मे १८-२४, २०२६
गीत ३५ “अझ महत्त्वपूर्ण कुराहरू पक्का गर”
अलमल्याउने कुराहरू पन्छाउनुहोस्
“यहोवा परमेश्वरको इच्छा के हो, सो बुझिरहो।”—एफि. ५:१७.
सिक्न सकिने कुरा
हामीलाई अलमल्याउने कुराहरू धेरै छन्। तैपनि हामी कसरी आध्यात्मिक गतिविधिमा ध्यान केन्द्रित गरिरहन सक्छौँ?
१-२. महत्त्वपूर्ण कुरा पनि कसरी अलमल्याउने कुरा बन्न सक्छ?
मानौँ तपाईँ गाडी वा मोटरसाइकल चलाउँदै हुनुहुन्छ। त्यतिबेलै तपाईँको फोन आउँछ। हुनत त्यो जरुरी कल होला तर ड्राइभिङ गरिरहेको बेला फोन उठाउनु खतरनाक हुन सक्छ। त्यसैले एक अर्थमा त्यो फोन कल तपाईँको लागि अलमल्याउने कुरा बन्छ।
२ हाम्रो जीवनमा पनि महत्त्वपूर्ण कुराहरू थुप्रै छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आध्यात्मिक गतिविधिमाa भाग लिनु र त्यसलाई जीवनको अभिन्न भाग बनाउनु हो। (मत्ति ६:३३) होसियार भई गाडी चलाउने व्यक्ति आफूलाई अलमल्याउने कुराहरूप्रति सजग हुन्छन्। त्यसरी नै हामी पनि यहोवाको सेवालाई पहिलो स्थान दिनदेखि अलमल्याउन सक्ने कुराहरू चिन्न प्रयास गर्छौँ।—हितो. ४:२५; मत्ति ६:२२.
३. यस लेखमा हामी के छलफल गर्नेछौँ र यसबाट हामी कस्तो मदत पाउँछौँ?
३ हामी सबै जना आध्यात्मिक गतिविधिमा ध्यान केन्द्रित गरिरहन चाहन्छौँ। तैपनि हामीलाई अलमल्याउने कुराहरू त आइरहन्छ। (लुका २१:३४-३६) यस लेखमा हामी यी तीन वटा बुँदा छलफल गर्नेछौँ: (१) हामीलाई कस्ता कुराहरूले अलमल्याउन सक्छ? (२) आफूलाई अलमल्याउन सक्ने कुराहरूलाई येसुले कसरी पन्छाउनुभयो? (३) हामी पनि अलमल्याउने कुराहरूलाई कसरी पन्छाउन सक्छौँ? यी बुँदाहरूबारे राम्ररी बुझ्यौँ भने हामी नअलमलिकन यहोवाको सेवामा लागिरहन मदत पाउनेछौँ।
हामीलाई कस्ता कुराहरूले अलमल्याउन सक्छ?
४-६. हामीलाई कस्ता कुराहरूले अलमल्याउन सक्छ?
४ हामी प्रत्येकको जीवनमा थुप्रै कुराहरू भइरहेका हुन्छन् र त्यसको लागि हामीले समय दिनुपर्ने हुन्छ। जस्तै: हामीले कुनै स्वास्थ्य समस्याको सामना गरिरहेका हुन सक्छौँ वा हामीले गर्नै पर्ने पारिवारिक वा व्यक्तिगत कामकुराहरू हुन सक्छन्। हुनत यी कुराहरू महत्त्वपूर्ण छन् र यत्तिकै पन्छाउन मिल्दैन। तर के त्यसले हामीलाई अलमल्याउन सक्छ? हो, सक्छ। यदि हामी त्यसबारे मात्र सोचिरहन्छौँ र त्यसले हाम्रो पूरै समय र शक्ति खाइरहेको छ भने त्यो हाम्रो लागि अलमल्याउने कुरा बन्न सक्छ।
५ साथै हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्ने सङ्केत दिने थुप्रै घटनाहरू भइरहेका छन्। जस्तै: राजनैतिक उथलपुथल, आर्थिक मन्दी, महामारी र एकपछि अर्को गर्दै भइरहेका द्वन्द्वहरू। त्यस्ता घटनाहरूले हामीलाई व्यक्तिगत रूपमै असर गरिरहेको हुन सक्छ। (२ तिमो. ३:१) यस्ता कुराहरू भोग्नुपर्दा हामी असाध्यै चिन्तित हुन सक्छौँ र हाम्रो दिमागमा ती कुराहरू मात्र खेलिरहन सक्छ।
६ यस्ता कुराहरूले गर्दा कसै-कसैको जीवन नै उलटपुलट भएको छ। त्यसैले तिनीहरू विचलित हुनुको कारण हामी बुझ्न सक्छौँ। यहोवाको सुरुको उद्देश्य मानिसजातिले दुःख भोगून् र चिन्तामा डुबिरहून भन्ने थिएन। एकपछि अर्को समस्या भोग्नुपर्दा कसै-कसैलाई कहिल्यै आनन्दसित जीवन बिताउन नपाइने भयो जस्तो लाग्न सक्छ। त्यसैले तिनीहरू आफ्नो मन भुलाउन घुमघाम अनि रमाइलो गर्नमै समय बिताउँछन्। यदि हामी पनि त्यस्तै अवस्थामा छौँ भने के गर्न सक्छौँ? हामी येसुको उदाहरणबाट सिक्न सक्छौँ। उहाँलाई पनि अलमलाउन सक्ने कुराहरू थिए। तर उहाँले ती कुराहरूलाई पन्छाउनुभयो। कसरी? आउनुहोस्, अब छलफल गरौँ।
येसुले अलमल्याउन सक्ने कुराहरूलाई कसरी पन्छाउनुभयो?
७. येसुलाई कस्ता कुराहरूले अलमल्याउन सक्थ्यो?
७ येसुलाई थुप्रै कुराले अलमल्याउन सक्थ्यो। जस्तै: सामाजिक अनि राजनैतिक मामिलाहरू। येसुको समयमा गरिब अनि बिरामी मानिसहरू थुप्रै थिए। (मत्ति १४:१४; मर्कु. १४:७) तिनीहरूले रोमीहरू अनि आफ्नै यहुदी दाजुभाइबाट पनि अन्याय भोगिरहेका थिए। येसुसित चमत्कारहरू गर्ने शक्ति छ भनेर देखेकोले मानिसहरूले उहाँलाई राजा बनाउन खोजे। (युह. ६:१४, १५) साथै सैतानले येसुलाई संसारको राजा बन्ने सजिलो बाटो देखाएर प्रलोभनमा पार्न खोज्यो। (मत्ति ४:८, ९) अनि येसुले चेलाहरूलाई आफूले भोग्नुपर्ने परीक्षाहरूबारे बताउनुहुँदा उहाँको घनिष्ठ मित्र पत्रुसले यसो भने: “प्रभु, आफूमाथि दया गर्नुहोस्!”—मत्ति १६:२१, २२, फुटनोट।
८. येसुले अलमल्याउन सक्ने कुराहरूलाई कसरी पन्छाउनुभयो?
८ येसुले अलमल्याउन सक्ने कुराहरूलाई कसरी पन्छाउनुभयो? उहाँले तीन वटा तरिका अपनाउनुभयो। पहिलो, उहाँले यहोवाको जस्तै सोचाइ राख्न सिक्नुभयो। (युह. ८:२८; १४:९) दोस्रो, उहाँ आध्यात्मिक गतिविधिमा व्यस्त रहनुभयो। (मत्ति ९:३५) अनि तेस्रो, उहाँले साँच्चै महत्त्वपूर्ण कुरा के हो, त्यो कहिल्यै बिर्सनुभएन। (युह. ४:३४) येसुले सैतानका प्रलोभनहरूलाई ठाडै इन्कार गर्नुभयो। साथै पत्रुसले येसुलाई राम्रै मनसायले आफूमाथि दया गर्न आग्रह गर्दा उहाँ तिनको कुरामा बहकिनुभएन। (मत्ति ४:१०; १६:२३) मानिसहरूले सोच्ने, भन्ने वा गर्ने कुराले येसुलाई यहोवाको उद्देश्य पूरा गर्नदेखि अलमल्याउन सक्थ्यो। तर उहाँले त्यसो हुन दिनुभएन। हुनत येसुलाई अलमल्याएका कुराहरू र हामीलाई अलमल्याउने कुराहरू फरक होलान्। तर येसुको अनुकरण गऱ्यौँ भने हामीले पनि अलमल्याउने कुराहरूलाई पन्छाउन सक्नेछौँ।
हामी अलमल्याउने कुराहरूलाई कसरी पन्छाउन सक्छौँ?
९. ‘यहोवाको इच्छा बुझिरहनु’ भनेको के हो? (एफिसी ५:१७)
९ यहोवाले जस्तै सोच्न सिक्नुहोस्। त्यसो गऱ्यौँ भने हामीले ‘यहोवा परमेश्वरको इच्छा के हो, सो बुझिरहन’ सक्नेछौँ। (एफिसी ५:१७ पढ्नुहोस्।) यहोवाको वचन पढ्यौँ र मनन गऱ्यौँ भने उहाँलाई खुसी बनाउन के गर्नुपर्छ भनेर थाह पाउन सक्छौँ। हुनत बाइबलमा हाम्रो अवस्थासित ठ्याक्कै मिल्ने विवरण छैन होला। तैपनि बाइबल पढ्ने र मनन गर्ने बानी बसाल्यौँ भने यहोवाको जस्तै सोचाइ राख्न सिक्नेछौँ र त्यसैअनुसार गर्न इच्छुक हुनेछौँ।
१०. हामी कसरी यहोवाको सोचाइ बुझ्न सक्छौँ?
१० हामीले ध्यान दिएर बाइबल पढ्यौँ र उहाँले मानिसहरूसित गर्नुभएको व्यवहारबारे मनन गऱ्यौँ भने उहाँको सोचाइ बुझ्न सक्छौँ। (यर्मि. ४५:५) बाइबल विवरणहरू पढ्दा हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘यसबाट यहोवाबारे म के सिक्न सक्छु? यहोवाको जस्तै सोचाइ राख्न यो विवरणले मलाई कसरी मदत गर्छ?’ हामीलाई थाह छ, यहोवाको सोचाइ हाम्रो भन्दा कता हो कता उत्कृष्ट छ। (यसै. ५५:९) त्यसैले हामी यहोवालाई यसरी प्रार्थना गर्न सक्छौँ: “तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्।” (भज. १४३:१०) साथै हामी यहोवाको सोचाइ बुझ्न र आफ्नो सोचाइलाई पनि उहाँको जस्तै बनाउन मदत माग्न सक्छौँ। उहाँले हामीलाई मदत गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौँ।—१ युह. ५:१४.
११. यहोवा हामीले के गरेको चाहनुहुन्छ?
११ यहोवाको सोचाइबारे सिक्दै जाँदा उहाँ हामीले अलमल्याउने कुराहरूलाई पन्छाएको चाहनुहुन्छ भनेर बुझ्न सक्छौँ। त्यसो गऱ्यौँ भने हामी यहोवाको दिनको लागि तयार भइरहेका हुन्छौँ। (मत्ति २४:४४) हामी चिन्ता-फिक्रीको बोझले दबिएको उहाँ चाहनुहुन्न। (मत्ति ६:३१, ३२) त्यसैले आफ्नो स्वास्थ्य, जागिर, घरायसी वा व्यक्तिगत कुराहरूले असाध्यै चिन्तित बनाउँदा यहोवा हामीलाई मदत गर्न तयार हुनुहुन्छ। यहोवा हामीलाई त्यस्ता चुनौतीहरूको सामना गर्न चाहिने बल र बुद्धिको लागि उहाँमा भर पर्न आग्रह गर्नुहुन्छ।—भज. ५५:२२; हितो. ३:५-७.
१२. संसारमा भइरहेका नराम्रा घटनाहरूले चिन्तित बनाउँदा हामी के गर्न सक्छौँ? (मत्ति ५:३)
१२ आध्यात्मिक गतिविधिमा व्यस्त रहनुहोस्। संसारमा भइरहेका नराम्रा घटनाहरू देख्दा हामी सबैलाई चिन्ता लाग्छ। तर हामी ती कुराहरूलाई रोक्न सक्दैनौँ। त्यसैले आफ्नो नियन्त्रणमा नभएका कुराहरूले गर्दा नअलमलिन हामीले आध्यात्मिक गतिविधिमा ध्यान केन्द्रित गर्नुपर्छ। हामीले आफ्नो आध्यात्मिक आवश्यकता पूरा गरिरह्यौँ भने आनन्दित हुन सक्छौँ किनभने यहोवाले हामीलाई त्यसरी नै बनाउनुभएको छ। (मत्ति ५:३ पढ्नुहोस्।) हामी आफ्नो आध्यात्मिक आवश्यकता कसरी पूरा गर्न सक्छौँ? बाइबलको गहिरो अध्ययनद्वारा यहोवालाई अझ राम्ररी चिन्न प्रयास गरेर अनि उहाँको उपासनासित सम्बन्धित गतिविधिमा भाग लिन सक्दो प्रयास गरेर। यसरी हामीले आफ्नो समयको सदुपयोग गर्दा यहोवा खुसी हुनुहुनेछ।—हितो. २३:१५.
१३. हामी कसरी ‘आफ्नो समयको पूर्ण सदुपयोग गर्न’ सक्छौँ?
१३ हामी ‘आफ्नो समयको पूर्ण सदुपयोग गर्न’ चाहन्छौँ। (एफि. ५:१५, १६) यस पदमा समय खेर नफाल मात्र भन्न खोजिएको होइन। बरु यस दुष्ट संसार नाश हुनुअघिको समयलाई हामी कसरी प्रयोग गर्दै छौँ, त्यसबारे सजग हुन आग्रह गरिएको हो। त्यसोभए हामी कसरी आफ्नो समयको पूर्ण सदुपयोग गर्न सक्छौँ? दिनदिनै भइरहेका नराम्रा घटनाहरूबारे थाह पाउन धेरै समय बिताउँछौँ भने हामी अलमलिन सक्छौँ, निरुत्साहित हुन सक्छौँ र यहोवाको उपासना गर्ने हाम्रो जोस घट्न सक्छ। त्यसैले समाचार हेर्न वा पढ्न कति समय प्रयोग गर्ने भनेर सीमा तोक्नु बुद्धिमानी हो। यसो गऱ्यौँ भने हाम्रो दिमागमा नराम्रा कुराहरू मात्र खेलिरहनेछैन। अनि आध्यात्मिक गतिविधिमा लाग्न हामीसित प्रशस्त समय र शक्ति हुनेछ। साथै प्रचारकार्यमा अझ धेरै भाग लिन के गर्न सकिन्छ भनेर विचार गर्नु पनि राम्रो हो। जस्तै, अझ धेरै पुनःभेटहरू गर्न सकिन्छ कि? यहोवा “सबै किसिमका मानिसले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।” (१ तिमो. २:४) त्यसैले मानिसहरूलाई मदत गर्न हरेक मौकाको सदुपयोग गर्नु महत्त्वपूर्ण छ।
१४. आध्यात्मिक गतिविधिमा व्यस्त रहँदा हामीलाई कस्तो फाइदा हुन्छ? (चित्र पनि हेर्नुहोस्।)
१४ आध्यात्मिक गतिविधिमा व्यस्त भइरह्यौँ भने संसारमा भइरहेका नराम्रा घटनाहरूले गर्दा हामी विचलित हुनेछैनौँ। अहिले भइरहेको राजनैतिक उथलपुथल, आर्थिक मन्दी र रोगबिमारले गर्दा हामी अचाक्ली चिन्तित हुनेछैनौँ। किनभने यस्ता कुराहरूले बाइबलको भविष्यवाणी पूरा भइरहेको छ भन्ने प्रमाण दिन्छ। त्यसैले हामी डराएर बस्दैनौँ। किनभने यहोवाले अब चाँडै यस्ता कुराहरूलाई हटाएर नयाँ संसार ल्याउनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ। त्यतिन्जेल यहोवाले हामीलाई मदत गर्नुहुनेछ भन्ने कुरामा पूरा भरोसा राख्छौँ। त्यसैले हामी शान्त रहन सक्छौँ।—भज. १६:८; ११२:१, ६-८.
संसारमा भइरहेका घटनाहरूमा अलमलिनुको साटो आध्यात्मिक गतिविधिमा व्यस्त भइरहनुहोस् (अनुच्छेद १४ हेर्नुहोस्)b
१५. हामीले किन “सुझबुझ” चलाउनुपर्छ? (१ पत्रुस ४:७)
१५ साँच्चै महत्त्वपूर्ण कुरा के हो, त्यो कहिल्यै नबिर्सनुहोस्। धेरैजसो मानिसहरू मोजमस्ती गर्नमै तल्लीन हुन्छन्। तिनीहरू यस संसारको विनाश नजिकै छ भन्ने कुरालाई वास्तै गर्दैनन्। हुनत रमाइलो गर्नु नै गलत त होइन तर हामीले मनोरञ्जनप्रति संसारका मानिसहरूले जस्तै सोचाइ राख्नु हुँदैन। बरु हामीले “सुझबुझ” चलाउनुपर्छ। (१ पत्रुस ४:७ पढ्नुहोस्।) “सुझबुझ” चलायौँ भने मनोरञ्जन र रमाइलो गर्नमै आफ्नो पूरै समय र शक्ति खर्च गर्नेछैनौँ। बरु बुद्धिमानी निर्णयहरू गर्नेछौँ। यस्ता निर्णयहरू यहोवाको सोचाइसित मेल खान्छ र हामीले साँच्चै महत्त्वपूर्ण कुरा के हो भनेर बुझेको देखाइरहेका हुन्छौँ।—२ तिमो. १:७.
१६. आफ्नो मृत्यु हुनै लाग्दा पनि येसुको ध्यान कुन कुरामा थियो?
१६ येसुले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर कहिल्यै बिर्सनुभएन। आफ्नो मृत्यु हुनै लाग्दा समेत उहाँको सम्पूर्ण ध्यान यहोवाप्रति वफादार रहनु र उहाँको इच्छा पूरा गर्नुमै थियो। त्यसैले उहाँले व्यग्रतासाथ प्रार्थना गर्नुभयो। तर चेलाहरू भने प्रार्थना गर्नुको साटो निदाइरहेका थिए। किनभने “तिनीहरू सुर्ताले क्लान्त” भएका थिए।—लुका २२:३९-४६; युह. १९:३०.
१७. धेरैले किन सामाजिक सञ्जाल चलाउँछन् तर त्यो हाम्रो लागि कसरी अलमल्याउने कुरा बन्न सक्छ? (चित्र पनि हेर्नुहोस्।)
१७ येसुका चेलाहरूजस्तै कहिलेकाहीँ हामी पनि भावनात्मक रूपमा थकित हुन सक्छौँ। अहिले भइरहेका घटनाहरू देखेर मानिसहरू चिन्तित छन्। त्यसैले धेरैजसो मानिस तनाव कम गर्न सामाजिक सञ्जालको सहारा लिन्छन्। तिनीहरू मनोरञ्जनको लागि अनलाइनमा गेमहरू खेल्न र फिल्महरू हेर्न धेरै समय बिताउँछन्। हुनत सामाजिक सञ्जाल आफ्नो साथीभाइ अनि परिवारलाई फोटोहरू पठाउन र हालखबर बताउन एकदमै उपयोगी छ। तर होसियार भएनौँ भने त्यसले हाम्रो भएभरको समय र शक्ति खाइदिन सक्छ। सामाजिक सञ्जालप्रति सन्तुलित दृष्टिकोण राख्न हामीले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘यसले मलाई स्फूर्ति दिइरहेको छ कि साँच्चै महत्त्वपूर्ण कुरामा ध्यान दिनदेखि अलमल्याइरहेको छ?’
सुझबुझ चलाउँदा हामी सामाजिक सञ्जाल र मनोरञ्जनजस्ता कुराहरूमा अलमलिनेछैनौँ (अनुच्छेद १७ हेर्नुहोस्)
१८. मनोरञ्जनको सन्दर्भमा हामीले किन “सुझबुझ” चलाउनुपर्छ?
१८ मनोरञ्जन गर्दा रमाइलो हुन्छ र यसले हामीलाई स्फूर्ति दिन्छ। तर हामीले टिभी हेर्ने र इन्टरनेट चलाउने सन्दर्भमा “सुझबुझ” चलाउनुपर्छ। जस्तै, के हेर्ने अनि कति हेर्ने भन्ने विषयमा हामीले बुद्धिमानी निर्णय गर्नुपर्छ। कुनै भिडियो वा रिल हेर्दा एकपछि अर्को भिडियो वा रिल देखा पर्छन्। त्यसरी हेर्दै जाँदा चालै नपाई हिंसात्मक वा अनैतिक कुराहरू हेर्न पुग्न सक्छौँ। एसियाका एक जना भाइलाई पनि यस्तै भएको थियो। सुरुमा त तिनले फिल्मका हाइलाइटहरू मात्र हेर्दै थिए। तर स्क्रिनमा देखा परेका एकपछि अर्को भिडियोहरू हेर्दै जाँदा तिनी अनैतिक कुराहरू हेर्न पुगे। यसरी तिनी अश्लील सामग्री हेर्ने हदसम्म पुगे। तर खुसीको कुरा, तिनले एल्डरहरू र घनिष्ठ साथीहरूबाट मदत पाएर यस्तो बानी हटाउन ठोस कदम चाले। तिनले केही एपहरू डिलिट गरे अनि फोन कति समय चलाउने भनेर सीमा तोके। यस अनुभवबाट मनोरञ्जनको सन्दर्भमा सुझबुझ चलाउनु कत्ति महत्त्वपूर्ण छ भनेर बुझ्न सक्छौँ।
१९. रमाइलो गर्ने कुरामा मात्र ध्यान दिन्छौँ भने के हुन सक्छ?
१९ हामीले रमाइलो गर्ने र बिदा मनाउने सन्दर्भमा पनि “सुझबुझ” चलाउनुपर्छ। हामी सबै जना व्यस्त छौँ। त्यसैले हामीलाई बेलाबेलामा आराम चाहिन्छ। त्यसो गर्दा हामी स्वस्थ रहिरहन सक्छौँ। तर हामी रमाइलो गर्ने र बिदा मनाउने धुनमा मात्रै हुन्छौँ भने अझ महत्त्वपूर्ण कुराहरू गर्नदेखि अलमलिन सक्छौँ। (फिलि. १:१०) साथै हामी जीवनमा सन्तुलित भइरहेका हुनेछैनौँ। मनोरञ्जनको लागि के गर्ने र कति समय बिताउने भनेर हामी आफैले निर्णय गर्नुपर्छ। हामी आफूलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘मैले रमाइलो गर्न र बिदा मनाउन जति समय प्रयोग गरेको छु, के त्यसबाट सुझबुझ चलाएको देखिन्छ? के मैले साँच्चै महत्त्वपूर्ण कुरालाई पहिलो स्थानमा राखिरहेको छु? सबै कुराको अन्त नजिक आइपुगेकोले के म त्यसको लागि तयार छु?’
२०. अलमल्याउने कुराहरूलाई पन्छाउँदा कस्तो फाइदा हुन्छ?
२० आध्यात्मिक गतिविधिमा लाग्नदेखि अलमलाउन सक्ने र हाम्रो आध्यात्मिक तालिकालाई खलबल्याउन सक्ने कुराहरूलाई पन्छाउँदा हामीलाई फाइदा हुन्छ। (यसै. ४८:१७) जीवनमा जस्तोसुकै चुनौती आए तापनि हामी यहोवाको मदतले त्यसको सामना गर्न सक्नेछौँ। संसारमा भइरहेका घटनाहरू देखेर हामी आत्तिनेछैनौँ। साथै धेरैजसो समय रमाइलो गर्नमै बिताउनेछैनौँ। त्यसैले यहोवाले जस्तै सोच्न, आध्यात्मिक गतिविधिमा व्यस्त रहन र साँच्चै महत्त्वपूर्ण कुरालाई कहिल्यै नबिर्सन दृढ सङ्कल्प गरौँ। यसो गऱ्यौँ भने हामी अलमल्याउने कुराहरूलाई पन्छाउन सक्नेछौँ र ‘साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछौँ।’—१ तिमो. ६:१९.
गीत १२९ हामी सहिरहन्छौँ
a थप व्याख्या: आध्यात्मिक गतिविधि भनेको यहोवाको उपासनासित प्रत्यक्ष सम्बन्धित सबै कुराहरू हुन्। जस्तै: बाइबल पढ्नु, सभामा उपस्थित हुनु, पारिवारिक उपासना गर्नु र प्रचारकार्यमा भाग लिनु। उपासनास्थलहरूको स्याहारसम्भार र निर्माण गर्दा, राहत कार्यमा सघाउँदा, अधिवेशनमा स्वयंसेवा गर्दा वा बेथेल सेवा गर्दा पनि हामीले यहोवाको उपासना गरिरहेका हुन्छौँ।
b चित्रको व्याख्या: एक दम्पती संसारमा भइरहेका घटनाहरूले गर्दा अलमलिनुको साटो प्रचारकार्यमा व्यस्त रहन्छन्।