प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ६ पृ. ३६-३९
  • उनी अनजान ठाउँमा जान राजी भइन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनी अनजान ठाउँमा जान राजी भइन्‌
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवालाई माया गर्ने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • इसहाकले असल पत्नी पाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • इसहाकको लागि पत्नी खोज्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ६ पृ. ३६-३९

६ रिबेका

उनी अनजान ठाउँमा जान राजी भइन्‌

छापिएको संस्करण
छापिएको संस्करण

जवान र असाध्यै राम्री रिबेका काँधमा गाग्रो बोकेर इनार भएतिर गइरहेकी थिइन्‌। घाम डुब्नै लागेको थियो। त्यसैले घरको लागि पानी ल्याउने बेला भएको थियो। उनी दिनहुँ यस्ता घरायसी कामहरू गर्थिन्‌। इनारनजिकै पुग्न लाग्दा उनले आफूले नचिनेका मानिसहरूको एउटा समूह देखिन्‌ र तिनीहरूसँग उँटहरू पनि थिए। तैपनि उनी नडराई इनार भएतिर गइन्‌ र आफ्नो गाग्रो भरिन्‌।

गाग्रो भरेर घर जानै लाग्दा त्यस समूहका एक वृद्ध मानिस उनी भएतिर दौडेर आए र यसो भने: “नानी, तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन दिन्छ्यौ कि?” रिबेकाले “हुन्छ हजुर” भनिन्‌। उनले काँधमा बोकिरहेको गाग्रो तुरुन्तै तल झारिन्‌ र पानी पिउन दिइन्‌। हुनत रिबेकाले ती मानिसहरूलाई पहिला कहिल्यै देखेकी थिइनन्‌ तर उनी मदत गर्न तयार भइन्‌।

उनको मदत यतिमै सीमित रहेन। उनी ती मानिसहरूका १० वटा उँटलाई पनि पानी खुवाउन अघि सरिन्‌। धेरै पानी पिउन सक्ने ती उँटहरू नअघाउन्जेल उनी घरीघरी इनारतिर जाँदै पानी ओसारिरहिन्‌। ती वृद्ध मानिसचाहिँ दङ्‌ग परेर रिबेकालाई हेरिरहे। तिनले रिबेकालाई “तिमी कसकी छोरी हौ” भनेर सोधे र एक रातको लागि उनको घरमा बास मागे। उनले ती मानिसहरूलाई निम्तो दिइन्‌ र तिनीहरूका उँटहरूका लागि प्रशस्त दाना र पराल छ भनेर पनि बताइन्‌।

रिबेकाले ती वृद्ध मानिसलाई भेट्‌नुमा यहोवा परमेश्‍वरकै डोऱ्‍याइ थियो। तर रिबेकालाई त्यो कुरा थाह थिएन। ती वृद्ध मानिस एलिएजर हुनुपर्छ, जो अब्राहामका भरोसायोग्य दास थिए। केही हप्ताअघि अब्राहामले एलिएजरलाई सयौँ किलोमिटर टाढा आफ्नो नातेदारकहाँ गएर आफ्नो छोरा र उत्तराधिकारी इसहाकको लागि केटी खोज्न भनेका थिए। साथै अब्राहामले इसहाकको हुनेवाला श्रीमती यहोवाको उपासना गर्ने कुलकै हुनुपर्छ पनि भनेका थिए। त्यसैले एलिएजरले यहोवासित डोऱ्‍याइ मागे। परमेश्‍वरले इसहाकको लागि रोज्नुभएको केटी नै तिनीहरू र तिनीहरूका उँटहरूलाई पानी खुवाउन तयार होस्‌ भनेर पनि तिनले बिन्ती गरे। नभन्दै रिबेकाले त्यसै गरिन्‌।

रिबेका आफूले पहिला कहिल्यै नदेखेका मानिसहरूलाई पनि मदत गर्न अग्रसर भइन्‌। हुनत त्यो समय अहिले हामी बाँचिरहेको समयभन्दा फरक थियो। अहिले “निष्ठुर, भलाइलाई प्रेम नगर्ने” मानिसहरू धेरै छन्‌। (२ तिमो. ३:१, ३) तर त्यतिबेला पनि एक जवान स्त्रीले अनजान मानिसहरूलाई मदत गर्नु एउटा उल्लेखनीय कुरा थियो। यसको लागि साँच्चै साहस चाहिएको हुनुपर्छ। तर उनी यतिमै रोकिइनन्‌।

ती मानिसहरू उनको घरमा पुगेको केही समयपछि नै रिबेकाले तिनीहरू त्यत्ति लामो यात्रा गरेर आउनुको कारण थाह पाइन्‌। रिबेकाका बुबा बतुएल र दाइ लाबानले एलिएजरलाई सँगै बसेर खाना खान आग्रह गरे। तर त्यसअघि ती वृद्ध मानिसले आफू आउनुको कारण प्रस्ट पारे र यहोवाले कसरी रिबेकालाई भेट्टाउन मदत दिनुभयो भन्‍ने कुरा पनि बताए। तिनको कुरा सुनेपछि लाबान र बतुएलले यस्तो जवाफ दिए: “यो सब हुनुमा यहोवा परमेश्‍वरकै हात छ।”

आफ्नो घरपरिवारदेखि टाढा गएर अनजान व्यक्‍तिसँग विवाह गर्नु परमेश्‍वरको इच्छा हो भनेर थाह पाउँदा रिबेकाले के गरिन्‌?

अब रिबेकाले के गर्ने थिइन्‌? एलिएजरले आफूले इसहाकको निम्ति रोज्ने केटी कनान आउन राजी हुँदिनन्‌ कि भनेर अब्राहामलाई चिन्ता व्यक्‍त गरेका थिए। त्यसैले रिबेकाले जाने कि नजाने भनेर आफैले छनौट गर्न सक्थिन्‌ जस्तो देखिन्छ। भोलिपल्ट बिहान एलिएजरले रिबेकालाई आफूसँगै लैजान सकिन्छ कि भनेर सोधे। रिबेकाको परिवारले त्यस विषयमा उनलाई नै सोधे अनि उनले यस्तो सरल जवाफ दिइन्‌: “अँ, म जान्छु।” उनले आफ्नो परिवारलाई फेरि भेट्‌न पाउँछिन्‌ कि पाउँदिनन्‌ भन्‍ने कुराको अत्तोपत्तो थिएन। तैपनि उनी आफ्नो घरपरिवारदेखि एकदमै टाढा जान राजी भइन्‌। उनले यस्तो साहस देखाउन सक्नुको कारण के थियो? उनले पनि यो यहोवाकै इच्छा हो भनेर बुझेकी थिइन्‌ जस्तो देखिन्छ।

उँटमा हप्तौँ यात्रा गरिसकेपछि तिनीहरू कनानमा अब्राहामको पाल भएको ठाउँमा आइपुगे। साँझ परिसकेको थियो। रिबेकाले एक जना मानिस खेतमा टहलिरहेको देखिन्‌। तिनी इसहाक थिए र तिनी केही विषयमा मनन गर्दै थिए। चालीस वर्ष पुगेका इसहाक कोमल स्वभावका थिए। तिनकी आमा साराको मृत्यु भएको तीन वर्ष बितिसकेको थियो। तर तिनी अझै शोकमा थिए। ती व्यक्‍ति इसहाक हुन्‌ भनेर थाह पाएपछि रिबेकाले घुम्टो हालिन्‌। यसरी उनले इसहाकलाई श्रीमान्‌को रूपमा स्विकारेको देखाइन्‌। के उनी मायालु श्रीमती हुने थिइन्‌ र इसहाकलाई परिवारको शिरको रूपमा स्विकार्दै तिनलाई यहोवाको उपासनामा साथ दिने थिइन्‌? उनले यहोवाबाट पाएको यो महत्त्वपूर्ण जिम्मेवारी साहसी भई पूरा गरिन्‌। उनी इसहाकको असल श्रीमती भइन्‌ भनी बाइबल बताउँछ। तिनीहरूको वैवाहिक जीवनको सुरुवातबारे बाइबलमा यस्तो लेखिएको छ: “तिनको उनीसित माया बस्यो। आफ्नी आमाको मृत्युको कारण दुःखी भएका इसहाकले बल्ल सान्त्वना पाए।”

रिबेका उँटलाई डोऱ्‍याउँदै इसहाकतर्फ जाँदै छिन्‌। इसहाक अलि पर एलिएजरसँगै उभिरहेका छन्‌ र तिनलाई देखेर रिबेका घुम्टो हाल्छिन्‌।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • उत्पत्ति २४:१-६७; २५:२०

छलफल गर्नुहोस्‌:

रिबेकाले के-कस्ता तरिकामा साहस देखाइन्‌?

अनुसन्धान गर्नुहोस्‌

  1. १. अब्राहामको सन्तान जन्मँदा एलिएजरले कस्तो मौका गुमाए? तैपनि तिनी डाही भएनन्‌ भनेर किन भन्‍न सक्छौँ? (उत्प. १५:२-४; २४:१२ w९७ १/१ पृ. ३० अनु. २)

  2. २. इसहाक रिबेकाको ठाउँमा सर्नुभन्दा रिबेका नै कनान आएको अब्राहाम चाहन्थे, किन? (w९७ १/१ पृ. ३० अनु. ३)

  3. ३. एलिएजरले रिबेका र उनको परिवारलाई दिएको उपहारले कस्तो अर्थ राख्थ्यो? (it “रिबेका” अनु. ४-wcgr)

  4. ४. रिबेकाले हारानदेखि इसहाकको घर नेगेबसम्म गरेको यात्राबारे बताउनुहोस्‌। (wp१६.३ पृ.१५ अनु. १-wcgr) क

    इजरायलको नेगेब मरुभूमि। यो निर्जनभूमि ढुङ्‌गा र बालुवाका ढिस्कोहरूले भरिएको छ र त्यहाँ खोँचहरू पनि छन्‌।

    www.LifeintheHolyLand.com

    चित्र क: धेरै वर्ष पहिले नेगेबमा थुप्रै मानिस बसोबास गर्थे र त्यहाँ अब्राहामको ठूलो बगालको लागि चरनहरू पनि थिए

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • जोडी छान्‍ने सन्दर्भमा अब्राहाम, रिबेका र इसहाकबाट हामी के सिक्न सक्छौँ? (उत्प. २४:२, ३; २७:४६–२८:१)

  • रिबेका मेहनती र उदार थिइन्‌, तिनी अरूको आदर गर्थिन्‌। दिदीबहिनीहरूले के-कस्तो तरिकामा तिनको उदाहरण अनुकरण गर्न सक्छन्‌? ख

    चित्रहरूको सँगालो: दिदीबहिनीहरूले रिबेकाको अनुकरण गर्न सक्ने तीन तरिका। यस अध्यायमा यी चित्रहरू छुट्टाछुट्टै पनि राखिएका छन्‌। एक आमा आफ्नी सानी छोरीलाई बारीबाट तरकारीहरू टिपेर बास्केटमा राख्न मदत गर्दै छिन्‌। पछि उक्‍त आमाछोरीले त्यो तरकारीको बास्केट एक वृद्ध दिदीलाई दिँदै छन्‌। उक्‍त आमा आफ्नो श्रीमान्‌ र छोरीसित पारिवारिक उपासनामा भाग लिँदै छिन्‌ र उनी खुसी देखिन्छिन्‌।

    चित्र ख

  • तपाईँ कसरी रिबेकाजस्तै साहसी हुन सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा रिबेकालाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

रिबेकाले कसरी साहसी भई एक श्रीमती र आमाको भूमिका पूरा गरिन्‌, पढ्‌नुहोस्‌।

“रिबेका परमेश्‍वरको भय मान्‍ने उद्यमी स्त्री” (w०४ ४/१५ पृ. ८-११)

केटाकेटीहरूले रिबेकाबाट कस्तो पाठ सिक्न सक्छन्‌?

“रिबेकाका असल गुणहरू” [jw.org मा “चित्र सामग्री” (अङ्‌ग्रेजी)]

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने