प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 मे पृ. २६-३१
  • अरूको निर्णयको कदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूको निर्णयको कदर गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन अरूको व्यक्‍तिगत निर्णयलाई गलत ठहऱ्‍याउन पुग्न सक्छौँ?
  • हामीले किन अरूको व्यक्‍तिगत निर्णयको कदर गर्नुपर्छ?
  • हामी अरूको निर्णयको कसरी कदर गर्न सक्छौँ?
  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 मे पृ. २६-३१

अगस्त ३-९, २०२६

गीत ११३ शान्ति—हाम्रो सम्पत्ति

अरूको निर्णयको कदर गर्नुहोस्‌

“उसको विचार तिम्रो भन्दा फरक छ भन्दैमा उसलाई गलत नठहऱ्‍याऊ।”—रोमी १४:१.

सिक्न सकिने कुरा

कुनै भाइबहिनीले गरेको निर्णय चित्त नबुझे तापनि हामी तिनीहरूलाई कसरी आदर गरिरहन सक्छौँ?

१-२. कहिलेकाहीँ हामीले गरेको निर्णय अरू भाइबहिनीको भन्दा किन फरक हुन सक्छ?

तपाईँले गरेको निर्णयले गर्दा के कसैले तपाईँको आलोचना गरेको छ? अथवा अरूको निर्णय चित्त नबुझेकोले तपाईँले पनि कसैको आलोचना गर्नुभएको छ कि? सायद हामीमध्ये धेरैजसोले यी दुवै प्रश्‍नमा ‘छ’ भन्‍ने जवाफ दिन्छौँ होला।

२ कहिलेकाहीँ हामीले गरेको निर्णय अरू भाइबहिनीको भन्दा फरक हुँदा अचम्म मान्‍नुपर्दैन। किन? किनभने हामी सबै जना फरक छौँ। हामी हुर्केको समाज, परिवार र हामीले जीवनमा भोगेका अनुभवहरूले हाम्रो सोचाइलाई असर गरेको हुन्छ। त्यसैले हामी प्रत्येकको सोचाइ र धारणा फरक-फरक छ। तर यस्तो भिन्‍नताले गर्दा मण्डलीको शान्ति र एकता कमजोर हुन दिनु हुँदैन।—एफि. ४:३.

३. कुनै भाइबहिनीको निर्णय चित्त नबुझ्दा हामीलाई के गरूँ जस्तो लाग्न सक्छ र किन?

३ कुनै भाइबहिनीले गरेको निर्णय हामीलाई चित्त नबुझ्न सक्छ। त्यस्तो बेला तपाईँलाई यसो भनूँ जस्तो लाग्न सक्छ, ‘तपाईँले त्यस्तो निर्णय गर्नु हुँदैनथ्यो बरु यसो गर्नुभएको भए हुन्थ्यो।’ अथवा ‘तिनले त कस्तो गलत निर्णय गरे’ भनेर अरूलाई बताऊँ जस्तो लाग्न सक्छ। हाम्रो मनसाय राम्रै होला। हामी भाइबहिनीलाई माया गर्छौँ र तिनीहरूको भलो चाहन्छौँ। (हितो. १७:१७) त्यसैले तिनीहरूले पछि गएर पछुताउनुपर्ने वा यहोवासितको सम्बन्ध नै बिग्रने निर्णय गरेको चाहँदैनौँ।

४-५. कुनै भाइबहिनीले हाम्रो भन्दा फरक निर्णय गर्दा हामीले के गर्नुपर्छ?

४ यदि हामीलाई कुनै भाइबहिनीको निर्णय चित्त बुझेको छैन भने के तिनीसित त्यसबारे कुरा गर्नै पर्छ? गर्नुपर्ने हुन पनि सक्छ, नहुन पनि सक्छ। जस्तै, यदि कसैले बाइबलको शिक्षासित मेल नखाने कुरा गर्न लागेको थाह पायौँ भने हामी तिनको सोचाइ सच्याउने प्रयास गर्छौँ। किनकि हामी तिनलाई माया गर्छौँ। (हितो. २७:५, ६) तर कसैले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन नहुने तर हाम्रो भन्दा फरक निर्णय गरे भने नि? यस प्रश्‍नको जवाफ हामी यस लेखको मूल शास्त्रपदमा पाउँछौँ। त्यहाँ यसो भनिएको छ: “उसको विचार तिम्रो भन्दा फरक छ भन्दैमा उसलाई गलत नठहऱ्‍याऊ।”—रोमी १४:१.

५ तैपनि कहिलेकाहीँ हामीलाई अरूको निर्णयको कदर गर्न गाह्रो हुन सक्छ। यस लेखमा हामीले किन अरूको निर्णयको कदर गर्नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ भनेर बुझ्नेछौँ। तर कहिलेकाहीँ अरूले गरेका कस्ता निर्णयहरूलाई हामी गलत ठहऱ्‍याउन पुग्न सक्छौँ। आउनुहोस्‌, केही अवस्था विचार गरौँ।

हामी किन अरूको व्यक्‍तिगत निर्णयलाई गलत ठहऱ्‍याउन पुग्न सक्छौँ?

६-७. हामीले अरूको निर्णयलाई गलत ठहऱ्‍याउन पुग्न सक्ने अवस्थाहरू बताउनुहोस्‌।

६ अगाडि छलफल गरिएजस्तै हाम्रो पृष्ठभूमि वा हामीले जीवनमा भोगेका अनुभवहरूले गर्दा कुनै विषयमा हाम्रो धारणा कडा हुन सक्छ। अनि त्यो विषयमा सबैले राख्ने धारणा त्यही नै हो जस्तो समेत लाग्न सक्छ। तर वास्तवमा सबैको सोचाइ एउटै नहुन सक्छ। केही अवस्था विचार गरौँ। अवस्था १: एक जना भाइको पारिवारिक वातावरण राम्रो थिएन। तिनको बुबाले बेसरी रक्सी पिउँथे। पछि ती भाइले सत्य सिके। एउटा जमघटमा तिनले अरू भाइबहिनीले रक्सी पिइरहेको देख्छन्‌। तिनलाई त्यो कुरा पटक्कै चित्त बुझ्दैन र तिनीहरूलाई ‘रक्सी पिउनु हुँदैन’ भन्छन्‌। अवस्था २: एउटी बहिनीलाई गम्भीर रोग लागेको थियो र पछि तिनी निको भइन्‌। तिनले अर्की बहिनीलाई आफूलाई जस्तै रोग लागेको थाह पाउँछिन्‌। तिनी ती बहिनीलाई मदत गर्न चाहन्छिन्‌। त्यसैले आफूले गरेको जस्तै उपचार गराउन दबाब दिन्छिन्‌। तिनले उनलाई ‘यस्तो खानेकुरा खानुस्‌, यस्तो नखानुस्‌’ अथवा ‘यो औषधी खानुस्‌, यस्तो उपचार गराउनुस्‌’ भनेर कर गर्छिन्‌। अवस्था ३: एक जना भाइ पहिला चर्चका सदस्य थिए। तिनी विगतमा गरेका कुराहरू सम्झिन पनि चाहँदैनन्‌। तिनले एक जना भाइ चर्चमा भएको अन्त्येष्टि कार्यक्रममा गएको कुरा थाह पाउँछन्‌। तिनलाई त्यो कुरा पटक्कै चित्त बुझ्दैन।a

७ अरू अवस्थाहरू पनि विचार गरौँ। अवस्था ४: एक जना भाइले पुरुषहरूले दाह्री पाल्नु अथवा स्त्रीहरूले औपचारिक कार्यक्रमहरूमा पाइन्ट लगाउनु उपयुक्‍त हुँदैन भनेर सुन्दै आएका थिए। हुनत ती भाइलाई पहिरन र कोरीबाटीबारे सङ्‌गठनबाट आएको नयाँ निर्देशन राम्ररी थाह छ। तर तिनी अझै पनि भाइहरूले दाह्री पाल्नु हुँदैन अनि बहिनीहरूले सभा, सम्मेलन र प्रचारजस्ता गतिविधिमा भाग लिँदा पाइन्ट लगाउनु हुँदैन भन्छन्‌। अवस्था ५: एक एल्डरले एक जना भाइले थप शिक्षा लिएको र पछि सत्य त्यागेको देखेका थिए। अहिले ती एल्डरकै मण्डलीको एक जना जवान भाइले थप शिक्षा लिने निर्णय गरेका छन्‌। ती एल्डरलाई त्यो भाइको चिन्ता लाग्छ। त्यसैले उनले तिनी र तिनको आमाबुबालाई ‘यस्तो निर्णय नगर्नुस्‌’ भनेर सम्झाउँछन्‌।

८. (क) केही आमाबुबा किन अरू आमाबुबाहरूलाई गलत ठहऱ्‍याउन पुग्न सक्छन्‌? (ख) मण्डलीका अरू भाइबहिनीप्रति नकारात्मक सोचाइ राख्यौँ भने के हुन सक्छ?

८ आमाबुबाले सामना गर्नुपर्ने एउटा अवस्था विचार गरौँ। अवस्था ६: आमाबुबाको रूपमा तपाईँले आफ्ना छोराछोरीलाई “यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउन निकै मेहनत गर्दै हुनुहुन्छ होला। (एफि. ६:४) तर मण्डलीका अरू आमाबुबाहरूले आफ्ना छोराछोरीलाई अलि धेरै नै स्वतन्त्रता दिएको जस्तो देखिन सक्छ। जस्तै, तिनीहरूले छोराछोरीलाई राती अबेरसम्म घरबाहिर बस्न वा ख्रिष्टियनहरूले खेल्न मिल्ने भिडियो गेमहरू खेल्न अनुमति दिएका छन्‌ अथवा सानो उमेरमै मोबाइल दिएका छन्‌। यो देख्दा तपाईँको छोरा वा छोरीलाई तपाईँले बढी नै कडिकडाउ गरेको जस्तो लागिरहेको छ। त्यसैले उसले यसो भन्छ, ‘मेरो साथीको आमाबुबाले उसलाई के-के गर्न दिनुहुन्छ? तपाईँ चाहिँ किन दिनुहुन्‍न?’ छोराछोरीले त्यसो भन्दा तपाईँले ती आमाबुबाहरूप्रति नकारात्मक सोचाइ राख्ने सम्भावना हुन सक्छ। यथार्थ के हो भने, कुनै भाइबहिनीले व्यक्‍तिगत मामिलाहरूमा हामीले भन्दा फरक निर्णय गर्दा हामीलाई तिनको निर्णय चित्त नबुझ्न सक्छ र तिनलाई गलत ठहऱ्‍याउन पुग्न सक्छौँ। जस्तै: तिनले नयाँ-नयाँ सरसामानहरू किनिरहेको, बेलाबेलामा घुम्न गइरहेको वा तिनले छानेको मनोरञ्जन हामीलाई चित्त नबुझ्न सक्छ। त्यस्तो अवस्थामा हामीले मण्डलीको एकतालाई भन्दा आफ्नो सोचाइ र धारणालाई बढ्‌तै महत्त्व दिनु हुँदैन।

९. हामीले कुन कुरा बिर्सनु हुँदैन? (चित्र पनि हेर्नुहोस्‌।)

९ एक जना ख्रिष्टियनले गरेको निर्णय अर्कोको भन्दा फरक हुन सक्छ। तर यसको मतलब एक जनाको निर्णय सही, अर्कोको गलत भन्‍ने होइन। (रोमी १४:५) हुनत सबै ख्रिष्टियनलाई यहोवाका स्तरहरू पालन गर्ने सन्दर्भमा ‘समान विचार राख्न’ सल्लाह दिइएको छ। (२ कोरि. १३:११) तर त्यसो भन्दैमा व्यक्‍तिगत मामिलाहरूमा पनि हाम्रो विचार एउटै हुनुपर्छ भन्‍ने होइन। उदाहरणको लागि, कुनै गन्तव्यसम्म पुऱ्‍याउने थुप्रै बाटो हुन सक्छ। त्यो गन्तव्यसम्म पुग्न हामी आफूलाई मन पर्ने र सहज हुने बाटो रोज्छौँ। त्यसरी नै हामीले व्यक्‍तिगत मामिलाहरूमा फरक-फरक निर्णय गर्छौँ होला तर हाम्रो गन्तव्य भने एउटै हो। त्यो हो, यहोवालाई खुसी बनाउने। त्यसैले अरूले गरेका व्यक्‍तिगत निर्णयहरूलाई गलत ठहऱ्‍याउन खोज्नु हुँदैन।—मत्ति ७:१; १ थिस्स. ४:११.

फोनमा भएको GPS एपमा एउटै गन्तव्यमा पुऱ्‍याउने विभिन्‍न बाटो र यातायातका माध्यमहरू देखाइएको छ।

यात्रुहरूले गन्तव्यसम्म पुग्न फरक-फरक बाटो प्रयोग गरेझैँ ख्रिष्टियनहरूले व्यक्‍तिगत मामिलाहरूमा फरक-फरक निर्णय गर्न सक्छन्‌ (अनुच्छेद ९ हेर्नुहोस्‌)


हामीले किन अरूको व्यक्‍तिगत निर्णयको कदर गर्नुपर्छ?

१०. हामीसित के गर्ने अधिकार छैन र किन? (याकुब ४:१२)

१० बाइबलमा अरूको व्यक्‍तिगत निर्णयको कदर गर्नुपर्ने थुप्रै कारणबारे बताइएको छ। तीमध्ये केही विचार गरौँ। अरूको व्यक्‍तिगत मामिलामा न्याय गर्ने अधिकार हामीसित छैन। (याकुब ४:१२ पढ्‌नुहोस्‌।) व्यवस्थाको दाता र न्यायकर्ता यहोवा हुनुहुन्छ। त्यसैले के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्‍नेबारे स्तर तोक्ने र नियम बनाउने अधिकार उहाँसित मात्र छ। हाम्रा भाइबहिनीहरू आफूले गरेको निर्णयको लागि हामीप्रति नभई यहोवाप्रति जबाफदेही छन्‌। (रोमी १४:१०) त्यसैले आफ्नो विचार वा धारणाको आधारमा अरूको निर्णयको न्याय गर्ने वा आलोचना गर्ने अधिकार हामीसित छैन।b

११. मण्डलीको एकता कायम राख्न हामी के गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

११ यहोवा आफ्ना उपासकहरूमाझ एकता चाहनुहुन्छ, एकरूपता होइन। वास्तवमा उहाँलाई विविधता मन पर्छ। यो कुरा सृष्टिमा पनि देख्न सकिन्छ। जस्तै, एउटै रूखका पातहरू पनि हुबहु उस्तै हुँदैनन्‌। मानिसहरूबारे नै विचार गरौँ। अहिले संसारमा आठ अरबभन्दा धेरै मानिस छन्‌। तर हामी कसैको पनि रूपरङ्‌ग वा व्यक्‍तित्व एउटै छैन। यहोवाले हामीलाई हुबहु उस्तै होइन बरु फरक-फरक बनाउनुभएको छ। यस्ता भिन्‍नताहरू भए पनि हामीमाझ एकता भएको यहोवा चाहनुहुन्छ। त्यसैले हामीमाझ भएको भिन्‍नतालाई हामीले स्विकार्नुपर्छ। त्यसलाई हामीबीच फूट गराउने कारण बन्‍न दिनु हुँदैन। हामी आफ्नो धारणा र रुचिलाई भन्दा मण्डलीको शान्ति र एकतालाई बढी महत्त्वपूर्ण ठान्छौँ।—रोमी १४:१९.

विभिन्‍न उमेर र जातिका साक्षीहरू सँगै खाना खाइरहेका छन्‌। कसै-कसैले रक्सी पिइरहेका छन्‌। कोही-कोही भाइहरूले दाह्री पालेका छन्‌।

यहोवाले हामीलाई हुबहु उस्तै बनाउनुभएको छैन तर हामीबीच एकता भएको भने चाहनुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)


हामी अरूको निर्णयको कसरी कदर गर्न सक्छौँ?

१२-१३. कसैले गलत कदम चालेको जस्तो लाग्दा हामीले कुन कुरा विचार गर्नुपर्छ? (गलाती ६:१; “अरूले गरेको निर्णय चित्त नबुझ्दा” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१२ अरूले व्यक्‍तिगत मामिलाहरूमा निर्णय गर्दा। आफैलाई सोध्नुहोस्‌, ‘के तिनले साँच्चै “गलत कदम” चालेका हुन्‌ अथवा मैले चाल्नेभन्दा फरक कदम मात्र चालेका हुन्‌?’ यदि तिनले बाइबलको आज्ञा उल्लङ्‌घन हुने गलत कदम चालेका रहेछन्‌ भने आफैलाई सोध्नुहोस्‌, ‘के तिनलाई मैले सच्याउनु राम्रो हो? अथवा एल्डर वा अरू कसैले तिनीसित कुरा गर्नु अझ उपयुक्‍त हुन्छ कि?’ तिनलाई मदत गर्न सक्ने उपयुक्‍त व्यक्‍ति तपाईँ नै हुनुहुन्छ भने तिनलाई कोमलताको भावले सच्याउने कोसिस गर्नुहोस्‌। (गलाती ६:१ पढ्‌नुहोस्‌।) तर धेरैजसो अवस्थामा भाइबहिनीले चालेको कदम गलत नै त हुँदैन बरु हाम्रो भन्दा फरक मात्र हुन सक्छ। त्यस्तो अवस्थामा तिनको निर्णयमाथि प्रश्‍न नउठाउनुहोस्‌ वा तिनीबारे नकारात्मक कुरा गर्दै नहिँड्‌नुहोस्‌। आफ्नो लागि आफैले निर्णय गर्न पाउने तिनको अधिकारको कदर गर्नुहोस्‌ र तिनको न्याय नगर्नुहोस्‌।—रोमी १४:२-४.

१३ यो उदाहरण विचार गर्नुहोस्‌। मानौँ, तपाईँ साथीसित रेस्टुरेन्टमा जानुभएको छ। अब के तपाईँ उसलाई तपाईँले मगाउनुभएकै खानेकुरा मगाउन कर गर्नुहुन्छ? त्यसो त पक्कै गर्नुहुन्‍न। बरु आफूलाई मन पर्ने खानेकुरा मगाउने उसको अधिकारको कदर गर्नुहुन्छ। आखिरमा उसले जे मगाए पनि त्यसले तपाईँलाई खासै फरक पार्दैन। अर्कोतर्फ साथीले तपाईँको लागि उसलाई मन पर्ने खानेकुरा मगाइदिएको पनि चाहनुहुन्‍न। अन्य व्यक्‍तिगत मामिलामा पनि यही कुरा लागू हुन्छ। अरूलाई आफ्नो निर्णय आफै गर्न दिएर अनि तिनीमाथि आफ्नो विचार वा धारणा नलादेर हामी तिनको आदर गरेको देखाउन सक्छौँ।

अरूले गरेको निर्णय चित्त नबुझ्दा

तपाईँलाई कुनै भाइबहिनीले गरेको निर्णय चित्त बुझेन भने आफैलाई तल दिइएका प्रश्‍नहरू सोध्नुहोस्‌। यी प्रश्‍नहरूबारे राम्ररी विचार गर्नुभयो भने तपाईँलाई अनावश्‍यक चिन्ता हुनेछैन।—गला. ६:५.

  • के तिनले बाइबलको आज्ञा उल्लङ्‌घन हुने निर्णय गरेका हुन्‌?

  • तिनले गरेको निर्णयलाई तिनको पृष्ठभूमिले प्रभाव पारेको हो कि? अनि यदि हो भने के तिनको निर्णय साँच्चै गलत हो?

  • के तिनको निर्णयले तिनलाई साँच्चै हानि पुऱ्‍याउनेछ? अथवा मैले पो ‘उसलाई पछि गएर यस्तो होला, उस्तो होला’ भनेर बढ्‌तै सोचिरहेको हुँ?

  • तिनको निर्णयले गर्दा कस्ता राम्रा नतिजाहरू हुन सक्छन्‌?

  • के तिनले साँच्चै “गलत कदम” चालेका हुन्‌ अथवा मैले चाल्नेभन्दा फरक कदम मात्र चालेका हुन्‌?

  • यदि तिनले गलत कदम चालेका रहेछन्‌ भने तिनलाई मैले नै सच्याउनु राम्रो हो?

१४. व्यक्‍तिगत निर्णयहरू गर्दा मण्डलीको एकता कायम राख्न तपाईँ के गर्न सक्नुहुन्छ? (१ कोरिन्थी ८:१२, १३)

१४ हामीले व्यक्‍तिगत मामिलाहरूमा निर्णय गर्दा। निर्णय गर्दा अरूलाई ठेस नपुऱ्‍याउन सक्दो गर्नुभयो भने तपाईँले मण्डलीको एकता कायम राख्न मदत पुऱ्‍याइरहनुभएको हुनेछ। (१ कोरिन्थी ८:१२, १३ पढ्‌नुहोस्‌।) तपाईँले गर्न लाग्नुभएको निर्णय “न्यायसङ्‌गत” अर्थात्‌ स्वीकार्य नै होला। तर तपाईँको निर्णयले कसैलाई ठेस पुऱ्‍याउँछ भने के त्यस्तो निर्णय गर्नु “फाइदाजनक” हुन्छ?c (१ कोरि. १०:२३, २४) त्यस्तो अवस्थामा पर्दा ‘यो त मेरो अधिकार हो नि’ भन्‍ने सोचाइ राख्नु हुँदैन। बरु आफूले गर्न लागेको निर्णय अरूलाई कस्तो लाग्छ भन्‍ने कुरा विचार गर्नुपर्छ। (रोमी १५:१) तर यहाँसम्म हामीले अरूले हाम्रो निर्णयको कदर गर्नुपर्छ भनेर सिक्यौँ नि, होइन र? त्यो कुरा सही हो। हामीले अरूको निर्णयको कदर गरेजस्तै अरूले पनि हाम्रो निर्णयको कदर गर्नुपर्छ। तर हामीले रोमी १२:१८ मा पाइने यो सल्लाह पनि मनमा राख्नुपर्छ: “सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर।” त्यसैले अरूसित शान्ति कायम गर्न अनि जानाजानी अरूलाई ठेस नपुऱ्‍याउन हामी सधैँ सजग हुनुपर्छ।

१५. एल्डरहरूले कसरी मण्डलीको एकता कायम राख्न सक्छन्‌? (१ कोरिन्थी ४:६)

१५ एल्डरहरू अरूको निर्णयको कदर गर्छन्‌। एल्डरहरू मण्डलीको एकता कायम राख्न चाहन्छन्‌। त्यसैले तिनीहरू व्यक्‍तिगत मामिलाहरूको सन्दर्भमा नियम बनाउँदैनन्‌। अनि बाइबलमा “लेखिएका कुराहरूभन्दा बढ्‌ता” केही गर्दैनन्‌। (१ कोरिन्थी ४:६ पढ्‌नुहोस्‌।) साथै तिनीहरू हाम्रा बाइबलआधारित प्रकाशनहरूमा लेखिएको भन्दा बाहिर गएर कुनै पनि सल्लाह दिँदैनन्‌। यसबाहेक कुनै भाइबहिनीले सल्लाह माग्दा एल्डरहरू आफ्नै अनुभवको आधारमा सल्लाह दिनदेखि होसियार हुन्छन्‌। बरु परमेश्‍वरको वचनमा आधारित सल्लाह दिन्छन्‌।—यसै. ४८:१७, १८.

१६. एल्डरहरूको निकायले गरेको निर्णयको कदर गरेको कुनै एल्डरले कसरी देखाउन सक्छन्‌?

१६ एल्डरहरूको निकायले मण्डलीको विभिन्‍न मामिलामा निर्णय गर्नुपर्ने हुन्छ। त्यतिबेला तिनीहरू पवित्र शक्‍तिको लागि प्रार्थना गर्छन्‌, बाइबलमा कस्तो निर्देशन दिइएको छ भनेर राम्रोसँग विचार गर्छन्‌ अनि त्यसपछि मात्र निर्णय गर्छन्‌। हुनत त्यो मामिलामा कुनै एल्डरको आफ्नो व्यक्‍तिगत राय छ होला तैपनि तिनी त्यो निर्णयलाई समर्थन गर्छन्‌। यसरी तिनी एल्डरहरूको निकायले संयुक्‍त रूपमा गरेको निर्णयको कदर गरेको देखाउँछन्‌। (एफि. ५:१७) साथै एल्डरहरू बाइबल र हाम्रा प्रकाशनहरूमा दिइएका निर्देशनहरू राम्रोसँग पछ्याउँछन्‌। अनि ती निर्देशनहरूलाई आफ्नो सोचाइ वा धारणाअनुसार ढाल्न खोज्दैनन्‌। जस्तै: कुनै एल्डरले हाम्रो प्रकाशनमा भएको लेखको कुनै एउटा वाक्यको आधारमा आफ्नो विचारलाई सही साबित गर्न खोज्दैनन्‌। बरु पूरै लेखमा कस्तो कुरा छलफल गरिएको छ भनेर राम्ररी विचार गर्छन्‌।

१७. अरूको निर्णयको कदर गऱ्‍यौँ भने हाम्रो मण्डलीको वातावरण कस्तो हुन्छ?

१७ यस लेखमा छलफल गरिएजस्तै हामी सबै जना फरक-फरक छौँ। हाम्रो विचार र रुचि पनि फरक-फरक छ। तर वास्तवमा हामीमाझ यस्ता भिन्‍नताहरू हुनु राम्रो कुरा हो। हाम्रो मण्डली विभिन्‍न पृष्ठभूमि र व्यक्‍तित्वका मानिसहरू मिलेर बनेको छ। त्यसैले मण्डलीको वातावरण न्यानो र रमाइलो हुन्छ। यस्ता भिन्‍नताहरूको कारण मण्डलीमा फूट हुन दिनुको साटो मण्डलीको शान्ति कायम राख्न हामी सक्दो प्रयास गर्छौँ। हामी अरूलाई ठेस पुऱ्‍याउनदेखि होसियार हुन्छौँ अनि व्यक्‍तिगत मामिलाहरूमा अरूले गरेको निर्णयको कदर गर्छौँ। यसो गऱ्‍यौँ भने यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुहुनेछ। मण्डलीमा न्यानो वातावरण छाउनेछ र हामीबीच एकता हुनेछ।—भज. १३३:१; मत्ति ५:९.

अरूको निर्णयको कदर गर्न निम्न शास्त्रपदहरूले कसरी मदत गर्छ?

  • याकुब ४:१२

  • गलाती ६:१

  • १ कोरिन्थी ४:६; ८:१२, १३

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

a चर्चमा हुने अन्त्येष्टि कार्यक्रम वा विवाह समारोहमा जाने कि नजाने भनेर निर्णय गर्नुपर्दा ख्रिष्टियनहरूले विभिन्‍न कुराहरू विचार गर्नुपर्छ। मे १५, २००२ अङ्‌कको प्रहरीधरहरा-मा भएको “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

b कहिलेकाहीँ एल्डरहरूले गम्भीर पाप गरेकाहरूको न्याय गर्नुपर्ने हुन्छ। तर एल्डरहरूले आफ्नो स्तरको आधारमा नभई यहोवाका धार्मिक स्तरहरूको आधारमा न्याय गर्नुपर्छ। आफूले यहोवाको तर्फबाट न्याय गर्दै छु भन्‍ने कुरा एल्डरहरूले मनमा राख्नुपर्छ।—२ इतिहास १९:६ तुलना गर्नुहोस्‌।

c सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३५, बुँदा ५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने