बिग्रिएको सम्बन्ध सुधार्न तुरुन्तै कदम चाल्नुहोस्!
के तपाईँलाई कुनै भाइ वा बहिनीले चित्त दुखाएको छ? अनि त्यसले गर्दा तपाईँहरूको सम्बन्ध बिग्रिएको छ कि? बिग्रिएको सम्बन्ध सुधार्न र फेरि मित्रता गाँस्न तपाईँले सही मनसाय राखेर तुरुन्तै कदम चाल्नुपर्छ।a
एउटा उदाहरण विचार गरौँ। कसैको खुट्टा भाँचिएको छ भने हड्डी फेरि जोडियोस् भनेर तिनले प्लास्टर गराइहाल्नुपर्छ। त्यसो गरेन भने भाँचिएको ठाउँमा पछिसम्म पनि दुखिरहन सक्छ। यतिसम्म कि हड्डी राम्रोसँग नजोडिएकोले तिनलाई हिँडडुल गर्न समेत समस्या हुन सक्छ।
त्यसैगरि कुनै भाइ वा बहिनीसितको सम्बन्ध बिग्रिएको छ भने त्यसलाई सुधार्न तुरुन्तै कदम चालिहाल्नुपर्छ। यदि त्यसो गरिएन भने मनको चोट निको नहुन सक्छ। अनि तिक्तता बढेर सम्बन्ध सधैँको लागि टुट्न पनि सक्छ। यस विषयमा येसुले यसो भन्नुभयो: “झट्टै मिलाप गरिहाल।” (मत्ति ५:२५, संशोधित संस्करण) त्यसैले आफ्नो साथीसित दयालुपूर्वक कुरा गर्न अघि सर्नुहोस् र चित्त दुखेको कुरा स्पष्टसित बताउनुहोस्। यसो गर्न किन गाह्रो हुन सक्छ? यसको दुइटा कारण विचार गरौँ।
पहिलो, समस्याबारे कुरा गर्न अप्ठ्यारो लागेकोले तपाईँ त्यसलाई सुल्झाउन कदम चाल्नुको साटो पन्छाउन खोज्नुहुन्छ होला।b दुई ख्रिष्टियन बहिनी इयोदिया र सिन्तकेबारे विचार गरौँ। उनीहरूबीच मतभिन्नता भएको थियो। तिनीहरूबीच भएको समस्या लामो समयसम्म रहिरह्यो जस्तो देखिन्छ किनभने टाढा रोममा भएका पावलले पनि त्यसबारे सुने। पावलले तिनीहरूलाई बिग्रिएको सम्बन्ध सुधार्न सक्दो प्रयास गर्न आग्रह गरे। (फिलि. ४:२) तिनीहरूले सम्बन्ध सुधार्न के गर्नुपर्थ्यो? तिनीहरू नम्र हुनुपर्थ्यो, खुलेर कुराकानी गर्नुपर्थ्यो र एकअर्कालाई मनैदेखि क्षमा दिनुपर्थ्यो।
दोस्रो, तपाईँलाई यस्तो लाग्न सक्छ: ‘मेरो गल्ती होइन, त्यसैले ऊ नै आएर माफी माग्नुपर्छ।’ तर महत्त्वपूर्ण कुरा, को सही र को गलत भन्ने होइन बरु बिग्रिएको सम्बन्ध सुधार्नु हो। डाक्टरले पनि हड्डी कसरी भाँचियो भनेर निधीखुदी गर्दैनन्। बरु कसरी निको पार्ने भन्ने कुरामा ध्यान दिन्छन्। त्यसैले साथीसित कुरा गर्दा कसले गर्दा मतभेद भयो भन्ने कुरामा मात्र ध्यान नदिनुहोस्। तिनीसितको मित्रतालाई तपाईँ मोल गर्नुहुन्छ भन्ने कुरा सम्झनुहोस् र सम्बन्ध सुधार्न फेरि के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुहोस्।
कुनै भाइ वा बहिनीसित तपाईँको सम्बन्ध बिग्रिएको छ भने तिनीसित आजै कुरा गर्नुभए कसो होला? बाइबल भन्छ: “घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्।” (एफि. ४:२६) बिग्रिएको सम्बन्ध सुधार्न तुरुन्तै कदम चाल्नुभयो भने “शान्तिको बन्धन” कायम राख्न मदत पुऱ्याइरहनुभएको हुनेछ।—एफि. ४:१-३.
a कुनै दुई ख्रिष्टियनबीच सानोतिनो मतभिन्नता भएको छ भने त्यसलाई आपसमै सुल्झाउनुपर्छ र एकअर्कालाई क्षमा दिनुपर्छ। (मत्ति ५:२३, २४) तर समस्या गम्भीर खालको हो भने एल्डरहरूको मदत लिनुपर्ने हुन सक्छ। (मत्ति १८:१७) तर एल्डरहरूको मदत लिनुअघि तिनले मत्ति १८:१५, १६ मा दिइएअनुसार कदम चालिसकेको हुनुपर्छ।
b कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाएका छन् तर त्यसले हाम्रो मित्रतालाई बिगार्दैन भने त्यसलाई बिर्सिदिनु नै बेस हो।—हितो. २६:२०.