पाठकहरूको प्रश्न
गलाती ४:२४ मा पावलले कुन दुई वटा करारबारे बताइरहेका थिए?
पावलले सारा र हागारसित अब्राहामको सम्बन्धबारे बताएपछि यसो भने: “यी कुराहरूको प्रतीकात्मक अर्थ छ किनकि यी स्त्रीहरूको अर्थ दुई वटा करार हो।” (गला. ४:२२-२४) पहिलाको हाम्रो बुझाइअनुसार यी दुई वटा करार व्यवस्थाको करार र नयाँ करार हो भन्ने थियो। तर यी पदहरूबारे थप अनुसन्धान गरेपछि हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने देखियो। पावलले यहाँ नयाँ करारबारे नभई अब्राहामसित गरिएको करारबारे बताइरहेका थिए जस्तो देखिन्छ। यसो भन्न सकिने केही आधारहरूबारे विचार गरौँ।a
पावलले नोकर्नी हागारको अर्थ सिनै डाँडा हो भनेर बताए। (गला. ४:२५) ईसापूर्व १५१३ मा यहोवाले इस्राएल राष्ट्रसित सिनै डाँडामा व्यवस्थाको करार गर्नुभयो। त्यसैले हागारले व्यवस्थाको करारलाई बुझाउँछ भन्न सक्छौँ। (प्रस्थ. १९:५, ६) कुनै पनि त्रुटिपूर्ण मानिसले व्यवस्था हुबहु पालन गर्न सक्दैनथ्यो। त्यसैले व्यवस्थाको करारले यहुदीहरूलाई तिनीहरू पापको दास हुन् भनेर सम्झाउँथ्यो। यस करारले इस्राएल राष्ट्रलाई मसीहलाई चिन्न मदत गर्ने थियो। किनभने उहाँले मात्र व्यवस्था हुबहु पालन गर्न सक्नुहुने थियो। मसीहले आफ्नो त्रुटिरहित जीवन बलिदान दिनुभएपछि त्रुटिपूर्ण मानिसहरूले पाप र मृत्युबाट छुटकारा पाउन सक्ने थिए। (गला. ३:१९, २४, २५) येसुले परमेश्वरको त्यो उद्देश्य पूरा गर्नुभएपछि व्यवस्था अन्त भयो।—रोमी १०:४.
पावलले हागार र साराबीचको भिन्नताबारे पनि बताए। “स्वतन्त्र स्त्री” साराले “प्रतिज्ञाद्वारा” सन्तान जन्माएकी थिइन्। (गला. ४:२३) त्यो प्रतिज्ञा अब्राहामसित गरिएको करार थियो। (गला. ३:२९; ४:२८, ३०) यहोवाले अब्राहामसित गर्नुभएको त्यस करारबारे उत्पत्ति २२:१८ मा यसो भनिएको छ: “तिम्रै सन्तानमार्फत पृथ्वीका सबै जातिले आशिष् पाउनेछन् किनभने तिमीले मेरो कुरा सुन्यौ।”
अब्राहामसित गरिएको करारले यहोवाले अदनको बगैँचामा गर्नुभएको प्रतिज्ञाबारे थप जानकारी दियो। (उत्प. ३:१५) त्यो करारले प्रतिज्ञा गरिएको “सन्तान” अब्राहामको वंशबाट आउनेछन् भनेर प्रस्ट पाऱ्यो। पावलले त्यस “सन्तान”-को प्रमुख भाग येसु ख्रिष्ट हुनुहुन्छ भनेर बताए। त्यो प्रतीकात्मक सन्तानमा १ लाख ४४ हजार अभिषिक्त जनहरू पनि समावेश छन्। तिनीहरू “ख्रिष्टका” हुन् र उहाँसँगै मिलेर शासन गर्नेछन्। (गला. ३:१६, २९; प्रका. १४:१-३) परमेश्वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा हुँदा येसुलाई स्विकार्ने र उहाँको आज्ञा पालन गर्नेहरूले थुप्रै आशिष् पाउनेछन्।
त्यसोभए “प्रतीकात्मक अर्थ” बोकेको यस विवरणबाट पावलले के बताउन खोज्दै थिए? तिनले मोसाको व्यवस्था पालन गर्नुपर्छ भनेर ढिपी कस्ने यहुदीहरू हागारजस्तै दासत्वमै रहनेछन् भनेर बताउँदै थिए। तर तिनीहरूले अब्राहामको “सन्तान”-को प्रमुख भाग येसु ख्रिष्टलाई स्विकारे भने साराजस्तै स्वतन्त्र हुने थिए। यसको मतलब तिनीहरू पाप र मृत्युको दासत्वबाट मुक्त हुने थिए। (युह. ८:३२-३४) व्यवस्थाको करारको मुख्य उद्देश्य ख्रिष्टसम्म पुऱ्याउनु हो। त्यसैले ती यहुदीहरूले येसुलाई नस्विकार्दा व्यवस्थाको करारको उद्देश्यलाई नकारिरहेका हुने थिए।
पावलले यो पत्र गलातियाका ख्रिष्टियनहरूलाई लेखेका थिए। तिनीहरूमध्ये धेरैजसो गैर-यहुदीहरू थिए र तिनीहरू कहिल्यै पनि व्यवस्थाको अधीनमा थिएनन्। केही यहुदीहरूले अन्यजातिका ख्रिष्टियनहरूले पनि व्यवस्थामा पाइने नियमहरू पालन गर्नुपर्छ भनेर जिद्दी गरिरहेका थिए, जस्तै: खतनासम्बन्धी नियम। अन्यजातिका ख्रिष्टियनहरूले व्यवस्थाको “दासत्व” स्विकार्नु मूर्खता हुने थियो। किनकि तिनीहरूले ख्रिष्टले दिनुहुने “स्वतन्त्रता” पाइसकेका थिए।—गला. ५:१, १०-१४.
a यसबारे हाम्रो पुरानो बुझाइ मार्च १५, २००६ अङ्कको प्रहरीधरहरा-मा हेर्नुहोस्।