परिचय
तपाईँ अझै साहसी हुन सक्नुहुन्छ!
१-३. येसुले “उठ, हामी जाऔँ” भन्नुभएको कुरामा कसरी साहस झल्किन्छ?
“उठ, हामी जाऔँ।” यो कुरा भन्न निकै साहस चाहिएको हुनुपर्छ। तपाईँ भन्नुहोला: यस कुरामा कसरी साहस झल्किन्छ र? तर यी शब्दहरू कसले अनि कसलाई भनिएको हो भनेर बुझ्यौँ भने हामी यसको जवाफ पाउन सक्छौँ।—मत्ति २६:४६.
“उठ, हामी जाऔँ।”—मत्ति २६:४६
२ यो कुरा येसुले आफ्ना वफादार चेलाहरूलाई भन्नुभएको थियो। हुनत उहाँले यो कुरा पहिला पनि भन्नुभएको थियो। (युह. १४:३१) तर यसपटक उहाँले यो कुरा भन्नुहुँदा अवस्था एकदमै फरक थियो। यतिबेला उहाँ यरुसलेम सहरबाहिर भएको गेत्समनीको बगैँचामा हुनुहुन्थ्यो। रात निकै छिप्पिसकेको थियो र हतियार भिरेका मानिसहरू आफूतिर आउँदै छन् भनेर येसुलाई थाह थियो। अनि त्यो भीडले आफूलाई के गर्नेछ भनेर पनि उहाँले बुझ्नुभएको थियो। उहाँले अहिलेसम्म कुनै मानिसले सामना नगरेको सबैभन्दा गाह्रो परीक्षा सामना गर्न लाग्नुभएको थियो। त्यो परीक्षा आफू एक्लैले सामना गर्नुपर्नेछ भन्ने कुरा पनि उहाँलाई थाह थियो।
३ येसु त्यस परीक्षादेखि भाग्न खोज्नुभएन। हुनत उहाँले आफ्नो सुरक्षाको लागि शक्तिशाली स्वर्गदूतहरूलाई बोलाउन सक्नुहुन्थ्यो। तर उहाँले त्यस्तो कहिल्यै गर्नुभएन। (मत्ति २६:५३) बरु उहाँले भीड नजिक आएपछि चेलाहरूलाई “उठ, हामी जाऔँ” भन्नुभयो। येसु कता जाँदै हुनुहुन्थ्यो? सीधै खतराको मुखमा। उहाँले यातना र मृत्यु भोग्नुपर्ने थियो। उहाँ किन त्यो हदसम्म दुःख भोग्न तयार हुनुभयो? किनभने उहाँ आफ्नो बुबा र चेलाहरूलाई प्रेम गर्नुहुन्थ्यो।
४-५. येसुजस्तै साहसी हुनुको अर्थ के हो अनि हामीलाई यो गुण किन चाहिन्छ?
४ येसु ख्रिष्ट आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा साहसी व्यक्ति हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। के तपाईँ पनि येसुको एक चेला हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँ पनि साहसी हुनुहुन्छ। साँचो ख्रिष्टियनहरूमा यो गुण हुनु एकदमै महत्त्वपूर्ण छ। आज हामी बाँचिरहेको समय एकदमै डरलाग्दो छ। त्यसैले यो गुण हामीलाई पहिलेभन्दा झन् धेरै आवश्यक छ।
५ येसुजस्तै साहसी हुनुको अर्थ के हो? कसै-कसैको विचारमा साहसी हुनु भनेको कुनै कुरादेखि नडराउनु वा विनाकारण खतरा मोल्नु हो। तिनीहरू आफूलाई कुनै कुराले हानि गर्न सक्दैन भन्ने सोचाइ राख्छन्। तिनीहरू बहादुरी देखाउन जस्तोसुकै खतरनाक कामहरू गर्न पनि तयार हुन्छन्। (भज. ११:५) तर येसुले देखाउनुभएको साहस त्यस्तो होइन। साँचो साहसले जस्तोसुकै गाह्रो अवस्थामा वा आफूलाई एकदमै डर लागेको अवस्थामा पनि यहोवाको नजरमा जे सही छ, त्यही गर्न बल दिन्छ।
तपाईँ येसुको साहस अनुकरण गर्न सक्नुहुन्छ!
६. यदि हामीलाई आफूमा साहसको कमी छ जस्तो लाग्छ भने येसुको कुराबाट हामी कस्तो सान्त्वना पाउन सक्छौँ?
६ तर तपाईँको मनमा यस्तो प्रश्न आउन सक्छ: के म परीक्षाहरू आइपर्दा येसुजस्तै साहसी हुन सक्छु? यो कुरा नबिर्सनुहोस्, येसु व्यावहारिक हुनुहुन्छ। येसुले आफ्नो बुबाले जस्तै हामीले गर्न सक्नेभन्दा बढी माग गर्नुहुन्न। (भज. १०३:१४; युह. १४:९) उदाहरणको लागि, आफ्नो मृत्युको अघिल्लो रात गेत्समनीको बगैँचामा येसुले प्रेषितहरूलाई “जागा रहो” भन्नुभयो तर तिनीहरू निदाए। तैपनि उहाँले दया देखाउँदै यसो भन्नुभयो: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।” (मत्ति २६:४१) तिनीहरू त्रुटिपूर्ण छन् भनेर उहाँले बुझ्नुभयो; उहाँ हाम्रो अवस्था पनि बुझ्नुहुन्छ।
७-८. येसुले आफ्ना चेलाहरूमाथि भरोसा गर्नुभएको कुरा कसरी देखाउनुभयो?
७ साथै येसुले आफ्ना चेलाहरूमाथि भरोसा गर्नुभएको कुरा व्यक्त गर्नुभयो। उहाँले यसो भन्नुहुँदा तिनीहरूले कत्ति ढुक्क महसुस गरे होलान्: “साहसी होओ! मैले यस संसारलाई जितेको छु।” (युह. १६:३३) चेलाहरूले आफ्नो पाइला पछ्याउनेछन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो। अनि तिनीहरूले त्यसै गरे पनि। येसुले थुप्रै चोटि “साहसी होओ,” “हरेस नखाऊ” र “नडराऊ” भन्नेजस्ता वाक्यांशहरू प्रयोग गर्नुभयो। जस्तै, उहाँले पक्षाघात भएको एक जना मानिसलाई “तिम्रो पाप क्षमा भयो” भन्नुअघि “हरेस नखाऊ” भन्नुभयो। (मत्ति ९:२) उहाँले गम्भीर रोग लागेकी एउटी स्त्रीलाई निको पार्नुभएपछि पनि यस्तै भन्नुभयो। (मत्ति ९:२२) बेसरी आँधी चलिरहेको बेला येसु पानीमाथि हिँडिरहनुभएको देखेर असाध्यै डराएका चेलाहरूलाई पनि उहाँले यस्तै सान्त्वनादायी कुरा भन्नुभयो। (मत्ति १४:२७) एकदमै रिसाएका न्यायाधीशहरूले प्रेषित पावललाई मार्ने धम्की दिँदा पनि येसुले स्वर्गबाट पावललाई “साहसी होऊ” भनेर हौसला दिनुभयो।—प्रेषि. २३:९-११.
८ एक अर्थमा हाम्रा साहसी राजा येसुले हामीलाई पनि त्यसै भन्दै हुनुहुन्छ। उहाँ हामी “साहसी” भएको चाहनुहुन्छ। अनि हामी साहसी हुन सक्छौँ भनेर पनि उहाँलाई थाह छ। साथै स्वर्गमा हुनुहुने हाम्रो बुबाले हामीलाई साहसी हुन चाहिने सबै कुराको प्रबन्ध गर्नुभएको छ।
बाइबलले तपाईँलाई अझ साहसी हुन कसरी मदत गर्न सक्छ?
९. परमेश्वरको वचनले हामीलाई अझ साहसी हुन कसरी मदत गर्न सक्छ?
९ यहोवाले आफ्नो वचन बाइबलमा हामीलाई अझ साहसी हुन मदत गर्ने थुप्रै व्यक्तिहरूको उदाहरण दिनुभएको छ। तिनीहरूको उमेर अनि अवस्था फरक-फरक थियो। तिनीहरू पनि “हाम्रो जस्तै भावना भएका” मानिसहरू थिए। (याकु. ५:१७) ती वफादार मानिसहरू हामीजस्तै त्रुटिपूर्ण थिए। तिनीहरूले पनि कमीकमजोरी र डरको सामना गरे। ती पुरुष तथा स्त्रीहरूले विभिन्न कठिनाइ र खतराहरू पनि झेले। तर तिनीहरूले येसुले जस्तै जित हासिल गर्न सके। तिनीहरू साहसी थिए। तिनीहरूको उदाहरणले हामीलाई पनि साहसी हुन मदत गर्छ।
१०-११. यस किताबले तपाईँलाई के गर्न मदत गर्नेछ र यो तपाईँ कसरी प्रयोग गर्न सक्नुहुन्छ? (“यो किताब व्यक्तिगत अध्ययन र पारिवारिक उपासनाको लागि कसरी प्रयोग गर्न सकिन्छ?” भन्ने पेटी पनि हेर्नुहोस्।)
१० यो किताब तपाईँलाई अझ साहसी हुन मदत गर्ने उद्देश्यले तयार पारिएको हो। यस किताबमा ५४ वटा अध्यायहरू छन्। यसका अध्यायहरू पढ्नुहुँदा यहोवाले हामीजस्तै त्रुटिपूर्ण मानिसहरूलाई कसरी अझ साहसी हुन मदत गर्नुभयो भनेर तपाईँले थाह पाउनुहुनेछ। त्यसैले हरेक विवरण ध्यान दिएर पढ्नुहोस्। अनि प्रत्येक पात्रबाट अझ धेरै कुरा सिक्न गहिरिएर अनुसन्धान गर्नुहोस्। यसो गर्नुभयो भने ती बाइबल पात्रहरूलाई तपाईँ अझ राम्रोसँग चिन्न सक्नुहुन्छ।
११ तिनीहरूको उदाहरणले यस “अन्तको दिनमा” हामीलाई अझ कठिन अवस्थाहरूको सामना गर्न पक्कै मदत गर्नेछ। (२ तिमो. ३:१) यहोवाले गर्नुभएको यस प्रतिज्ञालाई हरेक दिन सम्झौँ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” अनि पावलले जस्तै हामीले पनि असाध्यै साहसी भएर यसो भन्न सक्नेछौँ: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।”—हिब्रू १३:५, ६.