जुलाई २०-२६, २०२६
गीत १३३ युवावस्थामै यहोवाको उपासना गरौँ!
थप शिक्षाबारे बुद्धिमानी निर्णय गर्नुहोस्
“चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितो. १४:१५.
सिक्न सकिने कुरा
थप शिक्षा लिने कि नलिने भनेर निर्णय गर्नुपर्दा हामीले विचार गर्नुपर्ने कुराहरू र बाइबल सिद्धान्तहरू।
१-२. (क) जवानहरूले कस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ? (ख) “थप शिक्षा” भन्ने अभिव्यक्तिले केलाई बुझाउँछ? (“थप व्याख्या” हेर्नुहोस्।)
हुर्कँदै गरेका केटाकेटीलाई प्रायजसोले यस्तो प्रश्न सोध्ने गर्छन्: ‘तिमी ठूलो भएपछि के बन्न चाहन्छौ?’ पक्कै पनि सबैभन्दा राम्रो करिअर पूर्ण-समय सेवा नै हो। तर आफ्नो भौतिक आवश्यकता पूरा गर्न काम त गर्नै पऱ्यो। (२ थिस्स. ३:१०) सायद तपाईँले ठूलो भएपछि के गर्ने भनेर सोच्नुभएको छ होला।
२ केही जवानहरू भविष्यमा काम पाउन सजिलो होस् भनेर सरकारले तोकेको आधारभूत शिक्षा लिएपछि थप शिक्षा लिने निर्णय गर्छन्।a यस्तो निर्णय गर्न तिनीहरू प्रायजसो आमाबुबाको सल्लाह लिन्छन्। तपाईँ पनि थप शिक्षा लिने कि नलिने भनेर सोच्दै हुनुहुन्छ होला। अनि यदि लिने हो भने कस्तो शिक्षा लिने भनेर पनि विचार गर्दै हुनुहुन्छ होला। यस सन्दर्भमा बुद्धिमानी निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू यस लेखमा छलफल गरिएको छ। राम्ररी सोचविचार गरेर निर्णय गर्दा नतिजा राम्रो हुन्छ। हुनत यो लेख जवानहरूको लागि तयार पारिएको हो तर थप शिक्षा लिनेबारे सोचिरहेका जुनसुकै उमेरका ख्रिष्टियनहरूले यो लेखबाट लाभ उठाउन सक्छन्। यस लेखमा छलफल गरिएका सिद्धान्तहरूबाट आमाबुबाले पनि लाभ उठाउन सक्छन्। ती सिद्धान्तहरूको आधारमा तिनीहरूले छोराछोरीलाई सही निर्णय गर्न मदत दिन सक्छन्।
के तपाईँले थप शिक्षा लिनुपर्छ?
३. केही ख्रिष्टियनले किन थप शिक्षा लिने निर्णय गर्छन्?
३ कुनै-कुनै ठाउँमा थप शिक्षा नलिए पनि राम्रै कमाइ गरेर जीवन बिताउन सकिन्छ। अरू कतिपय ठाउँमा भने थप शिक्षा लिँदा राम्रो तलब आउने वा घण्टौँ घोटिनु नपर्ने काम पाउन सजिलो हुन सक्छ। यसले गर्दा ख्रिष्टियनहरूले प्रचारमा वा अरू आध्यात्मिक गतिविधिमा अझ धेरै समय बिताउन सकेका छन्। तर थप शिक्षा लिने निर्णय गरेकाहरूले केही त्यागहरू गर्नुपर्ने हुन्छ र चुनौतीहरू पनि आइपर्न सक्छ।
४. थप शिक्षा लिने कि नलिने भन्नेबारे कसले निर्णय गर्नुपर्छ? (फुटनोट पनि हेर्नुहोस्।)
४ बाइबल यसो भन्छ: “हरेकले आफ्नो जिम्मेवारीको भारी आफै बोक्नेछ।” (गला. ६:५, फुटनोट) त्यसैले थप शिक्षा लिने कि नलिने भनेर प्रत्येक वयस्क ख्रिष्टियन आफैले निर्णय गर्नुपर्छ।b आफ्ना नाबालिग छोराछोरीलाई शिक्षाको विषयमा सही निर्णय गर्न मदत दिने जिम्मेवारी भने आमाबुबाको हो। (एफि. ६:१) आमाबुबाको डोऱ्याइले छोराछोरीलाई वयस्क भएपछि थप शिक्षाको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न मदत दिनेछ।—हितो. २२:६.
५. थप शिक्षा लिने कि नलिने भन्नेबारे कहिले सोच्न थाल्नुपर्छ र किन? (चित्र पनि हेर्नुहोस्।)
५ जवानहरूले अक्सर स्कुलमा छँदा नै पछि गएर थप शिक्षा लिने कि नलिने भनेर निर्णय गर्नुपर्ने हुन्छ। यस्तो निर्णय गर्नुपर्ने समय आउनुअघि नै जवानहरूले आमाबुबासित सल्लाह गर्नु बुद्धिमानी हो। यसो गऱ्यो भने तिनीहरूले आमाबुबासँगै मिलेर के-कस्ता विकल्पहरू छन् भन्ने कुराको जानकारी बटुल्न प्रशस्त समय पाउनेछन्। अनि तिनीहरूले स्कुलमा त्यस्ता विषयहरू रोजेर पढ्न सक्नेछन्, जसले तिनीहरूलाई पछि लिन चाहेको थप शिक्षा वा जागिरमा टेवा पुऱ्याउनेछ। के यसको मतलब तिनीहरूले स्कुलको पढाइ सकिनुअघि नै यस्तो निर्णय गर्नुपर्छ भन्ने हो? त्यसो त होइन। (हितो. २१:५) केही जवानहरूले स्कुलको पढाइ सकिएपछि काम खोजेर अग्रगामी सेवा सुरु गरेका छन्। अनि त्यस दौडान तिनीहरूले आफ्नो लागि थप शिक्षा आवश्यक छ कि छैन भनेर विचार गर्छन्। कसै-कसैले भने थप शिक्षा लिनेबारे धेरै वर्षपछि पनि विचार गर्न सक्छन्।
ख्रिष्टियन आमाबुबाहरू आफ्ना छोराछोरीलाई थप शिक्षाको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न मदत गर्छन् (अनुच्छेद ५ हेर्नुहोस्)
६. थप शिक्षाको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न तपाईँ के गर्न सक्नुहुन्छ?
६ थप शिक्षाको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न तपाईँ के गर्न सक्नुहुन्छ? तपाईँ यसबारे प्रार्थना गर्न सक्नुहुन्छ। (याकु. १:५) साथै यी कदमहरू पनि चाल्न सक्नुहुन्छ: पहिलो, इमानदार भई आफ्नो मनसाय केलाउनुहोस्। (भज. २६:२) दोस्रो, आफूले लिन चाहेको थप शिक्षाको फाइदा-बेफाइदा राम्ररी केलाउनुहोस्। (हितो. १४:१५) आउनुहोस्, यी कदमहरूबारे पालैपालो छलफल गरौँ।
आफ्नो मनसाय केलाउनुहोस्
७. थप शिक्षा लिनेबारे सोच्दै हुनुहुन्छ भने कस्ता कुराहरू विचार गर्नुपर्छ?
७ यदि तपाईँ थप शिक्षा लिनेबारे विचार गर्दै हुनुहुन्छ भने यो प्रश्न आफैलाई सोध्नु निकै महत्त्वपूर्ण छ, ‘म यो शिक्षा किन लिन चाहन्छु?’ धेरैजसो मानिस आफूले चाहेको वा धेरै पैसा आउने काम पाउन थप शिक्षा लिन्छन्। के यो मनसाय गलत हो? त्यसो त होइन। (१ तिमो. ५:८) तर बाइबलले हामीलाई पैसालाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नबनाउन र त्यसैमा भर नपर्न चेतावनी दिन्छ। (हितो. २३:४, ५; १ तिमो. ६:८-१०; १ युह. २:१७) यदि तपाईँको मनसाय संसारमा नाम-दाम कमाउने हो भने पछि गएर तपाईँले खोक्रो महसुस गर्ने र यहोवादेखि नै टाढिने सम्भावना पनि हुन सक्छ।
८-९. (क) हामीले शिक्षाप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (मत्ति ६:३३) (ख) तपाईँले जोसेफिना, मोरिन र आइरिसबाट के सिक्नुभयो?
८ त्यसोभए शिक्षाप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? हाम्रो जीवनमा यहोवाको सेवा गर्नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुनु हुँदैन। (मत्ति २२:३७, ३८; फिलि. ३:८) त्यसैले हामीले शिक्षालाई तनमनले यहोवाको सेवा गर्न मदत दिने माध्यमको रूपमा मात्र हेर्नुपर्छ।—मत्ति ६:३३ पढ्नुहोस्।
९ केही ख्रिष्टियनहरूलाई थप शिक्षाप्रति सही दृष्टिकोण राख्न केले मदत गऱ्यो, आउनुहोस् विचार गरौँ। चिलीमा बस्ने जोसेफिना भन्छिन्: “मैले थप शिक्षालाई तनमनले यहोवाको सेवा गर्न मदत दिने माध्यमको रूपमा मात्र हेरेँ। मैले त्यसलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाइनँ। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवासितको सम्बन्ध हो।” अर्की बहिनी मोरिनले हेयर-स्टाइलिस्ट बन्न एक वर्षे तालिम लिइन्। तिनी यसो भन्छिन्: “मेरो लक्ष्य आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्ने थियो। त्यसैले मैले त्यो लक्ष्य हासिल गर्न मदत गर्ने खालको कोर्स लिएँ। कोर्स सिद्धिएपछि मैले हेयर-स्टाइलिस्टको रूपमा काम गर्न थालेँ अनि नयाँ ठाउँमा सर्न सकियोस् भनेर केही पैसा बचत गर्न थालेँ। अनि आवश्यकता धेरै भएको ठाउँमा सरेपछि काम पाउन पनि सजिलो भयो।” आइरिस बहिनीबारे पनि विचार गरौँ। तिनले डेन्टलसम्बन्धी लामो कोर्स लिएकी थिइन्। तिनी भन्छिन्: “थप शिक्षा लिँदा केही फाइदा त हुन्छ तर यसले कहिल्यै पनि तपाईँलाई साँचो सफलता र सन्तुष्टि दिँदैन। कुरा स्पष्ट छ, हामीले यहोवा परमेश्वरलाई आफ्नो जीवनमा पहिलो स्थान दिएका छौँ भने मात्र सफल र सन्तुष्ट हुन सक्नेछौँ।” हो, यहोवासितको मित्रतालाई पहिलो स्थान दियौँ भने हामीले सधैँभरि आनन्दित हुन सक्ने निर्णयहरू गर्न सक्नेछौँ।
फाइदा-बेफाइदा केलाउनुहोस्
१०. थप शिक्षाको सन्दर्भमा व्यवस्था ३२:२९ मा पाइने सिद्धान्त हामी कसरी लागू गर्न सक्छौँ?
१० तपाईँले कुनै खास कोर्स वा तालिम लिनेबारे सोच्दै हुनुहुन्छ होला। तर त्यही क्षेत्रमा वा अन्य क्षेत्रमा अरू के-कस्ता विकल्पहरू छन् भनेर पनि विचार गर्नु राम्रो हो। (हितोपदेश १८:१७ तुलना गर्नुहोस्।) अहिले थप शिक्षा लिनको लागि थुप्रै नयाँ तरिकाहरू उपलब्ध छन्। जस्तै, अनलाइन कोर्स। अनि कुनै थप शिक्षा नलिइकनै आफ्नो गुजारा चलाउन सकिन्छ कि भनेर पनि सोच्नुहोस्। फिनल्याण्डकी योहाना बहिनीको अनुभव विचार गरौँ। तिनले थप शिक्षा लिएकी थिइनन्। तिनी भन्छिन्, “स्कुलको पढाइ सकिएपछि मैले पार्ट-टाइम काम गर्दै अग्रगामी गरेँ। मैले थुप्रै कामहरू गरेँ अनि यहोवाले सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको महसुस गरेँ। उहाँले सधैँ मेरो ख्याल राख्नुभयो।” यो कुरा पनि नबिर्सनुहोस्, थप शिक्षा लिने वा नलिने अनि लिने हो भने कस्तो शिक्षा लिने, त्यसबारे निर्णय गर्दा फाइदा-बेफाइदा दुवै केलाउनुपर्छ। आफैलाई सोध्नुहोस्, ‘मलाई फाइदा धेरै हुन्छ कि बेफाइदा?’ (व्यवस्था ३२:२९ पढ्नुहोस्; १ कोरि. १०:२३) आउनुहोस्, यो प्रश्नको जवाफ पाउन मदत गर्ने केही बुँदाहरू विचार गरौँ।
११. थप शिक्षा लिँदा आफ्नो तालिका कस्तो हुन्छ भनेर विचार गर्नु किन महत्त्वपूर्ण छ? (चित्रहरू पनि हेर्नुहोस्।)
११ तालिका। क्लास लिन, काम सिक्न र होमवर्क गर्न हरेक हप्ता कति घण्टा बिताउनुपर्छ, त्यसबारे विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्, ‘आध्यात्मिक गतिविधिमा भाग लिन र परिवारमा आफ्नो जिम्मेवारी पूरा गर्न के मसँग समय बाँकी रहन्छ? (फिलि. १:१०) दिमाग असाध्यै थाकेकोले सभाको तयारी गर्न वा व्यक्तिगत अध्ययन गर्न जोस-जाँगरै बाँकी रहँदैन कि?’ इन्डियाको जेरुसले त्यस्तै अनुभव गरेका थिए। तिनी भन्छन्, “मलाई प्रचारमा नियमित रूपमा भाग लिन अनि सभामा ध्यान दिन निकै गाह्रो भयो। कहिलेकाहीँ त सभा पनि छुट्थ्यो। अहिले सम्झँदा मैले बेकारमा त्यति धेरै समय र शक्ति खेर फालेँ जस्तो लाग्छ।” तर समय धेरै दिनु नपर्ने र होमवर्क धेरै गर्नु नपर्ने किसिमका कोर्सहरू पनि हुन्छन्। मोजाम्बिककी रबेकालाई आफूले थप शिक्षाको सन्दर्भमा सही छनौट गरेँ जस्तो लाग्छ। तिनी भन्छिन्: “मैले दिनमा दुई घण्टा मात्र दिए पुग्थ्यो। त्यसैले नियमित अग्रगामी गरिरहन सकेँ।”
तपाईँ थप शिक्षा लिनेबारे सोच्दै हुनुहुन्छ भने पढाइको दौडान अरू महत्त्वपूर्ण जिम्मेवारीहरू पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, त्यो पनि विचार गर्नुहोस् (अनुच्छेद ११ हेर्नुहोस्)
१२. थप शिक्षाको सन्दर्भमा समयको पूर्ण सदुपयोग गर्न कस्ता कुराहरू विचार गर्नुपर्छ? (उपदेशक १२:१)
१२ समय। थप शिक्षा लिन कति महिना वा वर्ष लाग्छ, त्यसबारे विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्, ‘यो शिक्षा लिँदा के मैले समयको पूर्ण सदुपयोग गरिरहेको हुन्छु? (एफि. ५:१५-१७) के मैले युवावस्थामै यहोवालाई सर्वोत्तम सेवा चढाउन सक्नेछु, जस्तै: पूर्ण-समय सेवा गरेर?’ (उपदेशक १२:१ पढ्नुहोस्।) ‘मैले थप शिक्षा लिन चाहेको क्षेत्रमा छोटो अवधिका कोर्सहरू पनि छन् कि? जस्तै, विश्वविद्यालयको तुलनामा कम खर्चमा र छोटो समयमै पूरा गर्न सकिने कुनै व्यावसायिक तालिम वा सीपमूलक शिक्षा छ कि?’ चिलीमा बस्ने मारियो यसो भन्छन्: “मैले दुई वर्षे प्राविधिक कोर्स लिएँ। यो कोर्स विश्वविद्यालयको पढाइको तुलनामा सस्तो थियो। मेरो क्लास हप्ताको चार दिन मात्र हुन्थ्यो। त्यसैले कोर्स लिँदै अग्रगामी पनि गर्न सकेँ।”
१३. थप शिक्षा लिन घरबाट टाढा जानुपर्ने भयो भने के हुन सक्छ?
१३ ठाउँ। थप शिक्षा लिन कहाँसम्म जानुपर्ने हुन्छ, विचार गर्नुहोस्। तपाईँले लिन चाहेको कोर्स तपाईँको घरनजिकै उपलब्ध हुन सक्छ। तर उपलब्ध छैन अनि त्यसको लागि घरबाट टाढा अर्कै सहरमा जानुपर्छ भने नि? अथवा होस्टेलमै बसेर पढ्नुपर्ने हुन्छ कि? परिवारबाट टाढा हुँदा तपाईँको आध्यात्मिकता खतरामा पर्ने सम्भावना धेरै हुन्छ। अझ विशेषगरि फरक आस्था भएको मानिसहरूसित सँगै बस्नुपऱ्यो भने त्यस्तो खतरा झन् धेरै हुन्छ। (हितो. २२:३; १ कोरि. १५:३३) मोजाम्बिकमा बस्ने मतियासले एक वर्षे कोर्स लिए र त्यो पूरा गर्न त्यति खर्च पनि लागेन। तैपनि तिनलाई आफ्नो निर्णयमा पछुतो लाग्छ। किन? तिनी भन्छन्: “म पूरै समय होस्टेलमा बस्नुपऱ्यो। मलाई हरेक दिनजसो गलत काम गर्ने प्रलोभन आउँथ्यो। त्यसैले म अरूलाई परिवारबाट टाढा बस्नुपर्ने खालको कोर्स नलिन सुझाव दिन्छु।” रुसकी एउटी बहिनी यसो भन्छिन्: “मैले थप शिक्षाको लागि होस्टेलमा नभई आमाबुबासितै बस्ने निर्णय गरेँ। यसले गर्दा म थुप्रै खतरा र प्रलोभनहरूदेखि जोगिन सकेँ।” तपाईँ अनलाइन कोर्स लिनेबारे पनि सोच्न सक्नुहुन्छ।
१४. थप शिक्षाको सन्दर्भमा लुका १४:२८ मा भएको सिद्धान्त तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ?
१४ खर्च। कुनै-कुनै कोर्स त्यत्ति महँगो हुँदैन वा पढाइको खर्च सरकारले नै बेहोरिदिने पनि हुन सक्छ। त्यस्तो कोर्स लिँदा पछि जागिर पाउन चाहिने ज्ञान र सीप हासिल गर्न त्यति खर्च गर्नु नपर्ने हुन सक्छ। तर कुनै-कुनै कोर्स भने महँगो हुन्छ। अनि थप खर्चहरू पनि गर्नुपर्ने हुन सक्छ। जस्तै, थप शिक्षाको लागि नाम निकाल्न छुट्टै ट्युसन लिनुपर्ने हुन सक्छ। कुनै-कुनै कोर्स लिँदा भने विद्यार्थीले वर्षौँसम्म ऋण तिरिरहनुपर्ने हुन्छ। मोजाम्बिकका एडिल्सन आफूले गरेको छनौटमा पछुतो मान्छन्। तिनी भन्छन्: “मैले चार वर्षको कोर्स लिएको थिएँ। मेरो पढाइ-खर्च बेहोर्न परिवारले निकै त्याग गर्नुपऱ्यो। हाम्रो परिवारलाई कुनै-कुनै खानेकुरा किन्न र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ पऱ्यो।” तपाईँले कुनै कोर्स वा तालिम लिने विचार गर्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्, ‘यसको लागि कति खर्च लाग्छ? के म वा मेरो परिवारले पढाइ-खर्च बेहोर्न सक्छ? योभन्दा कम खर्च लाग्ने अर्को कुनै कोर्स छ कि?’ (लुका १४:२८ पढ्नुहोस्।) ‘ऋण लिनुपऱ्यो भने त्यो चुक्ता गर्न कति समय लाग्नेछ? काम गर्न थालेपछि आउने तलबबाट के मैले आफ्नो गुजारा चलाउन र ऋण तिर्न सक्नेछु?’—हितो. २२:७.
१५. कुनै कोर्स लिनुअघि काम पाउने सम्भावनाबारे किन विचार गर्नुपर्छ?
१५ काम। तपाईँ बसिरहेको ठाउँ वा जान चाहेको ठाउँमा काम पाउने सम्भावना कत्तिको छ, विचार गर्नुहोस्। आफैलाई सोध्नुहोस्, ‘के मैले लिन चाहेको कोर्सले काम पाउन साँच्चै मदत गर्नेछ?’ कुनै-कुनै कोर्समा कामको लागि चाहिने सीप खासै सिकाइँदैन बरु किताबी ज्ञान मात्र दिइन्छ। अनि मानव दर्शन वा बौद्धिक विषयहरूबारे मात्र सिकाउने गरिन्छ। (कल. २:८) इन्डियाकी एक बहिनी यसो भन्छिन्: “मैले लिएको कोर्सले पछि काममा चाहिने सीपहरू खासै सिकाएन। त्यसैले आफूले गर्न चाहेको जस्तो काम पाउनै सकिनँ।” कुनै-कुनै कोर्समा कामको लागि चाहिने सीप त सिकाइन्छ तर काम पाउने सम्भावना एकदमै थोरै हुन्छ। मध्य अफ्रिकी गणतन्त्रका सब्लाइमले एयर कन्डिसनर मर्मतसम्बन्धी कोर्स लिएका थिए। तर तिनी भन्छन्: “म बस्ने ठाउँका धेरैजसो मानिसहरूले आफ्नो सरसामानको मर्मत आफै गर्छन्। त्यसैले काम पाउन गाह्रो छ।”
१६. पढाइ सकिएपछि कस्तो किसिमको काम गर्नुपर्छ भनेर विचार गर्नु किन राम्रो हो?
१६ तपाईँको पढाइ सकिएपछि के-कस्तो काम पाउन सकिन्छ, त्यो पनि विचार गर्नुहोस्। आफैलाई यी प्रश्नहरू सोध्नुहोस्, ‘के म त्यो काममा रमाउन सक्नेछु? (उप. ३:१२, १३) काम गर्ने ठाउँको वातावरण कस्तो हुनेछ? त्यो काम गर्दा मैले ज्यानकै खतरा मोल्नुपर्ने हुन्छ कि? काममा कत्तिको प्रतिस्पर्धा हुन्छ? काम धेरै तनावपूर्ण हुन्छ कि? त्यस्तो खालको काममा साधारणतया कति कमाउन सकिन्छ? के त्यति कमाइले गुजारा चलाउन सकिन्छ? काममा टिकिरहन अझै पढिरहनुपर्ने हुन्छ कि? सबैभन्दा महत्त्वपूर्ण कुरा, के मैले परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहन सक्नेछु?’ (उप. १२:१३) तपाईँ बस्ने ठाउँमा काम पाउन गाह्रो छ भने आफूले चाहेको जस्तो काम पाउन नसकिएला। तर थप शिक्षाको सन्दर्भमा तपाईँले बुद्धिमानी छनौट गर्नुभयो भने पछि काम पाउने सम्भावना धेरै हुन्छ। इन्डियाकी तबिताले छ महिने सिलाइ तालिम लिइन्। तिनी भन्छिन्: “सिलाइको काम गरेँ भने अग्रगामी गर्न सजिलो हुन्छ जस्तो मलाई लाग्यो। यो भनेको सधैँ भइरहने काम हो। कामको समय पनि आफै मिलाउन सकिन्छ अनि धेरै लगानी पनि गर्नुपर्दैन।” यस्तो कोर्स लिएकोले तबिताले सजिलै काम पाउन सकिन् र अग्रगामी पनि गरिरहन सकिन्।
१७. (क) थप शिक्षाको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न चाहिने जानकारी तपाईँ कहाँ भेट्टाउन सक्नुहुन्छ? (ख) सही निर्णय गर्न कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ? (“यी बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्” भन्ने पेटी हेर्नुहोस्।)
१७ यस लेखमा थप शिक्षाको सन्दर्भमा विचार गर्नुपर्ने थुप्रै कुराहरू छलफल गऱ्यौँ। त्यसोभए बुद्धिमानी निर्णय गर्न चाहिने आवश्यक जानकारी तपाईँ कसरी भेट्टाउन सक्नुहुन्छ? तपाईँले लिने विचार गर्नुभएका कोर्सहरूबारे जानकारी पाउन शैक्षिक संस्थाहरूमा गएर बुझ्नुहोस् वा तिनीहरूको वेबसाइट हेर्नुहोस्। त्यस्तो कोर्स लिएपछि काम पाइन्छ कि पाइँदैन, त्यो पनि बुझ्नुहोस्। त्यस्तै कोर्स लिएकाहरू वा कोर्स पूरा गरेर त्यही क्षेत्रमा काम गरिरहेकाहरूसित सल्लाह पनि माग्न सक्नुहुन्छ। (हितो. १३:१०) तिनीहरूलाई सोध्नुहोस्, ‘यस्तो कोर्स लिनुको वा यो काम गर्नुको फाइदा-बेफाइदा के छ?’ साथै तपाईँ यहोवाको सेवामा रमाइरहेका भाइबहिनीहरूसित पनि सल्लाह माग्न सक्नुहुन्छ। (हितो. १५:२२) तिनीहरूलाई सोध्नुहोस्, ‘तपाईँको विचारमा मैले कस्तो कोर्स लिँदा र कस्तो काम गर्दा राम्रो होला?’ तिनीहरूले तपाईँले सोच्दै नसोचेको क्षेत्रबारे बताउन सक्छन्।
१८. हामीले कुन कुरा बिर्सनु हुँदैन?
१८ थप शिक्षाका फाइदा-बेफाइदा दुवै छन् भनेर हामीले राम्ररी बुझ्न सक्यौँ। त्यसैले यसबारे प्रार्थनापूर्वक विचार गर्नुहोस्। यो कुरा नबिर्सनुहोस्, थप शिक्षा लिँदा तपाईँलाई आर्थिक रूपमा त केही हदसम्म सजिलो होला तर साँचो आनन्द दिने कुरा भनेको यहोवासितको घनिष्ठ मित्रता नै हो। (भज. १६:९, ११) यहोवाको लागि हामीले कति पढेका छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन। (हिब्रू १३:५) उहाँले सधैँ हाम्रो ख्याल राख्नुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। यदि तपाईँले थप शिक्षा लिने निर्णय गर्नुभयो भने नि? त्यस दौडान तपाईँ कसरी यहोवासित नजिक भइरहन सक्नुहुन्छ? यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।
गीत ४५ मेरो चिन्तन
a थप व्याख्या: यो र यसपछिको लेखमा प्रयोग गरिएको “थप शिक्षा” भन्ने अभिव्यक्तिले सरकारले तोकेको आधारभूत शिक्षाबाहेक लिइने जुनसुकै तालिम वा शिक्षालाई बुझाउँछ। यसमा विभिन्न कुराहरू पर्छन्, जस्तै: विश्वविद्यालयको पढाइ, व्यावसायिक तालिम, प्राविधिक शिक्षा, सीपमूलक शिक्षा वा यस्तै विभिन्न पढाइ वा तालिम। ती छोटो वा लामो अवधिको हुन सक्छ।
b विगतका हाम्रा प्रकाशनहरूमा कुनै खास किसिमका थप शिक्षाहरू नलिनु नै राम्रो हो भनिएको थियो। उदाहरणको लागि, अक्टोबर १, २००५ अङ्कको प्रहरीधरहरा-को “आमाबाबु हो—तपाईँ आफ्ना छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ?” भन्ने लेखमा उच्च शिक्षाका खतराहरूबारे बताइएको थियो। हुनत ती खतराहरू अझै पनि छन् तर थप शिक्षा लिने कि नलिने भन्ने निर्णय नितान्त व्यक्तिगत निर्णय हो। प्रत्येक ख्रिष्टियनले अनि यदि नाबालिग हुन् भने परिवारको शिरले प्रार्थनापूर्वक बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ। अनि कुनै थप शिक्षा लिनुमा कुन-कुन कुरा समावेश छ भनेर केलाउनुपर्छ। त्यसपछि मात्र निर्णय गर्नुपर्छ। यस मामिलामा प्रत्येकले गर्ने व्यक्तिगत निर्णयको कसैले पनि, एल्डरहरूले समेत न्याय गर्न मिल्दैन।—याकु. ४:१२.