अगस्त १७-२३, २०२६
गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!
भाइबहिनीसितको मित्रतालाई कसरी बलियो बनाइराख्न सक्छौँ?
“कोमल करुणा, दया, नम्रता, कोमलता र धीरज धारण गर।”—कल. ३:१२.
सिक्न सकिने कुरा
भाइबहिनीसितको मित्रतालाई कस्ता कुराहरूले कमजोर बनाउन सक्छ र त्यस्तो बेला हामी के गर्न सक्छौँ?
१. हामी साँचो मित्रहरू कहाँ पाउन सक्छौँ?
“एक्लै हिँड्न कहाँ छ सजिलो जीवनको यो बाटो। साथ दिने साथी भए हुन्छ धेरै सजिलो।” यी शब्दहरू “साँचो मित्र” भन्ने मौलिक गीतको सुरुका हरफहरू हुन्। के तपाईँ पनि यो कुरासित सहमत हुनुहुन्छ? यहोवाका जनहरूमाझ साँचो मित्रहरू पाउनु साँच्चै आशिष्को कुरा हो! (भज. ११९:६३) हामी यहोवाका उपासकहरू परिवारजस्तै हौँ अनि एकअर्कालाई प्रेम गर्छौँ।
२. हामी भाइबहिनीसित कस्तो मित्रता गाँस्न चाहन्छौँ?
२ हामी भाइबहिनीहरूलाई ‘हाइ-हेलो’ गर्ने साथी मात्र बनाउन चाहँदैनौँ। बरु तिनीहरूको घनिष्ठ मित्र र वफादार साथी बन्न चाहन्छौँ। हामी यहोवाका उपासकहरू एउटै परिवारजस्तै हौँ। हामी यहोवा र येसुलाई प्रेम गर्छौँ अनि यही प्रेमले गर्दा हामीमाझ एकता सम्भव भएको छ। (युह. १३:३५) तर भाइबहिनीसित घनिष्ठ मित्रता गाँस्न प्रयास चाहिन्छ। त्यो आफसेआफ हुने कुरा होइन। हामी सबै जना त्रुटिपूर्ण छौँ। त्यसैले हामीबीचको मित्रतालाई बलियो बनाइराख्न सधैँ सजिलो हुँदैन।
३. भाइबहिनीसितको मित्रतालाई बलियो बनाइराख्न कहिलेकाहीँ किन गाह्रो हुन सक्छ?
३ हामीले यो कुरा मानिलिनै पर्छ: हामी सबै जनासित उत्तिकै घनिष्ठ हुँदैनौँ; कसैसित धेरै र कसैसित कम त भइहाल्छ। किन? किनभने हामी सबैको रुचि अनि व्यक्तित्व फरक-फरक छ। हामीलाई आफ्नो जस्तै रुचि अनि व्यक्तित्व भएको व्यक्तिसित नजिकिन सजिलो लाग्छ। तर अरू भाइबहिनीसितको मित्रतालाई बलियो बनाइराख्न भने हामीलाई गाह्रो लाग्न सक्छ। कहिलेकाहीँ हामीबीच कुरा नमिल्न सक्छ र यसले गर्दा हाम्रो मित्रतामा दरार आउन सक्छ। सायद हाम्रो व्यक्तित्व फरक भएकोले एकअर्कासित समय बिताउन समेत गाह्रो लाग्न सक्छ। अनि कहिलेकाहीँ भाइबहिनीले गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेका छन् वा भावनात्मक पीडा भोगिरहेका छन् भने पनि हामीबीचको मित्रता बलियो बनाइराख्न गाह्रो हुन सक्छ। यस्ता चुनौतीहरूको सामना गर्न हामीलाई येसुको उदाहरणले कसरी मदत गर्छ? आउनुहोस्, यसबारे छलफल गरौँ। तर सुरुमा भाइबहिनीसितको मित्रता बलियो बनाइराख्न हामीलाई कस्ता गुणहरूले मदत गर्छ, त्यसबारे विचार गरौँ।
मित्रतालाई बलियो बनाइराख्न चाहिने गुणहरू
४. हामी मित्रतालाई कसरी बलियो बनाउन सक्छौँ?
४ मित्रतालाई बलियो बनाउन भाइबहिनीमा भएका राम्रा गुणहरूमा ध्यान दिनुपर्छ। त्यसो गर्ने एउटा तरिका भनेको तिनीहरूसित समय बिताउनु हो। पावल भाइबहिनीहरूलाई भेट्न तीव्र इच्छा गर्थे। तिनले थिस्सलोनिकीहरूलाई यस्तो लेखे: “हामीले तिमीहरूलाई भेट्न भरमग्दुर कोसिस गऱ्यौँ।” (१ थिस्स. २:१७) थुप्रैले मित्रता बलियो बनाउन भेटेरै कुराकानी गर्नुजस्तो प्रभावकारी अरू केही छैन भनेर महसुस गरेका छन्। हामीले यसो गर्ने थुप्रै मौकाहरू पाउँछौँ। जस्तै, सँगै प्रचारमा भाग लिँदा अनि सभा, सम्मेलन वा अधिवेशनमा उपस्थित हुँदा। तर यसरी सँगै समय बिताउँदैमा हामीबीच कुनै समस्या नै हुँदैन भन्ने त होइन।
५. मित्रतालाई बलियो बनाइराख्न हामीलाई केले मदत गर्छ? एउटा उदाहरण बताउनुहोस्। (कलस्सी ३:१२)
५ हामीले नम्रता, धीरज, दया र कोमल करुणा देखाएर परमेश्वरको अनुकरण गर्न सक्छौँ। (कलस्सी ३:१२ पढ्नुहोस्।) यस्ता गुणहरू विकास गऱ्यौँ भने केही समस्या हुँदा पनि हाम्रो मित्रता सजिलै टुट्दैन। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। मोबिलले गाडी वा बाइकको इन्जिनलाई राम्रोसित काम गर्न मदत गर्छ। त्यसरी नै नम्रता, धीरज, दया र कोमल करुणाजस्ता गुणहरूले भाइबहिनीसितको मित्रता सुमधुर बनाउन मदत गर्छ। त्यसोभए आउनुहोस्, येसुले यी गुणहरू कसरी देखाउनुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ, छलफल गरौँ।
कुरा नमिल्दा
६. एकअर्कासित कुरा नमिल्दा मित्रतामा कस्तो असर पुग्न सक्छ?
६ चुनौती। अक्सर आफ्नो कुरा नै ठीक जस्तो लागेकोले दुई जनाबीच कुरा मिल्दैन। जस्तै, आफ्नो क्षेत्र सेवा समूहको प्रचारकार्य कसरी मिलाउने भनेर दुई जना भाइबीच कुरा नमिल्न सक्छ। दुवैलाई आफ्नो तरिका सबैभन्दा राम्रो जस्तो लाग्छ। के यस्तो भिन्नताले गर्दा मात्र पनि तिनीहरूबीचको मित्रतामा दरार आउन सक्छ? यदि तिनीहरूले आफूबीचको मित्रतालाई भन्दा आफ्नो विचारलाई बढ्ता महत्त्वपूर्ण ठाने भने त्यस्तो हुन सक्छ। यदि तिनीहरूले यस विषयमा खुलस्त कुरा गरेर समस्या सुल्झाएनन् भने तिनीहरू एकअर्काप्रति रुष्ट हुन सक्छन्। समय बित्दै जाँदा तिनीहरू एकअर्कादेखि झन्झन् टाढिन सक्छन् र पछि गएर तिनीहरूको मित्रता टुट्न समेत सक्छ।
७. येसुले चेलाहरूलाई नम्र हुनु महत्त्वपूर्ण छ भनेर कसरी सिकाउनुभयो?
७ येसुजस्तै नम्र हुन सिक्नुहोस्। येसुले चेलाहरूलाई मतभेद सुल्झाउन नम्र हुनै पर्छ भनेर सिकाउनुभयो। उहाँका चेलाहरूमा सबैभन्दा ठूलो को हो भनेर बेलाबेलामा विवाद भइरहन्थ्यो। यस्तो सोचाइले तिनीहरूको मनमा गहिरो जरा गाडेर बसेको थियो। त्यसलाई हटाउन तिनीहरूले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्छ भनेर येसुले बताउनुभयो। (मत्ति २०:२५-२८) हो, येसुले तिनीहरूलाई नम्र हुन सिकाउँदै हुनुहुन्थ्यो। आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात समेत उहाँले नम्रताको उत्कृष्ट ‘नमुना बसाल्नुभयो।’ उहाँले चेलाहरूको खुट्टा धोइदिनुभयो, जुन एक जना दासले गर्ने काम थियो। (युह. १३:३-५, १२-१६) यसरी उहाँले मित्रता बलियो बनाइराख्न नम्र हुनु कत्ति महत्त्वपूर्ण छ भनेर देखाउनुभयो। तिनीहरूले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्थ्यो। यसो गर्दा मतभेद हुँदा पनि तिनीहरूलाई अरूको कुरा स्विकार्न सजिलो हुने थियो र तिनीहरूबीचको मित्रता टुट्ने थिएन।
८. मतभेद हुँदा मित्रतालाई जोगाइराख्न नम्रताले कसरी मदत गर्छ? (कलस्सी ३:१३) (चित्रहरू पनि हेर्नुहोस्।)
८ तपाईँ मित्रतालाई कसरी बलियो बनाइराख्न सक्नुहुन्छ? तपाईँ नम्र हुनुहुन्छ भने सानातिना मतभेदहरूलाई बिर्सन र खुला मनले क्षमा दिन सजिलो हुन्छ। (कलस्सी ३:१३ पढ्नुहोस्।) अनि मतभेद हुँदा झडङ्ङ रिसाइहाल्नुको साटो मित्रतालाई कसरी जोगाइराख्ने भन्ने कुरामा ध्यान दिनुहुन्छ। (भज. ४:४) हाम्रो मुखबाट कहिलेकाहीँ रुखो बोली निस्कन सक्छ। तर त्यसरी बोलेकोमा हामी सबै जना पछुताएका छौँ नि, होइन र? (उप. ७:२१, २२) आफैलाई सोध्नुहोस्, ‘मेरो लागि कुन कुरा महत्त्वपूर्ण छ? मित्रतालाई जोगाइराख्नु कि आफूलाई सही साबित गर्नु?’ मित्रतालाई महत्त्वपूर्ण ठान्नुहुन्छ भने अर्को व्यक्तिको धारणालाई सहर्ष स्विकार्नुहोस्। साथै मतभेद भएको कुरामा घोरिएर नबस्नुहोस् र त्यसलाई घरीघरी नकोट्ट्याउनुहोस्। यसो गर्नुभयो भने तपाईँलाई मनमा शान्ति हुनेछ।
तपाईँ नम्र हुनुहुन्छ भने सानातिना मतभेदहरूलाई बिर्सन र खुला मनले क्षमा दिन सजिलो हुन्छ (अनुच्छेद ८ हेर्नुहोस्)a
९. मतभेद सुल्झाउन गाह्रो हुँदा पनि नम्रताले कसरी मदत गर्छ? (हितोपदेश १७:९)
९ मतभेद सुल्झाउन गाह्रो हुँदा पनि नम्रताले मदत गर्छ। आफ्नो कुरा नै सही हो भनेर जिद्दी नगर्नुहोस्। (हितोपदेश १७:९; १ कोरि. ६:७) तपाईँ आफ्नो साथीलाई पक्कै गुमाउन चाहनुहुन्न। कसैसित मतभेद भएको छ भने दयालु भई बोल्दा समस्या सुल्झिएको थुप्रैले अनुभव गरेका छन्। (भज. ३४:१४) तपाईँ यसरी कुरा सुरु गर्न सक्नुहुन्छ, ‘हामी एकअर्कासित यत्ति नजिक छौँ; खासमा के भएको हो, सँगै कुरा गरौँ न!’ मतभेद हुनुमा आफ्नो पनि गल्ती छ भनेर स्विकार्न तयार हुनुहोस्। साथीको चित्त दुखाएको कुरा मानिलिनुहोस् र क्षमा माग्नुहोस्। अनि तपाईँको साथीले पनि माफी माग्छ भने तिनलाई क्षमा दिएर नम्रता देखाउनुहोस्। (लुका १७:३, ४) यो कुरा कहिल्यै नबिर्सनुहोस्: तपाईँको उद्देश्य भनेको को सही र को गलत भनेर प्रमाणित गर्नु होइन बरु मतभेदलाई बिर्सेर आफ्नो मित्रतालाई बलियो बनाइराख्नु हो।—हितो. १८:२४.
व्यक्तित्व फरक हुँदा
१०. घनिष्ठ मित्रता गाँस्न किन गाह्रो हुन सक्छ?
१० चुनौती। फरक व्यक्तित्व भएको भाइबहिनीसित घनिष्ठ मित्रता गाँस्न हामीलाई गाह्रो लाग्न सक्छ। कसै-कसैको आनीबानी हामीलाई एकदमै रिसउठ्दो लाग्न सक्छ अनि कसै-कसैको चाहिँ अनौठो लाग्न सक्छ। तिनीहरूले अनौठो व्यवहार देखाउनुको कारण विभिन्न हुन सक्छ। जस्तै, तिनीहरू पहिला दुर्व्यवहारको सिकार भएका हुन सक्छन्। अथवा हुर्केको रहनसहनले गर्दा तिनीहरू कि त आफ्नो कुरा खुलेर बताउने खालका हुन सक्छन् कि त्यति नबताउने खालका हुन सक्छन्। अथवा तिनीहरूको व्यक्तित्व हाम्रोभन्दा ठ्याक्कै उल्टो हुन सक्छ। हामी लजालु स्वभावका छौँ भने तिनीहरू फरासिला हुन सक्छन्। तिनीहरू फरासिला छन् भने हामी लजालु स्वभावका हुन सक्छौँ।
११. येसुले आफ्नो भन्दा फरक व्यक्तित्व भएकाहरूसित पनि मित्रता गाँस्न सक्नुको कारण के थियो?
११ येसुजस्तै धीरजी हुन सिक्नुहोस्। येसुले आफ्नो भन्दा फरक व्यक्तित्व भएकाहरूसित पनि मित्रता गाँस्नुभयो। उदाहरणको लागि, याकुब र युहन्नाले परमेश्वरको राज्यमा आफूलाई ठूलो ओहदा दिनुहोस् भनेर येसुसित बिन्ती गरे। यसरी उनीहरूले आफू महत्त्वाकाङ्क्षी भएको देखाए। (मर्कु. १०:३५-३७) तर येसु भने नम्र हुनुहुन्थ्यो। उहाँले स्वर्गमा आफ्नो उच्च ओहदा र अधिकार त्यागेर पृथ्वीमा आउनुभयो। (फिलि. २:५-८) ती प्रेषितहरू र येसुको मनोवृत्तिमा ठूलो भिन्नता थियो; भनौँ भने आकाश-जमिनको फरक थियो। तैपनि याकुब, युहन्ना र अरूप्रति येसु धीरजी भइरहनुभयो।
१२. येसु किन आफ्ना साथीहरूप्रति धीरजी हुन सक्नुभयो?
१२ येसुले आफ्ना साथीहरूले सधैँ सही मनोवृत्ति राख्नेछन् भनेर आशा गर्नुभएन। याकुब र युहन्नामा जस्तै अरू चेलाहरूमा पनि सबैभन्दा ठूलो बन्ने चाहना छ भनेर येसुलाई थाह थियो। तिनीहरू हुर्केको समाजमा ओहदा अनि अख्तियारलाई निकै महत्त्व दिइन्थ्यो। (मर्कु. ९:३४) येसु पनि त्यही समाजमा हुर्कनुभएकोले चेलाहरूले त्यस्तो मनोवृत्ति देखाउनुको कारण उहाँ बुझ्न सक्नुहुन्थ्यो। ती चेलाहरूको मनमा महत्त्वाकाङ्क्षा र घमन्डले वर्षौँदेखि जरा गाडेर बसेको थियो। त्यस्ता दुर्गुणहरू हटाउन समय लाग्छ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँ तिनीहरूप्रति धीरजी हुनुभयो।—मर्कु. १०:४२-४५.
१३. धीरजी हुँदा मित्रतालाई कसरी बलियो बनाइराख्न सकिन्छ? (एफिसी ४:२)
१३ तपाईँ मित्रतालाई कसरी बलियो बनाइराख्न सक्नुहुन्छ? हामीले धीरजी हुन सिक्यौँ भने कसै-कसैको आनीबानी रिसउठ्दो लागे पनि त्यो सहन सक्नेछौँ। (हितो. १४:२९) हामी सबैको आ-आफ्नै स्वभाव अनि आनीबानी छ। तीमध्ये धेरैजसो दुर्गुण नै त होइनन् बरु हाम्रो व्यक्तित्वको भाग मात्र हुन्। त्यसैले अरूलाई हाम्रो आनीबानी अनौठो लागे पनि तिनीहरूले त्यो सहिदिँदा हामीलाई खुसी लाग्छ। (एफिसी ४:२ पढ्नुहोस्।) हामीले पनि अरूको आनीबानीलाई त्यसरी नै सहनुपर्छ। उदाहरणको लागि, यदि तपाईँ अरूसित कुराकानी गर्न मन पराउने व्यक्ति हुनुहुन्छ भने लजालु स्वभावको व्यक्तिलाई अरूसित कुराकानी गर्न र घुलमिल हुन कत्ति गाह्रो लाग्छ होला, सोच्नुहोस्। अर्कोतर्फ तपाईँ लजालु र शान्त स्वभावको हुनुहुन्छ भने सबैसित घुलमिल हुने अनि कुरा गर्न मन पराउने व्यक्तिप्रति धीरजी हुन सिक्नुपर्छ। हुनत हामी सबैसित उत्तिकै घनिष्ठ हुन सक्दैनौँ तर आफ्नो भन्दा फरक व्यक्तित्व भएका भाइबहिनीहरूसित पनि मिलेर सेवा गर्न भने पक्कै सक्छौँ।
१४. धीरजी भयौँ भने कुन कुरामा ध्यान दिन सक्नेछौँ?
१४ धीरजी भयौँ भने भाइबहिनीका राम्रा गुणहरूमा ध्यान दिन सक्नेछौँ। यसो गऱ्यौँ भने हाम्रो फरक व्यक्तित्व मित्रतामा तगारो बन्न पाउँदैन। उदाहरणको लागि, याकुब र युहन्नाले स्वार्थी हुँदै ठूलो ओहदा खोजे तर तिनीहरूले गरेको बिन्तीबाट परमेश्वरको राज्य तिनीहरूको लागि साँच्चै वास्तविक थियो भनेर देखियो। येसुले त्यो कुरा याद गर्नुभयो र तिनीहरूले देखाएको विश्वासको कदर गर्नुभयो। हामीले पनि साथीहरूमा भएका राम्रा गुणहरू खोज्न प्रयास गऱ्यौँ भने यहोवा र येसुको अनुकरण गरिरहेका हुन्छौँ।
१५. आफ्नो भन्दा फरक व्यक्तित्व भएकाहरूसितको मित्रता बलियो बनाइराख्न हामी कोसित मदत माग्न सक्छौँ?
१५ सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो भन्दा फरक व्यक्तित्व भएकाहरूसितको मित्रता बलियो बनाइराख्न यहोवासित मदतको लागि प्रार्थना गर्न सक्छौँ। ती व्यक्तिसित रिस उठ्न सक्ने कस्ता अवस्थाहरू आइपर्न सक्छन् भनेर पहिल्यै सोच्नुहोस्। अनि त्यस्तो अवस्थामा पर्दा शान्त रहन सकूँ भनेर प्रार्थना गर्नुहोस्। हाम्रो सृष्टिकर्ता यहोवालाई हामी सबैको व्यक्तित्व फरक-फरक छ भनेर थाह छ। त्यसैले अरूप्रति धीरजी हुन तपाईँलाई कस्तो मदत चाहिएको छ, त्यो यहोवा बुझ्नुहुन्छ भन्ने कुरामा ढुक्क भई प्रार्थना गर्नुहोस्। अनि धीरजी हुन गाह्रो हुँदा यहोवासित पवित्र शक्ति माग्नुहोस्। त्यस्तो अवस्थामा पवित्र शक्तिले तपाईँलाई आफ्नो भावना काबूमा राख्न र तुरुन्तै प्रतिक्रिया नदेखाउन मदत गर्नेछ।—लुका ११:१३; गला. ५:२२, २३.
भाइबहिनीले पीडा भोग्दा
१६. भाइबहिनीले पीडा भोग्दा तिनीहरूसितको मित्रता बलियो बनाइराख्न किन गाह्रो हुन सक्छ?
१६ चुनौती। भाइबहिनीले शारीरिक वा भावनात्मक पीडा भोग्दा तिनीहरूले अनौठो व्यवहार देखाउन सक्छन्। जस्तै, तिनीहरू कसैसित पनि बोल्न नखोज्ने हुन सक्छन्, हामीसित चिढिन सक्छन् अथवा तिनीहरूले हामीले सोच्दै नसोचेको प्रतिक्रिया देखाउन सक्छन्। त्यस्तो अवस्थामा तिनीहरूले भन्ने वा गर्ने कुराले हामीलाई रिस उठ्न सक्छ वा चित्त दुख्न सक्छ। (अय्यु. ६:२, ३) तर हामीलाई भाइबहिनीको एक-एक समस्या थाह हुँदैन। त्यसैले तिनीहरूले सधैँ हामीले सोचेको जस्तो व्यवहार देखाएको आशा गर्नु व्यावहारिक हुँदैन।
१७. येसुले बर्तिमैसित गर्नुभएको व्यवहारबाट तपाईँले के सिक्नुभयो?
१७ येसुले जस्तै दया र कोमल करुणा देखाउन सिक्नुहोस्। येसुले पीडा भोगिरहेकाहरूलाई दया र कोमल करुणा देखाउनुभयो, आफूले पहिला कहिल्यै नभेटेका मानिसहरूलाई समेत। उहाँले अन्धो मानिस बर्तिमैसित कस्तो व्यवहार गर्नुभयो, विचार गरौँ। बर्तिमैले येसु त्यही बाटो भएर हिँड्दै हुनुहुन्छ भनी सुनेपछि उहाँको ध्यान खिच्न ऊ चर्को स्वरले कराउन थाल्यो। थुप्रै मानिसले उसलाई “चुप लाग्” भन्दै हप्काउन थाले। ऊ जसरी पनि निको हुन चाहन्थ्यो। त्यसैले झन् ठूलो स्वरले चिच्याउन थाल्यो। भीडमा भएका कसै-कसैलाई उसको यस्तो व्यवहार देखेर रिस उठेको हुन सक्छ। तर येसु भने उसलाई देखेर ‘टिठाउनुभयो।’ भन्नुको मतलब, उहाँ कोमल करुणाले भरिनुभयो। (मत्ति २०:३४; मर्कु. १०:४६-५२) येसु बर्तिमैसँग दयालुपूर्वक बोल्नुभयो, तिनले देखाएको विश्वासको लागि प्रशंसा गर्नुभयो र चमत्कार गरेर उसको दृष्टि फर्काइदिनुभयो।
१८. पीडा भोगिरहेको साथीलाई तपाईँ कस्तो मदत दिन सक्नुहुन्छ? (१ थिस्सलोनिकी ५:१४)
१८ तपाईँ मित्रतालाई कसरी बलियो बनाइराख्न सक्नुहुन्छ? दयालु हुनुहोस् र कोमल करुणा देखाउनुहोस्। तपाईँसित यस्ता गुणहरू छन् भने शारीरिक वा भावनात्मक पीडा भोगिरहेका भाइबहिनीहरूसित “सान्त्वनादायी कुरा” गर्न सक्नुहुनेछ। (१ थिस्सलोनिकी ५:१४ पढ्नुहोस्।) नबिर्सनुहोस्, साँचो मित्र मदत गर्न सधैँ तयार हुन्छ, अझ खासगरि आफ्नो साथी “दुःखमा” पर्दा। (हितो. १७:१७) त्यस्तो साथीले सहानुभूति मात्र देखाउँदैन बरु उसको भावना बुझ्न, उसलाई ढाडस दिन र व्यावहारिक मदत गर्न आफ्नो तर्फबाट सक्दो गर्छ।
१९. तपाईँ कसरी अरूलाई दया र कोमल करुणा देखाउन सक्नुहुन्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
१९ तपाईँ के-कस्ता तरिकामा दया र कोमल करुणा देखाउन सक्नुहुन्छ? हुनत तपाईँ आफ्नो साथीको पीडा हटाउन सक्नुहुन्न तर तिनको भावना बुझ्न र समानुभूति देखाउन भने प्रयास गर्न सक्नुहुन्छ। (मत्ति ७:१२; १ पत्रु. ३:८) तिनले आफ्नो अवस्थाबारे बताउँदा ध्यान दिएर सुन्नुहोस्। यदि उपयुक्त छ भने तिनलाई सान्त्वना मिल्ने केही कुरा भन्नुहोस्। (हितो. १२:२५) तिनको अवस्थाबारे गलत निष्कर्ष निकाल्नदेखि होसियार हुनुहोस्। (हितो. १८:१३) बरु तिनीप्रति धीरजी हुन कोसिस गर्नुहोस् र तिनीबाट अव्यावहारिक माग नगर्नुहोस्।—एफि. ४:३२.
साँचो मित्रहरू दया र कोमल करुणा देखाउँदै एकअर्कालाई सान्त्वना दिन्छन् (अनुच्छेद १९ हेर्नुहोस्)
२०. तपाईँ कस्तो साथी बन्न चाहनुहुन्छ?
२० हाम्रा भाइबहिनीसितको मित्रताको हामी निकै मोल गर्छौँ। तर हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ अरूको चित्त दुख्ने बोली वा व्यवहार गर्न पुग्न सक्छौँ। साथै हाम्रो हुर्काइ र जीवनको भोगाइले गर्दा पनि मित्रता बलियो बनाइराख्न चुनौतीपूर्ण हुन सक्छ। त्यसैले मित्रता बलियो बनाइराख्न नम्रता, धीरज, दया र कोमल करुणा देखाउने भाइबहिनीहरूको हामी निकै कदर गर्छौँ। के तपाईँ पनि त्यस्तै साथी बन्न चाहनुहुन्न र?
गीत १२४ सधैँ वफादार रहौँ!
a चित्रको व्याख्या: प्रचारको इलाकाबारे एक वृद्ध भाइ र जवान भाइको विचार मिलेको छैन। तर पछि तिनीहरू सँगै मिलेर प्रचारमा भाग लिँदै छन्।