साहसी भई परमेश्वरसित हिँड्नुहोस्-को लागि स्रोत सामग्री—भाग ३
अध्याय ४१
“परमेश्वरको नजरमा धर्मी”
it “गब्रिएल” अनु. २-३
गब्रिएल
बाइबलमा स्वर्गदूतहरूमध्ये माइकलबाहेक गब्रिएलको मात्र नाम उल्लेख गरिएको छ। मानव रूप धारण गरेका स्वर्गदूतहरूमध्ये तिनले मात्र आफ्नो नाम बताएका छन्। गब्रिएल दुई पटक दानियलसामु देखा परे। पहिलो पटक, तिनी “राजा बेलसजरको शासनको तेस्रो वर्षमा” उलै नहरको छेउमा दानियललाई थुमा र बोकाको दर्शनबारे बताउन देखा परेका थिए। (दा ८:१, १५-२६) दोस्रो पटक, तिनी ‘मादी दाराको शासनको पहिलो वर्षमा’ देखा परे। त्यतिबेला तिनले दानियललाई “७० हप्ता”-को भविष्यवाणीबारे बताए। (दा ९:१, २०-२७) गब्रिएलले पुजारी जकरियालाई तिनी र तिनकी वृद्ध भइसकेकी पत्नी इलिसिबाले एउटा छोरा (बप्तिस्मा गराउने) युहन्नालाई जन्माउनेछिन् भन्ने शुभ समाचार सुनाए। (लुका १:११-२०) मरियम जसको मगनी युसुफसित भएको थियो। उनलाई गाब्रियलले यसो भने: “हे परमेश्वरको निगाह-पात्र, तिमीलाई मेरो अभिवादन! यहोवा परमेश्वर तिमीसित हुनुहुन्छ।” उनले येसुलाई जन्माउनेछिन् भनेर गब्रिएलले बताए। ती छोरा “सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ . . . र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन” भनेर पनि गब्रिएलले बताए।—लुका १:२६-३८.
बाइबल विवरणहरूअनुसार गब्रिएल उच्च ओहदाका स्वर्गदूतमध्ये एक थिए जसले परमेश्वरको सिंहासननजिकै रहेर सेवा गर्थे। तिनले “म परमेश्वरसामु हाजिर भइरहने गब्रिएल हुँ” भनेर बताएका छन्। तिनलाई पृथ्वीमा यहोवाका वफादार सेवकहरूलाई विशेष सन्देशहरू सुनाउन “पठाइएको” थियो। (लुका १:१९, २६) तिनी आफ्नो नामको अर्थअनुसारै दर्शनमा वा मानिसहरूसामु देखा पर्दा ‘मानिसजस्तो देखिन्थे।’—दा ८:१५
it “युहन्ना” अनु. १
युहन्ना
[यहोहानानको अङ्ग्रेजी नाम युहन्ना हो जसको अर्थ “यहोवाले अनुग्रह देखाउनुभएको छ; यहोवा कृपालु हुनुभएको छ” भन्ने हो।]
अध्याय ४२
उनले गहन जिम्मेवारी स्विकार्न साहस देखाइन्
g ४/११ पृ. ११ अनु. ४-५
भरोसायोग्य किताब—भाग ६
रोमी शासनकालमा घटेका केही घटनाहरू बाइबलमा पनि उल्लेख गरिएको पाउँछौँ। त्यस्ता घटनाहरूमध्ये एक येसुको जन्मको समयतिर भएको थियो। त्यसबारे बाइबलमा यसो भनिएको छ: “ती दिनमा सिजर अगस्तसले सबैले आ-आफ्नो नाम दर्ता गर्नू भनी आफ्नो साम्राज्यभरि उर्दी जारी गरे। (यो पहिलो दर्ता सिरियाको राज्यपाल क्युरिनियसको पालामा भएको थियो।) त्यसैले नाम दर्ता गराउन सबै मानिस आ-आफ्नो सहर गए।”—लुका २:१-३.
रोमी इतिहासकार ट्यासिटस र यहुदी इतिहासकार जोसेफस दुवैले क्युरिनियसबारे उल्लेख गरेका छन्। साथै एक रोमी राज्यपालले नाम दर्ता गर्नू भनी जारी गरेको उर्दीको कागजात आज बेलायती पुस्तकालयमा पाइन्छ। त्यसमा यसो भनिएको छ: “घरदैलोमा गएर जनगणना गर्ने समय भएको छ; त्यसैले कारणवश आफ्नो जन्मस्थलबाट बसाइँ सर्नुपरेको थियो भने आफ्नो नाम दर्ता गर्न आ-आफ्नो ठाउँमा फर्कनुहोस्।”
अध्याय ४४
‘तिनीभन्दा ठूलो अहिलेसम्म कोही छैन’
के तपाईँलाई थाह थियो?
येसु र बप्तिस्मा गराउने युहन्नाबीच के नाता थियो?
◼ यस प्रश्नको जवाफ पाउन पहिला हामीले बप्तिस्मा गराउने युहन्नाकी आमा इलिसिबा र येसुकी आमा मरियमबीच के नाता थियो भनेर थाह पाउनुपर्छ। उनीहरूबीच के नाता थियो भन्नेबारे थुप्रै मानिसहरूले विभिन्न अनुमान लगाएका छन्। कसै-कसैले उनीहरू दिदीबहिनी पर्थे भन्छन् भने कसै-कसैले इलिसिबा मरियमकी ठूली आमा थिइन् भन्छन्।
लुका १:३६ मा स्वर्गदूतले मरियमलाई यसो भने: “हेर, बाँझी कहलिएकी तिम्री नातेदार इलिसिबा पनि बुढेसकालमा गर्भवती भएकी छिन् र उनको कोखमा एउटा छोरो छ।” यहाँ चलाइएको “नातेदार” शब्दले उनीहरूबीच ठ्याक्कै के नाता थियो भनेर खुलाउँदैन। एउटा बाइबल शब्दकोशअनुसार (The Interpreter’s Dictionary of the Bible) यहाँ सामान्यतया आफन्तहरूको लागि प्रयोग गरिने ग्रीक शब्द चलाइएको छ। त्यसैले उनीहरूबीच के नाता थियो भनेर यकिनका साथ भन्न सकिँदैन। साथै क्याथोलिक इन्साइक्लोपीडिय-मा यसो भनिएको छ: “मरियमको आमाबुबाबारे जे-जति जानकारीहरू छन्, ती सबै जानकारी बाइबलबाट नभई अन्य स्रोतहरूबाट लिइएका हुन्।” इलिसिबा र मरियमबीच के नाता थियो भनेर थाह नभएकोले युहन्ना र येसुबीच ठ्याक्कै के नाता थियो भनेर पनि भन्न सकिँदैन। तर उहाँहरू टाढाको नातेदार भने हुनुहुन्थ्यो।
के बप्तिस्मा गराउने युहन्ना वास्तविक व्यक्ति थिए?
सुसमाचारका किताबहरूमा बप्तिस्मा गराउने युहन्ना भन्ने व्यक्तिबारे बताइएको पाउँछौँ। तिनले परमेश्वरको राज्यबारे यहुदियामा प्रचार गरेका थिए। के इतिहासले पनि बाइबलमा बताइएको यी व्यक्ति वास्तविक हुन् भनेर समर्थन गर्छ? आउनुहोस्, केही प्रमाणहरू केलाऔँ:
● बाइबलमा यसो भनिएको छ: “बप्तिस्मा गराउने युहन्नाले यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे: ‘पश्चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।’” (मत्ति ३:१, २) के इतिहासले यसको पुष्टि गर्छ? अवश्य गर्छ।
प्रथम शताब्दीका इतिहासकार फ्लेभियस जोसेफसले तिनीबारे यसो भने: “युहन्ना जसको थर बप्तिस्मा गराउने हो, तिनले यहुदीहरूलाई धर्मी जीवन बिताउन, परमेश्वरको भक्ति गर्न र बप्तिस्मा गर्न प्रोत्साहन दिए।”—Jewish Antiquities.
● बाइबलमा युहन्नाले हेरोद एन्टिपासलाई हप्काएको विवरण पाइन्छ। हेरोद एन्टिपास गालिल र पेरियाका प्रान्तीय शासक थिए। हेरोदले आफू यहुदी भएको र मोसाको व्यवस्था पालन गरेको दाबी गर्थे। तर तिनले आफ्नी भाउजू हेरोदियासलाई आफ्नो पत्नी बनाएका थिए। (मर्कुस ६:१८) यसबारे इतिहासका अन्य किताबहरूमा पनि उल्लेख गरिएको पाइन्छ।
इतिहासकार जोसेफसले यसो भने: “एन्टिपास हेरोदियासको माया जालमा परे र तिनलाई आफ्नी पत्नी बनाउने आँट गरे।” हेरोदियासले तिनको विवाह प्रस्ताव स्विकारिन् र आफ्नो पतिलाई छोडेर एन्टिपाससित विवाह गरिन्।
● बाइबलमा यसो भनिएको छ: “यरुसलेम, सारा यहुदिया र यर्दन नदीवरिपरिका सबै ठाउँका मानिसहरू [युहन्नाकहाँ] आउँथे . . . र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।”—मत्ति ३:५, ६.
“भीडका भीड” मानिसहरू युहन्नाकहाँ आउँथे र “युहन्नाको शिक्षा सुनेर तिनीहरू एकदमै प्रभावित वा उत्साहित हुन्थे” भनेर पनि जोसेफले बताएका छन्।
प्रथम शताब्दीका इतिहासकार जोसेफस बप्तिस्मा गराउने युहन्ना वास्तविक व्यक्ति थिए भन्ने कुरामा विश्वस्त थिए। हामी पनि विश्वस्त हुन सक्छौँ।
it “रुवाक; न्युमा” अनु. ६०
रुवाक; न्युमा
रुवाक अर्थात् न्युमा-ले एउटा अदृश्य शक्तिलाई बुझाउँछ, जुन शक्तिले कुनै व्यक्तिलाई जोसले भरिपूर्ण बनाउँछ अथवा कुनै कामको लागि उत्प्रेरित गर्छ। गन्ती २७:१८ मा यहोसुलाई “असल मनोभाव भएका” व्यक्ति भनिएको छ। गन्ती १४:२४ मा यहोवाले “मेरो सेवक कालेबले फरक मनोभाव देखाएको” छ भनेर बताउनुभयो। त्यतिबेला अधिकांश इस्राएलीहरू दस जना जासुसको खराब रिपोर्ट सुनेर एकदमै डराएका थिए। एलियाले जोस र उत्साह साथ यहोवाको सेवा गरे अनि एलिसाले एलियाको शक्तिको दुई भागको लागि बिन्ती गरे। यसले परमेश्वरको पवित्र शक्तिलाई वा एलियाको जोसलाई बुझाएको हुन सक्छ। (२रा २:९, १५) बप्तिस्मा गराउने युहन्नाले पनि एलियाको जस्तै जोस र उत्साह देखाए। यसले गर्दा तिनका थुप्रै स्रोताहरू कदम चाल्न उत्प्रेरित भए। त्यसैले बाइबलमा पनि युहन्ना ‘एलियाको जोस र शक्तिले’ भरिएका छन् भनेर बताइएको छ।—लुका १:१७.
अध्याय ४५
“म पापी मानिस हुँ”
it “सिकार गर्ने र माछा मार्ने” अनु. ६-७
सिकार गर्ने र माछा मार्ने
माछा मार्ने। हिब्रूहरूमाझ माछा मार्ने काम एउटा प्रमुख पेसामध्ये थियो। यो केवल मनोरञ्जनको लागि गरिने कुरा थिएन। जलारीहरूले माछा मार्न भाला, बल्छी, डोरी र जाल प्रयोग गर्थे। (अयु ४१:१, ७; इज २६:५, १४; हब १:१५, १७; मत्ति १७:२७) अक्सर माछा मार्ने काम राती गरिन्थ्यो। तिनीहरू डुङ्गाबाट जाल हान्थे। त्यसपछि तिनीहरू जालमा परेको माछा कि त किनारसम्म तानेर ल्याउँथे कि त डुङ्गामै जम्मा गर्थे। त्यसपछि तिनीहरू व्यवस्थाअनुसार खान मिल्ने र खान नमिल्ने माछाहरू छुट्याउँथे अनि खान नमिल्ने माछा जति फ्याकिदिन्थे। (मत्ति १३:४७, ४८; लुका ५:५-७; युह २१:६, ८, ११) सानो खालको जालचाहिँ जलारीहरूले गहिरो नभएको पानीमा गएर वा समुद्र किनारमै बसेर हान्ने गर्थे।
माछा मार्ने काममा निकै खट्नुपर्थ्यो। विशेषगरि माछाले भरिएको जाल तान्न (युह २१:६, ११) वा बेसरी बतास चलिरहेको बेला डुङ्गा खियाउन धेरै बल चाहिन्थ्यो। (मर्कु ६:४७, ४८) कहिलेकाहीँ त रातभरि मेहनत गरे पनि जालमा एउटै माछा पर्दैन्थ्यो। (लुका ५:५; युह २१:३) पछि जाललाई सुकाउनुपर्थ्यो र मर्मत गर्नुपर्थ्यो।—इज ४७:१०; मत्ति ४:२१.
अध्याय ४७
‘उसले जे गर्न सक्थी, त्यही गरी’
“महँगो सुगन्धित तेल” मत्ति २६:७ को अध्ययन नोट, nwtsty
महँगो सुगन्धित तेल: मर्कुस र युहन्ना दुवैले त्यो तेललाई “असल जटामसीको” तेल भनेका छन्, जसको मूल्य ३०० दिनारभन्दा धेरै थियो। त्यो मूल्य एक साधारण कामदारको एक वर्षको ज्याला बराबर थियो। (मर्कु १४:३-५; युह १२:३-५) यो सुगन्धित तेल हिमाली क्षेत्रमा पाइने एउटा सुगन्धित बोटबाट (नार्डोस्टेकिस जटामसी) निकालिन्छ। यो तेल महँगो हुने भएकोले कसै-कसैले यसमा कमसल किसिमको तेल मिसाएर यसलाई सक्कली भनेर बेच्ने गर्थे। तर मरियमले ल्याएको तेल “असल जटामसीको” थियो भनेर मर्कुस र युहन्ना दुवैले बताएका छन्।
अध्याय ५२
“सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्”
w१० ३/१५ पृ. ६ अनु. ६–पृ. ७ अनु. १
मर्कुस—‘सेवाको काममा उपयोगी’
मर्कुस सम्भवतः धनी यहुदी परिवारका थिए र तिनी यरुसलेममा हुर्केका थिए। बाइबलमा मर्कुसबारे पहिलो पटक ख्रिष्टियन मण्डली सुरु भएको समयतिरको एउटा विवरणमा उल्लेख गरिएको छ। इस्वी संवत् ४४ तिर प्रेषित पत्रुसलाई हेरोद अग्रिपा प्रथमको झ्यालखानाबाट निस्किन एक जना स्वर्गदूतले मदत गरेका थिए। त्यसपछि पत्रुस “मर्कुस भनिने युहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना चेला भेला भएर प्रार्थना गरिरहेका थिए।”—प्रेषि. १२:१-१२.
त्यतिबेला यरुसलेमको मण्डलीले सभाहरूको लागि मर्कुसकी आमाको घर नै प्रयोग गर्थे जस्तो देखिन्छ। त्यहाँ “धेरै जना” भेला भएको कुराबाट मर्कुसकी आमाको घर ठूलो थियो भन्ने अनुमान लगाउन सकिन्छ। मर्कुसकी आमाको घरमा रोदा नाम गरेकी नोकर्नी पनि थिइन्। पत्रुसले झ्यालखानाबाट छुटेर मरियमको घरको “मूलढोका ढकढक्याउँदा” उनले नै ढोका खोलेकी थिइन्। यसबाट पनि मरियम सम्पन्न थिइन् भन्ने देखिन्छ। अनि बाइबलमा त्यो घर उनको पतिको नभई उनको भनेर सङ्केत गरिएको छ। यसबाट सायद उनी विधवा थिइन् भन्ने कुरा थाह पाउन सकिन्छ।—प्रेषि. १२:१३.
w१० ३/१५ पृ. ७ अनु. ५
मर्कुस—‘सेवाको काममा उपयोगी’
पछि पवित्र शक्तिद्वारा निर्देशन पाएर पावल र बर्णाबास मिसिनरी यात्रामा निस्किए। तिनीहरू एन्टिओकबाट साइप्रस गए। मर्कुस पनि तिनीहरूसँगै गए र तिनीहरूको ‘सेवा गरे।’ (प्रेषि. १३:२-५) पावल र बर्णाबासले मिसनरी काममा अझ धेरै ध्यान दिन सकून् भनेर मर्कुसले तिनीहरूको भौतिक आवश्यकताको ख्याल राख्थे।
w१० ३/१५ पृ. ८ अनु. ६-८
मर्कुस—‘सेवाको काममा उपयोगी’
बाइबलमा मर्कुसले गरेका यात्राहरूबारे पढ्नुहुँदा तिनले कति टाढा-टाढासम्म यात्रा गरेका थिए भनेर थाह पाउनुहुनेछ। तिनी यरुसलेमबाट एन्टिओक गए अनि त्यहाँबाट समुद्री यात्रा गरेर साइप्रस र पर्गा गए। त्यसपछि मर्कुस रोम गए। पछि पावल तिनलाई रोमबाट कलस्सी पठाउन चाहन्थे। त्यहाँबाट पनि तिनले अरू थुप्रै ठाउँहरूमा यात्रा गरे।
इस्वी संवत् ६२-६४ को बीचतिर प्रेषित पत्रुसले पहिलो पत्र लेखे। उक्त पत्रमा तिनले यसो भने: “[ती] स्त्री, जो बेबिलोनमा छिन्, तिनले तिमीहरूलाई अभिवादन पठाएकी छिन् अनि त्यसैगरि मेरो छोरा मर्कुसले पनि।” (१ पत्रु. ५:१३) यसबाट पत्रुससँगै सेवा गर्न मर्कुस बेबिलोनसम्म गएका थिए भनेर थाह पाउन सक्छौँ। ती त्यही पत्रुस थिए, जो वर्षौँअघि मर्कुसकी आमाको घरमा हुने ख्रिष्टियन सभाहरूमा जाने गर्थे।
इस्वी संवत् ६५ तिर पावल रोममा दोस्रो पटक कैदमा पर्दा तिनले एफिससमा भएका तिमोथिलाई ‘मर्कुसलाई पनि सँगै लिएर आउन’ भने। (२ तिमो. ४:११) यसबाट मर्कुस त्यतिबेला एफिससमै थिए भन्ने कुरा थाह पाउन सक्छौँ। पावलले आग्रह गरेअनुसारै मर्कुस तिमोथिसँग रोम गए भन्ने कुरामा कुनै शङ्का छैन। त्यतिबेला यात्रा गर्नु सजिलो थिएन। तैपनि मर्कुसले राजीखुसी ती यात्राहरू गरे।
मर्कुसले हरेस खाएनन्
समयको अन्तरालमा पत्रुस र मर्कुस घनिष्ठ मित्र बने। मर्कुसले लेखेको सुसमाचारको किताबबाट पनि यो कुरा स्पष्ट हुन्छ। तिनले येसुबारे पत्रुसबाट सुनेका थुप्रै कुराहरू आफ्नो किताबमा लेखेका छन्। उदाहरणको लागि, गालील समुद्रमा ठूलो आँधी आएको विवरण विचार गरौँ। मर्कुसले मात्रै येसु डुङ्गाको कुन भागमा अनि कसरी सुतिरहनुभएको थियो भनेर बताएका छन्। पत्रुस एक जलारी भएकोले तिनले त्यस्ता स-साना कुराहरू याद गरेका हुन सक्छन्। अब हामी मत्ति ८:२४; मर्कुस ४:३७, ३८ र लुका ८:२३ सँगै पढौँ र उक्त विवरण तुलना गरेर हेरौँ।
मर्कुसले हरेस खाएनन्
छोराछोरीलाई सिकाउनुहोस्
येसुको जीवनसम्बन्धी बाइबलमा भएका चार वटा किताबहरूमध्ये एउटा किताब मर्कुसले लेखेका थिए। तिनले लेखेको किताब सबैभन्दा छोटो र बुझ्न सजिलो छ। मर्कुस को थिए? के तिनले येसुलाई चिन्थे? तिनले के-कस्ता कठिन परीक्षाहरूको सामना गरे? तिनी हरेस नखाई कसरी यहोवाको सेवामा लागिरहे? अब हामी सँगै थाह पाऔँ।
राजा हेरोद अग्रिपाले प्रेषित पत्रुसलाई झ्यालखानामा हालेपछि मर्कुसको नाम पहिलो पटक बाइबलमा उल्लेख गरिएको छ। एक रात पत्रुसलाई स्वर्गदूतले झ्यालखानाबाट निस्कन मदत गरेका थिए। त्यसपछि पत्रुस तुरुन्तै मर्कुसकी आमा मरियमको घरमा गए, जो यरुसलेममा बस्थिन्। यो घटना इस्वी संवत् ३३ निस्तार चाडमा येसुलाई मरिएको लगभग १० वर्षपछि घटेको थियो।—प्रेषित १२:१-५, ११-१७.
पत्रुस किन मरियमको घरमा गए? सायद पत्रुसले उनको परिवारलाई चिन्थे र येसुका चेलाहरू सभाको लागि उनकै घरमा भेला हुन्थे भन्ने कुरा तिनलाई थाह थियो। मर्कुसको बर्णाबास नाम गरेका एक नातेदार थिए। तिनी इस्वी संवत् ३३ पेन्तिकोसको चाडमा वा त्योभन्दा अघि नै येसुको चेला बनिसकेका थिए। त्यतिबेला बर्णाबासले उदार भई भर्खरै चेला बनेकाहरूलाई मदत गरेको विवरण बाइबलमा पाइन्छ। त्यसैले येसुले पनि बर्णाबास, मर्कुस र तिनकी आमा मरियमलाई चिन्नुभएको हुन सक्छ।—प्रेषित ४:३६, ३७; कलस्सी ४:१०.
मर्कुसले लेखेको सुसमाचारको किताबमा तिनले येसु पक्राउ पर्नुभएको रात “जीउमा मलमलको कपडा मात्र ओढेको एक जना जवान मानिस” पनि त्यहाँ उपस्थित थिए भनेर उल्लेख गरेका छन्। येसुलाई पक्रन आएका मानिसहरूले ती जवानलाई पनि पक्रन खोज्दा तिनी भागे भनेर मर्कुसले बताएका छन्। ती जवान को थिए, तिमीलाई थाह छ? हो, तिनी मर्कुस नै हुनुपर्छ। त्यस रात येसु र उहाँका प्रेषितहरू घरबाट निस्कनुभएपछि मर्कुस पनि हतार-हतार मलमलको कपडा ओढेर उहाँहरूको पछि लागेका हुन सक्छन्।—मर्कुस १४:५१, ५२.
मर्कुसले परमेश्वरका सेवकहरूसित समय बिताउने थुप्रै मौकाहरू पाएका थिए। तिनले ख्रिष्टियन मण्डलीमा भएका महत्त्वपूर्ण घटनाहरू पनि प्रत्यक्ष देखेका थिए। इस्वी संवत् ३३ पेन्तिकोसको दिन मानिसहरूमाथि पवित्र शक्ति खन्याइँदा सम्भवतः तिनी पनि त्यहीँ थिए। पत्रुसजस्ता परमेश्वरका वफादार सेवकहरूसित तिनको घनिष्ठ सम्बन्ध थियो। साथै तिनी आफ्ना नातेदार बर्णाबाससँगै यात्रामा पनि गएका थिए। सावलले येसुलाई दर्शनमा देखेको करिब तीन वर्षपछि बर्णाबासले सावल र पत्रुसलाई भेटाइदिएका थिए। केही वर्षपछि बर्णाबास सावललाई खोज्न टार्सस गए।—प्रेषित ९:१-१५, २७; ११:२२-२६; १२:२५; गलाती १:१८, १९.
इस्वी संवत् ४७ मा बर्णाबास र सावल मिसनरी कामको लागि खटाइए। तिनीहरूले मर्कुसलाई पनि आफूसँगै लगे। तर केही कारणले गर्दा मर्कुस यात्राको बीचमै तिनीहरूलाई छोडेर आफ्नो घर यरुसलेम फर्किए। सावल, जो रोमी नाम पावल भनेर पनि चिनिन्थे, साह्रै रिसाए। तिनलाई मर्कुस त्यसरी घर फर्कनु गलत हो जस्तो लागेको थियो।—प्रेषित १३:१-३, ९, १३.
पावल र बर्णाबासले मिसनरी यात्राबाट फर्केपछि थुप्रैले सुसमाचार स्विकारेको कुरा भाइहरूलाई बताए। (प्रेषित १४:२४-२८) त्यसको केही महिनापछि तिनीहरूले पहिला प्रचार गरेका ठाउँहरूमा गएर नयाँ चेलाहरूलाई भेट्ने योजना बनाए। बर्णाबास मर्कुसलाई पनि सँगै लैजान चाहन्थे। तर यस विषयमा पावलको विचार के थियो, तिमीलाई थाह छ? तिनी ‘मर्कुसलाई सँगै लैजाने पक्षमा थिएनन्’ किनभने अघिल्लो मिसनरी यात्रामा मर्कुसले तिनीहरूलाई बीचमै छोडेर घर फर्केका थिए। त्यसपछि बर्णाबास र पावलबीच जे भयो, त्यसले गर्दा मर्कुस निकै निराश भएको हुनुपर्छ।
“यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए।” त्यसपछि बर्णाबास मर्कुसलाई लिएर साइप्रस गए। अनि पावलले भने सिलासलाई रोजे र योजनाअनुसारै नयाँ चेलाहरूलाई भेट्न गए। आफूले गर्दा पावल र बर्णाबासबीच मतभिन्नता भएकोमा मर्कुसलाई कत्ति नमीठो लाग्यो होला!—प्रेषित १५:३६-४१.
बाइबलमा मर्कुस किन यात्राको बीचबाटै घर फर्किए भनेर उल्लेख गरिएको छैन। सम्भवतः तिनलाई आफू घर फर्कनुपछाडि जायज कारण छ जस्तो लागेको हुन सक्छ। जेहोस्, बर्णाबास मर्कुसले अब फेरि त्यसो गर्नेछैनन् भन्ने कुरामा ढुक्क थिए। अनि बर्णाबास सही साबित भए पनि। मर्कुसले हरेस खाएनन्! पछि तिनले पत्रुससँगै टाढा पर्ने बेबिलोनमा मिसनरी सेवा गरे। त्यहाँबाट भाइबहिनीहरूलाई अभिवादन पठाउँदा पत्रुसले ‘मेरो छोरा मर्कुसले पनि अभिवादन पठाएका छन्’ भने।—१ पत्रुस ५:१३.
समयको अन्तरालमा पत्रुस र मर्कुस घनिष्ठ मित्र बने। मर्कुसले लेखेको सुसमाचारको किताबबाट पनि यो कुरा स्पष्ट हुन्छ। तिनले येसुबारे पत्रुसबाट सुनेका थुप्रै कुराहरू आफ्नो किताबमा लेखेका छन्। उदाहरणको लागि, गालील समुद्रमा ठूलो आँधी आएको विवरण विचार गरौँ। मर्कुसले मात्रै येसु डुङ्गाको कुन भागमा अनि कसरी सुतिरहनुभएको थियो भनेर बताएका छन्। पत्रुस एक जलारी भएकोले तिनले त्यस्ता स-साना कुराहरू याद गरेका हुन सक्छन्। अब हामी मत्ति ८:२४; मर्कुस ४:३७, ३८ र लुका ८:२३ सँगै पढौँ र उक्त विवरण तुलना गरेर हेरौँ।
पछि रोमको झ्यालखानामा छँदा पावलले आफ्नो पत्रमा मर्कुसले देखाएको वफादारी र मदतको लागि प्रशंसा गरे। (कलस्सी ४:१०, ११) पावल दोस्रो पटक झ्यालखानामा पर्दा तिनले तिमोथिलाई लेखेको पत्रमा मर्कुसलाई पनि सँगै ल्याउन भने। यसको कारणबारे पावलले यसो भने: “सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्।” (२ तिमोथि ४:११) हो, मर्कुसले हरेस नखाई यहोवाको सेवा गरिरहेकोले थुप्रै सुअवसरहरू पाए।
अध्याय ५३
“म तपाईँहरूलाई आग्रह गर्छु, हरेस नखानुहोस्”
के तपाईँलाई थाह थियो?
माल्टाका मानिसहरूले पावललाई किन हत्यारा भने?
माल्टाका केही मानिसहरू ग्रीक धर्मका शिक्षाहरूमा विश्वास गर्थे जस्तो देखिन्छ। पावल चढेको जहाज माल्टामा क्षतिग्रस्त हुँदा के भएको थियो विचार गरौँ। यस घटनाबारे प्रेषितको किताबमा लेखिएको छ। आफूसँगै यात्रा गरिरहेकाहरूलाई जाडो भएकोले पावलले झिँजा बटुलेर आगोमा हाल्दा आगोको रापले गर्दा त्यसबाट एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेरियो। त्यो देखेर माल्टाका मानिसहरूले यसो भने: “यो मानिस पक्कै हत्यारा हो। त्यसैले त समुद्रबाट सकुशल निस्के पनि इन्साफबाट भने उम्कन सकेन।”—प्रेषित २८:४.
ग्रीकहरू इन्साफकी देवी मानिने “डाइकी”-लाई पुज्थे। डाइकी-को अर्थ “इन्साफ” हो। ग्रीक दन्त्यकथाअनुसार डाइकी देवीले मानिसहरूमाथि नजर राख्थिन् र कसैले दण्ड पाउनलायक काम गरेमा त्यो कुरा ज्युस देवलाई बताइदिन्थिन्। एउटा स्रोतसामग्रीअनुसार माल्टाका मानिसहरूले पावलबारे यस्तो सोचेका हुन सक्छन्: “पावल समुद्रबाट सकुशल निस्के पनि तिनलाई दण्ड दिन इन्साफकी देवी डाइकी-ले सर्प पठाएकी हुन्।” पछि पावललाई सर्पले केही हानि नगरेको देखेपछि तिनीहरूले पावलप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गरे।
अध्याय ५४
तिनले अन्धकार छाएको समयमा साहस देखाए
it “युहन्नाको सुसमाचार” अनु. २-८
युहन्नाको सुसमाचार
लेखक। यसको लेखक को हुन् भनेर किताबमा नबताइए पनि प्रेषित युहन्ना नै यसका लेखक हुन् भनेर सबैले मानिलिएका छन्। यस किताबको लेखकको सन्दर्भमा सुरु-सुरुमा कसैले प्रश्न उठाएका थिएनन्। तर दोस्रो शताब्दीमा एउटा सानो समूहले यसको लेखक को हुन् भन्ने कुरामा नभई यसको शिक्षामा असहमति जनाए। तर आधुनिक समयका बाइबलविद्हरूले यसको अध्ययन सुरु गर्न थालेपछि युहन्नाको सुसमाचारको किताब वास्तवमै युहन्नाले लेखेका हुन् कि होइनन् भनेर प्रश्न उठाउन थाले।
प्रेषित युहन्ना, जो जब्दीका छोरा हुन् तिनी नै यो पुस्तकका लेखक हुन् भन्ने कुराको थुप्रै प्रमाणहरू पाइन्छन्। ती प्रमाणहरू यति बलिया छन् कि विरोधीहरू त्यसको खण्डन गर्न सक्दैनन्। केही प्रमाणहरू तल उल्लेख गरिएका छन्। तर होसियारीसाथ यो किताब अध्ययन गर्नेहरूले अझ थप प्रमाणहरू पाउन सक्छन्। केही उदाहरण विचार गरौँ:
(१) यस किताबका लेखक यहुदी थिए भन्ने कुरा स्पष्ट हुन्छ। तिनको लेखोटहरू हेर्दा तिनले यहुदी विचारधाराहरू राम्रोसँग बुझ्थे भनेर थाह पाउन सक्छौँ।—युह १:२१; ६:१४; ७:४०; १२:३४.
(२) तिनी प्यालेस्टाइनका स्थानीय बासिन्दा थिए भन्ने कुरा स्पष्ट हुन्छ किनभने तिनी त्यस ठाउँसँग राम्रोसित परिचित थिए। तिनले त्यहाँको विभिन्न ठाउँहरूको नाम उल्लेख गरेका छन्। जस्तै: “यर्दन नदीपारि बेथानी” (युह १:२८) र ‘यरुसलेमबाट नजिकै बेथानी।’ (११:१८) येसुलाई मारिएको ठाउँमा एउटा बगैँचा र त्यहाँ एउटा नयाँ चिहान थियो भनेर पनि तिनले लेखे। (१९:४१) अनि येसुले ‘मन्दिरमा दानपात्रहरू राखिएको ठाउँमा बसेर सिकाइरहनुभएको’ (८:२०) साथै ‘हिउँदको बेला येसु मन्दिरमा सुलेमान दलान भनिने ठाउँमा हिँडिरहनुभएको’ (१०:२२, २३) कुरा पनि तिनले बताए।
(३) यस किताबका लेखकले भनेका कुराहरू र तथ्यहरू विचार गर्दा तिनी प्रत्यक्षदर्शी थिए भन्ने कुरा प्रस्ट हुन्छ। घटना विवरण बताउँदा तिनले मानिसहरूको नाम उल्लेख गरेका छन् (युह १:४०; ६:५, ७; १२:२१; १४:५, ८, २२; १८:१०); घटनाहरू घटेको समय तिनले तोकेरै बताएका छन् (४:६, ५२; ६:१६; १३:३०; १८:२८; १९:१४; २०:१; २१:४); तिनले धाक लगाउने हेतुले त होइन तर ती घटनाहरूको प्रत्यक्षदर्शी भएकोले कुनै-कुनै सङ्ख्याहरू किटेरै बताएका छन्।—१:३५; २:६; ४:१८; ५:५; ६:९, १९; १९:२३; २१:८, ११.
(४) यस किताबका लेखक एक प्रेषित थिए। प्रेषितहरूले मात्रै येसुले पृथ्वीमा सेवा गर्नुहुँदा घटेका थुप्रै घटनाहरू नजिकबाट देखेका थिए; साथै लेखक येसुको सोचाइ, भावना र उहाँले कुनै कुरा गर्नुपछाडिको कारणसित परिचित थिए। यसबाट यी लेखक १२ प्रेषितमध्ये एक थिए भन्ने कुरा स्पष्ट हुन्छ। तिनले येसुबारे लेखेका केही कुरा विचार गरौँ: उहाँले फिलिपको ‘परीक्षा गर्न’ एउटा प्रश्न सोध्नुभयो ‘किनकि आफूले के गर्न लागेको छु भनेर उहाँलाई थाह थियो’ (युह ६:५, ६); ‘आफ्ना चेलाहरू गनगनाउँदै छन् भन्ने येसुले चाल पाउनुभयो’ (६:६१); “येसुलाई आफूमाथि आइपर्न लागेका सबै कुरा थाह थियो” (१८:४); “येसु अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो।” (११:३३; तुलना गर्नुहोस्: १३:२१; २:२४; ४:१, २; ६:१५; ७:१) साथै यसका लेखक अन्य प्रेषितहरूको सोचाइ र तिनीहरूको धारणासित पनि परिचित थिए। कुनै-कुनै बेला त प्रेषितहरूले गलत सोचाइ राखेका थिए र तिनीहरूलाई सच्याइएको थियो।—२:२१, २२; ११:१३; १२:१६; १३:२८; २०:९; २१:४.
(५) साथै यसका लेखकलाई येसु “प्रेम गर्नुहुन्थ्यो” भनेर पनि उल्लेख गरिएको छ। (युह २१:२०, २४) तिनी थुप्रै महत्त्वपूर्ण घटनाहरूमा येसु सँगसँगै रहेका तीन जना प्रेषितमध्ये एक थिए; जस्तै: येसुको रूप परिवर्तन भएको बेला (मर्कु ९:२) र गेत्समनीको बगैँचामा येसु असाध्यै दु:खित हुनुभएको समयमा तिनी उहाँसितै थिए। (मत्ति २६:३६, ३७) ती तीन प्रेषितमध्ये एक याकुब थिए तर तिनी यस किताबको लेखक भने हुन सक्दैनन् किनभने इस्वी संवत् ४४ तिर हेरोद अग्रिपा प्रथमले तिनलाई मृत्युदण्ड दिइसकेका थिए। यस सुसमाचारको किताब त्यति अघि लेखिएको थियो भन्ने कुराको कुनै प्रमाण पाइँदैन। अनि ती लेखक प्रेषित पत्रुस पनि हुन सक्दैनन् किनकि पत्रुसको नाम येसुले ‘प्रेम गर्नुहुने’ चेलासँगै उल्लेख गरिएको छ।—युह २१:२०, २१.