प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ५२ पृ. २३२-२३५
  • “सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌”
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • जवान भाइहरू हो, मर्कुस र तिमोथिको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “सान्त्वनाको छोरा”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • “मण्डलीहरूलाई सुदृढ बनाउँदै”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • तपाईँ निराशाको बाबजुद यहोवाको सेवामा लागिरहन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ५२ पृ. २३२-२३५

५२ मर्कुस

“सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌”

छापिएको संस्करण
छापिएको संस्करण

येसु भर्खरै पक्राउ पर्नुभएको थियो र उहाँलाई हतियार भिरेका मानिसहरूले हिरासतमा लैजाँदै थिए। त्यतिबेला प्रेषितहरू सबै उहाँलाई छोडेर भागे। तर “एक जना जवान मानिस” भने साहसी भई येसुको पछिपछि लागे। भीडले तिनलाई देख्यो र पक्रन खोज्यो। तर तिनी “आफ्नो कपडा छोडेर नाङ्‌गै” अर्थात्‌ भित्री लुगामै भागे। यो घटनाबारे मर्कुसको किताबमा मात्र उल्लेख गरिएको छ। त्यसैले धेरैको विचारमा ती जवान मानिस मर्कुस आफै हुनुपर्छ।

युहन्‍ना भनेर पनि चिनिने मर्कुस यरुसलेममा सम्भवतः आफ्नी आमासँगै बस्थे। तिनकी आमा सम्पन्‍न थिइन्‌ जस्तो देखिन्छ। येसुको मृत्युपछि मण्डलीका भाइबहिनीहरू उनकै घरमा भेला हुने गर्थे। प्रेषित पत्रुस पनि स्वर्गदूतको मदत पाएर झ्यालखानाबाट मुक्‍त भएपछि उनकै घरमा गएका थिए। पक्कै पनि मर्कुसले थुप्रै प्रेषितहरू र चेलाहरूलाई चिनेका थिए। मर्कुसले तिनीहरूबाट साहसी हुने सन्दर्भमा थुप्रै कुरा सिकेको हुनुपर्छ।

इस्वी संवत्‌ ४६ तिर मर्कुसका नातेदार बर्णाबास प्रेषित पावलसँगै यरुसलेम आएका थिए। तिनीहरू दुवैले मर्कुसलाई थप तालिम दिनु बेस हुन्छ भनेर सोचे। त्यसैले तिनीहरू एन्टिओक फर्किँदा मर्कुस पनि तिनीहरूसँगै गए। करिब एक वर्षपछि पावल र बर्णाबासले मर्कुसलाई तिनीहरूसँगै मिसनरी यात्रामा जान निम्तो दिए। तिनले साहसी भई तिनीहरूको निम्तो स्विकारे र ती जोसिला मिसनरीहरूको ‘सेवा गर्न’ तयार भए।

त्यतिबेला यात्रा गर्नु निकै जोखिमपूर्ण हुन्थ्यो। पछि पावलले आफ्नो यात्राबारे यसो भने: ‘नदीहरूको खतरामा, डाँकुहरूको खतरामा, सहरको खतरामा, निर्जनभूमिको खतरामा र समुद्रको खतरामा म परेको छु।’ (२ कोरि. ११:२६) मर्कुस भाइबहिनीहरूले आदर गर्ने ती दुई पुरुषको सेवक भएकोले तिनीहरूलाई जुनसुकै तरिकामा मदत गर्न पनि तयार हुनुपर्थ्यो। के मर्कुसलाई त्यो काम गाह्रो लाग्यो? त्यसबारे बाइबलमा केही बताइएको छैन। तर पाम्फिलिया पुगेपछि तिनी पावल र बर्णाबासलाई छोडेर आफ्नो घर यरुसलेम फर्केको विवरण बाइबलमा पाइन्छ। तिनी त्यसरी यात्राको बीचबाटै घर फर्कँदा ती दुवै पुरुष, खासगरि पावल निकै निराश भए।

पहिलो मिसनरी यात्रा सिद्धिएपछि पावल र बर्णाबासले अर्को मिसनरी यात्राको योजना बनाउन थाले। बर्णाबास फेरि पनि मर्कुसलाई नै लैजान चाहन्थे। तर पावल भने मानेनन्‌। तिनलाई मर्कुस भरपर्दो छैनन्‌ जस्तो लागेको हुन सक्छ। “यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो।” त्यसपछि बर्णाबास मर्कुसलाई लिएर साइप्रस गए र त्यहाँ तिनीहरू साक्षीकार्यमा लागिरहे। पावलले भने अर्को सहयोगी रोजे र आफ्नो यात्रा जारी राखे।

त्यस घटनाले गर्दा मर्कुसलाई एकदमै नमीठो लागेको हुन सक्छ। तिनले आफूले आदर गर्ने पावललाई निराश तुल्याएका थिए। अनि तिनले गर्दा दुई घनिष्ठ मित्रबीच झगडा परेको थियो र तिनीहरू एकअर्काबाट छुट्टिएका थिए। के मर्कुस तितोपना, रिस वा निराशामा डुबिरहे? त्यस्तो कुनै सङ्‌केत हामी पाउँदैनौँ।

मर्कुसले मिसनरीहरूसँगै सेवा गर्ने सुअवसर गुमाए तर तिनी निराशामा डुबिरहेनन्‌। बरु वफादार भई यहोवाको सेवामा लागिरहे

मर्कुसले भाइबहिनीलाई मदत गर्न आफ्नो तर्फबाट सक्दो गरिरहे। इस्वी संवत्‌ ६०/६१ तिर पावल रोममा नजरबन्दमा थिए। त्यतिबेला पावलले लेखेको एउटा पत्रमा तिनले मर्कुस पनि आफूसँगै भएको कुरा उल्लेख गरेका छन्‌। पावलले मर्कुसबाट “निकै सान्त्वना” पाएको कुरा बताए। त्यसपछि इस्वी संवत्‌ ६२-६४ को बीचमा फेरि मर्कुसबारे उल्लेख गरिएको हामी पाउँछौँ। यसपटक भने प्रेषित पत्रुसले आफ्नो पत्रमा तिनीबारे उल्लेख गरेका थिए। वृद्ध भइसकेका प्रेषित पत्रुसलाई मदत गर्न तिनी टाढा पर्ने बेबिलोनसम्म गएका थिए जस्तो देखिन्छ। पत्रुसले मर्कुसलाई “मेरो छोरा” भने। पत्रुसले पनि मर्कुसबाट निकै सान्त्वना पाए होलान्‌। पत्रुसले येसु ख्रिष्टसँगसँगै हिँड्‌दा आफूले बटुलेका थुप्रै अनुभवहरूबारे मर्कुसलाई बताएको हुनुपर्छ। मर्कुसले लेखेको सुसमाचारको पुस्तकमा तिनले पत्रुसले मात्र देखेका कुराहरूबारे उल्लेख गरेका छन्‌। यो किताब लेख्दा मर्कुस सम्भवतः रोममा थिए।

मर्कुस मुस्कुराउँदै पावलसित कुरा गर्दै छन्‌। कुर्सीमा बसिरहेका पावल साङ्‌लाले सैनिकसित बाँधिएका छन्‌। पावलको लागि कुनै पेय पदार्थ ल्याएका मर्कुसले तिनको काँधमा हात राखेका छन्‌। अरू दुई जना भाइ मुठामा लेख्दै ठीक भयो कि भएन भनेर जाँच्दै छन्‌।

बाइबलमा मर्कुसबारे अन्तिम पटक पावलले तिमोथिलाई लेखेको पत्रमा उल्लेख गरिएको पाइन्छ। फेरि झ्यालखानामा परेका पावलले तिमोथिलाई मर्कुसलाई पनि तिनीसँगै लिएर आउन भने। पावल किन तिमोथिसँगै मर्कुस पनि आएको चाहन्थे? पावलले यसो भने: “सेवाको काममा तिनी मेरो लागि उपयोगी छन्‌।” ती दुवै पुरुष पावलकहाँ जान आतुर थिए। तिनीहरू पावलको जीवनको अन्तिम दिनहरूमा तिनलाई सान्त्वना र मदत दिन चाहन्थे। मर्कुसले यहोवाको सेवामा थुप्रै उतारचढाव देखे तर तिनले हरेस खाएनन्‌। तिनी भाइबहिनीहरूलाई मदत गर्न सधैँ अघि सर्थे। त्यसैले यहोवा यी साहसी पुरुषलाई धेरै प्रेम गर्नुहुन्थ्यो।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • मर्कुस १४:५०-५२

  • प्रेषित १३:२-५, १३; १५:३६-४०

  • कलस्सी ४:१०, ११

  • २ तिमोथि ४:११

  • १ पत्रुस ५:१३

छलफल गर्नुहोस्‌:

मर्कुसले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. मर्कुसको परिवार सम्पन्‍न थियो भनेर हामी किन भन्‍न सक्छौँ? (w१० ३/१५ पृ. ६ अनु. ६–पृ. ७ अनु. १-wcgr)

  2. २. मर्कुसले बर्णाबास र पावलको सेवामा के-कस्ता काम गर्नुपर्थ्यो? (प्रेषि. १३:५; w१० ३/१५ पृ. ७ अनु. ५-wcgr)

  3. ३. मर्कुसले कुन-कुन ठाउँमा यात्रा गरे? (w१० ३/१५ पृ. ८ अनु. ६-८-wcgr) क

    मर्कुस निर्जनभूमिमा हिँड्‌दै छन्‌, टाढा एउटा सहर देखिन्छ। पछिल्तिरको नक्सामा तिनी सम्भवतः गएका ठाउँहरू देखाइएको छ: १. रोम। २. एफिसस। ३. कलस्सी। ४. पर्गा। ५. साइप्रस। ६. एन्टिओक (सिरिया)। ७. यरुसलेम। ८. बेबिलोन।

    चित्र क: सम्भवतः मर्कुसले भ्रमण गरेका केही ठाउँहरू

  4. ४. पत्रुसले मात्र देखेका केही कुराहरू मर्कुसले आफ्नो किताबमा लेखेका छन्‌। यसको केही उदाहरण बताउनुहोस्‌। (w०८ २/१ पृ. २६ अनु. १-wcgr)

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • मर्कुसलाई कहिल्यै पनि प्रेषित वा भविष्यवक्‍ता भनेर सम्बोधन गरिएको छैन। तर तिनले नम्र भई अरूको सेवा गरिरहे। हामी कसरी मर्कुसको अनुकरण गर्न सक्छौँ?

  • मर्कुसले केही समयको लागि पावलसित सेवा गर्ने सुअवसर गुमाए। तैपनि तिनी वफादार भइरहे। यदि हामीले सेवाको सुअवसर गुमाउनुपऱ्‍यो भने हामी तिनीबाट कस्तो पाठ सिक्न सक्छौँ? ख

    चित्रहरूको सँगालो: एक जना भाइले आफूले एकदमै मोल गरेको सेवाको सुअवसर गुमाउँछन्‌। तर तिनले वफादार भई अरूको सेवा गरिरहन्छन्‌। चित्रहरू यसप्रकार छन्‌। ती भाइ र तिनकी पत्नी एकदमै दुःखित हुँदै सभाभवनमा घोषणा सुन्दै छन्‌। पछि अर्को सभामा ती भाइ मुस्कुराउँदै एक वृद्धि बहिनी र अर्को एक बहिनीको लागि सभाभवनको ढोका खोलिदिँदै छन्‌। पछि ती भाइले एउटा पसलको कामदारलाई jw.org कार्ड दिनुका साथै आफ्नो फोनबाट केही देखाउँदै छन्‌। पछिल्तिर उभिरहेकी तिनकी पत्नी मुस्कुराउँदै हेरिरहेकी छिन्‌।

    चित्र ख

  • तपाईँ के-कस्ता तरिकामा मर्कुसजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरूमध्ये मर्कुस पनि एक हुन्‌। यस कुराप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?

अझ धेरै जान्‍नुहोस्‌

मर्कुसको किताबको विशेषताबारे थाह पाउनुहोस्‌।

मर्कुसको परिचय (३:१८)

छोराछोरीलाई मर्कुसको उदाहरण चलाउँदै हरेस नखाई यहोवाको सेवा गरिरहनुको महत्त्वबारे सिकाउनुहोस्‌।

“मर्कुसले हरेस खाएनन्‌” (w०८ २/१ पृ. २४-२६-wcgr)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने