मार्च
आइतबार, मार्च १
जो मर्छ, ऊ आफ्नो पापबाट मुक्त हुन्छ।—रोमी ६:७.
बाइबलमा धर्मी मानिस पछि गएर अधर्मी भएका विवरणहरू पनि पाउँछौँ। त्यस्तै एक जना व्यक्ति राजा सुलेमान थिए। तिनलाई यहोवाका स्तरहरूबारे राम्रो ज्ञान थियो र उहाँले तिनलाई प्रशस्त आशिष् पनि दिनुभएको थियो। तर तिनले पछि झूटा देवीदेवतालाई पुज्न थाले। यहोवा तिनीसित क्रोधित हुनुभयो र तिनका पापहरूको नतिजा पूरै इस्राएल राष्ट्रले सयौँ वर्षसम्म भोग्नुपऱ्यो। बाइबलमा “सुलेमान आफ्ना पितृहरूसितै सुते” भनेर बताइएको छ। यही कारणले गर्दा सुलेमान फेरि जीवित हुनेछन् भनेर हामीले भन्दै आएका थियौँ। अनि ती पितृहरूमा राजा दाउदजस्ता वफादार पुरुषहरू पनि पर्छन्। (१ राजा ११:५-९, ४३; २ राजा २३:१३) तर के यो तिनी फेरि जीवित हुनेछन् भन्ने कुराको ग्यारेन्टी हो? यसबारे बाइबलमा केही बताइएको छैन। पुनर्जीवन मायालु परमेश्वरले दिनुहुने उपहार हो। उहाँ जसलाई सधैँभरि उहाँको सेवा गर्ने मौका दिन चाहनुहुन्छ, तिनीहरूलाई मात्र यो उपहार दिनुहुन्छ। (अय्यु. १४:१३, १४; युह. ६:४४) के सुलेमानले यो उपहार पाउनेछन्? यसको जवाफ यहोवालाई मात्र थाह छ, हामीलाई थाह छैन। हामीलाई बस यति थाह छ, यहोवा सधैँ सही तरिकामा न्याय गर्नुहुन्छ। w२४.०५ पृ. ४ अनु. ९
सोमबार, मार्च २
म तपाईँको पालमा सदाको लागि पाहुना बन्नेछु।—भज. ६१:४.
यहोवालाई जीवन समर्पण गर्दा हामी पनि उहाँको पालमा पाहुना हुन्छौँ। उहाँको पालमा हामी प्रशस्तै आध्यात्मिक भोजनबाट लाभ उठाउन सक्छौँ र उहाँका अरू पाहुनाहरूसित मित्रता गाँस्न सक्छौँ। यहोवाको पाल कुनै एउटा ठाउँमा मात्र सीमित छैन। यहोवाका आज्ञाकारी उपासकहरू जहाँ-जहाँ छन्, यहोवाको पाल त्यहीँ-त्यहीँ छ। (प्रका. २१:३) यहोवाका मरिसकेका वफादार उपासकहरूबारे चाहिँ के भन्न सकिन्छ? के तिनीहरू अझै पनि यहोवाको पाहुना हुन् भन्न सक्छौँ? पक्कै सक्छौँ! किनभने तिनीहरू यहोवाको सम्झनामा छन्। येसुले यसो भन्नुभयो: “मरेकाहरू ब्युँतनेछन् भनेर मोसाले पनि झाडीसम्बन्धी विवरणमा बताए। त्यस विवरणमा तिनले यहोवालाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर’ भनेका छन्। उहाँ मरेकाहरूका होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ किनकि उहाँको लागि तिनीहरू सबै जीवित छन्।”—लुका २०:३७, ३८. w२४.०६ पृ. ३-४ अनु. ६-७
मङ्गलबार, मार्च ३
यहोवा मेरो बल र मेरो ढाल हुनुहुन्छ।—भज. २८:७.
सादोक हातहतियार भिरेर हेब्रोन गए। (१ इति. १२:३८) यसबाट तिनी दाउदसँगसँगै युद्धमा गएर शत्रुहरूसित लड्न तयार थिए भनेर देखिन्छ। हुनत सादोक निपुण योद्धा थिएनन् तर तिनी निकै साहसी थिए। सादोकले साहसी हुन कसरी सिके? तिनी थुप्रै वीर र साहसी पुरुषहरूलाई चिन्थे। तिनीहरूको उदाहरणबाट तिनले पक्कै पनि साहसी हुन सिकेको हुनुपर्छ। तिनीहरूमध्ये एक जना दाउद थिए। दाउदले साहसी हुँदै ‘लडाइँमा इस्राएलीहरूको नेतृत्व लिएको’ देखेकोले सबै इस्राएलीहरू उनलाई राजा बनाउन चाहन्थे। (१ इति. ११:१, २) आफ्ना शत्रुहरूसित लड्न दाउद सधैँ मदतको लागि यहोवामा भर पर्थे। (भज. १३८:३) सादोकले अरू साहसी पुरुषहरूलाई पनि चिनेका थिए। जस्तै: यहोयादा र तिनका छोरा बेनायाह। बेनायाहलाई बाइबलमा वीर पुरुष भनिएको छ। साथै सादोकले दाउदलाई साथ दिएका २२ जना नाइकेहरूलाई पनि चिनेका थिए।—१ इति. ११:२२-२५; १२:२६-२८. w२४.०७ पृ. ३ अनु. ५-६
बुधबार, मार्च ४
परमेश्वरले दया गरेर तिमीलाई पश्चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ।—रोमी २:४.
टार्ससका सावलले ख्रिष्टका चेलाहरूको अत्यन्तै खेदो गरेका थिए। थुप्रै ख्रिष्टियनहरूलाई तिनले कहिल्यै पश्चात्ताप गर्नेछैनन् जस्तो लागेको हुन सक्छ। तर फेरि जीवित हुनुभएका येसुलाई तिनले आफ्नो मन परिवर्तन गर्नेछन् र पश्चात्ताप गर्नेछन् भनेर थाह थियो। येसु र उहाँको बुबाले सावलमा असल गुणहरू देख्नुभयो। येसुले यसो भन्नुभयो: ‘यी मानिस मैले रोजेको पात्र हुन्।’ (प्रेषि. ९:१५) सावललाई पश्चात्ताप गर्न मदत दिन येसुले चमत्कारसमेत गर्नुभयो। (प्रेषि. ७:५८–८:३; ९:१-९, १७-२०) ख्रिष्टियन भएपछि सावल प्रेषित पावल भन्ने नामले चिनिए। तिनले आफूलाई देखाइएको असीम अनुग्रह र कृपाप्रति थुप्रै चोटि कृतज्ञता व्यक्त गरे। (१ तिमो. १:१२-१५) एकपटक पावलले कोरिन्थ मण्डलीका एक पुरुषले अवैध यौनसम्बन्ध राखेको र ती पुरुषलाई मण्डलीमै रहिरहन दिइएको कुराबारे थाह पाए। तिनले त्यो मामिला कसरी सम्हाले? तिनले त्यो मामिला सम्हालेको तरिकाबाट यहोवा आफ्ना सेवकहरूलाई अनुशासन दिँदा माया देखाउनुहुन्छ अनि तिनीहरूले पश्चात्ताप गर्दा कृपा देखाउनुहुन्छ भनेर बुझ्न सक्छौँ। w२४.०८ पृ. १३ अनु. १५-१६
बिहीबार, मार्च ५
दियाबलका कामहरू नष्ट गर्ने उद्देश्यले नै परमेश्वरको छोरा प्रकट हुनुभएको थियो।—१ युह. ३:८.
यहोवाले त्रुटिपूर्ण मानिसहरू उहाँसित कसरी नजिक हुन सक्छन् भनेर क्रमिक रूपमा प्रस्ट पार्दै जानुभयो। अदनमा भएको विद्रोहपछि यहोवामाथि विश्वास गर्ने पहिलो मानिस हाबिल थिए। तिनी आदम र हव्वाका माहिला छोरा थिए। हाबिल यहोवालाई प्रेम गर्थे र उहाँलाई खुसी पार्न अनि उहाँसित नजिक हुन चाहन्थे। त्यसैले तिनले यहोवाको लागि बलिदानहरू चढाए। हाबिल गोठाला थिए। त्यसैले तिनले आफ्नो बगालबाट केही पाठाहरू ल्याए र यहोवालाई चढाए। यहोवालाई ती भेटीहरू कस्तो लाग्यो? उहाँले “हाबिल र तिनको भेटी स्विकार्नुभयो।” (उत्प. ४:४) यहोवालाई प्रेम गर्ने अनि उहाँमाथि भरोसा गर्ने अरू मानिसहरूले चढाएका बलिदानहरू पनि उहाँले स्विकार्नुभयो। जस्तै: नुहले चढाएको बलिदान। (उत्प. ८:२०, २१) त्यस्ता भेटीहरू स्विकारेर यहोवाले त्रुटिपूर्ण मानिसहरूले उहाँको अनुमोदन पाउन सक्छन् र उहाँसित नजिक हुन सक्छन् भनेर देखाउनुभयो। w२४.०८ पृ. ३ अनु. ५-६
शुक्रबार, मार्च ६
मेरा खुट्टाहरूले बाटो बिराउनै लागेका थिए; मेरा पाइलाहरू झन्डै चिप्लेका थिए।—भज. ७३:२.
अन्यायमा पर्दा हाम्रो असाध्यै चित्त दुख्न सक्छ र हाम्रो मनमा छटपटी हुन सक्छ। (उप. ७:७) अय्युब र हबकुकजस्ता वफादार सेवकहरूले पनि त्यस्तै महसुस गरेका थिए। (अय्यु. ६:२, ३; हब. १:१-३) यस्तो भावना आउनु स्वाभाविकै हो। तर हामीले सोचविचार गरेर कदम चाल्नुपर्छ। त्यसो गऱ्यौँ भने हामी गलत कदम चाल्नदेखि जोगिनेछौँ। किनभने गलत कदम चाल्दा अवस्था झनै बिग्रन सक्छ। अन्याय-अत्याचार गर्ने मानिसहरूले सजाय नपाएको देख्दा हामीलाई जे सही छ, त्यही गरिरहनुमा कुनै फाइदा छैन जस्तो लाग्न सक्छ। असल मानिसहरूले अन्याय-अत्याचार भोग्नुपरेको तर दुष्टहरूको भने फलिफाप भएको देख्दा एक जना भजनरचयिताले कस्तो महसुस गरे, विचार गरौँ। तिनले यसो भने: “ती दुष्टहरूले सबै कुरा सजिलै पाउँछन्।” (भज. ७३:१२) मानिसहरूमाथि अन्याय-अत्याचार भइरहेको देख्दा तिनी असाध्यै निराश भए र यहोवाको सेवा गरिरहनुमा कुनै फाइदा छैन जस्तो तिनलाई लाग्यो। तिनले यसो भने: “मैले यी कुरा बुझ्न खोज्दा म व्याकुल भएँ।”—भज. ७३:१४, १६. w२४.११ पृ. ३ अनु. ५-७
शनिबार, मार्च ७
हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर, यहोवाको मान गर किनकि उहाँ महिमावान् र शक्तिशाली हुनुहुन्छ।—भज. ९६:७.
हामी यहोवाको महिमा गर्छौँ किनभने हामी उहाँलाई गहिरो आदर गर्छौँ। हामीले उहाँको आदर गर्नुपर्ने थुप्रै कारणहरू छन्। यहोवा सर्वशक्तिमान् हुनुहुन्छ; उहाँसित अथाह शक्ति छ। (भज. ९६:४-७) उहाँ बुद्धिमान् हुनुहुन्छ; उहाँले बनाउनुभएका कुराहरूमा उहाँको बुद्धि प्रस्टै देखिन्छ। उहाँ हाम्रो जीवनको स्रोत हुनुहुन्छ र हामीलाई जीवन धान्न चाहिने सबै कुरा दिनुहुन्छ। (प्रका. ४:११) उहाँ वफादार हुनुहुन्छ। (प्रका. १५:४) उहाँले गर्नुभएको कुनै पनि प्रतिज्ञा अधुरो रहेको छैन; उहाँ आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ। (यहो. २३:१४) त्यसैले भविष्यवक्ता यर्मियाले यहोवाबारे यसो भने: “जातिजातिका बुद्धिमान् मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।” (यर्मि. १०:६, ७) हो, हामीले यहोवाको आदर गर्नुपर्ने थुप्रै कारणहरू छन्। तर यहोवा हाम्रो आदर पाउन मात्र होइन, प्रेम पाउन पनि योग्य हुनुहुन्छ। हामीले यहोवाको महिमा गर्नुको मुख्य कारण भनेको हामी उहाँलाई असाध्यै प्रेम गर्छौँ। w२५.०१ पृ. ३ अनु. ५-६
आइतबार, मार्च ८
त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।—१ कोरि. ५:१३.
परमेश्वरका विरोधीहरूले उहाँको सङ्गठनको सकारात्मक पक्षलाई नकारात्मक तरिकामा प्रस्तुत गर्न खोज्छन्। उदाहरणको लागि, हामीले बाइबलबाट यहोवा आफ्ना उपासकहरू शारीरिक, नैतिक र आध्यात्मिक रूपमा शुद्ध भएको चाहनुहुन्छ भनेर सिकेका छौँ। उहाँले अशुद्ध काम गर्ने तर पश्चात्ताप नगर्ने व्यक्तिलाई मण्डलीबाट हटाउन आज्ञा दिनुभएको छ। (१ कोरि. ५:११, १२; ६:९, १०) हामी बाइबलको यो आज्ञा पालन गर्छौँ। तर हाम्रा विरोधीहरूले यसलाई नै आधार बनाएर हामी कट्टर, आलोचक र निर्दयी भएको आरोप लगाउँछन्। हामीले यस्ता आक्रमणको स्रोत चिन्नुपर्छ। झूटा अफवाहहरूको पछाडि दुष्ट सैतानको हात छ। त्यो “झूटको बुबा हो।” (युह. ८:४४; उत्प. ३:१-५) त्यसैले सैतानले आफ्ना समर्थकहरूलाई चलाएर यहोवाको सङ्गठनबारे झूटा अफवाहहरू फैलाउनु कुनै अचम्मलाग्दो कुरा होइन। w२४.०४ पृ. १०-११ अनु. १३-१४
सोमबार, मार्च ९
तिमीले भनेका कुरा पक्कै पूरा हुनेछन्।—इज. ३३:३३.
“महान् बेबिलोन”-को विनाश देख्ने केही मानिसले यहोवाका साक्षीहरूले यसबारे लामो समयदेखि चेतावनी दिँदै आएका थिए भनेर सम्झन सक्छन्। के महासङ्कष्टको बेला “महान् बेबिलोन”-को विनाश देख्ने केही मानिसले आफ्नो मन परिवर्तन गरेर शुद्ध उपासनामा भाग लिनेछन्? (प्रका. १७:५) यदि त्यसो भयो भने मोसाको समयमा इस्राएलीहरूले मिश्र छोडेको बेला जे भएको थियो, त्यस्तै हुन सक्छ। त्यतिबेला “विदेशीहरूको ठूलो दल” पनि तिनीहरूसँगै गएको थियो। ती विदेशीहरूमध्ये केहीले मोसाले चेतावनी दिएझैँ दस विपत्ति आएको देखेपछि मात्र यहोवामा विश्वास गर्न थालेका हुन सक्छन्। (प्रस्थ. १२:३८) त्यसैगरि केही मानिसले आरमागेडोन आउनुभन्दा थोरै समयअघि मात्र यहोवाको उपासना गर्न थाल्न सक्छन्। यदि त्यसो भयो भने के हामीले अन्याय भएको महसुस गर्नुपर्छ? अहँ, पर्दैन। बरु हामी यहोवा बुबाजस्तै ‘कृपालु र दयालु, हतपती नरिसाउने, अटल प्रेम र सत्यले भरिपूर्ण’ हुनुपर्छ।—प्रस्थ. ३४:६. w२४.०५ पृ. ११ अनु. १२-१३
मङ्गलबार, मार्च १०
‘साँचो शिक्षाको नमुनालाई पक्रिराख।’—२ तिमो. १:१३.
हामीले “साँचो शिक्षाको नमुनालाई” त्याग्यौँ भने के हुन सक्छ? एउटा उदाहरण विचार गरौँ। प्रथम शताब्दीमा केही ख्रिष्टियनहरूले यहोवा परमेश्वरको दिन आइसक्यो भन्ने झूटो हल्ला फैलाइरहेका थिए। एउटा पत्रले गर्दा त्यस्तो हल्ला फैलिएको हुन सक्छ। तिनीहरूले त्यो पत्र प्रेषित पावलले नै लेखेका हुन् भन्ठाने। थिस्सलोनिकाका केही ख्रिष्टियनहरूले कुनै सत्यतथ्य नजाँची त्यो हल्ला पत्याए र त्यसलाई फैलाउँदै हिँडे। तिनीहरू सँगै छँदा पावलले भनेका कुराहरू तिनीहरूले सम्झेका भए तिनीहरू त्यसरी बहकिने थिएनन्। (२ थिस्स. २:१-५) पावलले भाइहरूलाई आफूले सुनेको एक-एक कुरामा विश्वास नगर्न सल्लाह दिए। अनि भाइबहिनीहरू भविष्यमा पनि सजग भएको तिनी चाहन्थे। त्यसैले तिनले थिस्सलोनिकीहरूलाई लेखेको दोस्रो पत्र यसरी टुङ्ग्याए: “म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु, जुन मेरा सबै पत्रको चिनारी हो। म यसरी नै लेख्नेगर्छु।”—२ थिस्स. ३:१७. w२४.०७ पृ. ११-१२ अनु. १३-१४
बुधबार, मार्च ११
तिमीहरू सहनशील हुनु आवश्यक छ।—हिब्रू १०:३६.
हिब्रू ख्रिष्टियनहरूले चाँडै भीषण विरोधको सामना गर्नुपर्ने भएकोले तिनीहरूको विश्वासको जाँच हुने थियो। हुनत केहीले पहिला पनि असाध्यै खेदो भोगिसकेका थिए। तर धेरैजसोले भने भोगेका थिएनन् किनभने तिनीहरूले शान्ति छाएको समयमा सत्य स्विकारेका थिए। केहीले विश्वासको जाँच हुने कठिन परीक्षाहरू भोगिसकेको भए तापनि तिनीहरू येसुजस्तै मृत्युसम्मै वफादार रहनु आवश्यक छ भनेर प्रेषित पावलले बताए। (हिब्रू १२:४) ख्रिष्टियन धर्म अङ्गाल्नेहरूको सङ्ख्या बढ्दै जाँदा थुप्रै यहुदीहरू रिसले चुर भए अनि तिनीहरूलाई घृणा र खेदो गर्न थाले। हिब्रू ख्रिष्टियनहरूलाई पत्र लेख्नुभन्दा केही वर्षअघि ४० जनाभन्दा धेरै यहुदीले ‘पावललाई नमारेसम्म केही खानपिन नगर्ने कसम खाएका थिए।’ (प्रेषि. २२:२२; २३:१२-१४) यस्तो घृणा र खेदोको बाबजुद ती ख्रिष्टियनहरू उपासना गर्न एक ठाउँमा भेला हुनुपर्थ्यो, तिनीहरूले सुसमाचार सुनाउनुपर्थ्यो र आफ्नो विश्वास बलियो बनाइराख्नुपर्थ्यो। w२४.०९ पृ. १२ अनु. १५
बिहीबार, मार्च १२
‘येसुले आफ्नी आमालाई भन्नुभयो: “आमा, हेर्नुहोस्, तपाईँको छोरा!”’—युह. १९:२६.
प्रेषित युहन्ना येसुको प्यारो चेला थिए। (मत्ति १०:२) तिनले येसु सँगसँगै साक्षीकार्यमा भाग लिए। उहाँले गर्नुभएका चमत्कारहरू देखे र कठिन घडीमा उहाँलाई साथ दिइरहे। तिनले येसुलाई यातनाको खम्बामा टाँगेर मारिएको र उहाँ फेरि जीवित हुनुभएको पनि देखे। तिनले येसुका चेलाहरूको सानो समूह बढ्दै गएको र “सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार” गरिएको पनि देखे। (कल. १:२३) असाध्यै वृद्ध भइसकेका प्रेषित युहन्नाले परमेश्वरको प्रेरणा पाएर प्रकाशको किताब लेखे। (प्रका. १:१) तिनले सुसमाचारको एउटा किताब र तीन वटा पत्र पनि लेखे। तिनले आफ्नो तेस्रो पत्र वफादार ख्रिष्टियन गायसलाई लेखेका थिए, जसलाई तिनी आफ्नो छोराजस्तै ठान्थे। (३ युह. १) यी वफादार प्रेषितले लेखेका कुराहरूबाट येसुका चेलाहरूले आजसम्म प्रोत्साहन पाइरहेका छन्। w२४.११ पृ. १२ अनु. १५-१६
शुक्रबार, मार्च १३
‘हे पतिहरू हो, आ-आफ्नी पत्नीको आदर गर।’—१ पत्रु. ३:७.
पत्नीलाई माया गर्ने पतिले उनको मोल र कदर गर्छन्। तिनी उनलाई यहोवाले दिनुभएको अनमोल उपहार ठान्छन्। (हितो. १८:२२; ३१:१०) त्यसैले तिनी यौनसम्बन्ध राख्दा समेत आफ्नी पत्नीसित मायालु व्यवहार गर्छन् र आदर देखाउँछन्। तिनले आफ्नी पत्नीलाई मन नपर्ने, तुच्छ महसुस हुने वा उनको अन्तस्करण घोच्ने यौनकार्यमा भाग लिन जबरजस्ती गर्दैनन्। तिनी आफै पनि यहोवासामु सफा अन्तस्करण राख्न कोसिस गर्छन्। (प्रेषि. २४:१६) पतिहरू हो, आफ्नो बोली र व्यवहारद्वारा पत्नीको आदर गरेको देखाउन प्रयास गरिरहनुहोस्। यहोवा तपाईँको प्रयास देख्नुहुन्छ र पक्कै खुसी हुनुहुन्छ। आफ्नी पत्नीको अनादर हुने कुनै पनि कुरा नगर्नुहोस्। बरु उनलाई दया, आदर र माया देखाउनुहोस्। यसरी तपाईँ आफ्नी पत्नीलाई मोल गरेको देखाउन सक्नुहुन्छ। आफ्नी पत्नीको आदर गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँले गाँस्नुभएको सबैभन्दा अनमोल सम्बन्ध बिग्रनेछैन। त्यो हो, यहोवासितको मित्रता।—भज. २५:१४. w२५.०१ पृ. १३ अनु. १७-१८
शनिबार, मार्च १४
‘हामीलाई छुटकारा दिन र शुद्ध पार्न ख्रिष्टले हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो ताकि हामी उहाँको विशेष सम्पत्ति र असल कामहरूमा जोसिलो हुन सकौँ।’—ति. २:१४.
हामी यहोवाका साक्षीहरूलाई अरू ख्रिष्टियनहरूबाट अलग्गै छुट्ट्याउने एउटा कुरा साक्षीकार्यप्रतिको हाम्रो जोस हो। साक्षीकार्यप्रतिको जोस कायम राख्न र त्यसलाई अझ बढाउन हामी के गर्न सक्छौँ? हामी येसुको उदाहरणबाट साक्षीकार्यमा कसरी जोसिलो हुन सक्छौँ भनेर सिक्न सक्छौँ। पृथ्वीमा हुनुहुँदा साक्षीकार्यप्रतिको येसुको जोस कहिल्यै घटेन। बरु समय बित्दै जाँदा झन्झन् बढ्दै गयो। एउटा उदाहरणमा येसुले आफ्नो साक्षीकार्यलाई अङ्गुर बगानको मालीको कामसित तुलना गर्नुभयो। तिनले अन्जिरको रूख लगाएको तीन वर्ष भइसके पनि त्यस रूखमा एउटै फल लागेको थिएन। त्यसैगरि येसुले यहुदीहरूलाई सुसमाचार सुनाउनुभएको तीन वर्ष भइसके पनि थोरैले मात्र राम्रो प्रतिक्रिया देखाए। तर मालीले अन्जिरको रूखले एक न एक दिन फल दिन्छ भनेर आशा राख्दै त्यसको देखभाल गरे। त्यसरी नै येसुले पनि हार नमानी मानिसहरूलाई सुसमाचार सुनाइरहनुभयो। (लुका १३:६-९) येसुको शिक्षाअनुसार चल्दा र उहाँको अनुकरण गर्दा हामी साक्षीकार्यमा जोसिलो भइरहन सक्छौँ। w२५.०३ पृ. १४-१५ अनु. १-४
आइतबार, मार्च १५
चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।—हितो. १३:१६.
तपाईँलाई कुनै व्यक्ति आफ्नो लागि सुहाउँदो जीवनसाथी हुन सक्छ जस्तो लाग्यो भने नि? के तपाईँले आफ्नो मनको कुरा तिनलाई तुरुन्तै बताउनु उचित हो? बाइबलमा बुद्धिमान् मानिसले सोचविचार गरेर कदम चाल्छ भनिएको छ। त्यसैले बुद्धिमान् मानिसले आफ्नो मनको कुरा बताउन हतार गर्दैन बरु ती व्यक्तिबारे थाह पाउन समय लगाउँछ। तपाईँ ती व्यक्ति कस्ता छन् भनेर कसरी थाह पाउन सक्नुहुन्छ? मण्डलीको सभामा वा जमघटहरूमा तिनको आध्यात्मिकता, व्यक्तित्व र आनीबानी याद गरेर। तिनका साथीहरू को-को हुन् र तिनी कस्ता विषयहरूमा कुराकानी गर्छन्? (लुका ६:४५) के तपाईँको र तिनको लक्ष्य मिल्छ? तपाईँ तिनको मण्डलीका एल्डरहरू वा तिनलाई राम्रोसँग चिन्ने कुनै परिपक्व ख्रिष्टियनसित कुराकानी गर्न सक्नुहुन्छ। (हितो. २०:१८) तपाईँ उनीहरूलाई तिनले मण्डलीमा कस्तो नाम कमाएका छन् र तिनमा के-कस्ता गुणहरू छन् भनेर सोध्न सक्नुहुन्छ। (रुथ २:११) तर यसरी तिनीबारे थाह पाउन खोज्दा तिनलाई अप्ठ्यारोमा पार्ने खालको कुनै पनि कामकुरा नगर्नुहोस्। तिनको भावनाको कदर गर्नुहोस् र चौबीसै घण्टा तिनको पछि लाग्ने वा तिनीबारे एक-एक कुरा थाह पाउने कोसिस नगर्नुहोस्। w२४.०५ पृ. २२ अनु. ७-८
सोमबार, मार्च १६
आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ।—भज. ३२:५.
एल्डरहरूले येसुको अनुकरण गर्दै पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्न समय दिनुपर्छ। तिनले पश्चात्ताप गर्नेछैनन् भन्ने निष्कर्षमा पुगिहाल्नु हुँदैन। कसै-कसैले एल्डरहरूको समितिले पहिलो चोटि भेट्दा नै पश्चात्ताप गर्छन् भने अरू कतिलाई समय लाग्न सक्छ। त्यसैले एल्डरहरूले तिनीसित एक चोटि मात्र होइन, फेरि-फेरि भेट्नुपर्ने हुन सक्छ। एल्डरहरूसित पहिलो चोटि भेटेपछि सायद तिनले आफूले गरेको कामबारे गम्भीरतापूर्वक सोच्न थाल्न सक्छन्। तिनले यहोवालाई प्रार्थना गरेर उहाँसामु आफ्नो पाप स्विकार्न पनि सक्छन्। (भज. ३८:१८) त्यसपछि एल्डरहरूले भेट्दा तिनको मनोवृत्ति पहिलेको भन्दा फरक भइसकेको हुन सक्छ। एल्डरहरू पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्न मदत दिन समानुभूति र दया देखाउँछन्। तिनीहरूले गरेको प्रयासमा यहोवाले आशिष् देऊन् भनेर प्रार्थना गर्छन्। साथै पाप गर्ने व्यक्तिको होस खुलोस् र तिनले पश्चात्ताप गरून् भन्ने आशा गर्छन्।—२ तिमो. २:२५, २६. w२४.०८ पृ. २२-२३ अनु. १२-१३
मङ्गलबार, मार्च १७
ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “कोही मर्दा म खुसी हुन्नँ। त्यसैले दुष्ट काम गर्न छोड र बाँच!”—इज. १८:३२.
यहोवा कोही पनि नाश नहोस् भन्ने चाहनुहुन्छ। उहाँ पाप गर्ने व्यक्तिहरूले उहाँसित मिलाप गरेको चाहनुहुन्छ। (२ कोरि. ५:२०) त्यसैले विगतमा अनि अहिले पनि यहोवाले आफूबाट तर्केर गएकाहरूलाई पश्चात्ताप गर्न र उहाँकहाँ फर्कन बारम्बार आग्रह गर्दै आउनुभएको छ। गम्भीर गलत काम गरेकाहरूलाई पश्चात्ताप गर्न मदत दिन एल्डरहरूले यहोवासँगै मिलेर काम गर्ने ठूलो सुअवसर पाएका छन्। (रोमी २:४; १ कोरि. ३:९) पाप गर्ने व्यक्तिले पश्चात्ताप गर्दा स्वर्गमा असाध्यै रमाहट हुन्छ। आफ्नो हराएको भेडा मण्डलीमा फर्कँदा यहोवा सधैँ रमाउनुहुन्छ। यहोवाको दया, कृपा र असीम अनुग्रहबारे मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम प्रगाढ हुँदै जान्छ।—लुका १:७८. w२४.०८ पृ. ३१ अनु. १६-१७
बुधबार, मार्च १८
तिनीहरू आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन् भन्ने थाह पाउनुभएपछि येसु एक्लै फेरि डाँडातिर लाग्नुभयो।—युह. ६:१५.
मानिसहरूको दबाबमा परेर राजा बन्न मान्नुभएको भए येसुले यहुदीहरूको पक्ष लिइरहनुभएको हुने थियो, जो त्यतिबेला रोमी शासनको अधीनमा थिए। यसरी उहाँ राजनीतिमा मुछिरहनुभएको हुने थियो। तर उहाँ त्यो कुरा थाह पाउनेबित्तिकै “डाँडातिर लाग्नुभयो।” यसबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। हुनत अहिले मानिसहरूले हामीलाई चमत्कार गरेर खानेकुराको प्रबन्ध गरिदिन वा रोगबिमार निको पारिदिन नभन्लान् अथवा हामीलाई राजा वा नेता बनाउन पनि नखोज्लान्। तर तिनीहरूलाई राम्रो लागेको नेतालाई भोट दिन वा तिनको पक्षमा बोल्न भन्न सक्छन्। त्यतिबेला हामी के गर्न सक्छौँ? यस सन्दर्भमा येसुले हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। उहाँले राजनैतिक गतिविधिहरूमा भाग लिन इन्कार गर्नुभयो। उहाँले यस्तो समेत भन्नुभयो: “मेरो राज्य यस संसारको होइन।” (युह. १७:१४; १८:३६) आज हामी पनि येसुको जस्तै सोचाइ राख्छौँ र उहाँको उदाहरण अनुकरण गर्छौँ। हामी परमेश्वरको राज्यलाई मात्र समर्थन गर्छौँ, त्यसबारे साक्षी दिन्छौँ र त्यो राज्य आओस् भनेर प्रार्थना गर्छौँ।—मत्ति ६:१०. w२४.१२ पृ. ४ अनु. ५-६
बिहीबार, मार्च १९
जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु खुलेर प्रकट हुनेछु।—युह. १४:२१.
अध्ययन गर्दा सिकेको कुरा लागू गर्ने तरिकाहरूबारे सोच्नुहोस्। जस्तै, यहोवाको न्यायबारे अध्ययन गरेपछि अरूसित निष्पक्ष व्यवहार गरेर उहाँको अनुकरण गर्नुहोस्। येसुले आफ्नो बुबा र मानिसहरूलाई देखाउनुभएको प्रेमबारे अध्ययन गरेपछि यहोवाको नामको खातिर दुःख भोग्न अनि भाइबहिनीलाई मदत दिन इच्छुक भएर येसुको अनुकरण गर्नुहोस्। साथै येसुले जस्तै साक्षी दिनुहोस्। यसो गर्नुभयो भने यहोवाले मानिसजातिको लागि गर्नुभएका कुराहरूबारे अरूले पनि थाह पाउन सक्नेछन् र फिरौतीको बलिदानमा विश्वास गर्न सक्नेछन्। फिरौतीको बलिदानबारे बुझ्दै गयौँ अनि त्यसप्रतिको कृतज्ञता बढाउँदै गयौँ भने यहोवा र येसुप्रतिको हाम्रो प्रेम बढ्दै जानेछ। अनि हामीप्रति उहाँहरूको प्रेम पनि बढ्दै जानेछ। (याकु. ४:८) त्यसैले फिरौतीको बलिदानबारे सिकिरहन यहोवाले मिलाउनुभएका प्रबन्धहरूको सदुपयोग गरिरहौँ। w२५.०१ पृ. २५ अनु. १६-१७
शुक्रबार, मार्च २०
मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो।—यसै. ३८:१७.
यहोवाले पश्चात्तापीहरूको पाप फ्याँकिदिनुभएपछि त्यसलाई फर्केर कहिल्यै हेर्नुहुन्न। आजको दैनिक पदका शब्दहरूलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “तपाईँले मेरा सबै पापहरूलाई मैले गर्दै नगरेको जस्तो ठान्नुहुन्छ।” यस कुरालाई जोड दिन मिका ७:१८, १९ मा अर्को उदाहरण प्रयोग गरिएको छ। ती पदहरूमा यहोवाले हाम्रा सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ भनेर बताइएको छ। पुरातन समयमा कुनै वस्तु समुद्रको गहिराइमा हुर्ऱ्याएपछि त्यसलाई फेरि निकाल्न असम्भव हुन्थ्यो। यी उदाहरणहरूबाट यहोवाले हामीलाई क्षमा दिनुहुँदा उहाँले हाम्रा पापहरू पूरै हटाइदिनुहुन्छ र हामीले दोषी महसुस गरिरहनुपर्दैन भनेर सिक्न सक्यौँ। दाउदले भनेझैँ “आनन्दित हुन् तिनीहरू, जसका कुकर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन्।” (रोमी ४:७) साँच्चै क्षमा गर्नु भनेको यही हो। w२५.०२ पृ. ९ अनु. ७-८
शनिबार, मार्च २१
म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।—यसै. ६५:१८.
पृथ्वीमा अहिले एउटा यस्तो प्रमोदवन छ, जहाँ लाखौँ मानिस असल काम गर्नमा व्यस्त छन्। तिनीहरूमाझ साँचो शान्ति छ। तिनीहरू यस प्रमोदवनलाई कहिल्यै नछोड्न कटिबद्ध छन्। अनि तिनीहरू धेरैभन्दा धेरै मानिस यस प्रमोदवनमा आएको चाहन्छन्। यो कस्तो प्रमोदवन हो? आध्यात्मिक प्रमोदवन! घृणा र दुष्टताले भरिएको सैतानको संसारमा यहोवाले एउटा मनोरम आध्यात्मिक वातावरण बनाउनुभएको छ, जुन साँच्चै उल्लेखनीय छ। (१ युह. ५:१९; प्रका. १२:१२) यस दुष्ट युगले हामीमा पार्ने नकारात्मक असर हाम्रो मायालु बुबाले देखिरहनुभएको छ र हामीलाई सुरक्षा दिइरहनुभएको छ। यसले गर्दा हामीले आनन्दित भई यहोवाको सेवा गरिरहन सकेका छौँ। बाइबलमा आध्यात्मिक प्रमोदवनलाई सुरक्षा दिने “ओत” र “प्रशस्त पानी पाएको बगैँचा”-को रूपमा व्याख्या गरिएको छ। (यसै. ४:६; ५८:११) यस प्रमोदवनमा भएकाहरूले यहोवाको आशिष् पाइरहेका छन्। त्यसैले तिनीहरू अन्तको यस कठिन समयमा समेत आध्यात्मिक रूपमा फस्टाइरहेका छन्।—यसै. ५४:१४; २ तिमो. ३:१. w२४.०४ पृ. २० अनु. १-२
आइतबार, मार्च २२
आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।—फिलि. ४:६.
विवाह गर्न चाहनुहुन्छ भने तपाईँले सुहाउँदो जीवनसाथी भेट्टाउन सकूँ भनेर पक्कै प्रार्थना गर्नुभएको छ होला। हुनत यहोवाले आफ्ना सेवकहरूको लागि जोडी भेट्टाइदिने वाचा गर्नुभएको छैन। तर उहाँ तपाईँको आवश्यकता र भावनाहरूको ख्याल राख्नुहुन्छ अनि सुहाउँदो जोडी खोजिरहेको बेला तपाईँलाई मदत दिन सक्नुहुन्छ। त्यसैले आफ्ना इच्छा र भावनाहरूबारे उहाँलाई बताइरहनुहोस्। (भज. ६२:८) धीरज र बुद्धि दिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। (याकु. १:५) तपाईँले तुरुन्तै सुहाउँदो जीवनसाथी भेट्टाउनुभएन भने पनि यहोवाले तपाईँको भौतिक र भावनात्मक आवश्यकताको ख्याल राख्ने वाचा गर्नुभएको छ भनेर नबिर्सनुहोस्। (भज. ५५:२२) तर होसियार हुनुहोस्, जीवनसाथी खोज्नुलाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नबनाउनुहोस्। (फिलि. १:१०) साँचो आनन्द तपाईँ विवाहित हुनुहुन्छ कि अविवाहित हुनुहुन्छ भन्ने कुरामा होइन, यहोवासितको तपाईँको सम्बन्धमा निर्भर हुन्छ। (मत्ति ५:३) अनि अविवाहित अवस्थामा तपाईँसित सेवा विस्तार गर्ने स्वतन्त्रता अझ धेरै हुन सक्छ। (१ कोरि. ७:३२, ३३) त्यसैले त्यस समयको पूर्ण सदुपयोग गर्नुहोस्। w२४.०५ पृ. २१ अनु. ४; पृ. २२ अनु. ६
सोमबार, मार्च २३
तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।—फिलि. २:४.
डेटिङ कति समयसम्म गर्नुपर्छ? हतारमा निर्णय गर्दा अक्सर नतिजा नराम्रो हुन सक्छ। (हितो. २१:५) त्यसैले एकअर्कालाई राम्ररी चिन्न पर्याप्त समय लिनुहोस्। तर डेटिङलाई अनावश्यक रूपमा नतन्काउनुहोस्। बाइबलमा यसो भनिएको छ: “आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ।” (हितो. १३:१२) हामी डेटिङ गरिरहेकाहरूलाई कसरी साथ दिन सक्छौँ? हामी तिनीहरूलाई सँगै खाना खान, पारिवारिक उपासना गर्न वा सँगै रमाइलो गर्न बोलाउन सक्छौँ। (रोमी १२:१३) के तिनीहरूलाई डेटिङमा सँगै गइदिने साथी चाहिएको छ? कुराकानी गर्न ठाउँ चाहिएको छ कि? छ भने तपाईँ तिनीहरूलाई मदत दिन सक्नुहुन्छ कि? (गला. ६:१०) यदि तपाईँलाई डेटिङ गरिरहेको जोडीले सँगै कतै जाऔँ भन्यो भने त्यसलाई आफ्नो साथीलाई मदत गर्ने मौकाको रूपमा हेर्नुहोस्। डेटिङ गरिरहेकाहरूलाई दुई जना मात्र हुनेगरि नछोड्नुहोस् तर दुई जना मजाले कुराकानी गर्न मिल्ने वातावरण पनि बनाइदिनुहोस्। w२४.०५ पृ. ३० अनु. १३-१४
मङ्गलबार, मार्च २४
मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ।—प्रका. २:२१.
एल्डरहरू कुनै व्यक्ति कसरी पाप गर्ने हदसम्म पुगे भनेर बुझ्न प्रयास गर्छन्। उदाहरणको लागि, यहोवासित तिनको सम्बन्ध कमजोर हुनुको कारण के थियो? के तिनले नियमित तवरमा व्यक्तिगत अध्ययन गर्न वा साक्षीकार्यमा भाग लिन छोडेका थिए? के तिनले नियमित रूपमा यहोवालाई प्रार्थना गर्न छोडेका थिए? के तिनले आफूमा गलत इच्छाहरू हाबी हुन दिएका थिए? के तिनले सरसङ्गत वा मनोरञ्जनको सन्दर्भमा गलत छनौटहरू गरेका थिए? तिनका छनौटहरूले कसरी तिनको सोचाइलाई असर गर्न थाल्यो? तिनले जे गरे, त्यसबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर के तिनले बुझेका छन्? एल्डरहरू तिनलाई के-कस्ता कारणहरूले गर्दा यहोवासित तिनको सम्बन्ध कमजोर भयो र पाप गर्ने हदसम्म पुगे भनेर बुझ्न मदत दिन चाहन्छन्। त्यसैले तिनीहरू दयालु ढङ्गमा विभिन्न प्रश्नहरू सोध्छन्। तर आफूले थाह पाउनु नपर्ने विषयमा अनावश्यक खोजीनिती गर्दैनन्। (हितो. २०:५) एल्डरहरूले तिनले गरेको काम किन गलत थियो भनेर बुझ्न मदत दिन उदाहरण चलाउन सक्छन्। सायद एल्डरहरूले तिनलाई पहिलो चोटि भेट्दा नै तिनलाई आफूले गरेको काम गलत थियो भनेर पछुतो लाग्न सक्छ र तिनले पश्चात्ताप पनि गर्न सक्छन्। w२४.०८ पृ. २२ अनु. ९-११
बुधबार, मार्च २५
मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।—लुका ४:४३.
यहोवा परमेश्वर येसुले “राज्यको सुसमाचार” सुनाएको चाहनुहुन्थ्यो। त्यो कुरा येसुलाई राम्ररी थाह थियो। त्यसैले उहाँले जोसिलो भई त्यो काम गर्नुभयो। उहाँले आफ्नो जीवनमा साक्षीकार्यलाई पहिलो स्थानमा राख्नुभयो। पृथ्वीमा आफ्नो सेवाको अन्तिम समयतिर पनि मानिसहरूलाई सिकाउन “उहाँ सहर-सहर र गाउँ-गाउँ” जानुभयो। (लुका १३:२२) उहाँले यस कामको लागि अरूलाई पनि तालिम दिनुभयो। (लुका १०:१) आज पनि यहोवा र येसु हामीले सुसमाचार सुनाउने कामलाई पहिलो स्थान दिएको चाहनुहुन्छ। (मत्ति २४:१४; २८:१९, २०) हामीले मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्यौँ भने साक्षीकार्यप्रतिको हाम्रो जोस अझ बढाउन सक्छौँ। यहोवा धेरैभन्दा धेरै मानिसले सुसमाचार सुनेको र सत्य स्विकारेको चाहनुहुन्छ। सुसमाचारले मानिसहरूको जीवन बचाउन सक्छ। (१ तिमो. २:३, ४) त्यसैले हामीले अझ प्रभावकारी तरिकामा साक्षी दिन सकोस् भनेर यहोवा हामीलाई तालिम दिनुहुन्छ। मानिसहरूले अहिले हाम्रो कुरा स्विकारेनन् भने पनि महासङ्कष्ट अन्त हुनुअघि हामीले सुनाएको कुरा सम्झेर यहोवाको सेवा गर्न थाल्न सक्छन्। w२५.०३ पृ. १५-१६ अनु. ५-७
बिहीबार, मार्च २६
जसले त्यसलाई अभिवादन गर्छ, ऊ त्यसका दुष्कर्महरूमा सहभागी भएको हुन्छ।—२ युह. ११.
मण्डलीबाट हटाइएको व्यक्तिसित व्यवहार गर्ने सन्दर्भमा प्रत्येक ख्रिष्टियनले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्न सक्छन्। ती व्यक्तिलाई अभिवादन गर्न वा मण्डलीमा स्वागत गर्न कसै-कसैलाई ठीकै लाग्न सक्छ। तर हामी तिनीसित लामो कुराकानी वा सरसङ्गत भने गर्दैनौँ। तर कसै-कसैलाई यस्तो लाग्न सक्छ: ‘बाइबलमा त जसले मण्डलीबाट हटाइएको व्यक्तिलाई अभिवादन गर्छ, ऊ त्यसका दुष्कर्महरूमा सहभागी हुन्छ भनिएको छ नि!’ (२ युह. ९-११) यी पदहरूको प्रसङ्ग विचार गर्दा यो निर्देशन धर्मत्यागीहरू र गलत कामलाई सक्रिय भई बढावा दिनेहरूको सन्दर्भमा दिइएको हो भनेर स्पष्ट हुन्छ। (प्रका. २:२०) त्यसैले यदि कुनै व्यक्तिले धर्मत्यागी शिक्षा वा गलत कामलाई सक्रिय भई बढावा दिइरहन्छन् भने एल्डरहरूले त्यस्तो व्यक्तिलाई भेट्ने प्रबन्ध मिलाउने छैनन्। तैपनि कुनै दिन तिनको होस खुल्नेछ भन्ने कुराको हामी आशा गर्छौँ। तर त्यतिन्जेल हामी न त तिनलाई अभिवादन गर्छौँ न त सभामा आउन निम्तो नै दिन्छौँ। w२४.०८ पृ. ३०-३१ अनु. १४-१५
शुक्रबार, मार्च २७
तिनीहरूको हृदय अझै बोधो थियो।—मर्कु. ६:५२.
भीडले उहाँलाई राजा बनाउन खोजेपछि येसु डाँडातिर लाग्नुभयो। तर उहाँले प्रेषितहरूलाई भने कफर्नहुम जान भन्नुभयो। (युह. ६:१६-२०) प्रेषितहरू डुङ्गा चढेर कफर्नहुमतर्फ जाँदै गर्दा समुद्रमा अचानक आँधी चल्यो र छाल उठ्न थाल्यो। त्यसपछि तिनीहरूले येसु पानीमाथि हिँडेर डुङ्गा भएतिर आइरहनुभएको देखे। उहाँले प्रेषित पत्रुसलाई पनि पानीमाथि हिँड्न भन्नुभयो। (मत्ति १४:२२-३१) तिनी केहीबेर हिँडे तर डुब्न थालेपछि येसुले तिनलाई समाउनुभयो। उहाँहरू दुवै जना डुङ्गामा चढेपछि आँधी थामियो। यो देखेर चेलाहरूले अचम्म मान्दै यसो भने: “तपाईँ साँच्चै परमेश्वरको छोरा हुनुहुँदो रहेछ।” (मत्ति १४:३३) याद गर्नुहोस्, तिनीहरूले रोटीको चमत्कार देखेपछि नभई येसु पानीमाथि हिँड्नुभएको देखेपछि मात्र यसो भने। पानीमाथि हिँड्नुभएको घटनाबारे उल्लेख गर्दा मर्कुसले यसो पनि भनेका छन्: “यो देखेर [प्रेषितहरूले] साह्रै अचम्म माने। किनकि रोटीको चमत्कार देखेर पनि तिनीहरूले त्यसबाट पाठ सिक्न सकेका थिएनन्।” (मर्कु. ६:५०-५२) कुरा स्पष्ट छ, यहोवाले येसुलाई रोटीको चमत्कार मात्र होइन, त्योभन्दा अझ ठूलठूलो चमत्कार गर्ने शक्ति दिनुभएको छ भनेर तिनीहरूले बुझेका थिएनन्। w२४.१२ पृ. ५ अनु. ७
शनिबार, मार्च २८
‘परमेश्वर सबै किसिमका मानिसले उद्धार पाऊन् र सत्यको सही ज्ञान लिऊन् भन्ने चाहनुहुन्छ।’—१ तिमो. २:४.
यहोवाको प्रेमप्रति कृतज्ञ भएको देखाउने अर्को तरिका पनि छ। त्यो हो, स्मरणार्थ अघिपछिका हप्ताहरूमा फिरौतीको बलिदानको लागि यहोवाप्रति आभारी भएको देखाएर। स्मरणार्थमा उपस्थित हुन विभिन्न योजना अनि तयारी गर्नुका साथै हामी त्यस कार्यक्रममा अरूलाई निम्तो दिन सक्छौँ। निम्तो दिएकाहरूलाई स्मरणार्थमा के-के हुनेछ भनेर बताउनुहोस्। तपाईँ तिनीहरूलाई jw.org मा भएका येसु किन मर्नुभयो? अनि येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियोहरू पनि देखाउन सक्नुहुन्छ। साथै एल्डरहरूले निष्क्रिय भएका व्यक्तिहरूलाई निम्तो दिन बिर्सनु हुँदैन। हराएको भेडा बगालमा फर्कँदा स्वर्ग अनि पृथ्वीमा कत्ति रमाहट हुन्छ, कल्पना गर्नुहोस् त! (लुका १५:४-७) स्मरणार्थमा एकअर्कासित मात्र होइन बरु पहिलो पटक वा लामो समयपछि आएकाहरूसित पनि कुराकानी गर्ने लक्ष्य राखौँ। यसो गऱ्यौँ भने तिनीहरूले न्यानो स्वागत पाएको महसुस गर्नेछन्।—रोमी १२:१३. w२५.०१ पृ. ३१ अनु. १५
आइतबार, मार्च २९
‘परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको निम्ति प्रायश्चितको बलिदानस्वरूप उहाँले आफ्नो छोरालाई पठाउनुभयो।’—१ युह. ४:१०.
फिरौतीको बलिदानबाट यहोवा न्यायी हुनुहुन्छ भन्ने कुरा त बुझ्न सक्छौँ नै, तर अझ विशेषगरि उहाँ हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा थाह पाउन सक्छौँ। (युह. ३:१६; १ युह. ४:९, १०) यहोवाले फिरौतीको प्रबन्ध गर्नुभएको कुराबाट उहाँ हामीले अनन्त जीवन पाएको मात्र होइन, उहाँको परिवारको भाग बनेको पनि चाहनुहुन्छ भनेर देखिन्छ। यो कुरा विचार गर्नुहोस्: आदमले पाप गरेपछि यहोवाले तिनलाई उहाँका उपासकहरूको परिवारबाट निकालिदिनुभयो। यसको नतिजास्वरूप हामीमध्ये कोही पनि जन्मजातै यहोवाको परिवारको भाग भएनौँ। तर फिरौतीको बलिदानले गर्दा यहोवामाथि विश्वास गर्ने र उहाँको आज्ञा पालन गर्ने सबै मानिस भविष्यमा उहाँको परिवारको भाग बन्न सक्नेछन्। यही बलिदानको आधारमा हामीले अहिले पनि यहोवा र सङ्गी उपासकहरूसित न्यानो सम्बन्ध गाँस्न सकेका छौँ र हाम्रा पापहरूको क्षमा पाउन सकेका छौँ। हो, यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ।—रोमी ५:१०, ११. w२५.०१ पृ. २१ अनु. ६
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ९) युहन्ना १२:१२-१९; मर्कुस ११:१-११
सोमबार, मार्च ३०
हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ।—१ युह. ४:९.
फिरौतीको बलिदान यहोवाले दिनुभएको अनमोल उपहार हो। (२ कोरि. ९:१५) येसुले हाम्रो लागि आफ्नो जीवन दिनुभएकोले हामीले यहोवा परमेश्वरसित घनिष्ठ मित्रता गाँस्न सकेका छौँ। हामीले अनन्त जीवनको आशा पनि पाएका छौँ। यहोवाले हामीप्रतिको प्रेमले गर्दा नै फिरौतीको प्रबन्ध गर्नुभयो। त्यसैले हामी फिरौतीको बलिदान र यहोवाप्रति सधैँ कृतज्ञ छौँ। (रोमी ५:८) येसुको आज्ञाअनुसारै हरेक वर्ष उहाँको मृत्युको सम्झना गरेर हामी उहाँको बलिदानप्रति कृतज्ञ भएको र यसको मोल गरेको देखाउन सक्छौँ। (लुका २२:१९, २०) यो वर्षको स्मरणार्थ उत्सव अप्रिल २, २०२६ बिहीबारको दिन परेको छ। हामी कोही पनि त्यो उत्सव छुटाउन चाहँदैनौँ। स्मरणार्थ अघिपछिका हप्ताहरूमा यहोवा र उहाँको छोराले हाम्रो लागि गर्नुभएको कुरामा मनन गर्दा हामीले पक्कै पनि धेरै लाभ उठाउनेछौँ। w२५.०१ पृ. २० अनु. १-२
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १०) युहन्ना १२:२०-५०
मङ्गलबार, मार्च ३१
चाँदी होइन, मेरो अर्ती लेऊ निखुर सुन होइन, मेरो ज्ञान लेऊ।—हितो. ८:१०.
यहोवा परमेश्वर र येसु ख्रिष्टले हाम्रो लागि गर्नुभएको कामबारे मनन गर्दा उहाँहरू हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर बुझ्नेछौँ। तपाईँ स्मरणार्थ अघिपछिका हप्ताहरूमा सुसमाचारका किताबहरू ध्यान दिएर पढ्न सक्नुहुन्छ। एकैचोटि धेरै अध्याय नढाक्नुहोस् बरु समय लगाएर पढ्नुहोस्। हामीले यहोवा र येसुलाई प्रेम गर्नुपर्ने थप कारणहरू पत्ता लगाउने कोसिस गर्नुहोस्। तपाईँ साक्षी हुनुभएको धेरै वर्ष भइसक्यो भने तपाईँले यहोवाको न्याय, प्रेम र फिरौतीको बलिदानजस्ता विषयहरूबारे धेरै चोटि सुनिसक्नुभयो होला। त्यसैले यस्ता विषयहरूमा नयाँ कुराहरू सिक्न बाँकी छैन जस्तो लाग्न सक्छ। वास्तवमा यी तथा अन्य विषयहरूमा सिक्ने काम कहिल्यै पनि सिद्धिँदैन। यस्ता विषयहरूमा हाम्रा प्रकाशनहरूमा थुप्रै जानकारी पाइन्छ। त्यसैले त्यस्ता प्रकाशनहरूको सदुपयोग गर्नुहोस्। w२५.०१ पृ. २४-२५ अनु. १३-१५
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान ११) लुका २१:१-३६