२० सिमसोन
तिनले कमजोर हुँदा बल पाए
सिमसोनले केही देख्न सकेका छैनन्। तर पलिस्तियालीहरूको भीडले तिनलाई चर्को स्वरमा गालीगलौज गरेको र गिल्ला गरेको भने तिनी सुन्न सक्छन्। तिनी कसरी यस्तो अवस्थामा पुगे? तिनले परमेश्वरबाट पाएको बलको रहस्य अरूलाई बताएर मूर्खतापूर्ण काम गरे। त्यसपछि तिनलाई पक्रेर तिनको आँखा निकालियो। साथै तिनलाई बाँधियो, झ्यालखानामा थुनियो र दासको रूपमा काम गर्न खटाइयो। त्यसैले अहिले पलिस्तियालीहरू तिनी र तिनका परमेश्वर यहोवाको खिल्ली उडाउँदै छन्। यो सबै आफ्नै कारणले भएको हो भनेर सिमसोनलाई थाह थियो। तिनी पहिल्यैदेखि साहसी पुरुषको रूपमा चिनिन्थे। के यस्तो अवस्थामा पनि तिनले फेरि साहस देखाउन सक्ने थिए?
बीस वर्षदेखि सिमसोन इस्राएलमा न्यायकर्ताको रूपमा सेवा गर्दै थिए। तर तिनी अरू न्यायकर्ताभन्दा भिन्न थिए। बाराक, गिदोन र यिप्तहजस्ता अरू न्यायकर्ताहरूले परमेश्वरका शत्रुहरूविरुद्ध लड्न आफ्ना सेनाहरूलाई डोऱ्याए। तर सिमसोनलाई भने त्यसो गर्न आवश्यक परेन किनभने तिनी एक जना नै सेनाको बराबर थिए। यहोवाले तिनी एक्लैलाई प्रयोग गर्नुभएर थुप्रै पलिस्तियालीहरूलाई हराउनुभयो। कसरी?
यहोवाले सिमसोनका आमाबुबालाई भन्नुभएझैँ सिमसोनले जन्मदेखि नै नाजिरीको रूपमा सेवा गरे। नाजिरीहरूले कपाल काट्नु हुँदैन थियो। त्यसैले तिनले कहिल्यै आफ्नो कपाल काटेका थिएनन्। तिनले नाजिरीको रूपमा आफ्नो भाकल पूरा गरुन्जेल यहोवाबाट असाधारण शक्ति पाइरहने थिए। एकपटक सिमसोनले हातैले एउटा सिंहलाई दुई फ्याक पारे। तिनले परमेश्वरले दिनुभएको शक्ति पलिस्तियालीहरूविरुद्ध लड्न पनि प्रयोग गरे, जसले यहोवा परमेश्वरका मानिसहरूलाई दुःख दिइरहेका थिए।
एकपटकको कुरा हो, सिमसोनले थुप्रै पलिस्तियालीहरूलाई मारे। त्यसैले अब पलिस्तियालीहरूले बदला लिनेछन् भन्ने डरले इस्राएलीहरूले सिमसोनलाई तिनीहरूको हातमा सुम्पिदिए। तर तिनले आफ्नो पाखुरामा बाँधिएको डोरीलाई मलमलको धागोलाई जस्तै धुजाधुजा पारिदिए र गधाको एउटा बङ्गाराले हिर्काएर एक हजार पलिस्तियालीहरूलाई मारे। पछि सिमसोन गाजा गएको बेला शत्रुहरूले बिहान उज्यालो हुनेबित्तिकै तिनलाई मार्ने योजना बनाए र रातभरि मूलढोकामा ढुकेर बसे। तर तिनी मध्यरातमा उठे अनि मूलढोकाका खापाहरू र त्यसका दुई वटा खम्बा समातेर गजबारैसमेत उखेले। त्यसपछि तिनले ती आफ्नो काँधमा बोकेर हेब्रोननजिकैको पहाडको टुप्पोसम्म गए, जुन लगभग ६० किलोमिटर टाढा थियो।
सिमसोनले बारम्बार पलिस्तियालीहरूलाई हराए। तिनीहरूका दागोनजस्ता देवताहरू यहोवाको वफादार सेवकको तुलनामा बेकामका छन् भनेर सिमसोनले देखाए। तर तिनीहरूले सिमसोनलाई हराउन चलाखीपूर्ण ढङ्गमा एउटा षड्यन्त्र रचे। त्यस कामको लागि तिनीहरूले दलिलालाई प्रयोग गरे।
सिमसोनको दलिलासित माया बसेको थियो। तर पलिस्तियालीहरूले उनलाई सिमसोन बलियो हुनुको कारण पत्ता लगाएमा ठूलो रकम दिने वाचा गरेका थिए। त्यसैले दलिलाले सिमसोनलाई विश्वासघात गरिन्। उनले सिमसोनलाई बारम्बार फकाइफुस्ल्याइ गरिरहिन्। अन्तमा सिमसोनले हैरान भएर आफ्नो बलको रहस्य बताइदिए। तिनले यसो भने: “मेरो कपाल काट्यो भने मेरो बल जानेछ अनि म कमजोर भएर अरू मानिसजस्तै हुनेछु।” त्यसैले दलिलाले तिनी निदाएको बेला एक जना मानिस बोलाएर तिनको चुल्ठो काट्न लगाइन्। बाइबलले बताएअनुसार त्यसपछि ‘परमेश्वरले तिनलाई छोड्नुभयो।’ सिमसोनको सबै बल गयो अनि पलिस्तियालीहरू त्यहाँ आएर तिनलाई पक्रे र तिनको आँखा निकालिदिए।
सिमसोनलाई जबरजस्ती शत्रुहरूको लागि गहुँ पिस्ने काम गर्न लगाइयो। पलिस्तियालीहरू आफ्नो शक्तिशाली शत्रुलाई दासको रूपमा हेर्न पाउँदा खुब रमाए। तिनीहरूले दागोन देवतालाई धन्यवाद दिन ठूलो भोजको आयोजना गरे। मन्दिरमा हजारौँ मानिसहरू भेला भए। मन्दिरको छतबाट लगभग तीन हजार मानिसहरूले हेरिरहेका थिए। त्यसपछि पलिस्तियालीहरूले सिमसोनको रमिता हेर्न तिनलाई झ्यालखानाबाट ल्याए र दुई वटा ठूलो खम्बाको बीचमा उभ्याए। त्यतिबेलासम्म सिमसोनको ठुटो पारेको कपाल लामो भइसकेको थियो।
सिमसोनले आफ्नो गल्तीको कारण कैदीको जीवन बिताउनुपऱ्यो तर अन्तमा तिनले आफ्नो बल यहोवाको लागि प्रयोग गरे
तिनले खम्बाहरूमा हात राख्दै यहोवालाई आफ्नो बल फर्काइदिनुहोस् भनेर बिन्ती गरे। तिनले यसो भने: “कृपया मलाई सम्झनुहोस् र मलाई बल दिनुहोस्। हे परमेश्वर, बिन्ती छ, यही एक पटकको लागि बल दिनुहोस्।” तिनी अझ यसो भन्दै कराए: “आज मैले यी पलिस्तियालीहरूलाई आफूसँगै नाश गर्न सकूँ!” तिनले आफ्नो भएभरको बल लगाएर खम्बाहरू ठेल्दा ती खम्बाहरू हल्लिएको कल्पना गर्नुहोस त! पलिस्तियालीहरूले तिनलाई रोक्न नपाउँदै मन्दिर गर्ल्यामगुर्लुम ढल्यो। सिमसोनले आफ्नो असाधारण शक्ति प्रयोग गरेको यो नै अन्तिम पटक थियो। तिनले एकै झट्कामा सबैलाई मारे। सिमसोनले आफ्नो जीवनभर जति पनि परमेश्वरका शत्रुहरूलाई मारेका थिए, त्योभन्दा धेरै त आफ्नो मृत्युको दिनमा मारे।
हजारौँ वर्षपछि प्रेषित पावलले विश्वासी पुरुषहरूको नाम लिँदा सिमसोनको नाम पनि उल्लेख गरे। पावलले ‘कमजोर अवस्थाबाट शक्तिशाली बनाइएका’ व्यक्तिहरूबारे लेख्दा यी साहसी न्यायकर्तालाई पनि सम्झेका थिए।—हिब्रू ११:३२-३४.
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
सिमसोनले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. सिमसोनले लासहरूलाई छोए तापनि किन नाजिरीको रूपमा सेवा गरिरहन सक्थे? (w०५ १/१५ पृ. ३० अनु. १–पृ. ३१ अनु. १)
२. सिमसोनलाई ढोकाहरू उचालेर गाजादेखि हेब्रोनसम्म लैजानको लागि पवित्र शक्ति चाहिएको थियो भनेर कुन कुराले देखाउँछ? (w०४ १०/१५ पृ. १५ अनु. ७-८) क
चित्र क
३. दलिला एक इस्राएली हुन सक्छिन् भनेर हामी किन भन्न सक्छौँ? (w०५ ३/१५ पृ.२८ अनु. ३)
४. सिमसोनले यहोवासित किन आफ्नो “एउटा आँखाको भए पनि बदला लिन सकूँ” भनेर बिन्ती गरे? (न्याय. १६:२८; it “सिमसोन” अनु. १०-wcgr)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
दलिलाले हैरान पारेपछि सिमसोनले आफ्नो गोप्य कुरा उनलाई बताइदिए। यसबाट एल्डरहरू र तिनका पत्नीहरूले कस्तो पाठ सिक्न सक्छन्? ख
चित्र ख
सिमसोनले गम्भीर गल्ती गरे तर यहोवाले पछि तिनलाई ठूलो कामको लागि प्रयोग गर्नुभयो। यदि कुनै ख्रिष्टियनले गम्भीर गल्ती गरे भने हार नमान्न तिनलाई सिमसोनको उदाहरणले कसरी मदत गर्छ?
तपाईँ कसरी सिमसोनजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा सिमसोनलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
आफ्ना छोराछोरीलाई सिमसोन कसरी सबैभन्दा शक्तिशाली पुरुषहरूमध्ये एक हुन सके भनेर सिकाउनुहोस्।
सिमसोनको विवरणबाट हामी अरू के-कस्ता पाठहरू सिक्न सक्छौँ?