१५ नाओमी र रुथ
तिनीहरू एकअर्काको सहारा बने
नाओमीको जीवनमा एकपछि अर्को बज्रपात आइपऱ्यो। इस्राएलमा अनिकाल पर्दा तिनका पतिले परिवारसहित बेतलेहेम छोडेर मोआबमा सर्ने निर्णय गरे। एकदिन मोआबमै छँदा नाओमीको पतिको मृत्यु भयो। त्यसपछि त्यस बिरानो देशमा उनी र उनका दुई छोरा मात्र बाँकी भए। पछि तिनका छोराहरूले यहोवाको उपासना नगर्ने मोआबी स्त्रीहरूसित विवाह गरे। त्यसको लगभग १० वर्षपछि नाओमीले अर्को वियोग सहनुपऱ्यो। उनका दुवै छोराहरूको मृत्यु भयो। त्यसमाथि तिनीहरूको कुनै सन्तान पनि थिएनन्। यसरी नाओमीले आफ्नो पति मात्र नभई आफ्ना दुवै छोराहरू पनि गुमाइन् र नातिनातिना खेलाउने तिनको रहर पनि अधुरै रह्यो।
अब आफूसित केही पनि बाँकी नरहेपछि नाओमीले आफ्नो घर बेतलेहेम फर्कने निर्णय गरिन्। त्यहाँसम्म पुग्न लगभग एक हप्ताजति यात्रा गर्नुपर्थ्यो। नाओमीका दुई बुहारी रुथ र ओर्पा पनि उनीसँगै गए। तर आफ्ना बुहारीहरूलाई तिनीहरू हुर्के-बढेको ठाउँ र नातागोताबाट टाढा लैजान नाओमीको मनले मानेन। तिनीहरूलाई आफूसँगै लैजाँदा तिनीहरूले फेरि बिहाबारी गरेर परिवार बसाल्न नपाउने हुन् कि भनेर नाओमीलाई चिन्ता लागेको हुनुपर्छ। त्यसैले तिनले रुथ र ओर्पालाई आ-आफ्नो माइती फर्कन भनिन्। साहसी नाओमी एक्लै यात्रा गर्न पनि तयार थिइन्। सासूसँग बिछोड हुनुपर्ने कुरा सोचेर तिनीहरू धुरुधुरु रोए। अनि ओर्पा त्यहाँबाट गइन् तर रुथले भने नाओमीलाई छोडिनन्।
रुथले नाओमीलाई भनिन्: “तपाईँलाई छोडेर जान मलाई कर नगर्नुहोस्। . . . तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ रात काट्नुहुन्छ, म पनि त्यहीँ रात काट्नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईँ जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र मेरो लास त्यहीँ गाडिनेछ।” वफादार र आँटिली रुथले आफ्नी सासू नाओमीको परमेश्वर यहोवालाई आफ्नो परमेश्वर बनाउने छनौट गरिन्।
प्रियजनको मृत्यु हुँदा शोकमा डुबेका दुई स्त्रीले यहोवाका मानिसहरूकहाँ फर्कँदा सान्त्वना पाए
यसरी रुथ मोआबमा भएको आफ्नो माइती, त्यहाँको परम्परा, त्यहाँको देवीदेवता सबै छोडेर नाओमीसँग इस्राएल गइन्। अन्ततः तिनीहरू बेतलेहेम पुगे। नाओमीलाई वर्षौँपछि देख्दा केही स्त्रीहरू छक्क परे। उनले ती स्त्रीहरूलाई यहोवाले आफ्नो जीवन दुःखैदुःखले भरिदिनुभएको छ, आफूसित भएको सबै थोक खोस्नुभएको छ र रित्तो हात फर्कनुपरेको छ भनेर बह पोखिन्। नाओमीको मुखबाट यस्ता शब्दहरू सुन्दा रुथको चित्त दुखेको हुन सक्छ किनकि उनले आफ्नी सासूको लागि थुप्रै त्याग गरेकी थिइन्। तर बाइबलमा रुथ आफ्नी सासूसित रिसाइन् वा गुनासो गरिन् भनेर कतै लेखिएको छैन। बरु उनी आफ्नो र नाओमीको बिहान-बेलुकीको छाक टार्न नजिकैका खेतहरूमा शिलाबाला बटुल्न जान थालिन्।
बेतलेहेममा बोअज नाम गरेको एक जना धनी जमिनदार थिए। तिनी राहाबका छोरा थिए। एकदिन तिनले रुथले खेतमा शिलाबाला बटुलिरहेको देखे र उनीबारे सोधपुछ गरे। रुथले नाओमीको लागि के-कस्तो त्याग गरिन् भनेर तिनले थाह पाए। यहोवाको छत्रछायामुनि शरण लिन आएकोमा बोअजले उनको प्रशंसा गरे साथै आफ्ना कामदारहरूलाई पनि उनलाई दुःख नदिन भने।
त्यस दिन घर फर्किएपछि रुथले नाओमीलाई बोअजले देखाएको दयाबारे बताइन्। यो सुनेर नाओमी असाध्यै खुसी भइन्। बोअजले रुथलाई आफ्नी पत्नी बनाउनेछन् कि भनेर पनि तिनले सोचिन्। बोअज तिनको नातेदार थिए र परमेश्वरको व्यवस्थाले रुथजस्ता जवान विधवाहरूको लागि एउटा राम्रो प्रबन्ध मिलाएको थियो। कुनै स्त्री विधवा भएमा तिनले मरिसकेका आफ्नो पतिको नजिकैको नातेदारसित विवाह गर्न पाउँथिन्। यसरी तिनले सन्तान जन्माएर मरिसकेका आफ्ना पतिको वंश कायम राख्न सक्थिन् र उनको सम्पत्ति उनकै परिवारभित्र रहने थियो। (व्यव. २५:५, ६) त्यसैले नाओमीले रुथलाई अब उनले के गर्नुपर्ने हो भनेर बताइन्।
रुथलाई त्यो चलन एकदमै अनौठो लागेको हुनुपर्छ र आफूले गर्नुपर्ने कुराबारे सोच्दा उनी एकदमै आत्तिएकी हुन सक्छिन्। तैपनि रुथ नाओमीले भनेझैँ गर्न राजी भइन्। कटनीको समय भएकोले पुरुषहरू अन्नको थुप्रोसँगै खलामै सुत्ने गर्थे र त्यस रात बोअज पनि खलामै थिए। रुथ बिस्तारै बोअज सुतेको ठाउँमा गइन् अनि बोअजको खुट्टाको ओढ्ने हटाएर त्यहीँ ढल्किन्। तर मध्यरातमा बोअज ब्युँझिए। त्यसपछि रुथले नम्र भई बोअजलाई परमेश्वरको व्यवस्थाबारे सम्झाइन् र आफूलाई मोल तिरेर छुटाउन बिन्ती गरिन्। यो कुरा भन्दै गर्दा रुथ आत्तिरहेको ती दयालु पुरुषले याद गरेको हुनुपर्छ। रुथको साहस अनि यहोवा र नाओमीप्रति उनले देखाएको अटल प्रेम देखेर बोअज असाध्यै प्रभावित भए। तिनी रुथलाई मोल तिरेर छुटाउन तयार भए। तर त्यसअघि तिनले एउटा कुरा पक्का गर्नुपर्ने थियो।
भोलिपल्ट बोअज बेतलेहेमका नाइकेहरूकहाँ गए र व्यवस्थाअनुसारै सबै कुरा मिलाए। तिनले रुथलाई आफ्नी पत्नी बनाए। पछि रुथको एउटा छोरा जन्मियो र तिनको नाम ओबेद राखियो। बुढेसकालमा नाति खेलाउन पाउँदा नाओमी कत्ति फुरुङ्ङ भइन् होला! पछि तिनै ओबेदको वंशबाट राजा दाउदको जन्म भयो। अनि सयौँ वर्षपछि मसीह पनि तिनकै घरानाबाट आए। (मत्ति १:५, ६, १६) नाओमी र रुथले देखाएको साहसको लागि यहोवाले तिनीहरूलाई प्रशस्त इनाम दिनुभयो।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
नाओमी र रुथले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. यहोवाले इस्राएलमा गरिबहरूले शिलाबाला बटुल्न पाउने व्यवस्था मिलाउनुभएको थियो। यस्तो प्रबन्ध किन विशेष थियो? (ia पृ. ३९ अनु. २३, फुटनोट) क
चित्र क
चित्र क
२. रुथ रातको समयमा खलामा बोअजकहाँ जाँदा यौनसम्बन्ध राख्ने मनसायले गएकी थिइनन् भनेर किन भन्न सकिन्छ? (ia पृ. ४७ अनु. १७-१८)
३. बोअजले रुथलाई “छोरी” अनि “नानी” भनेर सम्बोधन गरे। यसबाट हामी बोअजबारे के थाह पाउन सक्छौँ? (रुथ २:८; w१६.११ पृ. ३)
४. रुथसित विवाह गर्न राजी भएर बोअजले कसरी निःस्वार्थ भएको देखाए? तर बोअजको नजिकैको नातेदार भने कसरी स्वार्थी भएको देखियो? (w२३.०३ पृ. १४) ख
चित्र ख
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
आर्थिक कठिनाइको सामना गर्नुपर्दा रुथको उदाहरणले हामीलाई मेहनती अनि कृतज्ञ हुन कसरी मदत गर्छ? ग
चित्र ग
नाओमीले पीडादायी अवस्थाको सामना गर्नुपर्दा रुथले उनलाई सहन मदत गरिन्। नम्र भई अरूको मदत स्विकार्ने सन्दर्भमा हामी नाओमीबाट के सिक्न सक्छौँ? अरूलाई सान्त्वना दिने सन्दर्भमा हामी रुथबाट के सिक्न सक्छौँ?
तपाईँ अन्य के-कस्ता तरिकामा नाओमी र रुथजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा नाओमी र रुथलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
रुथको किताबबाट अटल प्रेम देखाउनेबारे हामी के-कस्ता पाठहरू सिक्न सक्छौँ? अनि हामी कसरी ती लागू गर्न सक्छौँ?
तपाईँको परिवारलाई यस विवरणबारे कल्पना गर्न मदत दिनको लागि यो बाइबल चित्रकथा प्रयोग गर्नुहोस्।