प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 जुलाई पृ. २०-२५
  • यहोवालाई चिन्‍न अरूलाई मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई चिन्‍न अरूलाई मदत गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई राम्ररी चिन्‍न बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्‌
  • बाइबल विद्यार्थीलाई यहोवाबारे सिकाउनुहोस्‌
  • बाइबल विद्यार्थीलाई सिकेको कुरा लागू गर्न मदत गर्नुहोस्‌
  • यहोवालाई राम्ररी चिन्दा पाइने आशिष्‌हरू
  • बाइबल विद्यार्थीलाई सत्यको पक्षमा अडान लिन मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 जुलाई पृ. २०-२५

सेप्टेम्बर २८–अक्टोबर ४, २०२६

गीत ७९ दृढ हुन सिकाऔँ!

यहोवालाई चिन्‍न अरूलाई मदत गर्नुहोस्‌

“अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई चिन्‍नुपर्छ।”—युह. १७:३.

सिक्न सकिने कुरा

बाइबल विद्यार्थीलाई यहोवालाई चिन्‍न मदत गर्नुहोस्‌। यसमा उहाँलाई खुसी बनाउने र दुःखी बनाउने कुराहरू के हुन्‌ भनेर सिकाउनु समावेश छ।

१. बाइबल विद्यार्थीले प्रगति गर्दै जाँदा तपाईँलाई कस्तो लाग्छ?

तपाईँको बाइबल विद्यार्थी पहिलो चोटि सभामा उपस्थित हुँदा, तिनले टिप्पणी दिन थाल्दा, आफ्नो विश्‍वासबारे अरूलाई बताउन थाल्दा र यहोवालाई आफ्नो जीवन समर्पण गर्दा तपाईँलाई कस्तो लागेको थियो? पक्कै पनि तपाईँ धेरै खुसी हुनुभएको थियो। बाइबल विद्यार्थीले आध्यात्मिक प्रगति गर्नुको पछाडि यहोवा परमेश्‍वरको हात छ भनेर हामीलाई थाह छ। त्यसैले हामी उहाँको प्रशंसा गर्छौँ।—१ कोरि. ३:५-९; ३ युह. ३, ४.

२. यहोवा के चाहनुहुन्छ? (१ तिमोथि २:३, ४)

२ यहोवा “सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।” (१ तिमोथि २:३, ४ पढ्‌नुहोस्‌।) यहोवा मानिसहरूले उहाँलाई चिनेको र उहाँका उद्देश्‍यहरू अझ राम्ररी थाह पाएको चाहनुहुन्छ। (यर्मि. ९:२४) यसको लागि तिनीहरूले सही ज्ञान लिनुपर्छ। सही ज्ञान भनेको परमेश्‍वरबारे ज्ञान हासिल गर्नु मात्र होइन। बरु एक बाइबलविद्‌ले भनेअनुसार “सिकेका कुराहरूले तिनलाई आफ्नो जीवनमा परिवर्तन गर्न उत्प्रेरित गर्नुपर्छ।” बाइबल विद्यार्थीले यहोवालाई राम्ररी चिन्‍न थालेपछि आफ्नो जीवनमा छाँटकाँट गर्न थाल्छन्‌। अनि यसो गर्दा तिनले ‘अनन्त जीवनको’ आशा पनि पाउँछन्‌।—युह. १७:३.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ यहोवाले हामीलाई एउटा विशेष सुअवसर दिनुभएको छ। त्यो हो, उहाँलाई चिन्‍न अरूलाई मदत गर्ने। यस लेखमा हामी निम्न प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: बाइबल विद्यार्थीहरूले किन यहोवालाई राम्ररी चिन्‍नुपर्छ? हामी तिनीहरूलाई यहोवाबारे कसरी सिकाउन सक्छौँ? यहोवाबारे सिकेका कुराहरू आफ्नो जीवनमा लागू गर्न तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

यहोवालाई राम्ररी चिन्‍न बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्‌

४. बाइबल अध्ययन गराउनुको हाम्रो मुख्य लक्ष्य के हुनुपर्छ? (मर्कुस १२:३०)

४ येसुले सबैभन्दा महत्त्वपूर्ण आज्ञा परमेश्‍वरलाई आफ्नो सारा हृदय, सारा ज्यान, सारा दिमाग र सारा बलले प्रेम गर्नु हो भन्‍नुभयो। (मर्कुस १२:३० पढ्‌नुहोस्‌।) त्यसरी प्रेम गर्न बाइबल विद्यार्थीले यहोवालाई राम्ररी चिनेको हुनुपर्छ। बाइबल विद्यार्थीले हामीसित वा कुनै साक्षीसित साथी बन्‍न चाहेकोले वा कुनै बाइबल शिक्षा मन परेकोले होइन, बरु यहोवाप्रतिको प्रेमले गर्दा बप्तिस्मा गरेको हामी चाहन्छौँ। त्यसैले बाइबल अध्ययन गराउनुको हाम्रो मुख्य लक्ष्य विद्यार्थीलाई यहोवालाई चिन्‍न र उहाँलाई प्रेम गर्न मदत गर्ने हुनुपर्छ।

५. यहोवाप्रतिको प्रेमले तपाईँको बाइबल विद्यार्थीलाई के गर्न उत्प्रेरित गर्नेछ?

५ प्रेम र आज्ञाकारिताबीच गहिरो सम्बन्ध छ। तपाईँको बाइबल विद्यार्थीले यहोवालाई चिन्‍न र प्रेम गर्न थालेपछि उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुनेछन्‌। येसुले यसो भन्‍नुभयो: “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु ताकि म बुबालाई प्रेम गर्छु भनी संसारले जानोस्‌।” (युह. १४:३१) येसुलाई जस्तै तपाईँको बाइबल विद्यार्थीलाई पनि यहोवाप्रतिको प्रेमले उहाँको आज्ञा पालन गर्न र उहाँप्रति वफादार हुन उत्प्रेरित गर्नेछ।—१ युह. ५:३.

६. यहोवालाई चिन्दै जाँदा बाइबल विद्यार्थीले कसरी सही निर्णय गर्न सक्छन्‌? एउटा उदाहरण दिनुहोस्‌।

६ बाइबल विद्यार्थीले यहोवालाई जति राम्ररी चिन्छन्‌, तिनीहरूले उहाँको इच्छाअनुसार निर्णय गर्ने सम्भावना पनि त्यति नै धेरै हुन्छ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, कुनै व्यक्‍ति मोटरसाइकल चलाउन चाहन्छन्‌। तर अरूले मोटरसाइकल चलाएको हेरेर वा किताब पढेर मात्र तिनले सिक्न सक्दैनन्‌। बरु आफैले मोटरसाइकल चलाउने कोसिस गर्नुपर्छ र घण्टौँ अभ्यास गर्नुपर्छ। यसरी हासिल गरेको अनुभवले तिनलाई बाटोमा आइपर्ने विभिन्‍न अवस्थाहरूको लागि तयार बनाउँछ र जस्तोसुकै अवस्था आइपरे पनि तिनले राम्ररी मोटरसाइकल चलाउन सक्नेछन्‌। त्यसैगरि यहोवालाई चिन्‍न विद्यार्थीले बाइबल अध्ययन गरेर मात्र पुग्दैन। बरु उहाँको इच्छाअनुसार निर्णय गर्दा जीवन राम्रो हुन्छ भन्‍ने कुरा तिनी आफैले अनुभव गर्नुपर्छ। यसरी यहोवालाई चिन्दै जाँदा अनि उहाँको मदत अनुभव गर्दै जाँदा जस्तोसुकै परिस्थितिमा पनि तिनले सही निर्णय गर्न सक्नेछन्‌।

७. यहोवालाई राम्ररी चिनेकोले युसुफले कसरी सही निर्णय गर्न सके?

७ युसुफले यहोवालाई राम्ररी चिनेकोले पोतिफरकी पत्नीले यौनसम्बन्ध राख्ने प्रस्ताव राख्दा तिनले अस्वीकार गर्न सके। यहोवाले आदमको लागि हव्वा बनाइदिनुभएको कुरा युसुफले सानो छँदा सुनेका थिए। त्यसैगरि अब्राहामकी पत्नी सारालाई अर्कै पुरुषले पत्नी बनाउन खोज्दा के भयो, त्यो पनि तिनले सुनेका थिए। (उत्प. २:२४; २०:३, ६) ती विवरणहरूबाट यहोवा विवाहप्रति र यौनसम्बन्धप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर तिनले बुझेको हुनुपर्छ। तिनले यहोवालाई यति राम्ररी चिनेका थिए कि पोतिफरकी पत्नीले यौनसम्बन्ध राख्ने प्रस्ताव राख्दा तिनले तुरुन्तै अस्वीकार गरे र यसो भने: “यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?” (उत्प. ३९:७-९) युसुफलाई यहोवाको नजरमा के सही छ अनि के गलत छ भनेर थाह थियो। साथै कुन कुराले यहोवालाई दु:खी बनाउँछ भनेर पनि तिनले बुझेका थिए। त्यसैले तिनले सही निर्णय गर्न सके। यदि हामीले आफ्ना बाइबल विद्यार्थीहरूलाई यहोवा कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्न र उहाँलाई राम्ररी चिन्‍न मदत गऱ्‍यौँ भने तिनीहरूले पनि उहाँलाई खुसी बनाउने निर्णयहरू गर्न सक्नेछन्‌।

बाइबल विद्यार्थीलाई यहोवाबारे सिकाउनुहोस्‌

८. सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब प्रयोग गरेर तपाईँ कसरी बाइबल विद्यार्थीलाई यहोवालाई राम्ररी चिन्‍न मदत गर्न सक्नुहुन्छ?

८ तपाईँ बाइबल विद्यार्थीलाई कसरी यहोवाबारे सिकाउन सक्नुहुन्छ? यहोवाले अय्युबलाई आफू कस्तो परमेश्‍वर हुँ भनेर बुझाउन ५० वटाभन्दा धेरै प्रश्‍न सोध्नुभयो। (अय्यु. ३८:१–४१:३४) हामी पनि प्रश्‍नहरू सोध्न सक्छौँ। जस्तै, सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा थुप्रै प्रश्‍न छन्‌। ती प्रश्‍नहरू विद्यार्थीले यहोवालाई अझ राम्ररी चिन्‍न सकोस्‌ भनेर तयार पारिएका हुन्‌। (“केही मदतकारी प्रश्‍नहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) त्यसैले किताबमा भएका प्रश्‍नहरू प्रयोग गर्नुहोस्‌। यस्ता प्रश्‍नहरू प्रयोग गरेर विद्यार्थीलाई यहोवालाई अझ राम्ररी चिन्‍न मदत गर्नुहोस्‌।

एउटी बहिनी आफ्नो बाइबल विद्यार्थीले “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताबको पाठ १७ मा सोधिएको प्रश्‍नको जवाफ दिँदा ध्यान दिएर सुन्दै छिन्‌।

केही मदतकारी प्रश्‍नहरू

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा थुप्रै प्रश्‍नहरू छन्‌। ती प्रश्‍नहरू विद्यार्थीले यहोवालाई अझ राम्ररी चिन्‍न सकोस्‌ भनेर तयार पारिएका हुन्‌। केही उदाहरण विचार गरौँ:

  • “सुसमाचार सुनाउने मानिसहरू यहोवालाई कस्तो लाग्छ?“(पाठ २१)

  • “तपाईँले यहोवा र येसुबारे सिकेको कुराबाट [आरमागेडोनमा] उहाँहरूका कामहरू न्यायी र निष्पक्ष हुनेछन्‌ भनेर किन पक्का हुन सक्नुहुन्छ?“(पाठ ३३)

  • “तपाईँ बुद्धिमान्‌ र यहोवाप्रति आज्ञाकारी हुनुभयो भने उहाँलाई कस्तो लाग्छ? किन?“(पाठ ३४)

  • “तपाईँको विचारमा हामीले यहोवालाई प्रेम नगर्ने व्यक्‍तिसित विवाह गर्ने निर्णय गऱ्‍यौँ भने उहाँलाई कस्तो लाग्नेछ?“(पाठ ४२)

  • “क्षमा गर्ने सन्दर्भमा यहोवा कत्तिको महान्‌ हुनुहुन्छ?“(पाठ ५६)

  • “यहोवाले पापीहरूसित गर्नुहुने व्यवहारले उहाँ व्यावहारिक, कृपालु र मायालु हुनुहुन्छ भनेर कसरी देखाउँछ?“(पाठ ५७)

९-१०. (क) बाइबल पढाइबाट पूरापूर लाभ उठाउन बाइबल विद्यार्थीलाई कसरी मदत गर्न सक्छौँ? (याकुब ५:११) (ख) कुनै बाइबल विवरणले यहोवालाई खुसी बनाउने अनि दु:खी बनाउने कुराहरूबारे बुझ्न कसरी मदत गर्छ? एउटा उदाहरण बताउनुहोस्‌।

९ बाइबल अध्ययनको सुरुसुरुतिर नै हामी विद्यार्थीलाई बाइबल पढ्‌ने बानी बसाल्न प्रोत्साहन दिन्छौँ।a बाइबल पढाइबाट पूरापूर लाभ उठाउन हामी तिनलाई कसरी मदत दिन सक्छौँ? प्रत्येक चोटि बाइबलको कुनै भाग पढ्‌दा यहोवाले त्यो भाग किन बाइबलमा समावेश गर्न लगाउनुभयो र त्यसमा उहाँका के-कस्ता गुणहरू झल्किन्छन्‌ भनेर सोच्न प्रोत्साहन दिनुहोस्‌। उदाहरणको लागि, चेला याकुबले अय्युबको विवरणबाट के-कस्ता कुराहरू सिके, याद गर्नुहोस्‌। याकुबले अय्युब सहनशील थिए भन्‍ने कुरा मात्र होइन, यहोवा कोमल र कृपालु हुनुहुन्छ भन्‍ने कुरा पनि याद गरे।—याकुब ५:११ पढ्‌नुहोस्‌।

१० बाइबल विवरण पढ्‌दा कुन कुराले यहोवालाई खुसी बनाउँछ वा कुन कुराले दु:खी बनाउँछ भनेर विद्यार्थीहरूले याद गरेको हामी चाहन्छौँ। मानौं, तपाईँको विद्यार्थीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको “बाइबल पढ्‌न थाल्नुहोस्‌” भन्‍ने चार्ट हेर्छन्‌। त्यसबाट तिनले “सिंहहरूको खोरमा दानिएल” भन्‍ने भाग रोज्छन्‌। त्यो विवरण पढ्‌दा तपाईँ तिनलाई यस्ता प्रश्‍नहरूमा मनन गर्न प्रोत्साहन दिन सक्नुहुन्छ: ‘यहोवाले किन दानिएललाई बचाउनुभयो? यसबाट यहोवालाई कुन कुराले खुसी बनाउँछ भन्‍नेबारे म के सिक्न सक्छु?’ (दानि. ६:१०, २२) यस्ता प्रश्‍नहरूबारे पनि विचार गर्न हामी तिनलाई सुझाव दिन सक्छौँ: ‘दानिएललाई दोष लगाउने मानिसहरूलाई के भयो? यसबाट यहोवालाई कुन कुराले दु:खी बनाउँछ भन्‍नेबारे म के सिक्न सक्छु?’ (दानि. ६:४, ५, २४) साथै त्यस विवरणबाट यहोवाका अरू कस्ता गुणहरूबारे सिक्न सक्छौँ भनेर पनि विचार गर्न प्रोत्साहन दिन सक्छौँ।—दानि. ६:२६, २७.

११. विद्यार्थीले जे-जति सिकिरहेका छन्‌, त्यसको स्रोत यहोवा हुनुहुन्छ भनेर बुझ्न मदत दिनु किन महत्त्वपूर्ण छ?

११ विद्यार्थीले बाइबल अध्ययनबाट लाभ उठाइरहेको कुरा बताउँदा हामीलाई खुसी लाग्छ। तर तिनले जे-जति सिकिरहेका छन्‌, ती सबको स्रोत महान्‌ शिक्षक यहोवा हुनुहुन्छ भनेर बुझ्न हामीले तिनलाई मदत गर्नुपर्छ। (यसै. ३०:२०, २१) तिनले आफूले सिकिरहेका कुराहरूको लागि हामीलाई धन्यवाद देलान्‌ र हाम्रो सिकाउने तरिकाको प्रशंसा समेत गर्लान्‌। हुनत त्यसरी कृतज्ञता देखाउनु गलत होइन तर त्यस्तो प्रशंसा र कृतज्ञतालाई हामीले यहोवातिर मोड्‌नुपर्छ।

बाइबल विद्यार्थीलाई सिकेको कुरा लागू गर्न मदत गर्नुहोस्‌

१२-१३. विद्यार्थीलाई बाइबलको कुनै विवरण बुझ्न गाह्रो लाग्दा तपाईँ तिनलाई कसरी मदत गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ सही ज्ञानबाट पूरापूर लाभ उठाउन हामीले सिकेको कुरा लागू गर्नुपर्छ। त्यसो गर्न तपाईँ आफ्नो विद्यार्थीलाई कसरी मदत गर्न सक्नुहुन्छ? पहिलो, तिनलाई कुनै बाइबल विवरण बुझ्न गाह्रो लागिरहेको छ भने तिनलाई यहोवाबारे थाह भएका कुराहरू सम्झन मदत गर्नुहोस्‌। उदाहरणको लागि, यहोवाले विगतमा न्याय गर्नुभएका विवरणहरू पढ्‌दा तिनलाई मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘यहोवाले किन केही मानिसहरूलाई नाश गर्नुभयो तर केहीलाई भने जोगाउनुभयो? तपाईँ कसरी आफ्नो विद्यार्थीलाई सही निष्कर्षसम्म पुग्न मदत गर्न सक्नुहुन्छ?’

१३ तपाईँ विद्यार्थीलाई यहोवाबारे सिकिसकेका कुराहरूबारे सोच्न प्रोत्साहन दिन सक्नुहुन्छ। जस्तै, तपाईँ तिनलाई यी प्रश्‍नहरूबारे सोच्न सुझाव दिन सक्नुहुन्छ: ‘यहोवा जीवनलाई कत्तिको अनमोल ठान्‍नुहुन्छ? (२ पत्रु. ३:९) हामी पापी भएपनि हामीलाई बचाउन उहाँले कस्तो त्याग गर्नुभयो? (एफि. २:४, ५) के यहोवा निर्दोष व्यक्‍तिलाई सजाय दिनुहुन्छ? अनि के उहाँ दोषीलाई सजाय नदिई उम्कन दिनुहुन्छ?’ (प्रस्थ. ३४:६, ७) कुनै-कुनै बाइबल विवरणमा सबै कुरा विस्तृत रूपमा बताइएको हुँदैन। त्यसले गर्दा यहोवाले किन कुनै कदम चाल्नुभयो भनेर हामी बुझ्न सक्दैनौँ। वास्तवमा हामीले सबै कुरा थाह पाइरहनु आवश्‍यक छैन। हामी हाम्रा परमेश्‍वरलाई राम्ररी चिन्छौँ अनि उहाँ जे गर्नुहुन्छ, सधैँ सही गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त छौँ।

चित्रहरूको सँगालो: अघिल्लो चित्रमा देखाइएकी बहिनी आफ्नो बाइबल विद्यार्थीले सिकेका कुराहरू फेरि दोहोऱ्‍याउँदै छिन्‌। १. यहोवा स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। २. आदम र हव्वा निषेध गरिएको फल हातमा लिएर हेर्दै छन्‌। ३. कुर्कुच्चोले सर्पको शिर कुच्याइँदै छ। ४. जलप्रलय हुँदा नुहको जहाज पानीमा तैरिँदै छ। ५. मोसा लाल समुद्रलाई दुई फ्याक पार्दै छन्‌। ६. यरिहोको पर्खाल ढल्दा राहाबको घर भने जोगाइन्छ। ७. एबेद-मेलेक यर्मियालाई इनारबाट बाहिर निकाल्दै छन्‌। ८. येसुलाई यातनाको खम्बामा झुन्ड्याइएको छ।

तपाईँको विद्यार्थीलाई कुनै बाइबल विवरण बुझ्न गाह्रो लागिरहेको छ भने तिनलाई यहोवाबारे थाह भएका कुराहरू सम्झन मदत गर्नुहोस्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)


१४. मण्डलीको कुनै भाइबहिनीले गर्दा विद्यार्थीको चित्त दुखेको छ भने तपाईँ तिनलाई कसरी मदत गर्न सक्नुहुन्छ?

१४ विद्यार्थीलाई सिकेको कुरा लागू गर्न मदत दिने दोस्रो तरिका विचार गरौँ। मानिलिनुहोस्‌, तपाईँको विद्यार्थी सभाहरूमा उपस्थित हुन थालेका छन्‌। तर कुनै भाइबहिनीको बोली वा व्यवहारले गर्दा तिनको चित्त दुखेको छ। यस्तो अवस्थामा यहोवा हाम्रा भाइबहिनीप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर सोच्न विद्यार्थीलाई प्रोत्साहन दिन सक्नुहुन्छ। जस्तै, तिनी आफूलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌: ‘त्यो भाइ वा बहिनीलाई प्रेम देखाउन यहोवाले कस्तो त्याग गर्नुभएको छ? (युह. ३:१६) हाम्रो एकता यहोवाको लागि कत्तिको महत्त्वपूर्ण छ? (भज. १३३:१) हामीबीचको एकता जोगाउन हामीले प्रयास गरेको देख्दा यहोवालाई कस्तो लाग्छ? (२ कोरि. १३:११)’ भाइबहिनीको कमीकमजोरीमा नभई तिनीहरूका राम्रा गुणहरूमा ध्यान दिँदा यहोवा धेरै खुसी हुनुहुन्छ भनेर बुझ्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

१५-१६. (क) महत्त्वपूर्ण निर्णय गर्नुपर्दा बाइबल विद्यार्थीले कसरी येसुको अनुकरण गर्न सक्छन्‌? (युहन्‍ना ८:२९) (ख) मारियानले आफ्नो बाइबल विद्यार्थीलाई सही निर्णय गर्न कसरी मदत गरिन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१५ तेस्रो, सही निर्णय गर्नको लागि यहोवाबारे सिकेका कुराहरू प्रयोग गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌। सुरुमा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको “हामी कसरी सही निर्णय गर्न सक्छौँ?” भन्‍ने विषय भएको पाठ ३५ देखाउन सक्नुहुन्छ। तर तपाईँको विद्यार्थीले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गरिसकेका छन्‌, प्रार्थना पनि गरिसकेका छन्‌ तर अझै निर्णय गर्न सकिरहेका छैनन्‌ भने नि? तिनी थुप्रै बाइबल सिद्धान्तहरूमध्ये आफूलाई कुन चाहिँ लागू हुन्छ भनेर अलमलिरहेका हुन सक्छन्‌। तपाईँ तिनलाई येसुको उदाहरणबारे सोच्न प्रोत्साहन दिन सक्नुहुन्छ। येसुले कस्ता निर्णयहरू गर्नुभयो? उहाँले भन्‍नुभयो: “म सधैँ [बुबालाई] मन पर्ने कामहरू गर्छु।” (युहन्‍ना ८:२९ पढ्‌नुहोस्‌।) सायद तपाईँको बाइबल विद्यार्थीले अनुसन्धान गरिसके र तिनले यहोवाबारे थुप्रै कुरा पनि सिकिसके। त्यसको आधारमा तपाईँ तिनलाई यस्तो सोच्न प्रोत्साहन दिन सक्नुहुन्छ: ‘मैले कस्तो निर्णय गरेँ भने यहोवा खुसी हुनुहुन्छ?’ यहोवालाई खुसी बनाउने जुनै पनि निर्णय सही निर्णय हो भन्‍न सकिन्छ।

१६ चिलीमा बाइबल अध्ययन गरिरहेकी एक स्त्रीले एउटा महत्त्वपूर्ण निर्णय गर्नुपऱ्‍यो। तिनले राम्रो कमाइ हुने जागिर खाने मौका पाइन्‌। तिनको परिवारले पनि तिनलाई त्यो जागिर स्विकार्न दबाब दिइरहेका थिए। तर त्यो स्विकारेको खण्डमा तिनको सभा छुट्‌ने थियो। तिनको बाइबल अध्ययन सञ्चालक मारियान यसो भन्छिन्‌, “तिनले गरेको निर्णयले यहोवालाई खुसी बनाउँछ कि दुःखी बनाउँछ भनेर सोच्न मैले प्रोत्साहन दिएँ। साथै त्यो विषयमा तोकेरै यहोवालाई प्रार्थना गर्न र उहाँले कसरी जवाफ दिनुहुन्छ, त्यो याद गर्न पनि मैले तिनलाई भनेँ। तिनले त्यो जागिरको प्रस्ताव अस्विकार गरिन्‌ र केही समय नबित्दै सभाहरू जान मिल्ने अर्को काम पाइन्‌।” के तपाईँले याद गर्नुभयो, मारियानले विद्यार्थीको लागि निर्णय गरिदिनुको सट्टा यहोवाबारे तिनलाई के थाह छ, त्यो कुरामा मनन गर्न प्रोत्साहन दिइन्‌। यसरी मदत गर्दा विद्यार्थीको यहोवासँगको सम्बन्ध अझ बलियो भयो। मारियान आफ्नो विद्यार्थीबारे यसो भन्छिन्‌, “यहोवालाई पहिलो स्थान दियौँ भने उहाँले हाम्रो ख्याल राख्नुहुन्छ भनेर तिनले सिकिन्‌।”

बाइबल विद्यार्थी म्यानेजरले राखेको जागिरको प्रस्ताव आदरपूर्वक अस्विकार गर्छिन्‌। म्यानेजरको हातमा कन्ट्रयाक्ट पेपर र पेन छ।

यहोवालाई खुसी बनाउने निर्णय कसरी गर्न सकिन्छ भनेर सिक्न विद्यार्थीलाई मदत गर्नुहोस्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)b


यहोवालाई राम्ररी चिन्दा पाइने आशिष्‌हरू

१७. बाइबल विद्यार्थीले कुन कुरा सिक्नु धेरै महत्त्वपूर्ण छ?

१७ बाइबल अध्ययनको दौडान विद्यार्थीले थुप्रै महत्त्वपूर्ण कुराहरू सिक्छन्‌। तिनले मरिसकेकाहरूको अवस्था, फिरौतीको बलिदान र परमेश्‍वरको राज्यजस्ता बाइबलको आधारभूत शिक्षाहरूबारे सिक्छन्‌। तिनले मण्डलीलाई व्यवस्थित बनाउन गरिएका प्रबन्धहरूबारे पनि सिक्छन्‌। जस्तै: मण्डलीका सभाहरू, एल्डरहरू र परिचालक निकायको प्रबन्ध। तर हामी आफ्नो बाइबल विद्यार्थीले परमेश्‍वरबारे ज्ञान हासिल गरेको मात्र चाहँदैनौँ बरु परमेश्‍वरलाई अझ राम्ररी चिनेको चाहन्छौँ।

१८. यहोवालाई चिन्‍नेहरूले कस्ता आशिष्‌हरू पाउँछन्‌?

१८ अरूलाई यहोवालाई चिन्‍न मदत गर्न पाउनु साँच्चै सम्मानको कुरा हो। यहोवालाई चिनेर उहाँको उपासना गर्ने मानिसहरूले अहिले पनि आनन्दित जीवन बिताउन सक्छन्‌। (भज. २५:१२-१५) अनि “साँचो परमेश्‍वरको ज्ञान हासिल” गर्नेहरूले भविष्यमा “अनन्त जीवन” पाउनेछन्‌। (१ युह. ५:२०) तर हामीले पाउने आशिष्‌ त्यति मात्रै होइन। बाइबलमा बताइएअनुसार यहोवालाई चिन्‍न र उहाँलाई प्रेम गर्न आफ्नो तर्फबाट सक्दो कोसिस गर्नेहरूलाई ‘परमेश्‍वरले चिन्‍नुहुन्छ।’ (१ कोरि. ८:३) हो, हाम्रो सर्वोच्च परमेश्‍वरले हामीलाई याद गर्नुहुन्छ र हामीलाई उहाँको साथीको रूपमा स्विकार्नुहुन्छ। एक मात्र साँचो परमेश्‍वरलाई चिन्‍न पाउनु हाम्रो लागि कत्ति ठूलो आशिष्‌को कुरा हो!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • बाइबल विद्यार्थीले यहोवालाई किन राम्ररी चिन्‍नुपर्छ?

  • हामी कसरी बाइबल विद्यार्थीलाई यहोवाबारे सिकाउन सक्छौँ?

  • बाइबल विद्यार्थीलाई यहोवाबारे सिकेका कुराहरू लागू गर्न कसरी मदत गर्न सक्छौँ?

गीत ८४ खाँचो जहाँ, पुग्छौँ त्यहाँ

a सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ५ मा दिइएको लक्ष्य: दिनहुँ बाइबल पढ्‌न थाल्नुहोस्‌। यसको लागि “बाइबल पढ्‌न थाल्नुहोस्‌” चार्ट प्रयोग गर्नुहोस्‌।

b चित्रको व्याख्या: मारियानको बाइबल विद्यार्थीले जागिरको प्रस्ताव अस्विकार गरेको दृश्‍यको पुन:अभिनय।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने