जीवनी
यहोवाले मलाई अझ असल व्यक्ति बन्न मदत गर्नुभयो
ब्रुक्लिन बेथेलको पहिलो दिन मलाई अझै याद छ। मलाई किताब बाइन्डिङ गर्ने ठाउँमा खटाइएको थियो। त्यहाँ छिर्नेबित्तिकै म अत्तालिएँ। बाइन्डिङ मेसिनको चर्को आवाज, धुलैधुलो अनि मोबिलको ह्वास्स गन्ध।
त्यहाँ मैले थुप्रै कुराहरू याद गरेँ। त्यसमध्ये पनि मलाई सबैभन्दा प्रभावित पारेको कुरा त्यहाँ सेवा गर्ने भाइबहिनीहरू थिए। जवान भाइबहिनीहरू हरेक दिन एउटै काम एकोहोरो गरिरहेको जस्तो देखिन्थ्यो। तिनीहरूको काम खासै अरूलाई याद हुँदैनथ्यो। तैपनि तिनीहरू खुसी र सन्तुष्ट देखिन्थे। तिनीहरूको उदाहरणबाट नम्र हुँदै यहोवाको सेवा गर्नु भनेको के हो भनेर मैले बुझ्न सकेँ।
वर्षौँको दौडान यहोवाले मलाई अझ असल व्यक्ति बन्न मदत गर्नुभएको छ। सानोमा म बौद्ध धर्म मान्थेँ। तर मैले कसरी सत्य भेट्टाएँ, सुरुमा त्यो बताउँछु।
सानैदेखि परमेश्वरको खोजी
मेरो जन्म अमेरिकाको सिकागोमा भयो र म त्यहीँ हुर्किएँ। मेरो एक जना बहिनी र दुई जना भाइहरू छन्। मेरो आमाबुबा अमेरिकामा जीवन अझै राम्रो होला भनेर जापानबाट सिकागो सर्नुभएको थियो। उहाँहरू आफ्नो छोराछोरीले राम्रो शिक्षा पाओस् अनि जीवनमा सफलता हासिल गरोस् भन्ने चाहनुहुन्थ्यो।
मेरो आमाबुबा बौद्ध धर्ममा निकै आस्था राख्नुहुन्थ्यो। मेरी आमा सानी छँदा उहाँहरूको घरमा बुद्धको मन्दिरसमेत थियो। मेरो हजुरबुबा र दुई जना मामा भिक्षु हुनुहुन्थ्यो। त्यसैले म हुर्कँदै गर्दा बौद्ध धर्मले ममा गहिरो प्रभाव पारेको थियो। म स्कुलबाट फर्कनेबित्तिकै बुद्धको मूर्तिअगाडि धूप बाल्थेँ अनि चामल र पानी चढाउँथेँ। अनि आइतबारचाहिँ हामी बुद्धको मन्दिरमा जान्थ्यौँ अनि मन्त्र जप्थ्यौँ। त्यहाँको मन्दिर पनि हाम्रो घरको जस्तै थियो। फरक भनेको त्यो ठूलो थियो र त्यसमा सुनको जलप लगाइएको थियो।
मलाई अझै याद छ, म सात वर्षजतिको छँदा घरमा भएको मूर्तिलाई हेर्दै मैले यस्तो सोचेँ, ‘मरेपछि मलाई के हुन्छ होला?’ मैले बौद्ध धर्ममा मान्छे मरेपछि पनि आत्मा कतै जीवितै रहन्छ भनेर सिकेको थिएँ। अनि मैले सोचेँ, ‘एकदिन मेरो पनि मृत्यु हुन्छ अनि म पनि आत्मा बन्छु र फेरि मानिस बनेर जीवन बिताउन पाउँदिनँ।’ त्यो कुरा सोचेर म एकदमै निराश भएँ अनि बेसहारा महसुस गरेँ।
म १५/१६ वर्षको हुँदादेखि बौद्ध धर्मका रीतिथितिहरू बेतुकको लाग्न थाल्यो। जीवनमा केही कुरा खड्किरहेको जस्तो महसुस हुन्थ्यो। (मत्ति ५:३) मलाई एक जना शक्तिशाली जीवित परमेश्वर पक्कै हुनुपर्छ भन्ने लाग्न थाल्यो। म उहाँलाई चिन्न चाहन्थेँ। परमेश्वर, जीवन र मृत्युसम्बन्धी मेरो मनमा उब्जिएका प्रश्नहरूको जवाफ बाइबलले दिन्छ कि जस्तो लाग्यो। अचम्मै छ, मैले बौद्ध धर्मको मेलामा बाइबल किनेँ!
मलाई सत्य सिकाउनुहुने विल्सन बासोउसित
म १७ वर्ष छँदाको कुरा हो, बाटोमा कुकुरलाई डुलाउँदै गर्दा मेरो भेट विल्सन बासोउ दाइसित भयो। उहाँले सोध्नुभयो, “भविष्यबारे परमेश्वरले कस्तो प्रतिज्ञा गर्नुभएको छ, तिमीलाई थाह छ?” त्यसपछि हाम्रो बाइबलबारे गहन कुराकानी भयो। अनि उहाँले मलाई प्रकाश १७:१ पढेर सुनाउनुभयो अनि सोध्नुभयो, “यहाँ ‘धेरै पानीमाथि’ बस्ने त्यस महावेश्याले केलाई बुझाउँछ?” मलाई जवाफ थाह थिएन। त्यसपछि उहाँले पद १५ देखाउनुभयो। त्यस पदमा पानीको अर्थ मानिस हो भनेर बताइएको छ। यहोवाका साक्षीहरूले बाइबलको अर्थ बुझ्न बाइबल नै प्रयोग गरेको देखेर म प्रभावित भएँ। हामी छुट्टिनुअघि उहाँले मलाई अनन्त जीवनतर्फ लैजाने सत्य (अङ्ग्रेजी) किताब दिनुभयो। त्यो निलो किताबले मेरो जीवन नै परिवर्तन गरिदियो।
त्यसको १० दिनपछि म पहिलो चोटि सभाभवनमा गएँ। त्यहाँ पाएको न्यानो स्वागत म कहिल्यै बिर्सन्नँ। त्यसदेखि यता मैले सभाहरू छुटाएको छैनँ। त्यसपछि मैले विल्सन दाइसित बाइबल अध्ययन सुरु गरेँ। बाइबलबाट आफूले सिकिरहेको कुराहरूप्रति म यति उत्साहित थिएँ कि कहिलेकाहीँ हाम्रो बाइबल अध्ययन आठ घण्टासम्म चल्थ्यो। मैले अध्ययन गरिरहेको कुरा मेरो आमाबुबालाई पटक्कै चित्त बुझेन र उहाँहरूले मेरो एकदमै विरोध गर्न थाल्नुभयो। तर जति अध्ययन गर्दै गएँ, यो नै सत्य हो भन्ने कुरामा म त्यति नै विश्वस्त हुँदै गएँ। मैले १९८३ मा बप्तिस्मा गरेँ।
अग्रगामी सेवा गर्न युनिभर्सिटीको पढाइ छोडेँ
बप्तिस्मा गरेको समयताका म नाम चलेको युनिभर्सिटीमा मेडिकल विषयमा पढ्दै थिएँ। मैले त्यहाँ पढ्न सकोस् भनेर आमाबुबाले ठूलो त्याग गर्नुभएको थियो। हुनत मैले त्यो पढाइ सिध्याउन सक्थेँ तर म पूर्ण-समय सेवा गरेर यहोवालाई उत्तम सेवा चढाउन चाहन्थेँ।
बुबाले मलाई यस्तो धम्की दिनुभएको थियो, “युनिभर्सिटी छोडिस् भने म तँलाई घरबाट निकालिदिन्छु।” म दुःखी भएँ अनि दोधारमा परेँ। म आमाबुबालाई धेरै माया गर्थेँ र उहाँहरूलाई निराश बनाउन चाहँदिनथेँ। म अक्सर राती अबेर युनिभर्सिटीको ग्राउण्डमा जान्थेँ अनि टिलपिल टल्किरहेको आकाशमुनि यसरी प्रार्थना गर्थेँ, “यहोवा बिन्ती छ, मलाई सही निर्णय गर्न मदत गर्नुहोस्।” मैले युनिभर्सिटी छोड्ने नै निर्णय गरेँ र बुबाले मलाई घरबाट निकालिदिनुभयो। त्यसपछि मैले विल्सन दाइलाई फोन गरेर सबै कुरा बताएँ। उहाँले ‘त्यसोभए मेरो घरमा आऊ’ भनेर बोलाउनुभयो। मैले आफ्नो सबै सामान एउटा झोलामा प्याक गरेँ र बस चढेर उहाँको अपार्टमेन्टमा गएँ। त्यतिबेला मैले महसुस गरेको मनोशान्ति म अझै सम्झन्छु। मैले सही निर्णय गरेँ भन्ने कुरामा म विश्वस्त थिएँ।
मैले पिँजडाबाट निस्किएको पक्षीले जस्तै स्वतन्त्र महसुस गरेँ। अब भने म आफ्नो पूरै ध्यान यहोवाको सेवामा केन्द्रित गर्न सक्थेँ। त्यसैले मैले १९८४ मा अग्रगामी सेवा सुरु गरेँ।
नियमित अग्रगामी सेवाको दौडान यहोवाले मलाई थुप्रै असल गुणहरू विकास गर्न मदत गर्नुभयो। त्यसमध्ये एउटा लगनशीलता हो। एकदिनको कुरा हो, मलाई प्रचार जाने खासै इच्छा थिएन किनभने त्यो दिन दिउँसो मसँग प्रचार जाने साथी कोही थिएन। तैपनि म गएँ। दुई घण्टाजति प्रचार गरेपछि अब अन्तिम एउटा अपार्टमेन्ट गरेर फर्कन्छु भनेर सोचेँ। म थकित अनि एक्लो महसुस गरिरहेको थिएँ। अनि पानी पर्ला जस्तो पनि भइरहेको थियो। खासमा मलाई त्यो अन्तिम अपार्टमेन्ट पनि गरौँ कि नगरौँ भइरहेको थियो। म तेस्रो तलामा चढ्दै थिएँ र एक जना फिलिपिनो पुरुष तल झर्दै रहेछन्। मैले मनमनै सोचेँ, ‘उसलाई त्यति चासो छैन होला।’ तर म गलत पो रहेछु। मैले तिनीसित बाइबल अध्ययन सुरु गरेँ र पछि तिनी यहोवाको साक्षी बने।
ब्रुक्लिन बेथेलले मलाई अझ तिखारिन मदत गऱ्यो
विल्सन दाइसँग दुई वर्ष बसेपछि मलाई १९८५ मा ब्रुक्लिन बेथेल बोलाइयो। मैले सुरुमा पनि बताएजस्तै मलाई बाइन्ड्ररीमा खटाइयो। एकदिनको कुरा हो, म इम्बोसिङ मेसिनमा काम गर्दै थिएँ। मैले सयौँ किताबका कभरहरू बिगारेछु। बाइन्ड्ररी अफिसले मलाई त्यसबारे रिपोर्ट गर्न भन्यो। मैले आफ्नो गल्तीका कारणहरू सबै खुलाएर बताएँ तर एउटा महत्त्वपूर्ण कुराचाहिँ छुटाएछु। मेरो निरीक्षकले मलाई दयालुपूर्वक यसो भन्नुभयो, “गल्ती भएपछि माफी माग्नु राम्रो हो।” त्यस दिन मैले सिकेको एउटा महत्त्वपूर्ण कुरा, आफूबाट गल्ती भएपछि त्यसलाई स्विकार्नुपर्छ र माफी माग्नुपर्छ।
ब्रुक्लिनको बाइन्ड्रीमा टुर दिँदै
बेथेलका पाका र वफादार दाइदिदीहरूको असल उदाहरणबाट मैले थुप्रै कुरा सिकेको छु। त्यसमध्ये एउटा अरूलाई मदत गर्ने विषयमा हो। एक दिनको कुरा हो, परिचालक निकायका सदस्य दाइ मिल्टन हेन्सेलसँग म एउटै टेबुलमा खाना खान बसेको थिएँ। त्यो दिन खाना खाने भाइबहिनीहरू सदाभन्दा धेरै हुनुहुन्थ्यो। त्यसैले वेटरहरूलाई टेबुल-टेबुलमा खाना पुऱ्याउन हम्मेहम्मे परिरहेको थियो। अनि हामी जवान भाइहरूचाहिँ खाना ल्याउन कति ढिला गरेको होला भनेर गनगन गर्दै थियौँ। तर हेन्सेल दाइ भने चुपचाप उठ्नुभयो अनि पानी, पाउरोटी र बटर पुऱ्याउन वेटरहरूलाई मदत गर्न थाल्नुभयो। उहाँको त्यस्तो नम्र व्यवहार म कहिल्यै बिर्सन सक्दिनँ। त्यो देख्दा मैले येसुले आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहार सम्झेँ।—युह. १३:३-५.
“तिमीले जापानी भाषा सिक!”
मिचिको ओडा र तिनको पतिसँग
सन् १९८७ मा म जापान गएको थिएँ। त्यहाँका भाइबहिनीहरूले देखाउनुभएको नम्रता र जोस देखेर म प्रभावित भएँ। म त्यहाँ मदत गर्न चाहन्थेँ तर एउटा समस्या थियो। मलाई जापानी भाषा आउँदैनथ्यो। त्यहाँबाट फर्किएपछि बेथेल सेवा गर्नुहुने दिदी मिचिको ओडाले मेरो आँखामा हेरेर यसो भन्नुभयो, “तिमीले जापानी भाषा सिक!” अनि मैले त्यसै गरेँ। उहाँका ती शब्दहरूले मेरो जीवन नै परिवर्तन गरिदिन्छ भनेर मैले त्यतिखेर सोचेको पनि थिइनँ।
त्यसको केही महिनापछि म न्यु योर्कको जापानी भाषाको मण्डलीमा सरेँ। जापानी भाषा सिकेकोले मैले यहोवाको सेवामा अझ धेरै गर्न सकेँ। सन् १९८९ मा म लस एन्जलसमा भएको जापानी भाषाको अधिवेशनमा उपस्थित भएँ। जापानी भाषामा त्यो मेरो पहिलो अधिवेशन थियो। त्यस अधिवेशनको नाटकमा खेलेकी एक बहिनी मिवाको ओनामी मलाई असाध्यै राम्रो लाग्यो। तिनी अग्रगामी गर्दै थिइन्।
मिवाको र मैले १९९२ मा विवाह गऱ्यौँ। त्यसपछि हामीले दम्पतीको रूपमा ब्रुक्लिन बेथेलमा सेवा गर्ने सुअवसर पायौँ। मिवाको विचारशील छिन् र अरूको ख्याल राख्छिन्। तिनी अरूलाई मदत गर्न सधैँ तयार हुन्छिन्। तिनीबाट मैले अरूसित अझ राम्रो व्यवहार गर्न सिकेको छु। तिनी मेरो आनन्द र सान्त्वनाको स्रोत हुन्। तिनलाई म यहोवाले दिनुभएको उपहार ठान्छु।
हाम्रो विवाहको दिन
जापान बेथेल र पछि क्षेत्रमा सेवा गर्दै
केही समयपछि मेरो सासू-ससुरा गम्भीर बिरामी पर्नुभयो। उहाँहरू जापानमा बस्नुहुन्थ्यो। उहाँहरूको हेरचाह गर्न सकियोस् भनेर हामीलाई जापान बेथेल सर्ने अनुमति दिइयो। यो हाम्रो लागि निकै मायालु प्रबन्ध थियो। हामी १९९९ मा त्यहाँ सऱ्यौँ।
जापान बेथेलमा हामीले न्यानो स्वागत पायौँ र त्यहाँ हामी घुलमिल हुन थाल्यौँ। जापानका भाइबहिनीहरूको राम्रा गुणहरूले पनि मलाई अझ असल व्यक्ति बन्न मदत गरेको छ। जस्तै, उहाँहरूको उदार मनोभाव र अतिथि-सत्कार देखाउने बानी। यहाँका भाइबहिनीहरू कामप्रति गम्भीर हुनुहुन्छ र जुनसुकै काम पनि ध्यान दिएर गर्नुहुन्छ। उहाँहरूमा भएको एउटा राम्रो गुण भनेको उहाँहरू समूहमा पनि मिलेर काम गर्न सक्नुहुन्छ। त्यसको एउटा कारण, जापानी संस्कृतिमा व्यक्तिगत उपलब्धिमा ध्यान दिनुभन्दा अरूसित मिलेर काम गर्न सिकाइन्छ। उहाँहरूको असल उदाहरणले मलाई नम्र भई अरूसित मिलेर काम गर्न मदत गरेको छ। साथै यहोवाको सेवामा मैले गरेको सानो कामले पनि उहाँको उद्देश्यमा केही न केही टेवा पुऱ्याइरहेको हुन्छ भनेर सम्झन मदत गरेको छ।
तर म जुन समाजमा हुर्किएँ, त्यो जापानी संस्कृतिभन्दा बिलकुलै फरक थियो। त्यसैले भाइहरूले कुनै-कुनै मामिला सम्हाल्नुभएको तरिका बुझ्न मलाई गाह्रो लाग्थ्यो। मैले धीरजी हुन र कुनै पनि कुरामा तुरुन्तै प्रतिक्रिया नदेखाउन सिक्नुपऱ्यो। तर पछि मैले आफ्नो सोचाइमा छाँटकाँट गरेँ। अनि यहोवाले आफ्नो सङ्गठनमार्फत दिनुभएको निर्देशनअनुसार निर्णय गऱ्यौँ भने त्यसमा उहाँले आशिष् दिनुहुन्छ भनेर सिकेँ। आखिरमा हाम्रो कामलाई सफल बनाउने यहोवा नै हुनुहुन्छ।
मैले बेथेलमा पाएको तालिमलाई म अक्सर मोसाले पाएको तालिमसित तुलना गर्छु। मोसाले ४० वर्ष गोठालोको रूपमा काम गरे। त्यतिखेर यहोवाले तिनलाई नम्र हुन मदत गर्नुभयो। मोसाले जस्तै मैले पनि उच्च शिक्षा हासिल गरेको थिएँ। त्यसले गर्दा ममा अहमताको भावना र आफैमा भर पर्ने झुकाव थियो। बेथेलले मलाई नम्र हुन र यहोवामा भर पर्न सिकायो। यहोवाले धीरजी हुँदै मोसालाई अझ असल व्यक्ति बन्न मदत गर्नुभएजस्तै वर्षौँको दौडान मलाई पनि मदत गर्नुभएको छ।
जापान बेथेलमा काम गर्दै
हामीले करिब २४ वर्षसम्म मिवाकोको आमाबुबाको हेरचाह गऱ्यौँ। त्यस दौडान हामीले थुप्रै चिन्ताजनक अवस्थाहरूको सामना गर्नुपऱ्यो। थुप्रै पटक मिवाकोको आमाबुबा र डाक्टरहरूलाई फोन गऱ्यौँ र धेरै पटक हस्पिटल धायौँ। मेरो सासूको अवस्था दिन प्रतिदिन बिग्रँदै गयो। बिस्तारै उहाँ चलहल गर्न नसक्ने हुनुभयो। उहाँलाई प्रचार र सभामा जान गाह्रो थियो। उहाँका अन्तिम हप्ताहरू ह्विलचेयरमै बित्यो। यस्तो अवस्थामा पनि यहोवाप्रतिको उहाँको प्रेम कहिल्यै सेलाएन। सत्यबारे अरूलाई बताउन पाउँदा उहाँको मुहार सधैँ उज्यालो हुन्थ्यो। मेरो सासूले आफ्नो अवस्था जस्तोसुकै भए पनि यहोवाको सेवा गर्नुभयो अनि उहाँ सधैँ खुसी र सन्तुष्ट हुनुहुन्थ्यो। उहाँको उदाहरणबाट पनि मैले धेरै कुरा सिकेँ।
मिवाकोसँगै ओकिनावामा प्रचारकार्यमा भाग लिँदै
सन् २०२४ मा हाम्रो जीवनमा अर्को ठूलो परिवर्तन भयो। बेथेल सेवामा ३० वर्षभन्दा धेरै बिताएपछि हामीलाई क्षेत्रमा खटाइयो। अहिले हामी विशेष अग्रगामीको रूपमा ओकिनावामा सेवा गर्दै छौँ। यहाँ थुप्रै आर्मी क्याम्पहरू भएकोले उनीहरूको परिवारहरूलाई साक्षी दिने मौका पाएका छौँ। बेथेलमा पाएको तालिमले गर्दा यो नयाँ असाइनमेन्टमा भिज्न हामीलाई सजिलो भयो। हामी राम्रो तालिकाअनुसार चल्ने कोसिस गर्दै छौँ। साथै हामी समयको पूर्ण सदुपयोग गर्दै आफ्नो ध्यान प्रचारमा केन्द्रित गर्न र लगनशील हुन प्रयास गर्दै छौँ। यहोवाको आशिष्ले गर्दा हामीले थुप्रै बाइबल अध्ययनहरू पाएका छौँ। उहाँहरू हाम्रो परिवारजस्तै हुनुहुन्छ। अहिले हामीले मानिसहरूलाई प्रेम गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर अझ राम्ररी बुझ्न सकेका छौँ। मिवाको र म यो नयाँ असाइनमेन्टको लागि यहोवालाई हरेक दिन धन्यवाद दिन्छौँ।
म अझ असल व्यक्ति बन्न कटिबद्ध छु
मेरो परिवारले अहिले मेरो विरोध गर्नुहुन्न तर उहाँहरूले शुद्ध उपासनालाई स्विकार्नुभएको पनि छैन। तर जसले सुसमाचारको खातिर आफ्नो परिवार छोड्छ, उसले १०० गुणा धेरै परिवार पाउनेछ भनेर येसुले प्रतिज्ञा गर्नुभएको थियो। (मर्कु. १०:२९, ३०) मैले यो कुरा साँच्चै अनुभव गर्न सकेको छु। मलाई आफ्नो परिवारको भाग ठान्ने अनि मेरो ख्याल राख्ने भाइबहिनीहरू विभिन्न देशमा हुनुहुन्छ। उहाँहरू यत्ति धेरै हुनुहुन्छ कि म औँलामा गन्नै सक्दिनँ।
विल्सन दाइले दिनुभएको त्यो सत्य किताब मसँग अझै छ। यहोवालाई भेट्टाउन उहाँले मलाई कसरी मदत गर्नुभयो भनेर त्यो निलो किताबले सधैँ सम्झाइरहन्छ। (१ इति. २८:९) यहोवाको मदत पाएर अझ असल व्यक्ति र अरूलाई अनन्त जीवनतर्फ लैजाने सत्य सिकाउन म कटिबद्ध छु।