मे ११-१७, २०२६
गीत ७ यहोवा हाम्रा बल
ब्रह्माण्डका मालिक यहोवामाथि भरोसा राख्नुहोस्
“मानिसहरूले जानून् कि तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।”—भज. ८३:१८.
सिक्न सकिने कुरा
यस लेखबाट हामीले ब्रह्माण्डका मालिक यहोवामाथिको भरोसालाई अझ बलियो बनाउन मदत पाउनेछौँ। साथै उहाँले हामीलाई अहिले र भविष्यमा परीक्षाहरू सहन मदत गर्नुहुनेछ भन्ने कुरामा किन ढुक्क हुन सक्छौँ भनेर बुझ्नेछौँ।
१. अय्युबको जीवनमा कस्ता दुःखद घटनाहरू भए?
अय्युब वफादार पुरुष थिए। तिनीमाथि एकपछि अर्को समस्या आइपऱ्यो। तिनको छोराछोरी, स्वास्थ्य र धनसम्पत्ति सबै गुम्यो। तिनले कमाएको राम्रो नाम र प्रतिष्ठा पनि गुम्यो। तिनका साथी भनाउँदाहरूको कुरा सुनेर तिनी झनै निरुत्साहित भए। तिनले असाध्यै माया गर्ने पत्नीले समेत यसो भनिन्, “यस्तो दुःख भोग्नुभन्दा त परमेश्वरलाई सरापेर मर्नु नै बेस!” (अय्यु. २:९; १५:४, ५; १९:१-३) तीनथुप्रो समस्या भोग्नुपर्दा यहोवामाथि अय्युबको भरोसा गुम्न सक्थ्यो। अनि यहोवालाई प्रेम गर्ने र उहाँको उपासना गर्ने मानिसहरूलाई उहाँले जोगाउनुहुन्छ भन्ने कुरामा तिनले शङ्का गर्न सक्थे।
२-३. (क) परीक्षाहरू भोग्नुपर्दा हामीलाई कस्तो लाग्न सक्छ? (ख) अय्युबको किताबबाट हामी के सिक्नेछौँ?
२ हामी “असाध्यै कठिन समयमा” बाँचिरहेका छौँ। (२ तिमो. ३:१) त्यसैले अय्युबलाई जस्तै हामीमाथि पनि कहिलेकाहीँ ठूलठूला परीक्षाहरू आइपर्छन्। एकपछि अर्को समस्या आइपर्दा हामी असाध्यै निराश र चिन्तित हुन सक्छौँ। अनि अब त सहनै सक्दिनँ जस्तो लाग्न सक्छ। कसै-कसैलाई भने यहोवाले माया गर्नुहुन्न र चासो राख्नुहुन्न जस्तो लाग्न सक्छ।
३ के तपाईँको मनमा पनि कहिल्यै यस्ता भावनाहरू आएका छन्? छन् भने निराश नहुनुहोस्। यहोवाप्रति वफादार रहनेहरूलाई उहाँले कहिल्यै त्याग्नुहुनेछैन भनेर अय्युबले आफ्नै अनुभवबाट सिके। हामीले पनि अय्युबले जस्तै यहोवामाथि पूरापूर भरोसा राख्न सिक्यौँ भने जस्तोसुकै परीक्षाहरू आए तापनि त्यो भरोसा ढलपल हुनेछैन। त्यस्तो भरोसा विकास गर्न हामी यी दुई वटा बुँदामा विश्वस्त हुनुपर्छ: (१) यहोवा ब्रह्माण्डको मालिक हुनुहुन्छ। (२) उहाँ सर्वशक्तिमान् परमेश्वर हुनुभएकोले संसारमा भइरहेका घटनाहरूलाई आफ्नो नियन्त्रणबाहिर जान दिनुहुनेछैन। त्यसैले उहाँको उद्देश्य पूरा हुनेछ र उहाँका जनहरूले सधैँको लागि आध्यात्मिक र शारीरिक हानि-नोक्सानी भोग्नुपर्नेछैन भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। आउनुहोस्, अय्युबको किताबले यी दुई वटा बुँदालाई कसरी प्रस्ट पार्छ, विचार गरौँ।
सैतान पनि उपस्थित भयो
४. स्वर्गमा परमेश्वरसामु को पनि उपस्थित भयो?
४ “एकदिन साँचो परमेश्वरका छोराहरू” स्वर्गमा यहोवासामु भेला भए। बाइबल विवरणअनुसार “सैतान पनि तिनीहरूसँगै” उपस्थित भयो। (अय्यु. १:६) बाइबलमा “सैतान” शब्द प्रयोग गरिएको यो नै पहिलो विवरण हो। “सैतान” शब्दको अर्थ हो, विरोधी। त्यसलाई त्यो नाम दिइनु एकदमै उपयुक्त छ किनभने त्यसले यहोवाको विद्रोह गऱ्यो। हुनत त्यो पहिला वफादार स्वर्गदूत थियो तर पछि त्यसले आफूलाई यहोवाको शत्रु बनायो। त्यति मात्र होइन, त्यो यहोवाको परिवारको स्वर्गमा भएको र पृथ्वीमा भएको भागको पनि शत्रु बन्यो। उत्पत्ति ३:१५ मा यहोवाले भन्नुभएको कुरा विचार गर्ने हो भने सैतान भविष्यवाणीमा बताइएको “स्त्री”-को भाग रहेन। त्यस “स्त्री”-ले यहोवाको परिवारको स्वर्गमा भएको भागलाई बुझाउँछ र भविष्यवाणीअनुसार त्यस स्त्रीले “सन्तान” जन्माउने थिई।
५. स्वर्गमा भएको कुराकानीबाट हामी के थाह पाउन सक्छौँ?
५ स्वर्गमा भएको त्यो सभामा के भएको थियो भनेर हामीले थाह पाएको यहोवा चाहनुहुन्छ। त्यसैले उहाँले त्यो विवरण बाइबलमा लेख्न लगाउनुभयो। त्यो सभामा सैतानले भनेको कुराबाट त्यसले यहोवाको उपासना गर्नेहरूको घोर निन्दा गर्छ भनेर प्रस्ट हुन्छ। (अय्यु. १:९; प्रकाश १२:१० तुलना गर्नुहोस्।) साथै त्यस विवरणबाट यहोवा आफूसित भएको अख्तियार सधैँ न्यायोचित र सही ढङ्गमा प्रयोग गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। सर्वशक्तिमान् परमेश्वरले सबै कुराको सीमा तोक्नुहुन्छ भनेर पनि थाह पाउन सक्छौँ।
यहोवा सीमा तोक्नुहुन्छ
६. यहोवाले सबै कुरा आफ्नो नियन्त्रणमा छ भनेर कसरी देखाउनुभयो? (अय्युब १:७, ८)
६ अय्युब १:७, ८ पढ्नुहोस्। स्वर्गमा भएको त्यो सभा यहोवाकै नियन्त्रणमा थियो। उहाँले सैतानलाई सोध्नुभयो, “तैँले मेरो दास अय्युबलाई याद गरिस्?” आफ्नो वफादार सेवक अय्युबलाई सैतानले तारो बनाउँदै छ भनेर यहोवालाई राम्ररी थाह थियो। त्यसोभए अय्युबलाई मदत गर्न यहोवाले आफ्नो शक्ति कसरी प्रयोग गर्नुहुने थियो? आउनुहोस्, विचार गरौँ।
७. मानिसहरूले यहोवाको सेवा गर्नुको कारणबारे सैतानले के भन्यो? (अय्युब १:१०, ११)
७ अय्युब १:१०, ११ पढ्नुहोस्। यहोवा ब्रह्माण्डको मालिक हुनुहुन्छ र उहाँ आफ्नो अख्तियार र शक्ति सधैँ सही तरिकामा प्रयोग गर्नुहुन्छ। (यर्मि. ३२:१७; दानि. ४:३५) तर सैतानले भने यहोवाले आफ्नो शक्तिको दुरुपयोग गर्नुभएको छ भन्ने दाबी गऱ्यो। त्यसले यहोवा मानिसहरूलाई थुप्रै राम्रा कुराहरू दिएर आफ्नो सेवा गर्न लगाउनुहुन्छ भन्न खोज्दै थियो। त्यसले मानिसहरू स्वार्थी हुन्छन् अनि यहोवाबाट केही पाउने लोभले मात्र उहाँको सेवा गर्छन् पनि भन्न खोज्दै थियो। सैतानले यस्तो आरोप लगाउँदा यहोवाले के गर्नुभयो?
८-९. यहोवाले सैतानलाई कस्तो सीमा तोकिदिनुभयो र किन? (अय्युब १:१२) (चित्र पनि हेर्नुहोस्।)
८ अय्युब १:१२ पढ्नुहोस्। यहोवाले सैतानलाई आफ्नो दाबी प्रमाणित गर्ने मौका दिनुभयो। तर उहाँले सीमा पनि तोकिदिनुभयो। परमेश्वरले त्यस सभामा सबै स्वर्गदूतहरूसामु सैतानलाई यस्तो स्पष्ट आज्ञा दिनुभयो: “[अय्युबको] शरीरलाई चाहिँ केही हानि नगर्।” सैतानले त्यो सीमाबाहिर गएर केही पनि गर्न सक्दैनथ्यो। आज पनि सैतानले यहोवाले तोक्नुभएको सीमाबाहिर गएर केही पनि गर्न सक्दैन। यसरी यहोवाले अय्युबलाई जोगाउन आफ्नो अख्तियार र शक्ति प्रयोग गर्नुभयो। अनि आफू न्यायी र मायालु परमेश्वर हुँ भन्ने कुरा देखाउनुभयो।
९ सैतानको यो प्रयास पूरै असफल भयो किनभने अय्युब यहोवाप्रति वफादार रहिरहे। (अय्यु. १:२२) तर सैतान यत्तिकैमा चुप लागेर बस्ने थिएन र त्यसले अय्युबमाथि अझै परीक्षा ल्याउने थियो।
यहोवाले सैतानलाई सबैको अगाडि आफ्नो चुनौती पेश गर्ने अनुमति दिनुभयो (अनुच्छेद ८-९ हेर्नुहोस्)
१०. यहोवाले सैतानलाई किन अय्युबमाथि फेरि परीक्षा ल्याउन अनुमति दिनुभयो? (अय्युब २:२-६)
१० अय्युब २:२-६ पढ्नुहोस्। अय्युबको निष्ठा तोड्न सैतान तिनीमाथि अझ ठूलो परीक्षा ल्याउन चाहन्थ्यो। अय्युबले आफ्नो ज्यान जोगाउन परमेश्वरलाई पक्कै सराप्नेछ भनेर सैतानले दाबी गऱ्यो। सैतानको यो दाबीलाई झूटो साबित गर्न यहोवाले त्यसलाई अय्युबको शरीरमा प्रहार गर्न अनुमति दिनुभयो। तर यसपटक पनि यहोवाले स्पष्ट सीमा तोक्दै सैतानलाई यसो भन्नुभयो: “उसको ज्यानचाहिँ नली!” सैतानले यहोवाले तोकिदिनुभएको यो सीमा नाघ्न सक्दैनथ्यो। यसबाट अय्युबले परीक्षा भोगिरहेको बेला पनि सबै कुरा यहोवाकै नियन्त्रणमा थियो भनेर प्रस्ट हुन्छ।
यहोवा अय्युबको दुःखकष्ट अन्त गरिदिनुहुन्छ
११. यहोवाले अय्युबको दुःख:कष्ट अन्त गर्नुभएपछि तिनलाई कस्तो आशिष् दिनुभयो? (अय्युब ४२:१०-१३)
११ अय्युब ४२:१०-१३ पढ्नुहोस्। जस्तोसुकै परीक्षा आए तापनि अय्युब यहोवाप्रति वफादार रहनेछन् भनेर प्रमाणित भयो। त्यसैले यहोवाले सैतानलाई अय्युबमाथि अरू परीक्षाहरू ल्याउन दिनुभएन। अय्युबको दुःखकष्ट अन्त गर्न यहोवाले नै कदम चाल्नुभयो। उहाँले अय्युबलाई जोगाउनुभयो र प्रशस्त आशिष् दिनुभयो। अय्युबलाई जोगाउन र आशिष् दिनदेखि सैतानले यहोवालाई रोक्न सकेन।
१२. परीक्षा भोग्नुपर्दा यहोवा आफ्ना जनहरूलाई सुरक्षित राख्नुहुन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्।
१२ परीक्षाहरू भोग्नुपर्दा यहोवाले आफ्ना जनहरूलाई सुरक्षित राख्नुहुन्छ भनेर थुप्रैले अनुभव गरेका छन्। उदाहरणको लागि, १९४५ मा नाजी यातना शिविरबाट हजारौँ कैदीहरूलाई मार्न लगिएको थियो। तिनीहरूमध्ये २३० जना यहोवाका साक्षी थिए। तर त्यो कठोर यात्राको दौडान साक्षीहरू कसैको पनि ज्यान गएन। पछि तिनीहरूले आफ्नो सङ्कल्प व्यक्त गर्दै एउटा प्रस्तावना पारित गरे। त्यस प्रस्तावनामा यस्तो लेखिएको थियो: “लामो समयसम्मको कठोर जाँच सिद्धिएको छ र बाँचेकाहरू ‘आगोको भट्टीबाट’ उम्केको जस्तै भएका छन्। तर तिनीहरूमा आगोको गन्धसमेत छैन। . . . यसको विपरीत तिनीहरू यहोवाको बल र शक्तिले भरिपूर्ण भएका छन्।” त्यस प्रस्तावनामा यस्तो पनि लेखिएको थियो: “हामी ‘सिंहको खोरबाट’ मुक्त भएका छौँ। अब हाम्रो एउटै मात्र इच्छा भनेको सधैँभरि यहोवाको सेवा गरिरहन पाऔँ भन्ने हो। त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो इनाम हुनेछ।”—दानिएल ३:२७; ६:२२ तुलना गर्नुहोस्।
१३. परीक्षाहरू भोग्नुपर्दा हामी कुन कुरामा विश्वस्त हुन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
१३ असाध्यै कठिन परीक्षाहरू भोग्नुपर्दा हामीलाई पनि सिंहको खोरमा फालिएको जस्तै लाग्न सक्छ। (१ पत्रु. ५:८-१०) कहिलेकाहीँ हामी असाध्यै निराश हुन सक्छौँ अनि आफूले भोगिरहेका परीक्षाहरू कहिल्यै अन्त हुँदैन जस्तो लाग्न सक्छ। त्यस्तो अवस्थामा अय्युबलाई सम्झियौँ भने हामीले निकै बल पाउन सक्छौँ। यहोवासित हाम्रो दुःखकष्ट अन्त गर्ने शक्ति छ भनेर हामी विश्वस्त हुन सक्छौँ, चाहे त्यो अहिले होस् वा नयाँ संसारमा। उहाँले यस दुष्ट संसारलाई नाश गर्ने समय तोकिसक्नुभएको छ। उहाँले यो संसारलाई आफूले तोकेको समयभन्दा एक दिन पनि बढी रहन दिनुहुनेछैन।
यहोवाले आफ्ना वफादार सेवकहरूको सबै दुःख अन्त गरिदिनुहुनेछ (अनुच्छेद १३ हेर्नुहोस्)
यहोवा आफ्ना वफादार जनहरूलाई प्रेम गर्नुहुन्छ
१४-१५. यहोवा आफ्ना वफादार जनहरूको लागि के गरिदिन चाहनुहुन्छ र किन? (अय्युब १४:१५) (चित्र पनि हेर्नुहोस्।)
१४ अय्युब १४:१५ पढ्नुहोस्। यहोवा सबैलाई प्रेम गर्नुहुन्छ तर उहाँप्रति वफादार रहनेहरूलाई अझ धेरै प्रेम गर्नुहुन्छ। भन्नुको मतलब, उहाँ पनि तिनीहरूप्रति वफादार रहनुहुन्छ। आफ्नो वफादार जनको मृत्यु भयो भने पनि उहाँले तिनलाई फेरि जीवित पार्नुहुनेछ। उहाँले मरेकाहरूलाई नयाँ संसारमा जीवित पार्नुहुँदा सबैले अपार आनन्द अनुभव गर्नेछन्।—यसै. ६५:१७.
१५ अय्युबको दुःखकष्ट अन्त भए तापनि तिनी सैतानकै संसारमा बाँचिरहेका थिए। तर तिनले यहोवाबाट प्रशस्त इनाम पाए भनेर बाइबल विवरणबाट थाह पाउन सक्छौँ। यहोवाले तिनलाई फेरि स्वस्थ बनाइदिनुभयो अनि तिनले परीक्षाहरू भोग्नुअघि जति आशिष् पाएका थिए, त्योभन्दा धेरै आशिष् पाए। तर त्यो तिनले नयाँ संसारमा पाउने अझ धेरै आशिष्हरूको पूर्वझलक मात्र थियो। यसबाट यहोवा आफ्ना वफादार जनहरू सधैँभरि आनन्दित रहेको चाहनुहुन्छ भनेर देखिन्छ। हो, यहोवाले आफ्ना सबै वफादार जनलाई इनाम दिनुहुनेछ र तिनीहरू सुन्दर प्रमोदवनमा कुनै दुःखकष्टविना सधैँभरि बाँच्न सक्नेछन्। (प्रका. २१:३, ४) यहोवा ब्रह्माण्डको मालिक हुनुभएकोले उहाँसित यी सबै कुरा पूरा गर्ने इच्छा छ। यहोवाले हामीलाई इनाम दिनुहुनेछ भन्ने कुरा थाह पाउँदा हामी परीक्षाहरू सहन बल पाउँछौ।
परीक्षाहरू अन्त भएपछि अय्युब र तिनकी पत्नीले यहोवाबाट प्रशस्त आशिष् पाए (अनुच्छेद १४-१५ हेर्नुहोस्)
१६. हामीले यहोवामा भरोसा राख्न सक्ने अर्को कारण के हो?
१६ यहोवाको आशिष्ले गर्दा अय्युब धेरै वर्षसम्म बाँचे तर तिनी सधैँभरि बाँचिरहेनन्। यहोवा ब्रह्माण्डका मालिक र सर्वशक्तिमान् हुनुभएकोले मरेकाहरूलाई फेरि जीवित पार्ने शक्ति उहाँसित छ। (व्यव. ३२:३९) उहाँले आफ्ना वफादार जनहरूलाई फेरि जीवित पार्ने समय तोकिसक्नुभएको छ र त्यसो गर्नदेखि उहाँलाई कसैले रोक्न सक्दैन।—रोमी ८:३८, ३९.
यहोवामा पूरा भरोसा राख्नुहोस्
१७. सैतानले यहोवाका जनहरूलाई नामेट पार्न सक्नेछैन भनेर हामी किन भन्न सक्छौँ?
१७ अय्युबको विवरणबाट हामीले यहोवामाथि पूरा भरोसा राख्न सक्छौँ भनेर बुझ्यौँ। हामी यहोवाप्रति कृतज्ञ छौँ किनभने उहाँले आफ्ना जनहरूलाई नामेट पार्न सैतानलाई अनुमति दिनुभएको छैन। ब्रह्माण्डका मालिक यहोवा नै हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। किनभने झन्डै ९० लाख मानिसहरूले वफादार भई उहाँको सेवा गरिरहेका छन्। यहोवाका सेवकहरूविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ भनेर पटक-पटक प्रमाणित भइसकेको छ। (यसै. ५४:१७) फलामजस्तो शक्तिशाली राष्ट्रहरू र धार्मिक सङ्गठनहरूले निस्सहायजस्तो देखिने यहोवाका जनहरूलाई उहाँको उपासना गर्नदेखि रोक्न सकेका छैनन्। यहोवा साँचो परमेश्वर हुनुहुन्छ तर सैतान भने झूटा र हत्यारा हो भनेर मानिसहरूलाई बताउनदेखि पनि हामीलाई कसैले रोक्न सक्दैन। हामीलाई मृत्युले समेत रोक्न सक्नेछैन। आफ्ना वफादार जनहरूको मृत्यु भइहाल्यो भने पनि यहोवाले तिनीहरूलाई फेरि जीवित पार्नुहुनेछ।—होसे १३:१४.
१८. हामी किन भविष्यमा हुने घटनाहरूदेखि डराउनु पर्दैन?
१८ अय्युबको विवरणमा मनन गऱ्यौँ भने यहोवामाथिको हाम्रो भरोसा अझ बलियो हुनेछ। अनि भविष्यमा जस्तोसुकै गाह्रो अवस्था आइपरे तापनि हामी डराउनेछैनौँ। महासङ्कष्टको दौडान यहोवाका जनहरू निस्सहाय देखिनेछन्। तर सैतान र त्यसका समर्थकहरू भने शक्तिशाली देखिनेछन्। त्यतिबेला पनि अय्युबको दिनमा जस्तै सबै कुरा यहोवाको नियन्त्रणमा हुनेछ। अनि उहाँले आफ्ना जनहरूलाई सदाको लागि हानि पुऱ्याउन सैतानलाई अनुमति दिनुहुनेछैन। सैतानले गर्दा मानिसहरूले भोगिरहेको सबै दुःखकष्ट अब चाँडै यहोवाले अन्त गरिदिनुहुनेछ। येसुले सैतान र त्यसका प्रेतहरूलाई अगाध खाडलमा हुर्ऱ्याउनुहुनेछ र तिनीहरू त्यहाँ एक हजार वर्षको लागि थुनिनेछन्। (लुका ८:३१; प्रका. २०:१-३) हजार वर्ष सिद्धिएपछि सैतान र त्यसका समर्थकहरू सदाको लागि नाश हुनेछन्। (प्रका. २०:१०) यहोवाले भविष्यवाणी गर्नुभएझैँ सैतानको शिर कुच्याइनेछ र त्यसको नामोनिसान मेटिनेछ।—उत्प. ३:१५; रोमी १६:२०.
१९. यहोवामा पूरा भरोसा राख्नेहरूले कस्तो इनाम पाउनेछन्? (चित्र पनि हेर्नुहोस्।)
१९ हामी नयाँ संसारको उत्कट प्रतीक्षामा छौँ किनभने त्यतिबेला हामी त्रुटिरहित हुनेछौँ। कुनै दुःखकष्ट हुनेछैन र हामी साँच्चै आनन्दित हुन सक्नेछौँ। त्यतिबेला जीवन हामीले कल्पना गरेको भन्दा कता हो कता राम्रो हुनेछ। यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।” (प्रका. २१:५) यसको अर्थ के हो? अदनको बगैँचामा आदम र हव्वाले विद्रोह गरेदेखि पूरै मानिसजाति सैतान र त्यसका प्रेतहरूको दुष्प्रभावमा परेको छ। तर नयाँ संसारमा तिनीहरूले मानिसहरूलाई दुःख दिन पाउनेछैनन् वा कुनै खराब काम गर्न लगाउन सक्नेछैनन्। त्यतिबेला हामीलाई कत्ति हाइसन्चो हुनेछ! अहिलेजस्तो चिन्ता-फिक्रीले गर्दा हामीले कहिल्यै अनिदो रात काट्नुपर्नेछैन। आरमागेडोनबाट बचेकाहरूले थुप्रै चमत्कारहरू देख्नेछन्, बिरामीहरू निको हुनेछन् अनि मरिसकेका हाम्रा प्रियजनहरू फेरि जीवित हुनेछन्। हो, त्यतिबेला हाम्रो जीवन यहोवाले सुरुमा चाहनुभएजस्तै अर्थपूर्ण र सुखमय हुनेछ।
विगतमा परीक्षा भोगेका यहोवाका वफादार उपासकहरूले उहाँबाट प्रशस्त आशिष् पाउनेछन् (अनुच्छेद १९ हेर्नुहोस्)
२०. तपाईँ के गरिरहन चाहनुहुन्छ?
२० यस अन्तको दिनमा हामीले अझ धेरै परीक्षाहरू भोग्नुपर्ने हुन सक्छ र ती परीक्षाहरू सहन हामीलाई साहस चाहिन्छ। त्यसैले यहोवामाथि पूरा भरोसा राखिरहौँ र उहाँलाई हाम्रो ब्रह्माण्डको मालिकको रूपमा स्विकारेर उहाँको अधीनमा बसिरहौँ। यहोवालाई प्रेम गरेको देखाइरहौँ अनि सैतानलाई झूटा साबित गरिरहौँ। ब्रह्माण्डका मालिक यहोवाप्रति वफादार रहिरह्यौँ भने हाम्रो भविष्य उज्ज्वल हुनेछ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। किनभने उहाँ आफ्ना वफादार जनहरूलाई इनाम दिन तीव्र इच्छा गर्नुहुन्छ।
गीत १५३ देऊ न साहस