जुलाई २७–अगस्त २, २०२६
गीत ५६ सत्यमै जिउनू
थप शिक्षा लिँदै गर्दा आध्यात्मिक तवरमा बलियो भइरहनुहोस्
“हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।”—फिलि. ३:१६.
सिक्न सकिने कुरा
थप शिक्षा लिने निर्णय गर्नुभयो भने तपाईँलाई आध्यात्मिक तवरमा बलियो भइरहन मदत गर्ने चार वटा बाइबल सिद्धान्त।
१-२. (क) तपाईँले थप शिक्षा लिने निर्णय गर्नुभयो भने के गरिरहनुपर्छ? (ख) “त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ” भन्नुको अर्थ के हो? (फिलिप्पी ३:१६)
केही साक्षीहरूले सरकारले तोकिदिएको आधारभूत शिक्षा लिइसकेपछि थप शिक्षा लिने निर्णय गरेका छन्। थप शिक्षा लिँदा यहोवाको सेवामा टेवा पुऱ्याउने काम पाउन सजिलो हुन्छ जस्तो लागेकोले तिनीहरूले त्यस्तो निर्णय गरेका हुन सक्छन्। तपाईँले पनि थप शिक्षा लिने निर्णय गर्नुभएको छ भने त्यस दौडान कसरी यहोवासित नजिक भइरहन सक्नुहुन्छ? (याकु. ४:८क) स्कुलमा पढ्दा तपाईँले आफ्नो विश्वासको जाँच हुने परीक्षाहरू पक्कै भोग्नुपरेको थियो होला। आगामी दिनहरूमा पनि तपाईँ ‘त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहनुपर्छ।’ यसको मतलब तपाईँले अहिलेसम्म गर्नुभएजस्तै पछि पनि वफादार भई यहोवाको सेवा गरिरहनुपर्छ।—फिलिप्पी ३:१६ पढ्नुहोस्।
२ “त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ” भनेर अनुवाद गरिएको वाक्यांशमा अक्सर सैन्य क्षेत्रमा प्रयोग हुने ग्रीक क्रिया चलाइएको छ। यसले सिपाहीहरू एकसाथ अघि लम्कने कुरालाई बुझाउँथ्यो। यदि तपाईँले थप शिक्षा लिने निर्णय गर्नुभयो भने तपाईँ यहोवा परमेश्वरको सेवामा “अघि लम्किरहनुपर्छ,” एक ठाउँमा बसिरहने वा पछि सर्ने होइन। तपाईँलाई त्यसो गर्न मदत गर्ने चार वटा बाइबल सिद्धान्त हामी यस लेखमा छलफल गर्नेछौँ। ती सिद्धान्तहरू तपाईँलाई थाह नभएका नयाँ सिद्धान्तहरू त होइनन्। तपाईँले पहिला पनि ती सिद्धान्तहरू लागू गरिसक्नुभयो। आगामी दिनहरूमा थप शिक्षा लिँदै गर्दा र पढाइ पूरा गरिसकेपछि पनि तपाईँले ती सिद्धान्तहरू लागू गरिरहनुपर्छ।
राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्
३. थप शिक्षा लिँदै गर्दा तपाईँको आध्यात्मिक तालिकामा कस्तो असर पुग्न सक्छ?
३ चुनौती। थप शिक्षा लिँदा तपाईँ पहिलाभन्दा अझ व्यस्त हुनुहुनेछ। त्यसैले आफ्नो आध्यात्मिक तालिका कायम राख्न तपाईँलाई गाह्रो हुन सक्छ। तपाईँ पढाइमा पक्कै राम्रो गर्न चाहनुहुन्छ। त्यसैले यहोवाको सेवालाई भन्दा पढाइलाई बढी ध्यान दिने सम्भावना हुन सक्छ। तपाईँ सभा, प्रचारकार्य, व्यक्तिगत बाइबल पढाइ र प्रार्थनालाई नै बेवास्ता गर्ने हदसम्म पुग्न सक्नुहुन्छ।—प्रका. २:४.
४. “प्रभुको काममा सधैँ व्यस्त भइरहनु” किन महत्त्वपूर्ण छ? (१ कोरिन्थी १५:५८)
४ पहिलो कोरिन्थी १५:५८ पढ्नुहोस्। साइकलको पेडल चलाइरह्यो भने मात्र साइकल अघि बढिरहन्छ। त्यसरी नै हामी “प्रभुको काममा” अर्थात् यहोवाको सेवामा ‘व्यस्त रहिरह्यौँ’ भने मात्र आध्यात्मिक रूपमा बलियो भई अघि बढिरहन सक्नेछौँ। हामीले आध्यात्मिक गतिविधिमा केही समय बिताएर मात्र पुग्दैन बरु आध्यात्मिक गतिविधि नै हाम्रो प्राथमिकता हुनुपर्छ। तपाईँले आफूलाई सर्वप्रथम यहोवाको सेवक, त्यसपछि मात्र विद्यार्थीको रूपमा हेर्नुपर्छ। (मत्ति २२:३७) जवान बहिनी समान्था यसो भन्छिन्, “मैले आफैसित यस्तो वाचा गरेकी थिएँ, यदि पढाइले यहोवाको सेवा गर्न बाधा पुऱ्यायो भने म त्यो छोडिहाल्छु।”
५. यहोवाको सेवामा सक्रिय भइरहन तपाईँ के गर्न सक्नुहुन्छ?
५ थप शिक्षा लिनुअघि नै तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँको जीवनमा यहोवाले सधैँ पहिलो स्थान पाउनुपर्छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। आफैलाई सोध्नुहोस्, ‘सभा, प्रचार र व्यक्तिगत अध्ययन नियमित रूपमा गरिरहन मैले कस्तो योजना बनाएको छु?’ (यहो. १:८; मत्ति २८:१९, २०; हिब्रू १०:२५) स्कुलका दिनहरू सम्झनुहोस्: स्कुलमा छँदा तपाईँले यहोवालाई कसरी पहिलो स्थान दिनुभएको थियो? यदि तपाईँलाई ‘मैले यस्तो गरेको भए हुन्थ्यो’ जस्तो लागिरहेको छ भने अबचाहिँ गर्नुभए कसो होला? थप शिक्षा लिँदै गर्दा यहोवाको सेवामा सक्रिय भइरहने अठोट गर्नुहोस्। पढाइमा ध्यान दिनुहोस् तर पढाइकै लागि भनेर यहोवाको सेवालाई बेवास्ता नगर्नुहोस्।a—मत्ति ६:२४.
६. आफूलाई जाँच्न तपाईँ कस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
६ थप शिक्षा लिँदै गर्दा आफूलाई नियमित रूपमा जाँच्नुहोस्। तपाईँ हरेक महिनाजसो त्यसो गर्न सक्नुहुन्छ। आफैलाई सोध्नुहोस्, ‘के मैले अहिले पनि यहोवालाई पहिलो स्थान दिइरहेको छु?’ त्यसको जवाफ पाउन आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ, ‘के म अक्सर सभाहरू छुटाउँछु वा सभामा ढिलो पुग्छु? के म सभा भइरहेको बेला पनि अक्सर आफ्नो पढाइबारे नै सोचिरहेको हुन्छु? के म सभाभवनमा जानुको साटो जुमबाटै सभामा बस्न थालेको छु? के मैले प्रार्थना गर्ने र बाइबल पढ्ने कुरालाई हेलचेक्य्राइँ गर्न थालेको छु? के म कर्तव्यबोधले मात्र प्रचारमा गइरहेको छु? अनि गएँ भने पनि के म सकेसम्म चाँडो सिद्ध्याउने धुनमा हुन्छु?’ यसरी आफूलाई जाँच्दा केही छाँटकाँट गर्नुपर्ने देख्नुभयो भने तुरुन्तै कदम चालिहाल्नुहोस्। तपाईँको पढाइले यहोवाको सेवालाई पहिलो स्थान दिनदेखि नरोकोस्।
तपाईँको पढाइले यहोवाको सेवालाई प्राथमिकता दिनदेखि बाधा नपुऱ्याओस् (अनुच्छेद ६ हेर्नुहोस्)
‘आफ्नो सोच्ने क्षमतालाई जोगाउनुहोस्’
७. थप शिक्षा लिँदै गर्दा तपाईँको सोचाइमा कस्तो असर पर्न सक्छ?
७ चुनौती। कुनै-कुनै कोर्समा “मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरू” सिकाइन्छ। (कल. २:८) त्यसमा नास्तिकवाद र क्रमविकास पनि पर्छ। त्यस्ता कोर्सहरूले यहोवामाथि नभई आफैमाथि भर पर्न सिकाउँछ। एक जवान भाइ यसो भन्छन्: “हामीलाई नयाँ-नयाँ सीपहरू मात्र होइन, नयाँ तरिकामा सोच्न पनि सिकाइन्थ्यो, जुन अक्सर यहोवाको सोचाइसित मेल खाँदैनथ्यो। जस्तै, हाम्रो सफलता हामी आफैमा निर्भर हुन्छ भनेर सिकाइन्थ्यो। त्यसले गर्दा मैले यहोवाको मदत चाहिँदैन भन्ने सोचाइ राख्न थालेँ र आफैमा भर पर्न थालेँ।”
८. ‘आफ्नो सोच्ने क्षमतालाई जोगाउनु’ किन महत्त्वपूर्ण छ? (हितोपदेश ५:१, २)
८ हितोपदेश ५:१, २ पढ्नुहोस्। बाइबलले हामीलाई ‘आफ्नो सोच्ने क्षमतालाई जोगाउन’ सल्लाह दिन्छ। कुनै कुरा खतरामा छ भने हामीले त्यसलाई जोगाउनुपर्ने हुन्छ। हाम्रो सोच्ने क्षमताको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ। (१ पत्रु. ५:८) संसारको मनोभावले नैतिकताको सन्दर्भमा हाम्रो अडानलाई अनि जीवनको सुरुवात र परमेश्वरको अस्तित्वबारे हाम्रो विश्वासलाई कमजोर बनाउन सक्छ। संसारका मानिसहरू यस्ता विषयहरूमा आफूले राख्ने सोचाइ उत्कृष्ट हो भन्ठान्छन्। तर वास्तवमा त्यो “परमेश्वरको लागि मूर्खता हो।”—१ कोरि. ३:१८-२०.
९. तपाईँ आफ्नो सोच्ने क्षमतालाई जोगाउन के गर्न सक्नुहुन्छ?
९ थप शिक्षा लिनुअघि नै तपाईँ के गर्न सक्नुहुन्छ? थप शिक्षा लिनुअघि नै तपाईँले बाइबलका शिक्षाहरूमाथिको आफ्नो विश्वासलाई बलियो बनाइसकेको हुनुपर्छ। यसो गर्नुभयो भने तपाईँले आफ्नो सोच्ने क्षमतालाई जोगाउन सक्नुहुनेछ। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘म किन परमेश्वरमा विश्वास गर्छु? बाइबल परमेश्वरको वचन हो भनेर म किन पक्का छु? बाइबलका नैतिक स्तरहरू संसारको भन्दा उत्कृष्ट छ भनेर म किन विश्वस्त छु?’ स्कुलका दिनहरू सम्झनुहोस्: स्कुलमा छँदा विभिन्न कुरामा संसारले राख्ने धारणाबारे तपाईँले सिक्नुभयो होला। क्रमविकासको सिद्धान्तलाई समर्थन गर्नेहरूको कुरा सुनेर के तपाईँको विश्वास कमजोर भएको थियो? के तपाईँलाई साथीहरूले गरिरहेका कतिपय गलत कुराहरू गरूँ-गरूँ जस्तो लागेको थियो? यदि तपाईँलाई त्यतिबेला आफ्नो विश्वास बलियो थिएन जस्तो लागिरहेको छ भने अब तपाईँ आफ्नो विश्वास कसरी बलियो बनाउन सक्नुहुन्छ? थप शिक्षा लिँदै गर्दा आफ्नो सोच्ने क्षमतालाई जोगाइराख्ने अठोट गर्नुहोस्।—२ तिमो. २:१६-१८.b
१०. तपाईँ आफ्नो सोच्ने क्षमतालाई कसरी जोगाइरहन सक्नुहुन्छ?
१० थप शिक्षा लिँदै गर्दा आफूलाई नियमित रूपमा जाँच्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘के मलाई वरपरका मानिसहरूको खराब जीवनशैलीले असर गरिरहेको छ? क्लासमा सिकाइने कतिपय कुराहरू खोक्रो मानव दर्शन मात्र हुन् भनेर के मैले बुझेको छु? मानवजातिका समस्याहरू परमेश्वरको राज्यले मात्र समाधान गर्न सक्छ भन्ने कुरामा के म विश्वस्त छु?’ आफ्नो सोच्ने क्षमतालाई जोगाउन परमेश्वरको वचनको लगनशील विद्यार्थी भइरहनुहोस्। बाइबलको गहिरो अध्ययन र मननले तपाईँलाई बाइबलको शिक्षा सही हो भन्ने कुरामा ढुक्क भइरहन मदत गर्नेछ।—१ तिमो. ४:१५.
समयको सदुपयोग गर्नुहोस्
११. थप शिक्षा लिँदै गर्दा समयको सदुपयोग गर्ने सन्दर्भमा कस्तो चुनौती आउन सक्छ?
११ चुनौती। थप शिक्षा लिँदा तपाईँले त्यसको लागि धेरै समय दिनुपर्ने हुन सक्छ। जस्तै, जाँचको तयारी गर्नुपर्दा वा कुनै प्रोजेक्ट छोटो समयभित्र सिद्ध्याउनुपर्दा भ्याइ-नभ्याइ हुन सक्छ। यदि तपाईँले समयको सदुपयोग गर्नुभएन भने अचाक्ली तनाव हुन सक्छ। साथै शारीरिक, भावनात्मक र मानसिक रूपमा थकित भएर ‘बर्न-आउट’ समेत हुन सक्छ। त्यसैले आफ्नो शारीरिक र भावनात्मक स्वास्थ्यको राम्रो हेरचाह गर्नु जरुरी छ।
१२. तपाईँले कस्ता कुराहरू गर्न समय छुट्ट्याउनुपर्छ? (एफिसी ५:१५, १६)
१२ एफिसी ५:१५, १६ पढ्नुहोस्। “समयको पूरा सदुपयोग” गर्न पक्कै सजिलो हुँदैन। सन्तुलित हुन सिक्नुपर्छ किनभने तपाईँले गर्नुपर्ने कुराहरू धेरै छन्। जस्तै, तपाईँले पढाइको लागि समय दिनुपर्छ। तर आफ्नो परिवार र मण्डलीका भाइबहिनीसित समय बिताउनु झनै महत्त्वपूर्ण छ। (भज. १३३:१; हितो. १८:१) तपाईँले आफ्नो आध्यात्मिक आवश्यकतालाई कहिल्यै हेलचेक्य्राइँ गर्नु हुँदैन। (मत्ति ६:३३) त्यसलाई सधैँ पहिलो स्थानमा राख्नुपर्छ। साथै तपाईँले परिवारलाई सघाउनुपर्ने होला अनि काम पनि गर्दै हुनुहुन्छ होला। त्यति मात्र होइन, आफ्नो स्वास्थ्यको ख्याल राख्न पर्याप्त मात्रामा आराम र व्यायाम पनि गर्नुपर्छ। (उप. ४:६; १ तिमो. ४:८) यी सबै काम भ्याउन राम्रो तालिका बनाएर त्यसैअनुसार चल्नुपर्छ।
१३. समयको पूर्ण सदुपयोग गर्न तपाईँ के गर्न सक्नुहुन्छ?
१३ थप शिक्षा लिनुअघि नै तपाईँ के गर्न सक्नुहुन्छ? राम्रो योजना बनाउँदा सफल हुन सकिन्छ। (हितो. २१:५) त्यसैले थप शिक्षा लिनुअघि नै तपाईँले राम्रो तालिका बनाउनुपर्छ। तर तालिका बनाउँदा व्यावहारिक पनि हुनुपर्छ। स्कुलका दिनहरू सम्झनुहोस्: के तपाईँले स्कुलमा छँदा आफूले गर्नै पर्ने कुराहरूको लागि समय दिन सक्नुभएको थियो? यदि तपाईँलाई ‘मैले यस्तो गरेको भए हुन्थ्यो’ जस्तो लागिरहेको छ भने अबचाहिँ गर्नुभए कसो होला? समयले तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस् बरु तपाईँले समयलाई नियन्त्रण गर्ने अठोट गर्नुहोस्।c
१४. आफूलाई जाँच्न तपाईँ कस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ?
१४ थप शिक्षा लिँदै गर्दा आफूलाई नियमित रूपमा जाँच्नुहोस्। आफैलाई सोध्नुहोस्, ‘के मैले पर्याप्त आराम र व्यायाम गर्न समय पाइरहेको छु? के मैले भाइबहिनीहरूसित सरसङ्गत गर्न भ्याइरहेको छु? के मैले होमवर्क समयमै पूरा गर्न सकिरहेको छु? यदि सकिरहेको छैनँ भने त्यसको कारण के हुन सक्छ? काम नै धेरै भएकोले गर्दा हो कि काम पछि सार्ने बानीले गर्दा? आफूले राम्रै गरिरहेको छु जस्तो लागे तापनि परिवार र साथीभाइले केही छाँटकाँट गर्नुपर्ने सुझाव दिएका छन् कि?’ आफ्नो तालिका छाँटकाँट गर्नुपर्ने वा अलि अनुशासित हुनुपर्ने देख्नुभयो भने तुरुन्तै कदम चालिहाल्नुहोस्। समयलाई राम्ररी प्रयोग गर्न जानेका व्यक्तिहरूसित पनि तपाईँ कुरा गर्न सक्नुहुन्छ।—हितो. ११:१४.
‘बुद्धिमान्सित हिँडिरहनुहोस्’
१५. थप शिक्षा लिँदै गर्दा कस्तो चुनौती आउन सक्छ?
१५ चुनौती। थप शिक्षा लिँदै गर्दा तपाईँका साथीहरूले पढाइबाहेकका अन्य गतिविधिमा पनि तपाईँलाई बोलाउन सक्छन्। तपाईँलाई पनि जाऊँ-जाऊँ जस्तो लाग्न सक्छ। त्यस्तो लाग्नु स्वाभाविकै हो किनभने तपाईँहरूबीच धेरै कुरा मिल्छ। एकअर्कासित क्लासमा धेरै समय बिताउनुहुन्छ भने त मिल्ने कुराहरू अझ धेरै हुन सक्छ। त्यसैले तपाईँलाई मण्डलीका भाइबहिनीसित भन्दा क्लासका साथीहरूसित अझ धेरै कुरा मिल्छ जस्तो लाग्न सक्छ। तर तपाईँ होसियार हुनुपर्छ। साथीहरूसित धेरै कुरा मिले तापनि एउटा कुरा भने पटक्कै मिल्दैन। तपाईँ यहोवालाई खुसी बनाउन चाहनुहुन्छ तर तिनीहरूलाई भने त्यसको वास्तै छैन। तपाईँ तिनीहरूसित जति धेरै समय बिताउनुहुन्छ, तपाईँको सोचाइ त्यति नै तिनीहरूको जस्तै हुँदै जानेछ। (१ कोरि. १५:३३) माइकलले पनि त्यस्तै अनुभव गरे। तिनले इलेक्ट्रिसियन बन्न चार वर्षे कोर्स लिएका थिए। तिनी भन्छन्, “कामको सिलसिलामा मेरो धेरैजसो समय सहकर्मीहरूसितै बित्थ्यो। तिनीहरू फोहोर बोली बोल्थे, छाडा म्युजिक सुन्थे अनि स्त्रीहरूलाई पटक्कै आदर गर्दैनथे। बिस्तारै मैले पनि तिनीहरूको जस्तै सोचाइ राख्न थालेँ।”
१६. ‘बुद्धिमान्सित हिँड्नु’ भनेको के हो? (हितोपदेश १३:२०)
१६ हितोपदेश १३:२० पढ्नुहोस्। खराब सङ्गतले हामीलाई बिगार्न सक्छ भनेर बाइबल चेतावनी दिन्छ। तर “बुद्धिमान्सित हिँड्ने मानिस बुद्धिमान् हुन्छ।” हाम्रो लागि पाठ: हामी जोसित धेरै समय बिताउँछौँ, उसले नै हामीमा धेरै प्रभाव पार्छ, चाहे त्यो राम्रो होस् या नराम्रो। त्यसैले तपाईँले जस्तै यहोवालाई प्रेम गर्ने र तपाईँको साँचो हित चाहने साथीहरूसित नजिक भइरहनुहोस्।—भज. १०१:६, ७; ११९:६३.
१७. तपाईँ कसरी खराब सङ्गतबाट जोगिन सक्नुहुन्छ?
१७ थप शिक्षा लिनुअघि नै तपाईँ के गर्न सक्नुहुन्छ? साथीहरूसित कति समय बिताउने र कत्तिको नजिक हुने भनेर सीमा तोक्नुहोस्। ट्रेन्टन यसो भन्छन्: “म क्लासका साथीहरूसित मित्रैलो व्यवहार गर्छु। तर क्लासपछि तिनीहरूसित समय बिताउँदिनँ। तिनीहरू मसँगै पढ्ने साथीहरू त हुन् तर मेरा घनिष्ठ साथीहरू भने होइनन्।” तपाईँ कस्तो सीमा तोक्न सक्नुहुन्छ? यो प्रश्नको जवाफ पाउन स्कुलका दिनहरू सम्झनुहोस्: स्कुलमा छँदा तपाईँले कस्तो सीमा तोक्नुभएको थियो? यदि तपाईँलाई ‘मैले यस्तो गरेको भए हुन्थ्यो’ जस्तो लागिरहेको छ भने अबचाहिँ गर्नुभए कसो होला? यहोवालाई प्रेम नगर्ने मानिसहरूदेखि टाढै बस्ने र ‘बुद्धिमान्सित हिँडिरहने’ अठोट गर्नुहोस्।d
१८. आफूलाई जाँच्न तपाईँ कस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
१८ थप शिक्षा लिँदै गर्दा आफूलाई नियमित रूपमा जाँच्नुहोस्। आफैलाई सोध्नुहोस्, ‘के म क्लासका साथीहरूसित अलि धेरै नै नजिक भइरहेको छु? के तिनीहरूको बोली, व्यवहार र सोचाइले मलाई असर गर्न थालेको छ? स्कुलका साथीहरूसितको मेरो उठबस यहोवालाई कस्तो लागिरहेको छ?’ (भज. १:१) आफूमा केही छाँटकाँट गर्नुपर्ने देख्नुभयो भने तुरुन्तै कदम चालिहाल्नुहोस्। तपाईँले जस्तै यहोवालाई प्रेम गर्ने व्यक्तिहरूलाई मात्र आफ्नो घनिष्ठ साथी बनाउनुहोस्। साथै क्लासका साथीहरूलाई साक्षी दिन नहिचकिचाउनुहोस्। तिनीहरूलाई सत्य सिक्न मदत गर्ने राम्रो मौका तपाईँसित छ।
साथीहरूलाई साक्षी दिन नहिचकिचाउनुहोस् (अनुच्छेद १८ हेर्नुहोस्)e
पूर्वतयारी गर्नुहोस्
१९. आध्यात्मिक खतराहरूबाट जोगिन तपाईँ कस्तो तयारी गर्न सक्नुहुन्छ? एउटा उदाहरण बताउनुहोस्।
१९ ट्रेकिङ जान लागेको व्यक्तिले पूर्वतयारी गर्छ। हुनत उसलाई बाटोमा आइपर्ने एक-एक चुनौतीबारे थाह हुँदैन। तर उसले आवश्यक तयारी भने गर्छ। जस्तै: आफ्नो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्छ, आवश्यक लुगाफाटाको बन्दोबस्त मिलाउँछ र उसलाई आफ्नो गन्तव्य पनि स्पष्टसित थाह हुन्छ। यही कुरा थप शिक्षा लिने सन्दर्भमा पनि लागू हुन्छ। त्यसोभए तपाईँ कस्तो तयारी गर्न सक्नुहुन्छ? आफ्नो विश्वासलाई बलियो बनाइराख्नुहोस्। ‘परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर्नुहोस्’ र आफ्नो लक्ष्यलाई स्पष्टसित मनमा राख्नुहोस्। तपाईँको लक्ष्य भनेको संसारमा सफलता हासिल गर्नु होइन बरु सबै थोक यहोवाकै महिमाको निम्ति गर्नु हो।—एफि. ६:११-१३; १ कोरि. ९:२६, २७; १०:३१.
२०. हामी ‘विश्वासमा छौँ कि छैनौँ’ भनेर कसरी जाँचिरहन सक्छौँ?
२० बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी जाँचिरहो, तिमीहरू कस्ता मानिसहरू हौ, साबित गरिरहो।” (२ कोरि. १३:५) थप शिक्षा लिँदै गर्दा तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ? यस लेखमा छलफल गरिएका क्षेत्रहरूमा कस्तो गर्दै छु भनेर तपाईँ आफूलाई नियमित रूपमा जाँच्न सक्नुहुन्छ। के तपाईँले राम्रो आध्यात्मिक तालिका कायम गरिरहनुभएको छ? के तपाईँले संसारको बुद्धिबाट आफ्नो सोचाइलाई जोगाइरहनुभएको छ? के तपाईँले आफ्नो समयको पूर्ण सदुपयोग गरिरहनुभएको छ? के तपाईँ खराब सङ्गतदेखि टाढै बसेर यहोवालाई प्रेम गर्ने मानिसहरूलाई साथी बनाउँदै हुनुहुन्छ? यस्ता प्रश्नहरू सोधेर हामी आफूलाई जाँच्न सक्छौँ, चाहे हामी स्कुलमा होऔँ, काम गर्ने ठाउँमा होऔँ वा अन्त कतै। जस्तोसुकै परिस्थिति आइपरे तापनि आफ्नो विश्वासलाई बलियो बनाइराख्ने अठोट गर्नुहोस्। त्यस्तो प्रयास गर्दा यहोवाले तपाईँलाई पक्कै आशिष् दिनुहुनेछ!—हितो. ३:५, ६.
गीत ८७ आऊ, स्फूर्ति पाऔँ!
a यहोवाको सेवामा सक्रिय भइरहन मदत गर्ने सुझावहरूका लागि jw.org मा “युवाहरू सोध्छन् . . . बप्तिस्मापछि मैले के गर्नुपर्छ?—भाग १: आध्यात्मिक गतिविधिमा भाग लिइरहनुहोस्” भन्ने लेख हेर्नुहोस्।
b आफ्नो सोच्ने क्षमतालाई जोगाउन मदत गर्ने सुझावहरूका लागि मे २०१९ को प्रहरीधरहरा-मा भएको “‘यस संसारको बुद्धि’-को बहकाउमा नपर्नुहोस्” भन्ने लेख हेर्नुहोस्।
c दैनिक कामकुराको लागि राम्रो तालिका बनाउन मदत गर्ने सुझावहरूका लागि jw.org मा “युवाहरू सोध्छन् . . . म कसरी समयको सदुपयोग गर्न सक्छु?” भन्ने लेख हेर्नुहोस्।
d असल सङ्गत छान्न मदत गर्ने सुझावहरूका लागि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! किताबको पाठ ४८, “बुद्धिमानीपूर्वक साथीहरू छान्नुहोस्” हेर्नुहोस्।
e चित्रको व्याख्या: हेयर-स्टाइलिस्टको तालिम लिइरहेकी एक बहिनी साथीलाई साक्षी दिँदै छिन्।