीहरूको लागि समय नै छैन वा हामी तिनीहरूलाई माया गर्दैनौँ भन्ने भान पर्न दिनु हुँदैन। (मत्ति ७:१२) त्यसोभए तिनीहरूलाई माया गरेको हामी कसरी देखाउन सक्छौँ? आउनुहोस्, केही तरिका विचार गरौँ।
१४-१५. परिवार र नातेदारहरूलाई माया गरेको देखाउने एउटा तरिका के हो? एउटा अनुभव बताउनुहोस्।
१४ तिनीहरूदेखि नटाढिनुहोस् र माया व्यक्त गर्नुहोस्। हामी बेलाबेलामा आफ्नो हालखबर बताएर तिनीहरूलाई सम्झिरहेका छौँ भन्ने कुरा देखाउन सक्छौँ। जस्तै, हामी मेसेजसँगै कतै घुम्न गएको वा साथीहरूसित रमाइलो गरिरहेको फोटोहरू पनि पठाउन सक्छौँ। तिनीहरूसितको सम्बन्ध राम्रो बनाउन एउटा सानो उपहार वा चिठीले पनि ठूलो काम गर्न सक्छ। यसरी आफै अग्रसर भएर तिनीहरूलाई माया गरेको देखाउन सक्छौँ।
१५ आर्मेनियाकी आना बहिनीको अनुभव विचार गरौँ। तिनको परिवार र नातेदारहरूले जन्मदिन र चाडबाडमा सँगै समय बिताउने गर्छन्। तर आना यहोवाको साक्षी भएपछि तिनीहरूलाई अब ऊ हामीबाट टाढिने हो कि भनेर चिन्ता लाग्न थाल्यो। तिनीहरूलाई उसको भविष्य कस्तो होला भनेर पनि चिन्ता लाग्थ्यो। त्यसोभए आनाले के गरिन्? तिनी भन्छिन्, “परिवार र नातेदारहरूलाई भेट्न जाँदा मेरो जीवन कस्तो चलिरहेको छ र म कुन कुरामा व्यस्त छु भनेर बताउने गर्छु। म उहाँहरूलाई मेरो घरमा बोलाउँछु। अनि मेरा साथीहरूसित चिनजान गराइदिन्छु। उहाँहरूमध्ये धेरै जनाले मेरा साथीहरूलाई राम्रोसँग चिनिसक्नुभएको छ। त्यसैले तिनीहरूसित कुराकानी गर्न उहाँहरूलाई सजिलो लाग्छ। अहिले उहाँहरूले मेरो चिन्ता गर्न छोड्नुभएको छ। कसै-कसैले त यस्तो समेत भन्नुहुन्छ, ‘तिमी खुसी देख्दा हामीलाई ढुक्क लाग्छ।’”
१६. येसुले आफ्नो भाइ याकुबमा चासो राखेको कसरी देखाउनुभयो? (फुटनोट पनि हेर्नुहोस्।)
१६ तिनीहरूमा चासो राख्नुहोस्। येसु जीवित हुनुभएपछि आफ्नो भाइ याकुबकहाँ देखा पर्नुभयो। यसरी उहाँले तिनमा चासो राखेको देखाउनुभयो। (१ कोरि. १५:७) येसुले अझै माया गर्नुहुँदो रहेछ भनेर थाह पाउँदा याकुबले कस्तो महसुस गरे होलान्, कल्पना गर्नुहोस् त! यही भेटघाटले गर्दा येसु मसीह हुनुहुँदो रहेछ भनेर याकुब पक्का भएको हुनुपर्छ। त्यसपछि याकुबले परिवारका अरू सदस्यहरूलाई पनि येसु नै मसीह हुनुहुन्छ भनेर बुझ्न मदत गरेका हुन सक्छन्।b—प्रेषि. १:१४.
१७. हामी रोमी १२:१५ को सिद्धान्त कसरी लागू गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१७ रोमी १२:१५ पढ्नुहोस्। हामीले आफ्नो परिवारका सदस्य र नातेदारलाई सुखदुःखमा साथ दियौँ र तिनीहरूमा गहिरो चासो राख्यौँ भने हामीबारे तिनीहरूको सोचाइ परिवर्तन हुन सक्छ।c जस्तै, कसैको बच्चा जन्मिँदा हामी तिनीहरूको खुसीमा सामेल हुन सक्छौँ, बधाई दिन सक्छौँ र केही उपहार पनि दिन सक्छौँ। कसैको मृत्यु हुँदा हामी तिनीहरूको परिवारलाई भेटेर सान्त्वनाका दुई चार शब्द भन्न सक्छौँ। केही व्यावहारिक मदत दिन सक्छौँ वा मेसेज लेखेर पठाउन सक्छौँ। हामीले नियमित रूपमा तिनीहरूको हालखबर सोध्न बिर्सनु हुँदैन, अझ खासगरि तिनीहरूले गाह्रो अवस्था भोगिरहेको बेला।
परिवारका सदस्य र नातेदारलाई सुखदुःखमा साथ दिनुभयो र गहिरो चासो राख्नुभयो भने तपाईँ र तपाईँको विश्वासबारे तिनीहरूको सोचाइ परिवर्तन हुन सक्छ (अनुच्छेद १७ हेर्नुहोस्)g
१८. हामी कसरी अन्द्रियासको अनुकरण गर्न सक्छौँ?
१८ अरू भाइबहिनीसित चिनजान गराउनुहोस्। चेला अन्द्रियासले येसु नै मसीह हुनुहुन्छ भन्ने कुरा थाह पाएपछि तिनले आफ्नो दाइ पत्रुसलाई येसुकहाँ लगे। (युह. १:४०-४२) हामी पनि त्यस्तै केही गर्न सक्छौँ कि? जस्तै, हामी कहिलेकाहीँ परिवारका सदस्य र नातेदारलाई सभामा बोलाउन सक्छौँ वा अरू भाइबहिनीहरूलाई खाना खान बोलाउँदा तिनीहरूलाई पनि बोलाउन सक्छौँ। तिनीहरूले साक्षीहरू पनि हामीजस्तै साधारण अनि राम्रा मानिसहरू रहेछन् भनेर थाह पाउनेछन्।
१९. परिवारको सदस्य र नातेदारहरूसित हामीले कस्तो व्यवहार गर्नुपर्छ? (१ पत्रुस ३:१५)
१९ पहिलो पत्रुस ३:१५ पढ्नुहोस्। हाम्रो परिवार र नातेदारहरूले हामीले चाडबाड नमनाउनुको कारण राम्ररी नबुझ्लान् तर हामीले तिनीहरूसित दयालु र आदरपूर्ण व्यवहार गरेको भने सधैँ सम्झिनेछन्। तिनीहरूसँग चाडबाड नमनाए पनि हामी तिनीहरूसित अरू नै बेला समय बिताउन सक्छौँ। जस्तै, हामी तिनीहरूलाई भेट्न जान सक्छौँ, सँगै खाना खान सक्छौँ अनि केही उपहारहरू पनि दिन सक्छौँ। यसो गर्दा तिनीहरू खुसी हुनेछन्।
कहिल्यै हार नमान्नुहोस्!
२०. याकुबको उदाहरण हाम्रो लागि किन प्रोत्साहनजनक छ?
२० याकुब पछि मात्र येसुको चेला बने। त्यसैले येसु पृथ्वीमा हुनुहुँदा उहाँसँगै सेवाको काममा भाग लिने मौका पाएनन्। (गला. १:१८, १९; २:९) तर उहाँले सिकाउनुभएका कुराहरूले तिनको मनमा गहिरो छाप पारेको थियो भन्ने कुरा बाइबल विवरणहरूबाट थाह पाउन सक्छौँ। जस्तै, तिनले आफ्नो पत्रमा येसुले डाँडाको उपदेशमा सिकाउनुभएको जस्तै कुराहरू उल्लेख गरेका छन्।d
२१. हामीले किन हार मान्नु हुँदैन?
२१ हामीले परिवारका सदस्य र नातेदारसित राम्रो व्यवहार गर्न र तिनीहरूमा चासो राखेको देखाउन जति नै प्रयास गरे पनि तिनीहरूले हामीसित दयालु व्यवहार नगर्न सक्छन् वा यहोवाबारे सिक्ने इच्छा नदेखाउन सक्छन्। तैपनि हामीले किन हार मान्नु हुँदैन? किनभने हामीले तिनीहरूसित दयालु व्यवहार गर्दा कृपालु परमेश्वर यहोवा र उहाँको छोरा येसुको अनुकरण गरिरहेका हुन्छौँ। (लुका ६:३३, ३६) अनि समयको दौडान हामीबारे तिनीहरूको सोचाइ परिवर्तन हुन सक्छ। हामीले आफ्नो विश्वासबारे बताएका कुराहरू तिनीहरूले बिर्सिसके होलान् जस्तो हामीलाई लाग्ला। तर तिनीहरूले ती कुराहरू सम्झिरहेका हुन सक्छन्। हार मानेनौँ भने तिनीहरूमध्ये कसै-कसैले हामीसँगै मिलेर यहोवाको सेवा गर्न थाल्न सक्छन्। त्यो कत्ति खुसीको क्षण हुनेछ!
गीत ६० जीवन दिने सन्देश
a मे २०२४ को प्रहरीधरहरा-मा “यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हामीलाई के थाह छ?” लेखको पृ. ११ अनु. ११-१३ हेर्नुहोस्।
b येसु फेरि जीवित हुनुभएपछि उहाँका भाइहरूमध्ये कम्तीमा दुई जना याकुब र यहुदा उहाँको चेला बने।
c “विवाह समारोह र अन्त्येष्टिमा जाने कि नजाने?” पेटी हेर्नुहोस्।
d याकुब १:२ र मत्ति ५:११, १२; याकुब १:१९ र मत्ति ५:२२; याकुब १:२२; २:२४ र मत्ति ७:२१; याकुब २:१३ र मत्ति ५:७; ६:१४, १५ तुलना गर्नुहोस्।
e थप जानकारीको लागि मे १५, २००२ र डिसेम्बर १, २००७ को प्रहरीधरहरा-मा “पाठकहरूका प्रश्नहरू” हेर्नुहोस्।
f चित्रको व्याख्या : प्रचारमा जानुअघि एउटी बहिनी आफ्नो श्रीमान्को लागि खाना तयार पारिदिन्छिन्।
g चित्रको व्याख्या: ती बहिनी आफ्नी सासूलाई भेट्न जान्छिन्, जो साक्षी होइनन्।