फेब्रुअरी
आइतबार, फेब्रुअरी १
झगडाबाट टाढै रहने मानिसले आदर कमाउँछ तर मूर्ख भने झगडामा फस्छ।—हितो. २०:३.
असल गुणहरू देखाउने भाइहरू मण्डलीको लागि बहुमूल्य सम्पत्ति हुन्। “व्यावहारिक” मानिसले अरूसित शान्ति कायम गर्न कडा मेहनत गर्छ र अरूलाई पनि एकअर्कासित शान्ति कायम गर्न मदत गर्छ। यदि तपाईँ व्यावहारिक व्यक्ति भनेर चिनिन चाहनुहुन्छ भने अरूको कुरा ध्यान दिएर सुन्नुहोस् र तिनीहरूको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्। मानिलिनुहोस्, तपाईँ एल्डर नियुक्त भइसक्नुभएको छ। तपाईँ एल्डरहरूको सभामा हुनुहुन्छ र एउटा विषयमा निर्णय गर्नुपर्नेछ। धेरैजसो एल्डरहरू बाइबल सिद्धान्तसित नबाझिने एउटा निर्णयमा पुग्छन्। तर तपाईँ त्यसमा सहमत हुनुहुन्न। त्यस्तो बेला आफूले भनेजस्तै हुनुपर्छ भनेर जिद्दी नगर्नुहोस्। धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ भन्ने कुरा स्विकार्नुहोस्। (उत्प. १३:८, ९; हितो. १५:२२) अरूसित अनादरपूर्ण व्यवहार र भनाभन नगर्नुहोस्। बरु तिनीहरूसित दयालु व्यवहार गर्नुहोस्। तपाईँ शान्तिप्रिय व्यक्ति हुनुभएकोले अवस्था जत्ति नै तनावपूर्ण भए पनि शान्ति कायम गर्न अग्रसर हुनुहुनेछ। (याकु. ३:१७, १८) तपाईँको दयालु बोलीले अरूलाई शान्त बनाउन सक्छ, यहाँसम्म कि तपाईँको खेदो गर्नेहरूलाई समेत।—न्याय. ८:१-३; हितो. २५:१५; मत्ति ५:२३, २४. w२४.११ पृ. २३ अनु. १३
सोमबार, फेब्रुअरी २
उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र उनीहरूले परमेश्वरले चुन्नुभएका जनहरूलाई पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट जम्मा गर्नेछन्।—मर्कु. १३:२७.
हुनत येसु हाम्रो लागि “एकै चोटि सदाको लागि मर्नुभयो।” (रोमी ६:१०) तर उहाँले अझै पनि हाम्रो लागि थुप्रै कामहरू गर्दै हुनुहुन्छ। उहाँ हामीलाई फिरौतीको बलिदानले गर्दा सम्भव भएका थुप्रै असल कुराहरू दिन आफ्नो समय र शक्ति प्रयोग गर्दै हुनुहुन्छ। उहाँ अहिले राजा, प्रधानपुजारी र मण्डलीको शिरको रूपमा सेवा गर्दै हुनुहुन्छ। (१ कोरि. १५:२५; एफि. ५:२३; हिब्रू २:१७) उहाँ अभिषिक्त जनहरू र ठूलो भीड जम्मा गर्ने काममा नेतृत्व लिँदै हुनुहुन्छ र यो काम महासङ्कष्ट अन्त हुनुअघि नै पूरा भइसकेको हुनेछ। (मत्ति २५:३२) साथै यस अन्तको दिनमा उहाँ हाम्रो लागि आध्यात्मिक भोजनको प्रबन्ध गर्ने काममा पनि व्यस्त हुनुहुन्छ। (मत्ति २४:४५) अनि आफ्नो हजार वर्षीय शासनको दौडान उहाँले हाम्रो हितको लागि थुप्रै काम गर्नुहुनेछ। हो, यहोवाले हामीलाई आफ्नो छोरा दिनुभयो—हाम्रो लागि मर्न मात्र होइन, हाम्रो लागि थुप्रै असल कामहरू पनि गर्न। w२५.०१ पृ. २४ अनु. १२
मङ्गलबार, फेब्रुअरी ३
परमेश्वरले आफ्नो असीम अनुग्रह देखाएर सित्तैँमा उपहारस्वरूप तिनीहरूलाई आफ्नो नजरमा धर्मी ठहराउनुभयो। ख्रिष्ट येसुले तिर्नुभएको फिरौतीद्वारा मुक्त गरेर उहाँले तिनीहरूलाई यसरी धर्मी ठहराउनुभयो।—रोमी ३:२४.
यहोवाले क्षमा दिनुहुँदा पूर्ण रूपमा अनि सदाको लागि दिनुहुन्छ। त्यसैले हामीले यहोवा बुबासित घनिष्ठ सम्बन्ध गाँस्न सकेका छौँ। तर एउटा कुरा कहिल्यै नबिर्सौँ, यहोवाले दिनुहुने क्षमा उपहारजस्तै हो। यो हाम्रो हक लाग्ने कुरा होइन। यो यहोवाले त्रुटिपूर्ण मानिसलाई देखाउनुभएको प्रेम र असीम अनुग्रह हो। यहोवाले हामीलाई “साँच्चै क्षमा गर्नुहुन्छ” भनेर थाह पाउँदा हामी कत्ति कृतज्ञ छौँ! (भज. १३०:४; रोमी ४:८) तर उहाँबाट क्षमा पाउन हामीले एउटा कुरा गर्नै पर्छ। यसबारे येसुले यसो भन्नुभयो: “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।” (मत्ति ६:१४, १५) त्यसैले क्षमा दिने सन्दर्भमा हामीले यहोवाको अनुकरण गर्नै पर्छ। w२५.०२ पृ. १३ अनु. १८-१९
बुधबार, फेब्रुअरी ४
धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्।—प्रेषि. २४:१५.
सदोम र गमोराका मानिसहरूबारे विचार गरौँ। धर्मी लुत तिनीहरूमाझ नै बसोबास गर्थे। तर के लुतले तिनीहरू सबैलाई यहोवाको सन्देश सुनाए? हामीलाई थाह छैन। हो, तिनीहरू दुष्ट थिए तर के तिनीहरू प्रत्येकसित नैतिक स्तरबारे राम्रो ज्ञान थियो? थिएन जस्तो देखिन्छ। याद गर्नुहोस्, त्यस सहरका लोग्नेमान्छेहरू हुल बाँधेर लुतका पाहुनाहरूलाई बलात्कार गर्न आएका थिए। बाइबलमा त्यस हुलमा “जवानदेखि बूढा” सबै थिए भनेर बताइएको छ। (उत्प. १९:४; २ पत्रु. २:७) ती मानिसहरूमा साना केटाहरू पनि थिए, जसलाई आफूले गरिरहेको काम कत्ति गलत छ भनेर पनि थाह थिएन होला। तर कृपालु परमेश्वरले तिनीहरू प्रत्येकलाई पुनर्जीवित हुने आशै नहुनेगरि नाश गर्नुभयो भनेर के हामी भन्न सक्छौँ? अहँ, सक्दैनौँ। यहोवाले अब्राहामलाई त्यस सहरमा दस जना पनि धर्मी मानिस छैनन् भनेर बताउनुभयो। (उत्प. १८:३२) तिनीहरू अधर्मी थिए र यहोवाले तिनीहरूको दुष्ट कामको लागि तिनीहरूलाई नाश गर्नु जायज थियो। के त्यसोभए तिनीहरूमध्ये कोही पनि ‘फेरि जीवित हुने अधर्मीहरूमा’ पर्दैनन्? हामी ठोकुवा गरेर भन्न सक्दैनौँ! w२४.०५ पृ. २ अनु. ३; पृ. ३ अनु. ८
बिहीबार, फेब्रुअरी ५
उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।—मत्ति ६:३३.
आर्थिक समस्या हुँदा कसै-कसैले आफ्नो परिवारलाई छोडेर टाढा जानुपर्ने किसिमको काम गर्ने निर्णय गरेका छन्। तर पछि तिनीहरूले आफ्नो त्यो निर्णय गलत थियो भनेर महसुस गरे। त्यसैले नयाँ काम स्विकार्नुअघि कति तलब आउँछ भनेर मात्र नहेर्नुहोस्। बरु आध्यात्मिक रूपमा कस्तो मोल चुकाउनुपर्ने हुन सक्छ भनेर पनि विचार गर्नुहोस्। (लुका १४:२८) आफैलाई सोध्नुहोस्: ‘जीवनसाथीबाट टाढा बस्नुपर्दा मेरो वैवाहिक जीवनमा कस्तो असर पुग्छ? के म नियमित रूपमा सभामा जान अनि साक्षीकार्यमा भाग लिन सक्छु?’ तपाईँका छोराछोरी पनि छन् भने आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘परिवारलाई छोडेर गएँ भने के मैले छोराछोरीलाई “यहोवा परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउन सक्छु?’ (एफि. ६:४) बाइबललाई आदर नगर्ने परिवार अनि साथीभाइको कुरा सुनेर होइन बरु यहोवाको सोचाइ बुझेर त्यसअनुसार निर्णय गर्नुहोस्। w२५.०३ पृ. २९ अनु. १२
शुक्रबार, फेब्रुअरी ६
‘अब उप्रान्त हामी बालकहरू नहोऔँ।’—एफि. ४:१४.
अपरिपक्व ख्रिष्टियन सजिलै “छल र धूर्ततापूर्वक रचिएका षड्यन्त्रहरू”-को सिकार बन्न सक्छन्। तिनी सञ्चार माध्यमद्वारा हामीबारे फैलाइएका अफवाहहरू तुरुन्तै पत्याउँछन् अनि धर्मत्यागीहरूको बहकाउमा पर्न सक्छन्। तिनी अरूको डाह गर्छन्, कलह मच्चाउँछन्, सानोतिनो कुरामा चित्त दुखाउँछन् वा सजिलै प्रलोभनमा पर्छन्। (१ कोरि. ३:३) बाइबलमा आध्यात्मिक रूपमा परिपक्व हुँदै जानुलाई बच्चा हुर्कँदै गएर वयस्क हुनुसित तुलना गरिएको छ। (एफि. ४:१५) सानो बच्चाले समझ चलाउन सिकिसकेको हुँदैन। त्यसैले वयस्क व्यक्तिले उसको निगरानी गर्नुपर्छ। उदाहरणको लागि, एउटी आमाले बाटो काट्ने बेला सानी छोरीलाई उनको हात समाउन भन्छिन्। छोरी हुर्कँदै गएपछि आमाले उसलाई नै बाटो काट्न दिन्छिन् तर बाटो काट्नुअघि दायाँबायाँ दुवैतिर हेर्न सम्झाउँछिन्। ऊ वयस्क भइसकेपछि भने त्यस्ता खतराहरूबाट कसरी जोगिने भनेर थाह हुन्छ। त्यसरी नै परिपक्व भइसकेपछि कुनै निर्णय गर्नुपर्दा तिनले यहोवाको सोचाइ बुझ्न बाइबलका सिद्धान्तहरू विचार गर्छन् र त्यसैअनुसार कदम चाल्छन्। w२४.०४ पृ. ३ अनु. ५-६
शनिबार, फेब्रुअरी ७
हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?—भज. १५:१.
थुप्रै वर्षसम्म यहोवाको निवासस्थानमा येसु र स्वर्गदूतहरूबाहेक अरू कोही पाहुना थिएन। तर पछि यहोवाले मानिसहरू बनाउनुभयो र तिनीहरूलाई पनि आफ्नो पाहुनाको रूपमा स्वागत गर्नुभयो। ती मानिसहरूमध्ये केही हुन्: हनोक, नुह, अब्राहाम र अय्युब। यहोवाका यी उपासकहरूलाई बाइबलमा उहाँका मित्रहरू र ‘उहाँले देखाउनुभएको बाटोमा जीवनभरि हिँड्ने’ व्यक्तिहरू भनिएको छ। (उत्प. ५:२४; ६:९; अय्यु. २९:४; यसै. ४१:८) शताब्दीऔँ अघिदेखि यहोवाले मानिसहरूलाई आफ्नो पाहुनाको रूपमा स्वागत गर्दै आउनुभएको छ। (इज. ३७:२६, २७) यो कुरा इजकिएलको भविष्यवाणीबाट बुझ्न सक्छौँ। त्यस भविष्यवाणीबाट यहोवा आफ्ना उपासकहरूले उहाँसित घनिष्ठ सम्बन्ध विकास गरेको चाहनुहुन्छ भनेर बुझ्न सक्छौँ। उहाँले तिनीहरूसित “शान्तिको करार” गर्ने वाचा गर्नुभएको छ। यस भविष्यवाणीले स्वर्गीय आशा पाएकाहरू र पृथ्वीमा सधैँभरि जिउने आशा पाएका मानिसहरू एकताबद्ध हुने समयलाई सङ्केत गर्छ। (युह. १०:१६) तिनीहरू एउटै बगालका हुने समय अहिल्यै हो! w२४.०६ पृ. २ अनु. २; पृ. ३ अनु. ४-५
आइतबार, फेब्रुअरी ८
‘परमेश्वरको मदत पाएर हामीले साहस बटुल्यौँ।’—१ थिस्स. २:२.
हामी मनैदेखि परमेश्वरको राज्यलाई समर्थन गर्छौँ तर कहिलेकाहीँ त्यसो गर्न गाह्रो हुने भएकोले हामीलाई साहस चाहिन्छ। (मत्ति ६:३३) जस्तै: यस दुष्ट संसारमा यहोवाका स्तरहरूअनुसार जिउन र सुसमाचार सुनाउन हामीलाई साहस चाहिन्छ। अनि राजनैतिक समस्याहरूले गर्दा संसार झन्झनै विभाजित भइरहेको छ। (युह. १८:३६) त्यसैले हामीलाई तटस्थ रहन पनि साहस चाहिन्छ। राजनीति र सैन्य गतिविधिमा भाग लिन इन्कार गरेकोले यहोवाका थुप्रै सेवकहरूले आर्थिक समस्या र दुर्व्यवहार भोग्नुपरेको छ। अनि तिनीहरूलाई कुटपिट गरिएको छ र झ्यालखानामा समेत हालिएको छ। साहसी भई यहोवा र उहाँको राज्यलाई समर्थन गर्ने व्यक्तिहरूको उदाहरणमा मनन गऱ्यौँ भने हामी पनि बलियो र साहसी हुन सक्छौँ। हाम्रो राजा येसुले सैतानको संसारको राजनैतिक मामिलाहरूमा मुछिनदेखि ठाडै इन्कार गर्नुभयो। (मत्ति ४:८-११; युह. ६:१४, १५) उहाँ साहसको लागि सधैँ यहोवामा भर पर्नुभयो। w२४.०७ पृ. ३ अनु. ४; पृ. ४ अनु. ७
सोमबार, फेब्रुअरी ९
उनले त्यसको फल टिपेर खाइन्। पछि जब उनका पति उनको साथमा थिए, तब उनले तिनलाई पनि त्यो फल दिइन् र तिनले पनि खाए।—उत्प. ३:६.
यहोवाले हाम्रो भलाइको लागि त्यो दुःखद घटना बाइबलमा लेख्न लगाउनुभयो। उहाँ पापलाई किन यत्ति धेरै घृणा गर्नुहुन्छ भनेर त्यस घटनाबाट बुझ्न सक्छौँ। पापले हामीलाई हाम्रो बुबा यहोवादेखि टाढा बनाउँछ र त्यसले मृत्युसम्म पुऱ्याउँछ। (यसै. ५९:२) सैतान यहोवा र मानिसहरूलाई घृणा गर्छ। त्यसैले त्यसले आदम र हव्वालाई पाप गर्न उक्सायो र आजसम्म पनि त्यसले त्यसो गर्न छोडेको छैन। त्यसलाई अदनको बगैँचामा आफूले ठूलो जित हासिल गरेको जस्तो लागेको हुन सक्छ। तर यहोवा कत्ति मायालु परमेश्वर हुनुहुन्छ भनेर त्यसले बुझेको थिएन। उहाँले आदम र हव्वाका सन्तानहरूका लागि आफ्नो उद्देश्य कहिल्यै परिवर्तन गर्नुभएन। उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ। त्यसैले आदम र हव्वाले पाप गर्नेबित्तिकै उहाँले मानिसजातिलाई एउटा आशा दिनुभयो। (रोमी ८:२०, २१) तिनीहरूका सन्तानहरूमध्ये केहीले उहाँलाई प्रेम गर्नेछन् र पापविरुद्ध लड्न उहाँको मदत खोज्नेछन् भनेर उहाँलाई थाह थियो। यहोवाले तिनीहरूलाई आफूसित नजिक हुन अनि पाप र मृत्युबाट जोगाउन बाटो खोलिदिनुभयो। w२४.०८ पृ. ३ अनु. ३-४
मङ्गलबार, फेब्रुअरी १०
अझ महत्त्वपूर्ण कुराहरू के हुन्, सो तिमीहरूले पक्का गर्न सक।—फिलि. १:१०.
हामी यहोवाका सेवकहरू विभिन्न कामकुरामा व्यस्त छौँ। हामी आफ्नो र आफ्नो परिवारको पालनपोषण गर्न काम गर्छौँ। (१ तिमो. ५:८) कतिपयले आफ्नो परिवारका वृद्ध वा बिरामी सदस्यको हेरविचार गरिरहेका छन्। अनि हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ र त्यसको लागि समय चाहिन्छ। साथै हामीले मण्डलीमा पनि विभिन्न जिम्मेवारीहरू पूरा गर्नुपर्ने हुन्छ। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भनेको साक्षीकार्यमा जोसका साथ भाग लिनु हो। हामीले बाइबल पढ्न छुटाउनु हुँदैन किनभने यो “अझ महत्त्वपूर्ण कुराहरू”-मध्ये एउटा हो। आनन्दित मानिसबारे भजनको पहिलो अध्यायमा यसो भनिएको छ: “यहोवाको व्यवस्थामा ऊ प्रसन्न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्छ।” (भज. १:१, २) कुरा स्पष्ट छ, हामीले बाइबल पढ्नको लागि समय छुट्ट्याउनै पर्छ। त्यसोभए बाइबल पढ्ने सबैभन्दा उपयुक्त समय कुन हो? यस प्रश्नको जवाफ मान्छेपिच्छे फरक हुन्छ। तर सरल शब्दमा भन्ने हो भने तपाईँले यस्तो समय छान्नुपर्छ, जुन समयमा तपाईँ नियमित रूपमा बाइबल पढ्न सक्नुहुन्छ। w२४.०९ पृ. ३ अनु. ५-६
बुधबार, फेब्रुअरी ११
हरेकले आफ्नो भारी आफै बोक्नेछ।—गला. ६:५.
के परिपक्व ख्रिष्टियनलाई पनि अरूको मदत चाहिन्छ? पक्कै चाहिन्छ। परिपक्व व्यक्तिले पनि कहिलेकाहीँ अरूसित मदत माग्नुपर्छ। तर आध्यात्मिक रूपमा अपरिपक्व व्यक्तिले भने हरेक कुरामा अरूको मदत खोज्छ अनि आफूले गर्नुपर्ने निर्णय अरूले गरिदिएको आशा गर्छ। अर्कोतर्फ परिपक्व ख्रिष्टियनले बुद्धिमान् र अनुभवी व्यक्तिसित मदत त माग्छ तर उसले यहोवा ‘हरेकले आफ्नो भारी आफै बोकेको’ चाहनुहुन्छ भनेर बुझेको हुन्छ। जसरी सबै वयस्कको शारीरिक बनौट एउटै हुँदैन, त्यसरी नै परिपक्व ख्रिष्टियनहरू सबैमा एउटै खाले गुण हुँदैन। कोही बुद्धिमान् हुन्छन्, कोही साहसी हुन्छन्, कोही उदार हुन्छन् अनि कोहीचाहिँ समानुभूतिशील हुन्छन्। साथै दुई परिपक्व ख्रिष्टियनले एउटै परिस्थितिमा फरक-फरक निर्णय गर्न सक्छन् तर दुवैको निर्णय बाइबलको सिद्धान्तअनुसार सही नै हुन सक्छ, विशेषगरि अन्तस्करण चलाएर गर्नुपर्ने निर्णयको सन्दर्भमा। तर निर्णय फरक भए तापनि तिनीहरू एकअर्काको न्याय गर्दैनन् बरु एकतामा रहने कुरामा ध्यान दिन्छन्।—रोमी १४:१०; १ कोरि. १:१०. w२४.०४ पृ. ४ अनु. ७-८
बिहीबार, फेब्रुअरी १२
जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।—भज. ९४:१९.
आफू केही कामको छैनँ भन्ने भावनाले सताउँदा तपाईँ के गर्न सक्नुहुन्छ? यहोवा तपाईँलाई बहुमूल्य ठान्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउने बाइबल पदहरू पढ्नुहोस् र मनन गर्नुहोस्। आफूलाई अरूसित तुलना नगर्नुहोस् अनि आफूले गर्न नसक्ने कुराहरूमा ध्यान नदिनुहोस्। यहोवा तपाईँबाट तपाईँले सक्नेभन्दा धेरै माग कहिल्यै गर्नुहुन्न। (भज. १०३:१३, १४) यदि तपाईँले विगतमा शारीरिक, भावनात्मक वा यौन दुर्व्यवहार भोग्नुभएको थियो भने त्यसको दोष आफैलाई नदिनुहोस्। त्यसमा तपाईँको कुनै गल्ती छैन। नबिर्सनुहोस्, यहोवा दुष्टहरूलाई सजाय दिनुहुन्छ, निर्दोषहरूलाई होइन। (१ पत्रु. ३:१२) ‘यहोवाले अरूलाई मदत गर्न मलाई प्रयोग गर्नुहोला र’ भनेर कहिल्यै शङ्का नगर्नुहोस्। उहाँले साक्षीकार्यमा तपाईँलाई आफ्नो सहकर्मी हुने सुअवसर दिनुभएको छ। (१ कोरि. ३:९) तपाईँले जीवनमा तीता अनुभवहरू भोग्नुभएको छ भने त्यसले तपाईँलाई अरूको पीडा बुझ्न मदत गर्न सक्छ। अनि तपाईँ तिनीहरूलाई चाहिएकै मदत दिन सक्नुहुन्छ। w२४.१० पृ. ८ अनु. ६-७
शुक्रबार, फेब्रुअरी १३
के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्न र? उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्य न्याय गर्नुहुनेछ। म तिमीहरूलाई भन्छु, उहाँले तिनीहरूको न्याय तुरुन्तै गरिदिनुहुनेछ।—लुका १८:७, ८.
“यहोवा न्याय मन पराउनुहुन्छ।” (भज. ३७:२८) त्यसैले अरूले हामीसित अन्यायपूर्ण व्यवहार गर्दा उहाँ त्यो याद गर्नुहुन्छ। यहोवाले उचित समय आएपछि ‘तुरुन्तै न्याय गरिदिनुहुनेछ’ भनेर येसुले हामीलाई भरोसा दिलाउनुभएको छ। यहोवाले चाँडै सबै दुःखकष्ट र अन्याय-अत्याचार हटाउनुहुनेछ। (भज. ७२:१, २) धार्मिकताले बास गर्ने नयाँ संसार नआउन्जेल यहोवा हामीलाई अन्यायको सामना गर्न मदत गर्नुहुन्छ। (२ पत्रु. ३:१३) अन्याय भोग्नुपर्दा मूर्ख कदम चाल्नदेखि कसरी जोगिन सक्छौँ भनेर यहोवा हामीलाई सिकाउनुहुन्छ। यहोवाले बाइबलमा अन्यायको सामना गर्ने सन्दर्भमा येसुले बसाल्नुभएको उत्कृष्ट उदाहरणबारे लेख्न लगाउनुभएको छ। साथै हामीले अन्याय भोग्नुपर्दा लागू गर्न सकिने व्यावहारिक सल्लाहहरू पनि दिनुभएको छ। w२४.११ पृ. २-३ अनु. ३-४
शनिबार, फेब्रुअरी १४
उनीहरूलाई केही खान देओ।—मत्ति १४:१६.
येसुले त्यहाँ उपस्थित भीडलाई केही खान देओ भन्नुहुँदा चेलाहरूलाई आपत् पऱ्यो किनभने त्यहाँ लगभग ५ हजार पुरुषहरू थिए। अनि स्त्री र केटाकेटी पनि गन्ने हो भने त १५ हजारजति थिए होलान्। (मत्ति १४:२१) अन्द्रियासले यसो भने, “यहाँ एक जना केटोसित जौका पाँच वटा रोटी र दुई वटा साना माछा छन्। तर यत्तिका मानिसलाई यसले कसरी पुऱ्याउने?” (युह. ६:९) त्यतिबेला मानिसहरूले प्रायजसो जौबाट बनेको रोटी खाने गर्थे अनि ती साना माछा चाहिँ नुन हालेर सुकाइएको माछा थिए होलान्। तर त्यो केटोसित भएको रोटी र माछाले हजारौँ मानिसहरूलाई खुवाउन असम्भव नै थियो। येसु भोकाएका ती मानिसहरूलाई खुवाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले मानिसहरूलाई समूह-समूह बनाएर बस्न अह्राउनुभयो। (मर्कु. ६:३९, ४०; युह. ६:११-१३) त्यसपछि येसुले रोटी र माछाको लागि आफ्नो बुबालाई धन्यवाद दिनुभयो। परमेश्वरलाई धन्यवाद दिनु उपयुक्त थियो किनभने वास्तवमा त्यो खानेकुराको स्रोत उहाँ नै हुनुहुन्थ्यो। हाम्रो लागि कत्ति राम्रो उदाहरण नि, होइन र? हामी पनि खाना खानुअघि परमेश्वरलाई प्रार्थनामा धन्यवाद दिन सक्छौँ। त्यसपछि येसुले चेलाहरूलाई खानेकुरा बाँड्न लगाउनुभयो अनि मानिसहरूले अघाउन्जेल खाए। w२४.१२ पृ. २-३ अनु. ३-४
आइतबार, फेब्रुअरी १५
यहोवाको प्रशंसा गर।—१ इति. २९:२०.
पृथ्वीमा हुनुहुँदा येसुले थुप्रै चमत्कारहरू गर्नुभयो। ती चमत्कारहरूको श्रेय यहोवालाई नै दिएर उहाँले यहोवाको महिमा गर्नुभयो। (मर्कु. ५:१८-२०) उहाँले यहोवा कत्ति महान् हुनुहुन्छ भनी मानिसहरूलाई बताएर र तिनीहरूसित दयालु व्यवहार गरेर पनि यहोवाको महिमा गर्नुभयो। एकपटक येसु एउटा सभाघरमा मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। त्यहाँ एउटा यस्ती स्त्री पनि थिई, जसलाई १८ वर्षदेखि प्रेतले सताएको थियो। प्रेतले असाध्यै दुःख दिएकोले ऊ कमजोर र कुप्री भएकी थिई र ठाडो उभिन सक्दिनथी। त्यस स्त्रीलाई देखेपछि येसु दयाले भरिनुभयो र यसो भन्नुभयो: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्त भयौ।” त्यसपछि येसुले ऊमाथि आफ्नो हात राख्नुभयो र उत्तिखेरै ऊ सीधा भई। यहोवाले आफूलाई स्वस्थ र बलियो बनाइदिनुभएकोले उसले “परमेश्वरको महिमा गर्न थाली।” (लुका १३:१०-१३) त्यस स्त्रीसित जस्तै हामीसित पनि यहोवाको महिमा गर्नुपर्ने कारण छन्। w२५.०१ पृ. ३ अनु. ३-४
सोमबार, फेब्रुअरी १६
हाम्रा पापहरू क्षमा गर्नुहोस्।—लुका ११:४.
हामी आफ्नै बलबर्कतमा आदम र हव्वाले गुमाएका कुराहरू कहिल्यै फिर्ता पाउन सक्दैनौँ। (भज. ४९:७-९) यहोवाको मदतविना हामीले भविष्यको सुन्दर आशा पाउने थिएनौँ न त फेरि जीवित हुने आशा नै पाउने थियौँ। हामी पनि जनावरहरूजस्तै मर्ने थियौँ र फेरि कहिल्यै जीवित हुने थिएनौँ। (उप. ३:१९; २ पत्रु. २:१२) हाम्रो मायालु बुबा यहोवाले हामीलाई एउटा उपहार दिनुभएको छ, जसले आदमबाट पाएको जन्मजात पापको ऋण चुक्ता गर्न सक्छ। त्यस उपहारबारे येसुले यसो भन्नुभयो: “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।” (युह. ३:१६) त्यही उपहारले गर्दा यहोवासित सुमधुर सम्बन्ध गाँस्ने बाटो पनि खुलेको छ। त्यस बहुमूल्य उपहारबाट हामी लाभ उठाउन सक्छौँ र त्यसले हाम्रा पापहरू क्षमा गर्न सक्छ। w२५.०२ पृ. ३ अनु. ३-६
मङ्गलबार, फेब्रुअरी १७
‘त्यसपछि सावल उठे अनि बप्तिस्मा गरे।’—प्रेषि. ९:१८.
सावललाई बप्तिस्मा गर्न केले मदत गऱ्यो? येसुले स्वर्गबाट सावलसित बोल्नुहुँदा चहकिलो ज्योति चम्कियो र तिनी देख्न नसक्ने भए। (प्रेषि. ९:३-९) त्यसपछि तीन दिनसम्म तिनले केही खानपिन गरेनन्। त्यस दौडान तिनले भर्खरै घटेको घटनाबारे धेरै सोचे होलान्। तिनी येसु नै मसीह हुनुहुन्छ र ख्रिष्टियनहरूको धर्म नै साँचो धर्म हो भनेर पक्का भए। हामी सावलबाट धेरै कुरा सिक्न सक्छौँ। तिनलाई घमन्ड वा मानिसको डरले बप्तिस्मा गर्नदेखि रोक्न सक्थ्यो। तिनलाई ख्रिष्टियन बन्यो भने खेदो भोग्नुपर्छ भनेर थाह थियो। तैपनि तिनी बप्तिस्मा गर्नदेखि पछि हटेनन्। (प्रेषि. ९:१५, १६; २०:२२, २३) बप्तिस्मापछि तिनले विभिन्न परीक्षाहरू भोग्नुपऱ्यो। तर ती परीक्षाहरू सहन तिनी यहोवामाथि भर परिरहे। (२ कोरि. ४:७-१०) तपाईँले पनि बप्तिस्मा गरेर यहोवाको साक्षी बन्नुभयो भने विभिन्न परीक्षाहरू भोग्नुपर्ने हुन सक्छ। तर चिन्ता नगर्नुहोस्! यहोवा र येसुले तपाईँलाई सधैँ साथ दिइरहनुहुनेछ।—फिलि. ४:१३. w२५.०३ पृ. ४ अनु. ८-९
बुधबार, फेब्रुअरी १८
म अन्धाधुन्ध दौडिन्नँ।—१ कोरि. ९:२६.
बाइबल पढ्न थाल्नु राम्रो कुरा हो। तर बाइबल पढाइबाट पूरापूर लाभ उठाउन चाहन्छौँ भने अर्को एउटा कुरा पनि गर्नै पर्छ। एउटा उदाहरण विचार गरौँ। बोटबिरुवा सप्रन पानी नभई हुँदैन तर छोटो समयमै धेरै पानी पऱ्यो भने जमिनले त्यो पानी सोस्न पाउँदैन अनि बोटबिरुवा पनि सप्रँदैन। माटोलाई पानी सोस्न समय चाहिन्छ। त्यसैगरि हामीले पढेको कुरामा मनन गर्ने समय नै नहुनेगरि हतारमा बाइबल पढ्नु हुँदैन। मनन गऱ्यौँ भने मात्र आफूले पढेको कुरा सम्झन र लागू गर्न सक्छौँ। (याकु. १:२४) कहिलेकाहीँ तपाईँलाई आफूले छिटोछिटो बाइबल पढिरहेको छु जस्तो लागेको छ कि? त्यसो हो भने बिस्तारै पढ्नुहोस्। आफूले पढिरहेको कुराबारे मनन गर्न सक्नेगरि बिस्तारै पढ्नुहोस् वा आफूले पढेको कुरामा मनन गर्न समय छुट्ट्याउनुहोस्। तपाईँ अध्ययन गर्न अझ धेरै समय छुट्ट्याउन सक्नुहुन्छ र त्यसमध्ये केही समय पढ्न र केही समय मनन गर्न सक्नुहुन्छ। w२४.०९ पृ. ४ अनु. ७-९
बिहीबार, फेब्रुअरी १९
जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूप्रति आज्ञाकारी होओ।—हिब्रू १३:१७.
एल्डरहरूले सङ्गठनबाट आएको निर्देशन ध्यान दिएर पढ्नुपर्छ र त्यो लागू गर्न यथासक्दो गर्नुपर्छ। तिनीहरूले सभाका भागहरू कसरी प्रस्तुत गर्ने, मण्डलीमा सबैसामु गरिने प्रार्थना कस्तो हुनुपर्छ अनि ख्रिष्टका अनुयायीहरूको कसरी ख्याल राख्ने भन्नेबारे निर्देशन पाउँछन्। सङ्गठनको निर्देशनअनुसार चल्ने एल्डरहरूले तिनीहरूको जिम्मामा भएका भाइबहिनीलाई सुरक्षित र माया पाएको महसुस गराउँछन्। हामीले एल्डरहरूमार्फत कुनै निर्देशन पाउँदा त्यो पालन गर्न इच्छुक हुनुपर्छ। यसो गरेर हामीले अगुवाइ लिइरहेका भाइहरूलाई आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न मदत गरिरहेका हुन्छौँ। बाइबलले हामीलाई तिनीहरूप्रति आज्ञाकारी हुन र तिनीहरूको अधीनमा बस्न प्रोत्साहन दिन्छ। (हिब्रू १३:७, १७) तर यी पुरुषहरू पनि त्रुटिपूर्ण भएकाले कहिलेकाहीँ हामीलाई यसो गर्न गाह्रो हुन सक्छ। यदि हामीले तिनीहरूको सकारात्मक पक्षमा भन्दा नकारात्मक पक्षमा ध्यान दियौँ भने एक अर्थमा हाम्रा शत्रुहरूलाई साथ दिइरहेका हुन्छौँ र परमेश्वरको सङ्गठनमाथिको हाम्रो भरोसा कमजोर हुन्छ। w२४.०४ पृ. १० अनु. ११-१२
शुक्रबार, फेब्रुअरी २०
उसले मानिसहरूलाई छुट्ट्याउनेछ।—मत्ति २५:३२.
के महासङ्कष्टको बेला ज्यान गुमाउने कुनै पनि मानिस फेरि जीवित हुनेछैनन्? यहोवा र उहाँको स्वर्गीय सेनाले विरोधीहरूलाई आरमागेडोनमा नाश गर्नुहुनेछ अनि तिनीहरू फेरि जीवित हुनेछैनन् भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (२ थिस्स. १:६-१०) तर महासङ्कष्टको बेला वृद्धावस्था, रोगबिमार र दुर्घटनाले गर्दा ज्यान गुमाएका वा कसैले हत्या गरेका मानिसहरूबारे चाहिँ के भन्न सकिन्छ? (उप. ९:११; जक. १४:१३) के तिनीहरूमध्ये केही मानिस फेरि जीवित हुने “अधर्मी”-हरूमा पर्छन्? (प्रेषि. २४:१५) हामीलाई थाह छैन। तर भविष्यमा हुने घटनाहरूबारे हामीलाई केही कुरा थाह छ। जस्तै: ख्रिष्टका भाइहरूसित मानिसहरूले गरेको व्यवहारको आधारमा तिनीहरूको न्याय गरिनेछ। (मत्ति २५:४०) ज-जसले ख्रिष्ट र अभिषिक्त जनहरूलाई समर्थन गरे, तिनीहरूलाई भेडाको रूपमा छुट्ट्याइनेछ।—प्रका. १२:१७. w२४.०५ पृ. १०-११ अनु. ९-११
शनिबार, फेब्रुअरी २१
यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्! मेरो उद्धार गर्ने परमेश्वरको जयजयकार गरियोस्।—भज. १८:४६.
बाइबलले बताएअनुसार हामी अहिले “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। (२ तिमो. ३:१) आज संसारका मानिसहरूले जे-जस्ता समस्या झेल्दै छन्, ती समस्या हामी यहोवाका जनहरूले पनि झेल्नुपर्छ। त्यसमाथि हामीले विरोध र खेदोको पनि सामना गर्नुपर्छ। यस्ता समस्याहरूको बाबजुद यहोवाको उपासना गरिरहन हामीलाई केले मदत गर्छ? हामीले यहोवा “जीवित परमेश्वर” हुनुहुन्छ भन्ने कुरा मनमा राख्नुपर्छ। (यर्मि. १०:१०; २ तिमो. १:१२) यहोवा वास्तविक हुनुहुन्छ। हामीले भोग्ने एक-एक समस्या उहाँ देख्नुहुन्छ र हामीलाई मदत गर्न उत्सुक हुनुहुन्छ। (२ इति. १६:९; भज. २३:४) यहोवा जीवित परमेश्वर हुनुहुन्छ भन्ने कुरा मनमा राख्यौँ भने हामी जस्तोसुकै समस्याको सामना गर्न तयार हुनेछौँ। w२४.०६ पृ. २० अनु. १-२
आइतबार, फेब्रुअरी २२
धर्मीको बाटो बिहानको उज्यालोजस्तै हो; मध्याह्न नभएसम्म त्यो झन्झनै चहकिलो हुँदै जान्छ।—हितो. ४:१८.
हामीले यहोवाको सङ्गठनमाथि भरोसा गरिरहनुपर्छ। बाइबलको कुनै बुझाइमा वा सङ्गठनको विभिन्न कामकुरा सम्हाल्ने तरिकामा छाँटकाँट गर्नुपर्दा नेतृत्व लिने भाइहरू त्यसो गर्न हिचकिचाउँदैनन्। किनकि तिनीहरू कुनै मानिसलाई होइन, यहोवा परमेश्वरलाई खुसी बनाउन चाहन्छन्। तिनीहरू परमेश्वरको वचनमा आधारित भएर निर्णय गर्न सक्दो कोसिस गर्छन्। यहोवाका सबै उपासकले गर्नुपर्ने कुरा यही हो। प्रेषित पावलले यस्तो सल्लाह दिए: ‘साँचो शिक्षाको नमुनालाई पक्रिराख।’ (२ तिमो. १:१३) “साँचो शिक्षाको नमुना”-ले बाइबलमा पाइने शिक्षाहरूलाई बुझाउँछ। (युह. १७:१७) हामीले विश्वास गर्ने हरेक कुराको आधार यी शिक्षाहरू नै हुन्। यहोवाको सङ्गठनले हामीलाई त्यस नमुनालाई पक्रिराख्न सिकाएको छ। त्यसो गऱ्यौँ भने हामीले आशिष् पाउनेछौँ। w२४.०७ पृ. ११-१२ अनु. १२-१३
सोमबार, फेब्रुअरी २३
‘यहोवा परमेश्वर तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।’—२ पत्रु. ३:९.
पश्चात्ताप गर्दा र क्षमा पाउँदा कस्तो महसुस हुन्छ भनेर प्रेषित पत्रुसले आफ्नै अनुभवबाट बुझेका थिए। त्यसैले आफूले सिकेको कुरा तिनी अरूलाई पनि बताउन सक्थे। पेन्तिकोसको चाड सकिएको केही समयपछि तिनले यहुदीहरूसामु एउटा भाषण दिए। तिनीहरूले मसीहलाई मारेको कुरा पत्रुसले त्यस भाषणमा बताए। तर तिनले मायालुपूर्वक तिनीहरूलाई यस्तो आग्रह पनि गरे: “पश्चात्ताप गर्नुहोस् अनि फर्केर परमेश्वरकहाँ आउनुहोस् ताकि तपाईँहरूको पाप मेटियोस् अनि तपाईँहरूलाई स्वयम् यहोवा परमेश्वरबाट स्फूर्ति प्राप्त होस्।” (प्रेषि. ३:१४, १५, १७, १९) तिनले बताएझैँ पाप गर्ने व्यक्तिले पश्चात्ताप गर्दा ऊ यहोवाकहाँ फर्कन उत्प्रेरित हुन्छ। यसको मतलब उसले गलत कुराहरू सोच्न र गलत काम गर्न छोड्छ अनि यहोवालाई खुसी बनाउने कुराहरू गर्न थाल्छ। यहोवाले पश्चात्तापीहरूको पाप मेटिदिनुहुनेछ अर्थात् पूर्णतया क्षमा गरिदिनुहुनेछ भनेर पनि प्रेषित पत्रुसले बताए। हामीले गम्भीर पाप गरिहाल्यौँ भने पनि यहोवा हामीलाई क्षमा गर्नुहुन्छ भन्ने कुरा कत्ति सान्त्वनादायी छ नि, हैन र? w२४.०८ पृ. १२ अनु. १४
मङ्गलबार, फेब्रुअरी २४
तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्।—हिब्रू १३:५.
यस दुष्ट युगको अन्त नजिकै छ भन्ने कुरामा हाम्रो विश्वास बलियो छ भने भौतिकवादलाई तिरस्कार गर्न हामीले सक्दो प्रयास गर्नेछौँ। महासङ्कष्टको दौडान पैसाको कुनै मोल हुनेछैन। मानिसहरूले “आफूसित भएको चाँदी सडकमा फाल्नेछन्” किनभने “यहोवाको रिसको दिनमा तिनीहरूको सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन” भनेर तिनीहरूले बुझ्नेछन्। (इज. ७:१९) अहिले सकेसम्म धेरै पैसा जम्मा गर्न खोज्नुको साटो हामीले सरल र सन्तुलित जीवन बिताउन मदत गर्ने निर्णयहरू गर्नुपर्छ। यसमा अनावश्यक ऋण नलिनु वा भौतिक कुराहरूको हेरचाहमा धेरै समय नबिताउनु समावेश छ। हामी आफूसित भएका सरसम्पत्तिलाई असाध्यै माया गर्नदेखि पनि होसियार हुनुपर्छ। यस दुष्ट युगको अन्त पर्खँदै गर्दा हाम्रो विश्वासको जाँच हुन सक्छ। (मत्ति ६:१९, २४) हामीले यहोवामाथि भरोसा राख्ने कि हाम्रो सरसम्पत्तिमा भरोसा राख्ने भनेर छनौट गर्नुपर्ने हुन्छ। w२४.०९ पृ. ११ अनु. १३-१४
बुधबार, फेब्रुअरी २५
जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस् नत्र त ऊ लड्नेछ।—१ कोरि. १०:१२.
कुनै-कुनै कमीकमजोरीलाई हामी पूरै हटाउन सक्छौँ होला। तर कुनै-कुनै गलत झुकावविरुद्ध भने हामीले लामो समयसम्म सङ्घर्ष गरिरहनुपर्ने हुन सक्छ। प्रेषित पत्रुसलाई के भएको थियो, विचार गरौँ। मानिसहरूको डरको पासोमा परेर तिनले येसुलाई तीन-तीन चोटि इन्कार गरे। (मत्ति २६:६९-७५) हुनत पत्रुसले यहुदी न्यायपरिषद्सामु निडर भई साक्षी दिँदा मानिसको डर हटाइसकेका थिए जस्तो देखिन्छ। (प्रेषि. ५:२७-२९) तर केही वर्षपछि तिनी “खतना भएका मानिसहरूसित डराएर” अन्यजातिका ख्रिष्टियनहरूसँगै बसेर खान छोडे। (गला. २:११, १२) यस घटनाबाट पत्रुस फेरि मानिसहरूको डरको पासोमा परे भनेर देखिन्छ। त्यसैले हुन सक्छ, तिनको मनबाट मानिसहरूको डर पूर्ण रूपमा कहिल्यै हटेन। कुनै-कुनै कमीकमजोरी हटाउन हामीले पनि त्यस्तै सङ्घर्ष गर्नुपर्ने हुन सक्छ। तर येसुले भन्नुभएझैँ ‘जागा रहिरह्यौँ’ भने जोगिन सक्छौँ। (मत्ति २६:४१) आफ्नो कमीकमजोरीलाई वशमा राख्न सक्छु जस्तो लागेको बेला पनि पाप गर्नतर्फ डोऱ्याउन सक्ने अवस्थाहरूदेखि टाढै रहनुहोस्। आफ्ना कमीकमजोरीसित सङ्घर्ष गर्न तपाईँलाई जुन कुराहरूले मदत गरेको थियो, ती कुराहरू गरिरहनुहोस्।—२ पत्रु. ३:१४. w२४.०७ पृ. १८-१९ अनु. १७-१९
बिहीबार, फेब्रुअरी २६
उहाँले वरदानको रूपमा पुरुषहरू दिनुभयो।—एफि. ४:८.
उदारता देखाउने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। पृथ्वीमा हुनुहुँदा उहाँले चमत्कारहरू गरेर मानिसहरूलाई मदत गर्नुभयो। (लुका ९:१२-१७) उहाँले हाम्रो लागि आफ्नो ज्यान अर्पण गर्नुभयो। हाम्रो लागि योभन्दा ठूलो उपहार अरू हुन सक्दैन। (युह. १५:१३) फेरि जीवित हुनुभएपछि पनि उहाँले उदारता देखाइरहनुभएको छ। हामीलाई सिकाउन र सान्त्वना दिन उहाँले यहोवासित पवित्र शक्ति मागिदिने प्रतिज्ञा गर्नुभएको थियो र त्यो प्रतिज्ञा उहाँले पूरा गर्नुभएको छ। (युह. १४:१६, १७, फुटनोट; १६:१३) सबै जातिका मानिसहरूलाई चेला बनाउन हामीलाई चाहिने मदत उहाँले सभाहरूमार्फत दिइरहनुभएको छ। (मत्ति २८:१८-२०) येसु जब स्वर्गमा उक्लनुभयो, तब उहाँले “वरदानको रूपमा पुरुषहरू दिनुभयो” भनेर प्रेषित पावलले लेखे। (एफि. ४:७, ८) उहाँले मण्डलीलाई विभिन्न तरिकामा मदत गर्न ती पुरुषहरू वरदानको रूपमा दिनुभयो भनेर तिनले बताए। (एफिसी १:२२, २३; ४:११-१३) हुनत तिनीहरू त्रुटिपूर्ण छन् र गल्तीहरू गर्छन्। (याकु. ३:२) तर हाम्रा प्रभु येसु ख्रिष्टले हामीलाई मदत गर्न तिनीहरूलाई प्रयोग गर्नुहुन्छ। त्यसैले तिनीहरू हाम्रो लागि वरदान हुन्। w२४.१० पृ. १८ अनु. १-२
शुक्रबार, फेब्रुअरी २७
समझशक्तिले तिमीलाई जोगाउनेछ।—हितो. २:११.
दाउदले आफ्ना छोरा सुलेमानलाई यहोवाको आज्ञा पालन गरिरहेमा मात्र तिनी सफल हुनेछन् भनेर बताए। दुःखको कुरा, पछि सुलेमानले यहोवालाई त्यागे र अरू देवताहरूलाई पुज्न थाले। यो देखेर यहोवा असाध्यै अप्रसन्न हुनुभयो। त्यसपछि तिनले यहोवाबाट बुद्धि पाउन छोडे अनि तिनले न्यायपूर्ण र दयालु ढङ्गमा शासन गरिरहन सकेनन्। (१ राजा ११:९, १०; १२:४) हाम्रो लागि पाठ: आज्ञाकारी हुँदा सफल हुन्छौँ। (भज. १:१-३) हुनत यहोवाले हामीलाई सुलेमानलाई जस्तै धनसम्पत्ति र मानसम्मान दिने प्रतिज्ञा गर्नुभएको छैन। तर हामीले उहाँको आज्ञा पालन गऱ्यौँ भने उहाँले बुद्धि दिनुहुनेछ र हामीले सही निर्णयहरू गर्न सक्नेछौँ। (हितो. २:६, ७; याकु. १:५) उहाँको सल्लाहले हामीलाई काम, शिक्षा, मनोरञ्जन र पैसाजस्ता मामिलामा सही निर्णय गर्न मदत गर्नेछ। उहाँको सल्लाह लागू गर्दा उहाँसितको सम्बन्ध बलियो भइरहनेछ र हामीले अनन्त जीवन पाउनेछौँ। (हितो. २:१०, ११) हामीले असल साथीहरू बनाउन सक्नेछौँ अनि हाम्रो परिवार खुसी हुनेछ। w२४.११ पृ. १०-११ अनु. ११-१२
शनिबार, फेब्रुअरी २८
सबै कुरा जाँच र जे असल छ, त्यसलाई पक्रिराख।—१ थिस्स. ५:२१.
आमाबुबाले विभिन्न मौकामा आफ्ना छोराछोरीसित बाइबल र परमेश्वरबारे कुराकानी गर्न सक्छन्। तपाईँ तिनीहरूसँगै म्युजियम घुम्न जाँदा अथवा कुनै किताब वा भिडियोमा ऐतिहासिक घटना वा पुरातात्त्विक चिजबिजहरू देख्दा ती कुराहरू कसरी बाइबलसित मेल खान्छन् भनेर बताउन सक्नुहुन्छ। यसो गर्दा तपाईँको छोराछोरी आफैले बाइबलमा बताइएको कुरा सही रहेछ भनेर बुझ्न सक्नेछन्। जस्तै: तपाईँ आफ्ना छोराछोरीलाई ‘मोआबी शिलालेख’-बारे बताउन सक्नुहुन्छ। यो शिलालेख ३ हजार वर्ष पुरानो हो र यसमा यहोवाको नाम कुँदिएको छ। यस शिलालेखको दुरुस्त नक्कल यहोवाका साक्षीहरूको विश्व मुख्यालयमा “बाइबल र परमेश्वरको नाम” भन्ने प्रदर्शनीमा पनि राखिएको छ। त्यस शिलालेखमा मोआबका राजा मेसाले इस्राएलको विद्रोह गरेको विषयमा लेखिएको छ। यो कुरा बाइबल विवरणमा पनि पाउन सकिन्छ। (२ राजा ३:४, ५) तपाईँको छोराछोरीले बाइबलमा बताइएको कुरा सही छ भन्ने प्रमाण आफ्नै आँखाले देखेपछि तिनको विश्वास अझ बलियो हुनेछ। w२४.१२ पृ. १४ अनु. ४; पृ. १५ अनु. ६