१२ कालेब
तिनी आफ्ना परमेश्वरप्रति वफादार रहे
मोसा मिश्रबाट भागेको समयतिरै एउटा इस्राएली परिवारमा एक बालकको जन्म भयो। ती बालकको नाम कालेब थियो। अरू इस्राएलीहरूले जस्तै तिनले पनि दासत्वमै जीवन बिताइरहेका थिए। तर पछि तिनी पनि दासत्वबाट मुक्त भए। कालेब ४० वर्षजतिको हुँदा मोसा मिश्र फर्के। आफ्ना मानिसहरूलाई छुटाउन यहोवाले नै तिनलाई त्यहाँ पठाउनुभएको थियो। यहोवाले मिश्रमाथि दस विपत्ति ल्याउनुभएको, लाल समुद्रलाई दुई भाग पार्नुभएको र आफ्ना मानिसहरूलाई दासत्वबाट मुक्त गर्नुभएको कालेबले आफ्नै आँखाले देख्न पाए। यहोवाको अपार शक्तिको यस्तो झलक देख्दा तिनी कत्ति आश्चर्यचकित भए होलान्!
विश्वास बलियो बनाउने यस्ता घटनाहरू कालेबले कहिल्यै बिर्सेनन्। मिश्रबाट निस्केको केही महिनापछि नै सिनै डाँडामा थुप्रै इस्राएलीहरूले यहोवाको विद्रोह गरे। तर कालेब भने उहाँप्रति वफादार रहिरहे। त्यसको केही समयपछि मोसाले तिनलाई एउटा महत्त्वपूर्ण काम सुम्पे। तिनी यहोसु र अरू १० जना कुलनायकहरूसँगै मिलेर प्रतिज्ञा गरिएको देशमा जासुसी गर्न जानुपर्ने थियो।
ती १२ जना पुरुष साहसी भई कनान गए। त्यहाँका सहरहरू र मानिसहरू कस्ता छन् अनि त्यहाँको उब्जनी कस्तो छ भनेर राम्ररी बुझ्न तिनीहरूले त्यहाँ ४० दिन बिताए। कनानबाट फर्कँदा तिनीहरूले केही फलफूलहरू पनि सँगै लिएर आए। तिनीहरूले अङ्गुरको एउटा ठूलो झुप्पा पनि ल्याए। त्यो निकै गह्रुङ्गो भएकोले त्यसलाई दुई जनाले बोक्नुपरेको थियो। तर १० जना जासुसले इस्राएलीहरूको समुदायलाई कनानबारे “नराम्रो खबर” मात्र सुनाए। त्यतिबेला कालेब कत्ति निराश भए होलान्! ती १० जनाले कनानीहरू निकै बलिया र बडेमाका भएकोले उनीहरूलाई हराउन सकिँदैन भनेर बताए। यहाँसम्म कि तिनीहरूले कनानका मानिसहरू नपिलका सन्तान रहेछन् समेत भने जबकि नपिलहरू जलप्रलयमै नाश भइसकेका थिए। यो सुनेर त्यहाँ भेला भएका सबै मानिस भयभीत भए। अनि कसै-कसैले त एक जना नाइके रोजेर मिश्र फर्कौँ समेत भने।
कालेब र यहोसु भने डगमगाएनन्। तिनीहरूले ती मानिसहरूलाई यसो भन्दै ढाडस दिए: “हाम्रो साथमा यहोवा परमेश्वर हुनुहुन्छ। त्यसैले उनीहरूसित नडराओ।” तर ती अवफादार इस्राएलीहरू झनै जङ्गिए। तिनीहरू कालेब र यहोसुलाई ढुङ्गाले हानेर मार्न समेत तम्सिए!
यहोवाले आफ्ना मानिसहरूलाई मिश्रजस्तो शक्तिशाली राष्ट्रको हातबाट छुटाउन थुप्रै कुरा गर्नुभएको थियो। तर ती कुराहरू बिर्सन इस्राएलीहरूलाई कत्ति बेर पनि लागेन! त्यसैले यहोवा असाध्यै दुःखी हुनुभयो। तर उहाँले कालेब र यहोसुले देखाएको साहस र विश्वास भने याद गर्नुभयो। उहाँले यसो भन्नुभयो: ‘मेरो सेवक कालेबले फरक मनोभाव देखाएका छन् र पूरा तनमनले मेरो आज्ञा पालन गरेका छन्।’ उहाँले इस्राएलीहरूको त्यो विश्वासघाती पुस्ता निर्जनभूमिमै मर्नेछन् भनेर बताउनुभयो।a तर कोही-कोही भने प्रतिज्ञा गरिएको देशमा जान पाउने थिए, जसमध्ये कालेब र यहोसु पनि हुने थिए।
विश्वासघाती इस्राएलीहरूले कालेबलाई मार्न खोजे तापनि तिनी यहोवाको पक्षमा खडा भइरहे
इस्राएलीहरू ४० वर्षसम्म निर्जनभूमिमा भौतारिए। तर कालेबले विश्वास र साहस देखाउन छोडेनन्। तिनले वफादार भई मोसालाई साथ दिइरहे। मोसाको मृत्युपछि यहोवाले आफ्ना मानिसहरूलाई यर्दनपारि प्रतिज्ञा गरिएको देशसम्म पुऱ्याउन यहोसुलाई नाइके नियुक्त गर्नुभयो। कालेबले यहोसुलाई पनि मोसालाई जस्तै साथ दिइरहे। हुनत कालेब वृद्ध भइसकेका थिए तैपनि तिनले परमेश्वरका शत्रु अर्थात् कनानीहरूसित युद्ध लडेर साहस देखाइरहे।
परमेश्वरका जनहरूले यर्दन नदी पार गरेको छ वर्ष भइसकेको थियो। तिनीहरूले प्रतिज्ञा गरिएको देशको धेरैजसो भूभाग कब्जा गरिसकेका थिए। अब भने कालेबले आफ्नो लागि ठाउँ रोज्ने समय भएको थियो। तिनले आफू र आफ्नो परिवारको लागि हेब्रोन रोजे। यो त्यही ठाउँ थियो, जसबारे १० जना जासुसहरूले नराम्रो खबर ल्याएका थिए। तिनीहरूले त्यहाँ शक्तिशाली मानिसहरू भएकोले त्यसलाई कब्जा गर्न असम्भव छ भनेर बताएका थिए। तर ८५ वर्ष पुगिसकेका कालेब यो कुरामा विश्वस्त थिए: “यहोवा परमेश्वर अवश्य मसित हुनुहुनेछ अनि यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ म तिनीहरूलाई त्यहाँबाट धपाउनेछु।” हुन पनि त्यस्तै भयो। कालेबले त्यो सहरलाई कब्जा गरे र त्यहाँ बसोबास गर्न थाले। त्यसपछि के भयो भन्नेबारे बाइबलमा यसो भनिएको छ: “देशमा शान्ति छायो र इस्राएलीहरूले लडाइँ गर्नुपरेन।”
धेरै वर्षअघि मोसाले कालेबलाई यसो भनेका थिए: “तिमीले आफ्नो सारा हृदयले मेरा परमेश्वर यहोवाको आज्ञा मान्यौ।” हो, कालेबले आफ्नो जीवनको अन्तसम्मै यहोवाको आज्ञा मानिरहे। अनि भविष्यमा नयाँ संसारमा पनि तिनले त्यसै गरिरहनेछन् भन्ने कुरामा कुनै शङ्का छैन!
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
कालेबले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. प्रतिज्ञा गरिएको देशको उब्जनीबारे गन्ती १३:२३ मा बताइएको कुरा बढाइचढाइ गरेर लेखिएको होइन भनेर किन भन्न सकिन्छ? (w०६ ६/१५ पृ. १६ अनु. १-२-wcgr)
२. के प्रतिज्ञा गरिएको देशमा कालेब र यहोसुले भनेजस्तै प्रशस्तै “दूध र मह” पाइन्थ्यो? (गन्ती १४:८; w११ ३/१ पृ. १५-wcgr) क
Institute of Archaeology/Hebrew University © Tel Rehov Excavations
चित्र क: इस्राएलमा भेटिएको झण्डै ३,००० वर्षअघिको माटोले बनाइएको मौरीको घार
३. मोसाले १२ जना जासुसलाई कादेसबाट पठाउँदा इस्राएलीहरू प्रतिज्ञा गरिएको देशको कति नजिक थिए? (w०४ १०/१५ पृ. १७ अनु. ११-१२) ख
चित्र ख
४. कालेबले देखाएको विश्वास र साहसको लागि यहोवाले कस्तो इनाम दिनुभयो? (w०६ १०/१ पृ. १९ अनु. ११)
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
कालेबले कुनै गल्ती नै नगरे पनि तिनी इस्राएलीहरूसँगै निर्जनभूमिमा भौँतारिनुपऱ्यो। तैपनि तिनले नम्र भई यहोवामा भरोसा राखिरहे। हामी कस्ता अवस्थाहरूमा कालेबको अनुकरण गर्न सक्छौँ?
कालेबको उदाहरणले हामीलाई “मानिसहरूको लहलहैमा” नलाग्न कसरी मदत गर्छ? (प्रस्थ. २३:२) ग
चित्र ग
तपाईँ अन्य के-कस्ता तरिकामा कालेबजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा कालेबलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
कालेबको विश्वासले तिनलाई कसरी साहसी हुन मदत गऱ्यो, पढ्नुहोस्।
“विश्वास र परमेश्वरको भयले साहसी बनाउँछ” (w०६ १०/१ पृ. १७-१९ अनु. १-१२)
पचासी वर्षका कालेबले ‘मैले आफ्नो सारा हृदयले यहोवा परमेश्वरको आज्ञा मानेँ’ भन्न सक्नुको कारण के थियो? (यहो. १४:८)
“के तपाईँ सारा हृदयले यहोवाको आज्ञा मान्नुहुन्छ?” (w९३ ५/१५ पृ. २६-२९-wcgr)
a यहोवाले भन्नुभएको यो कुरा लेवीहरू र २० वर्षमुनिका इस्राएलीहरूलाई लागू हुँदैनथ्यो।—गन्ती १४:२९.