साहसी भई परमेश्वरसित हिँड्नुहोस्-को लागि स्रोत सामग्री—भाग २
अध्याय २२
तिनलाई वफादार रहन साहस चाहिन्थ्यो
it “मिक्मास” अनु. ४
मिक्मास
जोनाथन पलिस्तियालीहरूलाई पराजित गर्छन्। मिक्मासको छाउनीबाट लुटपाट गर्न पलिस्तियालीहरूका तीन वटा दल निस्कन्थे र पारिपट्टि पलिस्तियालीहरूको चौकीबाट एउटा दल “मिक्मासको खोँचमा” जान्थे। जोनाथनले त्यस्तो आक्रमणको अन्त गर्ने निर्णय गरे। (१स १३:१६-२३) त्यसको लागि तिनी गहिरो खोँच (सम्भवतः सुवेइनिट वादी) पार गरेर गएका हुन सक्छन्, जुन गेबाको पूर्वतिर पर्छ। यो खोँच निकै गहिरो छ र यसको दुवैतिर एकदमै ठाडो चट्टानहरू छन्। सुवेइनिट वादीको घुम्तीमा “दाँतजस्तै तीखा” दुई वटा ठूला चट्टाने पहाड छन्। सम्भवतः एकापट्टिको चट्टानको नाम बोजेज र अर्कोपट्टिको चट्टानको नाम सेनेह हो। ती दाँतजस्तै तीखा चट्टानका धारहरू लगभग ३,००० वर्षको अन्तरालमा भारी वर्षा, आँधीहुरीजस्ता कारणहरूले गर्दा बोधो भएका छन्। (१स १४:१-७) त्यस्तो कच्ची र धारिलो चट्टानी भूभागसित परिचित नभएको व्यक्तिलाई त्यस्तो ठाउँमा यात्रा गर्नु असम्भव कुरा हो। तर बिन्यामिनको इलाकामा हुर्केका जोनाथनलाई भने त्यस ठाउँबारे राम्रो ज्ञान थियो। किनकि तिनको बुबाको छाउनी मिक्मासमा र तिनको छाउनी चाहिँ गेबामा थियो। त्यहाँ आवतजावत गरिरहने भएकोले जोनाथन त्यस भूभागसित परिचित थिए।
it “मपिबोसेत” न. २ अनु. १
मपिबोसेत
२. जोनाथनको छोरा; राजा साउलको नाति। यिज्रेलबाट साउल र जोनाथनको मृत्यु भएको खबर आउँदा मपिबोसेत पाँच वर्षका थिए। त्यो खबर सुनेपछि तिनकी धाई आमा तिनलाई बोकेर भागिन्। उनी आत्तिएर दौडँदा मपिबोसेत ‘भुईँमा खसे र तिनी कूँजो’ भए। (२स ४:४) त्यसपछि केही वर्षसम्म तिनी लो-देबारमा अम्मिएलका छोरा माकिरको घरमा बसे। यो कुरा दाउदले साउलको घरानाको सिबा नाम गरेका एक जना नोकरबाट थाह पाए। दाउदलाई आफूले जोनाथनसँग गरेको करार पक्कै याद थियो। (१स २०:१२-१७, ४२) त्यसैले तिनले ‘साउलको घरानाका बाँकी रहेकाहरूलाई’ कृपा देखाउन चाहे। मपिबोसेतलाई दाउदसामु ल्याइयो र दाउदले तिनलाई कृपा देखाउने इच्छा व्यक्त गर्दै यसो भने: “तिम्रो हजुरबुबा साउलको सबै जग्गाजमिन म तिमीलाई फिर्ता दिनेछु र तिमीले सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।” त्यो कुरा सुनेपछि मपिबोसेत भुईँमा घोप्टो पर्दै यसो भने: “तपाईँको यो दास को हो र? म त मरेको कुकुरजस्तो मात्र हुँ तैपनि तपाईँले ममाथि दया देखाउनुभयो।” तर दाउदको निर्णयअनुसारै सिबा र तिनको घरानाको (१५ जना छोरा र २० जना नोकरचाकरसहित) सबै मपिबोसेतको सेवक बने अनि मपिबोसेतलाई साउलको सबै सरसम्पत्ति दिइयो। त्यसपछि मपिबोसेत यरुसलेममा बस्न थाले र दाउदको टेबुलमा तिनीसँगै खान थाले।—२स ९.
अध्याय २३
तिनी अजङ्गको व्यक्तिसित लडे
“एक गुणवती स्त्री”
बोअज रुथसित विवाह गर्छन्। त्यसपछिको बाइबल विवरण यसो भन्छ: “यहोवाको आशिष्ले गर्दा रुथ गर्भवती भइन्। अनि तिनले छोरा जन्माइन्।” तब बेतलेहेमका स्त्रीहरूले नाओमी धन्यकी हुन् र उनको लागि रुथ सात जना छोराभन्दा पनि उत्तम छिन् भनेर बताउँछन्। बाइबल विवरण हेर्दै जाने हो भने रुथको छोरा पछि गएर महान् राजा दाउदका पुर्खा बन्छन्। (रुथ ४:११-२२) अनि दाउदचाहिँ येसु ख्रिष्टको पुर्खा बन्छन्।—मत्ति १:१.
[फुटनोट]
येसुको वंशावलीमा उल्लेख गरिएका पाँच स्त्रीहरूमध्ये रुथ पनि एक हुन्। अर्की स्त्रीचाहिँ राहाब हुन्, जो बोअजकी आमा थिइन्। (मत्ति १:३, ५, ६, १६) रुथजस्तै उनी पनि एक गैर-इस्राएली थिइन्।
w११ ९/१ पृ. २७ अनु. १–पृ. २८ अनु. १
यहोवालाई मन पर्ने मानिस
दाउदको परिचय दिनुपर्दा तिनी आफ्नो बुबाको भेडाहरूको हेरविचार गर्ने एक जवान गोठालो थिए। यस कामको लागि तिनले वर्षौँसम्म थुप्रै दिन र रातहरू खुला चौरमा एक्लै बिताएका हुन सक्छन्। तिनको जीवन कस्तो थियो, कल्पना गर्नुहोस् त!
दाउदको परिवार बेतलेहेममा बस्थे। बेतलेहम यहुदाको डाडाँमा रहेको एउटा सानो सहर थियो। बेतलेहेमको वरपर रहेको चट्टाने जमिनमा अन्न, जैतुन, अङ्गुर र अरू फलफूलहरूको राम्रो उब्जनी हुन्थ्यो। अनि बाँझो जमिनहरूमा भने भेडाहरू चराउने गरिन्थ्यो। बेतलेहेमबाट अलि पर यहुदाको निर्जनभूमि थियो।
दाउदको काम जोखिमपूर्ण थियो। त्यहाँका पहाडहरूमा एक पटक सिंहले र अर्को पटक भालुले दाउदका भेडाहरूलाई आक्रमण गरेका थिए। तर ती साहासी ठिटोले त्यस्ता खतरनाक जनावरहरूलाई मारेर आफ्ना भेडाहरूलाई जोगाए। (१ समुएल १७:३४-३६) सायद त्यही समयतिर तिनले घुँयेत्रो चलाउन सिकेका थिए। तिनी बस्ने ठाउँबाट बिन्यामिनको इलाका नजिकै पर्थ्यो। बिन्यामिनीहरू “घुयेँत्रो चलाउन सिपालु थिए र तिनीहरूको निसाना अचुक थियो।” दाउदको निसाना पनि तिनीहरूको जस्तै अचुक थियो।—न्यायकर्ता २०:१४-१६; १ समुएल १७:४९.
तिनले समयको सदुपयोग गरे
गोठालोको काम गर्नेहरू धेरैजसो समय एक्लै र शान्त वातावरणमा बिताउँथे। तर दाउदले यो काम गर्दा कहिल्यै न्यास्रो मानेनन्। बरु तिनले यो समय यहोवाको सृष्टि नियाल्न र त्यसमा मनन गर्न लगाए। तिनले भजनको किताबमा समावेश गरेका केही कुराहरू सम्भवतः तिनले ठिटो छँदा मनन गरेका थिए। त्यतिबेला तिनले विशाल ब्रह्माण्ड र मानिसको अस्तित्वबारे मनन गरेका हुन सक्छन्। साथै तिनले आकाश, घाम, जुन, ताराजस्ता “[यहोवाको] औँलाको कामलाई” पनि गहिरिएर विचार गरेका हुन सक्छन्। सायद तिनले बेतलेहेमको खुला चौरमा छँदा त्यहाँको उर्वर जमिन, भेडाबाख्रा, गाईवस्तु अनि “जङ्गली जनावर”-बारे सोचेका हुन सक्छन्।—भजन ८:३-९; १९:१-६.
दाउद आफै पनि एक गोठालो भएकोले यहोवाले आफ्ना जनहरूलाई गोठालोले झैँ ख्याल राख्नुहुन्छ भन्ने कुरा तिनले अझ राम्ररी महसुस गर्न सके। त्यसैले तिनले यस्तो गीत गाए: “यहोवा मेरो गोठालो हुनुहुन्छ। मलाई कुनै कुराको कमी हुनेछैन। उहाँ मलाई हरियो खर्कमा सुताउनुहुन्छ; पानीछेउको आराम गर्ने ठाउँमा उहाँ मलाई डोऱ्याउनुहुन्छ। निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्नुपरे पनि मलाई कुनै कुराको डर छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ; तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस दिन्छ।”—भजन २३:१,२,४.
it “एलिआब” न. ४ अनु. १
एलिआब
४. राजा दाउदका बुबा यिसैका जेठा छोरा। (१स १७:१३; १इ २:१३) समुएल एलिआबको आकर्षक रूपरङ्ग र कद देखेर परमेश्वरले रोज्नुभएको राजा तिनी नै हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए। तर यहोवाले एलिआबको सट्टा दाउदलाई राजाको रूपमा रोज्नुभयो।—१स १६:६-१२.
अध्याय २४
उनले जोखिमपूर्ण अवस्थालाई साम्य पारिन्
it “जीवन” अनु. ४५
जीवन
“झोलामा हालेर जोगाएझैँ।” दाउद नाबालसित बदला लिन जाँदा अबिगेलले तिनलाई त्यस्तो कदम नचाल्न बिन्ती गरिन्। उनले दाउदलाई रक्तदोषी हुनदेखि रोक्न यसो भन्दै आग्रह गरिन्: “तपाईँविरुद्ध उठेर कसैले तपाईँको ज्यान लिन खोज्यो भने हे मेरा प्रभु, मानिसले आफ्ना बहुमूल्य कुराहरू झोलामा हालेर जोगाएझैँ यहोवा परमेश्वरले तपाईँलाई पनि जोगाउनुहुनेछ। तर तपाईँका शत्रुहरूको जीवनलाई चाहिँ घुयेँत्रोमा ढुङ्गा हालेर हुर्ऱ्याएझैँ हुर्ऱ्याइदिनुहुनेछ।” (१स २५:२९-३३) कुनै व्यक्तिले बहुमूल्य चीजलाई झोलामा हालेर जोगाएझैँ यहोवाले पनि दाउदको जीवनलाई शत्रुहरूदेखि जोगाएर राख्नुहुने थियो। यसको लागि तिनले आफैमा भर पर्नुको सट्टा धीरजी हुँदै यहोवालाई पर्खनुपर्थ्यो। यसो गरेमा तिनका शत्रुहरूलाई उहाँले नाश गर्नुहुने थियो।
अध्याय २५
तिनले सही काम गर्न साहस देखाए
it “अबिसै” अनु. ३-५
अबिसै
अबिसै कप्तान थिए र तिनी आफ्ना ३० जना वीर योद्धाभन्दा पनि बलिया थिए। एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारे। तिनले दाउदका मुख्य तीन जना योद्धाले जस्तै नाम कमाएका थिए। तर “तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्।”—२स २३:१८, १९.
अबिसै आफ्ना मामा दाउदप्रति वफादार थिए र तिनले थुप्रै युद्धहरूमा उनलाई साथ दिए। तर तिनी कहिलेकाहीँ सोचविचारै नगरी कदम चाल्थे र कठोर व्यवहार गर्थे। कतिपय अवस्थाहरूमा दाउदले तिनलाई गलत कदम चाल्नदेखि रोक्नुपरेको थियो। एकपटकको कुरा हो, दाउद र अबिसै साउलको छाउनीमा पसेका थिए। त्यतिबेला दाउदले अबिसैलाई नरोकेको भए तिनले “यहोवा परमेश्वरका अभिषिक्त जन” साउललाई भालाले हानेर मार्ने थिए। (१स २६:६-९) यस्तै अर्को विवरण अब्सालोमले दाउदको विद्रोह गरेको समयतिरको हो। सिमिले दाउदलाई सरापेकोले अबिसैले तिनलाई दुई पटकसम्म मार्न खोजे। त्यतिबेला पनि दाउदले नै तिनलाई रोके। तर अब्नेरको हत्या गर्नदेखि भने दाउदले तिनलाई रोक्न सकेनन्।—२स ३:३०; १६:९-११; १९:२१-२३.
अबिसैले १८ हजार एदोमीलाई मारेर ठूलो नाम कमाएका थिए। पछि अम्मोनीहरूलाई आक्रमण गर्न जाँदा पनि तिनले नै नेतृत्व लिएका थिए। साथै अबिसैले बिन्यामिन कुलका झगडालु व्यक्ति सेबाले विद्रोह गर्दा पनि तिनलाई खेदेका थिए। बाइबलमा उल्लेख गरिएको दाउदको अन्तिम युद्धमा पनि तिनले वीर पलिस्तियालीको हातबाट दाउदलाई जोगाए।—१इ १८:१२; १९:११-१५; २स २०:१, ६; २१:१५-१७.
it “च्याखुरो” अनु. ४
च्याखुरो
च्याखुरो कमलो मासु भएको एक किसिमको चरा हो। पुरातन समयदेखि नै मानिसहरू यसको सिकार गरेर खाने गर्थे। ती चराहरू आफ्नो लुक्ने ठाउँबाट डराएर उड्न खोज्दा सिकारीहरूले लौरोले हिर्काएर त्यसको सिकार गर्थे। आफ्नो ज्यान जोगाउन ती चराहरू चट्टानहरूको बीचमा वा त्यस्तै अन्य ठाउँहरूमा लुक्ने गर्थे। ती चराहरूजस्तै दाउद पनि साउलदेखि आफ्नो ज्यान जोगाउन पहाडहरू हुँदै भाग्नुपरेको थियो। त्यसैले दाउदले आफूलाई “च्याखुरो”-सित तुलना गर्नु उपयुक्त थियो।—१स २६:२०; तुलना गर्नुहोस्: विला ३:५२.
अध्याय २६
तिनले राजालाई सच्याए
it “दाउद” अनु. २९
दाउद
यहोवाले भन्नुभएझैँ भयो। दाउदले सात दिनसम्म उपवास बसेर शोक गरे तापनि तिनले बेतसेबासित अवैध यौनसम्बन्ध राखेर जन्माएको छोराको मृत्यु भयो। (२स १२:१५-२३) पछि दाउदको जेठो छोरा अम्नोनले आफ्नो सौतेनी बहिनी तामारको बलात्कार गरे र बदलामा तामारको दाइले अम्नोनको हत्या गरे। यसले गर्दा दाउद निकै दुःखी भए। (२स १३:१-३३) त्यसपछि दाउदले धेरै माया गर्ने तिनका साहिँला छोरा अब्सालोमले तिनको राजगद्दी हडप्न खोजे। त्यति मात्र होइन, उनले दाउदको उपपत्नीहरूसित यौनसम्बन्ध राखेर सबै मानिससामु आफ्नो पिताको घोर अपमान गरे। (२स १५:१–१६:२२) त्यति मात्र होइन, अब्सालोमले आफ्नै बुबाविरुद्ध युद्धसमेत लडे र त्यही युद्धमा उनको मृत्यु भयो। उनको मृत्युको खबर पाएपछि दाउद भावविह्वल भए। (२स १७:१–१८:३३) दाउद अब्सालोमदेखि भागेको बेला तिनले भजन अध्याय तीन रचेका थिए, जहाँ तिनले यसो भनेका छन्: “उद्धार यहोवाबाटै आउँछ।”—भज ३:८.
अध्याय २७
तिनले मनमा रिस पालेर राखेनन्
it “माकिर” न. २
माकिर
२. अम्मिएलका छोरा (लो-देबारका बासिन्दा), जसले जोनाथनका छोरा मपिबोसेतलाई दाउदका मानिसहरूले तिनलाई लिन नआउन्जेल आफ्नो घरमा बास दिएका थिए। (२स ९:४-७, १३) पछि अब्सालोमले विद्रोह गर्दा राजा दाउद र तिनका मानिसहरूलाई खानेकुरा र अन्य आवश्यक कुराहरूको प्रबन्ध गरिदिने व्यक्तिहरूमध्ये माकिर पनि एक थिए।—२स १७:२७-२९.
it “कुकुर” अनु. ५
कुकुर
पुरातन समयमा जङ्गली अनि फोहोर कुकुरहरूलाई कस्तो दृष्टिकोणले हेरिन्थ्यो, केही उदाहरण विचार गरौँ। दाउदले लौरो लिएर गोल्यतसामु जाँदा त्यसले यसो भन्यो: “मलाई कुकुर भन्ठानिस्?” (१स १७:४३) अर्को विवरणमा दाउदलाई राजा साउलले खेद्दा तिनले यसो भने: “इस्राएलका राजाले कसलाई पक्रन खोज्दै हुनुहुन्छ? म को हुँ र? म त एउटा मरेको कुकुर . . . मात्र हुँ।” (१स २४:१४) वास्तवमा तिनले ‘आफूजस्तो तुच्छ मानिसले कसरी साउललाई हानि पुऱ्याउन सक्छु र’ भन्न खोज्दै थिए। साथै जोनाथनको छोरा मपिबोसेतले पनि दाउदसित कुराकानी गर्दा आफूलाई “मरेको कुकुर”-सित तुलना गरे। किनकि तिनले दाउदको अगाडि आफूलाई तुच्छ महसुस गरे। (२स ९:८; हेर्नुहोस्: २स ३:८; १६:९; २रा ८:१३) भविष्यवक्ता यसैयाले पनि इस्राएलका अगुवाहरूलाई भुक्न नसक्ने, कुनै काम नगरिकन पल्टिरहने र खतरा आएको देख्दा समेत केही नगर्ने कुकुरसित तुलना गरे। (यसै ५६:१०, ११) केही बाइबल विवरणहरूमा परमेश्वरका सेवकहरूका शत्रुहरूलाई र अन्यजातिका मानिसहरूलाई पनि कुकुरसित तुलना गरिएको छ। (भज २२:१६, २०; ५९:६, १४; मत्ति १५:२६, २७) येसु ख्रिष्टले आध्यात्मिक भोक नभएका मानिसहरूलाई कुकुरसित तुलना गर्दै यसो भन्नुभयो: “पवित्र थोक कुकुरहरूलाई नदेओ।”—मत्ति ७:६.
it “मपिबोसेत” न. २ अनु. ३
मपिबोसेत
साउल राजा छँदा तिनले गिबोनीहरूको नामोनिसान मेटाउने षड्यन्त्र रचेका थिए। त्यसैले बदला लिन गिबोनीहरूले दाउदसामु साउलको घरानालाई नाश गर्ने माग गरे। दाउदले तिनीहरूले भनेअनुसारै गरे तर मपिबोसेतलाई चाहिँ तिनले दया देखाए। किनकि दाउदले यहोवा परमेश्वरसामु जोनाथानसित खाएको शपथ बिर्सिएका थिएनन्। (२स २१:७, ८) बाइबलमा मपिबोसेतबारे थप जानकारी दिइएको छैन तर तिनको छोरा मिकामार्फत साउलको वंश कायम रहेको विवरण भने उल्लेख गरिएको छ। (२स ९:१२; १इ ९:३९-४४) पहिलो इतिहास ८:३४ र ९:४० अनुसार मपिबोसेतको अर्को नाम मरिब-बाआल थियो।
अध्याय २८
तिनी “जीवनभर” यहोवाप्रति वफादार भइरहे
के परमेश्वर जुनसुकै तरिकामा उहाँको उपासना गरिएको स्विकार्नुहुन्छ?
इस्राएलीहरू “अग्ला थानहरूमा” यहोवा र झूटा देवीदेवता दुवैको उपासना गर्थे। त्यहाँ वेदीहरू, धूपदानीहरू अनि काठ वा ढुङ्गाले बनेका पवित्र खामोहरू थिए। त्यसले कनानीहरूले पुज्ने प्रजनन देवी असेराको प्रतिनिधित्व गर्थ्यो। यहुदाभरि त्यस्ता थुप्रै ठाउँहरू थिए। दोस्रो राजा २३:५, ८ मा “यहुदाका सहरहरू र यरुसलेमको वरिपरि . . . [उत्तरी सिमाना] गेबादेखि [दक्षिणी सिमाना] बेर्सेबासम्मका अग्ला थानहरू”-बारे उल्लेख गरिएको छ।
ती अग्ला थानहरूमा इस्राएलीहरू “बाआल, सूर्य, चन्द्र, राशिफलका तारामण्डलहरू र आकाशका सारा सेनाको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउने” गर्थे। ‘यहोवा परमेश्वरको भवनमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूका घरहरू’ पनि थिए। साथै इस्राएलीहरू आफ्ना छोराछोरीलाई ‘मोलेक देवताको निम्ति आगोमा बलि चढाउने’ गर्थे।—२ राजा २३:४-१०.
पुरातत्त्वविद्हरूले यरुसलेम र यहुदाका निजी घरहरूको भग्नावशेषमा माटोले बनेका स-साना मूर्तिहरू फेला पारेका छन्। धेरैजसो मूर्तिहरू ठूला स्तन भएका नाङ्गो स्त्रीहरूका थिए। शास्त्रविद्अनुसार त्यसले प्रजनन देवी अस्तोरेथ र असेरालाई सङ्केत गर्थ्यो। त्यस्ता मूर्तिहरू घरमा राख्दा त्यसले आफ्नो “भाग्य खोल्नेछ अनि गर्भधारण गर्न र बच्चा जन्माउन मदत गर्नेछ” भनी मानिसहरू विश्वास गर्थे।
इस्राएलीहरू त्यसरी अग्ला थानहरूमा यहोवा र झूटा देवीदेवताको उपासना गर्नुप्रति कस्तो दृष्टिकोण राख्थे? हिब्रू विश्वविद्यालयका प्राध्यापक इफ्राइम स्टर्नले बताएअनुसार त्यस्ता धेरै ठाउँहरू “याहवेको [अर्थात् यहोवाको] लागि समर्पित” थिए। उत्खनन गर्दा भेटिएका शिलालेखहरूले पनि यसको पुष्टि गर्छ। एउटा शिलालेखमा यस्तो लेखिएको छ: “म तिमीलाई सामरियाको याहवे र उहाँको असेरामार्फत आशिष् दिन्छु!” अर्को शिलालेखमा चाहिँ यस्तो लेखिएको छ: “म तिमीलाई तेमानको याहवे र उहाँको असेरामार्फत आशिष् दिन्छु!”
यसबाट इस्राएलीहरूले यहोवाको शुद्ध उपासनामा मूर्तिपूजकहरूका घृणित प्रचलनहरू छ्यासमिस गरेका थिए भनेर स्पष्ट हुन्छ। परिणामस्वरूप तिनीहरू नैतिक रूपमा पतित हुँदै गए र आध्यात्मिक अन्धकारमा फसे। के यहोवालाई त्यस्तो किसिमको उपासना स्वीकार्य थियो?
it “हानानि” न. २
हानानि
२. दर्शी हानानि, जसले यहुदाका राजा आसालाई हप्काएका थिए। किनकि ती राजाले यहोवामा भर पर्नुको सट्टा सिरियाको राजासित गठबन्धन गरेका थिए। हानानिले हप्काउँदा राजा आसा साह्रै रिसाए र उनलाई झ्यालखानामा हालिदिए। (२इ १६:१-३, ७-१०) सायद हानानि भविष्यवक्ता येहुका बुबा थिए। इस्राएलका राजा बासा र यहुदाका राजा यहोसापातलाई हप्काउने व्यक्ति येहु नै थिए।—१रा १६:१-४, ७; २इ १९:२, ३; २०:३४.
अध्याय २९
“यहोवा मेरा परमेश्वर हुनुहुन्छ”
it “काग” अनु. ५
काग
विभिन्न प्रजातिका कागमध्ये एक किसिमको काग प्रायजसो पहाडी इलाका र मरुभूमिमा पाइन्छ। यसैयाले दर्शनमा एदोमको उजाड भूमिमा यही प्रजातिको काग देखेका थिए। (यसै ३४:११) ती कागहरूले बढी भएको खाना चट्टानको खोचहरूमा लुकाएर राख्छन् वा कतै जमिनमुनि पातले छोपेर राख्छन्। एलिया केरिथ बेँसीमा लुकेर बसेको बेला यहोवाले चमत्कारपूर्ण ढङ्गमा कागहरूलाई चलाएर तिनलाई खुवाउनुभयो। ती कागहरूले एलियाको लागि हरेक दिन दुई पटक रोटी र मासु ल्याइदिन्थे।—१रा १७:२-६.
it “एलिया” न. १ अनु. ११
एलिया
चमत्कारहरू। बाइबलमा एलियाले गरेको आठ वटा चमत्कारबारे बताइएको छ। ती चमत्कारहरू यसप्रकार छन्: (१) तिनले वर्षा रोके, (२) सारपतकी विधवाको घ्याम्पोको पीठो र भाँडोको तेल कहिल्यै सिद्धिएन, (३) तिनले विधवाको छोरालाई ब्युँताए, (४) तिनको प्रार्थनाको जवाफअनुसारै आकाशबाट आगो वर्षियो, (५) तिनको प्रार्थनाको जवाफअनुरूपै खडेरी परेको ठाउँमा वर्षा भयो, (६) राजा आहाज्याहका कप्तान र तिनीसँग भएका ५० जना मानिसहरू आगोले भस्म भए, (७) आहाज्याहको अर्को कप्तान र तिनका ५० जना मानिसहरू पनि आगोले भस्म भए अनि (८) एलियाको लुगाले पानीमा हिर्काउँदा यर्दन नदी फाटेर दुई भागमा छुट्टियो। तिनलाई आकाशतिर उठाएर लगिनु पनि एउटा चमत्कार थियो। तर त्यो एलियाले बिन्ती गरेकोले नभई यहोवाले नै गर्नुभएको चमत्कार थियो।
अध्याय ३०
मृत्युको मुखैमा पर्दा समेत उनले साहस देखाइन्
it “सिदोन” अनु. ६
सिदोन
सिदोनीहरूको धर्म र त्यसका असरहरू। सिदोनीहरू पतित रीतिरिवाजमा चुर्लुम्मै डुबेका थिए। तिनीहरू अस्तोरेथ देवीको उपासना गर्न अनैतिक र छाडा उत्सवहरू मनाउने गर्थे। इस्राएलीहरूले सिदोनीहरूलाई आफूहरूमाझ रहन दिएकोले तिनीहरूले सिदोनीहरू सँगसँगै झूटो उपासना गर्न थाले। (न्या १०:६, ७, ११-१३) राजा सुलेमानका केही पत्नीहरू सिदोनी थिए र उनीहरूको लहलहैमा लागेर सुलेमानले प्रजनन देवी अस्तोरेथको उपासना गर्न थाले। (१रा ११:१, ४-६; २रा २३:१३) साथै राजा आहाबले पनि यहोवाको नजरमा जे खराब छ, त्यही गरे। तिनले सिदोनी राजाकी छोरी ईजेबेलसित विवाह गरे। ईजेबेलले इस्राएलमा झूटो उपासनालाई अझै बढावा दिइन्।—१रा १६:२९-३३; १८:१८, १९.
it “एतबाल”
एतबाल
(एतबाल) [बाआलसँगै]।
सिदोनीहरूका राजा; राजा आहाबकी पत्नी ईजेबेलका बुबा। (१रा १६:३१) एतबालले आफ्नी छोरीको विवाह राजा आहाबसित गराएका थिए। यसले गर्दा तिनीहरूबीच राजनैतिक साँठगाँठ सुरु भयो। इथोबाल अस्तोरेथ भनेर पनि चिनिने अस्तारतेका पुजारी थिए भनेर इतिहासकार मेनान्डरले बताएका छन्। यही कुरा पछि जोसेफलले पनि उद्धरण गरे। त्यसैले सम्भवतः एतबालको अर्को नाम इथोबाल थियो। ती पुजारीले टायरका राजा हिरामका वंशका फेलेसको हत्या गरेर राजगद्दी हडपेका थिए। उनी उही हिराम थिए जसले मन्दिर बनाउने काममा सुलेमानलाई सघाएका थिए। एतबाल ४८ वर्ष बाँचे, जसमध्ये ३२ वर्ष तिनले शासन गरे। (Against Apion, I) तिनको शासनकालमा व्यापार-व्यवसाय निकै फस्टाएको थियो। यो कुरा मेनान्डरले बताएअनुसार एतबालले लिबियामा बनाएको औजा सहरबाट पुष्टि हुन्छ। तिनको शासनकालमा एक वर्षसम्म खडेरी परेको थियो भनेर पनि मेनान्डर बताएका छन्।—Jewish Antiquities, VIII.
g९३ ११/२२ पृ. १३ अनु. १-४
क्रिसमस, इस्टर र हालोविनजस्ता चाडहरूको सुरुवात
इस्टर कुनै-कुनै देशमा मानिसहरूले बिहान सूर्योदयदेखि नै मनाउन सुरु गर्छन्। यस चाडमा केटाकेटीहरूले नयाँ-नयाँ लुगा र खास किसिमको टोपी पनि लगाउँछन्। साथै खरायोका तस्बिरहरू, बास्केटमा रङ्गाइएका अण्डाहरू र केकहरू पनि प्रयोग गरिन्छ।
यौन उपासना गर्ने फोनिसियाका मानिसहरूको लागि वसन्त ऋतु महत्त्वपूर्ण समय थियो। तिनीहरू अण्डा र खरायोलाई प्रजनन देवी अस्तारते वा इश्तारको (ग्रीकमा आफ्रोडाइट) प्रतीक मान्थे। ती देवी मारकाट र अवैध यौनसम्बन्धजस्ता घृणित कुराहरूको लागि चिनिन्थिन्। तिनका मूर्तिहरू कामुक किसिमका हुन्थे अनि तिनको हातमा अण्डा र छेउमा एउटा खरायो बनाइएको हुन्थ्यो। तिनका उपासकहरूले मन्दिरमा पैसा तिरेर वेश्यावृत्ति गर्थे। कनानमा ती देवीलाई बाआलको पत्नी मानिन्थ्यो। तिनलाई पूज्नेहरू रक्सीले मात्तिएर अनियन्त्रित मोजमस्ती गर्थे; तिनीहरू एकअर्कासित यौनसम्बन्ध राख्दा बाआललाई आफ्नी पत्नीसित यौनसम्बन्ध राख्न मदत पुग्नेछ भनी विश्वास गर्थे। एउटा किताबले (Recent Discoveries in Bible Lands) बताएअनुसार “प्रजनन देवीका नाङ्गा मूर्तिहरू त्यस ठाउँमा जत्तिको अन्त कतै पाइँदैन। कतिपय मूर्तिहरू त अति नै अश्लील किसिमका छन्।”
कारथेजमा पुरातत्त्वविद्हरूले ती देवीको स्मारकहरू भएका ठाउँमा रङ्गीन कलशहरू भेट्टाएका छन्। त्यसमा स-साना बच्चाहरूको जलेका हड्डीहरू थिए। प्रायजसो धनी र प्रतिष्ठित आमाबुबाले आफ्नो नाम-दाम कायम रहोस् भनेर आफ्ना छोराछोरीको बलि चढाउने गर्थे। कतिपय कलशमा त एउटै परिवारका फरक-फरक उमेरका बच्चाहरूको अवशेष भेटिएका छन्।
यसबाट पुरातन समयमा र अहिलेको समयमा गरिने मूर्तिपूजाहरूमा खासै फरक छैन भन्ने कुरा प्रस्ट हुन्छ। इस्टर भन्ने नाम पनि पहिले मनाइने चाडको नामसित मिल्दोजुल्दो छ। के यस्तो किसिमको चाडले परमेश्वरको छोराको आदर हुन्छ र?
अध्याय ३१
एउटी साहसी ठिटीले आफ्नो परमेश्वरबारे बताइन्
it “कुष्ठरोग” अनु. ३-५
कुष्ठरोग
कुष्ठरोगको प्रकार र यसका असरहरू। कुष्ठरोगलाई हान्सेन रोग पनि भनिन्छ। हुनत यो सरुवा रोग हो तर अहिले यो पहिलाजस्तो धेरै फैलने गर्दैन। यो रोग तीन किसिमका छन्: पहिलो किसिमको कुष्ठरोगले असर गर्दा छाला बाक्लो हुन्छ र छालामा गाँठाहरू देखिन थाल्छन्। सुरुमा त्यस्तो गाँठो अनुहारमा देखिन्छ, त्यसपछि त्यो शरीरका अन्य भागहरूमा फैलिन्छ। यसले बिरामीको नाक र घाँटीको भित्री भागमा पनि असर गर्छ। यसलाई ब्ल्याक लेप्रोसी पनि भनिन्छ। यसको अर्को किसिमले स्नायुलाई असर गर्छ। यसलाई ह्वाइट लेप्रोसी भनिन्छ। यो ब्ल्याक लेप्रोसीजस्तो घातक हुँदैन। यसले असर गरेको छालाको भागमा छुँदा पनि दुख्छ र पछि गएर स्पर्श गर्ने क्षमता गुम्न सक्छ। कुष्ठरोगको तेस्रो किसिमले असर गर्दा माथि उल्लेख गरिएका दुवै प्रकारका लक्षणहरू देखिन्छन्।
कुष्ठरोग बढ्दै गएपछि गाँठाहरूबाट पिप निस्किन थाल्छ। टाउको र आँखीभौँका रौँहरू अनि नङहरू पनि कुहिएर झर्न थाल्छन्। बिस्तारै बिरामीका औंलाहरू, हातखुट्टा, नाक र आँखा कुहिन थाल्छन्। यसले गर्दा बिरामीको मृत्यु समेत हुन सक्छ। बाइबलकालीन समयमा पनि यस्तो गम्भीर किसिमको “कुष्ठरोग” थियो भन्न सक्छौँ किनभने हारुनले आफ्नी दिदी मरियमलाई कुष्ठरोग लागेपछि उनको शरीर ‘कुहिएको’ कुरा बताएका छन्।—गन १२:१२.
राजा उज्जियाहले घमन्डले फुलेर यहोवाको मन्दिरमा धूप बाल्ने प्रयास गर्दा यहोवा परमेश्वरले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो र तिनले पीडादायी नतिजा भोगे। यस विवरणले पनि हामीलाई बाइबलमा उल्लेख गरिएको कुष्ठरोगबारे अझ राम्ररी बुझ्न मदत गर्छ।—२रा १५:५; २इ २६:१६-२३.
बाइबलमा कुनै पात्रहरूको नाम किन तोकेरै उल्लेख गरिएको छैन?
रुथको किताबमा मोसाको व्यवस्थाअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न इन्कार गरेका एक जना व्यक्तिको नाम उल्लेख गरिएको छैन। (रुथ ४:१-१२) त्यसोभए के बाइबलमा केही व्यक्तिहरूको नाम उल्लेख नगरिनुको कारण तिनीहरूले खराब काम गरेकोले वा तिनीहरू कम महत्त्वपूर्ण भएकोले हो?
त्यसो त पक्कै होइन! हामी एउटा उदाहरण विचार गरौँ। येसुले अन्तिम निस्तार चाड मनाउन आफ्ना चेलाहरूलाई ‘सहरमा फलानो-फलानो मानिसको’ घरमा गएर तयारी गर्नू भन्ने आज्ञा दिनुभयो। (मत्ति २६:१८) के येसुले ती मानिस खराब भएकोले अथवा कम महत्त्वपूर्ण भएकोले तिनलाई “फलानो-फलानो मानिस” भन्नुभएको हो? होइन! ती व्यक्ति पनि येसुकै चेला थिए भन्ने कुरामा कुनै शङ्का छैन। तर यस विवरणमा तिनको नाम उल्लेख गर्नु आवश्यक नभएकोले तिनलाई “फलानो-फलानो” भनिएको हो।
बाइबलमा थुप्रै दुष्ट व्यक्तिहरूको नाम उल्लेख गरिएको छ। अर्कोतर्फ यहोवाका केही वफादार सेवकहरूको नाम भने उल्लेख गरिएको छैन। उदाहरणको लागि, पहिलो स्त्री हव्वाको नामसित हामी सबै जना परिचित छौँ, उनको अनाज्ञाकारिता र स्वार्थी मनोभावले गर्दा आदम पाप गर्न पुगे र अहिलेसम्म पनि हामीले त्यसको नतिजा भोगिरहेका छौँ। (रोमी ५:१२) अर्कोतर्फ बाइबलमा नुहकी पत्नीको नाम कतै उल्लेख गरिएको छैन। तर उनले आत्मत्यागी मनोभाव देखाइन् र आज्ञाकारी भई आफ्नो पतिलाई महत्त्वपूर्ण काममा सघाइन्। त्यसैले उनको नाम उल्लेख नगरिए पनि यहोवाको नजरमा उनी बहुमूल्य थिइन् भन्ने कुरामा कुनै शङ्का छैन।
बाइबलमा अरू पनि थुप्रै पात्रहरूको विवरण पाउँछौँ जसको नाम उल्लेख गरिएको छैन। तर तिनीहरू निडर थिए र यहोवाको उद्देश्य पूर्तिमा तिनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। जस्तै, एउटी इस्राएली ठिटी। तिनी सिरियाका सेनापति नामानको घरमा दासी थिइन्। तिनले साहसी भई नामानकी पत्नीलाई इस्राएलका यहोवाको भविष्यवक्ताबारे बताइन्। त्यसले गर्दा राम्रो नतिजा हासिल भयो। (२ राजा ५:१-१४) साथै इस्राएलका न्यायकर्ता यिप्तहकी छोरीको विश्वास पनि निकै प्रशंसायोग्य छ। तिनी आफ्नो बुबाको भाकल पूरा गर्नको लागि विवाह गर्ने र बच्चा जन्माउने जस्ता कुराहरू त्याग्न तयार भइन्। (न्यायकर्ता ११:३०-४०) त्यसैगरि ४० भन्दा धेरै भजनरचयिताहरू र वफादार हुँदै महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका अन्य थुप्रै भविष्यवक्ताहरूको नाम पनि बाइबलमा उल्लेख गरिएको छैन।—१ राजा २०:३७-४३.
यस सन्दर्भमा वफादार स्वर्गदूतहरूको उदाहरण अझै उल्लेखनीय छ। स्वर्गमा लाखौँलाख स्वर्गदूतहरू छन् तर बाइबलमा केवल दुई जनाको नाम मात्र उल्लेख गरिएको छ। ती हुन, गब्रिएल र माइकल। (दानिएल ७:१०; लुका १:१९; यहुदा ९) बाँकी स्वर्गदूतहरूको नाम उल्लेख गरिएको छैन। उदाहरणको लागि, सिमसोनको बुबा मानोहले एक स्वर्गदूतलाई यस्तो प्रश्न गरे: “तपाईँको नाम के हो? किनभने तपाईँले भन्नुभएको कुरा पूरा भएपछि हामी तपाईँको सम्मान गर्न चाहन्छौँ।” तर ती स्वर्गदूतले यसो भने: “मेरो नाम नसोध।” ती स्वर्गदूतले नम्र भई त्यस्तो सम्मान स्विकार्न इन्कार गरे किनभने परमेश्वर मात्रै त्यस्तो सम्मानको योग्य हुनुहुन्छ।—न्यायकर्ता १३:१७, १८.
बाइबलमा कुनै पात्रको नाम उल्लेख गरिनु वा नगरिनुको कारणबारे केही बताइएको छैन। तर हामी ती प्रत्येक वफादार पात्रहरूबाट थुप्रै कुरा सिक्न सक्छौँ। तिनीहरूले आफ्नो नाम बाइबलमा उल्लेख नगरिए तापनि वफादार भई परमेश्वरको सेवा गरे।
अध्याय ३२
‘हे यहोवा, उसको आँखा खोलिदिनुहोस्’
it “एलिसा” अनु. २
एलिसा
एलिसा सापातका छोरा थिए। तिनले ईसापूर्व दसौँ र नवौँ शताब्दीमा यहोवाको भविष्यवक्ताको रूपमा सेवा गरे। तिनी भविष्यवक्ता एलियाका उत्तराधिकारी थिए। यहोवाले एलियालाई हाबिल-मेहोलाहमा बस्ने एलिसालाई भविष्यवक्ता नियुक्त गर्नू भनेर निर्देशन दिनुभयो। एलिसा हलो जोतिरहेको भेट्टाएपछि एलियाले आफ्नो लुगा अर्थात् भविष्यवक्ताले लगाउने विशेष किसिमको पोसाक तिनलाई ओढाइदिए। (१रा १९:१६) त्यहाँ १२ हल बहरले खेत जोतिरहेका थिए र “एलिसाचाहिँ सबैभन्दा पछाडि थिए।” उन्नाइसऔँ शताब्दीमा विलियम थोमसनले आफ्नो किताबमा (The Land and the Book) त्यतिबेलाको चलनबारे एउटा रोचक कुरा बताएका छन्। त्यतिबेला अरबी किसानहरूले खेत जोत्नको लागि एकअर्कालाई मदत गर्थे। तिनीहरू सानो खालको हलो प्रयोग गर्थे र एक जनाले चाहिँ बिउ छर्ने काम गर्थे। यसरी सजिलै एकै दिनमा काम सकिन्थ्यो। खेत जोतिरहेकाहरूमध्ये एलिसा सबैभन्दा पछाडि भएकोले तिनले आफ्नो काम रोके पनि अरूलाई बाधा पुग्ने थिएन। एलिसाले एक हल बहर काटेर बलि चढाए अनि उनले जुवा र हलोको दाउरा बाले। यसबाट एलिसा आफूलाई अह्राएको काम पूरा गरिहाल्ने व्यक्ति थिए भनेर थाह पाउन सक्छौँ। साथै आफू भविष्यवक्ता नियुक्त भएकोमा तिनी यहोवाप्रति कृतज्ञ थिए। एलिसा आफूले तयार पारेको खाना खाएपछि तुरुन्तै एलियाको पछि लागे।—१रा १९:१९-२१.
it “अन्धोपन” अनु. ६
अन्धोपन
एलिसाले यहोवालाई बिन्ती गरेपछि सिरियालीहरू अन्धो भएका थिए र यो अन्धोपन तिनीहरूले साँच्चै आँखा नदेखेको नभई तिनीहरूको दिमाग बोधो भएको हुनुपर्छ। यदि पूरै सेना अन्धो भएको भए तिनीहरूलाई हातै समातेर डोऱ्याउनुपर्ने थियो। तर बाइबलमा एलिसाले तिनीहरूलाई यसो भनेको पाउँछौँ: “तिमीहरूले बाटो बिरायौ। तिमीहरू जुन सहरमा जान खोज्दै छौ, त्यो सहर यो होइन। मेरो पछि आओ।” यो अवस्थाबारे विलियम जेम्सले आफ्नो किताबमा (Principles of Psychology) यस्तो लेखेका छन्: “मस्तिष्कको गडबडी हुँदा त्यसको एउटा असर भनेको दिमाग बोधो हुनु हो। यसको मतलब मानिसले आफ्नो अगाडि भइरहेका कुराहरू देख्न त देख्छन् तर वास्तवमा के भइरहेको छ भनेर बुझ्न सक्दैनन्। मनोवैज्ञानिक पक्षबाट भन्नुपर्दा मानिसले देखेका कुराहरूबीचको सम्बन्ध के हो र त्यसको अर्थ के हो भनेर बुझ्न सक्दैनन्।” यस्तै प्रकारको अन्धोपन सिरियाली सेनालाई पनि भएको थियो र तिनीहरू सामरिया पुगेपछि यहोवाले तिनीहरूको आँखा खोलिदिनुभयो। (२रा ६:१८-२०) यस्तै अन्धोपन लुतको समयमा सदोमका मानिसहरूलाई पनि भएको थियो। विवरण पढ्ने हो भने अन्धो भएकोमा विचलित हुनुको साटो तिनीहरूले छामछाम छुमछुम गर्दै लुतको घरको ढोका खोज्न थालेका थिए।—उत्प १९:११.
it “एलिसा” अनु. २७-२८
एलिसा
तिनले गरेका कामहरू। परमेश्वरको पवित्र शक्ति पाएर एलिसाले १५ वटा चमत्कार गरेका थिए। तर तिनको मृत्युपछि पनि यहोवाले तिनलाई प्रयोग गरेर अझ एउटा चमत्कार गर्नुभयो। एलिसा मृत्युसम्मै वफादार रहे। तिनलाई परमेश्वरले अनुग्रह देखाउनुभएको थियो। बाइबल विवरणअनुसार एलिसाको लास गाडेको केही समयपछि मानिसहरू अर्को लास गाड्न गइरहेका थिए। त्यसैबेला तिनीहरूले मोआबका लुटेराहरूको दल आइरहेको देखे र लुटेराहरूबाट बच्न तिनीहरूले त्यो लास एलिसाको चिहानमा फ्याँकेर भागे। अनि एलिसाका हड्डीहरू छोएपछि त्यो मानिस जीवित भयो र उभियो।—२रा १३:२०, २१.
लुका ४:२७ मा येसुले एलिसालाई भविष्यवक्ता भन्नुभएको छ। साथै पावलले हिब्रू ११:३५ मा एलियासँगै एलिसालाई पनि सङ्केत गरेको हुनपर्छ। किनकि तिनीहरू दुवैले चमत्कारपूर्ण ढङ्गमा मरिसकेकाहरूलाई फेरि जीवित पारेका थिए। एलियाले भविष्यवक्ताको काम सुरु गर्दा इस्राएलीहरू बाआलको उपासनामा चुर्लुम्मै डुबेका थिए। त्यसैले शुद्ध उपासना कायम राख्न तिनलाई ठूलो जोस चाहिएको थियो। तिनले थुप्रै मानिसलाई यहोवाकहाँ फर्कन मदत गरे। एलियाले थालेको कामलाई नै एलिसाले निरन्तरता दिए। तुलनात्मक रूपमा एलिसाको सेवाको दौडान अवस्था शान्तिपूर्ण थियो। त्यस दौडान तिनले एलियाले थालेको काम पूरा गरे। एलियाले ८ वटा चमत्कार गरे भने एलिसाले चाहिँ १६ वटा चमत्कार गरे। एलियाले जस्तै तिनले पनि यहोवाको नाम अनि शुद्ध उपासनाको लागि जोस देखाए। तिनले धीरज, प्रेम, र दयाजस्ता गुणहरू देखाए र दृढ हुँदै यहोवाको पक्षमा खडा भए। तिनी दुष्टहरूलाई यहोवाको न्यायको सन्देश सुनाउनदेखि पछि हटेनन्। त्यसैले हिब्रू १२:१ मा ‘साक्षीहरूको बाक्लो बादलमध्ये’ तिनको नाम पनि उल्लेख गरिएको छ।
अध्याय ३३
तिनले यहोवाले रोज्नुभएको राजालाई जोगाए
it “शाही अङ्गरक्षक”
कारी अङ्गरक्षक
अथल्याहलाई सिंहासनबाट हटाउन र यहोआसलाई यहुदाको राजा बनाउन अङ्गरक्षकहरूको दलले यहोयादालाई मदत गरेको थियो। त्यस दललाई कारीहरू पनि भनिन्छ।—२रा ११:४, १३-१६, १९, फुटनोट।
कतिपय शास्त्रविद्हरूअनुसार कारीहरू कराथी भनेर पनि चिनिन्थे। तिनीहरूले दाउद र सुलेमानको सेनामा सेवा गरेको रेकर्ड पाइन्छ। केही शास्त्रविद्हरूअनुसार कराथीहरूले ती राजाहरूको अङ्गरक्षकको रूपमा पनि काम गर्थे। (२स ८:१८; १रा १:३८; १इ १८:१७) मेसोरेटिक मुठामा हेर्ने हो भने २ समुएल २०:२३ मा त्यस दललाई “कारी अङ्गरक्षकहरू” भनिएको छ। तर त्यसको मार्जिनल नोटमा र अन्य थुप्रै हिब्रू पाण्डुलिपिहरूमा भने “कराथीहरू” भनिएको छ। त्यसैले कराथीहरू र कारीहरू एउटै दलका हुन सक्छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ।
एसिया माइनरको दक्षिण पश्चिमी भागमा कारीया भनिने ठाउँ छ। अनि इजकिएल २५:१६ र सपन्याह २:५ मा कराथीहरू सँगसँगै पलिस्तियालीहरूबारे पनि उल्लेख गरिएको पाउँछौँ। तर ग्रीक सेप्टुआजिन्ट-मा यी पदहरूमा कराथीहरूलाई “क्रेटी” भनिएको पाउँछौँ। कसै-कसैको विचारमा कारी अङ्गरक्षकहरू कारीयाबाट नै थिए। तर तिनीहरू पछि क्रेट बसाइँ सरेका हुन सक्छन् र पलिस्तियालीहरू पनि क्रेटबाटै थिए।
‘मुकुट र साक्षी-पत्र’
प्रधानपुजारीले जवान राजा यहोआसको शिरमा किन अनि कसरी साक्षी-पत्र “राखिदिए”? यसबारे जर्मन शास्त्रविद् ओटो थियोनिसले यसो भने: “मोसाको व्यवस्थामा परमेश्वरले दिनुभएको सबै नीतिनियम पाइन्थ्यो। राजालाई मुकुट लगाइदिएपछि तिनको शिरमा साक्षी-पत्र राखिन्थ्यो। यसले एउटा महत्त्वपूर्ण कुरालाई बुझाउँथ्यो।” (Die Bücher der Könige) त्यसैगरि प्रोफेसर अर्नेस्ट बर्थियोले यसो भने: “राजाको शिरमाथि व्यवस्था राखिदिनुले तिनले व्यवस्थाअनुसारै शासन गर्नुपर्छ भन्ने अर्थ दिन्थ्यो।”—Die Bücher der Chronik.
व्यवस्थाअनुसार राजाले सिंहासनमा बसेर शासन गर्न थालेपछि तिनले आफ्नो लागि व्यवस्थाको एउटा प्रति बनाउनुपर्थ्यो। तिनले त्यो जीवनभर पढ्नुपर्थ्यो र त्यसैअनुसार कामकुरा गर्नुपर्थ्यो। (व्यवस्था १७:१८-२०) नयाँ राजाको शिरमाथि “साक्षी-पत्र” राखिनुले तिनी राजा भए पनि यहोवाको व्यवस्थाभन्दा उच्च छैनन् भन्ने कुरालाई बुझाउँथ्यो। तर दुःखको कुरा प्रधानपुजारी यहोयादाको मृत्युपछि यहोआसले त्यो महत्त्वपूर्ण कुरा बिर्सिए। अनि तिनी बिस्तारै यहोवाको उपासनाबाट तर्किए। पछि गएर तिनको हत्या भयो।—२ इतिहास २४:१७-२५.
it “यहोआस” न. १ अनु. ५
यहोआस
यहोवाको मन्दिर बनेको १५० वर्ष भइसकेको थियो। तर त्यो पुरानो भएकोले मात्र नभई अथल्याहको शासनकालमा गरिएको लापरबाही र लुटपाटले गर्दा जीर्ण अवस्थामा पुगेको थियो। त्यसैले यहोआसले लेवीहरूलाई भवनको मर्मतसम्भार गर्न यहुदाका सहरहरूमा गएर पैसा जम्मा गर्न भने। तर लेवीहरूले त्यो काम गर्न ढिलासुस्ती गरे। (२रा १२:४-८; २इ २४:४-७) तर पछि पैसा जम्मा गर्ने र त्यसको व्यवस्थापन गर्ने तरिकामा केही परिवर्तन गरियो। अनि इस्राएलीहरूले पनि त्यो काममा साथ दिए र मर्मतसम्भारको काम पूरा भयो।—२रा १२:९-१६; २इ २४:८-१४.
यहोआस खराब सङ्गतमा लागेर यहोवादेखि तर्के
छोराछोरीलाई सिकाउनुहोस्
परमेश्वरको मन्दिर भएको सहर यरुसलेमको अवस्था राम्रो थिएन। राजा आहाज्याहको भर्खरै हत्या भएको थियो। त्यसपछि तिनकी आमा अथल्याहले कल्पना समेत गर्न नसकिने एकदमै नीच काम गरिन्। उनले आहाज्याहका छोराहरू अर्थात् आफ्नै नातिहरूको हत्या गरिन्। किन होला? किनभने उनी आफै रानी बन्न चाहन्थिन्!
तर अथल्याहको एक जना सानो नाति यहोआसलाई भने बचाइयो। उनले त्यो कुराको सुइँको समेत पाइनन्। यहोआसलाई कसरी बचाइयो, तिमीलाई थाह छ? बालक यहोआसको यहोसेबा भन्ने एक फुपू थिइन्। तिनले यहोआसलाई मन्दिरमा लुकाएर राखिन्। तिनको पति यहोयादा प्रधानपुजारी भएकोले तिनले यहोआसलाई बचाउन सकेकी थिइन्। तिनीहरू दुवै मिलेर बालकलाई सुरक्षित राखे।
करिब छ वर्षसम्म यहोआसलाई मन्दिरमा लुकाएर राखियो। त्यहाँ तिनलाई यहोवा परमेश्वर र उहाँको व्यवस्थाबारे सिकाइयो। तिनी सात वर्षको भएपछि यहोयादाले तिनलाई राजा बनाए। यहोयादाले कसरी त्यसो गरे? अनि यहोआसकी हजुरआमा दुष्ट रानी अथल्याहलाई के भयो?
यहोयादाले यरुसलेमका राजालाई सुरक्षा दिन खटाइएका शक्तिशाली अङ्गरक्षकहरू जम्मा गरे। तिनले आफू र आफ्नी पत्नीले राजा आहाज्याहको छोरा यहोआसलाई कसरी जोगाए भनी तिनीहरूलाई बताए। त्यसपछि यहोयादाले बालक यहोआसलाई ती अङ्गरक्षकहरूसामु ल्याए। शासन गर्ने अधिकार यहोआसकै हो भन्ने कुरामा तिनीहरू पक्का थिए। त्यसपछि तिनीहरूले ती बालकलाई राजा अभिषेक गर्ने योजना बनाए।
त्यसपछि यहोयादाले राजकुमारलाई बाहिर ल्याए अनि तिनको शिरमा मुकुट लगाइदिए। त्यो देखेर मानिसहरूले “थपडी मार्दै यसरी जयजयकार गर्न थाले: ‘राजा दीर्घायु होऊन्!’” ती अङ्गरक्षकहरूले यहोआसलाई घेरेर सुरक्षा दिए। मानिसहरूले खुसीयाली मनाइरहेको सुन्नेबित्तिकै अथल्याह दौडेर त्यहाँ पुगिन् र त्यसको विरोध गर्न थालिन्। तर यहोयादाको आदेशअनुरूपै ती अङ्गरक्षकहरूले अथल्याहलाई मारे।—२ राजा ११:१-१६.
के यहोआसले यहोयादाले भनेअनुसारै सही काम गरिरहे? यहोयादा बाँचुन्जेल तिनी आज्ञाकारी भइरहे। तिनले मन्दिरको मर्मतसम्भारको लागि अनुदान जम्मा भइरहेको छ कि छैन भनेर पनि निरीक्षण गरे। त्यस काममा तिनका बुबा आहज्याह र हजुरबुबा यहोरामले हेलचेक्य्राइँ गरेका थिए। तर के प्रधानपुजारी यहोयादाको मृत्युपछि पनि तिनी वफादार भइरहे? अब हामी सँगै थाह पाऔँ।—२ राजा १२:१-१६.
यहोयादाको मृत्यु हुँदा यहोआस ४० वर्षका थिए। त्यसपछि तिनले यहोवाका उपासकहरूसँग सङ्गत गर्नुको सट्टा झूटो देवीदेवताका उपासकहरूसँग धेरै समय बिताउन थाले। त्यतिबेला यहोयादाका छोरा जकरिया प्रधानपुजारी थिए। यहोआसले खराब काम गरिरहेका छन् भन्ने कुरा थाह पाएपछि जकरियाले के गरे?
जकरियाले यहोआसलाई यसो भने: “तिमीहरूले यहोवा परमेश्वरलाई त्यागेको हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” त्यो कुरा सुनेर यहोआस रिसले चूर भए र जकरियालाई ढुङ्गाले हानेर मार्ने आदेश दिए। एकछिन विचार गरौँ त, यहोआस सानो छँदा तिनलाई एक हत्यारादेखि जोगाइएको थियो। तर अहिले भने तिनी आफै जकरियाको हत्यारा बने!—२ इतिहास २४:१-३, १५-२२.
यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामी पक्कै पनि अथल्याहजस्तो क्रूर र निर्दयी व्यक्ति बन्न चाहँदैनौँ। बरु येसुले सिकाउनुभएजस्तै हामीले आफ्ना भाइबहिनीहरूलाई र शत्रुहरूलाई समेत प्रेम गर्नुपर्छ। (मत्ति ५:४४; युहन्ना १३:३४, ३५) अनि यो कुरा पनि मनमा राख्नु महत्त्वपूर्ण छ: हामीले यहोआसले जस्तै जे सही छ, त्यही गरिरहन छोड्नु हुँदैन; हामीले यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्न प्रोत्साहन दिने व्यक्तिहरूसित सङ्गत गरिरहनुपर्छ।
अध्याय ३४
“तिनले यहोवा परमेश्वरलाई कहिल्यै त्यागेनन्”
के तपाईँलाई थाह थियो?
पुरातन समयका माटाका छापहरूमा भएका नामहरू के बाइबलमा पनि उल्लेख गरिएका छन्?
▪ पुरातन समयमा आधिकारिक कागजातहरू बनाउने मानिसहरूले त्यसलाई बेरेर मुठा बनाउँथे, धागोले बाँध्थे र त्यसमा माटोको लेपबाट बनेको छाप लगाउँथे। त्यसरी छापा लगाएपछि त्यो कागजात आधिकारिक हो भन्ने कुराको प्रमाण हुन्थ्यो।
कहिलेकाहीँ त्यस्ता मुठाहरूमा छापऔँठीले पनि छाप लगाइन्थ्यो। त्यस्ता औँठीहरू निकै बहुमूल्य ठानिन्थ्यो। (उत्पत्ति ३८:१८; एस्तर ८:८; यर्मिया ३२:४४) त्यस्ता छापऔँठीमा प्रायः औँठीको मालिकको नाम, तिनको पद र बुबाको नाम पनि लेखिएको हुन्थ्यो।
अनुसन्धानकर्ताहरूले त्यस्ता सयौँ छापहरू भेट्टाएका छन्, जसलाई बुल्ला पनि भनिन्छ। त्यस्ता छापहरूमध्ये कुनै-कुनैमा बाइबलमा उल्लेख गरिएका मानिसहरूको नाम पनि कुँदिएका छन्। जस्तै, पुरातत्त्वविद्हरूले यहुदाका दुई जना राजाको छाप फेला पारे। एउटामा “यो छाप यहोतामका [योताम] छोरा यहुदाका राजा आहाजको हो” भनेर लेखिएको छ; अर्कोमा “यो छाप आहाजका छोरा यहुदाका राजा हिजकियाहको हो” भनेर लेखिएको छ। (२ राजा १६:१, २०) आहाज र हिजकियाहले ईसापूर्व आठौँ शताब्दीमा शासन गरेका थिए।
ip-1 पृ. १९०-१९१ अनु. ४-६
राष्ट्रहरूलाई यहोवाको चेतावनी
४ सबैभन्दा सुरुमा पलिस्तियालीहरूलाई चेतावनी दिइयो। “राजा आहाजको मृत्यु भएको वर्ष यस्तो घोषणा गरियो: ‘ए पलिस्तियालीहरू हो, रमाउन छोड। तिमीहरूलाई हिर्काउनेको लौरो भाँचियो भन्दैमा खुसी नहोऊ। किनकि माउ साँपले विषालु साँपलाई जन्माउनेछ अनि त्यसको बच्चा उड्ने विषालु साँप हुनेछ।’”—यसैया १४:२८, २९.
५ राजा उज्जियाहसित पलिस्तियालीहरूलाई यहुदामाथि आक्रमण गर्नदेखि रोक्न सक्ने क्षमता थियो। (२ इतिहास २६:६-८) पलिस्तियालीहरूको लागि उज्जियाह सर्पजस्तै थिए जसले बारम्बार आफ्नो लौरोले तिनीहरूलाई प्रहार गरिरहन्थे। उज्जियाहको मृत्युपछि ‘त्यो लौरो भाँचियो’ र योतामले शासन गर्न थाले तर “मानिसहरूले भने अझै पनि खराब काम गरिरहेका थिए।” त्यसपछि आहाज राजा बने र अवस्था परिवर्तन भयो। पलिस्तियालीहरू यहुदामाथि आक्रमण गरेर सहरहरू कब्जा गर्न सफल भए। (२ इतिहास २७:२; २८:१७, १८) तर ईसापूर्व ७४६ मा अवस्था फेरि परिवर्तन भयो। राजा आहाजको मृत्यु भयो र सानै उमेरमा हिजकियाह राजा बने। पलिस्तियालीहरूले यहुदामाथि अझै जित हासिल गर्न सकिन्छ भनेर सोचेका भए त्यो तिनीहरूको ठूलो भूल हुने थियो। हिजकियाहले पलिस्तियालीहरूमाथि जित हासिल गर्न थाले। उज्जियाहको वंशका (‘माउको बच्चा’) हिजकियाह “उड्ने विषालु साँप”-जस्तै थिए, जसले शत्रुहरूलाई द्रुत गतिमा आक्रमण गर्छ अनि विष ओकलेर तिनीहरूलाई मार्छ।
६ त्यो वर्णन नयाँ राजा हिजकियाहको लागि एकदमै सुहाउँदो थियो। “तिनले पलिस्तियालीहरूलाई पनि हराए। तिनले पहरेदारको किल्लादेखि पर्खालले घेरिएका सहरसम्मको सबै इलाका कब्जा गरे।” (२ राजा १८:८) अस्सेरियाका राजा सनहेरिबबारे लेखिएका अभिलेखअनुसार पलिस्तियालीहरू हिजकियाहको अधीनमा परे। नतिजास्वरूप “दरिद्र” अर्थात् यहुदाले शान्ति-सुरक्षा र प्रशस्त खानेकुरा पाए तर पलिस्तियालीहरूले भने भोकमरीको सामना गरे।—यसैया १४:३०, ३१ पढ्नुहोस्।
g १२/१० पृ. २७ अनु. ३-५
एउटा भरपर्दो किताब—भाग २
ईसापूर्व ७४० मा अस्सेरियालीहरूले इस्राएलको उत्तरी राज्यको राजधानी सामरियालाई कब्जा गरे र त्यहाँका मानिसहरूलाई निर्वासनमा लगे। त्यसको आठ वर्षपछि अस्सेरियालीहरूले यहुदामाथि पनि आक्रमण गरे। (२ राजा १८:१३) अस्सेरियाका राजा सनहेरिबले यहुदालाई घेर्न छोड्न तिनले राजा हिजकियाहलाई ३० टालेन्ट सुन र ३०० टालेन्ट चाँदी जरिबाना तिर्न भने। बाइबल विवरणअनुसार हिजकियाहले त्यो जरिबाना तिरे। तैपनि सनहेरिबले यहुदाको राजधानी यरुसलेम कब्जा गर्न चाहे।—२ राजा १८:९-१७, २८-३१.
निनवेमा पुरातत्त्वविद्हरूले सनहेरिबसम्बन्धी यस्ता अभिलेखहरू पाएका छन्, जसबाट त्यो विवरण वास्तविक हो भनेर प्रमाणित हुन्छ। एउटा षड्भुज आकारको माटोको ढुङ्गामा अस्सेरियाका राजाले घमन्ड गर्दै भनेको यस्तो कुरा कुँदिएको छ: “त्यस यहुदी हिजकियाहले मैले भनेअनुसार गरेन। मैले यहुदाका ४६ वटा शक्तिशाली सहरहरू, किल्लाहरू र वरपरका स-साना गाउँहरूमा घेराबन्दी गरेँ र त्यसलाई कब्जा गरेँ। . . . चरालाई पिँजडामा राखेझैँ मैले हिजकियाहलाई त्यसकै घरमा बन्दी बनाएँ।” हिजकियाहले “८०० टालेन्ट चाँदी, ३० टालेन्ट सुन र बहुमूल्य रत्नहरू . . . विभिन्न चिजबिजहरू” पठाएका थिए भनेर सनहेरिबले बढाइचढाइ गरेका छन्।
तर सनहेरिबले यरुसलेम कब्जा गर्न नसकेको कुरा कतै उल्लेख गरेका छैनन्। यहाँसम्म कि तिनले यरुसलेम कब्जा गर्न खोज्दा परमेश्वरले कसरी तिनका सेनालाई लज्जास्पद तरिकामा हराउनुभयो भन्नेबारे पनि केही बताएका छैनन्। बाइबल विवरणअनुसार परमेश्वरका स्वर्गदूतले एकै रातमा १ लाख ८५ हजार अस्सेरियाली सिपाहीलाई मारे। (२ राजा १९:३५, ३६) बाइबलविद् ज्याक फिनिगन यसो भन्छन्: “अस्सेरियाली राजाहरू अक्सर आफ्नो विजयको कुरा मात्र उल्लेख गर्ने गर्छन्। त्यसैले सनहेरिबले आफ्नो हारबारे उल्लेख नगर्नु अचम्मलाग्दो कुरा होइन्।”
के तपाईँलाई थाह थियो?
के राजा हिजकियाहले यरुसलेममा साँच्चै सुरुङ बनाएका थिए?
ईसापूर्व ७४५ देखि ७१७ सम्म हिजकियाह यहुदाका राजा थिए। त्यतिबेला शक्तिशाली अस्सेरियालीहरूले यरुसलेम वरपरका सहरहरूलाई आक्रमण गरिरहेका थिए। बाइबल विवरणअनुसार हिजकियाहले यरुसलेमलाई जोगाउन र युद्धको दौडान सहरमा पानीको अभाव हुन नदिन कडा मेहनत गरे। तिनले ५३३ मिटर लामो नहर अर्थात् सुरुङ बनाएर यरुसलेम सहरसम्म पानी ल्याए।—२ राजा २०:२०; २ इतिहास ३२:१-७,३०.
इस्वी संवत् १८८० मा त्यो सुरुङ भेट्टाइयो। त्यसलाई हिजकियाहको सुरुङ अथवा सिलाओम सुरुङ भन्ने नाम दिइयो। त्यस सुरुङभित्र एउटा शिलालेख भेट्टाइयो, जसमा सुरुङ निर्माणको अन्तिम चरणबारे बताइएको थियो। त्यस शिलालेखमा कुँदिएका अक्षरहरूको अध्ययन गरेपछि बाइबलविद्हरू त्यो सुरुङ हिजकियाहको समयको हो भन्ने निष्कर्षमा पुगे। तर हालैका वर्षहरूमा केही विज्ञहरूले त्यो सुरुङ हिजकियाहको समयभन्दा ५०० वर्षपछि मात्र बनेको थियो भनेर दाबी गरे। सन् २००३ मा इजरायलका केही विज्ञहरूले त्यो सुरुङ वास्तवमा कहिले बनेको थियो भनेर पत्ता लगाएका कुरा सार्वजनिक गरे। तिनीहरू कस्तो निष्कर्षमा पुगे?
यरुसलेमको हिब्रू विश्वविद्यालयका डा. आमोस फ्रमकिन यसो भन्छन्: “सुरुङका भित्ताहरू र त्यसको माथिल्लो भागमा जम्मा भएको खनिज पदार्थहरूको अनुसन्धान गर्दा त्यो सुरुङ हिजकियाहको समयमै बनेको थियो भन्ने कुरा प्रमाणित हुन्छ।” वैज्ञानिक परीक्षण, पुरातन लेखोटहरूको अध्ययन अनि ऐतिहासिक रेकर्डहरूको अध्ययनबाट त्यो सुरुङ ईसापूर्व ७०० तिर बनिएको थियो भनेर प्रस्ट हुन्छ। बाइबलकालीन समयमा बनिएका अरू थुप्रै भवन वा सुरुङहरूको तुलनामा सिलोआमको सुरुङ निर्माण गरिएको मिति सबैभन्दा सही छ।
अध्याय ३५
तिनले आफूलाई परिवर्तन गर्न साहस देखाए
gl पृ. १० अनु. ५, फुटनोट
इस्राएल वरपरका ठाउँहरू
इस्राएलीहरू मिश्रबाट निस्किएको समयतिर सम्भवतः एमोरीहरू सबैभन्दा शक्तिशाली थिए। (व्य १:१९-२१; यहो २४:१५) तिनीहरूले मोआबको अर्नोनको बेँसीसम्म कब्जा गरेका थिए। तर यर्दन नदी पारिपट्टि रहेको यरिहो सहरलाई अझै पनि “मोआबको मरुभूमि” भनिन्थ्यो। एमोरी राजाहरूले बासान र गिलादमाथि पनि शासन गर्थे।—गन २१:२१-२३, ३३-३५; २२:१; ३३:४६-५१.
[फुटनोट]
“कनानी” शब्दले जस्तै “एमोरी” शब्दले पनि कनानका सबै मानिसलाई जनाएको हुन सक्छ अथवा “एमोरी”-ले एउटा फरक कुललाई मात्र बुझाएको हुन सक्छ।—उत्प १५:१६; ४८:२२.
it “मनस्से” न. ४ अनु. २
मनस्से
मनेस्सेले यहोवाको सन्देशलाई वास्तै गरेनन्। त्यसैले अस्सेरियाका राजाले तिनलाई पक्रेर आफ्नो साम्राज्यको एउटा प्रमुख सहर बेबिलोन लगे। (२ इति. ३३:१०, ११) अस्सेरियाका राजा एसरहद्दोनलाई कर तिर्नेहरूको सूचीमा “हत्ती, समुद्री किनारका देशहरू र टापुहरूका” २२ जना राजाहरू नाम उल्लेख गरिएको छ जसमा ‘यहुदाका राजा मनस्सेको’ नाम पनि छ। असुरबानीपललाई कर तिर्ने राजाहरूको सूचीमा पनि मनस्सेको नाम उल्लेख गरिएको पाइन्छ।—Ancient Near Eastern Texts.
it “अङ्कुसे” अनु. ४
अङ्कुसे
पुरातन समयमा बन्दीहरूलाई पक्रेपछि कहिलेकाहीँ तिनीहरूको ओठ, नाक वा जिब्रोमा अङ्कुसे लगाएर लगिन्थ्यो। एउटा पुरातन चित्रमा एक अस्सेरियाली राजाले तीन जना बन्दीहरूको ओठमा अङ्कुसे लगाएर डोरीले समातेको र एक जनाको आँखा भालाले घोपेर अन्धो बनाइदिएको देखाइएको छ। त्यसैले अस्सेरियाका राजा सनहेरिबले भविष्यवक्ता यसैयामार्फत यहोवाले लाक्षणिक रूपमा भन्नुभएको यो कुरा बुझेको हुनुपर्छ: “त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।” —२रा १९:२०, २१, २८; यसै ३७:२९.
it “साहुल” अनु. २
साहुल
साहुल एउटा ज्याबल हो जुन भवनहरू सही ढङ्गमा निर्माण गर्न वा त्यसको संरचना परीक्षण गर्न प्रयोग गरिन्छ। यहोवाले उहाँबाट तर्किएको यरुसलेमलाई जाँच्नेबारे यस्तो भविष्यवाणी गर्नुभयो: “मैले जुन डोरीले सामरियालाई नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु र जुन साहुलले आहाबको घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु।” परमेश्वरले सामरिया र आहाबको घरानालाई नाप्नुभएको थियो र तिनीहरू नैतिक रूपमा खराब र भ्रष्ट भएको पाउनुभयो। त्यसैले तिनीहरूले विनाश भोगे। त्यसैगरि परमेश्वरले यरुसलेम र त्यसका शासकहरूलाई नाप्नुहुने थियो र तिनीहरूले गरेका दुष्ट कामहरू उदाङ्ग पार्नुहुने थियो। अनि त्यस सहरले पनि विनाश भोग्ने थियो। नभन्दै ईसापूर्व ६०७ मा यरुसलेम सहरको विनाश भयो। (२रा २१:१०-१३; १०:११) यहोवाले यसैयामार्फत यरुसलेमका दुष्ट अनि घमन्डी शासकहरूमाथि आउनै लागेको विपत्तिबारे यसो भन्नुभयो: “म न्यायलाई नाप्ने डोरी बनाउनेछु र न्यायोचित कामलाई साहुल बनाउनेछु।” साँचो न्याय र धार्मिकताका स्तरहरूले परमेश्वरको साँचो उपासकहरू को हुन् र को होइनन् भन्ने कुरा छुट्ट्याउने थियो। अनि धर्मी ठहरिएकाहरूको ज्यान जोगिने थियो र दुष्टहरूले भने ज्यान गुमाउने थिए।—यसै २८:१४-१९.
अध्याय ३६
तिनले मानिसहरूलाई यहोवाकहाँ फर्कन मदत गरे
it “नेको” अनु. २
नेको
राजा योसियाहले यहुदामा शासन गरिरहेको समयमा मिश्रमा नेकोले शासन गरिरहेका थिए। ग्रीक इतिहासकार हेरोडोटसअनुसार नेकोस (नेको) सामेटिकसका (सामाटिक प्रथम) छोरा थिए र तिनले आफ्नो बुबापछि मिश्रमा शासन गरे। तिनले नाइल नदी र लाल समुद्रलाई जोड्ने एउटा नहरको निर्माण सुरु गरे तर त्यसलाई पूरा गर्न भने सकेनन्। तैपनि तिनले समुद्री यात्रा गरेर अफ्रिका महादेश ढाक्न एउटा फोनिसियाली पानीजहाज पठाए। त्यो यात्रा पूरा गर्न तीन वर्ष लाग्यो।
अध्याय ३७
‘तिनले आफूलाई अशुद्ध पारेनन्’
it “जादुगर अनि तन्त्रमन्त्र” अनु. २-६
जादुगर अनि तन्त्रमन्त्र
“कालो” जादुमा टुनामुना, खास किसिमको अभिशाप र “नजर लगाउनु”-जस्ता कुराहरू समावेश छन् र ती शत्रुहरूलाई हानि पुऱ्याउन प्रयोग गरिन्छन्। अर्कोतर्फ “झारफुक” गर्नेहरूको भनाइअनुसार यसले सराप वा मन्त्रको असर हटाउँछ र राम्रो परिणाम ल्याउँछ। पुरातन समयमा “कालो” जादु प्रयोग गर्ने मानिसहरूलाई मृत्युदण्डसमेत दिइन्थ्यो। तर बाइबलमा भने हरकिसिमको प्रेतविद्यालाई निषेध गरिएको छ। (लेवी १९:२६; व्य १८:९-१४) जादुगरहरूले अलौकिक शक्ति र ज्ञानमार्फत मन्त्रहरू हासिल गरेको दाबी गर्छन् र तिनीहरूले ती प्रयोग गरेर मानिसहरूलाई प्रभावमा पार्न र भविष्यमा हुने घटनाहरू बदल्न खोज्छन्। तर जोखना हेर्नु जादुगरी गर्नुभन्दा फरक छ किनकि यसमा भविष्यमा के हुनेछ भनेर थाह पाउन खोज्नु मात्र समावेश छ।
तन्त्रमन्त्र गर्नेहरू यस्तो सोचाइ राख्छन्: दुष्ट आत्मालाई कुनै व्यक्तिको शरीरबाट बाहिर निकाल्न वा प्रवेश गराउन सकिन्छ र त्यसलाई झुक्याएर काठको टुक्रा वा माटोको मूर्तिमा कैद गर्न सकिन्छ। तिनीहरू दुष्ट आत्मालाई मन पर्ने महजस्ता कुराहरू प्रयोग गरेर त्यसलाई आफ्नो इसारामा नचाउन सकिन्छ भन्ने दाबी गर्छन्।
यस्तो सोचाइले गर्दा नै तन्त्रमन्त्र गर्नेहरू मानिसहरूमाथि प्रभाव जमाउन सफल भएका छन्। मानिसहरू तन्त्रमन्त्र गर्नेहरूलाई विश्वास गर्छन् र भूतप्रेतदेखि जोगिन तिनीहरूलाई ठूलो रकम तिर्न समेत तयार हुन्छन्। तन्त्रमन्त्र गर्नेहरूले भूतप्रेतहरूलाई नियन्त्रणमा राख्न सक्छन् तर भूतप्रेतहरूले भने तिनीहरूलाई कुनै हानि पुऱ्याउन सक्दैनन् भनेर मानिसहरू विश्वास गर्छन्।
बेबिलोनका कल्दियालीहरूले विज्ञानको नाम दिएर तन्त्रमन्त्रसम्बन्धी कुराहरू सुरु गरेका थिए। यसैयाले बताएअनुसार ईसापूर्व आठौँ शताब्दीतिर बेबिलोन हरकिसिमको टुनामुनाले भरिएको थियो। (यसै ४७:१२-१५) त्यसको सय वर्षपछि दानियलको समयसम्म पनि बेबिलोनमा जादुगरहरूको प्रभाव अझै थियो। (दा १:२०; २:२, १०, २७; ४:७; ५:११) “जादुगर” भन्ने शब्द हिब्रू भाषाको शाब्दिक अनुवाद हो।
बेबिलोनीहरू अशक्त मानिसहरू देखेर एकदमै डराउँथे। त्यस्ता मानिसहरू बोक्सी हुन् अनि तिनीहरूले “कालो” जादु गरेर अरूलाई हानि पुऱ्याउन सक्छन् भन्ने सोचाइ राख्थे। अर्कोतर्फ “झारफुक” गर्ने जादुगरहरूले कुनै मन्त्र भनेमा बिरामी मानिस निको हुन्छ तर त्यही मन्त्र कालो जादु गर्ने बोक्सीले भनेमा त्यो मानिसको मृत्यु हुन्छ भनेर पनि बेबिलोनीहरू विश्वास गर्थे।
अध्याय ४०
तिनले पर्खाल पुनर्निर्माण गरे
के तपाईँलाई थाह थियो?
राजाको लागि मद्य टक्र्याउने व्यक्ति किन विशेष हुन्थे?
नहेम्याह फारसी राजा आर्टजारसेजलाई मद्य टक्य्राउने काम गर्थेँ। (नहेम्याह १:११) पुरातन समयमा मध्यपूर्वका दरबारहरूमा मद्य टक्य्राउने काम सानोतिनो थिएन। त्यसैले नहेम्याह एक उच्च पदका अधिकारी थिए भन्न सकिन्छ। मद्य टक्य्राउने कामसम्बन्धी पुरातन लेखोटहरू र चित्रहरूबाट फारसमा नहेम्याहको भूमिका महत्त्वपूर्ण थियो भनेर थाह पाउन सक्छौँ।
राजाको मद्यमा कुनै विष मिसाइएको छैन भन्ने कुरा पक्का गर्न मद्य टक्य्राउनेले सुरुमा त्यो मद्य पिएर हेर्थे। त्यसैले मद्य टक्य्राउनेहरूलाई राजाहरू निकै भरोसा गर्थे। शास्त्रविद् एड्विन एम. यामाउची यसो भन्छन्: “त्यतिबेला फारसका शासकहरूको जीवन सधैँ खतरामा हुन्थ्यो। त्यसैले शासकहरूले आफूले भरोसा गर्ने मानिसहरूलाई मात्र आफू वरपर राख्थे।” अक्सर मद्य टक्य्राउने व्यक्ति राजाको खास पात्र हुन्थे र राजाले तिनको कुरा सुन्थे। तिनी प्रायजसो राजासँगै हुने भएकोले राजासित कसलाई भेट्न अनुमति दिने भनेर निर्णय गर्ने अधिकार तिनीसित हुन्थ्यो।
नहेम्याह राजाको विश्वासपात्र भएकोले नै तिनलाई राजाले पर्खालको पुनर्निर्माण गर्न यरुसलेम जाने अनुमति दिएका हुन सक्छन्। राजाले नहेम्याहको निकै मोल गरेको हुनुपर्छ। एउटा बाइबल शब्दकोश (The Anchor Bible Dictionary) यसो भन्छ: “राजाले यति मात्र सोधे: ‘तिमी कहिले फर्कन्छौ?’”—नहेम्याह २:१-६.