११ मोसा
‘फारोकहाँ जाऊ’
मोसाले मिश्र छोडेको पनि धेरै वर्ष भइसकेको छ। इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउन यहोवाले रोज्नुभएको व्यक्ति तिनी नै हुन् भन्ने सोचाइ पनि सायद तिनको दिमागबाट हटिसकेको छ। अहिले तिनी झन्डै ८० वर्ष पुगिसकेका छन्। तिनको विवाह भइसक्यो र तिनका दुई छोराहरू पनि छन्। विगत ४० वर्षदेखि तिनले मिद्यानमा आफ्नो ससुराको बगालको हेरचाह गर्ने काम गर्दै आएका छन्। सुख्खा र उखुम गर्मी हुने त्यस देशमा गोठालोको काम गर्दा तिनले नम्र हुन सिकेका छन्। हो, मोसा परिवर्तन भइसकेका छन्।
यो कुरा यहोवाले पनि याद गर्नुभयो। एक दिन मोसा होरेब (सिनै) डाँडामा भेडाबाख्रा चराउँदै थिए। त्यतिबेला तिनले एउटा बलिरहेको झाडी देखे तर त्यो डढेको भने थिएन। के भएको रहेछ भनेर हेर्न नजिकै जाँदा परमेश्वरले झाडीको बीचबाट एक जना स्वर्गदूतमार्फत तिनीसित बोल्नुभयो। यहोवाले मोसालाई मिश्रमा फर्केर इस्राएलीहरूलाई दासत्वबाट छुटाउन निर्देशन दिनुभयो। मोसालाई हौसला दिन परमेश्वरले आफ्नो पवित्र नामको एउटा गहन अर्थ प्रकट गर्नुभयो। उहाँले तिनलाई यसो भन्नुभयो: “म जे बन्न चाहन्छु, त्यही बन्नेछु।” त्यसैले यहोवा थिचोमिचोमा परेका आफ्ना मानिसहरूको लागि उद्धारक बन्न सक्नुहुन्थ्यो। तिनीहरूलाई छुटाउन र एउटा शक्तिशाली जाति बनाउन उहाँ जे पनि गर्न सक्नुहुन्थ्यो।
तैपनि मोसाले आनाकानी गरे। तिनलाई मिश्रमा फारोकहाँ गएर बोल्न र इस्राएलीहरूलाई डोऱ्याउन आफू असक्षम छु जस्तो लाग्यो। यहोवाले तिनलाई सच्याउनुभयो र तिनको विश्वास बलियो बनाउन एउटा अचम्मलाग्दो काम गर्नुभयो। उहाँले मोसालाई चमत्कारहरू गर्ने शक्ति दिनुभयो। यहोवाले कुनै मानिसलाई चमत्कार गर्ने शक्ति दिनुभएको यो नै पहिलो चोटि हो! साथै यहोवाले मोसाको लागि एक जना मदतगार र प्रवक्ता पनि रोज्नुभयो। उनी मोसाका आफ्नै दाइ हारुन थिए। आखिरमा मोसाले आफूलाई दिइएको जिम्मेवारी स्विकारे। तिनी इस्राएलीहरूलाई बचाउन यहोवाले रोज्नुभएको अभिषिक्त जन भए।—हिब्रू ११:२६.
मोसा हारुनसँगै मिश्र फर्किए र फारोसामु हाजिर भए। तर अवस्था तिनीहरूले सोचे जस्तो भएन। ती क्रूर शासकले इस्राएलीहरूलाई छोडिदिनुको साटो तिनीहरूलाई झन् धेरै काममा दलाए। त्यसैले यहोवाले फेरि मोसालाई फारोकहाँ पठाउनुभयो र मिश्रमाथि आफूले ल्याउन लागेको पहिलो विपत्तिबारे बताउन लगाउनुभयो। नभन्दै विपत्ति आइलाग्यो। मिश्रको विशाल नाइल नदीको पानी रगतमा परिणत भयो। तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन्। यहोवाले पटक-पटक मोसालाई फारोकहाँ पठाउनुभयो। तिनी हरेक चोटि साहसी भई फारोकहाँ गए र यहोवाले मिश्रमाथि ल्याउन लाग्नुभएको विपत्तिबारे बताए। तर ती घमन्डी शासकले मोसाको कुरा पटक्कै सुनेनन्। चौथो विपत्तिदेखि भने मिश्रीहरूले मात्र विपत्ति भोगे तर यहोवाले इस्राएलीहरूलाई चाहिँ जोगाउनुभयो।
हरेक चोटि विपत्ति आउँदा मिश्रीहरूले मान्ने देवीदेवताहरूले, जादुगरहरूले अनि फारोले केही गर्न सकेनन्। तिनीहरू शक्तिहीन देखिए। तैपनि फारोले आफ्नो हृदय कठोर बनाइरहे र आफ्ना दासहरूलाई जान दिएनन्। नवौँ विपत्तिमा मिश्रभरि अन्धकार छायो तर इस्राएलीहरू बसोबास गरेको ठाउँ गोसेनमा भने उज्यालै थियो। यो विपत्तिपछि फारोले सुरुमा त तिनीहरूलाई जान दिए। तर पछि उनले मन बदले अनि मोसालाई तिनी फेरि आफूकहाँ आएमा मार्ने धम्कीसमेत दिए।
संसारको सबैभन्दा शक्तिशाली शासकको रिस खप्नुपरे पनि मोसा बारम्बार यहोवाको सन्देश लिएर उनीसामु गए
तर यहोवाले फेरि अन्तिम एक चोटि मोसालाई फारोकहाँ पठाउनुभयो। दसौँ अनि अन्तिम विपत्तिले गर्दा मिश्रीहरूका अनि तिनीहरूका वस्तुहरूका समेत पहिलो सन्तान मरे। फारोले पनि आफ्नो पहिलो सन्तान गुमाए। त्यसपछि भने तिनले हार माने। तिनले मोसालाई आफूकहाँ बोलाए र इस्राएलीहरूलाई लगिहाल्न भने। साथै तिनले आफ्नो लागि यहोवासित आशिष् मागिदिन पनि भने। यहोवाले अब्राहामसित गर्नुभएको करार लागू भएको ठ्याक्क ४३० वर्षपछि इस्राएलीहरू दासत्वबाट मुक्त भए। इस्राएलीहरू मिश्रबाट निस्कँदा तिनीहरूसँगै “विदेशीहरूको ठूलो दल” पनि गए, जुन दलमा सायद धेरैजसो मिश्रीहरू नै थिए। तर पछि फेरि फारोले आफ्नो मन बदले। तिनले आफ्नो ठूलो फौज जम्मा गरे र इस्राएलीहरूलाई लखेट्न निस्किए।
मोसा अनि इस्राएलीहरू लाल समुद्रको किनारमा आइपुगे। पछाडि मिश्रीहरूको ठूलो फौज थियो। त्यसैले इस्राएलीहरू उम्कने कुनै बाटो नदेखेकोले असाध्यै डराए। त्यसपछि मोसाले यहोवालाई मदतको लागि गुहारे अनि यहोवाले जवाफ पनि दिनुभयो। उहाँले इतिहासकै सबैभन्दा अचम्मलाग्दो चमत्कार गर्नुभयो। उहाँले लाल समुद्रलाई दुई भाग पार्नुभयो र इस्राएलीहरू समुद्रबीचको सुख्खा जमिनमा हिँड्न थाले। फारोले इस्राएलीहरू आफ्नो हातबाट उम्कनै लागेको देखेपछि तिनी र तिनको सेनाले फेरि इस्राएलीहरूलाई लखेट्न थाले। तर इस्राएलीहरूले लाल समुद्र पार गरेपछि दुई भाग भएको लाल समुद्र मिश्री सेनामाथि उर्लेर आयो र तिनीहरू सबै पानीमा डुबे। यसरी यहोवाले संसारकै सबैभन्दा शक्तिशाली सेनाको पतन गराउनुभयो।
मोसाले यी अचम्मलाग्दा घटनाहरू कहिल्यै बिर्सेनन्। तिनको विश्वास पहिलेभन्दा झनै बलियो भयो। तिनले त्यसपछिको ४० वर्षसम्म अर्थात् १२० वर्षको उमेरमा तिनको मृत्यु नभएसम्म यहोवाका जनहरूलाई डोऱ्याइरहे। तिनले विश्वास, प्रेम र साहस देखाउने सन्दर्भमा राम्रो उदाहरण बसाले।
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
जीवनको यस घडीमा मोसाले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. मोसा भेट्न गएका फारोको नाम हामीलाई थाह छैन अनि इस्राएलीहरूले मिश्र छोडेर गएको रेकर्ड मिश्रीहरूको इतिहासमा पाइँदैन। तैपनि बाइबलको यो विवरण सही छ भनेर किन भरोसा गर्न सकिन्छ? (g०४ ४/८ पृ. ७ अनु. ४–पृ. ९ अनु. १-wcgr)
२. मानिसहरू फारोदेखि किन डराउँथे? (w१४ ४/१५ पृ. ८ अनु. १) क
PRISMA ARCHIVO/Alamy Stock Photo
चित्र क: भित्तामा कुँदिएको फारोको आकृति
३. दस विपत्तिबाट मिश्रीहरूले मान्ने देवीदेवताहरू शक्तिहीन छन् भनेर कसरी देखियो? (it “देवीदेवताहरू” अनु. २४-२६-wcgr)
४. यहोवाले लाल समुद्रलाई दुई भाग पार्नुहुँदा बनेको बाटो निकै चौडा थियो भनेर किन भन्न सक्छौँ अनि लाल समुद्र पार गर्नेहरूको सङ्ख्या कति हुन सक्छ? (it “प्रस्थान” अनु. ४६-५१-wcgr) ख
चित्र ख:सिनैबाट देखिने लाल समुद्रको दृश्य, जहाँबाट इस्राएलीहरूले समुद्र पार गरेका हुन सक्छन्
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
यहोवाले दिनुभएको जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो लाग्दा मोसाको उदाहरणबाट कस्तो प्रोत्साहन पाउन सक्छौँ? (प्रस्थ. ४:१०; ७:६, ७)
हारुनले मोसालाई आफूले पाएको जिम्मेवारी साहसी भई पूरा गर्न मदत गरे। हामी पनि आफ्नो भाइबहिनीहरूलाई कसरी मदत गर्न सक्छौँ? (प्रस्थ. ४:१४-१६) ग
चित्र ग
यस विवरणमा मोसाले देखाएको साहस तपाईँ कसरी अनुकरण गर्न सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा मोसालाई तिनको जीवनको यस घडीबारे के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
यहोवाको नामको अर्थले सानो केटाकेटीहरूलाई साहसी हुन कसरी मदत गर्छ, हेर्नुहोस्।
मोसाले आफ्नो जीवनमा बटुलेका अनुभवहरूबाट यहोवाका गुणहरूबारे के सिके?