प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wcg अध्या. ३ पृ. २४-२७
  • उनले पछाडि फर्केर हेरिनन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनले पछाडि फर्केर हेरिनन्‌
  • साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुसन्धान गर्नुहोस्‌
  • सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌
  • थप मनन गर्नुहोस्‌
  • अझ धेरै जान्‍नुहोस्‌
  • “तिमी हेर्नमा सुन्दरी छौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • परमेश्‍वरले तिनलाई “राजकुमारी” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • बल्ल एउटा छोरा जन्मियो!
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • अब्राहाम र सारा तपाईं तिनीहरूको विश्‍वासको अनुकरण गर्न सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
wcg अध्या. ३ पृ. २४-२७

३ सारा

उनले पछाडि फर्केर हेरिनन्‌

छापिएको संस्करण
छापिएको संस्करण

साराको विवाह अब्राहामसित भएको थियो। तिनीहरू उर भन्‍ने सहरमा बस्थे। महानदी युफ्रेटिसको किनारामा अवस्थित त्यो सहर अग्ला-अग्ला पर्खालहरूले घेरिएको थियो। त्यहाँका मानिसहरू मूर्तिपूजामा चुर्लुम्मै डुबेका थिए। तर अब्राहाम भने बिलकुलै फरक थिए। तिनी साँचो परमेश्‍वर यहोवाको उपासना गर्थे। सारा पनि यहोवामा विश्‍वास गर्थिन्‌ तर चाँडै उनको विश्‍वास र साहसको जाँच हुने थियो।

एकदिन अब्राहामले उत्साहित हुँदै सारालाई यहोवाले तिनीसित बोल्नुभएको कुरा बताए। सारा पनि अब्राहामको कुरा सुनेर उत्साहित भइन्‌ होला। तर तिनीहरूलाई यहोवाले अह्राउनुभएको काम भने सजिलो थिएन। तिनीहरू उरमा भएको आफ्नो घर र आफन्तहरू छोडेर बिरानो ठाउँमा जानुपर्ने थियो। तिनीहरूले आफ्नो नोकरचाकर र वस्तुभाउका साथ लामो यात्रा गर्नुपर्ने थियो र पालमा जीवन बिताउनुपर्ने थियो। अब तिनीहरूलाई सुरक्षा दिने अग्ला-अग्ला पर्खालहरू हुने थिएन, न त तिनीहरू थुप्रै सुविधाहरू भएको पक्की घरमा नै बस्न पाउने थिए। त्यहाँ उरमा जस्तो खानेकुरा र अन्य सरसामानहरू किन्‍नको लागि बजार पनि हुने थिएन। तिनीहरूको जीवन कष्टकर हुने थियो। तर सारा अब्राहामसित जान राजी भइन्‌ किनभने उनी यहोवामा विश्‍वास गर्थिन्‌। उनले आफ्नो पोकोपन्तरो कसिन्‌ अनि आफन्त र साथीभाइसित बिदाबारी भएर अब्राहामसित लामो यात्रामा निस्किन्‌।

साराले कहिल्यै पनि अब्राहामलाई उरमै फर्केर जान कर गरिनन्‌ बरु तिनलाई साथ दिइन्‌ र तिनीसँगसँगै यहोवाले भन्‍नुभएको ठाउँमा गइन्‌

साराले अर्को तरिकामा पनि साहस देखाइन्‌। उनी र अब्राहामबारे प्रेषित पावलले यस्तो लेखे: “यदि तिनीहरूले आफूले छोडेर आएको ठाउँलाई सम्झिरहेका भए तिनीहरूसित फेरि त्यहीँ फर्कने मौका हुने थियो।” (हिब्रू ११:१५) साराले उरको आफ्नो घर र त्यहाँको सुखसुविधाबारे मात्र सोचिरहन पनि सक्थिन्‌ तर उनले कहिल्यै पछाडि फर्केर हेरिनन्‌।

सारा र अब्राहाम उर छोडेर जाँदै छन्‌। तिनीहरू उँटमा चढिरहेका छन्‌ र तिनीहरूको पछाडि नोकरचाकरहरू हिँडिरहेका छन्‌।

अन्ततः तिनीहरू कनान पुगे। तर केही समयपछि त्यहाँ अनिकाल पऱ्‍यो। उरमा त व्यापारीहरूले युफ्रेटिस नदी हुँदै टाढा-टाढाबाट खानेकुरा र अन्य आवश्‍यक सरसामानहरू ल्याउँथे। तर कनानमा भने युफ्रेटिसजस्तो ठूलो नदी थिएन। त्यसैले अनिकाल पर्दा कनानबाट अन्तै सर्नुबाहेक तिनीहरूसँग अरू कुनै उपाय थिएन। तर त्यस्तो अवस्थामा पनि साराले अब्राहामलाई पूर्वतिर उरमै फर्केर जान कर गरिनन्‌ बरु अब्राहामसँगै राजीखुसी दक्षिणमा पर्ने मिश्रतिर लागिन्‌।

सारा असाध्यै राम्री थिइन्‌ तर अब्राहामलाई भने एउटा कुराको डर थियो। मिश्रीहरूले तिनलाई मारेर सारालाई लैजान सक्थे। त्यसैले साराले मानिसहरूलाई आफू अब्राहामकी बहिनी हुँ भनेर चिनाउनुपर्ने थियो। तर तिनीहरूको यो जुक्‍ति काम लागेन। मिश्रका फारोले उनको सौन्दर्यबारे सुनेपछि सारालाई आफ्नो महलमा ल्याउन आफ्ना भारदारहरूलाई आदेश दिए। पालमा फिरन्ते जीवन बिताइरहेकी सारा एकाएक सुविधासम्पन्‍न महलमा पुगिन्‌। त्यहाँ उनले सुरक्षित र आरामदायी जीवन बिताउन सक्थिन्‌। तर के साराले फारोसित आरामदायी जीवन बिताउन अब्राहामलाई छोडिन्‌? अहँ, छोडिनन्‌। उनले साहस देखाइन्‌ र आफ्नो पतिप्रति वफादार रहने अडान लिइन्‌। अनि यहोवाले उनलाई जोगाउनुभयो। चाँडै नै साराको अब्राहामसित फेरि मिलन भयो।a

यहोवाले अब्राहामबाट एउटा ठूलो जाति आउनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो। तर सारा निस्सन्तान थिइन्‌। यो उनको लागि निकै पीडादायी कुरा थियो। तर कनानमा धेरै वर्ष बिताएपछि यहोवाले सारालाई इनाम दिनुभयो। नब्बे वर्ष पुगिसकेपछि आमा बन्‍ने उनको रहर पूरा भयो। हो, उनको छोरा जन्मियो! यहोवाले उसको नाम इसहाक राख्नू भन्‍नुभयो, जसको अर्थ हो, “हाँसो।” किनकि आफ्नो छोरा हुनेछ भन्‍ने कुरा थाह पाएपछि अब्राहाम र सारा खुसीले हाँसेका थिए। अनि यहोवाले गर्नुभएको यो चमत्कारबारे सुनेपछि अरू पनि तिनीहरूसँगै खुसीले हाँस्नेछन्‌ भन्‍ने कुरामा सारा पक्का थिइन्‌।

इसहाकको जन्म भएपछि पनि सारा धेरै वर्ष बाँचिन्‌। उनी आफैले छोराको लालनपालन गरिन्‌ र इसहाक एक असल व्यक्‍ति भएको देख्न पाइन्‌। इसहाकलाई खिसी र दुर्व्यवहार गरिँदा साराले तिनलाई जोगाउन साहस देखाइन्‌। साराले आफ्नो जीवनको अन्तसम्मै अब्राहामलाई साथ दिइन्‌ र आरामदायी जीवनको चाह गर्दै कहिल्यै पछाडि फर्केर हेरिनन्‌। बरु उनले सुन्दर भविष्यको प्रतीक्षा गरिरहिन्‌। यहोवाले उनी र उनको परिवारको लागि साँचेर राख्नुभएको इनाम उनीहरूले पक्कै पाउनेछन्‌!

बाइबल विवरण पढ्‌नुहोस्‌:

  • उत्पत्ति १२:१-२०; १५:१८; १६:१, २; १७:३-८, १५-१९; १८:९-१५; २०:१-१७; २१:१-१३

  • प्रेषित ७:१-७

छलफल गर्नुहोस्‌:

साराले के-कस्ता तरिकामा साहस देखाइन्‌?

अनुसन्धान गर्नुहोस्‌

  1. १. अब्राहाम आफ्नो सौतेनी दाइ भए तापनि साराले तिनीसित विवाह गर्नु किन गलत थिएन? (wp१७.३ पृ. १२ अनु. ५, फुटनोट)

  2. २. उर छोड्‌दा साराले के-कस्ता कुराहरू त्यागेकी हुनुपर्छ? (wp१७.३ पृ. १३ अनु. ३–पृ. १४ अनु. २) क

    बहुमूल्य धातुहरूले बनिएको गहना, जसमा रङ्‌गीबिरङ्‌गी रत्नहरू जडिएका छन्‌।

    Photograph taken by courtesy of the British Museum

    चित्र क: पुरातन उर सहर भएको ठाउँमा भेटिएको गहना

  3. ३. अब्राहामले सारा आफ्नी पत्नी भएको कुरा लुकाउनु बुद्धिमानी निर्णय थियो भनेर हामी किन भन्‍न सक्छौँ? (wp१७.३ पृ. १४ अनु. ६–पृ. १५ अनु. १)

  4. ४. सारा अब्राहामको अधीनमा बसिन्‌ भन्‍नुको मतलब उनले कहिल्यै आफ्नो विचार व्यक्‍त गरिनन्‌ भन्‍ने हो? व्याख्या गर्नुहोस्‌। (g १/०८ पृ. २९ अनु. ४-५-wcgr) ख

    सारा अब्राहामलाई खुलस्त रूपमा आफ्नो कुरा बताइरहेकी छिन्‌ तर अब्राहाम भने दुःखी देखिन्छन्‌।

    चित्र ख

सिक्न सकिने पाठहरूबारे सोच्नुहोस्‌

  • सारा र लुतकी पत्नीबीच तुलना गर्नुहोस्‌।

    • तिनीहरूबीच के-कस्ता समानता थिए? (उत्प. १२:१; १३:५-७; १९:१२, १५)

    • तिनीहरूबीच के-कस्ता भिन्‍नता थिए? (उत्प. १९:१७, २६; लुका १७:२८-३२)

    • तिनीहरूले गरेको निर्णय र त्यसको नतिजाबारे मनन गर्दा हामी कस्तो पाठ सिक्न सक्छौँ?

  • सारा असाध्यै राम्री थिइन्‌ र तिनको पति धनी थिए। बाहिरी रूप वा भौतिक कुराहरूप्रति हामीले राख्नुपर्ने दृष्टिकोणबारे साराबाट के सिक्न सक्छौँ? (हितो. ३१:३०; १ तिमो. ६:१७-१९)

  • तपाईँ कसरी साराजस्तै साहसी हुन सक्नुहुन्छ? ग

    चित्रहरूको सँगालो: १. एक जवान दम्पती आफ्नो सरसामान प्याक गरिरहेका छन्‌ र सुविधासम्पन्‍न अपार्टमेन्ट छोडेर जाँदै छन्‌। तिनीहरू खुसी देखिन्छन्‌। २. तिनीहरू गाउँमा एक किसानलाई साक्षी दिइरहेका छन्‌।

    चित्र ग

थप मनन गर्नुहोस्‌

  • यस विवरणबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यो विवरण यहोवाको उद्देश्‍यसित कसरी सम्बन्धित छ?

  • म नयाँ संसारमा सारालाई के सोध्न चाहन्छु?

अझ धेरै जान्‍नुहोस्‌

साराको उदाहरणबाट पत्नीहरूले मात्र होइन, पतिहरूले पनि के सिक्न सक्छन्‌?

तिनीहरूबाट सिक्नुहोस्‌—सारा (६:२७)

सारा र अब्राहामले एकअर्कालाई आदर पाएको महसुस गराउन के गरे, विचार गर्नुहोस्‌।

“‘याहको ज्वाला’ निभ्न नदिनुहोस्‌” (w२३.०५ पृ. २४-२५ अनु. १५-१७)

a केही समयपछि साराले फेरि यस्तै अवस्थाको सामना गरिन्‌। राजा अबिमेलेकले सारालाई महलमा आफूकहाँ ल्याए। यतिबेला पनि उनले साहसी हुँदै अब्राहामले भनेझैँ गरिन्‌ र यहोवाले फेरि तिनलाई जोगाउनुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने