मे २५-३१, २०२६
गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान् होऊ”
अन्तर्दृष्टि देखाउनुहोस् र “सफल” हुनुहोस्
“अन्तर्दृष्टि प्रयोग गर्ने मानिस सफल हुन्छ।”—हितो. १६:२०, फुटनोट।
सिक्न सकिने कुरा
अन्तर्दृष्टि देखायौँ भने गाह्रो परिस्थितिमा पनि बुद्धिमानी कदम चाल्न सक्नेछौँ।
१-२. अन्तर्दृष्टि भनेको के हो र यो गुणले हामीलाई के गर्न मदत गर्छ?
के तपाईँलाई कहिल्यै आफूले पाउनुपर्ने आदर नपाएको जस्तो महसुस भएको थियो? के कसैले तपाईँबारे गलत सोचाइ राखेको वा तपाईँसित अन्यायपूर्ण व्यवहार गरेको थियो? अथवा के तपाईँ त्यस्तो कुनै अवस्थामा पर्नुभएको छ, जसले गर्दा तपाईँलाई असाध्यै डर लागेको थियो? यदि थियो भने त्यस्तो अवस्थामा सही कदम चाल्न कति गाह्रो हुन्छ भनेर तपाईँले बुझ्नुभएको छ। तर यी तथा अन्य थुप्रै परिस्थितिहरूमा सही कदम चाल्न मदत गर्ने एउटा गुणबारे बाइबलमा बताइएको छ। त्यो हो, अन्तर्दृष्टि।
२ अन्तर्दृष्टि भनेको कुनै पनि परिस्थितिलाई सतही रूपमा मात्र नहेरी त्यसको गहिराइसम्म पुग्न सक्ने क्षमता हो। यदि हामीसित यो गुण छ भने कुनै कुरा हुनु वा कसैले हामीसित नराम्रो बोली वा व्यवहार गर्नुपछाडिको कारण के हुन सक्छ भनेर बुझ्न सक्नेछौँ। त्यसले गर्दा हामीले बुद्धिमानी कदम चाल्न सक्नेछौँ। जस्तै, अन्तर्दृष्टि छ भने कहिले आफ्नो ‘जिब्रोलाई काबूमा राख्ने’ र ‘चुपचाप बस्ने’ भनेर सही निर्णय गर्न सक्नेछौँ। (हितो. १०:१९; भज. ४:४) साथै हामीले आफ्नो रिसलाई काबूमा राख्न र अरूको गल्तीलाई क्षमा दिन सक्नेछौँ। अनि अरूले दिएको सल्लाह र अनुशासन पनि स्विकार्न सक्नेछौँ। (हितो. १९:२०) अन्तर्दृष्टि देखाउँदा हाम्रो बोली र व्यवहारले यहोवालाई खुसी बनाउँछ। त्यति मात्र होइन, त्यसले गर्दा हाम्रो र अरूको पनि हित हुन्छ। अरूले हामीसित रुखो बोली वा व्यवहार गर्दा अथवा आफ्नो भावनालाई काबूमा राख्न गाह्रो हुने अवस्थामा पर्दा अन्तर्दृष्टिले हामीलाई गलत कदम चाल्नदेखि जोगाउनेछ। यस लेखमा हामी तीन वटा बाइबल विवरण छलफल गर्नेछौँ। ती विवरणहरूबाट अन्तर्दृष्टिले नम्र हुन, शान्त रहन र यहोवामा पूरा भरोसा राख्न कसरी मदत गर्छ भनेर बुझ्नेछौँ।
घमन्डी हुनुको साटो नम्र हुनुहोस्
३. नामान को थिए?
३ गाह्रो अवस्थामा बुद्धिमानी कदम चाल्न हामी नम्र हुनै पर्छ। (१ पत्रु. ५:५) अन्तर्दृष्टिले हामीलाई नम्र हुन कसरी मदत गर्छ? नामानको उदाहरण विचार गरौँ। तिनी इस्राएलको उत्तरतिर पर्ने सिरियामा बस्थे। तिनी गण्यमान्य पुरुष थिए। तिनी सिरियाका राजाका सेनापति थिए। तर तिनलाई कुष्ठरोग लागेको थियो।—२ राजा ५:१.
४. नामानले केही हदसम्म अन्तर्दृष्टि देखाए भनेर हामी किन भन्न सक्छौँ?
४ नामानकी पत्नीको एउटी दासी इस्राएली ठिटी थिइन्। उनले आफ्नी मालिक्नीलाई इस्राएलको एक जना भविष्यवक्ताबारे बताइन्, जसले नामानलाई निको पारिदिन सक्थे। (२ राजा ५:२, ३) नामानले यस्तो सोच्न सक्थे, ‘यो जाबो दासीको कुरा के पत्याउनु! त्यसमाथि शत्रु राष्ट्रको मान्छेले काँ मेरो हित हुने कुरा गर्ला र?’ तर नामानले त्यस्तो सोचाइ राखेनन्। बरु केही हदसम्म अन्तर्दृष्टि देखाए। तिनले घमन्डी हुँदै त्यस दासीको कुरालाई बेवास्ता गरेनन्। बरु नम्र हुँदै उनको कुरा सुने। त्यसपछि तिनी सिरियाका राजाको अनुमति लिएर इस्राएल गए।—२ राजा ५:४, ५.
५. इस्राएल पुगेपछि नामानलाई के भयो?
५ नामान आफ्नो कुष्ठरोग निको पार्न इस्राएलका राजा यहोरामको दरबारमा गए। तर यहोरामले सिरियाका राजाले आफूसित लडाइँ गर्न निहुँ खोज्दै छन् भन्ठाने। भविष्यवक्ता एलिसाले यो कुरा सुनेपछि नामानलाई आफूकहाँ पठाइदिनू भनी यहोरामलाई भने। (२ राजा ५:६-९) तर एलिसाको घरमा पुगेपछि नामानले सोचेजस्तो केही पनि भएन। एलिसा नामानलाई भेट्न वा तिनीसित कुरा गर्न घरबाट बाहिर समेत निस्केनन्। बरु तिनलाई भेट्न एक जना सन्देशवाहक पठाए र ती सन्देशवाहकले निको हुन नामानले के गर्नुपर्छ भनेर बताइदिए।—२ राजा ५:१०.
६. (क) सन्देशवाहकको कुरा सुनेर नामान किन रिसले चुर भएका हुन सक्छन्? (ख) नामानका सेवकहरूले कसरी अन्तर्दृष्टि देखाए र नतिजा कस्तो भयो? (२ राजा ५:१३, १४)
६ सन्देशवाहकको कुरा सुनेपछि नामान “रिसले चुर भए” र “रिसको झोँकमा त्यहाँबाट गए।” (२ राजा ५:११, १२) किन? तिनी एक जना सेनापति भएकोले आफूले पाउनुपर्ने आदर नपाएको जस्तो तिनलाई लागेको हुन सक्छ। साथै, नामानलाई एलिसाले दिएको निर्देशनले सिरिया राष्ट्रकै अपमान गरेको जस्तो पनि लागेको हुन सक्छ। त्यसैले नामानले यस्तो अपमान सहनुभन्दा सिरिया नै फर्कने निर्णय गरे। तर तिनका सेवकहरूले अन्तर्दृष्टि देखाए। तिनीहरूले नामानलाई आफ्नो निर्णयबारे फेरि एकचोटि सोच्न बिन्ती गरे। सेवकहरूको कुरा सुनेपछि नामानले आफ्नो घमन्ड त्यागे र नम्र भई एलिसाले भनेजस्तै गरे। त्यसपछि तिनको रोग निको भयो।—२ राजा ५:१३, १४ पढ्नुहोस्।
७. नामानको विवरणबाट हामी के सिक्न सक्छौँ? (हितोपदेश २२:४) (चित्रहरू पनि हेर्नुहोस्।)
७ यस विवरणबाट हामी के सिक्न सक्छौँ? हामीले देखेको वा आफूलाई लागेको कुरा सधैँ सही नहुन सक्छ। त्यसैले कुनै कदम चाल्नुअघि हामीले राम्ररी सोचविचार गर्नुपर्छ। यसो गऱ्यौँ भने हामीले अन्तर्दृष्टि देखाइरहेका हुन्छौँ। हामीले आफ्ना भावनाहरूलाई आफूमाथि हाबी हुन दिएनौँ भने पनि अन्तर्दृष्टि देखाइरहेका हुन्छौँ। अन्तर्दृष्टिले हामीलाई नम्र हुन पनि मदत गर्छ। नम्र छौँ भने हामीलाई सबै कुरा थाह छैन भनेर स्विकार्छौँ। त्यसैले कहिलेकाहीँ हामीलाई अरूको र अझ विशेषगरि यहोवाको मदत चाहिन्छ। नामान यहोवाका उपासक भइसकेका थिएनन्। तैपनि तिनले नम्र भई अरूको कुरा सुनेर अन्तर्दृष्टि देखाए। तिनले आफ्नी पत्नीकी इस्राएली दासी, आफ्ना सेवकहरू र सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको प्रतिनिधि एलिसाको कुरा सुने। हुनत नामानले आफ्नो अपमान भएको जस्तो महसुस गरे। तर तिनी त्यसैमा घोरिएर बसेनन्। त्यसैले तिनले बुद्धिमानी निर्णय गर्न सके र नतिजा राम्रो भयो। हामीले पनि कुनै कुरा भन्नु वा गर्नुअघि एकछिन रोकिएर राम्रोसित सोचविचार गर्नुपर्छ। जस्तै, कसैले हामीलाई बाइबलबाट सल्लाह दिन सक्छ तर हामीलाई त्यो सल्लाह चित्त नबुझ्न सक्छ। अथवा सङ्गठनबाट कुनै निर्देशन आउँदा हामीले त्यो दिइनुको कारण नबुझ्न सक्छौँ। त्यस्तो अवस्थामा हामीले देखाउने प्रतिक्रियाबाट हामी घमन्डी छौँ कि नम्र छौँ भनेर देखिन्छ। त्यसैले तुरुन्तै केही भन्नु वा गर्नुअघि राम्ररी सोचविचार गर्नुपर्छ।—हितोपदेश २२:४ पढ्नुहोस्।
नामानले नम्र भई अरूको कुरा सुनेजस्तै हामीले पनि सल्लाह पाउँदा, कसैले सुझाव दिँदा वा परमेश्वरको सङ्गठनबाट निर्देशन आउँदा ध्यान दिएर सुन्नुपर्छ (अनुच्छेद ७ हेर्नुहोस्)
रिसको झोँकमा कदम चाल्नुको साटो शान्त रहनुहोस्
८. कस्तो अवस्थामा शान्त रहन गाह्रो हुन सक्छ?
८ अन्तर्दृष्टिले हामीलाई रिसको झोँकमा कदम चाल्नुको साटो शान्त रहन मदत गर्छ। कसैले हामीसित रुखो बोली वा अन्यायपूर्ण व्यवहार गर्दा रिस उठ्नु स्वाभाविकै हो र त्यस्तो अवस्थामा शान्त रहन सधैं सजिलो हुँदैन। दाउद र अबिगेलले एउटा तनावपूर्ण अवस्थामा कसरी अन्तर्दृष्टि देखाए, अब छलफल गरौँ।
९. नाबालले दाउदसित कस्तो व्यवहार गरे?
९ यो दृश्य कल्पना गर्नुहोस्। दाउद र तिनका मानिसहरू पारान भनिने निर्जनभूमिमा भगुवा जीवन बिताइरहेका थिए। (१ समु. २५:१) त्यहाँ तिनीहरूले एक जना धनी मानिस नाबालका गोठालाहरू र भेडाबाख्रालाई सुरक्षा दिएका थिए। (१ समु. २५:१५, १६) भेडाहरूको ऊन कत्रने समयमा दाउदले आफ्ना मानिसहरूलाई केही खानेकुरा माग्न नाबालकहाँ पठाए। त्यसैले तिनीहरू नाबालकहाँ गएर आदरपूर्वक बिन्ती गरे। (१ समु. २५:६-८) तर नाबालले दाउद र तिनका मानिसहरूले जे-जति गरिदिएका थिए, त्यसको लागि पटक्कै कृतज्ञता देखाएनन्। उल्टै दाउदका मानिसहरूसित रुखो व्यवहार गरे। अनि तिनीहरू र दाउदको अपमानसमेत गरे।—१ समु. २५:१०, ११.
१०. दाउद र अबिगेलले कसरी अन्तर्दृष्टि देखाए? (१ समुएल २५:३२, ३३) (चित्र पनि हेर्नुहोस्।)
१० तपाईँ दाउदको ठाउँमा हुनुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो? दाउद असाध्यै रिसाउनुको कारण हामी बुझ्न सक्छौँ। दाउद यतिसम्म रिसाए कि तिनी नाबाललाई मार्न चाहन्थे। त्यसैले तिनी आफ्ना मानिसहरूलाई लिएर नाबाललाई मार्न निस्किए। (१ समु. २५:१३, २१, २२) तर नाबालकी समझदार पत्नी अबिगेलले दाउद र तिनका मानिसहरूलाई बाटोमै रोकिन्। अबिगेलले कसरी अन्तर्दृष्टि देखाइन्? उनले दाउद एक असल व्यक्ति हुन् र रिसको झोँकमा गलत कदम चाल्न लागिरहेका छन् भनेर बुझिन्। त्यसैले उनी दाउदलाई शान्त हुन र बुद्धिमानी कदम चाल्न मदत दिन चाहन्थिन्। (१ समु. २५:१८, २३-३१) उनले दाउदको लागि थुप्रै उपहारहरू ल्याइन् र केही राम्रा सुझावहरू पनि दिइन्। त्यतिबेला दाउदले कसरी अन्तर्दृष्टि देखाए? तिनले अबिगेलले भनेको कुरामा ध्यान दिए र उनले भनेको कुरामा यहोवाकै सोचाइ झल्किन्छ भनेर बुझे। नतिजास्वरूप दाउदको रिस शान्त भयो र तिनी गम्भीर गल्ती गर्नदेखि जोगिए।—१ समुएल २५:३२, ३३ पढ्नुहोस्।
तनावपूर्ण अवस्थामा दाउद र अबिगेलले अन्तर्दृष्टि देखाउँदा दुःखद घटना हुन पाएन (अनुच्छेद १० हेर्नुहोस्)
११. रिसाउने जायज कारण हुँदा पनि अन्तर्दृष्टिले हामीलाई कसरी मदत गर्छ? (हितोपदेश १९:११)
११ यस विवरणबाट हामी के सिक्न सक्छौँ? अन्तर्दृष्टिले हामीलाई रिसाउने जायज कारण हुँदा पनि शान्त रहन र सोचविचार गरेर मात्र कदम चाल्न मदत गर्छ। यसले हामीलाई आफ्नो बोली र व्यवहारको नतिजा कस्तो हुन सक्छ भनेर विचार गर्न पनि मदत गर्छ। (हितोपदेश १९:११ पढ्नुहोस्।) अबिगेलले दाउदलाई तिनले चाल्न लागेको कदम यहोवालाई कस्तो लाग्छ भनेर विचार गर्न मदत गरिन्। त्यसपछि दाउदले आफ्नो रिसलाई काबूमा राख्न सके। यदि तपाईँलाई कुनै कुराले वा कसैले गर्दा रिस उठिरहेको छ भने रिसको झोँकमा कदम नचाल्नुहोस्। (याकु. १:१९) बरु यहोवालाई प्रार्थना गर्नुहोस् अनि त्यसबारे उहाँको सोचाइ बुझ्न प्रयास गर्नुहोस्। यसरी सोचविचार गर्न समय लगाउनुभयो भने तपाईँ शान्त रहन र सही कदम चाल्न सक्नुहुनेछ।
१२. अन्तर्दृष्टि देखाउन र शान्त रहन अरूले हामीलाई कसरी मदत गर्न सक्छन्?
१२ यहोवाले अबिगेललाई चलाएर दाउदलाई मदत गर्नुभयो। त्यसरी नै उहाँले अरू भाइबहिनीलाई चलाएर हामीलाई अन्तर्दृष्टि देखाउन मदत गर्न सक्नुहुन्छ। त्यसैले कुनै तनावपूर्ण अवस्थामा पर्दा कदम चालिहाल्नुको साटो त्यसबारे यहोवाको सोचाइ बुझ्न मदत गर्न सक्ने कुनै परिपक्व भाइबहिनीसित कुरा गर्नुहोस्। (हितोपदेश १२:१५; २०:१८) अथवा तपाईँको साथी त्यस्तै अवस्थामा परेका छन् भने तपाईँ कसरी अबिगेलको अनुकरण गर्न सक्नुहुन्छ? तपाईँ तिनलाई त्यसबारे यहोवाको सोचाइ बुझ्न मदत गर्न सक्नुहुन्छ। यसरी अन्तर्दृष्टि देखाउन र शान्त रहन तपाईँले अरूलाई मदत गर्दा यहोवाले तपाईँको प्रयासमा पक्कै आशिष् दिनुहुनेछ।
डराउनुको साटो यहोवामा पूरा भरोसा राख्नुहोस्
१३. डर लाग्दा हामीलाई अन्तर्दृष्टिले कसरी मदत गर्न सक्छ?
१३ कुनै-कुनै परिस्थितिमा पर्दा हामीलाई डर लाग्न सक्छ। तर त्यस्तो अवस्थामा अन्तर्दृष्टिले हामीलाई यहोवा सबैभन्दा शक्तिशाली हुनुहुन्छ र सबै कुरा उहाँकै नियन्त्रणमा छ भन्ने कुरा सम्झन अनि उहाँमाथि पूरा भरोसा राख्न मदत गर्न सक्छ। (भज. २७:१) उम्कने कुनै बाटो छैन जस्तो देखिँदा पनि यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ। भविष्यवक्ता योनाले यस्तै अनुभव गरेका थिए। तिनी यहोवालाई असाध्यै प्रेम गर्थे तर उहाँले एउटा गाह्रो काम अह्राउनुहुँदा तिनी डराए।
१४. यहोवाले दिनुभएको असाइनमेन्ट स्विकार्न योना किन डराएका हुन सक्छन्?
१४ यहोवाले योनालाई निनवे गएर न्यायदण्ड घोषणा गर्न अह्राउनुभयो। (योना १:१, २) तपाईँले त्यो असाइनमेन्ट पाउनुभएको भए कस्तो महसुस गर्नुहुने थियो? इस्राएलदेखि अस्सुरीहरूको सहर निनवेसम्मको यात्रा योनाको लागि असाध्यै कठिन हुने थियो। तिनी त्यहाँसम्म हिँडेरै जानुपर्ने थियो र त्यो यात्रा लगभग एक महिना लामो हुने थियो। त्यसमाथि अस्सेरियालीहरू असाध्यै हिंस्रक मानिसहरू भनेर चिनिन्थे। निनवेलाई ‘रक्तपातले भरिएको सहरसमेत’ भनिन्थ्यो। (नहु. ३:१, ७) त्यसैले योना त्यो असाइनमेन्ट स्विकार्नुको साटो अन्तै भागे।—योना १:३.
१५. योनालाई यहोवामाथि पूरा भरोसा राख्न केले मदत गऱ्यो? (योना २:६-९)
१५ योना जहाज चढेर तर्सिसतिर लागे। यात्रा गरिरहेको बेला समुद्रमा डरलाग्दो आँधी चल्यो र तिनलाई जहाजबाट फ्याँकियो। तर यहोवाले तिनलाई चमत्कारपूर्ण ढङ्गमा बचाउनुभयो। (योना १:१५, १७) यसबाट योनाले यहोवा कत्ति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा बुझे। तिनले एउटा महत्त्वपूर्ण पाठ पनि सिके। यहोवाले जस्तोसुकै खतराबाट पनि जोगाउन सक्नुहुने भएकोले निनवे जानदेखि डराउनु पर्दैन भनेर योनाले बुझे। (योना २:६-९ पढ्नुहोस्।) त्यसैले यहोवाले तिनलाई निनवे जान फेरि अह्राउनुहुँदा तिनले त्यो असाइनमेन्ट स्विकारे। त्यहाँका मानिसहरूले तिनको कुरा सुने र तिनीहरू नाश हुनदेखि जोगिए।—योना ३:५.
१६. डर लाग्दा हामीलाई अन्तर्दृष्टिले कसरी मदत गर्न सक्छ? (हितोपदेश २९:२५) (चित्रहरू पनि हेर्नुहोस्।)
१६ यस विवरणबाट हामी के सिक्न सक्छौ? हामी यहोवाको उपासना गर्नदेखि कुनै पनि कुराले गर्दा पछि हट्न चाहँदैनौँ, अझ विशेषगरि मानिसहरूको डरले गर्दा। (हितोपदेश २९:२५ पढ्नुहोस्।) अन्तर्दृष्टिले गर्दा योनाले असाइनमेन्टमा आउन सक्ने चुनौतीहरूबारे मात्र सोच्नुको साटो यहोवाले दिनुहुने मदतमा ध्यान केन्द्रित गर्न सके। त्यसरी नै हामीलाई पनि डर लाग्दा यहोवाले हामीलाई विगतमा कसरी मदत गर्नुभयो र जोगाउनुभयो भनेर सम्झन सक्छौँ। साथै यहोवामाथि पूरा भरोसा राखेकोले गाह्रो अवस्थाको सामना गर्न वा चुनौतीपूर्ण असाइनमेन्ट पूरा गर्न सफल भएका भाइबहिनीहरूको अनुभवमा मनन गर्न सक्छौँ। (हिब्रू १३:६) यहोवामाथि पूरा भरोसा राखेर अनि अरूलाई पनि त्यसै गर्न मदत गरेर अन्तर्दृष्टि देखाइरहौँ!
अन्तर्दृष्टिले हामीलाई परमेश्वरको निर्देशन स्विकार्न र गाह्रो अवस्थामा सफल हुन मदत गर्छ भनेर योनाको उदाहरणबाट सिक्न सक्छौँ (अनुच्छेद १६ हेर्नुहोस्)
अन्तर्दृष्टि देखाउन सिकिरहनुहोस्
१७. हामी कसरी अन्तर्दृष्टि देखाउन सिकिरहन सक्छौँ?
१७ यस लेखमा छलफल गरिएझैँ अन्तर्दृष्टि देखाउँदा हामीले गाह्रो अवस्थामा पनि बुद्धिमानी कदम चाल्न सक्नेछौँ। हामी कसरी अन्तर्दृष्टि देखाउन सिकिरहन सक्छौँ? हामीलाई सबैभन्दा राम्रोसित सिकाउन सक्ने व्यक्ति यहोवा नै हुनुहुन्छ। यसको लागि उहाँले आफ्नो वचन र पवित्र शक्ति दिनुभएको छ। (नहे. ९:२०; भज. ३२:८) उहाँ हामीलाई बुद्धिमानी कदम चाल्न र आफ्ना भावनाहरूलाई काबूमा राख्न मदत गर्ने सल्लाहहरू दिनुहुन्छ। (भज. ११९:९७-१०१) त्यसैले हामीले बाइबलमा बताइएका कुराहरूमा मनन गर्नुपर्छ र यहोवासित उहाँको पवित्र शक्ति माग्नुपर्छ। यसो गऱ्यौँ भने जुनसुकै मामिलालाई यहोवाको जस्तै दृष्टिकोणले हेर्न र उहाँले चाहनुभएअनुसारै कदम चाल्न सक्नेछौँ।—हितो. २१:११.
१८. तपाईँले के गर्ने सङ्कल्प गर्नुभएको छ?
१८ अन्तर्दृष्टि देखाउन यहोवाबाट सिकिरहौँ र यो गुणको सधैँ कदर गरिरहौँ। (भज. १४:२) यसो गऱ्यौँ भने “अन्तर्दृष्टिको मार्गबाट” हामी कहिल्यै तर्किनेछैनौँ। (हितो. २१:१६, फुटनोट) बरु जस्तोसुकै अवस्थामा अन्तर्दृष्टि देखाइरहने हाम्रो सङ्कल्प अझ बलियो हुनेछ। हो, अन्तर्दृष्टि देखायौँ भने हामी “सफल” हुनेछौँ।
गीत ४२ परमेश्वरको सेवकको प्रार्थना