अगस्त १०-१६, २०२६
गीत १२२ स्थिर र अटल बस!
विश्वासको जाँच हुँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?
“प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसित छन्।”—युह. ६:६८.
सिक्न सकिने कुरा
विश्वासको जाँच हुने जस्तोसुकै अवस्थामा पनि हामी यहोवाप्रति वफादार रहिरहन सक्छौँ।
१-२. येसुले कफर्नहुममा सिकाउनुहुँदा के भयो?
एकदिन येसुले कफर्नहुममा मानिसहरूको जमातलाई सिकाउँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ। जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, उसले अनन्त जीवन पाउँछ अनि म उसलाई आखिरी समयमा फेरि जीवित पार्नेछु।” (युह. ६:५३, ५४) उहाँका चेलाहरूमध्ये धेरैलाई यो कुरा चित्त बुझेन। त्यसैले तिनीहरूले भने: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्न सक्छ र?”—युह. ६:६०.
२ त्यसपछि थुप्रैले उहाँलाई छोडेर गए। के तिनीहरूले येसुमाथि पटक्कै विश्वास नभएकोले उहाँलाई छोडेर गएका हुन्? त्यसो त होइन। वास्तवमा यो घटना हुनुभन्दा केही समयअघि मात्र येसुको चमत्कार देखेपछि तिनीहरूले यसो भनेका थिए: “संसारमा आउने भनिएका भविष्यवक्ता पक्कै पनि यिनी नै हुनुपर्छ।” (युह. ६:१४) यसबाट ती चेलाहरूले येसुलाई केही हदसम्म विश्वास गर्थे भन्ने देखिन्छ। तर विश्वासको जाँच हुँदा तिनीहरू उहाँप्रति वफादार रहेनन्।
३. प्रेषितहरूले कस्तो प्रतिक्रिया देखाए र किन? (चित्र पनि हेर्नुहोस्।)
३ प्रेषितहरूले भने अरू चेलाहरूले भन्दा फरक प्रतिक्रिया देखाए। येसुले तिनीहरूलाई “तिमीहरू त जान चाहँदैनौँ नि” भनेर सोध्नुहुँदा पत्रुसले यस्तो जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसित छन्। परमेश्वरका पवित्र जन तपाईँ नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौँ।” (युह. ६:६८, ६९) पत्रुस र अरू प्रेषितहरूले पनि येसुले भन्नुभएको कुराको अर्थ पूर्ण रूपमा बुझेका थिएनन्। तैपनि तिनीहरूले उहाँप्रति वफादार रहने छनौट गरे। किन? किनभने तिनीहरूको विश्वास एउटा अकाट्य सत्यमा आधारित थियो। त्यो हो, येसु “परमेश्वरको ख्रिष्ट” हुनुहुन्छ।—लुका ९:२०, ३५.
येसुका थुप्रै चेलाहरूले उहाँलाई छोडेर गए तापनि पत्रुस र अरू प्रेषितहरूले उहाँलाई छोडेनन् (अनुच्छेद ३ हेर्नुहोस्)
४. कस्ता अवस्थाहरूमा हाम्रो विश्वासको जाँच हुन सक्छ?
४ विभिन्न अवस्थामा यहोवाप्रतिको हाम्रो वफादारीको जाँच हुन सक्छ। जस्तै: कुनै पदबारे हाम्रो बुझाइमा छाँटकाँट हुँदा, प्रचार गर्ने तरिकामा परिवर्तन हुँदा वा यहोवाले हामीलाई किन दुःख भोग्न दिनुहुन्छ भनेर बुझ्न नसक्दा। साथै घनिष्ठ मित्रले हाम्रो चित्त दुखाउँदा वा आफूले आदर गर्ने व्यक्तिले अन्यायपूर्ण व्यवहार गरेको जस्तो लाग्दा पनि हाम्रो विश्वासको जाँच हुन सक्छ।
५. हाम्रो विश्वासको जग किन बलियो हुनुपर्छ? एउटा उदाहरण बताउनुहोस्। (कलस्सी १:२३)
५ गाह्रो अवस्थामा यहोवाप्रति वफादार रहिरहन हामीसित बलियो विश्वास हुनुपर्छ। जस्तै, घरको जग बलियो छ भने मात्र भूकम्प आउँदा त्यो हतपती ढल्दैन। त्यसरी नै हाम्रो विश्वासको जग बलियो छ भने मात्र अघिल्लो अनुच्छेदमा बताइएको जस्ता अवस्थाहरूमा हाम्रो विश्वास ढलपल हुनेछैन। त्यसैले हामीले आफ्नो विश्वासको जगलाई बलियो बनाइरह्यौँ भने जस्तोसुकै परीक्षा आइपरे पनि स्थिर र वफादार रहिरहन सक्नेछौँ।—१ कोरि. १५:५८; कलस्सी १:२३ पढ्नुहोस्।
६. प्रेषितहरू किन येसुप्रति वफादार रहिरहन सके?
६ थुप्रैले येसुलाई त्यागे तापनि उहाँका प्रेषितहरू किन वफादार रहिरहन सके? किनभने प्रेषितहरू यी कुराहरूमा विश्वस्त थिए: यहोवाले सबै थोक बनाउनुभएकोले उहाँ मात्र उपासनाको योग्य हुनुहुन्छ; येसु परमेश्वरको छोरा हुनुहुन्छ र उहाँसित “अनन्त जीवनका वचनहरू” छन्; येसुले यहोवाको पूरा साथ पाउनुभएको छ। हामी यस लेखमा आफ्नो विश्वासको जाँच हुने एक-एक अवस्थाबारे छलफल गर्नेछैनौँ। बरु यहोवाबारे हामीलाई थाह भएको तीन वटा सत्यबारे विचार गर्नेछौँ। ती हुन्: (१) यहोवाले सबै थोक सृष्टि गर्नुभयो। (२) यहोवाले बाइबल लेख्न प्रेरणा दिनुभयो। (३) यहोवाले आफ्ना जनहरूलाई साथ दिइरहनुभएको छ। हामी यी सत्यहरूमा विश्वस्त भयौँ भने जस्तोसुकै परीक्षा आए तापनि उहाँप्रति वफादार रहिरहन सक्नेछौँ।
यहोवा सृष्टिकर्ता हुनुहुन्छ
७. प्रकाश ४:११ मा यहोवाबारे के बताइएको छ तर विश्वासको जाँच हुँदा हामीलाई के हुन सक्छ?
७ प्रकाश ४:११ पढ्नुहोस्। यस पदमा बताइएअनुसार यहोवाले सबै थोक सृष्टि गर्नुभयो। यही कारणले गर्दा मात्र पनि उहाँ हाम्रो उपासनाको योग्य हुनुहुन्छ। उहाँ कत्ति शक्तिशाली हुनुहुन्छ भन्ने कुरामा मनन गऱ्यौँ भने उहाँले हामीलाई जस्तोसुकै परीक्षाबाट बचाउन सक्नुहुन्छ भनेर ढुक्क हुन सक्छौँ। तर सैतानले मानिसहरूको मनमा परमेश्वरको अस्तित्वबारे शङ्का उब्जाउन नानाथरीका झूटहरू फैलाएको छ। केही वैज्ञानिकहरूसमेत सृष्टिकर्ता छैन भन्ने गर्छन्। यहोवा सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा हामी पूरा विश्वस्त छैनौँ भने के हुन सक्छ? उहाँ साँच्चै हुनुहुन्छ र विश्वासको जाँच हुँदा मदत गर्नुहुन्छ भन्ने कुरामा हामीलाई शङ्का लाग्न सक्छ।—हिब्रू ११:६.
८-९. यहोवा सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा शङ्का लाग्न थाल्यो भने तपाईँले के गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्।)
८ यहोवा सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा शङ्का लाग्न थाल्यो भने तुरुन्तै कदम चाल्नुहोस्। सबै कुरा सृष्टि गर्नुहुने यहोवा नै हुनुहुन्छ भन्ने प्रमाणको लागि हाम्रा प्रकाशनहरूमा विस्तृत अनुसन्धान गर्नुहोस्। जस्तै, जीवन सृष्टि कि संयोग? र जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्न पुस्तिका। यी पुस्तिकाहरूमा तपाईँले आफ्नो विश्वास बलियो बनाउने प्रशस्त जानकारी पाउन सक्नुहुनेछ। साथै jw.org मा भएको “सृष्टि या संयोग?” भन्ने शृङ्खलाबद्ध लेखहरूमा पनि अझ धेरै प्रमाणहरू पाउन सक्नुहुन्छ। अमेरिकाकी एउटी जवान बहिनी जेसिकाले पनि त्यसरी नै प्रमाणहरू खोजिन्। तिनी यसो भन्छिन्: “जीवनको सुरुवात पुस्तिका पढेपछि मैले एक जना बुद्धिमान् सृष्टिकर्ता हुनुहुन्छ भन्ने थुप्रै प्रमाणहरू पाएँ। हुनत मलाई यो कुरा पहिल्यै थाह थियो तर यो पुस्तिकामा दिइएका प्रमाणहरू फेरि पढेपछि भने एक जना बुद्धिमान् सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा पूरै विश्वस्त भएँ। अलिकता पनि शङ्का बाँकी रहेन।” थुप्रैलाई आफ्नो विश्वास बलियो बनाउन सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको पाठ ६ र ७ मा दिइएको जानकारीले पनि निकै मदत गरेको छ। यस अनुच्छेदमा दिइएका सामग्रीहरू सायद तपाईँले पहिला पनि पढिसक्नुभयो होला। तर फेरि पढ्नुभए कसो होला?
९ तपाईँ व्यक्तिगत अध्ययनमा परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाणहरू केलाउन सक्नुहुन्छ। त्यसरी अनुसन्धान गर्नुभयो भने यहोवा साँच्चै हुनुहुन्छ भन्ने कुरामा तपाईँको विश्वास अझ बलियो हुनेछ। त्यति मात्र होइन, उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर पनि अझ राम्ररी बुझ्न सक्नुहुनेछ। (रोमी १:२०) साथै परमेश्वर हुनुहुन्छ भन्ने कुरामा शङ्का गरिरहेकाहरूलाई पनि तपाईँ आफूले अनुसन्धान गरेको जानकारी बताउन सक्नुहुन्छ। निष्कर्षमा भन्नुपर्दा, सृष्टिका कुराहरूबाट यहोवा नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको प्रशस्त प्रमाण पाउँछौँ।
Nebula: IAC/RGO/David Malin Images; fish and car: Mercedes-Benz USA; plane: Kristen Bartlett/University of Florida
तपाईँले जीवन सृष्टि कि संयोग? पुस्तिका पढिसक्नुभयो होला तर फेरि पढ्नुभए कसो होला? (अनुच्छेद ८ हेर्नुहोस्)
यहोवाले बाइबल लेख्न प्रेरणा दिनुभयो
१०. हामी बाइबललाई कस्तो किताब ठान्छौँ? (२ तिमोथि ३:१६, १७)
१० दोस्रो तिमोथि ३:१६, १७ पढ्नुहोस्। बाइबलमा यहोवाले मानिसहरूलाई दिनुभएको सन्देश पाइन्छ। यसमा जीवनको सुरुवात कसरी भयो, यहोवाको उद्देश्य के हो र उहाँ हामीबाट के चाहनुहुन्छ भन्नेजस्ता महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउँछौँ। बाइबल लेख्न लगाउनुहुने यहोवा नै हुनुहुन्छ भन्ने कुरा बुझेकोले हामी बाइबललाई सबैभन्दा महत्त्वपूर्ण किताब ठान्छौँ। त्यसैले बाइबलमा लेखिएका कुराहरू बुझ्न र त्यसलाई जीवनमा लागू गर्न सक्दो प्रयास गर्छौँ।
११. बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भनेर तपाईँ किन विश्वस्त हुनुहुन्छ?
११ यहोवाले बाइबल लेख्न प्रेरणा दिनुभयो भनेर हामी किन विश्वस्त छौँ? यसका थुप्रै कारणहरू छन्। बाइबलमा पाइने ऐतिहासिक विवरणहरू सही छन्। (लुका ३:१, २) यो वैज्ञानिक रूपमा पनि सही छ। (अय्यु. २६:७) सैतानले बाइबललाई नामेट पार्न अनेक प्रयास गरे पनि संसारमा सबैभन्दा धेरै छापिएको र अनुवाद गरिएको किताब बाइबल नै हो। बाइबल ४० जनाजति पुरुषले लेखेका हुन् र पूरै बाइबल लेख्न लगभग १,६०० वर्ष लाग्यो। तैपनि यसमा पाइने सन्देश एकअर्कासित बाझिँदैन। हुनत बाइबल धेरै वर्षअघि लेखिएको किताब हो। तैपनि यसमा पाइने सल्लाहबाट आज पनि लाखौँ मानिसले लाभ उठाइरहेका छन्। (हितो. १३:२०; १५:२१; मत्ति ७:१२) बाइबलमा भरोसा गर्न सकिने अर्को कारण पनि छ। त्यो हो, यसमा गरिएका थुप्रै भविष्यवाणीहरू पूरा भएका छन्। (यहो. २३:१४) यी सबै प्रमाणहरूले गर्दा बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब हो भन्ने कुरामा हामी विश्वस्त छौँ!
१२. बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब हो भन्ने कुरामा शङ्का लाग्न थाल्यो भने हामीले के गर्नुपर्छ?
१२ बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब हो भन्ने कुरामा शङ्का लाग्न थाल्यो भने हामीले के गर्नुपर्छ? यसबारे हामीले यहोवालाई प्रार्थना गर्नुपर्छ, उहाँको मदत माग्नुपर्छ अनि शङ्का हटाउन कदम चाल्नुपर्छ। साक्षी परिवारमा हुर्केका जवान भाइ जोर्डन यसो भन्छन्: “आमाबुबा वा अरूले भनेको भरमा मात्र म विश्वास गरिहाल्दिनँ। बरु आफै प्रमाणहरू केलाउँछु। कुरा नलुकाई भन्ने हो भने अहिले पनि कहिलेकाहीँ मेरो मनमा शङ्काहरू उब्जिन्छन्। त्यस्तो हुँदा म हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्छु। यसरी मैले शङ्का हटाउन सकेको छु।” यहोवाले बाइबल लेख्न प्रेरणा दिनुभयो भन्ने कुरामा हामी जति धेरै विश्वस्त हुन्छौँ, हाम्रो विश्वासको जग त्यति नै बलियो हुन्छ।—१ कोरि. ३:१२, १३.
यहोवाले आफ्ना जनहरूलाई साथ दिइरहनुभएको छ
१३. परमेश्वरले साथ दिइरहनुभएको सङ्गठन यहोवाका साक्षीहरूकै सङ्गठन हो भन्ने कुरामा शङ्का लाग्न थाल्यो भने हामीले के गर्नुपर्छ?
१३ परमेश्वरले साथ दिइरहनुभएको सङ्गठन यहोवाका साक्षीहरूकै सङ्गठन हो भन्ने कुरामा शङ्का लाग्न थाल्यो भने हामीले के गर्नुपर्छ? हामीले त्यस्तो शङ्कालाई बढ्न दिनु हुँदैन बरु त्यसलाई हटाउन तुरुन्तै कदम चाल्नुपर्छ। त्यस्तो शङ्का हटाउन हामी आफूलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘बाइबलको स्तरअनुसार जीवन बिताउन सक्दो प्रयास गर्नेहरू को हुन्? आफूले विश्वास गर्ने सबै कुराको आधार बाइबललाई नै मान्ने व्यक्तिहरू को हुन्?’ (२ तिमो. ४:३, ४) ‘अहिले यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?’—मत्ति ७:२०, २१.
१४. यहोवाले मत्ति २४:१४ को भविष्यवाणी पूरा गर्न हामीलाई कसरी चलाइरहनुभएको छ?
१४ अहिले परमेश्वरको इच्छाअनुसार चल्नेहरू को हुन् भनेर विश्वस्त हुन हामी के गर्न सक्छौँ? हामी आफैलाई यो प्रश्न सोध्न सक्छौँ: ‘येसुले भविष्यवाणी गर्नुभएअनुसार अहिले कसले सारा पृथ्वीभरि प्रचार गरिरहेका छन्?’ (मत्ति २४:१४) जवाफ स्पष्ट छ, यहोवाका साक्षीहरूले! यहोवाले यो काम गर्न आज हामीलाई चलाइरहनुभएको छ। अहिले २४० भन्दा धेरै मुलुकमा परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने मानिसहरू हामी मात्र हौँ। हामीले यो काम गरिरहेको १०० वर्षभन्दा धेरै भइसक्यो। हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण काम भनेको परमेश्वरको राज्यबारे अरूलाई प्रचार गर्नु र सिकाउनु हो।—मत्ति २८:१९, २०.
१५. यहोवाका साक्षीहरूले परमेश्वरको नामलाई पवित्र ठानेको कसरी देखाइरहेका छन्? (मत्ति ६:९; यसैया ४३:१०)
१५ मत्ति ६:९ र यसैया ४३:१० पढ्नुहोस्। हामी यहोवाको नामले चिनिएका मानिसहरू हौँ। आफूलाई यहोवाको साक्षी भनेर चिनाउन पाउँदा हामी गर्व गर्छौँ। धेरैजसो मानिसलाई परमेश्वरको नाम यहोवा हो भनेर थाह छैन। तर हामीले बाइबलमा जहाँ-जहाँ यहोवा नाम हुनुपर्ने हो, त्यहाँ-त्यहाँ त्यो नाम राख्न अथक प्रयास गरेका छौँ। पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा ७,००० भन्दा धेरै ठाउँमा यहोवा नाम पाइन्छ।
१६. यहोवाका साक्षीहरूले युहन्ना १३:३४, ३५ मा दिइएको आज्ञा पालन गरिरहेका छन् भनेर हामी किन भन्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१६ युहन्ना १३:३४, ३५ पढ्नुहोस्। हाम्रो भाइचारालाई आधुनिक समयको चमत्कार मान्न सकिन्छ। हामीमाझ भएको प्रेम र एकता अहिलेको विभाजित र घृणाले भरिएको संसारमा कतै पनि पाइँदैन। हाम्रो देश, पृष्ठभूमि र हुर्काइ फरक-फरक छ। तैपनि हामी आपसमा शान्ति र प्रेम कायम गर्न सक्दो प्रयास गर्छौँ। नयाँ ठाउँमा जाँदा तपाईँ त्यहाँको मण्डलीमा पनि जानुभएको छ होला। अनि हाम्रा भाइबहिनीबीचको प्रेम र एकता तपाईँले याद गर्नुभएको हुनुपर्छ। यसबाट यहोवाले आफ्नो उद्देश्य पूरा गर्न आफ्ना साक्षीहरूलाई नै प्रयोग गरिरहनुभएको छ भनेर प्रस्ट हुन्छ। यो कुरा मनमा राख्यौँ भने विश्वासको जाँच हुने जस्तोसुकै अवस्थामा पनि हामी यहोवाप्रति वफादार रहिरहन सक्नेछौँ।
हाम्रो भाइचारालाई आधुनिक समयको चमत्कार मान्न सकिन्छ (अनुच्छेद १६ हेर्नुहोस्)a
यहोवालाई कहिल्यै नत्याग्नुहोस्
१७-१८. हामीले कस्ता कठिन अवस्थाहरू भोग्नुपर्ने हुन सक्छ तर हामी विश्वस्त भई के भन्न सक्छौँ?
१७ हामी अन्तको दिनमा बाँचिरहेका छौँ। त्यसैले यो समय हाम्रो लागि असाध्यै कठिन हुन सक्छ। (२ तिमो. ३:१, १३) हामीले अन्य समस्याहरू पनि झेलिरहेका हुन सक्छौँ। परमेश्वरको सङ्गठनले कुनै-कुनै निर्णय गर्नुको कारण बुझ्न हामीलाई गाह्रो भइरहेको हुन सक्छ। कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउन सक्छन् वा अर्थको अनर्थ लगाउन सक्छन्। आफूले भोगिरहेको समस्याको समाधान कसरी गर्ने भनेर हामीलाई थाह नहुन सक्छ। अथवा आफूले यस्तो अवस्था भोग्नुको कारण बुझ्न गाह्रो भइरहेको हुन सक्छ।
१८ यस्ता अवस्थाहरूले गर्दा हामीलाई भावनात्मक रूपमा असाध्यै गाह्रो हुन सक्छ। तैपनि हामी यहोवाप्रति सधैँ वफादार रहिरहन सक्छौँ। किन? किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, बाइबल उहाँको वचन हो र उहाँले आफ्ना जनहरूलाई साथ दिइरहनुभएको छ भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यसैले पत्रुसले येसुलाई भनेझैँ हामी पनि यहोवालाई यसो भन्न सक्छौँ: “हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसित छन्।”
गीत १२३ ईश्वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!
a चित्रको व्याख्या: बसमा यात्रा गरिरहेका आमा र छोरी ट्रली साक्षीमा भाग लिइरहेका भाइबहिनीहरूलाई देखेर खुसी हुन्छन्।