३६ योसियाह
तिनले मानिसहरूलाई यहोवाकहाँ फर्कन मदत गरे
योसियाह छ वर्षको छँदा तिनको हजुरबुबा मनस्सेको मृत्यु भयो। तिनलाई आफ्नो हजुरबुबा खराब काम त्यागेर यहोवाकहाँ फर्केका थिए भन्ने कुरा थाह थियो। राजा मनस्सेको असल उदाहरणले योसियाहको मनमा अमेट छाप पारेको हुनुपर्छ। मनस्सेपछि योसियाहका बुबा अमोन राजा बने। ती दुष्ट राजाले मानिसहरूलाई झूटा देवीदेवताको उपासना गर्न र अन्य थुप्रै खराब कामहरू गर्न उक्साए। दुई वर्ष शासन गरेपछि तिनको मृत्यु भयो। त्यसपछि योसियाह आठ वर्षको उमेरमै राजा बने।
योसियाहको वरपर केही असल मानिसहरू पनि थिए। जस्तै, भविष्यवक्ता सपन्याह, यर्मिया, हुल्दाह अनि प्रधानपुजारी हिल्कियाह। योसियाहबारे बाइबलमा यसो भनिएको छ: ‘तिनी सानै छँदा [अर्थात्, करिब १६ वर्षको छँदा] तिनले आफ्ना पुर्खा दाउदका परमेश्वरको खोजी गर्न थाले।’ करिब २० वर्षको छँदा तिनले यहुदालाई शुद्ध पार्ने काम सुरु गरे। यहोवाले झूटो उपासनालाई हटाउन र मानिसहरूलाई खराब काम गर्नदेखि रोक्न यी जवान राजालाई प्रयोग गर्नुभयो। यो काम गर्न योसियाहले ठूलो साहस देखाए।
योसियाह ती ठाउँहरूमा पनि गए जहाँ कुनै समय इस्राएलको उत्तरी दस गोत्रे राज्यका मानिसहरू बसोबास गर्थे। धेरै समयअघि नै अस्सेरियालीहरूले इस्राएलीहरूलाई बन्दी बनाएर लगेकोले त्यस ठाउँमा थुप्रै विदेशीहरू बसोबास गर्थे। तैपनि योसियाहले ती सहरहरूमा भएका पवित्र खामाहरू र झूटा देवीदेवताको मूर्तिहरू धुलोपिठो पारिदिए।
जवान छँदै तिनले साहसी भई मूर्तिहरू हटाए र आफ्ना मानिसहरूलाई यहोवाकहाँ फर्कन मदत गरे
लगभग पाँच वर्षपछि योसियाहले आफ्ना मानिसहरूलाई यहोवाको मन्दिर मर्मतसम्भार गर्न भने। त्यतिबेला प्रधानपुजारी हिल्कियाहले एउटा आसै नगरेको कुरा भेट्टाए। उनले यहोवाले मोसामार्फत दिनुभएको व्यवस्थाको पुस्तक फेला पारे। धेरै पुरानो त्यो पुस्तक सायद मोसा आफैले लेखेका थिए। योसियाहका सचिवले त्यो पुस्तक तिनीकहाँ ल्याए र तिनीसामु त्यो पढिँदा तिनले ध्यान दिएर सुने। व्यवस्थामा लेखिएको कुरा सुनेपछि योसियाह असाध्यै दुःखी भए। किनकि तिनले आफ्ना मानिसहरू कुन हदसम्म परमेश्वरप्रति अनाज्ञाकारी भएका रहेछन् भनेर अझ राम्ररी बुझे। यहोवा तिनीहरूसित क्रोधित हुनुहुन्छ भनेर पनि तिनले थाह पाए। अब तिनले के गर्ने थिए?
योसियाहले तुरुन्तै कदम चाले। तिनले त्यस पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवासित सोधपुछ गर्न आफ्ना पाँच जना मानिसलाई भविष्यवक्ता हुल्दाहकहाँ पठाए। मानिसहरूले वर्षौँदेखि खराब काम गरेकोले यहोवा तिनीहरूसित असाध्यै रिसाउनुभएको छ भनेर हुल्दाहले बताइन्। उहाँले यहुदा र यरुसलेममाथि विपत्ति ल्याउनुहुनेछ भनेर पनि बताइन्। तर योसियाहको असल हृदय र तिनले गरेका साहसिक कामहरू यहोवाले याद गर्नुभएको थियो। त्यसैले तिनी बाँचुन्जेल यहोवाले इस्राएलीहरूमाथि कुनै विपत्ति ल्याउनुहुने थिएन।
तर त्यसो भन्दैमा योसियाह हात बाँधेर त बसेनन्। मानिसहरूलाई यहोवाकहाँ फर्काउन तिनले आफ्नोतर्फबाट सक्दो कोसिस गरे। अनि तिनले आफ्ना मानिसहरूसित मिलेर उहाँका सबै आज्ञाहरू पालन गर्ने एउटा करार पनि बाँधे। त्यसपछि योसियाह इस्राएलीहरूको पूरै इलाकाबाट सबै घिनलाग्दा मूर्तिहरू हटाउने काममा जोडतोडले लागे। साथै शुद्ध उपासनालाई अघि बढाउन तिनले ठूलो निस्तार चाडको आयोजना गरे। योसियाह र तिनका भारदारहरूले यहोवा परमेश्वरको निम्ति बलि चढाउन हजारौँ जनावरहरू दिए अनि गायकहरूले यहोवाको प्रशंसामा स्तुतिगानहरू पनि गाए। यो निस्तार चाड परमेश्वरका जनहरूले मनाएको सबैभन्दा ठूलो निस्तार चाडहरूमध्ये एक थियो।
योसियाहले परमेश्वरको आज्ञाअनुसार नचलेका मानिसहरूलाई मदत गर्न र झूटो उपासनालाई हटाउन ठूलो साहस र विश्वास देखाइरहे। तिनले बेथेलमा मान्छेका हड्डीहरू वेदीमा जलाइदिए र झूटो उपासनाको लागि प्रयोग गरिएको वेदीलाई नाश गरिदिए। तिनको त्यस कार्यले गर्दा ३०० वर्षअगाडि गरिएको एउटा भविष्यवाणी पूरा भयो। (१ राजा १३:२) त्यति मात्र होइन यहुदामा योसियाहले सयौँ वर्ष पुरानो झूटा देवीदेवताका उपासनास्थलहरू पनि नष्ट गरिदिए जुन राजा सुलेमानको समयमा बनाइएका थिए। तर दुःखको कुरा पछि गएर योसियाहले एउटा गल्ती गरे। तिनी मिश्रका राजा नेकोसित लडाइँ गर्न गए। तर यहोवाले नेकोमार्फत नै त्यो लडाइँ नलड्नू भनी तिनलाई चेतावनी दिनुभएको थियो। नेकोले दिएको चेतावनी यहोवाबाटै आएको हो कि होइन भनेर पक्का गर्न योसियाहले भविष्यवक्ताहरूसित सोधपुछ गर्न सक्थे। तर त्यसो गर्नुको सट्टा तिनी नेकोसित लडाइँ गर्न गए। तिनलाई ती शक्तिशाली राजाविरुद्ध लडाइँ गर्न जाँदा आफूले के-के न साहस देखाइरहेको छु जस्तो लागेको हुनुपर्छ। तर वास्तवमा त्यो तिनको मूर्खता थियो। तिनले त्यस लडाइँमा आफ्नो ज्यान गुमाए। त्यतिबेला तिनी केवल ३९ वर्षका थिए।
योसियाहको त्यो एउटा गल्तीको कारण के यहोवाले तिनले गरेका सबै असल कामहरू बिर्सनुभयो? पक्कै बिर्सनुभएन! भविष्यवक्ता यर्मियाले योसियाहको लागि एउटा शोकगीत रचे। सम्भवतः तिनको लागि रचिएको यो शोकगीत मानिसहरूले पुस्तौँसम्म गाए। सायद फेरि जीवित भएपछि योसियाहले बाइबलमा आफूबारे लेखिएका कुराहरू र तिनको लागि रचिएका शोकगीतहरू पढ्नेछन्। स्पष्टतः यहोवा योसियाहलाई प्रेम गर्नुहुन्थ्यो र तिनले देखाएको विश्वास र साहस उहाँले कहिल्यै बिर्सनुभएन।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
योसियाहले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. सापानले के-कस्ता तरिकामा योसियाहलाई साथ दिए? (w०२ १२/१५ पृ. १९ अनु. २-६)
२. योसियाहले व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सुन्नेबित्तिकै किन आफ्नो लुगा च्याते? (w१४ ४/१५ पृ. ३२)
३. मिश्रका राजा नेको वास्तविक व्यक्ति थिए भन्ने कस्ता प्रमाणहरू छन्? (२ इति. ३५:२२; it “नेको” अनु. २-wcgr) क
StockStudio/Alamy Stock Photo
चित्र क: मगिद्दो, योसियाहले राजा नेकोसित युद्ध लडेको ठाउँ
चित्र क: मगिद्दो, योसियाहले मिश्रका राजा नेकोसित युद्ध लडेको ठाउँ
StockStudio/Alamy Stock Photo
४. हुल्दाहले योसियाह ‘शान्तिपूर्वक चिहानमा जानेछन्’ भनेर भविष्यवाणी गरेकी थिइन्। तर योसियाहको मृत्यु युद्धमा भयो। के हुल्दाहको भविष्यवाणी सही थियो? (२ राजा २२:२०; w०० ९/१५ पृ. ३० अनु. २-३)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
कतिपय ख्रिष्टियनहरूको बाल्यकाल योसियाहको जस्तै कष्टकर भएको हुन सक्छ। तिनीहरूले योसियाहबाट कस्तो पाठ सिक्न सक्छन्?
योसियाहले धर्मशास्त्रमा भएका कुराहरूको अर्थ बुझ्न प्रयास गरे। (२ इति. ३४:२१) हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ? ख
चित्र ख
तपाईँ अन्य के-कस्ता तरिकामा योसियाहजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा योसियाहलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
सानै उमेरमा यहुदाका राजा बनेका योसियाह र अरू दुई जवान राजाले गरेका निर्णयहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
“युवाहरू हो, तपाईँ आफ्नो भविष्य कस्तो भएको चाहनुहुन्छ?” (w२३.०९ पृ. ८-१३)
के योसियाहले आफ्नै बल र बुद्धिको भरमा यहुदाबाट मूर्तिहरू हटाउन सकेका हुन्? यस प्रश्नको जवाफ पाउन यो भिडियो हेर्नुहोस्।
योसियाहको कथा: यहोवालाई प्रेम गर्नुहोस् र खराबीलाई घृणा गर्नुहोस्—भाग २—सानो अंश (३:४३)