प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ४ पृ. २८-३१
  • यहोवाको लागि युद्ध लड्‌ने पहिलो व्यक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको लागि युद्ध लड्‌ने पहिलो व्यक्‍ति
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • तिनको जीवनको सबैभन्दा ठूलो परीक्षा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वर अब्राहामसित करार बाँध्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ४ पृ. २८-३१

४ अब्राहाम

यहोवाको लागि युद्ध लड्‌ने पहिलो व्यक्‍ति

छापिएको संस्करण
छापिएको संस्करण

यहोवाले आफ्नो मित्र अब्राहामसित सम्पूर्ण मानिसजातिको भविष्यलाई असर गर्ने यस्तो उल्लेखनीय प्रतिज्ञा गर्नुभयो: “म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।” साथै परमेश्‍वरले अब्राहामलाई त्यो ठूलो जातिले पाउने सुन्दर देश पनि देखाउनुभयो। (उत्प. १२:२; १३:१४, १५) तर सैतान त्यस जातिलाई अस्तित्वमै आउन नदिन लागिपरेको थियो किनभने त्यस जातिबाट प्रतिज्ञा गरिएको “सन्तान” आउने थिए र त्यस सन्तानले सैतानको शासनलाई र अन्तमा त्यसलाई नै नामेट पार्ने थिए। (उत्प. ३:१५) यो कुरा सैतानलाई पनि थाह थियो।

त्यसैले सैतानले अब्राहाम र तिनको परिवारलाई तारो बनायो। सैतानको आक्रमणले गर्दा धेरै दुःख पाएका एक व्यक्‍ति अब्राहामका भतिजा लुत हुन्‌। अब्राहामले प्रतिज्ञा गरिएको देशमा सुरुमा लुतलाई नै ठाउँ रोज्न दिएका थिए। त्यतिबेला लुतले सबैभन्दा उर्वर भूमि रोजे। त्यो ठाउँ सदोमनजिकै पर्थ्यो। “सदोमका मानिसहरू दुष्ट थिए र तिनीहरू यहोवा परमेश्‍वरको नजरमा घोर पाप गर्थे।” (उत्प. १३:८-१३) कनानमा पाँच जना राजाको गठबन्धन थियो। ती राजाहरूमध्ये एक सदोमका राजा पनि थिए। तिनीहरू एलामका राजालाई कर तिर्दा-तिर्दा हैरान भइसकेका थिए। त्यसैले तिनीहरूले विद्रोह गरे। त्यसपछि एलामका राजा पूर्वका अरू तीन जना राजासित मिलेर कनानका राजाहरूसित लडाइँ गर्न आए र तिनीहरूलाई हराए। एलामका राजाको संयुक्‍त सेनाले थुप्रै मालसामान लुटे र मानिसहरूलाई बन्दी बनाएर लगे। बन्दी बनाएर लगिएकाहरूमा लुत र तिनको परिवार पनि थिए।

अब्राहाम ३१८ जना मानिसहरूको दल लिएर चार शक्‍तिशाली राजाहरूको संयुक्‍त सेनासित युद्ध लड्‌न निस्के

अब अब्राहामले के गर्ने थिए? तिनले लुत आफैले समस्या निम्त्याएका हुन्‌ भनेर सोचे कि? अथवा लुतलाई बचाउन गयो भने ती शक्‍तिशाली राजाहरूसित लडाइँ गर्नुपर्नेछ भनेर चिन्ता गरे कि? हुन पनि अब्राहाम योद्धा थिएनन्‌। तिनी एक साधारण गोठालो मात्र थिए। त्यसमाथि ती राजाहरूमध्ये एक जनाले सिनारमा शासन गर्थे अनि अब्राहाम पनि सिनारको उरबाटै आएका थिए। त्यसैले अब्राहामले यस्तो पनि सोच्न सक्थे: ‘त्यस राजासित युद्ध लड्‌न गएँ भने कहिल्यै आफ्नो जन्मभूमि फर्कन पाउँदिनँ होला!’ तर अब्राहामले आफ्नो मनमा त्यस्ता कुराहरू खेलाएनन्‌। बरु तिनले लुतलाई बचाउने निर्णय गरे किनभने यहोवा साथमा हुनुहुन्छ भन्‍ने कुरामा अब्राहाम ढुक्क थिए।

यतिबेलासम्म अब्राहामको परिवारमा नोकरचाकर सबै गरेर एक हजार भन्दा धेरै मानिस भइसकेका थिए। अब्राहामले हतियार चलाउन सिपालु ३१८ जना दासलाई जम्मा गरे अनि एलामका राजा र तिनका शक्‍तिशाली सेनाविरुद्ध लडाइँ गर्न निस्किए। तिनीहरू उत्तरतिर पर्ने दानको इलाकासम्म गए र त्यहीँ शत्रुहरूलाई भेट्टाए। त्यसपछि अब्राहामले आफ्ना दासहरूलाई दुई वटा दलमा छुट्ट्याए र रातको समयमा शत्रुहरूलाई आक्रमण गरे। त्यसपछि शत्रु पक्षका चार जना राजाको संयुक्‍त सेना उत्तरतिर भागे र अब्राहाम पनि तिनीहरूलाई खेद्दै गए। दमिसकको होबाहमा पुगेपछि तिनले शत्रुहरूलाई हराए अनि कनानबाट लुटेर लगेका सबै मालसामान र बन्दीहरूलाई फिर्ता ल्याए। यसरी अब्राहामको दलबल सानो भए तापनि शत्रुहरूलाई जिते अनि लुत र तिनको परिवारलाई छुटाएर ल्याए।

अब्राहाम र तिनका मानिसहरू जुनेली रातमा उँटमा चढेर युद्ध लड्‌न जाँदै छन्‌।

अब्राहामले विश्‍वास अनि साहस देखाएकोमा के यहोवा खुसी हुनुभयो? पक्कै हुनुभयो! यो कुरा अब्राहाम सालेम सहर भएर फर्कँदै गर्दा स्पष्ट भयो। त्यस सहरका राजा मल्किसेदेक यहोवा परमेश्‍वरका पुजारी पनि थिए। तिनी अब्राहामलाई सहरबाहिर भेट्‌न आए र आशिष्‌ दिए। अब्राहामले मल्किसेदेकलाई आफ्नो लुटबाट सबैभन्दा असल चिजहरूको दशांश दिए। यसरी तिनले नम्र भई यहोवाले नै युद्ध जित्न मदत गर्नुभएको हो भनेर स्विकारेको देखाए।

अब्राहामले त्यो युद्ध आफ्नो स्वार्थको लागि नभई परमेश्‍वरको लागि लडेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। बाइबलमा “यहोवा परमेश्‍वरका युद्धहरूको पुस्तक”-बारे उल्लेख गरिएको छ। (गन्ती २१:१४) त्यस पुस्तकको सुरुमा पक्कै पनि अब्राहामले लडेको यस युद्धबारे नै उल्लेख गरिएको हुनुपर्छ। सयौँ वर्षपछि अब्राहामका सन्तान अर्थात्‌ इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा कब्जा जमाएर बसेका दुष्ट कनानीहरूविरुद्ध युद्ध लडे। त्यतिबेला पनि यहोवाले आफ्ना वफादार जनहरूलाई थुप्रै युद्धमा विजयी तुल्याउनुभयो।

तर इस्राएलीहरू परमेश्‍वरप्रति वफादार रहेनन्‌। जब-जब तिनीहरूले परमेश्‍वरलाई विश्‍वासघात गरे, तब-तब उहाँले तिनीहरूलाई सुरक्षा दिन छोड्‌नुभयो। पछि त तिनीहरूले परमेश्‍वरका छोरा मसीहलाई नै तिरस्कार गरे। त्यसैले यहोवाले इस्राएल राष्ट्रलाई सदाको लागि त्यागिदिनुभयो अनि ख्रिष्टका अभिषिक्‍त चेलाहरू मिलेर बनेको आध्यात्मिक इस्राएललाई रोज्नुभयो। येसु यस पृथ्वीमा हुनुहुँदा आफ्ना चेलाहरूलाई युद्धमा भाग लिन निषेध गर्नुभयो। (मत्ति २६:५२) बरु तिनीहरूलाई आध्यात्मिक युद्ध लड्‌न सिकाउनुभयो। उहाँले यो युद्ध लड्‌न पनि उत्तिकै साहस चाहिन्छ भनेर आफ्नै उदाहरणद्वारा देखाउनुभयो।

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • उत्पत्ति १४:१-२४

  • हिब्रू ७:१-४

छलफल गर्नुहोस्‌:

जीवनको यस घडीमा अब्राहामले के-कस्ता तरिकामा साहस देखाए?

अनुसन्धान गर्नुहोस्‌

  1. १. यो विवरण सत्य हो भन्‍ने कुराको कस्तो प्रमाण छ? (w८९ ७/१ पृ. ५ अनु. ४-पृ. ६ अनु. १-wcgr)

  2. २. सदोम र गमोराको भौगोलिक अवस्थाबारे बाइबलमा बताइएको कुरा सही छ भनेर किन भन्‍न सकिन्छ? (it “खारा समुद्र” अनु. ६-wcgr) क

    खजुरका रूखहरू र अन्य बोटबिरुवाहरू।

    BestTravelPhotography/iStock via Getty Images Plus

    चित्र क: अहिले पनि मृतसागरको दक्षिण-पूर्वी तटमा खजुरका रूखहरू र अन्य बोटबिरुवा प्रशस्तै पाइन्छ, जहाँ सम्भवतः सदोम सहर अवस्थित थियो

  3. ३. मल्किसेदेक सालेमका राजा अनि पुजारी थिए। सालेम कहाँ पर्थ्यो? (it “सालेम”-wcgr)

  4. ४. मल्किसेदेकले कुन-कुन तरिकामा येसुलाई पूर्वचित्रण गरे? (it “प्रधानपुजारी” अनु. २७-२८-wcgr) ख

    अब्राहाम र तिनका मानिसहरू मल्किसेदेकलाई आफ्नो लुटबाट सबैभन्दा असल चीजहरू दिँदै छन्‌।

    चित्र ख

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • अब्राहामले लुतलाई उत्तम ठाउँ रोज्न दिए। परिवार, भाइबहिनी अनि अरूसित व्यवहार गर्दा हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ? ग

    एक जवान भाइ सम्मेलनमा एक वृद्ध दम्पतीको लागि आफ्नो सिट छोडिदिँदै छन्‌।

    चित्र ग

  • अब्राहाम आफ्नो भतिजालाई बचाउन तयार भएको कुराबाट हामी के सिक्न सक्छौँ?

  • यस विवरणमा अब्राहामले देखाएको साहसको तपाईँ अन्य के-कस्ता तरिकामा अनुकरण गर्न सक्नुहुन्छ?

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा अब्राहाम र लुतलाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

अब्राहामले कसरी यहोवामाथि पूर्ण भरोसा राख्न सके, थाह पाउनुहोस्‌।

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—अब्राहाम, भाग १ (१०:४३)

अब्राहामले उर छोड्‌नुअघि नै कसरी साहस देखाएका थिए?

“अब्राहाम—एक साहसी पुरुष” (w१२ १/१ पृ. ६-७-wcgr)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने