५ अब्राहाम
तिनको जीवनको सबैभन्दा ठूलो परीक्षा
अब्राहाम सकीनसकी आफ्नो गन्तव्यतर्फ अघि बढ्दै छन्। तिनलाई एक-एक पाइला चाल्न पनि मुस्किल परिरहेको छ। हुनत तिनले आफ्नो जीवनकालमा थुप्रै लामो अनि कठिन यात्राहरू गरिसकेका छन्। तर यो यात्रा छोटो भए पनि तिनको जीवनकै सबैभन्दा कठिन यात्रा हो।
तिनको कानमा यहोवाले दिनुभएको यो आज्ञा गुन्जिरहेको छ: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा इसहाकलाई लिएर मोरियाहमा जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।” अब्राहाम आफ्नो छोरा इसहाकलाई एकदमै माया गर्छन् भन्ने कुरा यहोवालाई थाह थियो। तैपनि उहाँले किन यस्तो आज्ञा दिनुभयो? अनि अब्राहामले यहोवाको यो आज्ञा पालन गर्न कसरी विश्वास र साहस बटुले?
बाइबलमा अब्राहामलाई “विश्वासले गर्दा धर्मी ठहरिएकाहरू सबैको बुबा” भनिएको छ। (रोमी ४:११) हो, तिनको विश्वास बलियो थियो। वास्तवमा जीवनको यस घडीमा आइपुग्नुभन्दा धेरैअघि नै तिनले आफ्नो विश्वास बलियो बनाइसकेका थिए। अनि वर्षौँको दौडान यहोवाले विभिन्न तरिकामा तिनलाई आफ्नो विश्वास बलियो बनाउन मदत गर्नुभएको थियो। जस्तै: धेरै वर्षअघि परमेश्वरले अब्राहामलाई सदोम र गमोरा नाश गर्ने कुरा बताउनुभएको थियो। अनि यो कुरा सुनेर अब्राहाम चिन्तित भए र उहाँले दुष्ट सँगसँगै धर्मी मानिसलाई पनि नाश गर्नुहुन्छ कि भनेर सोधे। यहोवाले तिनलाई धीरजी हुँदै ती सहरहरूमा थोरै मात्र धर्मी मानिस रहेछन् भने पनि नाश गर्नेछैनँ भनेर बताउनुभयो। (उत्प. १८:१६-३३) अब्राहामले यस घटनाबाट यहोवा न्यायी र कृपालु हुनुहुन्छ भन्ने पाठ सिके अनि तिनले त्यो पाठ कहिल्यै बिर्सेनन्।
यहोवाले अब्राहामलाई एक मायालु बुबाले कल्पना पनि गर्न नसक्ने काम अह्राउनुहुँदा तिनले कसरी साहस बटुले?
त्यसको केही समय नबित्दै यहोवाले अब्राहाम र सारालाई एउटा सुन्दर उपहार दिनुभयो। सारा लगभग ९० वर्षको र अब्राहाम लगभग १०० वर्षको पुगिसकेका थिए। तैपनि यहोवाले तिनीहरूको प्रजनन शक्ति सक्रिय बनाइदिनुभयो र तिनीहरूले इसहाकलाई जन्माए। यसबाट अब्राहामले यहोवाको लागि कुनै पनि कुरा असम्भव छैन भनेर बुझे। (रोमी ४:१८, १९) यो कुरा पनि तिनले कहिल्यै बिर्सेनन्।
अहिले लगभग २५ वर्षपछि मोरियाहतर्फ जाँदै गर्दा अब्राहामले आफ्नो जीवनमा घटेका ती अविस्मरणीय घटनाहरूबारे सोचिरहेका हुन सक्छन्। अन्ततः तिनी यस्तो निष्कर्षमा पुग्छन्: यदि इसहाक मरिहाले भने पनि यहोवाले तिनलाई अवश्य ब्युँताउनुहुनेछ! (हिब्रू ११:१९) यस आशाले अब्राहामलाई आफ्नो गन्तव्यतर्फ अघि बढिरहन साहस दियो।
अब्राहामले यहोवाले रोज्नुभएको ठाउँ टाढैबाट देखेपछि आफ्ना दासहरूलाई त्यहीँ पर्खन भने। अब्राहामले निर्धक्क भई आफू र आफ्नो छोरा इसहाक बलि चढाएर फर्कनेछौँ पनि भने। त्यसपछि बुबाछोराचाहिँ बलि चढाउन डाँडातिर लागे। एउटा सुनसान ठाउँमा पुगेपछि अब्राहामले वेदी बनाए र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकको हातगोडा बाँधे र वेदीको दाउरामाथि उनलाई राखे। इसहाकले पनि कुनै नाइँनास्ति गरेनन्। अब अब्राहाम आफूले कल्पनासमेत नगरेको कुरा गर्न तयार भए। तिनले छुरी लिए र इसहाकलाई मार्न आफ्नो हात उठाए। त्यति नै बेला स्वर्गदूतले तिनलाई अब्राहाम भनेर बोलाए र यसो भने: “त्यो केटोलाई केही हानि नगर।”
अब्राहामले बलियो विश्वास र आज्ञाकारिता देखाएकोले यहोवाले तिनको प्रशंसा गर्नुभयो। अब्राहाम यत्ति ठूलो त्याग गर्न समेत राजी भएकोले यहोवाले तिनीसित गर्नुभएको प्रतिज्ञा फेरि दोहोऱ्याउनुभयो: अब्राहामको सन्तान असङ्ख्य हुने थियो र तिनकै सन्तानमार्फत “पृथ्वीका सबै जातिले आशिष्” पाउने थिए।
यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा अहिलेसम्म पनि पूरा भइरहेको छ। त्यस प्रतिज्ञाले ल्याउने आशिष् सदासर्वदा रहिरहनेछ। अब्राहाम र इसहाकको त्यस घटनाबाट यहोवा आफूबारे केही कुरा प्रकट गर्दै हुनुहुन्थ्यो। मानिसजातिलाई बचाउनको लागि आफूले कस्तो असह्य पीडा भोग्नुपर्नेछ भन्ने कुरा उहाँ बुझाउन खोज्दै हुनुहुन्थ्यो। अब्राहाम आफूले एकदमै माया गर्ने छोरालाई बलि चढाउन राजी भएझैँ यहोवा पनि सम्पूर्ण मानिसजातिले आशिष् पाऊन् भनेर आफ्नो एक मात्र छोरा येसुलाई बलि चढाउन राजी हुनुभयो। (युह. ३:१६) त्यसैले अब्राहामले गरेको त्यागबारे पढ्दा यहोवा हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्ने कुरा पनि बुझ्न सक्छौँ।
अब्राहामले जस्तै यहोवाले विगतमा भन्नुभएका अनि गर्नुभएका कुराहरूमा मनन गऱ्यौँ भने हाम्रो विश्वास पनि बलियो हुँदै जानेछ। अनि हाम्रो विश्वास जत्ति बलियो हुन्छ, हामी त्यत्ति नै साहसी हुन सक्नेछौँ। यहोवाले अब्राहामलाई जस्तै अहिले हामीलाई पनि छोराछोरी बलि चढाउन त भन्नुहुन्न। तर उहाँ हामी आज्ञाकारी भएको चाहनुहुन्छ। यहोवाले हामीलाई जस्तोसुकै आज्ञा दिनुभए तापनि विश्वासले हामीलाई साहसी भई त्यो आज्ञा पालन गर्न मदत गर्नेछ। आज्ञाकारी भयौँ भने हामीले सोचेभन्दा कता हो कता धेरै आशिष् पाउनेछौँ!
बाइबल विवरण पढ्नुहोस्:
छलफल गर्नुहोस्:
जीवनको यस घडीमा अब्राहामले के-कस्ता तरिकामा साहस देखाए?
अनुसन्धान गर्नुहोस्
१. अब्राहाम काल्पनिक व्यक्ति थिएनन् भनेर किन भन्न सक्छौँ? (g ५/१२ पृ. १८, पेटी-wcgr; it “अब्राहाम” अनु. २२-२३-wcgr) क
चित्र क: इजिप्टको कर्नाकमा भएको एउटा मन्दिरको पर्खालमा “अब्राहामको खेत” भन्ने अभिव्यक्ति कुँदिएको छ
२. अब्राहामले यहोवाबारे कसरी थाह पाएका हुन सक्छन्? (ia पृ. २६ अनु. ४-५)
३. यहोवाले किन अब्राहामको उपासना स्विकार्नुभयो? (rr पृ. २० अनु. १८)
४. उत्पत्ति २२:१७ मा यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञाले बाइबल वैज्ञानिक रूपमा पनि सही छ भनेर कसरी प्रमाणित गर्छ? (g८८ ४/८ पृ. २५-wcgr) ख
चित्र ख
चित्र ख
सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्
आशाले अब्राहामलाई कसरी साहसी हुन मदत गऱ्यो? आशाले हामीलाई पनि कसरी साहसी हुन मदत गर्छ? ग
चित्र ग
निम्न अवस्थाहरूमा अब्राहामको अनुकरण गर्दै हामी कसरी भेटी चढाउन सक्छौँ?
साक्षी दिने मौका पाउँदा (हिब्रू १३:१५)
भौतिक स्रोतसाधन प्रयोग गर्ने सन्दर्भमा (हितो. ३:९)
भाइबहिनीहरूलाई हाम्रो मदत चाहिँदा (फिलि. ४:१८)
तपाईँ अन्य के-कस्ता तरिकामा अब्राहामजस्तै साहसी हुन सक्नुहुन्छ?
थप मनन गर्नुहोस्
यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?
यो विवरण यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
म नयाँ संसारमा अब्राहाम र इसहाकलाई के सोध्न चाहन्छु?
अझ धेरै जान्नुहोस्
यो भिडियो हेर्नुहुँदा आफू पनि त्यहीँ भएको कल्पना गर्नुहोस्।
तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्—अब्राहाम, भाग २ (११:१०)
अब्राहाम कसरी यहोवाको घनिष्ठ मित्र बन्न सके? तपाईँ पनि यहोवासितको मित्रता कसरी बलियो बनाउन सक्नुहुन्छ?