२१ समुएल
यहोवाबारे साहसी भई बताउने केटो
समुएलको जीवन यिप्तहकी छोरी र सिमसोनको जीवनसित मिल्दोजुल्दो थियो। यी तीनै जनाका आमाबुबा यहोवाप्रति आज्ञाकारी थिए। यसले तिनीहरूको जीवनमा ठूलो प्रभाव पाऱ्यो। समुएलले यिप्तहकी छोरीले जस्तै आफ्नो जीवन यहोवालाई सुम्पे। (१ समु. २:११) साथै तिनले सिमसोनले जस्तै नाजिरीको रूपमा पनि जीवन बिताए। (न्याय. १३:७) ती दुवैलाई जस्तै समुएललाई पनि साहस चाहिएको थियो।
समुएलको दूध छुटाउनेबित्तिकै तिनकी आमा हन्नाले यहोवासित गरेको भाकल पूरा गरिन्। उनले समुएल तीन वर्ष जतिको हुँदा तिनलाई सिलोमा रहेको यहोवाको वासस्थानमा लगिन्। उनी नियमित रूपमा आफ्नो छोरालाई भेट्न जान्थिन् र हरेक वर्ष समुएललाई वासस्थानमा लगाउनको लागि नयाँ लुगा लगिदिन्थिन्। समुएल प्रधानपुजारी एलिको हेरचाहमा हुर्के। त्यतिबेला वासस्थानमा सेवा गर्ने केही स्त्रीहरूले ती सानो केटोको ख्याल राखेका हुन सक्छन्।
तर वासस्थानमा नराम्रा कामहरू पनि भइरहेका थिए। दुःखको कुरा, एलिले ती सब रोक्न दृढ अडान लिएनन्। तिनका दुई छोरा होप्नि र पिनहास निकै दुष्ट थिए। ती दुवैले यहोवाको वासस्थानमा सेवा गर्ने केही स्त्रीहरूसित अनैतिक सम्बन्ध राख्थे। साथै तिनीहरूले यहोवालाई चढाइएका भेटीहरूको घोर अनादर पनि गरिरहेका थिए। तिनीहरूको आज्ञाअनुसारै मन्दिरमा काम गर्ने सेवकहरूले त्यहाँ भेटी चढाउन आउनेहरूलाई दुःख दिन्थे। ती सेवकहरूले यहोवाको लागि चढाइएको भेटीको उत्तम भाग खोसेर लैजान्थे। एलिलाई आफ्ना छोराहरूले गरेको दुष्ट कामहरूबारे थाह भए तापनि तिनीहरूलाई हल्का रूपमा मात्र हप्काए। होप्नि र पिनहासले आफ्नो बुबाको कुरा सुनेनन्। आफ्नो वरपर यस्तो दुष्टता भए पनि समुएल भने यहोवासित नजिकिँदै र हुर्कँदै गए। तिनी यहोवा परमेश्वर र मानिसहरूको झन्झन् प्यारो बन्दै गए। सिलोमा भएको समस्यालाई हटाउने समय आउँदा यहोवाले आफ्नो सन्देश सुनाउन सानो केटो समुएललाई नै रोज्नुभयो।
एक रात समुएल सुतिरहेको बेला आफूलाई कसैले बोलाइरहेको तिनले सुने। तिनलाई बोलाउने यहोवा हुनुहुन्थ्यो तर समुएललाई भने आफूलाई बोलाउने एलि हुन् जस्तो लागेकोले उनीकहाँ गए। वृद्ध अनि आँखा धमिला भइसकेका एलिले ‘मैले तिमीलाई बोलाएको छैनँ, गएर सुत’ भने। अझै दुई पटकसम्म यस्तै भयो। त्यसपछि समुएललाई बोलाउने यहोवा परमेश्वर नै हुनुहुन्छ भनेर एलिले बुझे। तिनले समुएललाई गएर सुत्न भने। अनि फेरि आवाज आएमा यस्तो जवाफ दिनु भनेर सिकाए: “भन्नुहोस् यहोवा! तपाईँको सेवकले सुन्दै छ।”
यहोवाले चौथो पटक “समुएल, समुएल” भनेर बोलाउनुभयो। यसपटक समुएलले यसो भने: “भन्नुहोस्, तपाईँको सेवकले सुन्दै छ।” यहोवा तिनीसित बोल्न थाल्नुभयो। उहाँले सिलोमा भइरहेका खराब कुराहरू हटाउनेछु र आफ्ना छोराहरूलाई खराब काम गर्नदेखि नरोकेकोले एलिलाई सजाय दिनेछु भन्नुभयो। एलिको पूरै परिवारलगायत तिनका छोराहरूले समेत सजाय पाउने थिए। यी सबै कुरा समुएलले गएर एलिलाई भन्नुपर्ने थियो।
त्यसपछि समुएल गए र ओछ्यानमा पल्टिए। तर तिनी राम्रोसित निदाउन सके कि सकेनन् भनेर बाइबलमा बताइएको छैन। तिनले बिहान उठेर यहोवा परमेश्वरको मन्दिरका ढोकाहरू खोले। “आफूले देखेको दर्शनबारे एलिलाई बताउन समुएललाई डर लागिरहेको थियो।” सायद एलिले समुएल डराइरहेको याद गरेका थिए। त्यसैले एलि आफैले तिनलाई बोलाए र यसो भने: “परमेश्वरले तिमीलाई के भन्नुभयो? मलाई सबै कुरा भन।”
सानै उमेरको भए तापनि समुएलले प्रधानपुजारी एलिलाई यहोवाको न्यायको सन्देश सुनाए
समुएलको लागि यो पक्कै गाह्रो कुरा थियो। तिनले एलिलाई पक्कै आफ्नो हजुरबुबासरह ठान्थे। साथै एलि प्रधानपुजारी भएकोले पनि समुएल उनको आदर गर्थे। तर तिनले साहस जुटाए र “एलिलाई सबै कुरा भने।” त्यसपछि यहोवाले छिट्टै सजाय दिनुहुनेछ भनेर एलिले बुझे। समुएलको कुरा सुनेपछि के उनले आफ्नो छोराहरूलाई सच्याए? उनले यसो गरेको कुनै प्रमाण पाइँदैन।
समुएलले साहस देखाएकोमा यहोवाले तिनलाई प्रशस्तै आशिष् दिनुभयो। ‘यहोवा परमेश्वरले तिनलाई साथ दिइरहनुभयो।’ उहाँले समुएललाई भविष्यवक्ताको रूपमा नियुक्त गर्नुभयो र तिनीद्वारा “आफूले भनेको सबै कुरा उहाँले पूरा गर्नुभयो।” समुएलले एलि र उनका छोराहरूको बारेमा भनेका एकएक कुरा पूरा भए। वर्षौँसम्म समुएलले यहोवाको भविष्यवक्ता र न्यायकर्ताको रूपमा इस्राएलीहरूलाई डोऱ्याउने काम गरे। तिनले सानैदेखि साहसी हुन सिके र जीवनभर साहस देखाए। यसरी समुएलले अन्तसम्मै वफादार भई यहोवाको सेवा गरिरहे।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
समुएलले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. सिलोमा यहोवाको वासस्थान कस्तो थियो, व्याख्या गर्नुहोस्। (w९२ ११/१ पृ. ८-९-wcgr) क
Todd Bolen/BiblePlaces.com
चित्र क: प्राचीन सिलो अवस्थित ठाउँ
२. वासस्थानमा समुएलको जीवन कस्तो थियो? (ia पृ. ६१-६२ अनु. ९-१३) ख
चित्र ख
३. सानो उमेरका समुएलले कुन अर्थमा “यहोवा परमेश्वरलाई राम्ररी चिनिसकेका थिएनन्?” (१ समु. ३:७; w०२ १२/१५ पृ. ८ अनु. ५-६)
४. एलिको घरानाबारे गरिएको भविष्यवाणी कसरी पूरा भयो? (it “एलि, क” अनु. ५-७-wcgr)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
निम्न कुराहरूको महत्त्वबारे साना केटाकेटीहरूले समुएलबाट के सिक्न सक्छन्?
इच्छुक भई आज्ञा मान्ने (१ समु. ३:५)
नम्र हुँदै र आदर देखाउँदै बोल्ने (१ समु. ३:६-१०)
भरोसायोग्य हुने (१ समु. ३:१५) ग
चित्र ग
के-कस्ता अवस्थामा जवानहरूले साहस देखाउँदै बोल्नुपर्ने हुन सक्छ? समुएलको उदाहरणबाट तिनीहरूले कस्तो मदत पाउन सक्छन्?
तपाईँ अन्य के-कस्ता तरिकामा समुएलजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा समुएललाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
के-कस्ता अवस्थामा साना-ठूला सबैले सही काम गर्न साहस देखाउनुपर्ने हुन्छ?
आफू वरपरका मानिसहरू यहोवाप्रति अनाज्ञाकारी भए तापनि समुएलले भने जे सही छ, त्यही गरे।