अप्रिल
बुधबार, अप्रिल १
मेरो बुबाको इच्छा यही छ कि जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस्।—युह. ६:४०.
हामीले अनन्त जीवन पाउन फिरौतीको बलिदानमा विश्वास गर्नु आवश्यक छ। (एफि. १:७) “अरू भेडा”-ले रोटी र दाखमद्य खाँदैनन् र खानु पनि हुँदैन। (युह. १०:१६) तर तिनीहरूले प्रतीकात्मक अर्थमा “जीवन दिने रोटी” खान्छन्। कसरी? येसुको फिरौतीको बलिदान र त्यसले सम्भव तुल्याएको कुरामा विश्वास गरेर। अर्कोतर्फ प्रभुको साँझको भोजमा रोटी र दाखमद्य खानेहरूले भने आफू नयाँ करारमा बाँधिएको र स्वर्गको राज्यमा येसुसितै शासन गर्ने आशा पाएको कुरा देखाउँछन्। (युह. ६:५३) तर चाहे हामी अभिषिक्त जन होऔँ वा अरू भेडा, अनन्त जीवन पाउन हामी सबैले येसुको फिरौतीको बलिदानमा विश्वास गर्नुपर्छ। w२४.१२ पृ. १२ अनु. १४; पृ. १३ अनु. १६
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १२) मत्ति २६:१-५, १४-१६; लुका २२:१-६
स्मरणार्थको दिन
सूर्यास्तपछि
बिहीबार, अप्रिल २
हे सानो बगाल, नडराओ किनकि तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।—लुका १२:३२.
प्रभुको साँझको भोजमा येसुले आफ्ना प्रेषितहरूलाई अखमिरा रोटी दिनुहुँदा त्यसले उहाँको शरीरलाई चित्रण गर्छ भनेर बताउनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई दाखमद्य दिनुभयो र “यो मेरो रगतको प्रतीक हो, . . . जसले परमेश्वरको करारलाई पक्का गर्छ” भन्नुभयो। (मर्कु. १४:२२-२५; लुका २२:२०; १ कोरि. ११:२४) यो नयाँ करार यहोवाले येसुसितै “परमेश्वरको राज्यमा” शासन गर्ने “[आध्यात्मिक] इस्राएलको घरानासित” बाँध्नुभएको हो। (हिब्रू ८:६, १०; ९:१५) प्रभुको साँझको भोजमा येसुले भन्नुभएको कुरा “सानो बगाल”-लाई लागू हुन्छ। त्यस सानो बगालको भाग बन्न सुरुमा छानिएकाहरू त्यस साँझ येसुसितै भएका वफादार प्रेषितहरू थिए। प्रभुको साँझको भोजमा येसुले तिनीहरूलाई रोटी खान र दाखमद्य पिउन दिनुभयो। येसुसितै स्वर्गमा शासन गर्नेहरू तिनीहरू नै हुन्। w२४.१२ पृ. ११ अनु. ९-१०
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १३) मत्ति २६:१७-१९; मर्कुस १४:१२-१६; लुका २२:७-१३ (सूर्यास्तपछिका घटनाहरू: नीसान १४) युहन्ना १३:१-५; १४:१-३
शुक्रबार, अप्रिल ३
परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।—युह. ३:१६.
येसुलाई धोका दिइयो, पक्राउ गरियो, बेइज्जत गरियो, झूटो आरोप लगाइयो र चरम यातना दिइयो। त्यसपछि सैनिकहरूले उहाँलाई मृत्युदण्ड दिइने ठाउँसम्म लगे र उहाँलाई किला ठोकेर खम्बामा टाँगे। येसुलाई यी कुराहरू सहन निकै गाह्रो भयो। तर यो सबै घटना हेरिरहनुभएको उहाँको बुबा यहोवालाई अझ धेरै गाह्रो भयो। उहाँले आफ्नो अथाह शक्ति प्रयोग गरेर आफ्नो छोरालाई बचाउन सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। किन? हामीप्रतिको प्रेमले गर्दा। यहोवा हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण येसुको बलिदान हो। यहोवा तपाईँलाई धेरै माया गर्नुहुन्छ। तपाईँलाई पाप र मृत्युबाट छुटकारा दिन उहाँले आफ्नो प्यारो छोरालाई समेत मर्न पठाउनुभयो र ठूलो चोट सहनुभयो। (१ युह. ४:९, १०) हो, उहाँ हामी प्रत्येकलाई पापविरुद्ध लड्न र त्यसमाथि विजयी हुन मदत गर्न चाहनुहुन्छ। w२४.०८ पृ. ६ अनु. १३-१४
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १४) युहन्ना १९:१-४२
शनिबार, अप्रिल ४
‘ख्रिष्टले तिमीहरूका निम्ति दुःख भोग्नुभयो।’—१ पत्रु. २:२१.
यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्न कत्ति ठूलो मोल चुकाउनुपऱ्यो भनेर बुझ्यौँ भने उहाँ हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर बुझ्नेछौँ। सैतानले गाह्रो अवस्था आइपर्दा यहोवाको कोही पनि सेवक उहाँप्रति वफादार रहिरहनेछैन भनेर दाबी गरेको छ। त्यो दाबीलाई झूटो साबित गर्न यहोवाले येसुलाई दुःख भोग्न र मर्न दिनुभयो। (अय्यु. २:१-५) विरोधीहरूले येसुलाई गिज्याए, सिपाहीहरूले उहाँलाई हिर्काए अनि खम्बामा टाँगे। यसरी येसुले अत्यन्तै पीडादायी मृत्यु भोग्नुभयो। यो देख्दा यहोवालाई कत्ति दुःख लाग्यो होला! (मत्ति २७:२८-३१, ३९) यहोवाले चाहनुभएको भए उहाँले कुनै पनि बेला विरोधीहरूलाई रोक्न सक्नुहुन्थ्यो। (मत्ति २७:४२, ४३) तर उहाँले त्यसो गर्नुभएको भए फिरौतीको मोल तिरिने थिएन र हामीले कुनै आशा पाउने थिएनौँ। त्यसैले यहोवाले येसुलाई दुःख भोग्न र मर्न दिनुभयो। w२५.०१ पृ. २२ अनु. ७
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १५) मत्ति २७:६२-६६ (सूर्यास्तपछिका घटनाहरू: नीसान १६) युहन्ना २०:१
आइतबार, अप्रिल ५
‘उहाँ तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो।’—प्रेषि. १:३.
इस्वी संवत् ३३, नीसान १६ को कुरा हो, येसुका चेलाहरू निराश र दुःखी छन्। तिनीहरूमध्ये दुई जना चेला इम्माउस भनिने गाउँतिर यात्रा गर्दै छन्। यात्रा गर्दै गर्दा तिनीहरूले सोच्दै नसोचेको एउटा घटना घट्छ। एक जना अपरिचित व्यक्ति तिनीहरू सँगै हिँड्न थाल्छन्। चेलाहरूले ती अपरिचित व्यक्तिलाई येसु मारिनुभएकोले आफूहरू एकदमै दुःखी भएको कुरा बताउँछन्। त्यसपछि ती व्यक्तिले बताउने कुरा तिनीहरूले कहिल्यै बिर्सने थिएनन्। “मोसा र सारा भविष्यवक्ताको लेखोटदेखि सुरु गरेर” मसीहले दुःख भोग्नु अनि मारिनु किन आवश्यक थियो भनेर तिनी बताउँछन्। तिनीहरू इम्माउस पुगेपछि ती अपरिचित व्यक्तिले आफ्नो परिचय खुलाउँछन्। उहाँ फेरि जीवित हुनुभएका येसु हुनुहुन्थ्यो। (लुका २४:१३-३५) येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम ४० दिनको दौडान उहाँ आफ्ना चेलाहरूकहाँ थुप्रै चोटि देखा पर्नुभयो। येसुलाई भेट्नुअघि तिनीहरू असाध्यै दुःखी भएका अनि डराएका थिए। तर उहाँले तिनीहरूलाई ढाडस दिनुभएपछि तिनीहरू आनन्दित भए अनि तिनीहरूले मानिसहरूलाई परमेश्वरको राज्यबारे बताउन र सिकाउन साहस पाए। w२४.१० पृ. १२ अनु. १-३
स्मरणार्थ बाइबल पढाइ: (सूर्योदयपछिका घटनाहरू: नीसान १६) युहन्ना २०:२-१८
सोमबार, अप्रिल ६
तिमीहरूचाहिँ आफ्नो अतिपवित्र विश्वासलाई बलियो बनाओ।—यहु. २०.
नवजात शिशु समयसँगै हुर्कँदै जान्छ तर आध्यात्मिक रूपमा भने कोही पनि आफसेआफ परिपक्व हुँदैन। उदाहरणको लागि, कोरिन्थका भाइबहिनीले सुसमाचार स्विकारे, बप्तिस्मा गरे, पवित्र शक्ति पाए अनि प्रेषित पावलको सल्लाह-सुझावबाट लाभ उठाए। (प्रेषि. १८:८-११) तर बप्तिस्मा गरेको केही वर्षपछिसम्म पनि तिनीहरूमध्ये धेरै जना अपरिपक्व नै थिए। (१ कोरि. ३:२) हामीले परिपक्व हुन सुरुमा इच्छा पैदा गर्नुपर्छ। तर “अनुभवहीन” अर्थात् आध्यात्मिक रूपमा बालकै रहिरहन चाहनेहरूले उन्नति गर्न सक्दैनन्। (हितो. १:२२) हामी त्यस्तो व्यक्ति हुन चाहँदैनौँ, जो शारीरिक रूपमा हुर्किसकेको भए तापनि निर्णयहरू गर्नुपर्दा सधैँ आमाबुबामा भर पर्छ। बरु हामी आध्यात्मिक रूपमा बढ्दै जाने आफ्नो जिम्मेवारी आफैले वहन गर्छौँ। तपाईँ परिपक्व बन्न अझै पनि प्रयास गर्दै हुनुहुन्छ भने त्यसको लागि ‘इच्छा पैदा गरिदिनुहोस् र त्यो पूरा गर्ने शक्ति पनि दिनुहोस्’ भनेर यहोवालाई प्रार्थना गर्न सक्नुहुन्छ।—फिलि. २:१३. w२४.०४ पृ. ४ अनु. ९-१०
मङ्गलबार, अप्रिल ७
‘यहोवा परमेश्वर कोही पनि नाश नहोस् भन्ने चाहनुहुन्छ।’—२ पत्रु. ३:९.
मानिसहरूलाई नाश गर्नुपर्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ, उहाँले हामीलाई बताउनुभएको छ। (इज. ३३:११) यहोवा कसैलाई पनि कुनै ठोस कारणविना सदाको निम्ति नाश गरिहाल्नुहुन्न। उहाँ कृपाले भरिपूर्ण हुनुहुन्छ र सम्भव भएसम्म मानिसहरूलाई कृपा देखाउनुहुन्छ। फेरि जीवित नहुने मानिसहरूबारे हामीलाई के थाह छ? बाइबलमा त्यस्ता थोरै मानिसबारे मात्र बताइएको छ। येसुले यहुदा इस्करियोत फेरि जीवित हुनेछैनन् भनेर सङ्केत गर्नुभयो। (मर्कु. १४:२१; युह. १७:१२) तिनले जानाजानी यहोवा र उहाँको छोराको विद्रोह गरेका थिए। (मर्कु. ३:२९) त्यसैगरि येसुको विरोध गरेका केही धर्मगुरुले अनन्त विनाश भोग्नेछन् भनेर उहाँले बताउनुभयो। (मत्ति २३:३३) साथै प्रेषित पावलले पनि अपश्चात्तापी धर्मत्यागीहरू फेरि जीवित हुनेछैनन् भनेर बताए।—हिब्रू ६:४-८; १०:२९. w२४.०५ पृ. ४ अनु. १०-११
बुधबार, अप्रिल ८
भरोसायोग्य मानिसहरूको यहोवा रक्षा गर्नुहुन्छ।—भज. ३१:२३.
यदि हामी यहोवासित घनिष्ठ भइरह्यौँ भने सैतानले हामीलाई जस्तोसुकै हानि पुऱ्याए पनि त्यसको असर सदाको लागि रहनेछैन। (१ युह. ३:८) यहोवाले नयाँ संसारमा आफ्ना वफादार मित्रहरूलाई उहाँसितको सम्बन्धलाई खतरामा पार्ने कुराहरूदेखि मात्र होइन, मृत्युदेखि पनि जोगाउनुहुनेछ। (प्रका. २१:४) यहोवाको पाहुना हुन पाउनु साँच्चै सम्मानको कुरा हो! हामी उहाँसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ, जुन सधैँभरि रहिरहन्छ। (इज. ३७:२७) यदि हामी यहोवाको पाहुना भइरहन चाहन्छौँ भने हामीले के गर्नुपर्छ? यदि कसैले तपाईँलाई आफ्नो घरमा निम्तो दियो भने तपाईँ पक्कै पनि तिनी तपाईँबाट के चाहन्छन् भनेर थाह पाउन चाहनुहुन्छ। त्यसैगरि यदि हामी यहोवाको पाहुना भइरहन चाहन्छौँ भने यहोवा हामीबाट के चाहनुहुन्छ भनेर हामीले थाह पाउनुपर्छ। यहोवाप्रतिको प्रेमले हामीलाई “उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन” सक्दो कोसिस गर्न उत्प्रेरित गर्छ। (कल. १:१०) हामीले सधैँ उहाँको गहिरो आदर गरिरहनुपर्छ। यस्तो श्रद्धाभावले हामीलाई उहाँलाई दुःखी तुल्याउने कुराहरू गर्नदेखि टाढै रहन मदत गर्छ। हामी पक्कै पनि मर्यादामा रहेर ‘आफ्ना परमेश्वरसित हिँडिरहन’ चाहन्छौँ।—मिका ६:८. w२४.०६ पृ. ४ अनु. ८-९
बिहीबार, अप्रिल ९
‘उसले अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्यो।’—यसै. ५३:१२.
अब्राहामले आफ्नो छोरा इसहाक बलिदानस्वरूप चढाउनुपर्ने थियो। अब्राहामलाई त्यो कुरा सोच्दा मात्र पनि निकै पीडा भएको हुनुपर्छ। तर तिनी त्यसो गर्न तयार भए। तिनले आफ्नो छोरा बलि चढाउनै लाग्दा परमेश्वरले तिनलाई रोक्नुभयो। त्यस घटनाबाट यहोवाले भविष्यमा के गर्नुहुने थियो भनेर बुझ्न सक्छौँ। यहोवा आफ्नो छोरा बलिदानस्वरूप चढाउन तयार हुनुहुने थियो। साँच्चै यहोवा मानिसहरूलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ! (उत्प. २२:१-१८) शताब्दीयौँपछि यहोवाले इस्राएलीहरूलाई व्यवस्था दिनुभयो। त्यस व्यवस्थाअनुसार तिनीहरूले पापको प्रायश्चित गर्न पशुबलिहरू चढाउनुपर्थ्यो। (लेवी ४:२७-२९; १७:११) त्यस्ता बलिहरू अझ उत्तम बलिदानको पूर्वझलक थियो। त्यस बलिदानले सम्पूर्ण मानिसजातिलाई पापबाट पूर्णतया मुक्ति दिने थियो। भविष्यवक्ताहरूले प्रतिज्ञा गरिएको सन्तान अर्थात् परमेश्वरको छोराले सास्ती र मृत्यु भोग्नुपर्नेछ भनेर भविष्यवाणी गरे। यहोवाले तपाईँलगायत सम्पूर्ण मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो प्यारो छोरा बलिदानस्वरूप दिनुहुने थियो!—यसै. ५३:१-१२. w२४.०८ पृ. ४ अनु. ७-८
शुक्रबार, अप्रिल १०
म तपाईँको व्यवस्थालाई कत्ति प्रेम गर्छु! सारा दिन म त्यसैमा डुबिरहन्छु।—भज. ११९:९७.
जुन समयमा बाइबल पढे पनि आफूले पढेको कुरा लागू गर्ने तरिकाहरू सोच्नुहोस्। बाइबलको केही पद पढिसकेपछि आफैलाई यस्तो प्रश्न सोध्न सक्नुहुन्छ: ‘म यो कुरा अहिले वा भविष्यमा कसरी लागू गर्न सक्छु?’ मानौँ, तपाईँले भर्खरै पहिलो थिस्सलोनिकी ५:१७, १८ पढ्नुभयो। अब एकछिन रोकिनुहोस् र सोच्नुहोस्: ‘म कत्तिको प्रार्थना गर्छु?’ अनि ‘म कत्तिको व्यग्रतासाथ प्रार्थना गर्छु?’ साथै तपाईँ कुन-कुन कुराको लागि कृतज्ञ हुनुहुन्छ भनेर पनि विचार गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ तोकेरै तीन वटा कुराको लागि यहोवालाई धन्यवाद दिन्छु भनेर निर्णय गर्नुहुन्छ होला। यसरी केही मिनेट गहिरिएर विचार गर्दा मात्र पनि तपाईँले परमेश्वरको वचन अझ राम्रोसँग सुन्न र पालन गर्न सक्नुहुनेछ। हरेक दिन यसरी नै बाइबल पढेर मनन गर्दा तपाईँलाई कत्ति लाभ हुन्छ होला, सोच्नुहोस् त! हो, तपाईँले अझ राम्रोसँग परमेश्वरको वचन पालन गर्न सिक्नुहुनेछ। w२४.०९ पृ. ४-५ अनु. ९-१०
शनिबार, अप्रिल ११
होसियार बस ताकि हामीले परिश्रम गरेर तिमीहरूमा फलाएको कुरा तिमीहरूले गुमाउन नपरोस् बरु तिमीहरूले पूरा इनाम पाउन सक।—२ युह. ८.
यहोवाले हामीलाई अरूबाट पाउँदा भन्दा अरूलाई दिँदा अझै आनन्दित हुने किसिमले बनाउनुभएको छ। भाइबहिनीलाई मदत गर्न पाउँदा हामीलाई खुसी लाग्छ अनि तिनीहरूले कृतज्ञता व्यक्त गर्दा हामी आनन्दित हुन्छौँ। तर अरूले कृतज्ञता व्यक्त गरे पनि नगरे पनि सही कुरा गरेकोमा हामी खुसी हुन सक्छौँ। तपाईँ अरूलाई जति दिनुहुन्छ, “यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ” भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। (२ इति. २५:९) हामी अरूलाई यहोवाले भन्दा धेरै कहिल्यै दिन सक्दैनौँ। यहोवाबाट इनाम पाउँदा जत्तिको आनन्द अरू कुनै कुराले दिन सक्दैन। त्यसैले हाम्रो उदार बुबा यहोवाको अनुकरण गरिरहौँ! w२४.०९ पृ. ३१ अनु. २०-२१
आइतबार, अप्रिल १२
हे यहोवा, मेरा परमेश्वर, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु, म सदासर्वदा तपाईँको नामको महिमा गर्नेछु।—भज. ८६:१२.
यहोवा कृपालु र दयालु हुनुहुन्छ। (भज. १०३:१३; यसै. ४९:१५) उहाँ समानुभूतिशील हुनुहुन्छ; उहाँ हाम्रो पीडा महसुस गर्नुहुन्छ। (जक. २:८) उहाँ हामीलाई उहाँको नजिक हुन र उहाँको साथी बन्न मदत गर्नुहुन्छ। (भज. २५:१४; प्रेषि. १७:२७) उहाँ नम्र हुनुहुन्छ; “आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ। उहाँ दीनदुःखीलाई धुलोबाट अनि गरिबलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ।” (भज. ११३:६, ७) उहाँका यस्ता गुणहरू देख्दा के हामी उहाँको महिमा गर्न उत्प्रेरित हुँदैनौँ र? हामी यहोवाको महिमा गर्छौँ किनभने मानिसहरूले उहाँबारे सत्य कुरा थाह पाएको हामी चाहन्छौँ। अहिले थुप्रैलाई यहोवाबारे सत्य कुरा थाह छैन। किन? किनभने सैतानले यहोवाबारे नानाथरीका झूटा कुराहरू फैलाएर मानिसहरूको दिमाग अन्धो तुल्याइदिएको छ। (२ कोरि. ४:४) सैतानले यहोवा निर्दयी हुनुहुन्छ, उहाँलाई हाम्रो चासो छैन र उहाँले गर्दा नै संसारमा दुःखकष्ट भएको हो भनेर मानिसहरूलाई भ्रममा पारिरहेको छ। तर हामीलाई भने उहाँबारे सत्य कुरा थाह छ। त्यसैले मानिसहरूलाई यहोवाबारे बताउने र तिनीहरूलाई पनि उहाँको महिमा गर्न मदत दिने मौका पाएका छौँ।—यसै. ४३:१०. w२५.०१ पृ. ३-४ अनु. ६-७
सोमबार, अप्रिल १३
‘सैतानले सारा संसारलाई ठगिरहेको छ।’—प्रका. १२:९.
परमेश्वरका छोरा येसु त्रुटिरहित हुनुहुन्थ्यो र उहाँले धेरै चमत्कार गर्नुभयो। तैपनि सैतानका समर्थकहरूले उहाँबारे झूट फैलाए। उदाहरणको लागि, येसुले प्रेतहरूलाई धपाउने शक्ति “प्रेतहरूको शासकबाट” पाउनुभएको हो भनेर धर्मगुरुहरूले मानिसहरूलाई बताए। (मर्कु. ३:२२) येसुको पुर्पक्षको बेला धर्मगुरुहरूले उहाँलाई ईश्वरनिन्दाको आरोप लगाए र उहाँलाई मार्नुपर्छ भनेर भीडलाई उक्साए। (मत्ति २७:२०) पछि येसुका अनुयायीहरूले सुसमाचार सुनाउँदा विरोधीहरूले तिनीहरूको खेदो गर्न “मानिसहरूलाई भड्काए।” (प्रेषि. १४:२, १९) डिसेम्बर १, १९९८ को प्रहरीधरहरा-मा प्रेषित १४:२ बारे रोचक कुरा बताइएको छ। त्यसमा यहुदी विरोधीहरूले सन्देश सुन्न इन्कार मात्र गरेनन् बरु अन्यजातिहरूको मनमा ख्रिष्टियनहरूविरुद्ध पूर्वाग्रह जगाउने अभियान नै चलाए भनेर लेखिएको छ। सैतानले अझै पनि ‘सारा संसारलाई ठगिरहेको छ।’ w२४.०४ पृ. ११ अनु. १५-१६
मङ्गलबार, अप्रिल १४
सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?—उत्प. १८:२५.
कुनै व्यक्तिले अनन्त जीवन पाउँछन् कि पाउँदैनन् भन्ने कुरा तिनी कहिले मर्छन् भन्ने कुरामा निर्भर हुँदैन। यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ। (भज. ३३:४, ५) त्यसैले “सारा पृथ्वीका न्यायकर्ताले” सधैँ सही न्याय गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। कुनै व्यक्तिले अनन्त जीवन पाउँछन् कि पाउँदैनन् भन्ने कुरा तिनी कहाँ बस्छन् भन्ने कुरामा पनि निर्भर हुँदैन। लाखौँ मानिस यस्ता ठाउँहरूमा बस्छन्, जहाँ तिनीहरूले राज्य सन्देश सुन्ने मौका पाएका छैनन्। यहोवाले त्यस्ता मानिसहरूलाई सीधै ”बाख्रा”-को रूपमा छुट्ट्याउनुहुन्छ भन्ने कुरा हामी सोच्न पनि सक्दैनौँ। (मत्ति २५:४६) उहाँले तिनीहरूलाई हामीले भन्दा धेरै प्रेम गर्नुहुन्छ। त्यसैले सारा पृथ्वीका न्यायकर्ताले सही निर्णय गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। महासङ्कष्टको दौडान यहोवाले घटनाक्रमलाई कसरी मोड्नुहुन्छ भन्ने कुरा हामीलाई थाह छैन। त्यतिबेला यहोवाले जातिजातिसामु आफ्नो नाम पवित्र पार्नुभएको देखेर ती मानिसहरूमध्ये केही उहाँमाथि भरोसा गर्न उत्प्रेरित हुन सक्छन्।—इज. ३८:१६. w२४.०५ पृ. १२ अनु. १४-१५
बुधबार, अप्रिल १५
आपसमा प्रेम गर।—युह. १५:१२.
यहोवाका जनहरू एकअर्कालाई मदत गर्न चाहन्छन्। (२ कोरि. ८:४) तर कहिलेकाहीँ त्यसो गर्न साहस चाहिन्छ। जस्तै: युद्ध हुँदा भाइबहिनीलाई प्रोत्साहन, साथ, आध्यात्मिक भोजन र भौतिक कुराहरूको खाँचो पर्छ भनेर एल्डरहरूलाई थाह छ। भाइबहिनीप्रतिको प्रेमले गर्दा एल्डरहरू आफ्नै ज्यानलाई जोखिममा हालेर समेत तिनीहरूलाई मदत गर्छन्। त्यस्ता अवस्थाहरूमा आफूखुसी गर्नुको साटो हामी एकताबद्ध हुनुपर्छ। त्यसको लागि स्थानीय तवरमा सङ्गठनबाट आएको निर्देशन पालन गर्नुपर्छ। (हिब्रू १३:१७) कुनै विपद्को लागि कसरी तयार रहने र विपद् आइहाल्यो भने के गर्ने भन्नेबारे दिइएका निर्देशनहरू एल्डरहरूले बेलाबेलामा पढ्नुपर्छ र आवश्यक कदम चाल्नुपर्छ। (१ कोरि. १४:३३, ४०) साहसी मात्र होइन चनाखो पनि हुनुहोस्। (हितो. २२:३) अनावश्यक जोखिम नमोल्नुहोस्। कुनै कदम चाल्नुअघि सोच्नुहोस्। यहोवामा भर पर्नुहोस्। यहोवा तपाईँ अनि अरू भाइबहिनी सुरक्षित भएको चाहनुहुन्छ। तपाईँले भाइबहिनीलाई मदत गर्दा यहोवाले तपाईँलाई सुरक्षा दिनुहुनेछ। w२४.०७ पृ. ४ अनु. ८; पृ. ५ अनु. ११
बिहीबार, अप्रिल १६
‘आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ, मेरो गुहार उहाँको कानसम्मै पुग्यो।’—भज. १८:६.
दाउदले यहोवालाई राम्ररी चिनेका थिए। त्यसैले तिनी उहाँमा भर परे। राजा साउलले मार्न खोज्दा अनि अरू शत्रुहरूले खेदो गर्दा दाउदले यहोवालाई गुहारे। यहोवाले तिनको प्रार्थना सुन्नुभयो र तिनलाई छुटकारा दिनुभयो। त्यसपछि दाउदले यसो भने: “यहोवा जीवित हुनुहुन्छ!” (भज. १८:४६) त्यतिबेला दाउदले यहोवा साँच्चैको व्यक्ति हुनुहुन्छ मात्र त भनिरहेका थिएनन्। बरु एउटा किताबले बताएअनुसार तिनले “यहोवा आफ्ना जनहरूलाई मदत गर्न निरन्तर कदम चाल्नुहुने जीवित परमेश्वर हुनुहुन्छ” भन्ने कुरामाथिको आफ्नो भरोसा व्यक्त गर्दै थिए। हो, यहोवा वास्तविक हुनुहुन्छ र मदत गर्न सधैँ तयार हुनुहुन्छ भन्ने कुरा दाउद आफैले अनुभव गरेका थिए। त्यस कुरामाथिको बलियो विश्वासले दाउदलाई यहोवाको सेवामा अझ जोडतोडले लाग्न र उहाँको प्रशंसा गर्न उत्प्रेरित गऱ्यो। (भज. १८:२८, २९, ४९) यहोवा जीवित परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भयौँ भने हामी पनि उहाँको सेवामा जोडतोडले लाग्न सक्नेछौँ र जस्तोसुकै समस्याको सामना गर्न बल पाउनेछौँ। साथै यहोवासित नजिक भइरहने हाम्रो सङ्कल्प बलियो हुनेछ। w२४.०६ पृ. २०-२१ अनु. ३-४
शुक्रबार, अप्रिल १७
कसैले तिमीहरूलाई कुनै तरिकामा बहकाउन नपाओस्।—२ थिस्स. २:३.
प्रेषित पावलले थिस्सलोनिकीहरूलाई दिएको सल्लाहबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले बाइबलसित मेल नखाने वा सनसनीपूर्ण हल्ला सुन्दा पत्याइहाल्नुको सट्टा आफ्नो सुझबुझ चलाउनुपर्छ। भूतपूर्व सोभियत सङ्घमा हाम्रा शत्रुहरूले भाइहरूलाई एउटा पत्र पठाए। त्यो पत्र मुख्यालयबाटै पठाइएको जस्तो देखिन्थ्यो। त्यस पत्रमा केही भाइहरूलाई छुट्टै सङ्गठन बनाउन प्रोत्साहन दिइएको थियो। झट्ट हेर्दा त्यो पत्र मुख्यालयबाटै आएको जस्तो देखिन्थ्यो तर हाम्रा वफादार भाइहरू बहकिएनन्। तिनीहरूले त्यसमा लेखिएका कुराहरू आफूले सिकेको कुराहरूसित मेल खाँदैन भनेर चाल पाइहाले। आज पनि सत्यका शत्रुहरूले कहिलेकाहीँ हामीमा शङ्का उब्जाउन र फुट गराउन आधुनिक प्रविधिको प्रयोग गर्छन्। तर हामीले ‘झट्टै आफ्नो सुद्धीबुद्धि गुमाइहाल्नु हुँदैन।’ बरु हामीले सुनेको वा पढेको कुरा बाइबल सत्यसित मेल खान्छ कि खाँदैन भनेर जाँच्नुपर्छ। यसो गऱ्यौँ भने हामी बहकिनेछैनौँ।—२ थिस्स. २:२; १ युह. ४:१. w२४.०७ पृ. १२ अनु. १४-१५
शनिबार, अप्रिल १८
‘यदि कसैले पाप गरिहाल्यो भने पनि हाम्रो निम्ति एक जना मदतगार हुनुहुन्छ।’ —१ युह. २:१.
हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय भनेको यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँको विश्वव्यापी परिवारको भाग बन्नु हो। यहोवा सबैले त्यस्तो निर्णय गरेको चाहनुहुन्छ। किन? तिनीहरूले उहाँसित मित्रता गाँसेको र अनन्त जीवन पाएको उहाँ चाहनुहुन्छ। (व्यव. ३०:१९, २०; गला. ६:७, ८) यहोवा कसैलाई पनि उहाँको सेवा गर्न जबरजस्ती गर्नुहुन्न। उहाँको सेवा गर्ने कि नगर्ने भनेर प्रत्येकले आफै निर्णय गर्नुपर्छ। तर बप्तिस्मा गरेको व्यक्तिले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर गम्भीर पाप गरे भने एल्डरहरूले के गर्नुपर्छ? तिनले पश्चात्ताप गरेनन् भने तिनलाई मण्डलीबाट हटाउनुपर्छ। (१ कोरि. ५:१३) तर यहोवा त्यो व्यक्तिले पश्चात्ताप गरेर उहाँकहाँ फर्केको चाहनुहुन्छ। वास्तवमा यहोवाले फिरौतीको प्रबन्ध मिलाउनुको एउटा मुख्य कारण भनेको नै पश्चात्ताप गर्ने व्यक्तिले क्षमा पाओस् भनेर हो। यहोवा मायालु परमेश्वर हुनुहुन्छ। त्यसैले उहाँ पाप गर्ने व्यक्तिलाई पश्चात्ताप गर्न आग्रह गर्नुहुन्छ।—जक. १:३; रोमी २:४; याकु. ४:८. w२४.०८ पृ. १४ अनु. १-२
आइतबार, अप्रिल १९
तिमी बुद्धिमान् भयौ भने मेरो हृदय रमाउनेछ।—हितो. २३:१५.
प्रेषित युहन्नाले तेस्रो पत्र लेख्दा मण्डलीमा कसै-कसैले झूटा शिक्षाहरू फैलाइरहेका थिए र फुट गराइरहेका थिए। तर अरू भने “सत्यमा हिँडिरहेका” थिए। तिनीहरूले “उहाँका आज्ञा” पालन गरिरहेका थिए। (२ युह. ४, ६) ती वफादार ख्रिष्टियनहरू देख्दा युहन्ना मात्र होइन, यहोवा पनि खुसी हुनुहुन्थ्यो। (हितो. २७:११) हाम्रो लागि पाठ: वफादारीले खुसी बनाउँछ। (१ युह. ५:३) जस्तै: हामीले यहोवालाई खुसी बनाइरहेका छौँ भन्ने कुरा थाह पाउँदा हामी खुसी हुन्छौँ। हामीले संसारले दिने प्रलोभनहरू तिरस्कार गरेर सत्य स्विकारेको देख्दा यहोवा रमाउनुहुन्छ। स्वर्गदूतहरू पनि रमाउँछन्। (लुका १५:१०) हाम्रा भाइबहिनी वफादार रहिरहेको देख्दा हामी खुसी हुन्छौँ। (२ थिस्स. १:४) अहिले सैतानले शासन गरिरहेको संसारमा हामी यहोवाप्रति वफादार रहिरह्यौँ भने यस दुष्ट युगको अन्त हुँदा हामी बच्नेछौँ अनि आफू वफादार रहिरहेकोमा साँच्चै खुसी हुन सक्नेछौँ। w२४.११ पृ. १२ अनु. १७-१८
सोमबार, अप्रिल २०
हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्।—१ कोरि. १०:२४.
कुनै व्यक्तिलाई डेटिङको प्रस्ताव राख्नुअघि तपाईँले कति समयसम्म तिनलाई अवलोकन गर्नुपर्छ? यदि तपाईँले हतार गर्नुभयो भने तिनलाई तपाईँ सोचविचारै नगरी निर्णय गर्ने व्यक्ति हुनुहुन्छ जस्तो लाग्न सक्छ। (हितो. २९:२०) अर्कोतर्फ यदि तपाईँ तिनलाई मन पराउनुहुन्छ भनेर तिनले सुइँको पाइसकेका छन् तर आफ्नो मनको कुरा बताउन तपाईँले लामो समय लगाउनुभयो भने तपाईँ निर्णय गर्नै नसक्ने व्यक्ति हुनुहुन्छ जस्तो तिनलाई लाग्न सक्छ। (उप. ११:४) त्यसैले कुनै व्यक्ति तपाईँको जीवनसाथी हुन सुहाउँदो छन् भनेर तपाईँ पूर्णतया विश्वस्त भइसकेपछि मात्रै तपाईँले तिनलाई डेटिङको प्रस्ताव राख्नुपर्छ भन्ने होइन। बरु तपाईँ विवाह गर्न तयार हुनुहुन्छ र ती व्यक्ति तपाईँको लागि सुहाउँदो जोडी हुन सक्छन् भन्ने कुरामा चाहिँ विश्वस्त हुनुपर्छ। तर कुनै व्यक्तिले तपाईँलाई मन पराउँछन् भनेर थाह पाउनुभयो भने नि? यदि तपाईँ तिनलाई मन पराउनुहुन्न भने आफ्नो व्यवहारद्वारा त्यो कुरा स्पष्ट पार्नुहोस्। तपाईँ तिनलाई मन पराउनुहुन्न तैपनि मन पराएको जस्तो भान पार्नुहुन्छ भने त्यो पटक्कै दयालु कुरा होइन।—एफि. ४:२५. w२४.०५ पृ. २२-२३ अनु. ९-१०
मङ्गलबार, अप्रिल २१
म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु।—युह. १४:३.
येसुले विश्वासी रहेका अभिषिक्त जनहरूलाई मात्र आफ्नो स्वर्गीय राज्यमा लैजानुहुनेछ। जागा रहिरहन नसक्ने अभिषिक्त ख्रिष्टियनहरू “परमेश्वरले चुन्नुभएका जनहरू”-सित जम्मा गरिनेछैनन्। (मत्ति २४:३१) अभिषिक्त ख्रिष्टियनहरू मात्र होइन, पृथ्वीमा सधैँभरि जीवन बिताउने आशा पाएकाहरू पनि जागा रहनुपर्छ र विश्वासी हुनुपर्छ। यहोवा कस्तो परमेश्वर हुनुहुन्छ भनेर हामीलाई थाह छ। त्यसैले उहाँले सही न्याय गर्नुहुन्छ भनेर हामी भरोसा गर्छौँ। यहोवाले हालैका वर्षहरूमा अभिषिक्त जनहरू छान्नुभएको छ भने पनि हामी निराश हुँदैनौँ। बरु अङ्गुर बगानको उदाहरणमा येसुले भन्नुभएको कुरा सम्झन्छौँ। (मत्ति २०:१-१६) अङ्गुर बगानमा एघारौँ घडीमा काम सुरु गर्ने खेतालाहरूले पनि पहिला बोलाइएकाहरूले जत्तिकै ज्याला पाए। त्यसैगरि अभिषिक्त जनहरूलाई जहिले छानिएको भए तापनि वफादार रहिरहेको खण्डमा तिनीहरूले स्वर्गीय इनाम पाउनेछन्। w२४.०९ पृ. २४ अनु. १५-१७
बुधबार, अप्रिल २२
‘ख्रिष्टले तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।’—१ पत्रु. २:२१.
अन्याय सहने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँले आफ्नो परिवार अनि अरू मानिसहरूबाट अन्यायपूर्ण व्यवहार भोग्नुभयो। उहाँका नातेदारहरूले उहाँको दिमाग खुस्केको छ भने। धर्मगुरुहरूले उहाँलाई प्रेतहरूबाट शक्ति पाएर चमत्कारहरू गरेको आरोप लगाए। रोमी सिपाहीहरूले उहाँको गिल्ला गरे, शारीरिक दुर्व्यवहार गरे र अन्तमा मारे। (मर्कु. ३:२१, २२; १४:५५; १५:१६-२०, ३५-३७) तर येसुले सबै अन्याय-अत्याचार सहनुभयो, उहाँले कुनै प्रतिकार गर्नुभएन। उहाँको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (१ पत्रु. २:२१-२३) अन्याय भोग्नुपर्दा कस्तो प्रतिक्रिया देखाउनुपर्छ भन्ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँलाई कहिले चुप लागेर बस्ने अनि कहिले बोल्ने भनेर थाह थियो। (मत्ति २६:६२-६४) मानिसहरूले लगाएको एक-एक आरोपको उहाँले खण्डन गर्नुभएन। (मत्ति ११:१९) तर बोल्नै पर्ने अवस्थामा समेत उहाँले विरोधीहरूको बेइज्जत गर्नुभएन न त तिनीहरूलाई धम्काउनुभयो। w२४.११ पृ. ४-५ अनु. ९-१०
बिहीबार, अप्रिल २३
ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।—१ तिमो. १:१५.
मानौँ तपाईँले कसैलाई माया गरेर एकदमै सुन्दर अनि उपयोगी उपहार दिनुहुन्छ। उपहार पाउने व्यक्तिले त्यसलाई कतै थन्काएर राख्छन् र त्यसको वास्तै गर्दैनन् भने तपाईँलाई कस्तो लाग्छ? पक्कै पनि दुःख लाग्छ। तर अर्कोतर्फ यदि तिनले तपाईँले दिनुभएको उपहार प्रयोग गर्छन् र कृतज्ञता व्यक्त गर्छन् भने तपाईँलाई एकदमै खुसी लाग्छ। त्यसरी नै यहोवाले पनि हामीलाई बहुमूल्य उपहार दिनुभएको छ। उहाँले हाम्रो लागि आफ्नो एक मात्र प्यारो छोरा दिनुभयो। यस अनमोल उपहारको लागि अनि उहाँले देखाउनुभएको प्रेमको लागि कृतज्ञता व्यक्त गऱ्यौँ भने यहोवा एकदमै खुसी हुनुहुनेछ। (युह. ३:१६; रोमी ५:७, ८) तर समय बित्दै जाँदा हामीलाई फिरौतीको बलिदान बहुमूल्य लाग्न छोड्न सक्छ र त्यसप्रतिको कृतज्ञता पनि घट्दै जान सक्छ। त्यसो हुनु भनेको यहोवाले दिनुभएको त्यो सुन्दर उपहारलाई कतै थन्काएर राख्नुजस्तै हो। त्यसो हुन नदिन हामीले यहोवा र येसुले हाम्रो निम्ति गर्नुभएका कुराहरूबारे सोचिरहनुपर्छ, त्यसलाई बिर्सनु हुँदैन। w२५.०१ पृ. २६ अनु. १-२
शुक्रबार, अप्रिल २४
यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्।—१ तिमो. ४:१५.
कुनै भाइ एल्डर हुनको लागि “तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन।” हुनत तपाईँले बप्तिस्मा गरेको धेरै वर्ष भइसकेको हुनुपर्दैन तर परिपक्व ख्रिष्टियन बन्न तपाईँलाई पर्याप्त समय चाहिन्छ। तपाईँ येसुजस्तै नम्र हुनुपर्छ र यहोवाले तपाईँलाई मण्डलीमा थप जिम्मेवारीहरू नदिउन्जेल पर्खनुपर्छ। (मत्ति २०:२३; फिलि. २:५-८) यहोवाका स्तरहरूअनुसार चलेर अनि उहाँको सङ्गठनले दिने निर्देशनहरू पछ्याएर तपाईँ उहाँप्रति “वफादार” भएको देखाउन सक्नुहुन्छ। बाइबलमा निरीक्षकहरूसित सिकाउने योग्यता हुनुपर्छ भनेर स्पष्टसित बताइएको छ। तर के यसको मतलब तपाईँ एकदमै सिपालु वक्ता हुनुपर्छ भन्ने हो? त्यसो त होइन। कोही-कोही एल्डर भाषण दिन त्यत्ति सिपालु नहोलान् तर तिनीहरू साक्षीकार्यमा मानिसहरूलाई राम्ररी सिकाउँछन् र गोठालो भेटमा भाइबहिनीलाई प्रोत्साहन दिन्छन्। w२४.११ पृ. २३-२४ अनु. १४-१५
शनिबार, अप्रिल २५
मलाई तपाईँका आज्ञाहरू साह्रै मन पर्छ, सुनभन्दा पनि धेरै, निखुर सुनभन्दा पनि धेरै मन पर्छ।—भज. ११९:१२७.
बाइबल पढ्दै जाँदा कुनै कुरा राम्रोसँग बुझ्नुभएन भने अनुसन्धान गर्नुहोस्। अनि आफूले अध्ययनबाट पत्ता लगाएका कुराहरूमा मनन गर्नुहोस्। साथै त्यसबाट यहोवा, उहाँको छोरा अनि उहाँहरूले तपाईँलाई देखाउनुभएको प्रेमबारे के सिक्न सक्छु भनेर पनि विचार गर्नुहोस्। (भज. ११९:९७, फुटनोट) हरेक चोटि अध्ययन वा अनुसन्धान गर्दा नयाँ वा रोचक कुरा भेटिन्छ भन्ने छैन। तर त्यसो भन्दैमा बाइबल पढ्न र अनुसन्धान गर्न नछोड्नुहोस्। एक अर्थमा तपाईँ सुन चाल्ने व्यक्तिजस्तै हुनुहुन्छ। तिनलाई सुनको एउटा सानो टुक्रा भेट्टाउन पनि घण्टौँ वा थुप्रै दिन लाग्न सक्छ। तैपनि तिनी धैर्य गर्दै सुन खोजिरहन्छन् किनकि सुनको एउटा सानो टुक्रा पनि निकै बहुमूल्य हुन्छ। सोच्नुहोस् त, बाइबलमा पाइने सत्यहरू झन् कत्ति बहुमूल्य होला! (हितो. ८:१०) त्यसैले धैर्य गर्नुहोस् अनि दिनदिनै बाइबल पढ्न नछोड्नुहोस्।—भज. १:२. w२५.०१ पृ. २५ अनु. १४-१५
आइतबार, अप्रिल २६
यहोवा परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।—कल. ३:१३.
हाम्रो चित्त दुखाउनेहरूलाई समेत हामी क्षमा गर्न तयार भएको यहोवा चाहनुहुन्छ। (भज. ८६:५; लुका १७:४; एफि. ४:३२) कसैले भनेको वा गरेको कुराले हाम्रो असाध्यै चित्त दुख्न सक्छ। खासगरि ती व्यक्ति हाम्रो घनिष्ठ साथी वा परिवारका सदस्य हुन् भने हाम्रो झनै चित्त दुख्न सक्छ। (भज. ५५:१२-१४) भावनात्मक चोटले गर्दा हुने पीडालाई तरबारले घोचेपछि हुने पीडासित तुलना गर्न सकिन्छ। (हितो. १२:१८) हामी आफ्ना भावनाहरूलाई लुकाउन वा केही पनि भएको छैन जस्तो देखाउन खोज्छौँ होला। तर त्यसो गर्नु भनेको तरबारले घोचेपछि त्यो तरबारलाई घाउमा त्यत्तिकै छोडिदिनुजस्तै हो। त्यसो गर्दा त्यो घाउ कहिल्यै निको हुँदैन। त्यसैगरि हामीले आफ्ना भावनाहरूलाई बेवास्ता गर्दैमा ती आफसे आफ हराएर जाँदैनन्। कसैले हाम्रो चित्त दुख्ने कुरा भन्दा वा गर्दा हामीलाई झनक्क रिस उठ्न सक्छ। बाइबलले पनि हामीमा क्रोध उत्पन्न हुन सक्छ भनेर मानिलिएको छ। तर हामी रिसाइरहनु हुँदैन भनेर पनि चेतावनी दिएको छ। (भज. ४:४; एफि. ४:२६) किन? किनभने रिसको नतिजा कहिल्यै राम्रो हुँदैन। (याकु. १:२०) नबिर्सनुहोस्, कसैको बोली वा व्यवहारले गर्दा रिस उठ्नु स्वाभाविकै हो। तर रिसाइरहने कि रिसाउन छोड्ने, त्यो हाम्रै हातमा हुन्छ। w२५.०२ पृ. १५ अनु. ४-६
सोमबार, अप्रिल २७
‘बुद्धिले मानिसको जीवन बचाउँछ।’—उप. ७:१२.
येसुले “परमेश्वरको नजरमा धनी हुनु” बुद्धिमानी हो तर आफ्नो लागि धनसम्पत्ति थुपार्नु मूर्खता हो भनेर बताउनुभयो। (लुका १२:१६-२१) भोलि के हुन्छ कसैलाई पनि थाह छैन। (हितो. २३:४, ५; याकु. ४:१३-१५) येसुले उहाँको चेला हुन चाहनेहरू आफ्नो सरसम्पत्ति ‘त्याग्न समेत’ तयार हुनुपर्छ भनेर बताउनुभयो। (लुका १४:३३) प्रथम शताब्दीमा यहुदियाका ख्रिष्टियनहरूले त्यस्तै त्याग गर्नुपरेको थियो। (हिब्रू १०:३४) अहिले पनि थुप्रै भाइबहिनीले आफ्नो जागिर वा भौतिक कुराहरू गुमाउनुपरेको छ किनभने तिनीहरूले राजनैतिक गतिविधिमा मुछिन इन्कार गरे। (प्रका. १३:१६, १७) तिनीहरूले त्यस्तो त्याग गर्न सक्नुको कारण के थियो? तिनीहरू यहोवाको यो प्रतिज्ञामा पूरापूर भरोसा राख्छन्: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” (हिब्रू १३:५) बूढाबूढी भएपछि खर्च धान्न सजिलो होस् भनेर हामी अहिले आफ्नो तर्फबाट सक्दो गर्छौँ। तर सोच्दै नसोचेको कुनै कुरा भइहाल्यो भने पनि यहोवाले ख्याल राख्नुहुनेछ भन्ने कुरामा पूरा भरोसा राख्छौँ। w२५.०३ पृ. २९ अनु. १३-१४
मङ्गलबार, अप्रिल २८
ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षालाई पछाडि छोडिसकेकोले अब हामी परिपक्वतातर्फ अघि बढौँ। हामी फेरि जग नबसालौँ।—हिब्रू ६:१.
हामी आफ्नै प्रयासले मात्र परिपक्व ख्रिष्टियन बन्न सक्दैनौँ भनेर यहोवालाई थाह छ। त्यसैले उहाँ हामीलाई विभिन्न तरिकामा मदत गर्नुहुन्छ। मण्डलीमा गोठाला र शिक्षकको रूपमा सेवा गर्ने भाइहरूले हामीलाई आध्यात्मिक तवरमा “पूरै हुर्किसकेको मानिस” बन्न र “ख्रिष्टको पूर्णताको नापसम्म” पुग्न मदत गर्छन्। (एफि. ४:११-१३) साथै यहोवाले पवित्र शक्ति चलाएर हामीलाई “ख्रिष्टको सोचाइ” प्राप्त गर्न मदत गर्नुहुन्छ। (१ कोरि. २:१४-१६) त्यति मात्र होइन, उहाँले सुसमाचारका चार वटा पुस्तकमा येसुको सोचाइ, शिक्षा र कामबारे लेख्न लगाउनुभएको छ। तपाईँ येसुको सोच्ने र काम गर्ने तरिकाको अनुकरण गरेर आध्यात्मिक रूपमा परिपक्व ख्रिष्टियन बन्ने लक्ष्य हासिल गर्न सक्नुहुन्छ। तर परिपक्वतातर्फ अघि बढ्दै जान “ख्रिष्टसम्बन्धी प्राथमिक शिक्षा” अर्थात् बाइबलका आधारभूत शिक्षाहरू लिएर मात्र पुग्दैन। w२४.०४ पृ. ४-५ अनु. ११-१२
बुधबार, अप्रिल २९
सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ, समझशक्तिले तिमीलाई जोगाउनेछ।—हितो. २:११.
हामीले हरेक दिनजसो नै निर्णयहरू गर्नुपर्ने हुन्छ। केही निर्णयहरू गर्न एकदमै सजिलो हुन्छ। जस्तै, के खाने अथवा कति बजे सुत्ने भनेर निर्णय गर्न सजिलो हुन्छ। अरू कतिपय निर्णयहरू गर्न भने एकदमै गाह्रो हुन्छ। यसले हाम्रो स्वास्थ्य, हाम्रो आनन्द, हाम्रा प्रियजनहरू वा हाम्रो उपासनालाई नै असर गर्न सक्छ। हामीले गर्ने निर्णयहरूले आफ्नो र परिवारको हित भएको चाहन्छौँ। त्योभन्दा महत्त्वपूर्ण कुरा, हामी यहोवालाई खुसी तुल्याउने निर्णयहरू गर्न चाहन्छौँ। (रोमी १२:१, २) सही निर्णय गर्न हामीले चाल्नुपर्ने एउटा महत्त्वपूर्ण कदम भनेको आवश्यक जानकारी लिनु हो। यसो गर्नु किन महत्त्वपूर्ण छ? मानौँ, एक जना बिरामी आफ्नो गम्भीर स्वास्थ्य समस्याको उपचार गराउन डाक्टरकहाँ जान्छन्? के ती डाक्टरले केही जाँच्दै नजाँची अनि बिरामीलाई के भएको हो भनेर सोध्दै नसोधी औषधी लेखिदिन्छन्? त्यसो त पक्कै गर्दैनन्। एक जना राम्रो डाक्टरले बिरामीको सबै अवस्था राम्ररी बुझेपछि मात्र कस्तो उपचार गर्ने भनेर निर्णय गर्छन्। त्यसरी नै हामीले पनि निर्णय गर्नुअघि आवश्यक जानकारी लिनुपर्छ। w२५.०१ पृ. १४ अनु. १-३
बिहीबार, अप्रिल ३०
यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ। तपाईँ मर्नुहुनेछैन।—२ समु. १२:१३.
हामीलाई यहोवाको कृपाबारे के थाह छ? उहाँले “कोही पनि नाश नहोस्” भन्ने चाहेको कुरा कसरी देखाउनुभएको छ? (२ पत्रु. ३:९) गम्भीर पाप गरेका केही व्यक्तिलाई उहाँले कसरी कृपा देखाउनुभयो, विचार गरौँ। राजा दाउदले एकपछि अर्को गम्भीर पाप गरे। जस्तै: व्यभिचार र हत्या। तर पश्चात्ताप गरेकोले यहोवाले तिनलाई कृपा देखाउँदै क्षमा दिनुभयो। (२ समु. १२:१-१२) राजा मनस्सेले पनि आफ्नो जीवनकालमा थुप्रै गम्भीर गल्ती गरे। तर पश्चात्ताप गरेकोले यहोवाले उनलाई कृपा देखाउँदै क्षमा दिनुभयो। (२ इति. ३३:९-१६) यी उदाहरणहरूबाट कृपा देखाउने कुनै आधार छ भने यहोवा कृपा देखाउन पछि हट्नुहुन्न भनेर बुझ्न सक्छौँ। आफूले गम्भीर गल्ती गरेको कुरा स्विकारेका र पश्चात्ताप गरेका ती व्यक्तिहरूलाई उहाँले पक्कै फेरि जीवित पार्नुहुनेछ। w२४.०५ पृ. ४ अनु. १२